२२ पुष,कञ्चन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट १ अर्वको बजेट लिन सफल भएको जनाएका हुन् ।
यसै साता काठमाण्डौमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी वीच भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अर्व बजेटको व्यवस्था गर्ने सहमति भएको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिं बिकले जानकारी दिए ।
भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट हाल १ अर्व बजेट व्यवस्था गरिसकेको जानकारी गराउदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रेस संयोजक बिकले बताए ।
बजेट सुनिष्चित भएसँगै अब प्रदेश राजधानी निर्माणको कार्यले तिव्रता पाउने मुख्यमन्त्री केसीको विश्वास छ ।
राजधानी निर्माणका लागि संघीय सरकारले बजेट प्रदान गरेकोमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री केसीले संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
यसअघि राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग ३ अर्व बजेट माग गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीलेको पहलमै काठमाण्डौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाटपछि संघीय सरकारले १ अर्व प्रदान गरेको हो ।
सो रकमकाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहण कार्य समेत एकसाथ अगाडि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व लिएपछि गरेका बहुआयामीक कार्यहरुमध्ये राजधानी निर्माण पनि एक महत्वपूर्ण कार्य भएको जनाइएको छ ।