आमा,
न मैले कहिल्यै अविश्वास प्रस्ताव राखेँ
न त तिमीले नै विश्वासको मत माग्नुपर्यो
निःशर्त चल्दै छ जिन्दगीको सदन!
निस्कन्टक चल्दै छ हाम्रो 'हाउस'!
आमा, आहा! सम्झँदै आनन्द आउँछ।
तर आमा,
देशको सदनमा भने सधैँ भाँडभैलो
सधैँभरि विश्वासको सङ्कट
सधैँभरि नैतिकताको सङ्कट
किन जन्मे होलान् ती सन्तानहरू?
लोभले अन्धो भइसकेका नरपशुहरू?
लाज पचाएर कुर्सी मागिरहेका नकच्चराहरू?
आमा, आजभोलि सोधूँ सोधूँ लाग्छ यस्ता सवालहरू!
आमा,
हाम्रो नाता, हाम्रो सम्बन्धमा
असन्तोषको गन्ध कहिल्यै आएन
अंकगणितको अर्थ कतै कतै रहेन
आत्मियता, आदरसिवाय अर्को केही भएन।
आमा, आहा! सम्झँदै आनन्द आउँछ।
तर आमा,
ती त अङ्क अङ्कमा झगडा गर्दै छन्
ती त अंश अंशमा काटाकाट गर्दै छन्
ती त अन्तरध्वंस, ध्वंस मचाउँदै छन्
ती त अन्नको काल भई बाँचिरहेछन्!
आमा, अब त असह्य भो! अति भो!
आमा,
दैनिक जीवन सङ्घर्षकी कमान्डर तिमी
यो पल्टनकी विराङ्गना तिमी
यो परिवारकी आदर्श तिमी
तर आमा,
देशले किन पाएन एउटा त्यस्तो कमान्डर?
देशले किन पाएन एउटा त्यस्तो विराङ्गना?
देशले किन पाएन एउटा त्यस्तो आदर्श?
आमा, अब त असह्य भो! अति भो!