
रुषा थापा
यसपालिको बडा दशैं शुरु भएको छ । घटस्थापनाका दिन आज घरघरमा जमरा राख्ने चलन छ । विडम्बना, केही वर्षयता यो चलन पनि हराउँदै आएको छ । आजकल जमरा समेत किनेर ल्याइन्छ । मानिसहरुको घरको स्वरुप बदलिएसँगै दशैं मनाउने तरिका पनि बदलिँदै गएको छ । यसले परम्परागत रीतिरिवाज, संस्कृति विलय हुने चिन्ता बढेको छ ।
तीन दशकअघि दशैं शुरु हुनुअगावै घर मर्मत गरिन्थ्यो । त्यतिबेला काठमाडौं उपत्यकामा पनि ढुंगा, माटोका घर थिए । घरका छानो खर, पराल, छली, झिंगटी, टायललथायतको हुन्थ्यो । दशैं आउँदा घरमा परेका दुलो, चिराहरु टालिन्थ्यो, घर, आँगन र मतान सफा गरेर चिटिक्क पारिन्थ्यो । अनि घटस्थापनाका दिन रातो माटो, गेरु, चुनालगायतले घर लिपपोत र कमेरो माटो छ्यापेर जमरा राखिन्थ्यो ।
हरेकको घरमा खसी, बोका हुन्थ्यो । गाईवस्तु पनि पालिएको हुन्थ्यो । केराको घारी आफ्नो बारी पाटोमा हुन्थ्यो । चामल, चिउरा आफ्नो घरमै कुटिन्थ्यो । दशैंमा चाहिने सबैथोक घरमै हुन्थ्यो वा व्यवस्थापन गरिन्थ्यो । घटस्थापनाका दिन वर्षदिनभरि प्रयोग गरिएको हलोको थाली, कोदाली, हसिया, कुटोलगायत हतियारहरु धोइपखाली गरेर जमरा राख्दा पुँजा गरिन्थ्यो । खेतबारीको कान्लामा बाब्यु हुन्थ्यो ।
त्यो काटेर खाली चौरमा पिङ हालिन्थ्यो । वर, पिपललगायतको रुखमा पनि पिङ हालिन्थ्यो । दशैं आउनु केही समयअअगावै आफ्नो गाउँघर आफैंले सफा गरिन्थ्यो । बाटोघाटो, ढुंगेधारा, पोखरी, ताल, कुँवा, पाटीपौवा, चौतारा सबैले मिलेर सफा गर्थे । घटस्थापनाका दिन आफ्नो घरमा जमरा राखेकाहरुले अष्टमी वा फुलपातीका दिन घिरौला काटेर खसी, च्याङ्ग्रा वा बोका काटिन्थ्यो ।
काटिनेबित्तिकै जमरा राखेको ठाउँमा टाउको चढाइन्थ्यो । नवमीका दिन आफ्नो खेतबारीमा दोहोरओहोर गरिन्थ्यो । यसले अन्न उब्जनी राम्रो हुने, पहिरो नखस्ने विश्वास गरिन्थ्यो । दशैं आउनु एक महिनाअघि नै गाउँघरमा रौनक र चासो हुन्थ्यो । कसको घरमा के–के छ वा छैन ? खोजी हुन्थ्यो । अनि दशैं मनाउन नसक्ने अवस्थामा भएकालाई कोहीले धान त कोहीले पैसा सापटी दिन्थे ।
यसरी सबै मिलेर दशैं मनाइन्थ्यो । यसले समाजमा एकता कायम गर्नसमेत सहयोग पुग्थ्यो । किनकि एकको दुःखमा गाउँले नै सहयोग गर्दा मिलेर बस्ने संस्कार बस्थ्यो । दशैंमा होस् या अन्य समयमा दाउराबाट खाना पकाइन्थ्यो । त्यो धुँवा घरको चुच्चोबाट बाहिर निस्कन्थ्यो । यसले गाउँभरिका मानिसले खाना पकाएको थाहा पाउँथे ।
तर, तीन दशकको बीचमा यी सबै रितिरिवाज, संस्कार, परम्परा पलायन भइसकेको छ । यो वर्षको बडा दशैं शुरु भइसकेको छ, यद्यपि, दशैं लागेजस्तो महसुस भएकै छैन । आजकल दशैंमा न घर सरसफाई, लिपपोत गरिन्छ न त जमरा राखिन्छ । जमरा राख्न धान, मकै, जौं चाहिन्छ । उपत्यकासहित शहरी इलाकामा बस्ने अधिकांशलाई जौ, धान भनेकै थाहा छैन । थाहा भएपनि हत्तपत्ता पाइँदैन । त्यसैले, बजारबाट किनेर ल्याइन्छ जमरासमेत ।
दशैं कसले मनायो वा मनाएन ? कसैलाई थाहा हुँदैन । किनकि समाजमा एकता नै छैन । पछिल्लो समय त आफुमात्र खाने, आफुमात्र लगाउने प्रवृत्तिको हावी भएको छ । एउटै घरमा बस्ने एउटा परिवारले धुमधामले दशैं मनाइरहँदा अर्को परिवारले एक छाक मिठोसमेत खान पाएका हुँदैनन् । दशैंमा पिङ खेल्ने चलन पनि हराउँदै गएको छ । वर, पिपलका रुख मासिएको छ । खाली ठाउँ कतै छैन । यसले दशैंमा पिङ खेल्ने चलन पनि विलय भएको छ ।
गाउँ रित्तिएको छ । शहरमा कोठा भाडा एकदमै चर्को छ । महँगी, बेरोजगारीका कारण मानिसहरु दशैं मनाउन नसक्ने अवस्थामा पुगेका छन् । यसमा प्रमुख जिम्मेवार भूमाफिया र त्यसपछि सरकार छ । भूमाफियाहरुले शहरी वा जिल्लाका सदरमुकामका जग्गा प्लटिङ गरे । शहरको जग्गामात्र जग्गा हो भन्ने भ्रम सिर्जना गरे । सरकारले पनि जग्गा प्लटिङ गर्न धमाधम अनुमति दियो ।
राज्य राजस्वको लोभमा पर्दा मुलुकको मौलिक तथा परम्परागत संस्कृति संकटमा परेको छ । गाउँमा सयौं वा हजारौं रोपनी जग्गाजमिन भएकाहरु त्यो जग्गा बाझो राखेर वा केही पैसामा बेचेर शहरी इलाकामा आनाकै ५० लाखदेखि करोडौंमा जग्गा किने । दुईदेखि पाँच आना जग्गामा घर बनाए । एउटा कोठाको पाँचदेखि २५ हजार, फ्ल्याटको ३० हजारदेखि चार लाख र सटरको २० हजारदेखि २२ लाख भाडा असुल्छन् । अनि मै हुँजस्तो व्यवहार गर्छन् । दशैं मनाउने नाममा महँगा विदेशी रक्सी सेवन गर्छन् ।
लाखौंको कपडा किन्छन् । मिठोमिठो खान्छन् । अनि उनीहरुको दशैं हुन्छ । तर, यो त उनीहरु वर्षैभरि गर्छन् । अनि उनीहरुका लागि त हरेक दिन दशैं हो । अर्कोतर्फ, घरहरु जोडिएर बनेका छन् । ठूला वा अग्ला घरहरुसमेत चार पट्टी जोडिएर बनेको पाइन्छ । यसले भूकम्प आउँदा एउटा घर भत्किएमा सँगै जोडिएका दर्जनौं घर पनि ढल्नेछन् । घरहरु त बने सँगै खेतीयोग्य जमिन पनि मासियो ।
चार दशकअघि नेपाल खाद्यान्नमा पूर्ण आत्मनिर्भर थियो । दशैंको कुरा के हो भने दशैंमा आवश्यक पर्ने चामल, खसीबोका, चिउरा, दहीदुध, घिउ मानिसको घरमै उत्पादन हुन्थ्यो । तर, अहिले त गुन्द्रकसमेत विदेशबाट आयात गरिन्छ । छिमेकी मुलुक भारतसहितले एक साता खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ । अनि ठूल्ठूलो घर भएरमात्र के गर्नु ? जब बाँच्नलाई खाना नै चाहिन्छ ।
नेपाल खाद्यान्नमा परनिर्भर हुँदा विदेशीलाई लाभ त भएकै छ, हामी रोगीसमेत बन्नुपरेको छ । विषादी मिसाएको खानेकुरा खाँदा पैसा र स्वास्थ्य दुवै गुमाइरहेका छौं । दशैंमा पाँच दिनसम्म टिका लगाइन्छ । पहिलापहिला दशैंमा आर्शीवाद थाप्न टाढाटाढा रहेका आफन्तकहाँ समेत टिका लगाउन गइन्थ्यो । अचेल त पैसा पाउने लोभमा गइन्छ ।
पैसा दिने आफन्तकहाँ दशैंको पहिलो दिनै टिका लगाउन गइन्छ त पैसा नदिने कहाँ गइँदैन । अर्को हाँस्यास्पद कुरा चाँहि नेपाली नागरिकता लागेर विदेशमा रहेकाहरु चाँहि दशैंमा जमरा राखेर, टिका लगाएर सामाजिक सञ्जालमा फोटो हाल्छन् । यसले हाम्रो समाज र हामी कस्तो हुँदै गएछौं ? देखाउँछौं ।
भक्तपुर