कला ज्ञामी
मानिस यस पृथ्वीमा एउटा सिर्जनशील प्राणीका रूपमा जन्मिएदेखि नै निरन्तर सिक्ने, बुझ्ने र आफूलाई परिष्कृत गर्ने यात्रामा हुन्छ। जीवन आफैँ एउटा खुला विश्वविद्यालय हो, जहाँ हरेक दिन नयाँ पाठ सिकिन्छ र हरेक अनुभवले नयाँ ज्ञान थप्छ।
इटालीका महान् कलाकार तथा दार्शनिक लियोनार्दो दा भिन्सीको भनाइलाई सापटी लिने हो भने, सिकाइ त्यस्तो प्रक्रिया हो, जसका लागि हाम्रो मस्तिष्क कहिल्यै थाक्दैन, डराउँदैन र पश्चात्ताप पनि गर्दैन। तर सिक्ने अवसर सबैका लागि समान हुन्छ त? यही प्रश्नले मेरो मनमा बारम्बार एउटा गहिरो खाडलको अनुभूति गराउँछ-सिकाइमा गहिरिँदो खाडल।
जीवनमा सिकाइलाई निरन्तरता दिन उमेर, जात, भाषा, धर्म वा लिङ्गले छेक्नु हुँदैन भन्ने मेरो दृढ विश्वास छ। नयाँ कुरा सिक्ने हुटहुटी उमेरसँग होइन, इच्छाशक्ति र अवसरसँग सम्बन्धित हुन्छ। तर समाजमा अवसरको वितरण समान नहुँदा सिकाइको यात्रा पनि सबैका लागि समान हुन सक्दो रहेनछ। मेरो आफ्नै अनुभव यसैको एउटा उदाहरण हो।
एकपटक सूचना प्रविधिको विषय अध्ययन गर्न प्रवेश परीक्षा दिने अवसर पाएँ। म सफल पनि भएँ। तर त्यसअघि फारम भर्ने क्रममा नै एउटा अनौठो प्रश्नको सामना गर्नुपर्यो। फारम दिँदै गर्दा मलाई सोधियो -"कसका लागि?"
मैले भनेँ, “मेरो लागि।”
उहाँ केही बेर मलाई ट्वाल्ल परेर हेर्नुभयो र आश्चर्य मिश्रित स्वरमा सोध्नुभयो-“हजुरले पनि पढ्ने?”
मैले प्रतिप्रश्न गरेँ-“किन, मैले पढ्न मिल्दैन र?”
त्यसपछि मात्र फारम मेरो हातमा आयो।
त्यो क्षण सामान्य लागे पनि त्यसले हाम्रो सामाजिक सोचको एउटा गहिरो तह उजागर गरेको थियो। उमेर बढेपछि पढ्न हुँदैन, नयाँ प्रविधि सिक्न सकिँदैन, केही निश्चित उमेर वा वर्गका मानिसले मात्र निश्चित विषय पढ्नुपर्छ भन्ने मानसिकता अझै समाजमा जीवित छ।
प्रवेश पाएपछि अध्ययन सुरु भयो। त्यसपछि पनि यस्ता प्रश्न र दृष्टिकोणसँग पटक–पटक सामना गर्नुपर्यो। तर त्यही अनुभवले मलाई एउटा कुरा अझ स्पष्ट बनायो कि "नागरिकलाई बलियो बनाउने सबैभन्दा महत्वपूर्ण आधार शिक्षा हो।"

शिक्षा केवल अक्षर चिन्ने प्रक्रिया होइन। शिक्षा चेतना हो, आत्मविश्वास हो, प्रश्न गर्ने क्षमता हो र आफ्नो अधिकार बुझ्ने शक्ति हो। शिक्षा व्यक्तिलाई आफू को हो, आफ्नो क्षमता के हो र समाज तथा राज्यप्रति आफ्नो भूमिका के हो भन्ने बुझ्न सक्षम बनाउँछ।
आजका अभिभावकमा शिक्षाप्रतिको चेतना बढ्दै गएको छ। गास काटेर भए पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने भावना विकसित हुँदै गएको छ। तर मेरो बाल्यकालको पारिवारिक वातावरण भने यसभन्दा फरक थियो। मेरो परिवारमा “पढ्नुपर्छ” भन्ने चेतना त्यति गहिरो थिएन। विद्यालय जानु र फर्किनु नै पर्याप्त ठानिन्थ्यो। कुन विषय पढ्ने? आफ्नो रुचि र क्षमता के हो? भविष्यमा कस्तो शिक्षा आवश्यक पर्छ? प्रविधिको ज्ञान किन आवश्यक छ? यस्ता प्रश्नमाथि छलफल गर्ने वातावरण थिएन।
त्यसैले मैले पनि शिक्षा केवल विद्यालय जाने विषय हो भन्ने बुझाइमै लामो समय बिताएँ। यो मेरो परिवारको मात्र कमजोरी थिएन। यो हाम्रो सामाजिक संरचना, आर्थिक अवस्था र अवसरको असमान वितरणसँग जोडिएको विषय थियो।
नेपालले हरेक वर्ष राष्ट्रिय बजेटको ठूलो हिस्सा शिक्षामा विनियोजन गर्दै आएको छ। तर प्रश्न बजेटको आकारमा मात्र सीमित छैन; प्रश्न त्यो लगानी "कसका लागि, कहाँ र कस्तो गुणस्तरको शिक्षामा पुगिरहेको छ?" भन्ने हो। शिक्षामा लगानी हुँदैमा मात्र शैक्षिक समानता स्थापित हुँदैन। अवसरको न्यायपूर्ण वितरण, गुणस्तरीय शिक्षा, प्रविधिमा पहुँच र आवश्यक सीप विकासको समान अवसर सुनिश्चित गर्न सकिएन भने शिक्षामा रहेको खाडल झन् गहिरिँदै जान्छ। मेरो जीवनमा पनि यही खाडलको एउटा रूप देखियो।
मेरो उमेरका कतिपय मानिसले लामो समयदेखि प्रविधिसँग काम गरिरहेका थिए। उनीहरूका लागि कम्प्युटर, इन्टरनेट, डिजिटल माध्यम र सूचना प्रविधि दैनिक जीवनकै सहज हिस्सा बनिसकेको थियो। तर म भने त्यही कुरा पछि आएर सिक्दै थिएँ। आफूले सिक्दै गरेको विषयमा रुचि र उत्साह भए पनि विगतमा अवसर नपाएको कारण सुरुआतको दूरी ठूलो थियो। यसले मलाई सोच्न बाध्य बनायो कि "नेपालमा प्रविधि जान्ने र प्रविधिबाट टाढा रहेका दुई किसिमका जनशक्ति उत्पादन भइरहेको त छैन?"
शहर र गाउँबीच, धनी र गरिबबीच, सुविधा सम्पन्न विद्यालय र साधनविहीन विद्यालयबीच, नयाँ पुस्ता र अवसरबाट वञ्चित पुस्ताबीच रहेको डिजिटल दूरीले यही प्रश्नलाई थप गम्भीर बनाउँछ। तर यो समस्या केवल प्रविधिमा पहुँचको मात्र होइन, सिक्ने अवसर र त्यसप्रतिको सामाजिक दृष्टिकोणको पनि हो।
एकपटक अध्ययनका क्रममा फिल्डमा जानुपर्ने भयो। एक शिक्षकले एउटा बीमा कम्पनीमा कम्प्युटर नखुलेको भन्दै हेर्न जान आग्रह गर्नुभयो। म त्यहाँ पुगेँ र “कुन कम्प्युटर नखुलेको हो?” भनेर सोधेँ। त्यहाँ रहेका महिला–पुरुष सबैले मलाई हेरेर हाँस्दै भने "हजुरले बनाउने हो?" त्यो हाँसोभित्र "के एउटी महिलाले कम्प्युटर बनाउन, प्राविधिक समस्या समाधान गर्न वा प्रविधिसँग काम गर्न सक्दिन?" एउटा प्रश्न लुकेको थियो ।
हाम्रो समाजमा महिलाका लागि अझै पनि “के गर्न हुन्छ र के गर्न हुँदैन” भन्ने अदृश्य सीमारेखा कोरिएका छन्। महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरिए पनि व्यवहारमा अझै धेरै पूर्वाग्रह बाँकी छन्। मानिसको क्षमता उसको लिङ्गले निर्धारण गर्दैन। कुनै काम गर्न सक्ने वा नसक्ने कुरा उसको रुचि, ज्ञान, सीप, अभ्यास र क्षमताले निर्धारण गर्छ।
त्यो घटनाले मलाई फेरि सिकाइको खाडलतर्फ नै फर्कायो। हामीले मानिसको क्षमतामाथि विश्वास गर्न सिकेका छैनौँ। हामीले उमेर, लिङ्ग, वर्ग र सामाजिक हैसियतका आधारमा क्षमता मापन गर्ने गलत अभ्यास अझै त्याग्न सकेका छैनौँ।
आज पनि नेपालको तराईका कतिपय क्षेत्रदेखि पहाडी तथा दुर्गम गाउँसम्म “आधारभूत तहसम्म पढे पुग्छ” भन्ने सोच पाइन्छ। अर्कोतर्फ विश्व तीव्र गतिमा डिजिटल ज्ञान, कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि र सीपमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ। यस्तो अवस्थामा हाम्रा नागरिकलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा र सीप कसले दिने?
गरिब परिवारका बालबालिकासँग शिक्षा लिनुपर्ने चेतना नहुन सक्छ, आर्थिक क्षमता नहुन सक्छ र आवश्यक शैक्षिक वातावरण पनि नहुन सक्छ। त्यसैले शिक्षा केवल व्यक्तिगत प्रयासमा छोडेर पुग्दैन। राज्यले नै अवसरको असमानता घटाउने नीति निर्माण गर्नुपर्छ।
गरिबीले अवसर खोस्नु हुँदैन।
यदि परिवारको आर्थिक अवस्थाका कारण एउटा बालक गुणस्तरीय शिक्षा, प्रविधि र सीपबाट वञ्चित हुन्छ भने त्यो केवल उसको व्यक्तिगत क्षति होइन; राष्ट्रले सम्भावित दक्ष जनशक्ति गुमाइरहेको हुन्छ। त्यसैले राज्यको शिक्षा नीति गरिब, विपन्न, सीमान्तकृत र अवसरबाट पछाडि परेका समुदाय केन्द्रित हुन आवश्यक छ।
हाम्रो सामाजिक संरचनामा आर्थिक वर्गअनुसार शिक्षाको गुणस्तर र अवसरमा ठूलो अन्तर देखिन्छ। आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिकाले प्रविधिमैत्री विद्यालय, अतिरिक्त कक्षा, डिजिटल उपकरण, इन्टरनेट र विभिन्न प्रकारका सिकाइ अवसर प्राप्त गर्न सक्छन्। तर गरिब परिवारका बालबालिका आधारभूत शैक्षिक सामग्रीकै अभावमा अध्ययन गर्न बाध्य छन्। यसरी शिक्षा सामाजिक गतिशीलताको माध्यम बन्नुपर्नेमा कतिपय अवस्थामा विद्यमान वर्गीय विभेदलाई निरन्तरता दिने माध्यम बन्न पुगेको देखिन्छ। यही कारणले सिकाइमा रहेको खाडल केवल विद्यालयको समस्या होइन; यो सामाजिक न्यायको प्रश्न हो।
यस खाडललाई अझ गहिरो बनाउने अर्को पक्ष लैङ्गिक विभेद हो। महिलाले घरपरिवारबाट केही हदसम्म स्वतन्त्रता पाए पनि समाजको दृष्टिकोणमा पूर्ण परिवर्तन आउन अझै बाँकी छ। सामन्तवादी सोच र पितृसत्तात्मक संस्कारका अवशेषले महिलाको शिक्षा, रोजगारी, प्रविधि र नेतृत्व क्षमतामाथि अदृश्य प्रश्न उठाइरहेका छन्। त्यसैले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा होइन, समानता र स्वतन्त्रताको आधारका रूपमा बुझ्न जरुरी छ।
शिक्षाले मानिसलाई आफ्नो आवाज पहिचान गर्न सिकाउँछ। प्रश्न गर्न सिकाउँछ। अधिकार खोज्न सिकाउँछ। राज्यलाई जवाफदेही बनाउन सिकाउँछ। अन्यायविरुद्ध बोल्ने साहस दिन्छ। त्यसैले गरिब तथा निमुखा वर्गका लागि शिक्षा झन् बढी महत्वपूर्ण छ।
आज म आफैँ ढिलो गरी सिक्दैछु। तर ढिलो सिक्नु हार होइन। सिक्न चाहने इच्छा जीवित रहनु नै सबैभन्दा ठूलो उपलब्धि हो। जीवनको कुनै पनि उमेरमा नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ। प्रश्न यति मात्र हो-"हामीलाई सिक्ने अवसर दिइयो कि दिइएन?"
त्यसैले अब राज्यले शिक्षामा केवल बजेट बढाउने होइन, शिक्षामा पहुँच, गुणस्तर, प्रविधि र अवसरको न्यायपूर्ण वितरण सुनिश्चित गर्नुपर्छ। ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा प्रविधि पुर्याउनुपर्छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई वास्तविक अवसर दिनुपर्छ। महिला तथा सीमान्तकृत समुदायलाई प्रविधि र सीपमा जोड्नुपर्छ। शिक्षालाई रोजगारी र जीवनोपयोगी सीपसँग जोड्नुपर्छ। किनकि आजको संसारमा केवल साक्षर हुनु पर्याप्त छैन। डिजिटल रूपमा साक्षर, सीपयुक्त, सिर्जनशील र आलोचनात्मक सोच राख्ने नागरिक आवश्यक छन्।
हामीले समयमै यो खाडल पुर्न सकेनौँ भने भोलि प्रविधि जान्ने र नजान्नेबीचको दूरी अझ फराकिलो हुनेछ। शहर र गाउँबीचको दूरी अझ बढ्नेछ। धनी र गरिबबीचको शैक्षिक विभेद अझ गहिरिनेछ। महिला र पुरुषबीचको अवसरको असमानता पनि नयाँ स्वरूपमा कायम रहनेछ। अन्ततः सिकाइ कुनै निश्चित उमेर, वर्ग वा लिङ्गको विशेषाधिकार होइन।
सिक्ने अधिकार सबैको
मलाई ढिलो भयो होला, तर सिक्ने यात्रामा छु। म जस्तै अझै पनि नेपालको कुनाकाप्चामा सिक्ने अवसरको प्रतीक्षामा रहेका हजारौँ मानिस होलान्। उनीहरूलाई केवल “पढ” भन्नुभन्दा पहिले "सिक्ने अवसर देऊ" भन्न आवश्यक छ। त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता शिक्षामा लगानी मात्र होइन "सिकाइमा समान अवसरको निर्माण हो।"
जब समाजको अन्तिम पंक्तिमा उभिएको मानिसले पनि आफूले चाहेको कुरा सिक्न, प्रविधि प्रयोग गर्न, प्रश्न गर्न र आफ्नो क्षमताअनुसार अघि बढ्न पाउनेछ, त्यही दिनदेखि सिकाइमा गहिरिँदै गएको खाडल पुर्न थाल्नेछ। र त्यस दिन शिक्षा केही सीमित वर्गको सुविधा होइन, "हरेक नागरिकको अधिकार र समृद्ध राष्ट्र निर्माणको वास्तविक आधार" बन्नेछ।