जगीलाल थापा “जेल संघर्ष”
कृतिः ल्हुम्पेकी झ्याउरे गीत (१०१ टुक्का)
संकलकः भुवन थापा “बहुवि”
प्रकाशन वर्षः २०५५
परिचय
नेपाली लोकसाहित्यमा झ्याउरे गीत अत्यन्त लोकप्रिय लोक गायन परम्परा हो। विशेषतः गुल्मी, बागलुङ, पाल्पा, स्याङ्जा, पर्वत र आसपासका पहाडी क्षेत्रमा झ्याउरे गीतले जनजीवन, प्रेम, वियोग, श्रम, प्रकृति, संस्कार र सामाजिक सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्दै आएको छ। यिनै मौखिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले कला र साहित्यमा कल र छिनो प्रयोग गर्दै आउनु भएका भुवन थापा “बहुवि” ले संकलन गर्नुभएको “ल्हुम्पेकी झ्याउरे गीत (१०१ टुक्का)” लोकसंस्कृतिको महत्त्वपूर्ण दस्तावेजका रूपमा स्थापित भएको छ।
त्रिभूवन विश्वविधालयबाट मुर्तिकलातर्फ ललितकलाचार्य गर्नु भएका “बहुवी”को श्रृजनामाथी छुरी चलाउने मेरो हिम्मत छैन यद्यपी टुक्काहरुको अध्ययनले टुक्का भित्र समाविष्ट कलाहरुलाई विषयगत रुपमा नियाल्ने प्रयास गरेको छु। साहित्यकार “बहुवी” एक कलाकारले मात्रै परिचित गराइनु अधुरो नै रहन्छ। तसर्थ वहाँ एक कलाकार मात्र नभई नेपालको सिंगो भूगोलको विचमा ठडिएको एक बलियोे स्तम्भ समेत हुनुहुन्छ ।
विषयवस्तु
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ थुम्कामा जन्मिनु भएका “बहुवी”ले संकलन गर्नु भएको यस कृतिमा संग्रहित अधिकांश टुक्काहरू प्रेम, विरह, प्रकृति, श्रम, कृषि, युवायुवतीका भावना, माइती–घर, लाहुर, सामाजिक सम्बन्ध, धार्मिक विश्वास तथा ग्रामीण जीवनका विविध पक्षसँग सम्बन्धित रहेका छन।
दरिद्रताको भुमरी (कविता संग्रह २०५०), द्यौसीभैलो (सांस्कृतिक गीत संग्रह २०५१) र शंकाले लंका (हाइकु लहरी २०६०) जस्ता कृति प्रकाशन गरिसक्नु भएका “बहुवी”को यो ल्हुम्पेकी झ्याउरे टुक्कामा संग्रहित गीतहरूमा पहाडी समाजको वास्तविक जीवन यसरी झल्किन्छ कि पाठक वा श्रोतालाई गाउँको प्राकृतिक परिवेश प्रत्यक्ष अनुभूत हुन्छ। पहाड, वन, खोला, धारा, खेत, गोठ, चरी, गाई, भैंसी, डाँडा, असार, धान, कोदो, तरुल, जमरा, मादल, सारङ्गी आदि शब्दहरूको व्यापक प्रयोगले स्थानीय जीवनशैलीलाई सजीव बनाएको छ।
भाषाशैली
२०५५ सालको दशकमा संकलित यस कृतिको सबैभन्दा ठूलो विशेषता यसको स्थानीय ल्हुम्पेकी बोलीको प्रयोग हो। गीतमा प्रयोग भएका “रिमै”, “आम्च” “रैचर” “भको” “लाक्च” “बोको” “गोयो” “चेली”, “मया” जस्ता शब्दहरूले स्थानीय भाषिक पहिचानलाई संरक्षण गरेका छन्। भाषा सरल, स्वाभाविक, लयात्मक छ। बनावटी कतै देखिँदैन।
जस्तै
आँधीखोलाको कटले माछा किनी खाम्ला दामले
कि र आम्ला तमाखुको निउले कि आम्ला कामले । (टुक्का ११)
....................
गोठाला दाईले घाँसैर काटो खोलीको झपुला
पुरानो मया अलिअलि थियो झनि मया थपुला । (टुक्का १९)
लोकसंस्कृतिको संरक्षण
यो संग्रह केवल गीतहरूको संकलन मात्र होइन, सम्पूर्ण ल्हुम्पेकी समाजको सांस्कृतिक इतिहास पनि हो। गीतभित्रबाट कृषि संस्कृति, गोठालो जीवन, विवाह र प्रेम सम्बन्ध, माइती संस्कार, लाहुरे संस्कृति, धार्मिक विश्वास, सामाजिक मूल्य, प्राकृतिक परिवेश, ग्रामीण मनोरञ्जन पक्षहरूको अध्ययन गर्न सकिन्छ। यस अर्थमा यो कृति सांस्कृतिक अभिलेखका रूपमा अत्यन्त महत्त्वपूर्ण छ।
काव्यगत विशेषता
गीतहरूमा अनुप्रास, पुनरुक्ति, लय, प्रतीक, बिम्ब र मौलिक कल्पनाको सुन्दर संयोजन पाइन्छ।
जस्तै—
रानीलाई घाट टुनीको डोंगा पानीमाथि सलासली
नदेखे मया हैमा सुक्कै थियो देखे मया झलाझली । (टुक्का ५३)
यहाँ पानीको बहावसँग प्रेमको अनुभूतिलाई अत्यन्त कलात्मक रूपमा जोडिएको छ।
त्यस्तैः
शिरैमा लाउने कपासै टोपी सिरसन सकिन
हाँसेको बानी खेलेको बानी बिरसन सकिन । (टुक्का ९३)
जस्ता पङ्क्तिहरूले लोकगीतको सहज भावनात्मक शक्ति उजागर गरेका छन।
सामाजिक सन्देश
गीतहरू मनोरञ्जनमा सीमित छैनन्। यसमा श्रमको सम्मान, प्रेमको पवित्रता, वियोगको पीडा, सामाजिक समानता, मानवीय संवेदना, परिवारप्रतिको उत्तरदायित्व जस्ता मूल्यहरू पनि अभिव्यक्त भएका छन्।
अनुसन्धानात्मक महत्व
लोकसाहित्य अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा संस्कृतिविद्का लागि यो संग्रह अत्यन्त उपयोगी सामग्रीको रुपमा यसलाई अध्यन गर्न सकिन्छ।
यसबाट स्थानीय बोलीको अध्ययन, लोकगीतको संरचना लोकजीवनको समाजशास्त्रीय अध्ययन, सांस्कृतिक रूपान्तरण मौखिक साहित्यको विकास, सम्बन्धी अनुसन्धान गर्न सकिन्छ।
सबल पक्ष
यस कृतिमा मुख्यगरी स्थानीय भाषाको मौलिक प्रयोगले लोपोन्मुख झ्याउरे गीतको संरक्षणमा बिशेष योगदान दिनसक्छ। यसैगरी कृतिमा गाउँले जीवनको यथार्थ चित्रण सहित सांस्कृतिक पहिचानलाई जोगाउन मौखिक परम्परालाई लिखित स्वरूप प्रदान गरिएको छ ।
दुर्वल पक्ष
बहुवीको साहित्यिक श्रृजनामा स्थानीय क्षेत्रमा बोलिने सामान्य (टिपिकल) धेरै शब्दहरू प्रयोग गरिएको हुन्छ। जुन सिमित क्षेत्र र स्थानहरुका पाठक र श्रोतहरुले मात्र बुझ्न सहज हुन्छ। ल्हुम्पेकी बोलीमा टुक्काहरुको संकलन भएकाले बाहिरी क्षेत्रका पाठकलाई अर्थ बुझ्न कठिन हुन सक्छ। प्रत्येक गीतको अर्थ, प्रसङ्ग वा सन्दर्भ थपिएको भए अध्ययन अझ प्रभावकारी हुने थियो। यद्यपी गेयता र लयको उत्कृष्ट प्रयोग, मौखिक परम्परालाई लिखित स्वरूप प्रदान गरिएको छ। लय र संगीत भर्न सकिएको खण्डमा यसले झ्याउरे ती टुक्काहरुलाई जिवन्तता दिने छ।
प्रत्येक गीतको अर्थ, प्रसङ्ग वा सन्दर्भ थपिएको भए अध्ययन अझ प्रभावकारी हुने थियो। गीतहरूको विषयगत वर्गीकरण गरिएको भए अनुसन्धानमा थप सहजता हुने थियो।
काठमाडौं विश्वविद्यालयका स्कूल अफ आर्टस, कला तथा डिजाइन विभागमा सहायक प्राध्यापक रहनु भएका बहुवीले संकलन गर्नु भएको झ्याउरे टुक्काको संकलनको स्रोत, गायक वा गाउँको विवरण थपिएको भए यसको दस्तावेजी मूल्य अझ बढ्ने थियो।
निष्कर्ष
“ल्हुम्पेकी झ्याउरे गीत (१०१ टुक्का)” नेपाली लोक साहित्यको संरक्षणमा महत्वपूर्ण योगदान दिने कृति हो। ललित कलाबाट स्नातकोत्तर संकलन तथा लेखक भुवन थापा “बहुवि” आफैमा एक श्रजक हुनुहुन्छ । वहाँले लोपोन्मुख मौखिक परम्परालाई लिखित रूप दिँदै ल्हुम्पेक क्षेत्रको सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म र्पुयाउने उल्लेखनीय कार्य गर्नुभएको छ।
गुल्मीको ठूलो लुम्पेक आफैमा बहु कला र साहित्य तथा संस्कृतिले सुशोभित हो। त्यहाँ बोलिने भाषा र लवजले आफैमा साहित्य श्रृजना हो। हरेक शब्द र अनुच्छेदहरु साहित्यिक शब्दहरुमा आधारित हुन्छन। तिनै प्रचलित बोलीचालीहरुबाट श्रजक तथा संकलक “बहुवी”ले टपक्क टिपेर भविष्यका लागि अमुल्य सम्पत्तीको रुपमा ल्हुम्पेकी झ्याउरे टुक्का नामक गीति संग्रह जन्म दिनु भएको हो।
जस्तै
असारै मास उरिलिने भेल छेउ भेटो हलिकाले
रातलाई गोयो सै सपनीले दिन गोयो झलिकाले (टुक्का ३२)
माथिलाई हेरो जामकाली लेख तल हेरो निरहे
कि मलाई लागो संगीको मया के छुटो बिरहे । (टुक्का ४०)
पछिका नयाँ पुस्ताले उल्लेखित टुक्काहरुलाई पच्छ्याउछन या पच्छ्याउन्नन् त्यो गर्भको कुरा हो। तर यसलाई लय र संगीत दिने हो भने असाध्यै मन छुने श्रब्यदृश्य सामग्री बन्न सक्छ।
यस कृतिमा गाउँको माटोको सुगन्ध, लोकजीवनको सरलता, प्रेमको कोमलता, श्रमको गौरव र प्रकृतिप्रतिको आत्मीय सम्बन्ध अत्यन्त जीवन्त रूपमा अभिव्यक्त भएको छ। केही व्याख्यात्मक सीमितता भए पनि यसको साँस्कृतिक, साहित्यिक तथा अनुसन्धानात्मक मूल्य अत्यन्त उच्च छ। नेपाली लोकसाहित्यका अध्येता, अनुसन्धानकर्ता तथा झ्याउरे गीतप्रेमीका लागि यो संग्रह एक सन्दर्भग्रन्थका रूपमा स्थापित हुने सामथ्र्य राख्ने विश्वास छ।
बहुवीको ल्हुम्पेक झ्यारे गीत (१०१ टुक्का)को पूर्ण पाठ