रमेश कुमार
सम्पत्ति शुद्धीकरणको छानबिनका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टको अग्रसरतामा अनुमति पाएका विवादित लघुबीमा कम्पनीहरूमा गृहमन्त्री सुधन गुरुङ र भदौ २३–२४ को घटना अनुसन्धान गर्न बनाइएको उच्चस्तरीय छानबिन आयोगका सदस्य विज्ञानराज शर्माको पनि लगानी छ ।
सम्पत्ति शुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको मुद्दा चर्किएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा परेका छन् । उनको लगानीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारभित्र आन्तरिक छानबिन चलिरहेको एक विश्वसनीय स्रोतले हिमालखबरलाई बतायो । ‘‘उनको विवादित व्यवसायीहरूसँगको साझेदारीका विषयमा गम्भीर प्रश्न उठेको छ, नैतिक मात्रै प्रश्न हो कि कानुनबमोजिम कारबाहीको पनि विषय हो, छानबिनपछि प्रस्ट होला,’’ स्रोतले भन्यो ।
सम्पत्ति शुद्धीकरणको छानबिनका लागि हिरासतमा रहेका व्यवसायी द्वय अग्रवाल र भट्टको अग्रसरतामा अनुमति पाएका दुई लघुबीमा कम्पनीमा गुरुङले संस्थापक शेयर लगानी गरेका थिए । सुलभ अग्रवाल शङ्कर समूहका उपाध्यक्ष हुन् । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट बिचौलियाका रूपमा परिचित छन् । उनीहरूले मिलेमतोमा सम्पत्ति शुद्धीकरण गरेको विषयमा हिरासतमा राखी नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको २५–२५ हजार कित्ता लगानी छ (हे. शेयरधनी दर्ता लगत) । भट्ट र सुलभ अग्रवालको अग्रसरतामा खुलेका यी दुवै कम्पनीले कयौँ कानुनसम्बन्धी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाएको हिमालखबरले खुलासा गरेको थियो ।
शङ्कर समूह तथा दीपक भट्ट एवं उनका साझेदारहरूका लगानीका कम्पनीलाई नियोजित रूपमा कसरी अनुमति दिइएको थियो र त्यसमा कसको लगानी थियो भन्ने बारेमा हिमालखबरले २०८० मङ्सिरमा खोजमूलक रिपोर्ट प्रकाशित गरेको छ । यी कम्पनीहरूमा प्रत्यक्ष र घुमाउरो तरिकाले व्यावसायिक घराना शङ्कर समूह तथा दीपक भट्टको इन्फिनिटी होल्डिङ्ससहित उनीहरू निकटका कयौँ व्यक्ति र संस्थाको लगानी छ । त्यतिबेला अनुमति पाएका सात लघु बीमा कम्पनीमध्ये दुईमा गृहमन्त्री गुरुङले पनि लगानी गरेका थिए ।
गोरखा चुमनुब्री स्थायी ठेगाना भएका सुधनको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा २५ हजार कित्ता र स्टार माइक्रो इन्स्योरेन्समा २५ हजार कित्ता शेयर छ । यो संस्थापक शेयरको ०.४७ प्रतिशत हाराहारी हो । यो रकमको स्रोत के थियो भन्ने बारेमा भने हामीले प्रमाण भेट्टाएका छैनौँ । यी कम्पनीको प्रतिशेयर अङ्कित मूल्य रु. १०० हो । गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी लगानीको विवरण उल्लेख छैन ।
यी कम्पनीमा गृहमन्त्री गुरुङको लगानी अवैध होइन । तर, उनको लगानीको स्रोत स्पष्ट नभएको तथा सम्पत्ति विवरणमा उल्लेख नगरी लुकाइएको कारण विवादित बनेको हो । अर्कातिर, विवादित तरिकाले अनुमति पाएको लघुबीमा कम्पनीका मुख्य प्रवद्र्धक जो आफैँ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त छन्, उनीहरूसँग गृहमन्त्री गुरुङको सम्बन्ध के हो भन्ने विषयमा पनि प्रश्न उठेको छ । यसबारे सोध्न गृहमन्त्री गुरुङसँग सम्पर्क गर्ने प्रयास गरिएपनि सम्पर्क हुन सकेन ।
गृहमन्त्री गुरुङमाथि यसअघिदेखि नै विवादित दीपक भट्ट निकट रहेको आरोप लाग्दै आएको थियो । उनी संलग्न ‘हामी नेपाल’ नामक संस्थाले २०७८ भदौमा भट्टसहित शङ्कर समूहका उपाध्यक्ष सुलभ अग्रवाललाई समेत सम्मान गरेको थियो ।
विपद् व्यवस्थापनको नाममा खुलेको ‘हामी नेपाल’ नामक संस्था जेन–जी प्रदर्शनताका निकै विवादमा तानिएको थियो । हिमालखबरले भदौ २४ मा गुरुङसहित ’हामी नेपाल’ का सदस्य बताउने युवाहरू आगजनी र तोडफोडमा संलग्न रहेको खोज रिपोर्ट प्रकाशित गरेको छ । यो संस्थामाथि आर्थिक पारदर्शिताको प्रश्न उठ्दै गएपछि अहिले यसको साइट नै ‘डाउन’ गरिएको छ ।
विवादास्पद निर्णय
२०७९ को आम निर्वाचनको समयमा बीमा प्राधिकरणले सात लघु बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएको थियो । तीमध्ये कम्तीमा ६ वटा कम्पनीमा शङ्कर समूह र दीपक भट्ट तथा उनीहरू निकट व्यवसायी एवं व्यक्तिहरूको प्रत्यक्ष एवं घुमाउरो लगानी रहेको हामीले फेला पारेका थियौँ । शङ्कर समूह र इन्फिनिटीका व्यावसायिक साझेदार शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, राजबहादुर शाह, कुमुद दुगड, मोतीलाल दुगड, शोभाकर न्यौपानेसहितका व्यवसायी यी लघु बीमाका साझेदार लगानीकर्ता हुन् । २०८० मंसिरमा बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई हिमालखबरले एकाधिकार हुने गरी एकै समूहलाई लघु बीमाको अनुमतिपत्र दिइएको विषयमा सोधेको प्रश्नमा उनले भनेका थिए, “जम्मा ५–६ घराना र समूहको हालीमुहाली रहेको देशमा एउटा समूहले अनुमति नपाए अर्काले पाउँछ । त्यसैले अमुक घरानाले अनुमति लियो भन्नु बेकार कुरा हो ।”
गृहमन्त्री गुरुङको लगानी रहेको लिबर्टी माइक्रो इन्स्योरेन्समा लाङ्टाङ इन्भेष्टमेन्टको २१ प्रतिशत शेयर लगानी छ । यो कम्पनी श्रेया रुङ्गटाको नाममा दर्ता छ । उनी शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवालकी भान्जी बुहारी हुन् । श्रेयाका पति आयुष गुप्ता जगदम्बा ग्रुपको कार्यकारी निर्देशक छन् । लिबर्टी माइक्रो इन्स्योरेन्सको अर्को मुख्य लगानीकर्ता कम्पनी पाल्दोर इन्भेस्टमेन्ट हो, जुन बबिता खेतानको नाममा दर्ता छ । लिबर्टीमा कविता लोहिया, ओपी होल्डिङ्स, जगदम्बा इन्टरप्राइजेज, लक्ष्मी बैङ्क, लक्ष्मी क्यापिटल सहितको पनि उल्लेख्य लगानी छ । लक्ष्मी बैङ्क र लक्ष्मी क्यापिटल व्यवसायी राजेन्द्र खेतानको प्रमुख लगानीका संस्था हुन् । लिबर्टीमा व्यवसायी लाक्पासोनाम शेर्पा, निकोलस पाण्डे तथा अनलाइन खबर नेपालको स्वामित्वको रेमी क्यापफिनको पनि उल्लेख्य शेयर लगानी छ ।
स्टार माइक्रो इन्स्योरेन्समा पनि शङ्कर समूहका पारिवारिक सदस्यको घुमाउरो लगानी छ । स्टारका प्रमुख दुई लगानीकर्ता कम्पनी लोबुचे इन्भेस्टमेन्ट र घान्द्रुक इन्भेस्टमेन्टको कम्तीमा २१–२१ प्रतिशत शेयर स्वामित्व छ । लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा दर्ता छ । घान्द्रुक इन्भेस्टमेन्ट शङ्करलाल अग्रवालकी बहिनी रेनु अग्रवालको नाममा छ । स्टारमा जगदम्बा इन्टरप्राइजेजको २५ हजार कित्ता लगानी छ, जुन कम्पनी रेनुसहित रमेश अग्रवाल र अनिल रुङ्गटाको शेयर स्वामित्वको कम्पनी हो । स्टारमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हरिबहादुर पालको पनि १० हजार कित्ता शेयर लगानी छ ।
यो कम्पनीमा दीपक भट्टको इन्फिनिटी होल्डिङ्सका चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्यको पनि १० हजार कित्ता शेयर लगानी छ । उनीसहितको अध्ययन समितिले २०८१ वैशाखमा सरकारलाई नयाँ स्टक एक्सचेन्ज स्थापनाको अनुमति दिन सुझाव दिएको थियो । नयाँ स्टक एक्सचेन्जको अनुमति लिन दीपक भट्ट तथा शङ्कर समूहको स्वामित्वको हिमालयन स्टक एक्सचेन्जले लामो समयदेखि प्रयत्न गर्दै आएको तथा धितोपत्र बोर्डमा आवेदन दिएको छ । स्टारमा नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पनि १० हजार कित्ता शेयर लगानी छ । सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका उनी राजीनामा दिएर एक्सचेन्जबाट बाहिरिएका थिए । बीमा प्राधिकरणले प्रश्न उठ्ने गरी अनुमति दिएको गार्डियन र नेपाल माइक्रोमा प्रमुख लगानीकर्ता भए पनि लिबर्टी र स्टार माइक्रो इन्स्योरेन्समा भने विवादित व्यवसायी दीपक भट्टको सिधै लगानी देखिँदैन ।
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा गत भदौको आन्दोलनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माको पनि त्यतिबेला अनुमति पाएको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीमा १० हजार कित्ता संस्थापक शेयर लगानी छ । गार्डियन माइक्रो इन्स्योरेन्समा दीपक भट्ट तथा शङ्कर समूह मुख्य लगानीकर्ता हुन् ।
कानुन विपरीतको शेयर होल्डिङ
बीमा ऐन, २०७९ ले बीमा कम्पनीमा एकै व्यक्ति वा परिवारलाई १५ प्रतिशतभन्दा बढी शेयर दिन बन्देज लगाएको छ । बीमा ऐनको दफा २५ मा भनिएको छ, एकजना व्यक्ति वा निजको एकाघरको परिवार वा निजको एकाघरको परिवारको सदस्य आधारभूत शेयरधनी रहेको कुनै कम्पनी वा सङ्गठित संस्थाले यस दफाबमोजिम स्थापना हुने बीमा कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी हुने गरी शेयर लगानी गर्न सक्ने छैन ।
तर, लघुबीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमै १५ प्रतिशतभन्दा बढी शेयर लगानी देखिँदा पनि छानबिन अघि बढेको छैन । जस्तै, उदाहरणका लागि लिबर्टी माइक्रो इन्स्योरेन्समा लाङटाङ इन्भेष्टमेन्ट र पाल्दोर इन्भेष्टमेन्टको समान २१.४३ प्रतिशतका दरले लगानी भएको यसको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा खुल्छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्समा लोबुचे इन्भेष्टमेन्ट र घान्द्रुक इन्भेष्टमेन्टको समान २१.४ प्रतिशतका दरले लगानी भएको इक्रा नेपालको अक्टोबर १६, २०२५ मा प्रकाशित क्रेडिट रेटिङ विवरणपत्रमा उल्लेख छ ।
बीमा ऐन २०७९ अनुसार एकै किसिमको व्यवसाय गर्ने कम्पनीमा प्रतिहिस्सेदारी (क्रसहोल्डिङ) गर्न मिल्दैन । तर, शङ्कर समूहसहितका कयौँ व्यवसायीले कयौँ कम्पनीमा प्रतिहिस्सेदारी हुने गरी आधारभूत शेयरधनीका रूपमा शेयर लगानी गरेका छन् । उदाहरणका लागि, हिमालयन लाइफ इन्स्योरेन्समा यो समूहका साहिल अग्रवाल र सुलभ अग्रवालसहित शेखर गोल्छा, लक्ष्मी बैङ्क लगायत आधारभूत शेयरधनी हुन् । तर, उनीहरूको लघु बीमा कम्पनीहरूमा पनि प्रतिहिस्सेदारी हुने गरी लगानी छ । गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीमा शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवालको स्वामित्वको एसजी फिनकर्पको १५ प्रतिशत शेयर लगानी छ । नेपाल माइक्रो इन्स्योरेन्समा शङ्करलालका छोरा साहिलको कम्पनी सेन्ट्रल क्यापिटलको ९.७६ प्रतिशत र सारथी क्यापिटलको १४.८६ प्रतिशत लगानी छ । सारथी क्यापिटल सुभी अग्रवालको नाममा दर्ता छ । शर्मा र गुरुङलाई पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आएनन् ।
– हिमाल खबर डटकमबाट