च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ । यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता कम्पनी ‘ओपन एआई’ को अर्थराजनीति पनि घुसेको छ । यो जानीबुझी तयार गरिएको विज्ञापन नीति पनि थियो । यसैकारण एकाएक अखबारहरू, टीवी च्यानलहरू र सोसल मिडिया सक्रिय भएका हुन् ।
च्याट जीपीटी र गुगल बार्ड अनुवाद गर्न, कोड गर्न तथा इन्टरनेटमा छरिएर रहेका सूचनालाई सङ्गठित तरिकाले प्रस्तुत गर्नमा उपयोगमा आइरहेको छ । यो एक अनुवाद गर्ने एआई (आर्टिफिसियल इन्टिलिजेन्स वा कृत्रिम पण्डित) हो, जसले एउटा भाषालाई अर्कोमा अति राम्ररी अनुवाद गर्छ । स्मार्ट फोनमा गुगल असिस्टेन्टजस्तै सिरी, गुगल इमेज सर्चहरू कम्प्यूटर गेम्समा तथा शेयर बजारको उतार–चढावलाई बुझ्नसमेत आर्टिफिसियल इन्टिलिजेन्सको सहयोग लिइरहेको छ ।
जबकि यसको उपयोग युरोपको सर्न प्रयोगशाला (CERN Lab), नासा र सारा अनुसन्धान संस्थानहरूमा धेरै अघिदेखि वैज्ञानिक प्रयोगको गणनालाई सरल बनाउन गरिएको छ । अब यसलाई बजारमा एपका रूपमा बिक्री हुनसक्ने गरी माल बनाएर ल्याइएको छ । यसैकारण यस माललाई बिकाउन बुर्जुआ मिडियामार्फत अनर्गल प्रचार भइरहेको हो ।
ज्यालादारी दासका कट्टर समर्थक र ट्विटर (हालको ‘एक्स’) का मालिक एलन मस्कदेखि तमाम पुँजीपतिहरूले मेसिनले भविष्यमा ‘मानव समाजलाई दास’ बनाउने चिन्ता प्रकट गरेका छन् ¤ यो पुँजीवादी व्यवस्थाको वर्चस्वको उदाहरण हो । पुँजीपतिवर्गले नै मानव जगतलाई खतरातर्फ धकेलिरहेको छ र अर्कोतर्फ समस्त मानव जगतलाई ‘मेसिनहरू’ बाट बचाउन अपिल गरिरहेको छ । मानव जगतलाई खतरा त छ, तर त्यो पुँजीवादी व्यवस्था र पुँजीपतिवर्गबाट छ । यस समस्यालाई बुर्जुआवर्गले विचारधारात्मक तरिकाबाट बङ्ग्याएर सारा मानव जगतमा खतरा ल्याउनमा मेसिनहरूलाई दोष दिइरहेका छन् । अहिलेको उपयुक्त सवाल ‘मेसिन बनाम मानव जगत’ होइन ‘पुँजीवाद बनाम मानव जगत’ को हो । हुन त यो चर्चा पहिलोपटक भइरहेको छैन । यस्तो चर्चा डीप ब्लु कम्प्युटरले महान् चेस खेलाडी गेरी कास्पारोवलाई हराएका बखत पनि चलेको थियो । सन् २०१९ मा पनि ‘अल्फा गो’ ले बोर्ड खेल ‘गो’ को सर्वोत्तम खेलाडीलाई हराउँदा पनि यस्तै हल्ला चलेको थियो ।
आम श्रमिक समुदायमा यस्तोखाले समाचार सारा सोसल मिडिया प्लेटफर्महरूमार्फत सञ्चारित भइरहेका छन् । युट्युबमा यस्तैखाले खबरहरू देखाइएका छन् । यी खबरहरूमा यस्तो सन्त्रास फैलाइँदै छ कि एआईबाट सञ्चालित मेसिनहरूले मानवलाई उत्पादन कार्यबाट हटाइदिनेछ । इन्टरनेट र अखबारहरूमा च्याट जीपीटीबाट परीक्षाहरूमा उत्तीर्ण हुने, कैयन् रोजगारीलाई समाप्त गरिदिने कुराकानी हुने गर्छ । भनिँंदै छ, आधारभूत उत्पादनका गतिविधिहरू देखि लिएर उत्पादनका सबै गतिविधिमा अब मजदुरहरूको आवश्यकता पर्दैन । अब यस्तो संसार बन्दै छ, जहाँ सबै कामहरू मेसिनहरूले गर्नेछन् र श्रमिक जनसङ्ख्या बेरोजगार भएर सडकमा पुग्नेछन् । यस्तो सपना देखाइँदै छ । मेसिनले चित्र बनाउँदै छ । कथाकुथुङ्ग्री रच्दै छ । वैज्ञानिक अनुसन्धान र प्रयोग गर्दै छ । मतलब संज्ञानको क्षेत्र र मनोवेगको क्षेत्रबाट मेसिनहरूले मानवीय चेतनालाई हटाइदिनेछन् ।
सबैभन्दा पहिले श्रमिकहरूले यो सम्झनुपर्छ कि यो कोरा कल्पना र गफ हो । पहिलो कुरा मेसिनहरू मानव निर्मित उत्पादन (माल) हुन् । भविष्यमा उत्पादनका कैयन् आधारभूत गतिविधिहरूमा मानवको प्रत्यक्ष श्रमको आवश्यकता पर्ने छैन, यो कुरा सत्य हो । तर, यो आश्चर्य या डराउनु पर्ने कुनै कुरा होइन र यसैका लागि नै मेसिन बनाइएको हो । मेसिन पनि श्रमका सबै उपकरणहरू जसरी नै र मानवीय अङ्गहरू र मस्तिष्क पनि त्यसरी नै विस्तार हुने गर्छन् । तर कुरा के हो भने पुँजीवादी व्यवस्थाको केन्द्रमा मानव होइन, सिर्फ नाफा रहन्छ । यसै कारणबाट यो स्थिति देखा परेको हो । यही कल्पनाले मेसिनले मानवलाई दास बनाइदिनेछ भन्ने कुरा हावासरि फैलिएको हो । मेसिन र मान्छेको द्वन्द्व सामने आउला, जुन मूलतः आफैमा मेसिन र मनुष्यबिचको द्वन्द्व होइन । बरु, श्रम र पुँजीको बिचको द्वन्द्व हो, मनुष्य र एक मुनाफा–केन्द्रित व्यवस्थाबिचको द्वन्द्व हो । यस कुरालाई केही ऐतिहासिक र वैज्ञानिक तरिकामा बुझ्न सकिन्छ ।
पुँजीवादी उत्पादन पद्धतिमा मेसिनको भूमिका
कृत्रिम बौद्धिकतालाई मानव चेतनाविरुद्ध बिनाकारण राखिएको होइन । यस्तो किन गरियो ? यसबारे कुरा गर्नुभन्दा पहिला ‘एआई अरु केही होइन खाली स्वचालन (Automation) हो’ भन्ने कुरा हामीले सम्झनुपर्छ । यस्तो किसिमको मसिनी अटोमेसन (स्वचालन) पुँजीवादको इतिहासमा औद्योगिक क्रान्ति सुरू हुँदा सँगसँगै वा अठारौँ शताब्दीको अन्त र उन्नाइसौँ शताब्दीको सुरुआतमा नै प्रयोग हुन थालेको हो । उत्पादनको प्रक्रियामा मनुष्यले प्रकृतिलाई आफ्नो आवश्यकताअनुसार परिवर्तित गर्दछ । मेसिन यस प्रक्रियामा प्रयोग गरिने उत्पादनका साधनहरूको अङ्ग वा हिस्सा हुन्छ ।
श्रमको प्रक्रियामा एक कर्ता भएर मानव श्रमले श्रमको साधनमार्फत कच्चा पदार्थ (प्राकृतिक या निर्मित) लाई आफ्नो आवश्यकताअनुसार बदलिदिन्छ । श्रमको औजार भनेका साधारण ढुङ्गाका औजार, हलो, ट्याक्टरदेखि आधुनिक मेसिनहरू सबै हुन् । अहिले भनिएको एआई वा जीपीटी सफ्टवेयर पनि श्रमको उत्पादन हो र श्रमको साधन पनि हो । सारा उत्पादक क्रियाकलापहरूमा च्याट जीपीटी आउनु र मजदुरहरूलाई कामबाट निकालिनु गुणात्मक रूपमा कुनै नयाँ प्रक्रिया हुँदै होइन । निरपेक्षरूपमा हेर्ने हो भने पुँजीवादी समाजमा मेसिनले मजदुरहरूलाई निरन्तर उत्पादनबाट बाहिर लखेट्छ ।
यदि पुँजीवादी व्यवस्थामा नाफाको औसत दर राम्रो छ र विस्तारित पुनरुत्पादन अधिक दरबाट भइरहेको छ भने त्यस्तो अवस्थामा मेसिनद्वारा विस्थापनको बाबजुद कुल श्रमिकहरूको सक्रिय सङ्ख्या बढ्न पनि सक्छ, जबकि त्यसबेला प्रतिश्रमिक मेसिनको सङ्ख्या बढेको हुन्छ । जे भए पनि, हातेतानलाई हटाएर आएको पावरलूम हो या एक्सेल सीटमा डाटा राख्ने श्रमिकलाई हटाएर आएको एआई, स्वचालन (Components) कै हिस्सा हो । माक्र्सका अनुसार “औद्योगिक क्रान्तिको आगमन मेसिनबाट हुन्छ, जुन खाली एउटामात्र औजार प्रयोग गर्ने श्रमिकलाई अतिक्रमण गरेर कैयन् समानान्तर औजारहरूको तन्त्रबाट सञ्चालित हुन्छ, जसमा एकै चालक–शक्तिले गति पैदा गर्छ चाहे ऊर्जाको स्रोत जेसुकै होस् ।” (माक्र्स, पुँजी, खण्ड–१)
च्याट जीपीटीले धेरै मानसिक क्रियाहरूलाई सञ्चालन गर्नु पनि स्वचालन–प्रक्रियाकै एक चरण हो, जसमा मानसिक श्रममा लागेका मजदुरहरूलाई हटाएर त्यस स्थानमा मेसिनले ठाउँ लिइरहेको छ । यस्तो प्रक्रिया जुनबेला सुरु हुन्छ त्यहीबेलादेखि उत्पादनको प्रक्रियामा मेसिनहरूका प्रयोग हुन थाल्छन् । माक्र्स लेख्छन् :
“पुँजीपति र ज्यालादारी श्रमिकका बिचको प्रतिस्पर्धा पुँजीको उद्भव हुँदै देखिबाट सुरू हुने गर्छ । यस्तो प्रतिस्पर्धा वस्तु उत्पादन उद्योगको पूरै अवधिभर उग्ररूपमा थियो । तर, मेसिन प्रणालीको आगमनपछि भने श्रमिकले खाली श्रमको साधनसँगै सङ्घर्ष गरेका छन्, जुन पुँजीको भौतिक मूर्तरूप नै हो । उसले (श्रमिकले) उत्पादनको साधनको विशिष्ट रूप विरुद्ध सङ्घर्ष छेड्न थाल्छ, जुन पुँजीवादी उत्पादन पद्धतिको भौतिक आधार भएको हुन्छ ।
“तर मेसिनले श्रमिकलाई परास्त गर्ने एक प्रतिद्वन्द्वीको रूपमा मात्र काम गर्दैन, जसले श्रमिकलाई सधैँ बेकार बनाउनको लागि परेको हुन्छ । यसले श्रमिकसँग शत्रुता राख्ने एक शक्तिको रूपमा पनि काम गर्छ । पुँजीले ढोल ठटाएर नै यस्तो काम गर्छ र यस्तै रूपमा मेसिनहरूलाई उपयोग गर्ने गर्दछ । पुँजीको निरङ्कुश शासनको विरुद्ध भएका हडतालहरू, श्रमिक–वर्गको समय–समय हुने विद्रोहहरूलाई दवाउन सबैभन्दा शक्तिशाली अस्त्र मेसिनहरू हुन्छन् ।” (माक्र्स, पुँजी, खण्ड–१)
माक्र्स उत्पादनको प्रक्रियामा मेसिन प्रणाली (यन्त्र प्रणाली) र स्वचालन (Automation) लाई यसरी परिभाषित गर्छन् :
“एक पटक पुँजीलाई उत्पादन प्रक्रियाअन्तर्गत ल्याइसकेपछि, श्रमको साधन विभिन्न स्वरूपमा रूपान्तरण हुँदै जान्छ, जसको परिणति मेसिन या भन्नुहोस् कि मेसिनहरूको स्वचालन प्रणाली (मेसिन–प्रणालीः स्वचालन यसको सबैभन्दा पूर्ण, सबैभन्दा उचित रूप हो, जो एक्लैले मेसिनहरूको एक प्रणालीमा उथलपुथल गरिदिन्छ ।) जसले एक अटोमेसन गति दिन्छ, एक स्वचालित गतिवान शक्तिबाट आफै चल्छ । यस स्वचालनमा अनेक यान्त्रिक र मानसिक अङ्गहरू हुन्छन्, जसबाट श्रमिक आफै यसको सचेतन कडी मात्र भएजसरी अभ्यस्त हुँदै जान्छन् ।” (माक्र्स, ग्रुन्डरिजबाट)
माक्र्सका अनुसार –
“जब कुनै मेसिनले मानिसको सहयोग नलिकन कच्चा पदार्थ परिष्कार (प्रशोधन) गर्नका लागि आवश्यक समस्त क्रियाहरू सम्पन्न गर्न लाग्दछ र जब त्यस (मेसिन) लाई मान्छेको आवश्यकता देखरेखको लागि मात्र रहन्छ, तब मेसिनहरूको चालित सङ्घटन (ढिक्का) तयार हुने गर्छ । यस सङ्घटनको विस्तृत पक्षहरूमा निरन्तर सुधार गर्दै जान सकिन्छ ।
“मेसिनहरूको यस्तो सङ्गठित सङ्घटक, (जुन सञ्चालक यन्त्रद्वारा एक केन्द्रीय स्वचालित यन्त्रबाट गति प्राप्त भएको हुन्छ,) मेसिनहरूबाट हुने उत्पादनको सबैभन्दा अधिक विकसित रूप हुन्छ । यहाँनेर अलग–अलग काम गर्ने मेसिनहरूको बदलामा एक यान्त्रिक दैत्य हुन्छ, जसको दैत्यकारले पूरै कारखाना ढाकी दिन्छ र जसको राक्षसी शक्ति, जुन सुरूमा यसको दैत्याकार अवयवहरू (Automation) का सन्तुलित र सुस्त गतिको आवरणपछि लुकेको थियो, अब आएर यसको असङ्ख्य कार्यकारी इन्द्रियहरूको कोलाहलपूर्ण आवर्तन (चौतर्फी घुमाव) को रूपमा प्रकट हुन्छ ।” (माक्र्स, पुँजी, खण्ड–१)
उत्पादनका भिन्न–भिन्न शाखाहरूमा यो स्वचालित दैत्य माक्र्सको समय यता अत्यधिक फैलिसकेको छ । आज कुनै अटोमोबाइल इन्डस्ट्रीमा मौजुदा रोबोटिक आर्म र कुनै सफ्टवेयर उद्योगमा च्याट जीपीटीबिचको अन्तर अलग किसिमको उत्पादन मात्र हो । दुवै नै मेसिन हुन् जो श्रमिकका गतिविधिहरूलाई अमूर्तीकरण गरेर नै पैदा भएका हुन् । यसकारण, यस्तो गतिविधि शारीरिक हो यो मानसिक । रोबोटिक आर्म र च्याट जीपीटी श्रमिककै गतिविधिको अमूर्तीकरण हो ।
माक्र्स भन्छन्, “तथापि, यही मेसिन नै हो जो श्रमिकको स्थानमा कौशल र शक्तिको मालिक्नी हो, यो आफैमा दक्ष छ र मानौँ कि ती यान्त्रिक नियमहरूमा स्वयं त्यसको आत्मा छ, जसको माध्यमबाट एउटा त्यसले कार्य गर्दछ । यसले कोइला, तेल आदिको खपत गर्दछ, जसरी एउटा श्रमिक खाना खाने गर्छ, ताकि उसको गति लगातार चलिरहोस् । श्रमिकको गतिविधि, जुन गतिविधि मात्र अमूर्तीकरण भएर रहन्छन् । ती सबै तर्फबाट ती मेसिनहरू गतिबाट निर्धारित र विनियमित हुन्छन् न कि यसको उल्टो । यो विज्ञान जो मेसिनहरूलाई निर्जीव अङ्गहरूको निर्माणानुसार त्यसलाई अटोमेसनलाई जस्तै समान उद्देश्यपूर्ण तरिकाहरूबाट सञ्चालित गर्दछ । यो श्रमिकको चेतनामा विद्यमान हँुदैन, तर मेसिनमार्फत एक विरानो शक्तिको ढङ्गमा, स्वयं मेसिनको आफ्नो शक्तिको रूपमा श्रमिकको कार्य गर्दछ ।” (माक्र्स ग्रुन्डरिजबाट)
च्याट जीपीटीलाई माक्र्सको उक्त भनाइको आखिरी पङ्क्तिको सहयोग लिएर स्पष्ट बुझ्न सकिन्छ । प्राकृतिक विज्ञानले श्रमिकको चेतनाबाट स्वतन्त्र भएर त्यसलाई सञ्चालित गर्दछ । मानव ज्ञानले मानवलाई प्रतिकूलतामा राखिदिन्छ । च्याट जीपीटी अरु केही होइन मानवीय ज्ञानबाट सञ्चालित एक मेसिन प्रणाली हो । हाल मेसिनले जुन परिकल्पनालाई बल पु¥याइरहेको छ त्यसको भौतिक आधार पुँजीवादी उत्पादन पद्धतिमा छ । श्रमिकको श्रमलाई मेसिनले सहज बनाउनुको बदलामा उत्पीडन बढाउँछ ।
माक्र्स भन्छन्, “दस्तकारीहरू या हस्तनिर्माणमा श्रमिकले औजारलाई प्रयोग गर्छन् भने कारखानामा मेसिनले श्रमिकलाई प्रयोग गर्छन् । त्यहाँ श्रमका औजारहरूका क्रियाहरू श्रमिकबाट सुरू हुन्छ, यहाँ भने श्रमिक नै स्वयंले मेसिनका क्रियाहरूलाई अनुकरण गर्नुपर्छ । हस्तनिर्माणमा श्रमिक एक जीवित सङ्घटनको अङ्ग हुन्छ । कारखानामा श्रमिकहरूबाहेक स्वतन्त्र एक निर्जीव यन्त्र हुन्छ र श्रमिक यस यन्त्रको एक जीवित अवयवको रूपमा मात्र बदलिन्छ ।” यस भन्दा अघि माक्र्स भन्छन् कि “मेसिनबाट श्रम केही हलुका हुन जान्छ, तर यो चीज पनि यहाँनेर एक ढङ्गको यातना बन्न जान्छ, किनकि मेसिनले श्रमिकलाई कामबाट मुक्त गर्दैन, बरु यसले कामको सारा दिलचस्पीलाई समाप्त गरिदिन्छ । सबै प्रकारका पुँजीवादी उत्पादन, जहाँसम्म श्रम–प्रक्रिया अतिरिक्त मूल्य पैदा गर्ने प्रक्रिया पनि हुन्छ, त्यहाँसम्म यसमा एक समान विशेषता हुन्छ । यसमा श्रमिकले आफ्नो कार्य औजारहरूबाट लिने होइन बरु श्रमका औजारले श्रमिकबाट काम लिन्छ । तर, यो विपरितताले सर्वप्रथम कारखाना व्यवस्थामा नै प्राविधिक एवं इन्द्रीयगम्य वास्तविकता प्राप्त गर्छ । एक स्वचालित यन्त्रमा रूपान्तरित भएको श्रमले श्रमका औजार र श्रम प्रक्रियामा सामेल भएको पुँजीको स्वरूपमा वा त्यस मृत श्रमको रूपमा श्रमिकको सामने प्रकट हुन्छ जो जीवित श्रमशक्तिमाथि हावी रहन्छ र चुस्दा चुस्दा छोक्रा मात्र बाँकी राख्छ ।” (माक्र्स पुँजी खण्ड–१)
यो पुँजीवादी व्यवस्थाको त्यो भौतिक आधार हो जसबाट मानव बनाम मेसिनको परिकल्पना पैदा भएको छ । एक यस्तो व्यवस्थामा जहाँ मान्छेसँगको मान्छेको सम्बन्ध नै मान्छे र मालको सम्बन्धको रूपमा प्रकट हुन्छ । यस सवालमा हामी दुई बुँदामाथि कुरा गर्नेछौँ । पहिलो, यस अवधारणाको दार्शनिक मर्म र अर्को यस परिकल्पनाको राजनीतिक अर्थशास्त्र ?
‘मानव बनाम मेसिन’ परिकल्पनाको दर्शन
उक्त चर्चाबाट यो स्पष्ट हुन्छ कि च्याट जीपीटी मेसिन हो, जुन मानव ज्ञानमा आधारित छ । तर पनि च्याट जीपीटी दुनियाँको धेरै ठुला परीक्षाहरूमा उत्तीर्ण भइरहेको छ । अल्फा गो भनेको ‘गो’ बोर्ड गेम खेल्ने गुगलद्वारा बनाइएको आर्टिफीसियल इन्टेलिजेन्स प्रोग्राम हो । जसले चेसको च्याम्पियन (गेरी कास्पारोभ) लाई हराइदियो । यो कृत्रिम चेतना हो तर मानवीय चेतनाभन्दा उन्नत देखिन्छ । किनकि च्याट जीपीटी कथाकुथुङ्ग्री पनि लेखिदिन्छ र कविताहरू पनि लेखिरहेको छ । यसकारण, यो भन्न थालियो कि मेसिनले कल्पना पनि गर्न थालेको छ ।
हामीले माथि जसलाई कृत्रिम चेतना भन्यौँ, यो वास्तवमा मानवको मानसिक गतिविधिकै अमूर्तन हो । तथापि मानसिक गतिविधिमा मात्र सीमित छैन । यसकारण, यसको अमूर्तन पनि कुनै ‘अन्तिम उत्पाद’ होइन । मानव ज्ञान उन्नतोत्तर हुँदा यो पनि झन् उन्नतोत्तर हुनेछ । च्याट जीपीटीले पनि मानवीय ज्ञानको एक खास स्तरकै प्रतिबिम्बन गर्दछ ।
(मजदुर बिगुल, नोभेम्बर, २०२३ बाट साभार)