(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग अन्नपूर्ण पोस्टका प्रतिनिधि श्रेया श्रेष्ठले प्रतिनिधिसभाको निर्वाचन परिणामलाई लिएर गरेको अन्तर्वार्ता जानकारीको लागि अनलाईन मजदुरबाट पुनः साभार गरि प्रकाशन गरिएको छ। – सं.)
यत्रो वर्षसम्म भक्तपुर–१ मा नेमकिपाले जित्दै आएको थियो, यसपालि किन रास्वपाले जितेको जस्तो लाग्छ हजुरलाई ?
– सिद्धान्त र विचारले नेमकिपा एक राष्ट्रिय र अन्तर्राष्ट्रिय पार्टी हो । यसकारण, नेमकिपा भक्तपुर–१ मात्र नभई देशैभर चुनावमा होमिएको हो । यसपालि पनि हामीले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण देशैभरि उम्मेदवारी दिएका थियौँ । त्यस क्रममा भक्तपुरकै नयाँ र पुराना साथीहरू प्रचारको क्रममा अनुभव सिक्न जिल्ला–जिल्ला जानुभएको थियो । परिणामले हाम्रा सङ्गठनका नयाँ–पुराना साथीहरूले विभिन्न जिल्लामा अनुभव बटुल्नुभयो । यसको अप्रत्यक्ष फाइदा यसपालि रास्वपालाई भक्तपुर–१ मा भयो ।
अहिलेको पुस्ताका मान्छेहरू हजुरहरूसँग अलि डिस्कनेक्ट भएको हो कि, तपाईंंलाई के लाग्छ, ?
– निर्वाचन आयोगको आचारसंहिताअनुसार हामीले कलिला नयाँ पुस्तालाई चुनावमा अगाडि लगाएनौँ । तर, अन्य दलहरूले नयाँ पुस्तालाई प्रभाव पार्न र अभिभावकहरूलाई मानसिक दबाब दिन नयाँ प्रचार यन्त्र प्रयोग गरे, जो निर्वाचन आयोगले आकलन गर्न सकेन । अभिभावकहरूलाई “हामीले भनेको चिह्नमा मत नदिए घरमा पैसा पठाउँदैनौँ, घर फर्केर आउँदैनौँ वा देशमै बस्दैनौँ” भनी घुर्की लगाई घरहरूमा रुवाबासी चलेको जानकारी आएको थियो । त्यस्ता गतिविधिहरू निश्चय पनि धम्की र मानसिक यातनाकै स्वरुप थियो जो निर्वाचन आयोगले पहिले नै अनुमान गर्न सकेन भन्ने चर्चा पनि छ ।
अब नयाँ पार्टीले के गर्ला जस्तो लाग्छ, अनि उनीहरूप्रति विश्वास छ कि छैन ?
– देश र जनताको सेवामा समर्पित नभएसम्म जस्तोसुकै साधन प्रयोग गरेर निर्वाचनमा सफलता प्राप्त गरे पनि संसदीय व्यवस्थाअनुसार काम गर्ने प्रतिबद्धता भएन भने गुनासो गर्ने धेरै ठाउँ रहने गर्छ । विघटित संसद्मा पुराना र नयाँ सांसदहरूले ‘राहदानी बेच्ने’, ‘रक्सी खाएर बाटोमा लड्ने’, ‘मेच तोडफोड गर्ने’, ‘सीडीओलाई चड्कन लगाउने’ जस्ता अनेक अनैतिक कार्य र भ्रष्टाचारका काण्डहरू मच्चाए । पहिले जनताले भनेकै थिए, “सिंहदरबारमा बाँदर पस्यो”, “सांसदहरूलाई कुस्ती र बक्सिङ खेल्न संसद्भित्रै बक्सिङ क्लव खोल्नुपर्यो” इत्यादि । देश यही हो, समाज यही हो, नयाँ सांसदहरूले संसदीय व्यवहार सिकेनन् भने हिजो जस्तै हातपात, मारपिट र भ्रष्टाचार हुनेछ ।
यो चुनावमा तपाईंहरू एकदमै कन्फिडेन्ट हुनुभएको भन्ने पनि दाबी छ, यसबारे केही भन्न चाहनुहुन्छ ?
– यो सत्य होइन । बरु, यसपालि हाम्रा कार्यकर्ताहरूले इमानदारीपूर्वक विभिन्न जिल्लामा सहयोग गर्न र अध्ययन गर्न दुःख गर्नुभएकोमा हामी सन्तोष अनुभव गर्दै छौँ । भनिन्छ, युद्धमा हारेको सिपाहीँ अझ लडाइँ लड्न जान्ने हुन्छ । हाम्रो नयाँ पुस्ताले पनि नेपाललाई आध्यात्मिक रूपले मात्र होइन भौतिक रूपले बुझ्ने अवसर पायो ।
सामाजिक सञ्जाल (सोसियल मिडिया) को कारणले पनि रास्वपाले जितेको भनिएको छ नि, यसबारे के लाग्छ तपाईंलाई ?
– सरकार र निर्वाचन आयोगले कम समयमात्रै प्रचार गर्ने अवसर दिए । राजनैतिक छलफल र राजनैतिक चेतनालाई अझ चम्किलो पार्ने अवसरको लागि कम समय हुँदा प्रजातान्त्रिक गतिविधिमा बाधा परेको प्रस्ट छ । अन्य दलहरूले सबै प्रकारका निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि समयमै त्यसलाई रोक्न आयोग असफल रह्यो ।
तर, नेमकिपा बडो संयमित र नागरिक परिपाटीलाई कायम गर्दै रह्यो । यसको निम्ति हाम्रो पार्टीले हाम्रा कार्यकर्ताहरूलाई स्याबासी दिएको छ ।
यसपालिको हारले केही सिक्नुभएको अथवा अनुभव भएको छ पार्टीलाई ?
– निश्चय पनि नेमकिपाका कार्यकर्ताहरूले सरकार र निर्वाचन आयोगको कमी कमजोरीलाई बुझ्ने र वर्तमान सरकार अझै संरा अमेरिका र भारतको प्रभावमा परेको र भारतीय प्रचार यन्त्रले नेपालको प्रजातान्त्रिक गतिविधिमा हस्तक्षेप गरेको प्रत्यक्ष रूपले अनुभव गरे । मतगणना केन्द्रमा विदेशी पत्रकार र फोटोग्राफरहरूलाई प्रवेश दिनु, केही जिल्लामा अमेरिकी सेना देखिनुले देशको परराष्ट्र नीति कतातिर जाँदै छ भनेर बुझ्न सकिन्छ ।
अहिलेको पार्टी (रास्वपा) ले राखेको एजेन्डा के ५ वर्षमा पूरा होला ?
– सरकारमा रहेर उहाँहरूले गर्ने प्रदर्शनले देखाउने विषय हो यो ।
हजुरहरूले पहिलेदेखि जति पनि काम गर्नुभएको थियो, अहिले मानिसहरूले त्यसलाई अनदेखा गरेको जस्तो लागेको छ ?
– हाम्रो देशले केही वर्षदेखि प्रजातन्त्रको अभ्यास गर्दै छ, जब कि पश्चिमी देशहरूले ४–५ सय वर्षदेखि यो अभ्यास गर्दै आएका हुन् । हाम्रो देश करिब २०० वर्ष बेलायतको अर्ध–उपनिवेश रह्यो र झन्डै ७० वर्षदेखि भारतीय एकाधिकार पुँजीको छायामा छटपटिँदै रह्यो । यस्तो परिवेशमा आफ्नो खुट्टामा उभिने र आत्म–निर्भरतामा ध्यान दिनेबारे दलहरू अभ्यस्त भइसकेका छैनन् । हरेक विषय सिक्दै जाने हो । नेपाली जनताले यी सबै छिट्टै सिक्ने हाम्रो विश्वास छ ।