हिजोबाट भक्तपुर नगरपालिकाको १९ औँ नगरसभा सुरु हुँदै छ । यस नगरको विकास र प्रगतिका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएको साढे तीन वर्ष पूरा भयो । ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको यस भक्तपुर नगरपालिकाको नेतृत्वमा बसेर काम गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भइरहेको छ । भक्तपुर नगरपालिकाको हरेक काममा यहाँका जनताले गरेको साथ र सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ । जनताको बलियो साथ र सहयोगबिना भक्तपुरको यो स्तरको विकास सम्भव थिएन ।
स्थानीय तहको निर्वाचनको बेला नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमार्फत गरिएका प्रतिबद्धताहरू हामी एक–एक गरी पूरा गर्दै छौँ । स्थानीय तह जनताको नजिकको सरकार भएको हुँदा स्थानीय तहप्रति जनताको अपेक्षा बढी हुनु अस्वाभाविक होइन । नगरपालिकाको सीमित स्रोत र साधनहरूको अधिकत्तम प्रयोग गरी जनताका असीमित आवश्यकताहरूलाई प्राथमिकताको आधारमा हामी क्रमशः पूरा गर्दै छौँ ।
स्थानीय तहहरू अधिकारसम्पन्न र स्वायत्त भएमात्रै जनताका आवश्यकता छिटो–छरितो पूरा गर्न सकिन्छ भन्ने मान्यताअनुसार भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गरिरहेको छ । स्थानीय तहहरूलाई अधिकारसम्पन्न बनाउन समय–समयमा सरकारको ध्यानाकर्षण गरिरहेका छौँ । स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह बलियो भएमात्र प्रजातन्त्र बलियो हुने र जनता बलियो हुनेमा हामी विश्वास गर्छौ ।
हामी निर्वाचित भएदेखि नै नगर र नगरवासीहरूको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्दै छौँ । नगरको शान्ति सुरक्षादेखि जनताको आधारभूत आवश्यकता पूरा गर्न विभिन्न सरकारी सङ्घ–संस्थाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्दै छौँ । यसले हाम्रा हरेक गतिविधि सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याएको हाम्रो अनुभव छ ।
भक्तपुरलाई पारदर्शी, भ्रष्टाचारमुक्त र सम्पदा संरक्षित तथा पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने हाम्रा अग्रजहरूले देख्नुभएको सपनालाई साकार पार्न भक्तपुर नगरपालिका कटिबद्ध भएर लागिरहेको छ । भक्तपुरवासीहरूको लामो र निरन्तरको प्रयासपछि अहिले भक्तपुर सबैको आकर्षणको केन्द्र बन्दै छ ।
नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रहीे शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणका कार्यहरू गर्दै युवाहरूका लागि सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर बनाउने प्रयास गरिरहेका छौँ ।
नेपाल र विभिन्न देशका स्थानीय सरकार प्रमुखहरू, प्रदेश र सङ्घ सरकारका प्रतिनिधिहरूको बराबर हुने भक्तपुर भ्रमणसँगै भक्तपुरका जनताले इमानदारीपूर्वक गरेका काम विश्वलाई देखाउने अवसर प्राप्त भएको छ । यसले हामी जनप्रतिनिधिहरूलाई जनताको सेवामा समर्पित भएर काम गर्न थप उत्साहित गरेको छ । जनप्रतिनिधि, स्थानीय जनता र राजनैतिक कार्यकर्ताहरूको एकमनको एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता हामी महसुस गर्दै छौँ ।
भदौ २३ र २४ गतेको युवाहरूको प्रदर्शनले देश नराम्ररी प्रभावित भयो । त्यो क्रममा भक्तपुर पनि अछुतो रहेन । भक्तपुरको जिल्ला प्रशासन कार्यालय, स्काउट भवनलगायत केही सरकारी कार्यालयहरू जलाइए । नेपाल आउने पर्यटकहरूमा निकै कमी आयो । भक्तपुर नगरपालिकाको आर्थिक स्रोतमध्येको पर्यटन शुल्कमा केही प्रभाव प¥यो । विगतका वर्षहरूदेखि नै बाह्य पर्यटकसँगै आन्तरिक पर्यटक वृद्धिका लागि भक्तपुर नगरपालिकाले विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ ।
भक्तपुर नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेर त्यसको आधारमा काम गरिरहेको छ । आ.व. २०८२।८३ मा पारित बजेटको आधारमा साउनदेखि पुस २० गतेसम्म भएका कार्यहरूलाई सङ्क्षिप्तमा यहाँ प्रस्तुत गर्न चाहन्छौँ ।
आयतर्फ :
यस नगरपालिकाको चालु आ.व. २०८२।८३ को स्वीकृत बजेटअनुसार आन्तरिक स्रोततर्फ अनुमानित रु. ६४ करोड ७१ लाख १० हजार प्रक्षेपण गरिएकोमा २०८२ पुस २० गतेसम्म २६ करोड ११ लाख ९५ हजार रुपैयाँ सङ्कलन भएको छ भने बाह्य स्रोततर्फ १ अर्ब ५० करोड १३ लाख रुपैयाँ अनुमान गरिएकोमा ५८ करोड १७ लाख ७१ हजार सङ्कलन भएको छ । २०८२ पुस २० गतेसम्म नगद मौज्दातसमेत रु. १ अर्ब १६ करोड ७६ लाख ६६ हजार आय भएको हुँदा त्यो कूल अनुमानित आय रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको ४७ प्रतिशत प्रगति भएको देखिन्छ ।
व्ययतर्फ :
यस नगरपालिकाको स्वीकृत बजेटअनुसार आ.व. २०८२।८३ मा चालु खर्च शीर्षकमा रु. १ अर्ब ५२ करोड ५३ लाख ११ हजार र पुँजीगत खर्च शीर्षकमा रु. ८० करोड ४८ लाख तथा वित्तीय व्यवस्थातर्फ रु. १४ करोड ३० लाख गरी कूल रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार विनियोजन भएकोमा आ.व. २०८२।८३ को पुस २० गतेसम्म चालुतर्फ रु. ५५ करोड २ लाख ४९ हजार खर्च भई विनियोजित रकमको ३६.०७ प्रतिशत खर्च भएको छ । त्यसैगरी पुँजीगत खर्च शीर्षकतर्फ रु. ११ करोड ७७ लाख ४२ हजार खर्च भई विनियोजित रकमको १४.६३ प्रतिशतमात्र खर्च भएको छ र वित्तीय व्यवस्थातर्फ रु. १ करोड खर्च भई विनियोजित रकमको ६.९९ प्रतिशत खर्च भई कुल रु. ६७ करोड ७९ लाख ९२ हजार खर्च भई विनियोजित रकमको २७.४१ प्रतिशतमात्र खर्च भएको देखिन्छ ।
क) शिक्षा :
-भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिकै विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ । नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले समय–समयमा विभिन्न विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्दै आएको छ । हालै त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, ख्वप कलेज अफ इन्जिनियरिङ र काठमाडौँ विश्वविद्यालय भौतिकशास्त्र विभागको संयुक्त आयोजनामा पुस ५ र ६ गते ‘खाद्य सामग्री, स्वास्थ्य र कृषि क्षेत्रमा प्लाज्माको प्रयोग’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०८२ माघ ५ गतेदेखि ७ गतेसम्म 4th International Conference on Earthquake Engineering and Post Disaster Reconstruction Planning विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । त्यसैगरी आगामी फागुनको १ गते ‘कम्प्युटर, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल इन्जिनियरिङ’ विषयको राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको छ । हाम्रा इन्जिनियरिङ कलेजहरूले नियमित रूपमा प्रत्येक वर्ष सम्पदा संरक्षण र आर्किटेक्चर विषयको राष्ट्रिय सम्मेलन पनि आयोजना गर्दै आएका छन् । साथै २०८३ जेठ ८ र ९ गते ख्वप कलेजको आयोजनामा चौथो राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको छ ।
– नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गुणस्तरीय शिक्षालाई पनि उत्तिकै जोड दिइरहेको छ । ख्वप कलेज अफ इन्जिनियरिङको सिभिल इन्जिनियरिङ शैक्षिक कार्यक्रम २०७६ समूहका विद्यार्थी ई. गौरव भूषाल वि.सं. २०८० सालको सिभिल इन्जिनियरिङ विषयको स्नातक
(बि.ई. सिभिल) मा सर्वप्रथम भई त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा शिवराज पन्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् भने ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक वर्ष २०७९।८० मा भर्ना भएका १९ औँ समूहका विद्यार्थीहरूको अन्तिम परीक्षाको नतिजामा जम्मा ३९ जना विद्यार्थीहरूमा ३७ जना विद्यार्थीहरू विशिष्ट श्रेणीमा र २ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भई गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन नगर शिक्षा समितिअन्तर्गत नगर परीक्षा समिति गठन गरी कक्षा ५, ८ र १० को परीक्षा सञ्चालन गर्दै आएका छौँ । गत २०८१ सालको एसईई परीक्षामा भक्तपुर नगरपालिकाभित्रका ६० वटा विद्यालयबाट २ हजार ४१० जना परीक्षामा सहभागीहरूमध्ये २ हजार १६६ जना उत्तीर्ण भएका थिए । यो परीक्षामा सहभागी परीक्षार्थीहरूमध्ये ८९.८८ प्रतिशत हो ।
-भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि वर्षको ४ करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था हुँदै आएको छ । आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्न सहुलियत ब्याजदरमा शैक्षिक ऋणको व्यवस्था छ । आर्थिक वर्ष ०८२।८३ मा ९९ जना विद्यार्थीहरूको लागि प्रतिविद्यार्थी रु. ५ लाखसम्म शैक्षिक ऋण स्वीकृत गरी चालू आ.व.मा ५० जनालाई रु. १ करोड ७२ लाख २७ हजार रुपैयाँ ऋण प्रदान गरिसकेको छ । राजनीतिशास्त्र, नेपालभाषा, संस्कृति, अर्थशास्त्र र दर्शनशास्त्र अध्ययन गर्ने नगर क्षेत्रभित्रका विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नेे नीतिअनुसार यस अवधिमा ६ जना विद्यार्थीहरूलाई स्नातक/स्नातकोत्तर/ एफ.फिल/विद्यावारिधी तहसम्मको लागि छात्रवृति प्रदान गरेका छौँ । हालसम्म यसरी नगरपालिकाले तोकेका विषयहरू छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या २५० भन्दा बढी छन् ।
-वडा वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने योजनाअनुरुप यो वर्ष भनपा १० कमलविनायकमा शिशु स्याहार केन्द्र सञ्चालनको तयारी भइरहेको छ । यसरी शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर कक्षासम्मको शिक्षा दिने भक्तपुर नगरपालिका नेपालको एक मात्र नगरपालिका हो । नेपाल सरकारले ख्वप विश्वविद्यालय विधेयक पारित गरिदिएको खण्डमा विश्वविद्यालयसमेत चलाउने भक्तपुर नगरपालिका देशको पहिलो नगरपालिका हुनेछ ।
ख) स्वास्थ्य :
-भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा, वडा–वडामा स्वास्थ्य केन्द्रको सञ्चालनदेखि १०० शय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको छ । ख्वप अस्पतालको स्वास्थ्य सेवा र सुविधाको गुणस्तर वृद्धिको लागि आधुनिक स्वास्थ्य उपकरणहरू थप्ने क्रम जारी छ । ख्वप अस्पतालमार्फत वर्षको ३६५ दिन ११ घण्टा ओपीडी सेवा प्रदान गर्दै जनताको स्वास्थ्य उपचारमा सहज पहँुच पु¥याउन प्रयत्नशील छौँ । चालू वर्षको ५ महिनाको अवधिमा अस्पतालले १ लाख ३३ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । गत आ.व.२०८१।८२ मा ७० भन्दा बढी जिल्लाका २ लाख ८९ हजारभन्दा बढी बिरामीहरूको सेवा गरेको थियो । अस्पतालले गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएकोमा आगामी माघ महिनाबाट सीटी स्क्यान सेवा सञ्चालनमा ल्याउने तथा थप एउटा अत्याधुनिक ल्याप्रोस्कोपिक मेसिनबाट सर्जरी सेवालाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । अस्पतालले सेवाग्राहीहरूको सहजताको लागि क्यु.आर. प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण प्रणालीको सुरुआत गरेको छ ।
-चालु आ.व.मा नगरपालिकाको व्यवस्थापनमा सञ्चालित आर्युवेद उपचार केन्द्रबाट २ हजार २५८ जनालाई र घरदैलो नर्सिङ सेवा २४ हजार ११७ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ख्वप तिलगङ्गा आँखा अस्पतालबाट ११ हजार ४९१ जनालाई आँखाको उपचार तथा ३३८ जनाको आँखाको शल्यक्रिया सेवा गरिसकेको छ । त्यसैगरी श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट १ हजार ८८० जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको अभिलेख छ ।
-नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नियमित रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । हाल वडावडामा भी.आई.ए. टेस्टमार्फत महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्तन क्यान्सर, हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेका छन् ।
-नगरपालिका क्षेत्रका नगरवासीहरूलाई निःशुल्क रगत र निःशुल्क अक्सिजन वितरण व्यवस्थालाई निरन्तरता दिँदै आएकोमा चालु आ.व.मा ६५५ जनालाई रु. १२ लाख १० हजार रकम बराबरको निःशुल्क रगत र ७ हजार १३७ वटा ठुलो र सानो अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराइएको छ । कडा रोग लागेका ९६ जना नगरवासी बिरामीलाई आर्थिक सहयोगबापत यस अवधिमा रु. १४ लाख ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।
– २०८२ पुस ८ देखि ११ गतेसम्म भक्तपुर नगरक्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूको मुटुरोग परीक्षण सम्पन्न गरियो । उक्त शिविरमा ३० हजार ६८३ जना विद्यार्थीहरूको मुटुको परीक्षण गरेकोमा १४२ जनामा जन्मजात मुटुको समस्या पहिचान भएको छ । ती विद्यार्थीहरूको निःशुल्क उपचार भइरहेको छ । छोटो अवधिमा यति धेरैको सङ्ख्यामा स्वास्थ्य परीक्षण गरेको यो पहिलो पटक हो ।
ग) संस्कृति तथा सम्पदा संरक्षण :
– यस आ.व. मा भक्तपुर नगरपालिका वडा नं. ८ स्थित हामा द्यो मन्दिर र भक्तपुर नगरपालिका वडा नं. ९ स्थित सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनःनिर्माण सम्पन्न भयो । भनपा वडा नं. २ स्थित इन्द्रायणी द्यो छेँ पुनःनिर्माण, भ.न.पा ४ स्थित हाडा छेँ पुनःनिर्माण र इखालाछी मठ पुनःनिर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । भ.न.पा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित थंथु दरबार पुनःनिर्माण आयोजनाअन्तर्गत उक्त दरबारको पहिलो तल्लाको कार्य सम्पन्न भई दोस्रो तल्ला निर्माण भइरहेको छ ।
घ) कृषि :
– चालू आ.व.मा भक्तपुर नगरपालिकाका २५ जना कृषक परिवारलाई ५० प्रतिशत अनुदानमा प्रतिपरिवार तीस हजार बराबरको कृषि सामग्रीहरू वितरण गरियो । कृषकहरूलाई नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल समानुपातिक वितरणको व्यवस्था मिलाइएको छ । नगरपालिकाबाट उत्पादित प्राङ्गारिक मल र कृषि चुन सहुलियत दरमा स्थानीय कृषकहरूलाई उपलब्ध गराउँदै आएका छौँं । साथै कृषि मल र जैविक विषादीबारे अभिमुखीकरण कार्यक्रम पनि यस अवधिमा सम्पन्न भएको छ ।
– सामुदायिक कुकुर तथा बिरालो बन्ध्याकरणको प्रक्रिया अगाडि बढाइएको छ ।
ङ) पर्यटन :
-भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डलले २०८२ असोज ३ गतेदेखि असोज ८ गतेसम्म भगिनी सहर जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गतको सान–नान नगरपालिकाको भ्रमण गरी २०८२ असोज ४ गते भगिनी सम्बन्ध नवीकरण सम्झौता सम्पन्न ग¥यो । त्यसैगरी २०८२ असार १० गते (जून २४, २०२५) ल्हासा सहरमा सम्पन्न चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका १९ वटा नगरपालिकाहरूको बैठकमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको टोली सहभागी भएको थियो । विदेशी सहरसँग भगिनी सम्बन्धका लागि सिचाङ जनमैत्री सङ्घ र तिब्बतस्थित नेपाली महावाणिज्यदूतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित उक्त बैठक आयोजना गरिएको थियो ।
– आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यले ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ भक्तपुर नगरका दक्षिणी भेगका पाखेरीहरूको अवलोकन गरी ‘सांस्कृतिक सम्पदा पदयात्रा’
आयोजना गरियो । त्यस्तै नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा योमारी प्रतियोगिता सञ्चालन गरी खाद्य महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरियो ।
– आ.व २०८२।८३ मा गैरसार्क पर्यटकहरू ६१ हजार ८५८ जना र सार्क तथा चिनियाँ पर्यटकहरू ४१ हजार २०७ जना गरी कुल १ लाख ३ हजार ६५ जनाले भक्तपुर भ्रमण गरेको पर्यटन सेवा तथा सूचना केन्द्रको अभिलेख छ । गत आ.व. ०८१।८२ को सोही अवधिमा गैरसार्क पर्यटक ६७ हजार ५२९ जना र सार्क पर्यटक ५० हजार ६८१ जना गरी जम्मा १ लाख १८ हजार २१० जना पर्यटकले भक्तपुर भ्रमण गरेका थिए । भदौ २३ र २४ गतेको युवाहरूको आन्दोलनबाट पर्यटन क्षेत्र नराम्ररी प्रभावित भयो । देशको राजनीतिक स्थिति र अन्तर्राष्ट्रिय परिस्थितिका कारण यस अवधिमा गत वर्षको तुलनामा भक्तपुर भ्रमण गर्ने पर्यटकहरूमा १५ हजार १४५ जना विदेशी पर्यटकहरू कमी देखिएका छन् ।
च) वातावरण तथा सरसफाइ :
-भक्तपुर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घरघरबाटै कुहिने र नकुहिने छुट्याई नियमित सङ्कलन गर्दै कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिरहेका छौँ भने नकुहिने फोहोरमध्येबाट पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्याई बाँकी फोहोर अन्तिम बिसर्जनको व्यवस्था मिलाउँदै आएका छौँ ।
-नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानीय जनताको सहभागितामा नगरका खुला क्षेत्र, नदी किनार, पोखरी, मन्दिर परिसर तथा सार्वजनिक क्षेत्रहरूमा हरेक महिनाको १ गते र १५ गते नियमित सरसरफाइ कार्य भइरहेको छ ।
– नगरपालिकाभित्रका आवास क्षेत्रका सडक पेटी, खोला किनार तथा सार्वजनिक स्थलहरूमा वृक्षरोपण गरी हरियाली व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।
छ) खेलकुद :
– नगरपालिकाको आयोजनामा २०८२ मङ्सिर २५ गतेदेखि पुस १ गतेसम्म भक्तपुर नगरव्यापी विद्यालयस्तरीय विविध खेलकुद प्रतियोगिता (भलिबल, फुटबल, कबड्डी, कराँते, एथलेटिक्स, उसु, टेबलटेनिस, खोखो, पोर्टबल, ब्याडमिन्टन, तेक्वाण्डो, बुद्धिचाल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल) भएकोमा ८४ वटा विद्यालयका ३ हजार ४ सय ५६ जना खेलाडीहरू सहभागी भएका थिए । वडा वडामा छिकोङ शारीरिक व्यायाम प्रशिक्षणलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भ.न.पा. १ स्थित भाजु पोखरी परिसरमा बृहत छिकोङ शारीरिक व्यायाम प्रदर्शनी गरियो ।
– भक्तपुर नगर क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयका छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम र विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम पनि यस अवधिमा सम्पन्न भयो ।
ज) युवा तथा रोजगार :
– लघु उद्यमीहरूको व्यवसाय प्रवद्र्धनको लागि उपयुक्त प्रविधि हस्तान्तरण, युवालक्षित ४ महिने चिनियाँ र जापानी भाषा तालिम प्रशिक्षण तथा सिलाइ, हेयर कटिङ, पाक शिक्षा, कम्प्युटर, छाला जुत्ता बनाउनेलगायतका सीपमूलक तालिमहरू यस अवधिमा प्रदान गरियो । यसबाट सयौँ युवाहरू लाभान्वित भएका छन् । तालिम प्राप्त युवाहरूलाई स्वरोजगार बनाउन सहुलियत दरमा युवा उद्यमशील ऋण प्रदान गर्दै आएका छौँ ।
झ) विकास निर्माण :
– भक्तपुर नपा वडा नं. ६ अँचा पुखुमा आदर निकेतन भवन निर्माण सम्पन्न भई सञ्चालनको क्रममा रहेको छ । भक्तपुर नपा वडा नं. ६ देकोचास्थित अरनिको सभाभवन निर्माण आयोजनाअन्र्तगत पहिलो तलाको फ्रेम स्ट्रक्चरको ब्लक A र B को कार्य सम्पन्न भएको र ब्लक C को निर्माण कार्य चालु छ ।
-भनपा वडा नं. ८ लिबालीस्थित शीत भण्डार गृह निर्माण कार्य रु. ३ करोड ५९ लाख ६५ हजारमा सम्पन्न भइसकेको र सञ्चालनको लागि आवश्यक अन्य मेसिन उपकरणलगायतका सामग्रीहरू खरिद प्रक्रियामा रहेको छ । नगरका विभिन्न स्थानहरू देकोचा, कमलविनायक, कांलाचालगायतका क्षेत्रमा बाटो पिच गर्ने कार्य सम्पन्न भएका छन् । भ.न.पा. ४ स्थित तारा मा.वि. भवन निर्माण कार्य टेन्डर आह्वान गरी ठेक्का सम्झौता भई कार्य अगाडि बढिरहेको छ । भ.न.पा वडा नं. ७ खँचास्थित स्वास्थ्य केन्द्र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने भ.न.पा १० बेखालस्थित जनस्वास्थ्य केन्द्र भवन सञ्चालनमा आइसकेको छ । त्यसैगरी भनपा वडा नं. १ दूधपाटीस्थित बहुउद्देश्यीय भवन निर्माण प्रक्रिया अगाडि बढिरहेको छ भने सोही वडाको इसानेश्वर मन्दिर निर्माण कार्य र सल्लाघारी इटापाके सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
ञ) विविध :
-विभिन्न स्थानीय तह अध्ययन भ्रमणको क्रममा २०८२ कार्तिक १७ गते सिन्धुलीको कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, कार्तिक १८ गते धनुषाको नगराइन नगरपालिकाका प्रमुख विनयकुमार यादव र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, कार्तिक १९ गते जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, वर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र कार्तिक २३ गते सिरहाको लाहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीसँग भेटघाट गरी अनुभव आदानप्रदान भयो । सोही क्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट भयो ।
– झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले भक्तपुर अध्ययन भ्रमण ग¥यो । यस अवधिमा इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बराल र मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले पनि भक्तपुर भ्रमण ग¥यो ।
– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका नवप्रवेशी शाखा अधिकृतहरूको ६ महिना अवधिको ‘आधारभूत प्रशासन प्रशिक्षण’ का प्रशिक्षार्थी अधिकृतहरूको १२० जनाको टोलीले भक्तपुर नगरपालिकाका पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमण ग¥यो ।
– यस अवधिमा जनवादी गणतन्त्र चीनको East China University of Technology छिङहाइ मिन्चु युनिभर्सिटीका प्रतिनिधिमण्डल र जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिमटेफ) का चिकित्सक टोलीले भक्तपुर भ्रमण गर्नुका साथै भेटघाट भयो ।
-भनपा वडा नं. २ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजना सञ्चालनमा देखिएका केही समस्याहरूबारे सम्बन्धित जग्गा धनी र मोहीहरूसँग आवश्यक छलफल गरी समाधानको प्रयास भइरहेको छ ।
– भक्तपुर नगरपालिकाको बजार अनुगमन टोलीले समय समयमा बजार अनुगमन गरी बजार व्यवस्था गरिरहेको छ ।
– भक्तपुर नगरपालिकाको आयोजनामा १५ दिने ज्येष्ठ नागरिक हेरचाह तालिम र टेलिभिजनसम्बन्धी १५ दिने तालिम सम्पन्न भयो ।
– कार्तिक १५ गतेदेखि भक्तपुर नगरपालिका वडा नं. ४ बोलाछेँदेखि राममन्दिर पुल पारिसम्म र भ.न.पा. वडा नं. ३ बाराही पुलदेखि वंशगोपालसम्म चारपाङ्ग्रे सवारी साधन निश्चित समय तोकी एकतर्फी सञ्चालनको व्यवस्था गरेका छौँ ।
अन्त्यमा, भक्तपुर नगरपालिकालाई सफा, सुन्दर र आकर्षक नगर बनाउन निरन्तर सहयोग गरिरहेका तमाम जनताप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हामी पुनः धन्यवाद व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिकाको १९ औँ नगरसभामा बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)