बजारमा सबै सामानको मूल्य बढेको छ । पैसा महँगो छ तर सामान गुणस्तरीय छैन् । अहिले खसीको मासु प्रतिकिलो १३ देखि १४ सय रुपैयाँ छ । राँगाको प्रतिकिलो सात सयदेखि आठ सय रुपैयाँ पर्छ । पसलैपिच्छे भिन्दाभिन्दै भाउ राखिएको छ । काठमाडौं उपत्यकामा खसी, बाख्रा, राँगा, भैंसी अन्य ७४ जिल्लाबाट भित्रिन्छ ।
काभ्रेको साँगा, कलंकी, बल्खु, नुवाकोटबाट दैनिक हजारौ ट्रक पशु मासुका लागि उपत्यका ल्याइन्छ । पशुपालकहरुले जिँउदो बाख्रा तीन सय रुपैयाँ र जिँउदो भैंसी दुई सय रुपैयाँ किलोमा व्यापारीहरुलाई बेच्छन् । बाख्रा र भैंसी कहाँ प्रयोग भइरहेको छ ? सरकारले खोजी गरेको छैन् ।
बाख्रा र भैंसीको मासु थकाली, होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसमा प्रयोग हुने गरेको छ । मासु पसलेहरुले खसीको मासुमा बाख्राको मिसाएर उपभोक्तालाई भेटिरहेका छन् । तीन वटा खसी काट्छन्, एउटा बाख्रा । अनि मिसाएर खसीकै मासुको भाउमा बेच्छन् । यता, भैंसीको मासु काट्छन् ।
राँगासँग मिसाएर भैंसीको मासु बेच्छन्, राँगाकै मूल्यमा । व्यापारीहरुले दिनदहाडै उपभोक्तालाई ठगिरहँदा राज्य कहाँ छ ? नाकामा खटिएका कर्मचारी र सुरक्षाकर्मीले बाख्रा र भैंसी भित्रिएको देखेका छन् । त्यो कहाँ लगिरहेका छन् ? त्यसको के गर्छन् ? अनुगमन गर्नुपर्ने हो ।
विडम्बना, उनीहरुलाई कुनै मतलब नै छैन् । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निर्धारण गर्छ । पहिले मट्टितेलको मूल्य पेट्रोल र डिजेलभन्दा सँधै कम हुन्थ्यो । लिटरमै २० देखि ५० रुपैयाँ सस्तो पर्थ्यो । पेट्रोलपम्प सञ्चालकहरुले डिजेल र पेट्रोलमा मट्टितेल मिसाएर बेच्न थाले ।
त्यसपछि सरकारले मट्टितेल र डिजेलको मूल्य समान बनायो । मट्टितेलको रंग पनि छुट्याइयो । अहिले मिलावट गरेर बेच्ने क्रम रोकिएको छ । मिलावटका कारण गाडीको इन्जिन बिग्रिने क्रम रोकिएको छ । मासुको हकमा पनि सरकार सचेत हुन आवश्यक भइसकेको छ ।
पैसा तिरेपछि गुणस्तरीय सामान पाउनु हरेक उपभोक्ताको अधिकार हो । तर, मासु पसले र होटल–रेष्टुरेण्ट व्यवसायहरुले जनतालाई दिउँसै अध्याँरो पारेर लुटिरहेका छन् । अनि राज्य के हेरेर बसिरहेको छ ? पार्टी प्यालेसहरुले एक प्लेट खानाको १५ सयदेखि २५ सय रुपैयाँ लिन्छन् ।
बाख्राको मासु खानका लागि जनताले त्यत्रो पैसा तिरिरहेको हो ? थकाली रेष्टुरेण्ट, भान्सा घरहरुले मटन खानाको तीन सयदेखि ६ सय लिइरहेका छन् । मटन भनेपनि त्यो बाख्रा हो । बाख्राको मासु बेचेर मटनको पैसा लिन पाएपछि के चाहियो ? त्यसैगरी, अन्य होटलमा पनि त्यही मासु पाकिरहेको छ ।
त्यत्रो पैसा लिएर पार्टी प्यालेस, होटल–रेष्टुरेण्टले अपराध काम गर्नुहुन्छ ? ती मासु कसैले नचिनोस् भनेर उनीहरुले केमिकल हाल्छन् । त्यसले जनताको स्वास्थ्यलाई असर पुर्याएको छ । कुनैपनि सामानमा मिलावट गर्न पाइँदैन् । खसी भनेर बाख्रा काटेर बेचेको अभियोगमा यसअघि एकाध पक्राउ पनि परेका छन् ।
तर, पछिल्लो समय सरकारले बजार अनुगमन गर्नै छोडेको छ । सरोकारवाला निकायलाई उपभोक्ताको अधिकार र स्वास्थ्यको कुनै ख्यालै छैन् । पहिलेपहिले बाख्रा र भैसी मर्दा लगेर गाडिन्थ्यो । कसैले पनि खाँदैन्थें । यद्यपि, अहिले त खुलेआम बिक्री भइरहेको छ । गाउँगाउँमा बिचौलिया पुगेपछि बाख्रा र भैंसीको कारोबार शुरु हुन थाल्यो ।
बिचौलिया गाउँमा पुगेर एक सय रुपैयाँ किलोमा बाख्रा उठाउँछन् । यहाँ ल्याएर मासु सप्लाईकर्तालाई दुई सय रुपैयाँ किलोमा बेच्छन् । उनीहरुले काटेर व्यापारीलाई तीन सय रुपैयाँ किलोमा बेच्छन् । अनि व्यापारीले थकाली, होटल–रेष्टुरेण्ट, भान्साघर, पार्टी प्यालेसमा सप्लाई गर्छन् ।
जनताले त्यही मासु खसी र राँगाको भन्दै मिठो मानिमानि खान्छन् । सरकारले नाकामा कडाइ गर्ने हो भने खसी र राँगा भनेर बाख्रा र भैंसी सप्लाई गर्नेहरु पक्राउ पर्छन् । यता, धेरै होटल–रेष्टुरेण्ट पनि कारबाहीको दायरामा आउँछ । किन कि अधिकांशमा त्यही मासु पाक्छ ।
मरेको कुखुराहरु पनि उपत्यका भित्रिरहेको हुन्छ । कुखुरा फार्ममा कुखुरा मरेपछि किसानहरुले गाड्नुको साटो काटकुट पारेर मासु पसलेहरुलाई बेच्छ । उता, माछा पसलको त कुरा गरिसाध्य छैन् । महिनौं केमिकलमा डुबाएका माछा बेचिन्छ । सर्वसाधारणले तीन सयदेखि ६ सय रुपैयाँमा खरिद गरेर मरेको कुखुरा र केमिकल हालेको माछा खाइरहेका छन् ।
होटल–रेष्टुरेण्टतिर पनि त्यही कुखुरा र माछाको प्रयोग भइरहेको छ । अधिकांश मासु पसलको दर्ता छैन् । मासु पसलेले मापदण्डको पालना गरेका छैनन् । मासु काट्ने ठाउँ निकै फोहोर हुन्छ । अचानो, खुकुरी, मासु पखाल्ने पानी निकै दुर्गन्धित हुन्छ । मासु पसले आफैंपनि फोहोरी हुन्छन् ।
चुरोट तानेर र मुखमा पराग हालेर मासु काटिरहेका हुन्छन् । त्यस्तो फोहोर मासु लगेर होटल–रेष्टुरेण्टहरुले मरमसला हालेर मिठो बनाएर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाँड गर्छन् । ठग्छन्, लुट्छन् । काट्नका लागि ल्याइएको खसी, राँगा, भैसी, माछा, सुँगुर, माछा, कुखुरा रोगी थियो कि थिएन् ? परीक्षण नै हुँदैन् ।
सरकारले चाडबाडको बेला चेकजाँच गरेजस्तो गरेर रमिता देखाउँछ, अरु बेला केही न केही । अनुगमनको काम सदाबहार हुनुपर्ने हो । सिंहदरबारबाट थापागाउँ हुँदै संसद् भवन आउँदा दुई माछा पसल देखिन्छ । त्यो माछा पसल छेउछाउबाट हिँड्न पनि सास्ती छ । कारण हो–दुगदुग गन्हाउनु ।
त्यही सडकबाट मन्त्री, सरकारी कर्मचारी दिनहुँ हिँड्छन् । तर, उनीहरुको ध्यान कहिले त्यस माछा पसलतर्फ जाँदैन् । कुहिएको माछा खुलेआम बेचिरहँदा तीन तहको सरकार कहाँ छ ? के हेरेर बसिरहेको छ ? सरकार त नाम मात्रको सरकार भइहाल्यो । नागरिकमा पनि सचेतना आएन् ।
सञ्चारकर्मीले न त्यो विषयमा बोले न लेखे । जसका कारण व्यापारीहरुमा त्यस्ता अवैध क्रियाकलाप गर्न हौसला बढेको छ । मःम मन नपर्ने कमै छन् । मःम भनेपछि सबै हुरुक्कै हुन्छन् । तर, त्यो मःमभित्र प्रयोग गरिएको मासु केसको छ ? कसैलाई थाहा छैन् । अहिले जताततै मःम पसल देखिन्छ ।
सरकारले अनुगमन गर्ने हो भने अधिकांश मासु पसल कारबाहीमा पर्छन् । जनताले अब सरकारलाई भन्नुपर्छ,‘कि डिजेल र मट्टितेलको जस्तै बाख्रा र खसी तथा राँगा र भैंसीको समान मूल्य बनाऊँ । कि त नाका–नाकामा अनुगमन बढाऊँ ।’ नत्र त जनताले मासु खानै छोड्नुपर्यो ।
मँहगो पैसा तिरेर अस्वास्थ्य, गुणस्तरहीन, मिलावटी सामान खाइरहनुपरेको छ । स्थानीय तहमा बजार अनुगमनका लागि कर्मचारी छन् । अन्य थुप्रै निकाय सरकारले अनुगमनका निम्ति भनेर स्थापना गरेको छ । उनीहरु काम गर्दैनन्, तलबभत्ता मात्र खान्छन् । बजार अनुगमन नगर्ने कर्मचारीलाई किन राख्ने ? जनतामाथि बेकारमा किन आर्थिक भार थप्ने ?
लगानी भइरहेको छ, उपलब्धि छैन् । व्यापारीको उद्देश्य नै उपभोक्तालाई ठगेर बढीभन्दा बढी नाफा कमाउनु हो । राज्यले अनुगमन नगरेर व्यापारीलाई उद्देश्य पुरा गर्न सहज बनाइदिएको छ । उपभोक्ता अधिकारको सरक्षण गर्ने हो भने राज्यले कडा रुपमा मासु पसलहरुमा अनुगमन गर्नुपर्छ । जनताले पनि त्यस्ता व्यापारीको विरोधमा आवाज उठाउनुपर्यो ।
भक्तपुर