नेपालको राणा शासनविरोधी प्रजातान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा शिक्षकहरूको महत्वपूर्ण भूमिका थियो र छ । अहिले काठमाडौँमा शिक्षकहरूको आन्दोलन चालु छ । काठमाडौँमा चालु आन्दोलनका केही शिक्षक र शैक्षिक मागहरूबारे अभिभावक, बुद्धिजीवी र व्यवसायीहरू एवं विभिन्न जात–जाति, भाषा–भाषी र हिमाल, पहाड र तराई क्षेत्रका जनतामा समीक्षाको आवश्यकता अनुभवको व्यापक चर्चा चल्दै छ ।
खोला र नदीनाला भएका गाउँपालिकामा अध्यक्ष अधवैँसे माझी हुनु स्वाभाविक छ । गाउँका अभिभावकहरू त्यहाँका विद्यालयका शिक्षकहरू जाल बुन्न सिपालु र माछा मार्ने वा जालमा पार्ने शिक्षक भएमा वा त्यस्ता अनुभवी प्रधानाध्यापक भएमा अवश्य खुसी हुनेछन् ।
त्यस्तै, तराईका मैथली, भोजपुरी, थारु क्षेत्रका अभिभावक र विद्यार्थीहरू आफ्ना प्रधानाध्यापक र शिक्षकहरू आ–आफ्ना भाषा राम्रो बोल्ने भए अवश्य सा¥है खुसी हुनेछन् ।
विभिन्न बाजागाजा बजाउने, गीत गाउन जान्ने र खेलकुद तथा अनेक शारीरिक अभ्यासका जानकार प्रधानाध्यापक र शिक्षकहरू पाएमा भविष्यका कर्णधारहरूमा ठुलो उत्साह देखिनु पनि त्यत्तिकै अनुभवसिद्ध विषय हो ।
हाम्रा शास्त्रीय र आचार्य गरेका गुरुहरूले नेपाली साहित्य पढाउँदा नेपाली भाषा बुझ्ने विद्यार्थीहरू अति खुसी हुनेछन् । नेपाली भाषा नबुझ्ने छात्र–छात्राहरूले सुनिरहे पनि राम्रो बुझेका हुँदैनन् । यसबारे व्यवहारमा भन्ने गरिन्छ, “जुत्ता लगाउनेले जुत्ताले कहाँ पोलेको हुन्छ थाहा पाउँछ ।” अर्को आहान पनि छ– ‘गाईको घाउ कागलाई के थाहा !’
डकर्मी र सिकर्मीहरू अभाव भएका गाउँ र सहरमा जसरी नगरपालिका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई आफ्ना नगर र बस्तीलाई सुन्दर र नेपाली शैलीले बनाउन डकर्मी र सीकर्मीको अभावले चिमोटेको हुन्छ, त्यस्तै ती बस्ती र नगरका अभिभावकहरू आफ्ना विद्यालयहरूमा प्रधानाध्यापक र शिक्षकहरू सिपालु इन्जिनियर, डकर्मी र सिकर्मी भए हाम्रा नयाँ पुस्ता कस्तो राम्रो होला भनी कल्पना गर्छन् ।
गुरुङ, मगर, शेर्पा, तामाङ, राई, लिम्बु, नेवार र अन्य जात–जाति र भाषा–भाषी बाहुल्य भएका सहर र गाउँहरूका अभिभावक र छात्र–छात्राहरू आ–आफ्ना भाषामा विज्ञान, समाजशास्त्र, अङ्ग्रेजी र गणितसमेत बुझ्ने गरी सिकाउनु हुने शिक्षक–शिक्षिका पाए भने खुसी हुने मात्र होइन विद्यालयको परीक्षाको परिणाम पनि अत्यन्त सन्तुष्ट हुनेमा दुईमत नहोला । अनि हाम्रा मेहनती शिक्षकहरूले परीक्षामा प्रश्न–उत्तरहरू इन्टरनेटबाट हात–हातमा पठाई सार्न लगाई सत प्रतिशत उत्तीर्ण देखाए । यस्तो कार्यबाट पछि पछुताउनुपर्ने हुन्छ र यस्तो कार्य गराउनु हुने थिएन ।
यसकारण, शिक्षा देश, काल र परिस्थितिअनुसार हुनु आवश्यक छ भन्ने अनुभवीहरूको भनाइ छ । भाषा र शिक्षा पनि स्वयं एक राजनैतिक हतियार हो भन्ने उदाहरण भारतबाटै थाहा हुन्छ । बेलायती उपनिवेशवादीहरूले लागु गरेको अङ्ग्रेजी भाषा र बेलायती शिक्षा नै लागु गरेको हुँदा भारतको उपनिवेशबाट मुक्त भएको ६०–७० वर्ष हुँदा पनि भारतीय शैक्षिक र राजनीतिक वातावरणमा बेलायती संस्कार बाँकी भएको अनुभव गरिएको छ ।
सन् १९६० तिर चिनियाँ युवा विद्यार्थीहरूसँग ‘तिमी कुन विषय पढ्दै छौ’ भनी सोध्दा उत्तर आउँथ्यो – ‘कृषि’ । त्यसको कारण, अनिकाल भोग्दै आएको ठुलो जनसङ्ख्या भएको चीनले स्वतन्त्रतापछि पनि जनतालाई दुई छाकको निम्ति अन्न उत्पादन गर्न सकिएन भने संसारका कुनै पनि देशले चीनलाई खाद्यान्न सहयोग गर्नसक्ने छैनन् भनी उनीहरू भन्थे ।
सन् १९५०–५३ पछि कोरियाली युवा विद्यार्थीसँग तिनीहरूको ज्ञान र विशेषता सोध्दा उनीहरू जिउभरि रहेको अमेरिकी साम्राज्यवादी आक्रमणबाट लागेका गोली र बमका दागहरू देखाउँथे । तिनीहरूका शिक्षक र विद्यार्थीहरू आफ्नो मातृभूमि जोगाउन र जित्न सकेकोमा गर्व गर्थे । विद्यार्थीलाई देशभक्तिको महत्व बुझाउने अरु होइन त्यहाँका मजदुर पार्टी र शिक्षकहरू नै थिए ।
भियतनाम युद्धको बेलामा शिक्षकहरूले गुफा–गुफामा कालोपाटीमा अमेरिकी बमवर्षक हवाईजहाज र हेलिकप्टरलाई कसरी गोली हानेर खसाल्ने भन्ने उपाय सिकाउँथे । उनीहरूले अमेरिकी सेनाले कब्जा गरेका क्षेत्रमा कसरी बम बिछ्याउनेजस्ता विधिहरू सिकाउँथे ।
त्यसैले, भियतनामी विद्यार्थीहरूले कविता लेखे, “हाम्रा शिक्षक–शिक्षिकाहरू आकाशमा चन्द्र–सूर्यजस्तै चम्कने छन् ।”
यसकारण, नेपालमा पनि विद्यालय र विश्वविद्यालयलाई क्रान्तिकारी सिद्धान्तको बारुदखाना बनाउन चाहिने शिक्षकहरूको खाँचो छ ।