२०६२–६३ सालमा १९ दिने आन्दोलन भयो । त्यसपछि राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । राजा हटेपछि राजनीतिक दलले सत्ता चलाए । जनताका छोराछोराले सत्ता चलाए । राजाले जनताले तिरेको कर झ्वाम्म पार्यो, देशमा विकास गरेन् भनेर हटाइयो ।
तर, परिवर्तन केही भएन् । राजाभन्दा पनि राष्ट्रपतिहरु चर्को भए । सेवासुविधाको मामिलामा उनीहरुलाई कसैले नभ्याउने भयो । राजा हटेपछि राष्ट्रपतिको जिम्मेवारी रामवरण यादव, विद्यादेवी भण्डारीले सम्हाले । वर्तमानमा रामचन्द्र पौडेल छन् । उनीहरुले राजाले भन्दा बढी सेवासुविधा लिएका छन् ।
हिजो आफूले लुट्न, मोजमस्ती गर्न नपाएर जनतालाई उचालेका रहेछन् भन्ने त पुष्टि भइसकेको छ । देशबाट राजतन्त्र हट्यो, लोकतन्त्र गणतन्त्र आयो । तर, के फाइदा भयो ? देश र जनताले के पाए ? बरु जनताले तिरेको करमा केहीले मोज गरे । त्यतिले पनि नपुगेर देश धितो राखेर विदेशीबाट ऋण ल्याइयो ।
जनताकै साथ सहयोगमा लोकतन्त्र गणतन्त्र आयो तर जनतामाथि नै शासन चल्यो । जनताले के पाएका छन् ? जनताको अवस्था त ज्यूँको त्यूँ छ । देश झन् डामाडोल बन्दै गएको छ । पहिले एउटा राजा थिए, अहिले हजारौं । जो पनि खाने मात्रै छन् । आफू खान नपाउँदा झाको झारेको रहेछ भन्ने त अहिले आएर पुष्टि भएको छ ।
सानो देश छ । एक बित्ताको देश सात टुक्रामा बाँडिएको छ । संघका सांसद, प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि जनताले कहाँबाट पाल्ने ? एउटा जनप्रतिनिधिले मासिक तीन लाख रुपैयाँसम्म सेवासुविधा लिन्छन् । जनताले तिरेको करले नधानेपछि विदेशीबाट लिएर धमाधम तलबभत्ता र सेवासुविधा बाँडिएको छ ।
अर्कोतर्फ लाखौं सरकारी कर्मचारी छन् । यता, दिनैपिच्छे कर्मचारी अवकाशमा जान्छन्, उता, नयाँ भर्ती हुन्छन् । तिनलाई तलबभत्ता र सेवासुविधा कहाँबाट ल्याएर दिने ? देशमा उद्योग, कलकारखाना खोलेको भए, विकास गरेको भए, रोजगारीको अवसर सिर्जना गरेको भए, विदेशी ऋण नलिएको भए जनताले यिनीहरुको केही हदसम्म भएपनि विश्वास गर्थें ।
देश अर्कालाई सुम्पिहाले । यताबाट पनि मागेका छन्, उताबाट पनि मागेका छन् । जनताका छोराछोरी भेडाबाख्राझैं विदेश बेचेका छन् । कमाउन गएकाहरु बाकसमा फर्किरहेका छन् । अझै पनि हामी जनताको लागि यो गर्छौं ? त्यो गर्छौं भन्न यिनीहरुलाई लाज लाग्नुपर्ने हो । डेढ दशकमै यिनीहरुले देश तहसनहस बनाइदिए । भनिन्छ नि,‘अतिले खति गर्छ ।’
राजनीतिक दलहरुले अति गरिसकेका छन् । अब त्यसको खति भोग्न मात्र बाँकी छ । जनता राजनीतिक दलबाट आजित भइसकेका छन् । भाषण ठोक्ने, काम नगर्ने । यस्तै अवस्था रहेमा पुनः ठूलो आन्दोलन नहोला भन्न सकिन्न । केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवालगायतले देशै छोडेर भाग्नुपर्ने अवस्था निम्तिन सक्छ ।
अहिलेको व्यवस्था टिक्ने संकेत देखिन्न । आम्दानीको स्रोत छैन्, खर्च मात्रै बढेको छ । विदेशी ऋण ल्याएर कतिञ्जेल धान्ने ? नेताहरुले यहाँ लुट्नु लुटे, सबै पैसा विदेशमा लगेर लुकाएका छन् । आफ्नो पुस्तौं पुस्तालाई पुग्ने सम्पत्तिको जोहो गरेका छन् । जनताको आशा निराशामा बद्लिएको छ ।
लोकतन्त्र गणतन्त्रमा नेता र सरकारी कर्मचारीको मोजमस्ती हुन्छ भनेर जनताले सोचेका थिएनन् । नत्र यो व्यवस्थाका लागि किन लड्थे र ? राजा पनि जनताले तिरेकै कर खाने, राजनीतिक दलका नेता पनि । जो पनि खाने नै खाने मात्र भए । देश धरापमा परिसक्यो तर खान छोड्दैनन् ।
जनताको विश्वासको यति घात भयो कि बयान गरिसाध्य छैन् । अझै पनि नेताहरु ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को नारा लगाउन छोड्दैनन् । जनताले तिरेको कर झ्वाम्म बनाउने अनि सुःखी नेपालीको नारा लगाउने ! नौटंकी पनि कति देखाउन जानेका हुन् । राष्ट्रपति अलिकति पेट दुख्यो कि उपचार गर्न भारत पुग्छन् ।
जनता भने सिटामोल नपाएर मर्छन् । लोकतन्त्र गणतन्त्रको योभन्दा बढी उपलब्धि के होला ? दशैं सबैको हो । तर, अधिकांशले आफ्नो सन्तानबिना दशैं मनाउनुपर्यो । किन कि सबै विदेशमा छन् । नेताहरुको त के छ, सात पुस्तालाई पुग्ने जोडेकै छन् । देशमा विदेशी ऋण लिने होडबाजी चलेको छ ।
भोटका लागि देशलाई मोहोरा बनाइएको छ । आँखा चिम्लेर सरकारी कर्मचारी भर्ती गरियो । तैले बढी भत्ता बाँड्ने कि मैले भन्ने खेल चल्यो । जसका कारण आज देश संकटमा आइपुग्यो । देश सकाउनमा सबैको सराबरी हात छ । तर, यो कुरा जनताले बुझ्दैनन् । अझैपनि हामी यो पार्टी, त्यो पार्टी भन्नु बेकार छ ।
नयाँ होस् या पुरानो सबैको उद्देश्य देश लुटिखाने नै हो । एक जना सही नेतृत्वकर्ता भयो भने देश विकास हुन्छ । तर, नेतृत्वकर्ता सही भएन् भने सुन्दर देश पनि तहसनहस हुने रहेछ भन्ने उदाहरण नेपाललाई लिन सकिन्छ । दुबई, अष्ट्रेलिया, कोरिया हिजो के थियो ? उनीहरुले मरुभूमिमा विकास गरेका छन् ।
हाम्रो त कृषिप्रधान देश । प्राकृतिक रुपमा सुन्दर । जलस्रोतको दोस्रो धनी हो । हावापानी मिलेको । आज नेपाल न कृषिप्रधान देश रह्यो न प्राकृतिक रुपमा सुन्दर । विकासको नाममा जथाभावी उत्खनन् गरेर देशचाँहि सकाइयो । देश यस्तो हुनुमा जनताको पनि उत्तिकै हात छ ।
जनता बन्नुको साटो पार्टीको कार्यकर्ता बनिदिए । त्यसैले राजनीतिक दलहरुलाई प्रश्रय दियो । नेताहरुले कतिञ्जेल सक्छन्, विदेशबाट ल्याएर मोज गर्छन् । त्यसपछि देशै छोडेर भाग्छन् । अब नेता र सरकारी कर्मचारीहरुले देश ट्रयाकमा आउँदैन् भन्ने बुझिसकेका छन् । विगतदेखि नै मिलिजुली देश सकाऔं अभियान चलिरहेको छ ।
केपी हट्छन्, शेरबहादुर आउँछन् । शेरबहादुर जान्छन्, प्रचण्ड आउँछन् । जो आएपनि खाने र खुवाउने हुन् । जनताहरुले चाँडो अब यिनीहरुलाई हटाउन सक्नुपर्छ । पदमा भएसम्म यिनीहरुले देशै बेचेर लुटिरहने छन् । आधा दर्जन व्यक्तिले देश बेचे, तीन करोड जनता टुलुटुलु हेरेर बसे ।
अझै पनि आफूलाई नेपाली भन्ने ठाउँ बाँकी छ र ? अहिलेपनि हामी नेपाली हौं भनेर राष्ट्रिय पोशाक लगाउँछौं । राष्ट्रिय गान गाउँछौं । देश लुटिखाइसकें अब के राष्ट्रिय पोशाक लगाउनु, राष्ट्रिय गान गाउनु । नेताहरु सही नहुँदा जनताले गरेको आन्दोलन खेर जाने देखिएको छ ।
सफल भएको आन्दोलन अन्त्यमा विफल हुने स्थितिमा पुगेको छ । अझैपनि जनता यिनीहरुको विश्वास गर्छन् कि केही कदम चाल्छन् ? सोखमा बस, मोजमस्ती गर भनेर जनताले त्यो ठाउँमा पुर्याएका त होइनन् । जनताको अवस्था के छ ? नेता र सरकारी कर्मचारीलाई मतलब छैन् ।
तर, देशको अवस्था के छ ? जनतालाई थाहा छ । विदेशी ऋण कति छ ? यो पनि जानकारी छ । अब के बाँकी छ र लुकाउनलाई ? देशमा घुसखोरी, भ्रष्टाचारीको दबदबा चलेको छ भन्ने पनि जनतालाई थाहा छ । नेता र सरकारी कर्मचारी कहिलेपनि नसुध्रिने नै भए ।
मँहगी र बेरोजगारीका कारण धेरै जनताले यसपालि दशैं मान्न सकेनन् । अर्को वर्ष नेता र सरकारी कर्मचारीले देशभित्र दशैं मान्न नपाउने स्थिति नआउँला भन्न सकिन्न । देश यो अवस्थामा पुर्याउने को ? भन्ने छर्लङ्ग भइसकेको छ ।
भक्तपुर