अनवर होक्सा
अर्कोतिर सोभियत नेताहरूको आफ्नो विदेश नीतिको आधारभूत नीति घोषणा गरेको ‘शान्तिपूर्ण सहअस्तित्व को नीतिलाई संसारका अन्य कम्युनिस्ट र राष्ट्रिय मुक्ति आन्दोलनमाथि थोपर्ने चाहना साम्राज्यवादसँग बृहत् सम्झौतामा पुग्ने, क्रान्तिकारी आन्दोलन दबाउन तथा मुक्ति आन्दोलन कमजोर बनाउने र आफ्नो प्रभाव क्षेत्र जोगाउने एवम् विस्तार गर्ने पूर्णतः रणनीतिक योजना हो । संशोधनवादीहरूले साम्राज्यवाद र पुँजीवादको सेवा गर्ने यस्तो खालको ‘सहअस्तित्व’ प्रयोग गर्न चाहन्छन् अथवा प्रयोग गरिरहेका छन् । त्यो नीतिले व्यापक जनतालाई वैचारिक र राजनीतिकरूपमा निःशस्त्र बनाउँछ । उनीहरूको क्रान्तिकारी भावनालाई भुत्ते बनाइदिन्छ र निस्क्रिय बनाउँछ । भविष्यमा साम्राज्यवादी र सामाजिक–साम्राज्यवादीहरूबाट हुने हमला सामना गर्न नसक्ने बनाइदिन्छ । राज्यसत्ता हत्याउन सफल सोभियत संशोधनवादी र अरू संशोधनवादीहरूले क्रान्तिकारी पार्टीलाई क्रान्तिकारी सिद्धान्तबाट अलग बनाएर ध्वस्त बनाएका छन् । सबै लेनिनवादी विचारलाई अस्वीकार गर्दै खुट्टाले किचिमिची बनाएका छन् । देशमा उदारवाद र विघटनको बाटो खोलेका छन् । आफ्ना माक्र्सवादविरोधी विचार ‘पुँजीवादलाई समाजवादमा सङ्क्रमण गर्न सकिन्छ,’ गैरसर्वहारा वर्गले पनि समाजवादका आदर्श र समाजवादी आन्दोलनका नेताहरूलाई पछ्याउन सक्छन् र ’राष्ट्रिय पुँजीपतिवर्ग सत्तामा भएका देश पनि समाजवादमा फड्को मार्न सक्छन् फैलाएर संशोधनवादीहरूले श्रमिकवर्गको अग्रदस्ता पार्टीको सिद्धान्तलाई अस्वीकारमात्र गरेका छैनन् बरू पुँजीपति र प्रतिक्रियावादी वर्गले सङ्गठित हमला गरेको अवस्थामा श्रमिकवर्गलाई नेतृत्वविहीन अवस्थामा पु¥याएका हुन्छन् ।
संसदीय बाटोबाट समाजवादी व्यवस्थाको स्थापना किमार्थ सम्भव नभएको कुरा इतिहासले पुष्टि गरेको छ । चिलीमा समाजवाद त परको कुरा थियो । प्रजातान्त्रिक शासन स्थापनाको प्रक्रिया चल्दै थियो । चिलीमा सेप्टेम्बर ११ को घटनाले पुष्टि गरेको छ । पहिला यो कुरा भन्नुपर्छ, आजसम्म पुँजीपतिवर्गले कम्युनिस्टहरूलाई संसद्मा बहुमत ल्याउन र सरकार गठन गर्ने दिएको छैन । कथम्दाचित कहीँकतै कम्युनिस्ट र उनीहरूका सहयोद्धाहरूले संसद्मा उल्लेख्य उपस्थिति जनाउन एवम् सरकारमा सहभागी बनेको अवस्थामा पनि उनीहरूलाई संसद् वा सरकारको पुँजीवादी चरित्रमा कुनै परिवर्तन गर्न दिइएको छैन । त्यसरी संसद्मा बलियो उपस्थिति देखाउने र सरकारमा जाने कम्युनिस्ट पार्टीले पनि पुरानो राज्ययन्त्र भत्काउन र नयाँ संरचना स्थापना गर्न सकेका छैनन् ।
पुँजीपतिवर्गले सरकारी प्रशासनिक संयन्त्र सबै नियन्त्रणमा राख्ने अवस्थामा ‘संसदीय बहुमत’ ले देशको भाग्यमा परिवर्तन ल्याउने कुरा असम्भवमात्र होइन, अविश्वसनीय पनि छ । पुँजीवादी राज्ययन्त्रको मुख्य हिस्सा भनेको नै राजनीतिक र आर्थिक शक्ति हो, सेना हो । जबसम्म ती शक्तिमा कुनै फेरबदल गरेर नयाँ शक्ति बन्दैन, प्रहरी, गुप्तचर सेवा आदि पुराना संरचना रहेसम्म संसद् वा प्रजातान्त्रिक सरकार लामो समयसम्म टिक्ने कुरा सुनिश्चित गर्न सकिन्न । चिलीको घटनाले मात्र होइन, अरू पनि धेरै घटनाले पुँजीपतिवर्गको नेतृत्वमा सेनाले सजिलै प्रतिक्रान्तिकारी सत्ताकब्जा गर्न सक्छन् भन्ने कुरा देखाएको छ ।
ख्रुश्चेभपन्थी संशोधनवादीहरूले पुँजीवादी संसद्मा कम्युनिस्टहरू सहभागी बन्ने र पुँजीपतिवर्गबाट राज्यसत्ता कब्जा गर्ने सम्बन्धमा लेनिनका भिन्न प्रस्ट विचारमा अलमल पारिदिए । लेनिनले निश्चित परिस्थितिमा कम्युनिस्टहरू पुँजीवादी संसद्मा सहभागी बन्न अस्वीकार नगरेको सर्वविदित छ । तर, उहाँले पुँजीवादी संसद्मा कम्युनिस्ट पार्टीको सहभागितालाई श्रमिकवर्गको हित रक्षा गर्ने, पुँजीवाद र त्यसको राज्य शक्तिलाई नाङ्गेझार पार्ने र श्रमिकवर्गको पक्षमा पुँजीपतिवर्गलाई निर्णय गर्न बाध्य पार्ने दबुको रूपमा विश्लेषण गर्नुभएको थियो । लेनिनले यो पनि भन्नुभएको छ, “श्रमिकवर्गको हितमा संसद्को प्रयोग गर्न सङ्घर्ष गर्दा संसदीय भ्रम र पुँजीवादी संसद्वादको फूटबारे सधैँ सजग हुनुपर्छ ।”
लेनिन भन्नुहुन्छ, “जनतालाई सचेत बनाउन, चुनावमार्फत जनतालाई शिक्षित बनाउन र संसद्भित्र सङ्घर्ष गर्न क्रान्तिकारी सर्वहारावर्गको पार्टीले पुँजीवादी संसद्मा भाग लिनुपर्छ । तर, वर्गसङ्घर्षलाई संसद्भित्र मात्र सीमित राख्नु वा संसदीय सङ्घर्षलाई नै अन्तिम सङ्घर्ष मान्ने र सङ्घर्षका अन्य निर्णायक माध्यमलाई उपेक्षा गर्नु भनेको वास्तवमा सर्वहारावर्गविरूद्ध पुँजीपतिवर्गको पक्ष लिनु हो ।” (भी आई लेनिन, सङ्कलित रचना, भाग–३०, पृष्ठ–३०४–३०५ अल्बानियन संस्करण)
आफ्नो पार्टीलाई चुनावी पार्टीमा परिणत गरेका दोस्रो अन्तर्राष्ट्रियका प्रतिनिधि पार्टीहरूको आलोचना गर्नुहँुदै लेनिनले संसद्वाद कसरी विचारधारा, नीति र व्यवहारसँग सम्बन्धित छ भनी प्रस्ट देखाउनुभएको छ । उहाँले जोड दिनुभएको छ, “पुँजीवादी राज्यसत्ता बिस्तारै ओइलाएपछि त्यसको ठाउँ सर्वहारा राज्यसत्ता (सर्वहारावर्गको अधिनायकत्व) ले लिन सक्दैन । बरू एउटा आम नियमजस्तै हिंसात्मक क्रान्तिमार्फत त्यो सम्भव छ ।” (भी आई लेनिन, सङ्कलित रचना, भाग–२५, पृष्ठ–४७३ अल्बानियन संस्करण)
उहाँले जोड दिनुभएको छ, “यो विचारबाट जनतालाई व्यवस्थितरूपमा शिक्षित बनाउन आवश्यक छ र प्रस्टतः हिंसात्मक क्रान्तिको यही विचार नै माक्र्स र एंगेल्सको सम्पूर्ण विचारधाराको आधार हो ।” (उही)
तर, अझै पनि ‘संसदीय बाटो’ को वकालत गरेर आधुनिक संशोधनवादीहरूले सरलरूपमा काउत्स्की र उनको मण्डलीका विचारको अन्धनक्कल गरे । जति जति उनीहरू यो बाटोमा अघि बढ्छन्, त्यति–त्यति उनीहरू उदाङ्गिनेछन् । उनीहरू थप पराजय भोग्दै जानेछन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा कामदार जनताको आन्दोलनको सम्पूर्ण इतिहासले हिंसात्मक क्रान्ति, पुँजीवादी राज्ययन्त्र र सर्वहारा वर्गको अधिनायकवादको स्थापना नै सर्वहारा क्रान्तिको विश्वव्यापी नियम हो भन्ने कुरा पुष्टि गरेको छ ।
लेनिनले भन्नुभएको छ, “साम्यवादतर्फको गति सर्वहारावर्गको अधिनायकत्व हुँदै अघि बढ्छ । त्योबाहेक अरु बाटो अघि बढ्न सक्दैन किनभने पुँजीवादी शोषकहरूको प्रतिरोध ध्वस्त गर्नसक्ने अरू कुनै बाटो छैन ।” (उही, पृष्ठ–५४८)
पुँजीवादी एकाधिकारले आफ्नो अस्तित्वमाथि कुनै खतरा आइपरेको महसुस गर्दा फासीवादी सैनिक तानाशाही स्थापनाको खतरा हुन्छ । यो प्रक्रियामा साम्राज्यवादले नेपथ्यमा भूमिका खेलिरहेको हुन्छ । साम्राज्यवादको सुरूआती दिनदेखि आजको अवस्थासम्म उसले त्यस्तो भूमिका खेल्दै आएको छ । दोस्रो विश्वयुद्धयता संरा अमेरिकी साम्राज्यवाद, बेलायती साम्राज्यवाद र अरू शक्तिहरूले विभिन्न देशका क्रान्तिकारी शक्ति वा क्रान्तिकारी सरकारलाई दबाउन त्यहाँका पुँजीपतिवर्गलाई सहयोग गरे। पुँजीवादी व्यवस्था स्थापनामा सानोभन्दा सानो आधारलाई चुनौती दिने शक्तिलाई साम्राज्यवादी शक्तिले बाँकी राखेनन् ।
जतिबेलासम्म साम्राज्यवाद अस्तित्वमा रहन्छ, त्यतिबेलासम्म अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, प्रतिक्रान्तिकारी षड्यन्त्र थोपर्ने, वैधानिक सरकार फाल्ने, प्रजातान्त्रिक र प्रगतिशील शक्ति विघटन गर्ने एवम् क्रान्तिलाई अँठ्याउने आधार, सम्भावना र स्थायी नीति चालु रहनेछ ।
संरा अमेरिकी साम्राज्यवादले स्पेन र पोर्चुगलमा फासीवादी शासनको आधार निर्माण गरेको थियो । त्यसले जर्मन फासीवाद र जापानी सैन्यवाद पुनः स्थापनाको आधार बन्यो । दक्षिण अफ्रिका र रोडेसियामा जातिवादी शासनलाई टेवा दिने काम पनि संरा अमेरिकी साम्राज्यवादले नै गयो । संरा अमेरिकाले आफ्नै देशका काला जातिविरूद्ध विभेदलाई चालु राख्यो । दक्षिण कोरियाको प्रतिक्रियावादी शासन र सैगुन (भियतनाम) तथा न्होम पेन (कम्बोडिया) का कठपुतली सरकारलाई संरा अमेरिकी साम्राज्यवादले मद्दत ग¥यो । उसले यहुदीवादी हमलालाई उत्तेजित बनायो र अरब भूमि कब्जा गर्न इजरायललाई सहयोग ग¥यो । संरा अमेरिकाबाट कम्युनिस्टविरोधी, राष्ट्रिय उत्पीडनकारी र पुँजीवादी शोषणको आक्रामक हुरी चल्यो । एकाध अपवादबाहेक ल्याटिन अमेरिकाभरि संरा अमेरिकाले तानाशाही फासीवादी शासनसत्ता स्थापना ग¥यो जसले निर्दयतापूर्वक जनतामाथि शोषण र अत्याचार ग¥यो । ल्याटिन अमेरिकामा जनताको विरोध प्रदर्शन दबाउन, मजदुर र किसानमाथि दमन गर्न हातहतियार प्रयोग गरियो । संरा अमेरिकामा बनेका सबै हातहतियार उसैले वितरण गर्यो । चिलीको फासीवादी सैनिक सत्ताकब्जा त्यहीँका प्रतिक्रियावादीहरूको मात्र पक्कै होइन । यसमा साम्राज्यवादको पनि हात छ । चिलीमा एयेन्डे राष्ट्रपति बनेको पछिल्ला तीन वर्षमा चिलीका दक्षिणपन्थी शक्तिहरूलाई प्रतिक्रान्तिकारी गतिविधि गर्न संरा अमेरिकाले उक्सायो । एयेन्डेले लिएका प्रगतिशील र साम्राज्यवादविरोधी नीतिविरूद्ध चिलीका प्रतिक्रियावादी शक्ति र संरा अमेरिकी एकाधिकार पुँजीवादले बदला लिए । दक्षिणपन्थी पार्टी र सबै प्रतिक्रियावादी शक्तिले एयेन्डे सरकारलाई कमजोर बनाउन गरेका हिंसात्मक र आतङ्कवादी गतिविधि एवम् संरा अमेरिकी एकाधिकारवादले बाहिरबाट चिलीविरूद्ध थोपरेका आर्थिक नाकाबन्दी तथा राजनीतिक गतिविधिबीच नजिकको समन्वय थियो । प्रतिक्रियावादी सेनाको पछाडि संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) बसेर चिलीमा भएजस्ता सत्ताकब्जा ल्याटिन अमेरिकी महादेश, इन्डोनेसिया, इरान आदि देशमा पनि भए । यस्ता घटनाले फेरि संरा अमेरिकाको असली चरित्र उदाङ्गियो । संरा अमेरिकी साम्राज्यवाद नै सबै जनताका सन्काहा दुश्मन, न्याय र प्रगति, स्वतन्त्रता र स्वाधीनता अनि क्रान्ति र समाजवादको असभ्य शत्रु भएको पुष्टि गरेको छ ।
तर, चिलीको प्रतिक्रान्ति प्रस्टरूपमा चिनिने प्रतिक्रियावादी शक्ति र अमेरिकी साम्राज्यवादको काममात्र भने होइन । एयेन्डे सरकारलाई क्रिस्चियन–प्रजातान्त्रिक र पुँजीवादका अन्य खेमाले पनि अवरोध गर्नुका साथै अशोभनीय विरोध गरेका थिए । त्यस्तै इटाली र फ्रान्सका कम्युनिस्ट पार्टीहरूसँग मिल्दाजुल्दा चिलीका अति प्रजातन्त्रवादी शक्तिहरूले सुधार र शान्तिपूर्ण संसदीय बाटो हुँदै समाजवाद पुग्ने दाबी गरेका थिए । केही मानिसले चिलीको फ्रे पार्टीले फासीवादी सत्ताविप्लवको लागि ‘नैतिक जिम्मेवारी’ मात्र बहन गर्नुपर्ने कुरा गरे । तर, फ्रे पार्टीले त्यति भनेर जोगिने अवस्था छैन किनभने उसले एयेन्डे सरकारसँग सहकार्य गर्न अस्वीकार गरेको थियो । फ्रे पार्टीले वैधानिक (एयेन्डे) सरकारलाई समर्थन गरेको थिएन । एयेन्डे सरकारका सबै नियमित गतिविधि रोक्न त्यो दलले सम्भव सबै उपाय अख्तियार गरेको थियो । उत्पादनका साधनको राष्ट्रियकरणको विरोधमा उसले सबै दक्षिणपन्थी शक्तिलाई एकजुट बनाएको थियो । चिलीमा अन्योलको अवस्था सिर्जना गर्न उसले भूमिका निभाएको थियो । उनीहरूले सरकारलाई कमजोर बनाउने हजारौँ हजार चालबाजी बुनेका थिए ।
चिलीको घटनाका लागि सोभियत संशोधनवादीहरू पनि जिम्मेवार छन् । संरा अमेरिकाले एयेन्डे सरकारविरूद्ध गरेका षड्यन्त्र र चालबाजीमा हजारौँ माध्यमबाट सोभियत नेताहरू संलग्न थिए । एयेन्डे सरकारलाई सोभियत संशोधनवादीहरूले सहायता गरेका थिएनन् किनभने एयेन्डे सरकारलाई सहयोग गर्दा संरा अमेरिकासँग आफ्नो हार्दिक सम्बन्ध खराब हुने हो कि भनी उनीहरू डराउँथे ।
चिलीको ११ सेप्टेम्बरको घटनाअघि चिली र क्रान्तिको सिद्धान्तप्रति ख्रुश्चेभपन्थीहरूको यस्तो अडान थियो । इरानमा भएको वियोगपूर्ण घटनामा उनीहरूले त्यस्तै अडान राखेका थिए । इरानका प्रतिक्रियावादीहरूले सयौँ र हजारौँ कम्युनिस्ट र प्रगतिशील क्रान्तिकारीहरूलाई जेलमा थुन्दा तथा हत्या गरिरहँदा सोभियत संशोधनवादीहरूले चुँसम्म बोलेका थिएनन् । कम्युनिस्ट र क्रान्तिकारीहरूको हत्या र गिरफ्तारीविरुद्ध लड्नु त परको कुरा थियो । इन्डोनेसियामा पनि त्यस्तै भएको थियो । इन्डोनेसियामा ५ लाख कम्युनिस्ट र क्रान्तिकारीहरूको हत्या गरिएको थियो । त्यहाँ पनि सोभियत संशोधनवादीहरूले केही गरेका थिएनन् । कुनै प्रतिक्रिया जनाएका थिएनन् । जाकर्ताबाट आफ्नो राजदूत फिर्ता गर्ने निर्णय पनि गर्न सकेको थिएन । (सोभियत संशोधनवादीहरूले इन्डोनेसियाली कम्युनिस्ट पार्टीको मुखपत्र ’हर्जन रजत’ का प्रतिनिधिलाई सोभियत सङ्घबाट निष्काशन गरेका थिए । इन्डोनेसियाको फासीवादी सत्ताका तत्कालीन विदेशमन्त्री एडम मलिकलाई सोभियत सङ्घमा स्वागत गरिएको थियो । इन्डोनेसियाको फासीवादी सरकारलाई सोभियत सङ्घले हतियार आपूर्ति चालु राखेको थियो । ’आधुनिक संशोधनवादविरूद्ध सन् १९७१–१९७५)
सोभियत संशोधनवादीहरूको यस्तो व्यवहार कुनै दुर्घटना थिएन । क्रान्तिकारी सङ्घर्षलाई कमजोर बनाउन र जनताको मुक्ति सङ्घर्षको आगो निभाउन अमेरिकी साम्राज्यवादीहरूसँग उनीहरूले गाँसेको गोप्य सम्बन्धका यी सबै प्रमाण हुन् । सोभियत संशोधनवादीहरूका यस्ता अडानले निकै प्रचार गरिएको चिलीसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्ने निर्णयको नक्कली चरित्रमाथि प्रकाश पार्दछ । वास्तविकता यस्तो छ, अरू धेरै नक्कली कदमजस्तै चिलीका जनताप्रति कथित ऐक्यबद्धताका मीठा शब्दहरू जनमतलाई भ्रममा पार्ने तथा क्रान्ति र जनमुक्तिलाई दिएको धोकालाई लुकाउने चालबाजीमात्र हो ।
प्रतिक्रियावादले शिकार बनाएका चिलीका जनताको समर्थकजस्तो देखाउने अवसर छोप्न सोभियत सरकारले चिलीसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । मानौँ, सोभियत संशोधनवादीहरू मुक्ति र स्वाधीनताको लागि भएको सङ्घर्षका पक्षपाती हुन् । मानौँ, उनीहरू प्रगतिशील शासनका रक्षकहरू हुन् । साम्राज्यवादी स्वार्थलाई टेवा दिएसम्म मात्र सोभियत संशोधनवादीहरूले कुनै पनि प्रगतिशील सरकारलाई सहयोग गर्दछन् । त्योभन्दा पर उनीहरू जाँदैनन् । उनीहरू लोन नोलको नेतृत्वमा रहेको बदनाम र भ्रष्ट शासनसँग नियमित कूटनीतिक सम्बन्ध कायम राख्न लज्जाबोध गर्दैनन् । कम्बोडियाली जनताको महान् मुक्ति सङ्घर्षजस्ता जनसङ्घर्षबारे उनीहरू मुखमा दही जमाएर बस्छन् । चिलीको घटनाले आज ल्याटिन अमेरिकी जनताले भोगिरहेका सबै भयानक वियोगपूर्ण अवस्थालाई फेरि एकपल्ट सतहमा ल्याएको छ । साथै, चिलीको घटनाले ल्याटिन अमेरिकी क्रान्तिले आज भोगिरहेका कमजोरी, सीमितता र असमर्थतालाई उजागर गरेको छ । तर, त्यसले ल्याटिन अमेरिकी क्रान्तिकारीहरूलाई मात्र पाठ सिकाएको छैन । साम्राज्यवादी हस्तक्षेप र हिंसाविरुद्ध राष्ट्रिय एवम् सामाजिक मुक्तिको लागि, प्रजातन्त्र र मानव जातिको प्रगतिको लागि लडिरहेका संसारभरकै क्रान्तिकारीहरूका लागि त्यसले ठुलो पाठ सिकाएको छ । सोभियत सङ्घका संशोधनवादी शासकका अवसरवादी र लेनिनवादी सिद्धान्तविरोधीहरू विरूद्ध उठेका सबै सोभियत क्रान्तिकारीहरूको लागि यो घटना शिक्षाप्रद छ । इटाली, फ्रान्स र अरू विकसित पुँजीवादी देशका क्रान्तिकारीहरूले चिलीको घटनाबाट शिक्षा लिन आवश्यक छ । साथै, संशोधनवादविरूद्ध दृढतापूर्वक लड्न जरूरी छ । टोगलियाटी र अरू संशोधनवादीहरूले प्रचार गरेको ‘शान्तिपूर्ण संसदीय बाटो’ को प्रतिक्रान्तिकारी सिद्धान्त बहिष्कार गर्नुपर्छ ।
चिलीको घटना, चिलीका जनताको प्रजातान्त्रिक विजयविरूद्ध प्रतिक्रियावादी फासीवादी हमला, संरा अमेरिकी साम्राज्यवादको निर्मम आक्रमण र प्रतिक्रियावादी सेनालाई उनीहरूको समर्थनले संसारका सबै जनतालाई सतर्क रहन, साम्राज्यवाद, संशोधनवाद र अवसरवादका विभिन्न रङ्गका नक्कली नारालाई दृढतापूर्वक बहिष्कार गर्न र राष्ट्रिय स्वतन्त्रता एवम् स्वाधीनता, शान्ति र सुरक्षाको साहसपूर्वक रक्षा गर्न सबै शक्ति परिचालन गर्न उत्साहित गरेको हामीलाई विश्वास छ ।