चिन्मय
‘आर्य’ अर्थात् ‘आदर’
हामीमध्ये को कति आर्य हो ? यसको मोटामोटी उत्तर हामीले पाइसकेका छौँ । अब हामी ‘आर्य नश्ल/जाति’ तर्फ फर्किन्छौँ ।
मध्य एसियाबाट आएर कम्तीमा ५० हजार वर्षअघिदेखि बस्दै आएका रैथानेहरूसँग मिसिएको R1a1a-Z93 कसरी ‘आर्य नश्ल’ मा फेरियो ? यसको जवाफमा हाजिर छ पुस्तकमा सङ्ग्रहित रोमिला थापरको सबैभन्दा लामो र प्रभावशाली लेख । शीर्षक छ – ‘आर्यहरू’ सम्बन्धी विविध सिद्धान्त ।
प्राचीन कालमा ‘आर्य’ शब्दको अर्थ त्यो कहिल्यै थिएन जुन आज प्रचलित छ । पुस्तक पढ्दै जाँदा लाग्छ ‘आर्य’ शब्दको अर्थ जसरी कालक्रममा फेरिँदै गयो, त्यसमा भारतको सामाजिक इतिहाससमेत झल्किन्छ । वेदहरूमध्ये ऋग्वेद सालाखाला १५०० ईपूभन्दा अगाडि लेखिएको होइन । हडप्पा सभ्यताको अन्त्यतिर ऋग्वेद लेखियो । त्यसको लेखिएको झन्डै ५ सय वर्षको अन्तरालमा बाँकी वेद सामवेद, यजुर्वेद र अथर्ववेद लेखियो गङ्गा नदीको किनारमा । पुराणहरू र ऋग्वेदको बिचमा १ हजार वर्षभन्दा बढीको अन्तराल छ । यी संस्कृत वाङ्मयमा कतै पनि ‘आर्य’ भनेर कुनै जातिविशेषलाई जनाइएको छैन । प्रारम्भिक हिन्दू, बौद्ध तथा जैन रचनाको अध्ययन गर्दा ‘आर्य’ शब्दलाई एक आदरार्थी शब्द मानिएको छ भने ‘अनार्य’ लाई अनादरसूचक शब्द मानिएको छ । बौद्ध र जैन ग्रन्थहरूमा इतर पक्षलाई अनार्य भनिएको छ । बौद्ध साहित्यमा आउने ‘चार आर्य सत्य’ मा आर्यको जुन अर्थ हो, त्यही नै प्रचलित देखिन्छ । जस्तो, रावणले समेत आफू र आफ्ना मन्त्रीलाई (सामाजिक तह÷प्रतिष्ठाको अर्थमा) ‘आर्य’ भन्थे भने अरूलाई ‘अनार्य’ भन्थे । भाषाका हिसाबले ‘आर्य’ लाई जातिसूचक शब्द मान्ने हो भने एउटै भाषा बोल्ने मानिसहरू विभिन्न उद्गमका हुनसक्छन् । हामीकहाँ पनि नेवारी बोल्ने सबै जनसमूहका पुर्खा एकै होइनन् ।
एक भाषा–एक नश्ल
पहिचान भन्ने कुरा कहिल्यै स्थायी वा जड हुँदैन । यो निरन्तर निर्माण र परिवर्तनको भेलमा बगिरहन्छ । ‘आर्य’ पहिचानको निर्माण पनि समयक्रममा बन्यो । पहिले त ब्राह्मण कर्मकाण्डले यसलाई अलग्यायो । तर, ‘आर्य नश्ल’ को निर्माण युरोपेलीहरूले गरे ।
विश्वभरि उपनिवेश फैलाउँदै जाने क्रममा उपनिवेशवादी शासकहरूले रैथाने जनताको संस्कृति (भाषा, धर्म, कानुन आदि) को अध्ययन गरे । भारत आएका इस्ट इन्डिया कम्पनीका उपनिवेशवादी अध्येताहरू भारतीय इतिहासको फेहरिस्त बनाउने काममा जुटे । प्राचीन इतिहासको खोजी गर्न उनीहरूले संस्कृत भाषाको गहन अध्ययन गरे । उनीहरूले केही युरोपेली भाषा र संस्कृत भाषाबिच समानताका कडीहरू भेटाउन थाले । केही अध्येताले हिन्दू मिथक र बाइबलीय मिथकबिच समानता भेटे । विलियम जोन्सजस्ता बहुभाषाका ज्ञाताले संस्कृत भाषालाई ग्रिक, ल्याटिन र फारसी भाषाको सङ्गम भने । यसरी सबै भाषाको उत्पत्ति एउटै भाषाबाट भएको एक उद्गम सिद्धान्त जन्मियो । यो सिद्धान्तलाई पछि त्यो भाषा बोल्ने मानिसहरूमाथि पनि लागु गरियो । अर्थात्, एउटा भाषा बोल्ने मानिसहरूको उद्गमस्थल एउटै हुनुपर्छ ।
भारोपेली जातिको पितृभूमिको खोजीमा जर्मनहरू धेरै अघि बढेका थिए । युरोपमै पछि परेको र टुक्रेको अवस्थामा रहेको जर्मनीमा एउटा रुमानी विचार फैलेको थियो । उनीहरू जर्मन राष्ट्रवादको खोज भारत र युरोपका आर्यहरूको प्राचीन पितृभूमि मध्य एसियामा गर्दै थिए । तुलनात्मक भाषाको अध्ययन गर्नेहरूले संस्कृत भाषाका प्राचीन व्याकरणकार पाणिनीका रचनाको गहिरो अध्ययन गरे । संस्कृत भाषालाई भारोपेली भाषा परिवारको सबैभन्दा पुरानो भाषा भनियो । भारोपेली भाषा बोल्नेहरूका विभिन्न नाम थिए । तर, १९ औँ शताब्दीको आधाआधीतिर तिनलाई ‘आर्य’ भन्न थालियो । ऋग्वेदका विभिन्न लेखकले आफूलाई ‘आर्य’ भन्थे । त्यहीबाट यो शब्द लिइयो र यसलाई ‘नश्ल’ सँग जोडियो । ‘आर्य’ शब्दले अब भाषिक परिवार र नश्ल दुवै जनाउन थाल्यो ।
नश्ल अर्थात् शुद्ध रगत
संसारमा नश्ल (Race) को अवधारणा नै युरोपका उपनिवेशवादीहरूले जन्माएका हुन् । १८ औँ र १९ औँ शताब्दी विज्ञानको क्षेत्रमा उथलपुथलको शताब्दी थियो । लिनियस क्यारोलसले प्रजातिका आधारमा वनस्पति र जीवजन्तुलाई वर्गीकरण गरे । पछि डार्विनको जीव विकासको सिद्धान्त पनि आयो । यिनै विज्ञानबाट जन्मियो एउटा छद्म विज्ञान । त्यसलाई ‘नश्ल विज्ञान’ भनियो । विश्वभरिका मानव समूहलाई उन्नतदेखि पिछडासम्म गरी विभिन्न नश्लमा बाँडियो । बाइबलमा आफ्नो उद्गम खोज्ने सिलसिला अब मान्छेका नाक–नक्सा, कद–काँठी, सिङ–पुच्छर नाप्ने प्रवृत्तिमा फेरियो । डार्विनको विशुद्ध वैज्ञानिक सिद्धान्तको भड्किलो नक्कल समाजमा गरियो । यसलाई ‘सामाजिक डार्विनवाद’ भनियो ।
‘आर्य’ पहिचानको खोजी गर्नेमध्ये एक थिए फ्रान्सका कूटनीतिज्ञ कोम्टे । उनी आर्य र गैरआर्यबिच बिहेवारीका कडा विरोधी थिए । जर्मन रुमानीवाद यस काममा धेरै अगाडि बढ्यो । जर्मन अध्येताहरूले संस्कृत र भारतीय संस्कृतिलाई विश्वव्यापी संस्कृतिको रूपमा चित्रण गर्न थाले । संस्कृत भाषा सबै भाषाको मूल भएको र भारतका आर्यहरूको सभ्यता विश्वभरि फैलिएको उनीहरूको बुझाइ थियो । प्राचीनकालमा रोमनहरूले जर्मन जातिलाई बर्बर भनी घृणा गर्थे । ती बर्बर कबिलालाई जर्मन विद्वान्ले नायकको रूपमा चित्रण गरे । ईपू पहिलो शताब्दीका एक रोमन इतिहासकार टासिटसले जर्मन कबिलाको ‘शुद्ध रगत’ बारे लेखेका थिए । १८ औँ र १९ औँ शताब्दीका जर्मन विद्वानहरूले सोही ‘शुद्ध रगत’ लाई जातीय सर्वोच्चताको प्रतीक बनाए । २० औँ शताब्दीमा यस विचारधाराले हिटलरको ‘आर्य सर्वोच्चता’ को रूप लियो ।
म्याक्स मुलर
सुरुमा केही उपनिवेशवादीहरू आफ्ना पुर्खाको साइनो एसियाका पिछडिएका जनसमुदायसँग जोड्न हिच्किचाउँथे । त्यसैले एसियाली र युरोपेली गरी दुईथरी आर्य भएको बताइयो । एसियाली आर्यको पितृभूमि मध्य एसिया भनियो र उत्तर युरोपका स्वर्ण केशधारी नर्डिकहरूलाई युरोपेली आर्यका पुर्खा भनियो । तर, भाषिक हिसाबले दुवैलाई एकै नश्ल भन्ने चलन बढ्न थाल्यो । यही परम्परामा एक बेलायती विद्वान म्याक्स मुलरले आफ्नो अध्ययन सुरु गरे । उनले भारतीय सभ्यतालाई मूलतः वैदिक संस्कृति भने । उनले ऋग्वेद र १४ औँ शताब्दीमा गरिएको त्यसको सायण भाष्यको सम्पादन गरे । आफ्नो विशद् अध्ययनबाट उनले वैदिक संस्कृतिको सग्लो तस्बिर निर्माण गरे । मध्य एसिया नै आर्यहरूको उद्गमस्थल थियो । त्यहाँका उत्तरतिरका आर्य युरोपतर्फ लागेको र दक्षिणतिरका आर्य भारततर्फ लागेको उनले बताए । ऋग्वेदमा उल्लेख आर्य वर्णलाई उनले गोरो छालासँग जोडे भने दास/दस्यु वर्णलाई कालो छाला भएका भारतका रैथाने आदिवासीसँग जोडे । आचार्य सायणले ‘नश्ल’ को कुरै गरेका थिएनन् । म्याक्स मुलरले हिन्दू/भारतीय/नश्ल/राष्ट्र/जन/रगत जस्ता शब्दलाई एकै अर्थमा प्रयोग गरे ।
म्याक्स मुलरले मध्य एसियाबाट आर्यहरू इरान र भारतमा झरेर कर्मकाण्डको भाषाको रूपमा वैदिक संस्कृतिको विकास गरेको बताए । उनले जातप्रथाभित्र पर्ने उच्च जातका मानिसहरू आर्य हुन् र तल्लो जातका मानिसहरू दास/दस्युका सन्तान हुन् भने । द्रविडहरूलाई अलग्गै भाषा बोल्ने ‘द्रविड नश्ल’ को रूपमा व्याख्या गरे । आर्यको परिभाषामा गरेको गल्ती यहाँ पनि दोहो¥याइयो ।
वैदिक संस्कृतिको निर्माणमा म्याक्स मुलर कति एकाग्र भए भने उनले बाइबलमा उल्लेख प्राचीन सेमेटिक जातिको अन्तरघुलनलाई कतै ठाउँ दिएनन् । वेदमोहमा अल्झेका उनले पुराणलाई समेत दोयम दर्जाको भने । पुराणमा मानव उत्पत्तिको सन्दर्भमा आर्य–दास वा अन्य जातिको चर्चा छैन । सेमेटिक जातिलाई पर राखेर म्याक्स मुलरले भारतीय सभ्यतामा इस्लामीहरूले दिएको योगदानलाई चटक्कै काटेर फाले । उल्टो मुसलमानहरूलाई दमनकारी शक्तिको रूपमा चित्रण गरियो र परोपकारी बेलायतीहरूले आर्यहरूलाई इस्लामी बर्बरताबाट जोगाएको भाष्य निर्माण गरियो । यो एकदम उपनिवेशवादी सोच थियो र यहाँनिर म्याक्स मुलर उपनिवेशवादका सच्चा सेवक ठहरिए ।
‘नश्ल’ को विचारलाई जातिप्रथामा पनि लागु गरियो । ‘नश्ल’ र ‘जाति’ लाई छ्यासमिस पारियो । जातीय अलगावलाई ‘नश्ल विज्ञान’ ले छोपियो । कतिपय विद्वानले जातप्रथाको गुणगान गरे । यसलाई ‘समाज व्यवस्थापनको वैज्ञानिक विधि’ सम्म भने । इस्लामीहरूले आक्रमण किन गरे भनी व्याख्या गर्नमात्र जातीय विभाजनले समाज भाँडिएको बताइयो । जब कि कारण भारतीय राजा–रजौटाबिचको आपसी बेमेल थियो । जातप्रथाको स्तुतिगान गर्दै जातप्रथाले गर्दा नै विधर्मीहरूबाट हिन्दू समाज जोगिएको बताइयो । यसरी जातप्रथाले दिने रोबरवाफ, प्रभुत्व र सत्तालाई नदेखेझैँ गरियो । यही स्थितिमा देखापरे ज्योतिबा फुले ।
फरक खण्डन
१९ औँ शताब्दीको उत्तराद्र्धमा मराठी भाषामा एक चिन्तक देखापरे – ज्योतिबा फुले । उनले आदिवासीहरूलाई भारतका मूल निवासी बताए । उनले शुद्र वा दलितहरूलाई पौराणिक दैत्यराज बालीका सन्तान बताए । फुलेको विचार दलित कोणबाट आयो र आफ्नो कुरा पुष्टि गर्न उनले चिरपरिचित मिथकहरूकै सहारा लिए । तर, उनले जातिलाई नश्ल वा धर्मको कोणबाट हेरेनन् । उनले तल्ला जातिका मानिसहरूलाई यो भूमिसँग जोडेर व्याख्या गरे ।
उच्च जातका मानिसले आफ्नो सामाजिक प्रतिष्ठा र राजनीतिक मनोकाङ्क्षा पूरा गर्न आर्य नश्लको सिद्धान्तलाई प्रयोग गरे । कतिपय भारतीय चिन्तकले साझा उद्गमको नाताले औपनिवेशिक शासक र भारतका स्थानीय उच्च जातीय कुलीनहरूबिच बन्धुत्व बढाउनुपर्ने विचार राखे । अङ्ग्रेजराजमा मौलाउँदै गएको मध्यमवर्गले पनि ‘आर्य नश्ल’ को सिद्धान्तमा एउटा आडभरोसा पायो ।
बालगङ्गाधर तिलकले ऋग्वेदलाई ४५०० ईपू पुरानो बताए । उनले म्याक्स मुलरको सिद्धान्तमा थोरै हेरफेर गरेर भारतीय आर्यलाई युरोपेली आर्यभन्दा श्रेष्ठ देखाए । एकै आमाका सन्तान भएर पनि युरोपका आर्यहरू बर्बरतामा बरालिएको र भारतका आर्यहरूले आफ्नो श्रेष्ठ संस्कृति स्थानीय गैरआर्य जनजातिमाथि लागु गरेको तिलकको ठहर थियो । आर्यहरू बाहिरिया होइनन् भनी पुष्टि गर्न उनले आर्यावर्त वा प्राचीन भारत उत्तरी ध्रुवसम्म थियो भनी कल्पना गरे ।
ज्योतिबा फुलेको भन्दा ठीक उल्टो विचार दयानन्द सरस्वती र उनको ‘आर्य समाज’ को थियो । उनले भारतीयहरू आफ्ना वैदिक मूलतिर फर्किनुपर्ने बताए । अङ्ग्रेजहरू आउनुअघि भारतसँग सबै विज्ञान–प्रविधि थियो भनी स्वामी दयानन्दले वेद खोतलखातल गरेर निकाले । ‘सत्यार्थ प्रकाश’ नामक रचनामा उनले आर्यहरूको जातीय शुद्धताको कुरा उठाए । ‘आर्य समाज’ शुद्ध समाज निर्माण गर्ने उनको योजनाको हिस्सा थियो । उनले उच्च जातका सबै आर्य भएको र दलितहरूलाई शुद्धी प्रक्रियाबाट उच्च जातमा उकास्न सकिने बताए । उनले आर्यहरूलाई तिब्बतबाट भारत आएको बताए ।
भारतमा सक्रिय विदेशी समाजसेवीहरूले आर्य नश्लवादमा निकै जोड दिए । यो जर्मन रुमानीवादकै प्रतिध्वनि थियो । यही लयमा हिन्दू धर्मसँग जोडेर ‘राष्ट्रिय स्वयंसेवक सङ्घ’ ले आर्य पहिचानको अर्कै परिभाषा दियो । त्यस सङ्गठनका संस्थापक गोल्वाल्करले हिन्दूहरू आर्य हुन् र भारत आर्यको पितृभूमि मात्र होइन, पुण्त्ूमि पनि हो भने । गैरहिन्दू अथवा मुसलमान, क्रिस्तान, पार्सी र कम्युनिस्टहरू विदेशी हुन् भनी धुमधाम प्रचार हुन थाल्यो । खासमा गोल्वाल्कर नाजी जर्मनीको शुद्ध नश्लको सिद्धान्तबाट प्रभावित थिए ।
छोटकरीमा भन्नुपर्दा आर्य नश्लको पहिचान एकातिर राष्ट्रवादमा टुङ्गियो भने अर्कोतिर जातिप्रथामा गएर ठोकियो ।
आर्य सिद्धान्त १९ औँ शताब्दीमा उपनिवेशवादी बुद्धिजीवीले ल्याएको सिद्धान्त थियो । यसलाई युरोपेलीहरूले आफ्नो मनोगत र वस्तुगत आवश्यकता पूरा गर्न ल्याए । तर, भारतका शासकहरूले यसलाई सामाजिक प्रतिष्ठा र राजनीतिक सत्ता प्राप्तिको साधन बनाए । भाषाबाट सुरु गरेर स्थापित गरिएको सिद्धान्तलाई मान्छेको जैविक बनोटसँग जबरजस्ती मिलाउने काम भयो । एउटा देशको समग्र इतिहासलाई एउटा बर्चस्वशाली धर्म वा उच्च जातिको इतिहासमा सीमित गरियो । आफूलाई भूमिपुत्र भन्ने अर्काे धार पनि जन्मियो ।
प्रमाण बोल्छ
सन् १९२२–१९२३ मा हडप्पा र मोहेन्जोदडोमा पुरातात्विक उत्खनन् भयो । यसपछि आर्य सिद्धान्तमा भुइँचालो गयो । किनभने, सिन्धु सभ्यताका ती स्थान ऋग्वेदमा उल्लेख पशुपालक समाजभन्दा भिन्न थिए । त्यहाँ ‘आर्य सभ्यता’ को कुनै चिह्न भेटिएन । त्यहाँको भाषा वेदको भाषासँग मिलेन । त्यसको चित्रलिपिको अर्थ अझै पहिल्याउन सकिएको छैन ।
हिन्दू धर्मग्रन्थमा उल्लेख भीषण युद्धहरूको त्यहाँ कुनै चिह्न भेटिएन । आर्य आक्रमणको सिद्धान्त म्याक्स मुलरले नै गढेका थिए । विभिन्न पुरातात्विक तथा भाषा वैज्ञानिक अनसुन्धानबाट त्यो सिद्धान्त हावादारी प्रमाणित भयो । स्थायी कृषि अवस्थामा रहेका सिन्धु सभ्यताका बासिन्दा अनि घुमन्ते पशुपालकबिच पशुको लुटपाट, गौचर र पानीको मुहानलाई लिएर लडाइँ हुने सम्भावनालाई विज्ञहरूले नकारेका छैनन् । यस्ता लडाइँ कहिलेकाहीँ आर्य र असुरबिच हुन्थे भने कहिले आर्य–आर्यबिचमै हुन्थे । आर्य र दासबिच बिहेवारी चलेको, दास मुखियालाई आर्य यज्ञ गर्न दिइएको जस्ता अनेक प्रकरण पुस्तकमा दिइएको छ ।
पछि, पुरानो इरानी भाषामा रहेको अवेस्ता र ऋग्वेदको भाषामा अध्ययनबाट धेरै समानता भेटियो । ऋग्वेदमा जस्तै अवेस्तामा पनि इन्द्र र अग्निभन्दा अगाडि पुजिने मित्र र वरुण देवता दुवै पाइन्छन् । अवेस्तामा दाएव÷दाह÷ऐरिय छन् भने ऋग्वेदमा देव÷दास÷आर्य छन् । यसरी एकपछि अर्काे पुरातात्विक र भाषा वैज्ञानिक प्रमाण फेला पर्दै गयो ।
रोमिला थापरले थप सूक्ष्म अध्ययन गरिनुपर्ने दर्जनौँ प्रश्न गरेकी छिन् । पुस्तकको पुछारमा उनले ती प्रश्न उठाएकीमात्र छैनन्, कुनै पूर्वाग्रह नराखी ती प्रश्नमा आफ्नो अन्तरदृष्टि पनि प्रस्ट्याएकी छिन् । रैथाने र विजातीय भन्ने कुरा समयान्तरमा बदलिँदै जाने र दुवैथरी पहिचान बेग्लै पहिचानमा बदलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर नहेर्ने हो भने भारतीय अतीतलाई बुझ्न नसकिने थापरको ठहर छ ।
जातिवाद वा फासीवादले रगत मिश्रणको कट्टर विरोध गर्छ र तथाकथित ‘जातिहरू’ को अलगावलाई समर्थन गर्छे । तर, ‘आर्य’ इतिहास यसको ठीक उल्टो छ । ‘हामीमध्ये को हो आर्य ?’ कोही होला, धेरै नहोलान् । नहोला त नहोला, के फरक पर्छ ? हाम्रा शोषकहरूलाई गाँजेको यो रोगले हामीलाई गाँज्नु हुँदैन । यसै पनि माक्र्सवादी जीव वैज्ञानिक रिचर्ड लेवोन्टिनले यो रोग एउटा भ्रमसिवाय केही होइन भनी प्रमाणित गरिसकेका छन् ।
जातिवादी शासकहरूले बाटो छेकेनन् र विज्ञानले सकारात्मक प्रगति गर्दै गयो भने एक दिन भारतीय उपमहाद्वीपका सबैको वैज्ञानिक इतिहास लेखिनेछ । त्यो इतिहासले ‘डीएनए’ विशेषको गरिमागान गर्नेछैन, बरु मानिसको अन्तर्राष्ट्रिय जाति बनाउने दिशामा त्यो इतिहास एउटा मार्गदर्शक बन्नेछ । रोमिला थापरको पुस्तक ‘हामीमध्ये को हो आर्य ?’ पढेपछि यस्ता अनेक विचारका लहर खेलिरहे मनमा; जसरी कमलपोखरीमा खेलिरहन्छन् माछाका बुदुनासँगै पानीका किरमिरे लहरहरू ।
समाप्त