बीट्रिज एयेन्डे
(बीट्रिज एयेन्डे (Beatriz Allende ‘Tati’) राष्ट्रपति साल्भाडोर एयेन्डेकी छोरी हुन् । सन् १९७३ को फासीवादी सत्ताकब्जालगत्तै उनी क्युवा पुगिन् र त्यहीँ बस्न थालिन् । सन् १९७३ को सत्ताकब्जाको केही दिनपछि बीट्रिजले क्युवाली जनतासमक्ष दिएको प्रस्तुत मन्तव्यले तत्कालीन अवस्था र साल्भाडोर एयेन्डेबारे थप बुझ्न सजिलो हुनेछ – अनु.)
म यहाँ भाषण गर्न उभिएकी छैन । हामीप्रति सधैँ सधैँ यति अथाह ऐक्यबद्धता प्रकट गर्ने तपाईँ जनसमुदायका लागि सेप्टेम्बर ११ को त्यो बिहान राष्ट्रपति भवन ला मोनेडा. दरबारमा हामीले बिताएको अन्तिम समयको अनुभव साट्नमात्र म यहाँ आएकी छु ।
आततायी र फासीवादी सेनाको हमला सामना गर्दै गर्दा कामरेड राष्ट्रपति साल्भाडोर एयेन्डेको मनस्थिति, क्रियाकलाप र सोचबारे तपाईँहरूलाई बताउन म यहाँ छु ।
निः सन्देह क्युवाली जनतालाई सत्य थाहा छ । तर, संरा अमेरिकी साम्राज्यवादका मतियारहरूको सहायतामा फासीवादी प्रतिक्रियावादी सैनिक शक्ति (जुन्टा) ले अरू धेरै देशहरूमा झूटको खेती गरिरहेका छन् र राष्ट्रपति एयेन्डेको कुरुक्षेत्र ला मोनेडामा भएका घटनाक्रममाथि पर्दा हाल्ने कुत्सित प्रयास गरिरहेका छन् ।
म यहाँ तपाईँहरूलाई विश्वस्त बनाउन आएकी छु, चिलीका राष्ट्रपतिले आफ्नो हातमा हतियार बोकेर अन्तिम समयसम्म लड्नुभएको थियो । चिलियाली क्रान्तिको लागि, समाजवादको लागि आफ्ना जनताले दिएको अधिकार उहाँले अन्तिम श्वाससम्म जोगाउनुभएको थियो ।
राष्ट्रपति साल्भाडोर एयेन्डे कति पनि समय खेर नफाली क्रान्तिको सिपाहीका रूपमा शत्रुको भरभराउँदो आगोमा होमिनुभयो । चिलीका जनताले जस्तोसुकै प्रतिगमनलाई पराजित गरी छोड्ने र अथकरूपमा अन्तिम विजयसम्म लडिरहने पूर्ण विश्वास एवम् उत्साहका साथ उहाँ बलिदानी सङघर्षमा हाम फाल्नुभयो । जनताको शक्तिप्रति अटल आत्मविश्वासका साथ उहाँले मृत्युवरण गर्नुभयो । आफ्नो जीवन आफ्नो देशका श्रमिक तथा गरिब जनताको हित रक्षामा होमेको आफ्नो अवस्थाको ऐतिहासिक अर्थबारे उहाँलाई राम्रो हेक्का थियो ।
ती कठिन समयमा क्युवा र फिडेल दुवै उहाँका बोली र हृदयमा अमिट भएर रहेका थिए । उहाँको अन्तिम श्वाससम्म क्युवाली जनता, क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रोप्रति उहाँको समर्पणभाव र गहिरो प्रेम हामीले प्रत्यक्ष देख्यौँ ।
सेप्टेम्बर ११ को सत्ताकब्जाअधिको झन्डै पूरा महिना हामी निरन्तरको निगरानीमा बस्यौँ । सैनिक विद्रोह र सत्ताकब्जाको हल्ला, चर्चा–परिचर्चा नभएको कुनै दिन हुन्थेन । सेप्टेम्बर ११ को त्यो मङ्गलबारको बिहान पनि हाम्रो कानमा त्यस्तै खबर आइपुग्यो र सखारै राष्ट्रपति एयेन्डे राष्ट्रपति भवन हिँडिसक्नुभएको थाहा पायौँ । खासमा के भइरहेको छ र त्यसको अर्थ के हो केही बुझ्दै नबुझी हामी पनि त्यतैतिर कुद्यौँ ।
बाटोमा सशस्त्र प्रहरी (काराबिनेटो) हरूले खुलमखुला अशिष्ट ढङ्गले राष्ट्रपति भवन पुग्ने मार्गमा तेस्र्याएका अवरोधहरूलाई पटक–पटक अटेर गर्दै अघि बढ्दै गर्दामात्र हामीले स्थितिको गम्भीरताको छनक पायौँ । हामी बिहान ८ः५० बजेतिर मात्र ला मोनेडा. भवन पुग्न सक्यौँ । त्यहाँभित्र राष्ट्रपति भवन रक्षार्थ तैनाथ सशस्त्र प्रहरी सधैँ जस्तै आफ्नो काममा खटेका थिए । यद्यपि, भवन परिसरभित्र पस्नुअघि हामीले वरपर सशस्त्र प्रहरी आत्मसमर्पण गरिरहेका वा सत्ताकब्जामा सामेल हुँदै गरेको देख्यौँ ।
ला मोनेडामा हामीले सेनाका ती शाखा र सशस्त्र प्रहरीको सहभागितामा सत्ताकब्जा हुँदै गरेको तत्काल निष्कर्ष निकाल्यौँ ।
भवनभित्र प्रतिरोधको तयारी जोडतोडका साथ भइरहेको थियो । राष्ट्रपतिका दुवैतिर उहाँका नियमित अङ्गरक्षक समूहभन्दा धेरै सङख्यामा लडाकूहरू उभिएका थिए । उनीहरू सबै प्रतिरोधका लागि तयारी अवस्थामा थिए । केही विशेष हतियार वितरण गरियो । त्यसबाहेक अनुसन्धान सेवाका एक समूह मानिस थिए जो अङ्गरक्षक टोलीको समन्वयमा काम गर्ने गर्थे ।
त्यहाँ मन्त्री, उपसचिव, पूर्वमन्त्री, प्राविधिक र रेडियो तथा छापा पत्रकारहरूको समूहका साथै चिकित्सक, नर्स र ला मोनेडाका प्रशासनिक कर्मचारीहरू पनि थिए । उनीहरू कोही पनि त्यहाँबाट बाहिर जान तयार थिएनन् र सबैले एयेन्डेको पक्षमा लड्ने निर्णय गरेका थिए । उहाँको निकटतम कार्यकर्ता दल पनि त्यहाँ थियो, जसमध्ये ११ जना महिला थिए ।
त्यो दिन उहाँलाई आइरहेका थुप्रै टेलिफोन कलहरूमध्ये एउटा कलको लागि टेलिफोन दिने क्रममा पहिलोपटक उहाँलाई मैले देखेकी थिएँ । उहाँ निकै संयमका साथ धैर्यपूर्वक विभिन्न ठाउँबाट आएका खबर सुनिरहनुभएको थियो र निर्देशन एवम् विविध प्रश्नको जवाफ दिइरहनुभएको थियो । उहाँका त्यस्ता निर्देशनमा असहमतिको कुनै प्रश्नै थिएन । उहाँले स्वयम् प्रतिरोधको अवस्था अनुगमन गर्दै लडिरहेका कामरेडहरूका कोठा मिलाइदिनुभएको थियो । उहाँले पटक–पटक यस्ता निरीक्षण गर्नुभयो ।
केहीबेरमै सत्ता कब्जाकारी सिपाहीहरूले ट्याङ्क र अन्य हातहतियारबाट हमला सुरु गरे । प्रतिकारमा हाम्रा कामरेडहरूले पनि जवाफी प्रत्याक्रमण गरे ।
त्यो बिहान सखारैमात्र राष्ट्रपतिलाई सैनिक नेतृत्वले पटक–पटक आत्मसमर्पण गर्न आग्रह गरेको तर उहाँले उनीहरूका अल्टिमेटम सधैँ ठाडो र निर्धक्क अस्वीकार गर्नुभएको थाहा पायौँ । हामीले उहाँलाई हिच्किचाएका कहिले पनि देखेनौँ । बरू उहाँले देशद्रोही सेनासामु नझुकी अन्तिम क्षणसम्म लड्ने आफ्नो निर्णयलाई निरन्तर पुष्टि गरिरहनुभयो । देशद्रोही सेनालाई उहाँले तिनको साँचो नाम – फासीवादी नामकरण गरिसक्नुभएको थियो ।
त्यो बिहान पपुलर युनिटी र क्रान्तिकारी वामपन्थी आन्दोलन मोर्चासम्बद्ध पार्टीहरूले उहाँलाई भेटिसकेको र टेलिफोन कलहरू प्राप्त भइरहेको पनि मैले थाहा पाएँ । ती वार्तालाप र भेटघाटमा सबैले प्रतिरोध सङ्घर्ष गर्ने निर्णय सुनेका थिए ।
बेइजा (द्यबभशब) नाम गरेको एक जना देशद्रोही सैनिक जनरलले उहाँलाई बारम्बार फोन गरिरहेको थियो । सत्ता विप्लवी सेनाले उहाँ, उहाँको परिवार र निकटवर्ती आफन्तलाई उहाँले भनेको ठाउँमा पु¥याउने एउटा विमान उपलब्ध गराउने प्रस्ताव पनि उनीहरूले गरेको थाहा पाएँ । त्यो प्रस्तावको प्रतिउत्तरमा राष्ट्रपतिले ती देशदोही सैनिक अधिकारीहरूलाई एक जना आत्मसम्मान भएको मानिस हुनुको अर्थ थाहा नभएको भन्दै निकै रूखो शब्दबाट आक्रोशित मुद्रामा उसको प्रस्ताव लत्याउनुभएको थियो ।
राष्ट्रपति एउटा लामो लडाइँको तयारीमा लाग्नुभएको थियो । उहाँ एक ठाउँबाट अर्को ठाउँमा दौडादौड गरिरहनुभएको थियो । हवाई हमलाबाट लडाकूहरूलाई जोगाउन उहाँले सबभन्दा सुरक्षित, भरपर्दो ठाउँको खोजी गर्न आग्रह गर्नुभयो । खाना र पानी आपूर्तिबारे उहाँले जानकारी लिनुभयो । लडाइँमा घाइते हुनेहरूको शल्यक्रियाका लागि चिकित्सा टोलीलाई शल्यक्रिया कक्ष व्यवस्था गर्न आदेश दिनुभयो । उहाँले एक जना कामरेडलाई सबै महिलाहरूलाई एकै ठाउँमा भेला गरी सुरक्षित स्थानमा लान भन्नुभयो । अरू क्रान्तिकारीहरूलाई कोपभाजनमा पार्नसक्ने सम्पूर्ण कागजात ध्वस्त गर्न उहाँले आदेश दिनुभयो । व्यक्तिगत दस्तावेजहरू समेत खत्तम गर्न भन्नुभयो । भविष्यको प्रतिरोध सङ्घर्ष जोगाउन उहाँले दुई महिलासहित तीन जना कामरेडहरूलाई भवनबाट बाहिर पठाउनुभयो ।
त्यसपछि राष्ट्रपति भवन रक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टुकडी प्रमुखले फासीवादी सेनातर्फ कित्ता बदलेको थाहा पायौँ ।
राष्ट्रपतिसँग केही क्षण एकान्तमा कुराकानी गर्ने समय मैले पाएँ । उहाँले अन्तिम दमसम्म लड्ने कुरा दोहो¥याउनुभयो । परिस्थिति कतातिर मोडिंदै छ भन्ने विषयमा उहाँलाई पूर्णरूपमा हेक्का भए पनि उहाँले लडाइँको तयारी छोड्नुभएन ताकि लडाइँ सबभन्दा उत्तम ढङ्गले लड्न सकियोस् भन्ने उहाँको चाहना थियो । त्यो प्रतिकूल अवस्थामा जटिल हुने निश्चित थियो । तथापि, जनताले आफूलाई दिएको अधिकार रक्षा गर्दै एक जना क्रान्तिकारी र संवैधानिक राष्ट्रपतिका रूपमा उहाँले रोज्नसक्ने यो सबभन्दा उत्तम बाटो थियो । आत्मसमर्पण गरेर वा सबै कुरा त्यागेर उहाँले सबै फासीवादी र देशद्रोही सेनाको भन्डाफोर गर्न सक्नु हुन्नथ्यो ।
उहाँ राष्ट्रपति भवनमा रहेका अरू महिला र आफ्नी अर्की छोरी इसाबेलबारे चिन्तित हुनुहुन्थ्यो । उहाँ सबै महिलाहरू भवनबाट बाहिरिऊन् र हामीले हाम्री आमाको हेरचाह गरून् भन्ने चाहनुहुन्थ्यो । टोमस मोरोमा लडाइँ चलिरहेको थियो र हाम्री आमा त्यहाँ हुनुहुन्थ्यो ।
उहाँले मलाई भन्नुभयो कि एक हिसाबले त्यो परिस्थितिले उहाँको काँधलाई हलुका बनाएको छ । यो अवस्थाले पछिल्लो समय उहाँलाई सताइरहेको एउटा विषयवस्तुले उहाँलाई मुक्त गरेको उहाँको भनाइ थियो । उहाँ जनताको सरकारको राष्ट्रपति भएकै समयमा तथाकथित हतियार नियन्त्रण ऐनको आवरणमा सेनाले मजदुरमाथि दमनचक्र चलाएको थियो र कलकारखानामा जबरजस्ती घुस्ने काम भइरहेको थियो । उहाँले मलाई यी कुरा अर्को भेटमा भन्नुभएको थियो ।
उहाँमा असामान्य आत्मबल र लडाइँमा संलग्न हुने उत्कट इच्छा थियो । उल्लेखित भनाइले घटनाक्रमप्रति उहाँको शानदार दृष्टिकोण प्रतिविम्बित गथ्र्याे र क्रान्तिकारी सङ्घर्षको अपरिहार्यतालाई उजिल्याउँथ्यो । अर्को महत्वपूर्ण कुरा, भविष्यको राजनीतिक नेतृत्व र सबै क्रान्तिकारी शक्तिको एकीकृत नेतृत्वको सुनिश्चितता भएको उहाँको भनाइ थियो किनभने मजदुरहरूका लागि एकीकृत राजनीतिक नेतृत्व जरूरी हुनेछ । त्यसकारण, उहाँ निरर्थक बलिदानको विपक्षमा हुनुहुन्थ्यो । अन्तिम विजयको लागि प्रतिरोध सङ्घर्ष अगाडि बढाउने एकीकृत राजनीतिक नेतृत्व हासिल गर्न प्रयासको आवश्यकता थियो र त्यसका लागि प्रस्ट दृष्टिकोण भएको राजनीतिक नेतृत्वको आवश्यकता थियो ।
टोइस्का कक्षमा भेला भएका मन्त्री र अरू कार्यकर्ताहरूलाई उहाँले त्यही कुरा भन्नुभयो । उहाँले आफ्नो जीवनको मूल्यमा पनि राष्ट्रपतीय प्राधिकार जोगाउने आफ्नो प्रतिबद्धतामा पुनः जोड दिनुभयो । साथै, तीन वर्षको कार्यअवधिमा सहकार्यको लागि आभार प्रकट गर्नुभयो । हतियारबद्ध पुरुषहरूलाई लडाइँ स्थलमा जान आदेश दिनुभयो र हतियार नभएका पुरुषलाई ला मोनेडामा रहेका महिलाहरूलाई भवनबाट सुरक्षित साथ निकाल्न राष्ट्रपतिलाई साथ दिन र उनीहरूले पनि भवन छोड्न निर्देशन जारी गर्नुभयो किनभने कामदारवर्गको सङ्गठन र नेतृत्व महत्वपूर्ण भएको समयमा उहाँ निरर्थक बलिदान चाहनुहुन्नथ्यो । महिला र अरू कामरेडहरूले अन्तिम समय चिकित्सा कक्ष नजिक र कागजात भण्डारण गरिएको सानो भूमिगत कोठामा बिताए । आफ्नो हल्का हरियो रङ्गको सैनिक हेलमेट लगाएर राष्ट्रपति त्यहाँ जानुभयो । उहाँले फिडेलले उपहार दिनुभएको एक स्वचालित राइफल बोक्नुभएको थियो । त्यसमा लेखिएको थियो, “सहयोद्धा कामरेडलाई ।”
केही बेरमै भवनमा बमबारी सुरु भयो । विमानहरू निकै कम उचाइमा उडिरहेका थिए । ज्यादै कडाइपूर्वक उहाँले हामीलाई कति पनि विलम्ब नगरी राष्ट्रपति भवनबाट बाहिरिन भन्नुभयो । उहाँले हामी सबैलाई अलग–अलग भेट्नुभयो । हामीलाई उहाँले बाहिर बसेर हाम्रा क्रान्तिकारी प्रतिज्ञा पूरा गर्न हाम्रो आवश्यकता हुने भनी सम्झाउनुभयो ।
उहाँले फेरि पनि जनताको लागि सङ्गठन, एकता र राजनीतिक नेतृत्व महत्वपूर्ण हुने कुरा दोहो¥याउनुभयो । म गर्भवती भएको बेलामा त्यहाँ आएको भन्दै उहाँले मेरो आलोचना गर्नुभयो । क्युवाली दूतावासका कामरेडहरूको सम्पर्कमा जानु मेरो जिम्मेवारी थियो । पछिल्ला केही महिनामा क्युवाली दूतावासमा भएका हमला र गलत प्रचारबाजीलाई उहाँले व्यक्तिगतरूपमा आफैमाथि हमला भएजस्तो महसुस गरेको मलाई बताउनुभयो । त्यो दिन पनि क्युवाली दूतावासमा हमला र लडाइँ हुनसक्ने भएकोले म त्यहाँ हुनुपर्ने उहाँको आग्रह थियो ।
उहाँले हामीलाई मोरान्डे बजार निस्किने गेटसम्म पु¥याउनुभयो । त्यहाँ उहाँले गोली हान्न बन्द गर्न र महिलाहरूलाई बिनारोकतोक बाहिर जान एउटा सैनिक गाडी व्यवस्था गर्न आग्रह गर्नुभयो । केही मिनेटअघि उहाँले आफूलाई आत्मसमर्पण गराउन कैद गर्नसक्ने सम्भावनाबारे औँल्याउनुभएको थियो । तर, उहाँ त्यसो भए पनि आफू नडगमगाउने बरू चिलीका जनता अनि संसारलाई फासीवादीहरू कति देशद्रोही र निर्लज्ज हुन सक्छन् तथा उहाँले लड्नुपर्नाको एउटा कारण त्यो पनि भएको देखाउने एउटा उत्तम प्रमाण हुने विचारमा हुनुहुन्थ्यो ।
यसप्रकार एउटा सानो क्रान्तिकारी समूह र उनीहरूलाई लड्न सहयोग गर्न त्यहीँ लुकेर बसेकी एक महिलासँग राष्ट्रपतिलाई छोडेर बाहिरियौँ । हामी बाहिरिएलगत्तै भीषण बमबारी र भिडन्त चर्कियो ।
कामरेडहरू राष्ट्रपतिबारे मैले बोकेर ल्याएको तस्बिर यही हो । प्रिय क्युवाली दाजुभाइ – दिदीबहिनी, तपाईँको हृदय र मानसपटलमा मैले छोड्न चाहेको तस्बिर यही हो ।
यो खुलामञ्चमा यो तस्बिर क्रान्तिकारी गौरवका साथ उदाएको छ जहाँ केही महिना अघिमात्र राष्ट्रपतिले हाम्रो देश, हाम्रा श्रमिक जनता, हाम्रा केटाकेटी, महिला, वरिष्ठ नागरिकप्रति तपाईँहरूबाट व्यक्त ऐक्यबद्धता र सहृदयताप्रति आफ्ना गहिरा आवाज उठाउनुभएको थियो ।
चिलीप्रति ऐक्यबद्धता जनाउन आयोजित यो सभामा म उहाँले तपाईँहरूलाई भन्न भन्नुभएका कुरा दोहो¥याउन चाहन्छु । लडाइँको बीच ला मोनेडामा उहाँले भन्नुभएको थियो, “फिडेललाई भन्नू – म मेरो दायित्व पूरा गर्छु । भन्नू उहाँलाई चिलीका जनताको निम्ति सर्वोश्रेष्ठ एकीकृत राजनीतिक नेतृत्वको खाँचो छ ।” उहाँले त्यो दिन एउटा लामो प्रतिरोध सङ्घर्षको आरम्भको दिनका रूपमा रहनेछ र क्युवालगायत सबै क्रान्तिकारीहरूले त्यसमा हामीलाई सहायता गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभएको थियो, “फासीवादविरूद्ध अन्तिम क्षणसम्मको लडाइँ सुरु भयो र त्यो चिली जसका लागि तिमी लड्यौ र आफ्नो जीवन दियौ, त्यो चिली स्वतन्त्र, सार्वभौम एवम् समाजवादी चिलीका रूपमा हामीले पाएको दिन त्यो लडाइँ टुङ्गिनेछ ।”
अमेरिकाको यो पहिलो स्वतन्त्र भूगोलबाट आइतबार हामी कामरेड एयेन्डेलाई भन्न सक्छौँ– तपाईँका जनताले आत्मसमर्पण गर्ने छैनन्, तपाईँका जनताले क्रान्तिको झन्डा झुकाउने छैनन्, फासीवादविरूद्ध सम्झौताहीन सङ्घर्ष सुरु भयो र तपाईँले जसका लागि लड्नुभयो अनि आफ्नो जीवन समर्पण गर्नुभयो, त्यो स्वतन्त्र, सार्वभौम र समाजवादी चिली स्थापना हुने दिनमात्र त्यो लडाइँ सकिनेछ ।
(वर्षाैँको मानसिक विक्षिप्ततापश्चात् बीट्रिज एयेन्डेले सन् १९७७ मा उनले आत्महत्या गरिन् ।)
स्रोत : चिलीमा फासीवादको प्रतिरोध