‘प्रतिरोध गर औपनिवेशिक लुटको
र पछ्याउ सहिदहरूको पदचाप
च्यात अपमानजनक संविधान
जसले लादेको छ पीडा र अन्याय
जसले तर्साएको छ न्यायको लागि लड्न ।’
प्यालेस्टिनी कवयित्री दरिन तेटौर
उद्धृत कवितांश प्यालेस्टिनी कवयित्री दरिन तेटौरको ‘प्रतिरोध गर, प्रिय मानिसहरू, तिनीहरूको प्रतिरोध गर’ शीर्षकको चर्चित कविताको हो । तर, २०१५ को अक्टोबरमा लेखिएको उक्त कविताको कारण तेटौरलाई इजरायली प्रहरीले पक्राउ ग¥यो । उनीमाथि आतङ्कवादलाई सघाउ पु¥याएको र हिंसाको आह्वान गरेको अभियोग लगाइयो । उनलाई लामो समयसम्म नजरबन्दमा राखियो । इजरायलको नजारथ जिल्ला अदालतले पनि उनलाई दोषी ठहर ग¥यो । कविताको पृष्ठभूमि थिए – इजरायली सेनाले गराएका तीन नृशंस अत्याचार । सन् २०१४ मा किशोर मोहम्मद अबु खिदरको इजरायली सेनाद्वारा अपहरणपछि जलाएर हत्या, १८ वर्षकी हादिल हास्लामोनको गोली हानी गरिएको हत्या र सन् २०१५ मा १८ महिनाका अलि दावाब्शेहलाई इजरायलीहरूले जिउँदै जलाएको घटना ।
२०२३ अक्टोबर ७ मा प्यालेस्टिनी जनताको स्वतन्त्रता तथा स्वाधीनताको निम्ति सङ्घर्षरत प्यालेस्टिनी हमास सरकारको सेनाले गरेको आक्रमण र त्यही निहुँमा इजरायली सेनाले गाजा र पश्चिम किनारा क्षेत्रमा निरन्तर गरिरहेको बमबारी तथा आमनागरिकको संहारको घटनाले फेरि कवयित्री तेटौरलाई सम्झाइदिएको छ । हत्याको शृङ्खला आजको होइन, तेटौरको कविता प्यालेस्टिनीहरूले विगत ७५ वर्षदेखि भोगिरहेको पीडाको एउटा प्रतिबिम्ब मात्र हो ।
वरिष्ठ पत्रकार क्रिस हेजेजले ‘गाजा : इजरायली वधशाला’ शीर्षकमा लेखेझैँ १० महिनादेखि “गाजाको आकाशमा युद्धक विमान, हेलिकप्टर र ड्रोन उडिरहेका छन् । जमिनमा तोप र ट्याङ्कको गर्जन छ । बमको वर्षा भइरहेको हुँदा जल, स्थल र आकाश गर्जिरहेका छन् । दृष्टिगोचर छ गल्र्यामगुर्लुम ढलिरहेका भवनहरू अनि भग्नावशेषले थिचिएका मानिसहरूको चित्कार र हारगुहार ! खासगरी गाजा यातनागृहका मानव मनहरूमा फेरि एकचोटि त्रासले बास गरेको छ ।” गाजापट्टीका २३ लाख नागरिकमध्ये करिब सबैजना आन्तरिकरूपमा विस्थापित भएका छन् वा शरणार्थी शिविरमा बस्न बाध्य भएका छन् । विगत १० महिनामा ४० हजार प्यालेस्टिनी नागरिक मारिए भने ९२ हजार गम्भीर घाइते भए । १० हजार बेपत्ता छन् । इजरायली हवाइ आक्रमणको कारण ३४० अस्पताल ध्वस्त भए, १३० एम्बुलेन्स ध्वस्त भए र ५ सय स्वास्थ्यकमीको मृत्यु भएको छ । गाजा क्षेत्रका आधाभन्दा बढी घरहरू ध्वस्त भए भने ८० प्रतिशत व्यापारिक क्षेत्र, ८५ प्रतिशत विद्यालय भवनहरू, ६५ प्रतिशत सडक सञ्जाल र ६३ प्रतिशत खेती भूमि नष्ट भएका छन् ।
वरिष्ठ पत्रकार क्रिस हेजेज
प्यालेस्टिनी जनताले किन प्रतिरोधको युद्ध लड्दै छन् भन्ने कुरा बुझ्न विस्थापनको पीडा भोगेका दार्शनिक एडवार्ड सइद, कवि महमौद दार्विसको मात्र होइन, प्यालेस्टिनमा जन्मेर पनि आफ्नो जन्मभूमिबाट सधैँ टाढा रहेका स्रष्टा मुरिद बर्घौटीको जीवन पढे पुग्छ । त्यसैले बर्घौटी लेख्छन्, “निर्वासन नै मेरो दोस्रो घर हो । त्यो पनि एकै ठाउँमा कहाँ हो र ? कहिले रमल्लाह, कहिले कायरो, कहिले बुडापेस्ट, कहिले बेरुत त कहिले अम्मान ।”
यहाँनिर फेरि पत्रकार हेजेजको शब्द सापटी लिन मन लाग्यो मलाई । “हमलाको कुनै सीमा छैन । अस्पताल, मस्जिद, चर्च, घर, भवन केही बाँकी छोडेनन् । शरणार्थी शिविर, विद्यालय, विश्वविद्यालय, मिडियाका कार्यालय, ब्याङ्कहरू, ढलनिकास, सञ्चार पूर्वाधार, खानेपानी प्रशोधन केन्द्र, पुस्तकालय, गहुँ मिल, बेकरीहरू, बजार र समग्र बस्ती नै उजाड हुने गरी बमबारी भइरहेको छ । इजरायल गाजाको सम्पूर्ण भौतिक संरचना धुलोपिठो पार्न चाहन्छ । त्यसैले उसले दैनिक सयौँ प्यालेस्टिनीहरूको हत्या गर्दै छ, तिनलाई घाइते बनाउँदै छ ।”
वास्तवमा इजरायलले गरेको पछिल्लो आक्रमण शृङ्खला साम्राज्यवादी देशहरूको सहयोग तथा उक्साहटमा १९४८ देखि प्यालेस्टिन र प्यालेस्टिनी जनतामाथि गर्दै आएको अतिक्रमण, अमानवीय दुव्र्यवहार, युद्धअपराध र बहिष्कारको निरन्तरतामात्र हो ।
यसरी लखेटिए प्यालेस्टिनी
भूमध्यसागर र जोर्डन नदीबिचमा रहेको प्यालेस्टिन भूमि इस्लाम, यहुदी र इसाई धर्मावलम्बीको पवित्र भूमि मानिएको छ । तर, १ शताब्दीअगाडि प्यालेस्टिनमा ९० प्रतिशतभन्दा बढी मुसलमान बसोबास गर्दथे ।
पहिलो विश्वयुद्धको क्रममा आफ्नो रणनीतिक स्वार्थपूर्ति गर्न बेलायतले प्यालेस्टिनमा यहुदीका लागि छु्ट्टै राष्ट्र स्थापना गर्नको लागि भूमिका खेल्ने घोषणा गरेको थियो । त्यसलाई बेलफोर घोषणाको नाम दिइयो अर्थात् बेलायतका तत्कालीन विदेशमन्त्री बेलफोरको घोषणा । यहुदी जातिको सहयोगमा युद्ध जितिन्छ भन्ने बेलायतको विश्लेषण थियो भने बेलायतले प्यालेस्टिनीसँग पनि उस्तै वाचा गरेको थियो – युद्धमा साथ दिएमा हामी प्यालेस्टिन स्वतन्त्र बनाउँर्छौँ । उता बेलायत र फ्रान्सबिच अटोमन साम्राज्यका विभिन्न देशहरू बाँडचुँड गर्ने सम्झौता भयो । यसरी, फुट गर र राज गरको नीति लागु गरेर पहिलो विश्वयुद्धमा बेलायतले जीत हासिल ग¥यो । तर, बेलायतले प्रथम विश्वयुद्धपछि पनि प्यालेस्टिनमाथि नियन्त्रण कायमै राख्यो ।
पहिलो विश्वयुद्धपछि बेलायती साम्राज्यवादका विरुद्ध प्यालेस्टिनीहरूले मुक्ति आन्दोलन त चलाए तर त्यस आन्दोलनलाई निर्ममतापूर्वक दमन गरियो । हजारौँ प्यालेस्टिनी मारिए, कैयौँ प्यालेस्टिनी देशबाटै लखेटिए । यहुदी राज्य स्थापना गर्ने पूर्वघोषणाअनुसार बेलायतले विश्वभर छरिएर रहेका यहुदीहरूलाई बटुलेर प्यालेस्टिनमा बस्ती बसाउन थाल्यो । सन् १९४७ सम्म प्यालेस्टिनको लगभग एकतिहाइ जनसङ्ख्या यहुदी बन्न पुग्यो । तर, उनीहरूले जम्मा ६ प्रतिशत भूमिमा मात्रै कब्जा जमाएका थिए । त्यहाँका अरबहरू प्यालेस्टिनमा स्वतन्त्र यहुदी राज्य स्थापना गर्ने साम्राज्यवादी योजनाको विपक्षमा थिए । यसैकारण अरब र यहुदीबिच द्वन्द्व सुरु भयो ।
संयुक्त राष्ट्रसङ्घलाई अघि सारेर साम्राज्यवादी देशहरूले २९ नोभेम्बर १९४७ मा प्यालेस्टिनलाई यहुदी र अरब राष्ट्रमा विभाजन गर्न सिफारिस गर्ने प्रस्ताव पारित गरे । सो प्रस्तावअनुसार प्यालेस्टिनको ५६ प्रतिशत भूभाग यहुदी राज्य इजरायल स्थापना गर्न र ४४ प्रतिशत प्यालेस्टिनलाई छुट्याइयो । सम्पूर्ण प्यालेस्टिनीलाई स्वतन्त्र बनाउन सङ्घर्ष गरेका अरबहरूलाई त्यस्तो प्रस्ताव स्वीकार्य हुने कुरै थिएन ।
१९४८ जून १४ मा यहुदीहरूले जबरजस्ती इजरायल देशको घोषणा गरे । इराक, सिरिया, लेबनान, जोर्डन र इजिप्ट एकजुट भएर इजरायलविरुद्ध युद्ध त गरे तर अमेरिका र बेलायतको पृष्ठपोषणको कारण हार बेहोर्नु प¥यो । लाखौँ प्यालेस्टिनीहरू विभिन्न देशमा शरणार्थीको रूपमा विस्थापित भए । फेरि सन् १९६७ मा अरब–इजरायल युद्ध भयो, थप लाखौँ प्यालेस्टिनी देश छोडेर छिमेकी देशहरूमा शरण लिन विवश भए । त्यसपछि प्यालेस्टिनी भूमि हडप्दै इजरायली बस्ती विस्तारको क्रम तीव्र भयो । उब्जाउ भूमि सबै इजरायलीको कब्जामा गयो । प्यालेस्टिनी जनताको हत्याको शृङ्खला जारी रह्यो ।
त्यसैबिच इजरायल–इजिप्टबिच भएको क्याम्प डेभिड सम्झौतापछि पनि प्यालेस्टिन क्षेत्रमा इजरायली अतिक्रमण रोकिएन । प्यालेस्टिनलाई पश्चिम किनारा (वेस्ट ब्याङ्क) र गाजा क्षेत्रमा मात्र खुम्च्याइयो । प्यालेस्टिनीमाथि इजरायली निगरानी, नियन्त्रण र दमन कायम रह्यो । सन् १९९३ मा ओस्लो सम्झौता भयो, यासेर अराफात नेतृत्वको प्यालेस्टिन लिबरेसन अर्गनाइजेसन (पीएलओ) र इजरायलको अस्तित्व स्वीकारियो । गाजा क्षेत्र तथा पश्चिम किनारामा प्यालेस्टिनी छुट्टै सरकार गठन गर्ने सकिने सम्झौता भयो तर प्यालेस्टिनलाई छु्ट्टै राज्यको रूपमा स्वीकार गरिएन । इजरायलले पश्चिम किनारा र गाजा क्षेत्रमाथि अतिक्रमण गर्न छोडेन ।
युद्ध अपराधी बाइडेन र नेतन्याहु
नागरिक क्षेत्रमा आक्रमण गर्नु युद्ध अपराध हुन्छ भनेर संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेख छ । गाजा क्षेत्रमा मारिएका मध्ये करिब शतप्रतिशत सर्वसाधारण नागरिक छन् । मारिएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका छन् । हालसम्म १४ हजार बालबालिका मारिएका तथ्यहरूले इजरायलको नेतन्याहु सरकारले युद्ध अपराधको सीमा पनि नाघेको स्पष्ट पार्छ । जबकि विगत ११ वर्षदेखि जारी सिरिया युद्धमा २ हजार बालबालिका मारिएको तथ्याङ्कले विभत्स युद्धको तुलनात्मक अध्ययन गर्न मद्दत गर्दछ । अमेरिकी पूर्वराष्ट्रपति ओबामाले सन् २०१६ मा इजरायललाई १० वर्षमा ३८ अर्ब अमेरिकी डलर सैनिक सहयोग गर्ने घोषणा गरेअनुसार संरा अमेरिकाले प्रतिवर्ष ३ अर्ब ८० करोड अमेरिकी डलरको सैन्य सहयोग गर्दै आइरहेको छ र यसपालि पनि १४ अर्ब ३० करोड डलरको अतिरिक्त सहयोग गरेको छ । इजरायलको ९२ प्रतिशत हतियार अमेरिकी भएकोले चालु इजरायली युद्धको व्यापारीको हो भन्ने प्रस्ट हुन्छ । अमेरिकाले विश्वको कुल हतियार व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
विश्वभर युद्धविरामको माग भइरहेको छ । तर, त्यसको बाधक संरा अमेरिका नै बनेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव आन्टोनिओ गुटेर्रेसले २०२३ डिसेम्बर ७ को दिन राष्ट्रसङ्घको बडापत्रको धारा ९९ प्रयोग गरेर सुरक्षा परिषद्मा युद्धविरामको प्रस्ताव राखे । गुटेर्रेसले सुरक्षा परिषद्सँग गाजापट्टीमा मानवीय विपत्ति रोक्नको लागि मद्दत गर्न आग्रह गरे । गुटेर्रेसले अस्पतालहरू युद्धको मैदानमा परिणत भएका छन्, गाजाका सबै भागहरूमा निरन्तर बमबारीको बिचमा आश्रय वा बाँच्नको लागि आवश्यक चिजहरू नभएको/सकिएको, सार्वजनिक व्यवस्था छिट्टै पूर्णरूपमा भत्कने भन्दै १५ सदस्यीय संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सो प्रस्ताव राखेका थिए । तर, संरा अमेरिकाले भिटो प्रयोग गरेर महासचिव गुटेरेसको प्रस्तावलाई विफल बनाइदियो । चीन र रुसले युद्धविरामको पक्षमा मतदान गरे भने बेलायतले मतदानमा भाग नै लिएन । गुटेर्रेसले हार नखाने भन्दै युद्ध विराम गराउन राष्ट्रसङ्घको महासभा बोलाएर १२ डिसेम्बरमा मतदान गराए । महासभाको मतदानमा १९३ सदस्य देशहरूमध्ये १५३ देशले युद्धविरामको पक्षमा मतदान गरे भने संरा अमेरिका र इजरायललगायत १० देशले विपक्षमा मतदान गरे, २३ देशले मतदानको बहिष्कार गरे । तर, यसबाट पनि अमेरिका एक्लिएको पुष्टि हुन्छ । साथै, संरा अमेरिका युद्धको व्यापारीको रूपमा नाङ्गिएको छ । इजरायली युद्धको सञ्चालक नै संरा अमेरिका हो भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ । संसारमा कहीँ न कहीँ युद्ध भएन भने अमेरिकी हतियार कसरी बिक्री हुन्छ ? युद्धबिना अमेरिका पानीबिनाको माछाजस्तै हुन्छ । यसर्थ, संरा अमेरिका विश्व शान्तिविरोधी देश पनि हो ।
अमेरिकी साम्राज्यवादको हार निश्चित
युद्ध हतियारले मात्र जितिँदैन भन्ने कुरा इतिहासका सामान्य विद्यार्थीले पनि बुझेका छन् । भियतनाम युद्ध (सन् १९५५–१९७५) मा संरा अमेरिकाको सर्मनाक हार भयो । नपत्याए वासिङ्टन डीसीको ‘कालो पर्खाल’ मा कुँदिएका भियतनाम युद्धमा मारिएका ५२ हजार अमेरिकी सेनाको नामावली हेरे हुन्छ । भियतनाम युद्धमा २० लाख भियतनामी मारिए । भियतनामको कुनचाहिँ भवन सङ्लो छोड्यो संरा अमेरिकाले ! एजेन्ट अरेन्ज नामको विषालु रसायन फालेर जङ्गलका जङ्गल सखाप पा¥यो संरा अमेरिकाले । तर, त्यसले युद्ध जित्न सकेन । बरु पुच्छर लुकाएर भाग्नुप¥यो । भियतनाम युद्धकै कारण अमेरिकी सेनामा चरम निराशा छायो, फलस्वरूप हजारौँ सेनाहरू लागुपदार्थको दुव्र्यसनीको सिकार भए ।
कोरिया युद्ध (१९५०–१९५३) मा प्योङयाङ सहरसहित कोरियाका महत्वपूर्ण सहरहरू पूर्णतः ध्वस्त गरिए तर अन्ततः संरा अमेरिकाले घुँडा टेक्नै प¥यो । अफगानिस्तानमा करिब २० वर्ष युद्ध लड्यो अमेरिकाले तर असफल भएर फर्कनुप¥यो । इराक युद्धमा ५ लाखको ज्यान गयो तर अमेरिकी इच्छा पूर्ण भएन । सिरिया, लिवियामा भएका युद्धबाट पनि अमेरिकाले केही पाउँदैन । युक्रेन युद्धबाट पनि एकदिन हात झिक्न बाध्य हुनेछ अमेरिका । त्यसको कारण हो, सत्यको जीत हुन्छ अवश्य पनि ।
नेपालमा इजरायली युद्धको भत्र्सना
संसारभर प्यालेस्टिनमा इजरायलको एकतर्फी बमबारीको विरोध भइरहेको छ, हजारौँ हजार मानिस सहभागी भइरहेका छन् । नेपालमा पनि नेपाल मजदुर किसान पार्टीले २०८० कार्तिकको तेस्रो सातादेखि राजधानी सहर काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, शङ्खरापुर, मध्यपुर, कीर्तिपुरलगायतका नगर तथा सहरमा युद्धको भत्र्सना गर्दै विरोध प्रदर्शन गरेको थियो । नेपाली जनता सडकमा निस्की प्यालेस्टिनी जनताको समर्थनमा ऐक्यबद्धता जनाइरहेका छन् । ती प्रदर्शनहरूमा विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीको उल्लेख्य सहभागिता छ । विश्वभर लगाइएको ‘हे बाइडेन के भन्छौ, आज तिमीले कति केटाकटी मा¥यौ ?’, ‘गाजावासीहरू रुनु पर्दैन, प्यालेस्टिन कहिल्यै मर्दैन !’ जस्ता नारा लगाए अङ्ग्रेजी भाषामा भाका हालेरै । किशोरकिशोरी तथा युवाहरूले प्यालेस्टिनको समर्थनमा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । विरोधको क्रममा युद्धविरोधी गीतहरू पनि प्रस्तुत गरियो । यी प्रदर्शन तथा आमसभाहरूले सर्वसाधारण जनतालाई अन्तर्राष्ट्रिय राजनीतिक विषयवस्तुबारे शिक्षित बनाउन सहयोग गरेका छन् ।
नेमकिपाले यो पटक मात्र यसरी अन्तर्राष्ट्रिय विषयमा विरोध गरेको होइन । विगतदेखि साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादको विरोधमा तथा स्वतन्त्रताको लागि लडेका विभिन्न देशका आन्दोलन र लडाइँप्रति नेमकिपाले ऐक्यबद्धता जनाउँदै आएको छ । भियतनाम, हिन्दचीन, कोरिया प्रायःद्वीप, ल्याटिन अमेरिका, अफ्रिकी देशहरूमा भएका त्यस्ता आन्दोलन तथा सङ्घर्षप्रतिको समर्थनलाई नेमकिपाले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य ठानेको छ । भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा नेपालमा पहिलोपटक भक्तपुरमै प्रदर्शन भएको इतिहास पुराना राजनीतिक कार्यकर्ता सगौरव संस्मरण गर्दछन् आजपर्यन्त ।
गाजामाथिको चालु युद्धको प्रारम्भमा केही नेपालीले पनि ज्यान गुमाएको दुःखद स्थितिले नेपालीजन पनि तरङ्गित भएका थिए । तर, त्यस्तो युद्धग्रस्त क्षेत्रमा जोखिम मोलेर नेपालीलाई पठाउने काम गरेर नेपाल सरकारले जातिवादी र नृशंस इजरायली राज्य आतङ्कवादलाई सघाउनु एकदम गलत थियो । त्यसैले, लुटिएको आफ्नो भूमि फिर्ता गर्न चाहने प्यालेस्टिनीमाथि नै दोष थुपारेर प्रचण्ड सरकारले आफ्नो अपराध लुकाउने दुष्प्रयास गरेको भन्दै नेमकिपाले नेपाल सरकारको निन्दा गरेको छ ।
तर, नेपाली ‘मेनस्ट्रिम’ सञ्चारमाध्यमहरूले ती विरोध प्रदर्शनको ‘रिपोर्टिङ’ गरेनन् । राजधानीको मुटु मानिएको रत्नपार्कबाट सुरु भएको २०८० कार्तिक १७ गतेको युद्धविरोधी जुलुस प्रदर्शन तथा आमसभाको समाचार उल्लेख गर्न हिच्किचाउने, स्वतन्त्र तथा निष्पक्ष छौँ भनेर दाबी गर्ने ‘मूलधारका’ पत्रिका, अनलाइन पोर्टल्स, टीभी च्यानलहरू साम्राज्यवादी युद्धकै पक्षमा रहेको प्रस्ट पार्छ । काठमाडौँको प्रदर्शनभन्दा व्यवस्थित तथा बहुसङ्ख्यक महिला सहभागी भएको ललितपुरको युद्धविरोधी जुलुस प्रदर्शन पनि देख्यानदेख्यै गरे, ती सञ्चारमाध्यमका संवाददाताहरूले । कि संवाददाताले पठाएका समाचार तथा तस्बिरहरू पनि ‘रिसाइकल विन’ मा राखिदिए सम्पादकहरूले ! कथित ‘ठुला’ तथा ‘राष्ट्रिय’ सञ्चारमाध्यमहरू साम्राज्यवादीहरूको पैसामा बिकेका हुन् कि होइनन् ?
नेपालीको प्यालेस्टिनी नियति !
अरूलाई खाने बाघले आफूलाई खाँदैन ? संरा अमेरिकाले चीनलाई घेर्ने रणनीतिअनुसार नेपालमा अनेक गतिविधि गर्दै छ । त्यसले नेपालमा हिन्द प्रशान्त रणनीतिअन्तर्गत सञ्चालित एमसीसी परियोजना सुरु गरेको छ । जसरी युक्रेनलाई अगाडि सारेर नेटोले रुसविरुद्ध युद्ध लडिरहेको छ, त्यसरी नै नेपालको काँधमाथि बन्दुक राखेर चीनविरुद्ध युद्ध नहोला भन्न सकिन्न । त्यसो भयो भने नेपालको अस्तित्व नै समाप्त हुने खतरा हुन्छ ।
भारतीय विस्तारवादले आजभन्दा करिब ६० वर्षअगाडि सुस्तामाथि हस्तक्षेप ग¥यो । नेपालको उत्तरी सीमामा भारतीय चेकपोस्ट राखियो । कालापानीमा भारतीय सेना अद्यापि तैनाथ छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण जारी छ । नेपालको स्वीकृतिबिना भारतले सीमा क्षेत्रमा सडक बनाउने काम जारी राखेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ठाउँठाउँमा सीमा अतिक्रमण गरेर भारतले ७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि मिचेको छ । कोसी बाँधमा बसेर नदीको पानी भारतले एकलौटी प्रयोग गरिरहेको छ, भारतले महाकाली नदीमा बनाएको शारदा र टनकपुर बाँधले नेपालको सार्वभौमिकतामाथि चुनौती दिइरहेका छन् । कर्णाली नदी पनि भारतीय कब्जामा पुगेको छ । यसरी, नेपालीहरू पनि प्यालेस्टिनीजस्तै मारमा पर्न सक्ने खतराको घण्टी बजेको छ । होसियार !