नीरज लवजू
बङ्गलादेशको राजनीतिक परिवर्तनको सम्बन्धमा मडारिरहेको अन्योलको कालो बादल क्रमशः फाट्दै छ । पछिल्ला हप्ताहरूमा चर्केको विद्यार्थी आन्दोलन र त्यसमाथि सरकारी दमनबारे जानकार भएर पनि प्रधानमन्त्री शेख हसिनाको पदबाट राजीनामा र भारत निर्वासन धेरै पर्यवेक्षकहरूको निम्ति पूर्वानुमानभन्दा परको विषय थियो ।
पछिल्ला दशकहरूमा बङ्गलादेशले आर्थिक वृद्धिदरमा दक्षिण एसियाली देशहरूको नेतृत्व गर्दै आएको थियो । त्यहाँ अहिले चर्केको यो आन्दोलनलाई हालैका वर्षहरूमा सुस्त बनेको वृद्धि दरको राजनीतिक अभिव्यक्तिका रूपमा मात्र विश्लेषण गरिएको थियो । सरकारी रोजगारीमा कोटा पद्धतिको मुद्दाबाट थालिएको आन्दोलन प्रधानमन्त्रीको निर्वासनसम्म फैलिने र बङ्गलादेशी स्वतन्त्रता आन्दोलनका नेता शेख मुजिबुर रहमानका प्रतिमाहरूमाथि आक्रमणसम्म पुग्ने अनुमान कमैले गरेको हुनुपर्र्छ ।
यसबिच बङ्गलादेशको राजनीतिक परिवर्तनलाई अनेक कोणबाट विश्लेषण गरियो । मुख्यतः यो परिवर्तनको निम्ति बङ्गलादेशको आन्तरिक कारण नै प्रमुख हो । बङ्गलादेशका जनता शेख हसिना सरकारबाट शासित हुन तयार नभएको र परिवर्तन खोजेको परिस्थिति कम्तीमा पछिल्लो घटनाक्रमले प्रस्ट पार्छ । अधिकांश पश्चिमा सञ्चारमाध्यम र तिनैलाई स्रोत बनाएका संसारका अन्य सञ्चारमाध्यमले पनि हसिना सरकारले पछिल्ला वर्ष अँगालेको अधिनायकवादी शैलीले जनतामा भित्रभित्र आक्रोश फैलिएको र त्यही नै आजको परिवर्तनको पृष्ठभूमि भएको आशयका समाचार लेखेका छन् । विश्व तथा क्षेत्रीय शक्ति देशहरूले कुनै पनि देशलाई आफूअनुकूल बनाउन राजनीतिक, आर्थिक तथा सांस्कृतिक हस्तक्षेप गरिरहेका अनगिन्ती उदाहरण भोगिसकेका विश्वजनले बङ्गलादेशमा भएको यो परिवर्तनपछाडि वैदेशिक संलग्नताको सम्भावना खोज्नु वा देख्नु अन्यथा होइन । यद्यपि, केही टिप्पणीकारहरू हरेक कुरालाई षड्यन्त्र सिद्धान्त (कन्स्पिरेसी थ्योरी) बाट मात्र बुझ्नु उचित नभएको भन्दै वैदेशिक षड्यन्त्रको सम्भावना मान्न तयार छैनन् ।
तर, उनीहरूले भने जस्तो विश्व राजनीति त्यति आदर्शवादी पनि छैन । कुनै पनि देशको घटनाक्रमलाई पर्यवेक्षकको रूपमा परबाट मात्र हेर्ने अथवा शक्ति देशको हैसियतमा त्यस्ता घटनाक्रममा सक्रिय भूमिका खेल्ने भन्ने विषयको बहस पुस्तकमा मात्र सीमित विषय होइन । मेकियावलीको यथार्थवादी सिद्धान्त निराधार जन्मेको थिएन ।
आर्थिक शक्ति
नोभेम्बर महिनामा चीनको छन्दुमा आयोजित दक्षिण एसियाली प्राज्ञहरूको सम्मेलनमा बङ्गलादेशको ढाका विश्वविद्यालयका एकजना प्राध्यापकले बङ्गलादेशका नयाँ पुस्ताले केही दशकभित्र आफ्नो देश पनि चीन, अमेरिका, भारतजस्तै आर्थिक केन्द्र बन्ने सपना देख्न थालेको बताएकी थिइन् । पछिल्ला दशकमा बङ्गलादेशले लगातार गरेको आर्थिक वृद्धिलाई आधार मान्दा उनीहरूको त्यो सपना देख्नु स्वाभाविक पनि हो । युरोपेली सङ्घले प्रदूषणमूलक उद्योग कलकारखाना आफ्नो देशबाट विस्थापित गर्ने र त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु अन्य देशबाट आयात गर्ने नीति लागु गरेपछि बङ्गलादेशको अर्थतन्त्रमा व्यापक प्रभाव पार्यो । त्यो नीति लागु भएपछि विशेषतः युरोपेली लुगा कपडा उद्योगहरूले बङ्गलादेशमा आफ्नो वस्तु उत्पादन गर्न थाले । बङ्गलादेश चीनपछि सबभन्दा बढी लुगा उत्पादन गर्ने देश बन्यो । बङ्गलादेशको कुल निर्यातमध्ये ८० प्रतिशतभन्दा बढी त्यही एक्लो उद्योगले धानेको छ । ४४ लाखभन्दा बढी बङ्गलादेशीहरूले कपडा उत्पादन उद्योगमा रोजगारी पाएका छन् । त्यहाँ ४ हजार ५ सत्न्दा बढी कपडा कारखाना छन् । युरोपका अधिकांश लुगामा मेड इन बङ्गलादेश लेखिएका हुन्थे । प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा कपडा उद्योगकै कारण बङ्गलादेशको आर्थिक वृद्धिदर लगातार बढेकोले पनि राजनीतिकरूपमा उनी बलियो भएको मानिएको थियो । पछिल्ला वर्षमा कपडा उद्योगबाहेक उत्पादन विविधीकरणबारे बङ्गलादेशी अर्थशास्त्री र राजनीतिशास्त्रीहरूबिच छलफल चलेको थियो । उनीहरूले सूचना प्रविधि (आइटी) क्षेत्रमा बङ्गलादेशले प्रगति गर्न सक्ने तर्क गर्दै आएका थिए । त्यसको निम्ति उनीहरूले पश्चिमा देशहरूसँग पहल पनि थालिसकेका थिए ।
तर, अर्थतन्त्र कहिल्यै पनि राजनीतिबाट अलग र निरपेक्ष हुन सक्दैन । बङ्गलादेशको आर्थिक विकासबाट बङ्गलादेशका युवाहरूले जस्तोसुकै सपना देखे पनि त्यो आर्थिक वृद्धि दरको स्रोत भने पश्चिमा अर्थतन्त्र नै हो जसको संरा अमेरिकाले नेतृत्व गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा एउटा भनाइ चर्चित छ, नो मिल इज फ्रि । अर्थात्, कसैले पनि सित्तैमा खाना खुवाउँदैन । बङ्गलादेशको आर्थिक वृद्धि दर बढाउन पश्चिमा देशहरूले गरेको सहायता पनि सित्तैमा थिएन । त्यसबापत बङ्गलादेशबाट आफ्नो स्वार्थ फत्ते गर्न उनीहरूले केही न केही खोजिरहे ।
भूराजनीति
संरा अमेरिकाले चीनमाथि घेराबन्दीको लक्ष्यसहित हिन्द प्रशान्त क्षेत्रलाई उच्च महत्व दिन थाले यता उनीहरूको लागि बङ्गलादेशको भूराजनीतिक महत्व थपिएको हो । सम्पूर्ण दक्षिण एसियालाई चिनियाँ प्रभावबाट टाढा राख्ने र त्यो क्षेत्रलाई चीनमाथि रणनीतिक घेराबन्दीको निम्ति उपयोग गर्ने संरा अमेरिकाको नीति सफल बनाउन बङ्गलादेश उच्च रणनीतिक महत्वको भूमि मानियो । संरा अमेरिकाले आफ्नो यही रणनीतिअन्तर्गत दक्षिण एसियाली देशहरूमा आफ्ना सैनिक अखडा बनाउने प्रयास जारी छ । सोअन्तर्गत वासिङ्टनले बङ्गलादेशको सेन्ट मार्टिन टापुमा आफ्नो अखडा राख्ने प्रस्ताव ल्यायो । बङ्गाल खाडीबाट उत्तर पूर्वमा अवस्थित यो टापु हिन्द महासागरमा पर्छ । तीन वर्ग किलोमिटर क्षेत्रफल मात्र भएको यो टापु हिन्द महासागरमाथि आफ्नो नियन्त्रण जमाउने संरा अमेरिकाको योजनाको टारो बन्यो । २०२३ को जूनमा आयोजित एउटा पत्रकार भेटघाटमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता जोगाउनको लागि सेन्ट मार्टिन टापु कसैलाई भाडामा नदिने अभिव्यक्ति दिएकी थिइन् । सत्ताच्युत भएर हाल भारतमा रहेकी हसिनाले हालै पनि आफ्ना शुभचिन्तकहरूको नाममा पठाएको सन्देशमा सेन्ट मार्टिन टापु संरा अमेरिकालाई दिन नमान्दा आफूले सत्ता गुमाएको बताएकी छिन् । उनका अभिव्यक्तिले पश्चिमा देशहरूले बङ्गलादेशलाई दिएको आर्थिक वृद्धि दरको उपहार निःशुल्क थिएन भन्ने पुष्टि हुँदै छ । बङ्गलादेशी नेतृत्वले आफूले मागेको टापु दिन तयार नभएपछि संरा अमेरिकाले विद्यार्थी आन्दोलनको काँधमा शेख हसिना सरकारलाई सिध्याएन मात्र बरु आफ्नो अनुकूलको राजनीतिक नेतृत्व पनि स्थापित गरेको छ । (यसबारे तल चर्चा गरिनेछ ।)
यहाँनेर ख्याल गर्नुपर्ने एउटा कुरा के हो भने शेख हसिनाले सेन्ट मार्टिन टापु संरा अमेरिकालाई नदिने निधो भने भारतको निर्देशनमा गरेकी हुन् । भारतले दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्र (स्पेयर अफ इन्फ्लुयन्स) मान्दै आएको छ । त्यसकारण, यो क्षेत्रमा उसलाई चीनको प्रभाव जति टाउको दुखाइको विषय हो, त्यत्ति नै चिन्ताको विषय हो संरा अमेरिकाको संलग्नता । हिन्द महासागरलाई आफ्नो प्रभाव क्षेत्र दाबी गर्दै आएको भारतले सेन्ट मार्टिन टापुमा अमेरिकी सेनाको उपस्थिति चाहेको छैन । यसले एकातिर दक्षिण एसिया र हिन्द महासागरलाई आफ्नो प्रभावबाट टाढा लान सक्नेमा उसको चिन्ता छ भने अर्कोतिर संरा अमेरिकाले एकपटक अड्डा जमाएको ठाउँ मुस्किलले मात्र छोड्ने कुरा भारतीय शासकहरूलाई पनि राम्ररी थाहा छ ।
त्यसकारण, सेन्ट मार्टिन टापुमा अमेरिकी उपस्थिति नमान्ने निर्णय शेखको मात्र थिएन, भारतको पनि हो । चीनलाई देखाएर संरा अमेरिकाले भारतीय प्रभावलाई पनि निस्तेज बनाउन सक्नेमा नयाँ दिल्ली सचेत देखिन्छ ।
पुँजी स्थानान्तरण
अमेरिकी रणविद्हरूलाई थाहा छ, अबको विश्व उसको हुनेछ, जसको हातमा पूर्वी एसिया र प्रशान्त तथा हिन्द महासागर हुनेछ । त्यसकारण, ओबामाको दोस्रो कार्यकालदेखि अमेरिकी रणनीतिज्ञहरूको प्रमुख प्राथमिकता पूर्वी एसिया र प्रशान्त तथा हिन्द महासागर हो । यसका अरु पनि उपकारणहरू भए पनि पहिलो कारण भने चीनको प्रभाव बिस्तारमा नियन्त्रण गर्नु नै हो । पूर्वी एसियाली देशहरूमा चीनको प्रभाव कम गर्न संरा अमेरिका उनीहरूको आर्थिक वृद्धिमा टेवा पु¥याउन खोजिरहेको छ (पक्कै सित्तै हुनेछैन ।) चीनको आर्थिक प्रगतिको प्रभाव निस्तेज बनाउन पश्चिमा शक्ति पूर्वी एसियामा अर्को दक्षिण कोरिया जन्माउन खोजिरहेको छ । त्यसकारण, उसले विगतमा बङ्गलादेशमा केन्द्रित पुँजी यतिबेला पूर्वी एसियाली देशहरूमा लगानी गरेको छ । यसरी पुँजी घुमाउँदा एकातिर बङ्गलादेशलाई आफ्नो माग पूरा नगरेको निहुँमा सजाय गरेको जस्तो देखिनेछ र अर्कोतिर पूर्वी एसियाली देशलाई चीनबाट टाढा राखेर आफ्नो प्रभाव गहिरो बनाउन सक्नेछ । पश्चिमा देशहरूले आफ्नो पुँजी बङ्गलादेशबाट बाहिर लान त्यहाँको मजदुर अधिकारलाई बहाना बनाएका छन् । बङ्गलादेशमा बरोबार हुने गरेको औद्योगिक दुर्घटना, मजदुरहरूको अवस्था, ज्याला, महिलाहरूको अवस्था आदिलाई कारण देखाएर उनीहरूले पुँजी अन्यत्र सारेका छन् । तर, उनीहरूको यस्तो निर्णय पछाडि मजदुर अधिकारभन्दा अलग अरु नै रणनीतिक कारण छन् । यसबाट के देखियो भने पश्चिमा शक्तिहरू मजदुर आन्दोलनजस्तो मानवीय मुद्दालाई पनि आफ्नो कुत्सित स्वार्थको लेखाजोखा गरेर मात्र प्रयोग गर्ने गर्छन् ।
मोहम्मद युनिस : नयाँ मदर टेरेसा
शेख हसिनाको सत्ताच्युत र निर्वासनपश्चात् बङ्गलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनाइएको छ । आन्दोलनकारी विद्यार्थीहरूको आग्रहमा उनी सरकारको नेतृत्व गर्न राजी भएको प्रचार गरिएको छ । तर, मोहम्मद युनुसको सत्तारोहणले पछिल्लो आन्दोलनको सुरुवात जुनसुकै मुद्दा र लक्ष्यको लागि भएको भए पनि यसमा राजनीतिक विजय भए पश्चिमा शक्ति भएको देखिएको छ । नोबेल शान्ति पुरस्कारको राजनीतिक कलेवरबारे संसार जानकार नै छ । विशेषतः पश्चिमा राजनीतिक स्वार्थबाट नोबेल शान्ति पुरस्कार कहिल्यै मुक्त भएन । खासमा नोबेल शान्ति पुरस्कार पश्चिमा सांस्कृतिक उद्योगको उत्पादन मात्र हो । त्यसकारण, नोबेल शान्ति पुरस्कारका विजेतालाई आदर्शवान् मानिहाल्ने गल्ती आलोचनात्मक चिन्तनको कमी मात्र हो ।
बङ्गलादेशको गरिबी निवारण गर्न युनुसले थालनी गरेको ग्रामीण बैङ्क बापत नोबेल पुरस्कार प्रदान गरिएको थियो । तर, ग्रामीण बैङ्कले बङ्गलादेशमा गरिबी निवारण गरेको प्रचारबाजी भ्रमको खेतीमात्र थियो । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशमा पर्ने बङ्गलादेशका करोडौँ जनता अद्यापि गरिब छन् । करोडौँ जनता विदेशमा गएर रोजगार गर्न बाध्य छन् ।
ग्रामीण बैङ्ककै कारण बङ्गलादेशमा गरिबी निवारण हुने कुरामा विश्वास गर्नु मदर टेरेसाको कारण कोलकोत्तामा गरिबी अन्त्य भएको कुरामा विश्वास गर्नु जत्तिकै असत्य छ । पश्चिमा सञ्चारमाध्यमले निकै साधारण कुरालाई पनि विशेष बनाउने, असत्य कुरालाई पनि सत्यजस्तै प्रचार गर्ने, भित्रको कुरूप लुकाउन बाहिरी आवरण सुन्दर देखाउने काम हिजो भारतको कोलकोत्तासँग जोडेर मदर टेरेसालाई गरेका थिए भने अहिले बङ्गलादेशमा युनुसलाई त्यसरी नै अघि ल्याइँदै छ ।
बङ्गलादेशकै लेखकहरूले युनुस संरा अमेरिकी नेतृ हिलारी क्लिन्टन र क्लिन्टन परिवारसँग निकट आर्थिक लेनदेन भएका व्यक्तिको रूपमा खुलासा गरेका छन् । उनीहरूले क्लिन्टन राष्ट्रपति पदको लागि चुनाव लड्दै गर्दा बढी चन्दा दिनेमध्ये युनुस पनि भएको लेखेका छन् । युनुसमाथि भ्रष्टाचारको मुद्दा कमजोर बनाउन हिलारी क्लिन्टन नै सक्रिय भएका प्रमाण अघि सारिएका छन् । उनले विभिन्न देश र संस्थाले चन्दास्वरूप ग्रामीण बैङ्कलाई दिएको पैसा पनि चर्को व्याजमा ऋण दिएर मुनाफा कमाउने गरेका रिपोर्टहरू पनि सार्वजनिक भएका छन् ।
अहिले तिनै व्यक्ति बङ्गलादेशको नेतृत्वमा छन् । यसले बङ्गलादेशमा पश्चिमा शक्ति बलियो भएको देखिँदै छ । उनलाई नोबेल शान्ति पुरस्कार दिइनु आजको जस्तो परिस्थितिमा उनलाई राजनीतिक नेतृत्वमा ल्याएर आफ्नो लक्ष्य पूरा गर्नुभएको घटनाक्रमले पुष्टि गर्दै छ । नयाँ नेतृत्वबारे आलोचनात्मक टिप्पणी शेख हसिना र अवामी लिगप्रतिको झुकाव वा समर्थन होइन ।
बङ्गलादेशमा अहिले हिन्दू अल्पसङ्ख्यकमाथि कुटपिट भएका समाचार आइरहेका छन् । इस्लामिक शक्ति बलियो हुन सक्ने प्रचार पनि थालिएका छन् । यस्ता प्रचारबाजीले पश्चिमा कथित मानव अधिकारवादी संस्थाको नाममा बङ्गलादेशमा थप हस्तक्षेपलाई मार्गप्रशस्त गर्न सक्नेछ । हिन्दूमाथि दमनको नाममा अहिले प्रचारमा आएका कतिपय श्रव्यदृश्य भने झूटा छन् ।
निःसन्देह कुनै परिवर्तनको निम्ति प्रमुख कारक भनेको आन्तरिक नै हो । बङ्गलादेशको यो आन्दोलनको प्रमुख शक्ति बङ्गलादेशी जनता र कारण उनीहरूमा उम्लिएको शासकप्रतिको आक्रोश नै हो । तर, विश्वव्यापीकरणको आजको युगमा यस्ता आन्दोलनलाई शक्ति देशहरूले आफ्नो अनुकूल प्रयोगको प्रयास हुने सम्भावना पनि उत्तिकै सत्य हो । इतिहासले स्वयम् बङ्गलादेशको स्थापना पनि यस्तै भूराजनीतिक द्वन्द्वको नतिजा भएको देखाउँछ ।
अत्याचार र कुशासनको विरोधमा विद्रोह गर्नु जनताको अधिकार हो । बङ्गलादेशी जनताको परिवर्तनको भावना सम्मानजनक छ । तथापि, परिवर्तनको चाहना र सपना मिसिएको जनसङ्घर्ष र बलिदानलाई साम्राज्यवादी शक्तिले आफूअनुकूल दुरूपयोग गर्ने, अझ खराब अवस्थामा धकेल्ने परिस्थितिप्रति सचेत हुन जरुरी छ ।