फिडेल क्यास्ट्रो
चिलीको घटनाबाट सबै क्रान्तिकारीहरूले सिक्नुपर्ने पाठ यही हो ।
केही दिनअघि उनीहरूले गत जुलाईको अन्त्यतिर हामीले राष्ट्रपति एयेन्डेलाई पठाएको चिट्ठी प्रकाशित गरे । तर, घिनलाग्दा फासीवादीहरूले चिट्ठीका धेरै खण्ड लुकाए । चिट्ठीको पूर्ण पाठ यस्तो थियो –
हवाना, जुलाई २९, १९७३
प्रिय साल्भाडोर,
असंलग्न राष्ट्रहरूको सम्मेलनसँग सम्बन्धित विषयमा छलफल गर्न कार्लोस र मानुएल पिनियरो तपाईँलाई भेट्न आउँदै छन् । उनीहरूको मुख्य लक्ष्य तपाईँसँग स्थितिबारे जानकारी लिनु हो र सधैँझैँ त्यहाँको प्रक्रियामा अवरोध गर्ने वा चुनौती दिने जटिलता र खतराको सामना गर्न सहकार्यको हाम्रो चाहना व्यक्त गर्नु हो ।
उनीहरू छोटो अवधिका लागि त्यहाँ बस्नेछन् किनभने यहाँ उनीहरूका धेरै काम बाँकी छन् । उनीहरूका काम केही समयलाई रोकेर भए पनि हामीले उनीहरूलाई त्यहाँ पठाउने निर्णय गर्यौँ ।
जलसेनाको सेनापतिको निर्मम हत्या र ट्रक मालिकहरूको नयाँ हडतालजस्ता गम्भीर घटनाक्रमबिच यतिखेर तपाईँ क्रिश्चियन डेमोक्रेटहरूसँगको संवेदनशील विषयमा व्यस्त हुनुभएको हामीलाई ज्ञात छ । सङ्घर्ष ज्यादै घम्साघम्सी भएको म अन्दाज गर्छु । कथंकदाचित लडाइँ सुरु भइहाले शक्ति सन्तुलनमा सुधार गर्न तपाईँलाई केही समयको आवश्यकता रहेको पनि म अनुमान गर्न सक्छु । जस्तै परिस्थितिमा कुनै पनि ऐतिहासिक दायित्वलाई पन्छाएर सम्भव भएसम्म नागरिक विद्वेषबिना क्रान्तिकारी प्रक्रिया अगाडि बढाउने तपाईँको चाहना हो । यी प्रशंसनीय लक्ष्यहरू हुन् । तर, अर्को पक्षले आफ्ना उपद्राहा र गैरजिम्मेवार नीतिलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले पपुलर युनिटी र क्रान्तिबाट त्यस्तो मूल्यको माग गरिरहेका छन्, जो असुल गर्न पपुलर युनिटी र क्रान्तिको निम्ति असम्भव छ । यो स्वाभाविक हो । मुख्यतः चिलीका कामदार जनताका विलक्षण सामथ्र्य र जस्तै प्रतिकूल समयमा पनि यो वर्गले तपाईँलाई प्रदान गरेको दृढ समर्थन नभुल्नुहोला । क्रान्ति खतरामा परेको बेला जब तपाईँ आह्वान गर्नुहुनेछ, त्यसको प्रतिक्रियामा यो वर्गले विद्रोहीलाई रोक्न सक्छ, तटस्थ जनताको समर्थन जित्न सक्छ, आवश्यक परेको बखत यो वर्ग सबै उठेर चिलीको भाग्य निर्धारण गर्न सक्दछ । शत्रुले बुझ्नुपर्छ चिलीका कामदार जनता सजग छन् र जस्तै कारबाही गर्न पनि तम्तयार छन् । अरू परिस्थिति प्रतिकूल भए पनि यो वर्गको शक्ति र लड्ने क्षमताले सान्टियागोमा भुइँँचालो ल्याउन सक्दछ ।
आफ्नो जीवन दाउमा लगाएर भए पनि क्रान्तिकारी प्रक्रियाको दृढतापूर्वक र सम्मानका साथ रक्षा गर्ने तपाईँको प्रतिबद्धताले चिलीका सबै महिला–पुरुषलाई तपाईँको पछाडि गोलबद्ध पार्नेछ । सबैलाई थाहा छ, तपाईँ आफ्नो प्रतिबद्धताप्रति दृढ निश्चयी हुनुहुन्छ । तपाईँको जन्मभूमिमा मडारिरहेको सङ्कटको यो ऐतिहासिक घडीमा तपाईँको साहस, धैर्य, निस्पृहता र त्योभन्दा पनि तपाईँको दृढ, प्रतिबद्ध र वीरतापूर्ण नेतृत्व यो परिस्थितिमा अत्यावश्यक छ ।
कार्लोस र मानुएलले तपाईँप्रति क्युवाली मित्रहरू कति कटिबद्ध छन्, बताउने नै छन् ।
म हाम्रा जनताको सद्भाव र असीमित आत्मविश्वास पुनः व्यक्त गर्दछु ।
भ्रातृत्वपूर्वक
फिडेल क्यास्ट्रो
चिलीको आन्तरिक मामिलामा क्युवाली हस्तक्षेपको प्रमाणको रूपमा यो चिट्ठीलाई प्रस्तुत गर्ने सबै प्रयत्नहरू मूर्खतापूर्ण र हास्यास्पद छन् । यो चिट्ठी साम्राज्यवाद, प्रतिक्रियावाद र फासीवादबाट सताइएका एकजना राष्ट्रपतिलाई हाम्रा जनताले पठाएको ऐक्यबद्धता, मित्रता र उत्साहको सन्देशमात्र थियो ।
कुनै पनि विषयलाई त्यसरी नै हेर्ने हो भने विश्वभरका बीसौँ राजनेता, सार्वजनिक व्यक्ति र धेरै–धेरै सङ्घ–संस्थाहरूले गरेको फासीवादी विद्रोहको भत्र्सना, नरसंहार र अरू अपराधको विरोध पनि चिलीको आन्तरिक मामिलामा हस्तक्षेपमा गनिनेछ ।
क्रान्तिकारी आन्दोलन र मानव जातिलाई प्रभावित गर्ने साम्राज्यवादविरोधी सङ्घर्षका समस्याहरूले संसारभरका क्रान्तिकारी एवम् प्रगतिशील जनतालाई प्रभावित बनाउँछ र त्यो उनीहरूको चासोको विषय पनि हो ।
भियतनामलाई दिएझै चिलीलाई चिनीमात्र होइन, हामी चिलीका लागि हाम्रो रगत दिन चाहन्छौँ ।
चिलीको स्वाधीनता आन्दोलनको क्रममा यो गोलाद्र्धका अन्य भू–भागका जनताले चिलीमा चिट्ठी पठाउनेमा मात्र आफ्नो भूमिकालाई सीमित राखेका थिएनन्, चिलीमा गएर चिलीका जनतासँग मिलेर स्वाधीनताको निम्ति लडेका थिए ।
सेप्टेम्बर ११ को दिन फासीवादीहरूले राष्ट्रपति भवनमा हमला गरे र राष्ट्रपति एयेन्डेको निवासमा निर्ममतापूर्वक बमबारी गरे । राष्ट्रपति निवासमा त्यतिबेला एयेन्डेका परिवारजन थिए । यद्यपि, उनकी श्रीमती भने त्यहीँ मारिएकी थिइनन् । एयेन्डेको निधन भएको २४ घण्टाभन्दा बढी समयसम्म चिलीका जनतालाई त्यस विषयमा केही भनिएको थिएन । एयेन्डेका आफन्तहरूले हामीलाई त्यो समय बिताउनुपरेको विषम परिस्थितिबारे अनुभव साटिसकेका छन् । एयेन्डेको अन्तिम संस्कार पनि कडा गोपनियतामा गरियो ।
कसरी हो, फासीवादीहरूले उनकी श्रीमती र एक जना बहिनी भेट्टाए । उनीहरूलाई सान्टियागोको सैनिक विमानस्थल लगियो । त्यहाँ उनीहरूलाई एउटा सैनिक मालवाहक विमानमा राखेर भाल्पाराइसो पु¥याइयो । जताततै असामान्य ढङ्गले सेनाको भिडभाडबिच उनीहरूलाई समाधिस्थलमा लगियो । शव बाकस एउटा सैनिक कपडाले छोपिएको थियो । त्यो बाकस खोल्दै खोलिएन । उनीहरूले आफन्तलाई एयेन्डेको पार्थिव शरीर हेर्नसम्म दिएनन्, किन ? उनीहरू के लुकाउन खोज्दै थिए ? उनीहरू आफूलाई प्रस्तुत गर्न पनि डराइरहेका थिए । उनीहरू एयेन्डेको शरीरमा १० भन्दा बढी गोली लागेको र मरिसकेपछि पनि उनलाई गोली हान्न नछोडिएको तथ्य लुकाउन खोज्दै थिए ।
तपाईँहरूलाई थाहा छ, फासीवादीहरूले हाम्रो क्युवाली राजदूतावासमा समेत गोलाबारी गरेका थिए । झन्डै मध्याह्नतिर फासीवादीहरूले हाम्रो दूतावासमा पहिलो हमला गरे । उनीहरूले दोस्रो हमला मध्यरातमा गरे । दुवै हमलाको कडा प्रतिकार भयो । हामी यसमा गौरव गर्छौँ । उनीहरूलाई ल्याटिन अमेरिकी क्रान्तिकारी प्रक्रियाप्रति क्युवाली क्रान्तिको बफादारिता र ऐक्यबद्धताबारे राम्ररी थाहा हुनुपर्छ र त्यसबाट उनीहरू डराएको हुनुपर्छ ।
ती हमलापश्चात् फासीवादीहरूले हाम्रा कूटनीतिक प्रतिनिधिहरूलाई तर्साउन खोजे । उनीहरूले ट्याङ्क, गोला र विमान प्रयोग गर्ने धम्की दिए । तर, हाम्रा कूटनीतिक प्रतिनिधिहरूले सैनिक अधिकारी र तिनका आउरेबाउरेहरूलाई जवाफमा भने, “हामी दूतावासको रक्षा एकजना व्यक्ति बाँकी रहेसम्म गर्छौँ, यो क्युवाली भू–भाग हो ।” फासीवादीहरूलाई हाम्रो दूतावासमा भएका सबै क्युवालीलाई मारेमात्र त्यो लक्ष्य पूरा हुने हेक्का थियो । सेप्टेम्बर १२ को बिहान पनि उनीहरूले आकलझुकल हमला गरिरहे तर कुनै पनि हमला सफल भएनन् । कूटनीतिक सम्बन्ध विच्छेद भएपछि हाम्रा प्रतिनिधिहरू फिर्ता भए ।
अहिले देखिएभन्दा ती घटनाहरू धेरै महत्वपूर्ण हुनेछन् किनभने फासीवादीहरू आतङ्क थोपर्न हिंसा र शक्ति प्रयोग गरिरहेका छन् । त्यसको एउटैमात्र समाधान भनेको फासीवादीहरूबाट नडराउनु हो ।
राष्ट्रपति एयेन्डेको उदाहरणीय व्यवहारले चिलीमा फासीवादको नैतिक पतन भएको छ । उनीहरूले एयेन्डेलाई न्यूनाङ्कन गरे । एयेन्डे विमान लिएर भाग्नेमा उनीहरू ढुक्क थिए । त्यो दिन फासीवादीहरूले महत्वपूर्ण पाठ सिकेको हुनुपर्दछ । ती पाठले उनीहरूले फेरि–फेरि पनि सामना गर्नुपर्ने प्रतिरोधतर्फ सङ्केत गरिरहेको छ । जनता थप शोषित भएर बस्न नचाहेको अवस्थामा के हुन्छ ? जनता त्रसित भएर बस्न नचाहँदा के हुन्छ ? जब महिला–पुरूष स्वयम् मर्न अघि सर्छन् तब के हुन्छ ? उनीहरूले पाठ सिकेको हुनुपर्छ ।
चिलीका सैनिक अधिकारी मूलतः नाजी ढङ्गका भू–राजनीतिक, महत्वपूर्ण क्षेत्र र भौगोलिक विस्तारबाट प्रशिक्षित छन् । तर, सबै चिलीका सैनिक अधिकारीहरू फासीवादी होइनन् । जनरल प्राट्स, पिकरिङ र सिपुल्भेडा इस्केडालगायतले सेनालाई संवैधानिक सरकारप्रति बफादार राख्ने र कानुनी दायरामा राख्न भरमग्दुर प्रयास गरेका थिए । तर, फासीवादी सैनिक अधिकारीहरूको बहुमतले उनीहरूलाई पाखा लगाए र परिणामतः फासीवादका लागि अघि बढ्ने मार्गप्रशस्त भयो ।
राष्ट्रपति भवनमा लडाइँ चल्दै गर्दा अर्धसैनिक बलका एकजना अधिकारी राष्ट्रपति एयेन्डेका अङ्गरक्षकहरूसँग मिलेर फासीवादीविरूद्ध लडेको खबर पनि प्राप्त गरेका छौँ । हामीले यी कुरा उल्लेख गर्न आवश्यक छ । चिलीको सेनाका अधिकारीहरूको वर्गीय आधार प्रतिक्रियावादीवर्ग हो । त्यहाँका सिपाहीहरूले देखेका छन्, उनीहरूका हाकिमहरू मध्यम र उच्चवर्गबाट आएका छन् । विपन्नवर्गका युवाहरू कहिल्यै पनि उच्च पदमा पुग्न सक्दैनन् । धेरैजसो अधिकारीहरू फासीवादी र फासीवादी तरिकाबाटै दीक्षित भए तापनि हामीलाई विश्वास छ, त्यस्ता अधिकारीहरू पनि हुनेछन् जसले फासीवादी नेताहरूले चिलीको सेनालाई लज्जाजनक र आपराधिक भूमिकामा खेलाइरहेको वास्तविकता बुझ्नेछन् । त्यस्तो समय पनि आउनेछ जब त्यस्ता अधिकारीहरू फासीवादविरोधी जनताको सङ्घर्षमा एकगठ हुनेछन् ¤
फासीवादी विद्रोहले चिली सेनाको नियति बन्द गरिदियो । उनीहरूले आफूलाई पूर्णरूपमा उदाङ्ग्याए । उनीहरूको ‘अराजनीतिक’ उडान र ‘संस्थागत हित’ को बोलीको वास्तविकता प्रस्ट भयो । शासकवर्गका हितमा दख्खल नपुगेसम्म उनीहरू त्यो मान्यतामा अडिग रहे । तर, जसै शासकवर्गको हितमाथि चुनौती आइपर्यो, उनीहरू आफ्नो तथाकथित ‘अराजनीतिक’ र ’संस्थागत हित’ को आवरण मिल्काएर जनविरोधी प्रतिक्रियावादी र शोषकहरूको खेमामा उभिए ।
चिलीका जनताबिचको गहिरो र अपूरणीय दूरीले आज चिलीका सेनाबाट मजदुर, किसान र जुझारू युवाहरूलाई विभाजित गरेको छ । यो दूरी फासीवादी जत्थाले हत्या गरेका, नरसंहार गरेका मजदुर, किसान, विद्यार्थी र क्रान्तिकारीहरूको रगतको समुद्रले बनेको छ ।
साल्भाडोर एयेन्डे र त्यो दिन उनीसँग मारिएका मानिसहरूको रगतको समुद्रले बनाएको यो अपूरणीय दूरी फासीवादी सेना र चिलीका जनताबिचको हो ।
निडर भएर हामीले यो कुरा भन्नैपर्छ । किनभने, जनताले फासीवादको सामना गर्नैपर्ने हुन्छ र उनीहरूले फासीवादसँग सामना गर्नेछन् ।
सत्तासीन सेना विचार र व्यवहार दुवैले फासीवादी छन्, मजदुरहरूको नरसंहार, विश्वविद्यालयहरूमा बमबारी, किताबहरूको आगजनी, यातना शिविर र जनताविरूद्ध आतङ्कवादसम्बन्धी डरलाग्दा कानुन । राजनीतिक दलहरूमाथिको प्रतिबन्ध, मजदुर सङ्गठनहरूको विघटन र सबै किसिमका अपराध एवम् दुरूपयोग । जब उनीहरू (फासीवादी सेना) समुदाय, विश्वविद्यालय र क्रान्तिकारीहरूका घरमा न खानतलासी गर्छन् तब निर्दयतापूर्वक भित्र पस्छन् र जे सक्छन् चोरेर लैजान्छन्, रक्तपिपासु र द्रव्यपिशाची डाँकाहरू जस्तो व्यवहार गर्छन् । यी गतिविधिहरू : मजदुरहरूको हत्या, पार्टीमाथि प्रतिबन्ध, पुस्तकहरूमा आगजनी, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, दूतावास र प्रतिरक्षाविहीन जहाजहरूमा हमला तथा यातना नै गृहहरूको स्थापना व्यवहारमा फासीवादका प्रस्ट दृष्टान्त हुन् ।
सन् १९३० को दशकपछि ४० वर्ष बितिसके । संसार अहिले हिटलर र का. मुसोलिनीको युगमा छैन । अहिले दीर्घकालको विश्वव्यापी सचेतना छ । मानव जाति अघि बढिसक्यो र अझ प्रगतितर्फ अघि बढिरहेको छ, यो अग्रगतिले आपराधिक गतिविधिलाई दृढतापूर्वक अस्वीकार गर्दछ ।
फासीवादी विद्रोह गरेका मूर्ख, अबुझ, सिल्ली र चिलीका सैनिक अपराधीहरूमात्र संसार अहिले १९३० को दशकमै छ भनी सोच्छन् ।
चिलीको भ्रमणमा जाँदा हामीले चिलियाली समाजको हृदयमा हुर्कँदै गरेको क्रान्तिकारी आन्दोलनसँगै फासीवादी भावना उदाउँदै गरेको देखेका थियौँ । सन् १९७१ डिसेम्बर २ मा चिलीबाट फर्कने क्रममा हामीले भनेका थियौँ, “हामीले केही कुरा सिक्यौँ । हामीले इतिहासको अर्को नियमको प्रमाणीकरण प्रत्यक्ष देख्यौँ, हामीले व्यवहारमा फासीवाद देख्यौँ । हामी एउटा समकालीन सिद्धान्त प्रमाणित गर्न सफल भएका छौँ, निराश प्रतिक्रियावादीहरू, हतासिएका शोषकहरू आज सबभन्दा नृशंस र सबभन्दा पाशविक प्रकारको हिंसा र प्रतिक्रियामा उन्मुख छन् ।
तपाईँहरू त फासीवादी आन्दोलनको कोक्रो बनेका धेरै देशमा फासीवादको कथाबारे जानकार हुनुहुन्छ । आफ्नो वर्गीय दमन कायम राख्न सम्भ्रान्त, शोषकवर्गले आफै स्थापना गरेका कानुन, संविधान र व्यवस्थापिकाजस्ता संस्थाहरू कसरी आफ्ना स्वार्थ पूरा गर्न नसक्ने भएपछि स्वयम्ले ध्वस्त बनाए, तपाईँहरूलाई थाहा छ नै ।
आफू स्वयम्ले बनाएका संस्थाले आफूमाथि शोषण गर्न मद्दत गर्दा शोषकवर्गले के गर्छ ? ऐतिहासिकरूपमै शोषणका लागि आफू भर परेको संयन्त्रले काम गर्न छोड्दा उनीहरू कसरी प्रतिक्रियामा उत्रन्छन् ? उनीहरू सीधा अघि बढेर तिनलाई ध्वस्त बनाउँछन् । फासीवादजस्तो असंवैधानिक, गैरकानुनी, असंसदीय, दमनकारी वा अपराधी अरू हुनसक्दैन ।
स्रोत : चिलीमा फासीवादको प्रतिरोध