१७ साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा विश्व स्तनपान दिवस अन्तर्गत आजदेखि स्तनपान सप्ताह शुरु भएको छ। हेलन केलर इन्टरनेश्नलको आर्थिक सहयोग तथा कञ्चन गाउँपालिकाको आयोजनामा रुद्रपुर स्वास्थ्य चौकीमा शुरु भएको स्तनपान सप्ताहको पहिलो दिन स्वास्थ्यकर्मी पुजा थापा र दुर्गा रानाले स्तनपानका आवस्यकता र त्यसको महत्वबारे अभिमुखीकरण गर्नु भएको थियो।
सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीले सञ्चालन गरेको पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रम अन्तर्गत स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्ने नारा सहित सप्ताह सञ्चालन भएको हो। स्तनपान सप्ताहबारे जानकारी दिदै कञ्चन गाउँपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव भएको उल्लेख गर्दै यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष मनाउदै आएको बताउनु भयो । वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य संगठन, र युनिसेफले एकसाथ जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य सहित मनाइने उत्सवको उदेश्य नयाँ आमाबुबाहरुको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु रहेको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनु भयो।
स्तनपान सप्ताहले स्तनपान सुरक्षाको महत्व बारे मानिसहरुलाई सूचित गर्दै स्तनपानलाई एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारीको रूपमा समर्थन र बहस संचालन गर्न उत्प्रेरित गर्ने गौतमले बताउनु भयो। स्तनपानलाईरआमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खानारवस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख रहेको समेत स्वास्थ्य प्रमुख गौतमले बताउनु भयो।
रुद्रपुर स्वास्थ्य चौकीका सिनियर अनमी पुजा थापाले सुत्केरी आमाहरुलाई स्तनपानबारे अभिमुखीकरण गर्दै सामान्यतया शिशुलाई आफनै आमाको दूध चुसाउनु नै स्तनपान भएको र स्तनपानले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुको साथै शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउँने उल्लेख गर्नु भयो। बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिने गरिएको सि.अनमी थापाले बताउनु भयो।
यसैगरी सिनियर अनमी दुर्गा रानलो शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान भएको उल्लेख गर्नु भयो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक नहुने भएकोले हरेका आमाहरुले बच्चा जन्मेदेखि कम्तिमा २ बर्षसम्म आफ्नो स्तनपान गराउनु पर्नेमा सि. अनमी रानाले जोड दिनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष केशर बहादुर खत्रीले हरेक कार्यलय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था रहेको र सोही अन्तर्गत कञ्चनले पनि कञ्चन भित्र रहेका सार्वजनिक कार्यालयहरुमा स्तनपान कक्षको व्यबस्था गर्दै आइरहेको बताउनु भयो। स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रुपमा कानुनी परिभाषित गरिएको र यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु रहेको कुरा वडा अध्यक्ष खत्रीले उल्लेख गर्नु भयो।
कार्यक्रमको सहजिकरण गर्दै रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्ने बताउनु भयो। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुनुका साथै संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने इन्चार्ज शर्माले् बताउनु भयो। इन्चार्ज शर्माले नियमित स्तनपानले महिलाहरुमा हुने स्तन क्यान्सरको समेत प्रतिरोधकको काम गर्ने भएकोले आफु स्मार्ट बन्ने महत्वाकांक्षाले बच्चालाई स्तनपान नगराई प्राणघातक रोग क्यान्सरको सिकार नबन्न आग्रह गर्दै आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुने भएकाले दीर्घकालीन रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भूमिका रहेको शर्माले बताउनु भयो।
कार्यक्रममा सेतो गुरास बालबिकास सेवा रूपन्देहीका सहजकर्ता भबि क्षेत्रीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजिकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको जानकारी दिदै आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको बताउनु भयो ।
यस्तै अर्का सहजकर्ता मुना कुवँरले सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने कानुनी प्रावधान भएको जानकारी दिनु भयो।
कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका संघ रुपन्देही जिल्ला सदस्य सुमित्रा बुढाथोकी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका संघ, कञ्चनका निर्वातमान अध्यक्ष पवित्रा चापागाई, रुद्रपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुत्केरी महिला तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सुत्केरी महिलाहरुलाई रुद्रपुर स्वास्थ्य चौकीमा रहेको स्तपान कक्षमा स्तनपान अभ्यास समेत गराइएको थियो।