सन् १९६० को दशकमा स्वतन्त्रता आन्दोलनबारे अत्यन्त चर्चामा आएका देशहरूमध्ये एक अल्जेरिया पनि थियो । भूमध्य सागरको दक्षिणमा अवस्थित अल्जेरिया क्षेत्रफलको हिसाबले अफ्रिकाको दोस्रो ठुलो देश हो, सुडान र जायर पहिलो र तेस्रो हुन् । २३ लाख ८१ हजार ७४० वर्ग किलोमिटर क्षेत्रफल भएको अल्जेरियाको अहिलेको जनसङ्ख्या ४ करोड ६१ लाख १६ हजार छ । पूर्वमा ट्युनिसिया र लिबिया, दक्षिणमा नाइजर र माली, पश्चिममा मौरिटानिया र मोरोक्को पर्छ भने उत्तरमा भूमध्य सागर पर्छ । जातीय र धार्मिकरूपले अरबी र मुसलमान बहुल देशमा झन्डै एक प्रतिशत मात्रै युरोपेली, क्रिश्चियन र अन्य धर्म मान्नेहरू छन् ।
खनिजको हिसाबले यो देश सम्पन्न छ । पेट्रोल, ग्यास, फलाम, इस्पात, पारो, चाँदी, जस्ता, धातु र अन्य खनिज पदार्थ ठुलो मात्रामा पाइन्छ । त्यससम्बन्धी प्रशोधन उद्योगहरू पनि छन् । अल्जेरियाको उत्तरतिर समुद्री किनारामा बसोबास बढी छ भने दक्षिणमा सहारा मरुभूमिको भाग छ । उत्तरी र दक्षिण–पूर्वी भागमा केही क्षेत्र पहाड छ । सन् १८३० देखि नै फ्रान्सेली साम्राज्यवादले यस देशलाई उपनिवेश बनाएको थियो । त्यसबेला अल्जेरियाको शैक्षिक स्तर फ्रान्सको भन्दा माथि थियो तापनि त्यस देशलाई ‘पिछडिएको भूमि’ मानिन्थ्यो । उपनिवेशको १३० वर्षपछि फ्रान्सेली उपनिवेशवादीहरूले अल्जेरियाको सामाजिक र आर्थिक जीवनलाई धुजाधुजा बनाए तथा देशलाई नै एक दरिद्र देशमा फेरिदिए । उपनिवेशवादीहरूले अल्जेरियालाई ‘फ्रान्सको एक भाग’ को रूपमा घोषणा गर्दै १५ लाख फ्रान्सेलीहरूको बस्ती बसाली त्यहाँका उर्वर भूमि, खेत र खलिहान तथा व्यापार कब्जा गरे ।
दलित–पीडित जनता जहाँ पनि स्वतन्त्र र मुक्त हुन चाहन्छन् । त्यसअनुसार अल्जेरियाली जनतामा पनि स्वतन्त्रताको भावना प्रबलरूपले विकास हुँदै गयो । दोस्रो विश्वयुद्धपछि स्वतन्त्रता र मुक्ति आन्दोलनले अफ्रिकी महादेश नै जुर्मुरायो । अफ्रिकाका अनेक मुलुकमा विभिन्न स्वतन्त्रता सेनानी र नेताहरू देखापरे । त्यसमध्ये अल्जेरियाका अहमद बेन बेल्ला पनि एक थिए ।
बेन बेल्ला जीवनभर विवाद समाधान गर्ने अफ्रिकी सङ्घको सल्लाहकार समितिका अध्यक्ष थिए । फ्रान्सेली उपनिवेशवादीहरू र स्वतन्त्रतापछि पश्चिमी समर्थक अल्जेरियाली सरकारकै बन्दी भएर उनले २४ वर्ष कारागारको सजाय भोगे ।
उनी १९१८ डिसेम्बर २५ मा पश्चिम अल्जेरियाको सुफी मुसलमान परिवारमा जन्मेका थिए । विद्यार्थी जीवनमा उनी फ्रान्सेली उपनिवेशवादी शिक्षकहरूबाट अनेक भेदभावको सिकार हुनुपरेको थियो । चार भाइमध्ये उनका जेठा दाजु फ्रान्सेली सेनाबाट पहिलो विश्वयुद्धमा मारिए । अन्य दुई भाइ सानैमा मरेका थिए ।
सन् १९३६ मा १८ वर्षको उमेरमा उनी फ्रान्सेली सेनामा भर्ती भए । त्यसबेला फ्रान्सेली उपनिवेशको सेनामा अल्जेरियाली मुसलमानहरू भर्ना हुँदैनथे । उनलाई खेलमा अगाडि हुँदा सन् १९३९–४० तिर खेलकुदकै क्षेत्रमा पठाउन खोजिएको थियो तर उनले त्यसलाई स्वीकारेनन् ।
सन् १९४० मा उनले सेनामा पदक पाएका थिए । पछि उनी बसेको अल्जेरियाली सेना विघटन भएपछि उनी मोरोक्कोको फ्रान्सेली पैदल सेनामा भर्ती भए । उनले फ्रान्सेली राष्ट्रपति देगालबाट पदक पाए र अफिसरको दर्जामा पदोन्नति भए । तर, मे १९४५ मा अल्जेरियाको सेतिफ (Setif) सहरमा फ्रान्सेली उपनिवेशवादीहरूले दमन गरेपछि उनले आफ्नो पदोन्नतिसमेत अस्वीकार गरे ।
सेना छोडेपछि बेन बेल्लाले नगरपालिकाको निर्वाचनमा भाग लिए तथा उपनिवेशको विरोध गर्ने एक भूमिगत सङ्गठनको सदस्य बने । त्यही ‘विशेष सङ्गठन’ नै पछि अल्जेरियाको ‘राष्ट्रिय मुक्ति मोर्चा’ को रूपमा अगाडि बढ्यो । सन् १९५१ मा फ्रान्सेलीहरूलाई उनको गतिविधिको जानकारी हुनासाथै उनी पक्राउ परे । उनलाई ८ वर्षको जेल सजाय भयो ।
लडाकु स्वभावको भएको हुँदा बेन बेल्ला जेलबाट गुप्तरूपले भागेर ट्युनिसिया तथा त्यहाँबाट इजिप्ट पुगे । इजिप्ट त्यसबेला अल्जेरियाली राष्ट्रिय मुक्ति मोर्चाको केन्द्र थियो । क्रान्तिकारी सङ्घर्ष एवं एकताको समितिमा ९ जना सदस्यहरूमध्ये उनी पनि एक थिए । सन् १९५६ मा उनको गतिविधिकै कारण फ्रान्सेलीहरूबाट उनी पक्राउ परे र सन् १९६२ मा मात्रै रिहा भए । कारागारमा छँदै उनी अल्जेरियाको अन्तरिम सरकारका उपप्रधानमन्त्री निर्वाचित भए ।
इजिप्टमा त्यसबेला अब्देल नासिर सत्तामा थिए र उनले अन्य अफ्रिकी देशहरूको स्वतन्त्रता र मुक्तिको निम्ति समर्थन र सहयोग गर्थे । त्यस अर्थमा बेन बेल्लालाई पनि ‘नासिरवादी’ भनिन्थ्यो । सानैदेखि उनले फ्रान्सेली भाषामा लेखपढ गरेका हुनाले अरबी भाषामा दख्खल थिएन । भनिन्छ, इजिप्टमै उनले अरबी भाषा सिकेका थिए । नासिर १९५४–५६ मा इजिप्टका प्रधानमन्त्री तथा १९५६–७० सम्मका राष्ट्रपति थिए । १९५६ मा उनले बेलायती साम्राज्यवादले पहिले बनाएको स्वेज नहरलाई राष्ट्रियकरण गरे । बेलायत, फ्रान्स र इजरायलले इजिप्टमाथि आक्रामक युद्ध छेडेका थिए । त्यस युद्धमा उनी नासिरका समर्थक थिए ।
अल्जेरियाली राष्ट्रिय मुक्तिको नेतृत्वमा फ्रान्सेली उपनिवेशवादको विरोधमा सन् १९५४ देखि सशस्त्र सङ्घर्ष सुरु भयो । लाठी, भाला, घरेलु बम र अन्य हातहतियार लिएर सारा अल्जेरियाली जनता उठे । अल्जेरियाली जनताको त्यो विद्रोह र मुक्ति सङ्घर्षलाई दबाउन फ्रान्सले पाँच लाख सेना अल्जेरिया पठायो ।
त्यस सङ्घर्षमा उपनिवेशवादी सेनाले बम खसालेर वा बस्तीमा आगो लगाएर ३० लाख जनतालाई घरबारविहीन तुल्याएको थियो । सन् १९६२ सम्मको त्यो लडाइँमा झन्डै दस लाख अल्जेरियालीहरू अर्थात् १५ प्रतिशत जनता मारिएका थिए ।
१९६२ सेप्टेम्बर २० मा बेन बेल्ला प्रधानमन्त्री निर्वाचित भए तथा सेप्टेम्बर २९ कै दिन संरा अमेरिकाले मान्यता दियो । अक्टोबर ८ को दिन संयुक्त राष्ट्र सङ्घले अल्जेरियालाई १०९ औँ सदस्य राज्यको रूपमा स्वीकार्यो । अल्जेरियाको १९६२ जुलाई ५ को मुक्तिपछि राष्ट्रिय मुक्ति मोर्चाका नेता तथा प्रधानमन्त्री बेनियोकेफ बेनखेड्डा (Benyyocef Bankhedda) सँग बेन बेल्लाको धेरै विषयमा मतभेद देखियो । तर, जनताको समर्थन बेन बेल्लातिर थियो ।
१९६३ सेप्टेम्बर १५ मा बेन बेल्ला पहिलो राष्ट्रपतिमा चुनिए । उनमा समाजवादी साहित्यको प्रभाव थियो । त्यसकारण, उनी सत्तामा आउनासाथै भूमि सुधारको योजना अगाडि ल्याए, भूमिहीनहरूको हितको निम्ति नीति अगाडि सारे तथा फ्रान्सेली उपनिवेशवादीहरूले कब्जा गरेका भूमिलाई किसानहरूमा वितरण गरेपछि सहकारीजस्तो आफैले बन्दोबस्त गर्ने व्यवस्था गरे । उनको राष्ट्रिय मोर्चाका सेना, भूतपूर्व गुरिल्ला, सरकारमा सामेल अनेक गुट र उपगुट तथा कर्मचारीतन्त्रको बिचमा अनेक मत–भिन्नताहरू देखापर्यो । उनका प्रगतिशील पाइलाहरूका कारण अल्जेरियाका प्रतिगामीहरू वा साम्राज्यवादी तथा उपनिवेशवादी तत्वहरूसँगको सङ्घर्ष तीव्र हुँदै गयो ।
बेन बेल्ला सत्तामा पुगेपछि फ्रान्सेली उपनिवेशवादीहरूसँग भएको सङ्घर्षमा ध्वस्त भएका र लथालिङ्ग स्थितिमा छोडिएका अस्पतालहरू, कल–कारखानाहरू र मेसिनहरूको बन्दोबस्त गर्न निर्वाचित मजदुरहरूलाई बन्दोबस्त गर्ने उपाय सुझाए । त्यस सरकारले क्युवा, प्यालेस्टिन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, भियतनामजस्ता साम्राज्यवादविरोधी देशहरूको समर्थन गर्यो । यसरी बेन बेल्लाले क्युवा, भियतनाम, चीन र अन्य समाजवादी देशहरूले साम्राज्यवाद र पुँजीवादको जरालाई नै उखेलेर नयाँ व्यवस्था खडा गरेको विषयमा आफ्नो देशलाई जानकारी दिन चाहन्थे । तर, उनको सरकारमा रहेका सिद्धान्तमा अडान नराख्ने मध्यमवर्गीय बुद्धिजीवीहरूले अन्य तत्वहरूसँग मिलेर उनलाई अहङ्कारी, व्यक्तिवादी र लहडीजस्ता आरोप लगाउन थाले ।
बेन बेल्लाले आफ्नो देशलाई एक प्रगतिशील र समाजवादी बाटोमा नजानिँदो ढङ्गले लैजान खोज्दा साम्राज्यवादीहरू र आफ्नै सरकारभित्र पनि मतभेद बढ्दै गयो । सन् १९६५ मा एक सैनिक विद्रोहद्वारा उनलाई सत्ताबाट हटाई घरमै नजरबन्दमा राखियो । हौरी बोमेडिने (Houari Boumedienne) ले उनलाई सन् १९८० सम्म घरमै बन्दी बनायो र पछि स्वीट्जरल्यान्डमा जान दियो । सन् १९९० मा उनी स्वदेश फर्के ।
सन् १९५० र ६० को दशक अल्जेरियाजस्तै संसारका धेरै उपनिवेश देशहरूको स्वतन्त्रता र मुक्तिको अवधिको दशक थियो । त्यसमध्ये अल्जेरियाको ८ वर्षे सशस्त्र सङ्घर्षले फ्रान्सेली उपनिवेशवादलाई पराजित गर्यो । बेन बेल्लाको सरकारले ल्याटिन अमेरिका र अफ्रिकी स्वतन्त्रता आन्दोलनका लडाकुहरूलाई समर्थन र सैनिक तालिम दिने अन्तर्राष्ट्रवादी ऐक्यबद्धताको प्रतीकका रूपमा आफूलाई उभ्याएका थिए । उनले अफ्रिकी अमेरिकी नेता मेल्कम एक्सलाई आफ्नो सरकारमा सामेल हुन निमन्त्रणा गरेका थिए ।
बेन बेल्लाको भूमिका अखिल–अफ्रिकी र असंलग्न आन्दोलनको एक नेताका रूपमा चर्चित थियो । समाजवादी देशहरूसँग काम गर्दा उनले सङ्घर्षरत उपनिवेशबाट मुक्त सरकारहरूलाई गरिने योगदानबारे प्रत्यक्ष र अप्रत्यक्षरूपले बुझ्ने व्यक्तिको रूपमा देखापरेका थिए । उनले अफ्रिकामा समाजवाद कार्यान्वयन गर्ने र पुँजीवादी अर्थव्यवस्थालाई फाल्ने काम भने गर्न सकेनन् किनभने त्यो लामो प्रक्रियाबाट मात्र सम्भव थियो ।
सन् २००६ मा बेन बेल्लाले लेखक सिल्भिया क्याटोरी (Silvia Cattori) लाई अन्तर्राष्ट्रिय दृष्टिकोणबारे एक अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले तत्कालीन समसामयिक विकासबारे पनि आफ्नो दृष्टिकोण अघि सारेका थिए । अन्तर्वार्ताको अंश यसप्रकार छ, “ट्युनिसिया, मोरोक्को, भियतनाम, अल्जेरिया त्यसबेला स्वतन्त्रता सङ्ग्रामका स्रष्टाजस्तै थिए । तिनीहरूको समर्थन गर्नु एक पवित्र कार्य थियो । कोही आएर मद्दत माग्दा हामीले त्यसलाई पवित्र कुरा सम्झन्थ्यौँ । हामी तिनीहरूलाई सानो भए पनि सहयोग गथ्र्यौँ चाहे त्यो हतियारको सहयोग होस्, अलिकति पैसाको होस् र अवसरअनुसार मानवीय शक्तिको पनि सहयोग गथ्र्यौँ ।”
प्रश्न : चे ग्वेभारा त्यसबेला कोकोसँग अल्जेरिया आएका थिए ?
“दक्षिण अमेरिकामा लड्ने सबै लडाकुहरू अल्जेरिया आउँथे, तिनीहरूलाई हामी तालिम दिन्थ्यौँ, हातहतियारको बन्दोबस्त गथ्यौँ, पठाउँथ्यौँ र सबै आवतजावतको बन्दोबस्त गथ्र्यौँ । नेल्सन मण्डेला, अभिलियर काब्राल (Avilear Cabral) पनि अल्जेरिया आएका थिए । तिनीहरूलाई मैले प्रशिक्षित गरेको थिएँ, अनि तिनीहरू आफ्ना देशको स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्न फर्के ।” म माक्र्सवादी होइन तर म आफूलाई पूरै वामपक्षमा राख्छु ।
म एक मुसलमान अरबी हुँ । म वामपन्थी हुँ । यसकारण, माक्र्सवादी सिद्धान्तसँग एकाकार नभए पनि म आफूलाई उपनिवेशवादी र साम्राज्यवादविरोधी सङ्घर्षको नेतृत्व गर्ने क्युवा, चीन, प्रजग कोरियाजस्ता संसारका समाजवादी देशहरू र संसारका सबै वामपन्थी आन्दोलनको पक्षमा पाउँछु । यसकारण, उपनिवेशवादबाट मुक्त हुन र राष्ट्रिय आन्तरिक सरकार स्थापना गर्न तिनीहरूसँग हाम्रो एउटा मुक्ति मोर्चा स्थापना गथ्र्यौँ र सेनालाई आवश्यक सामग्रीको निम्ति सहयोग गथ्र्यौँ ।
तत्कालीन परिस्थितिबारे उनले भने, “म आफूलाई दक्षिणको मानिसको रूपमा लिन्छु र उत्तरमा अहिले केही परिवर्तन भएको छ । युवाहरू ‘अति’ भएको मान्छन् । विकृत विश्व व्यवस्थाबाट दक्षिण मात्रै होइन उत्तरमा समेत प्रहार हुँदै छ ।”
हामी पहिले दुःखकष्ट र दरिद्रता दक्षिणमा मात्र भएको मान्थ्यौँ । अहिले उत्तरमा पनि गरिबी छ । यसले भन्छ, वर्तमान विश्व व्यवस्थाले कसैलाई पनि राम्रो गर्दैन, बरु यसले अर्बपति कम्पनीहरूलाई मात्रै सेवा गर्छ । उत्तरभित्र भित्री गहिराइमा अहिले एक आन्दोलन चालु छ, त्यहाँका नयाँ पुस्ता विरोध गर्न र सङ्घर्ष गर्न सडकमा आउँदै छन् ।
२०१२ अप्रिल ११ को दिन उनी पहिलो अल्जेरियाली राष्ट्रपति र अरब राष्ट्रवादका एक महान् क्रान्तिकारी व्यक्तित्वको रूपमा अल्जेरियाको आफ्नै घरमा बिते । अप्रिल १२ को दिन उनको शवलाई श्रद्धाञ्जलीको निम्ति राखियो भने अप्रिल १३ को दिन उनको अन्तिम संस्कार गरियो । ८ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको थियो ।
स्रोत : स्वतन्त्र अफ्रिका