बुर्किनाबे जनताको अत्यन्त ठुलो बहुमत कृषिमा आधारित थियो, तर जमिनको बन्दोबस्त सामन्ती ढङ्गको थियो । जमिनदारहरूले जोताहा किसानहरूलाई बिनापैसा ज्यामी लगाउँथे अर्थात् झारा वा बेठबेगारी लिन्थे । उनीहरूले जोताहा किसानहरूबाट रकम वा बाली पनि असुल गर्थे । राष्ट्रिय क्रान्तिकारी परिषद्ले भूमिमा सामन्ती अधिकारलाई उन्मूलन गर्यो । राष्ट्रिय कृषक सङ्घ स्थापना गरियो । बुर्किना फासोमा सुक्खा मौसमको बेला पानी र सिँचाइ पहिलेदेखिको समस्या थियो । कोषको अभावका कारण त्यहाँका जनताले स्थायी वा सिमेन्टको घर बनाउन सक्दैनथे । यसकारण गाउँका जनता सबै मिलेर माटोकै बाँध बनाए । कृषि उत्पादनमा वृद्धि भयो । पहिलो पटक जनताको आवास योजना बनाइयो । दुई–दुई कोठे माटो र इँटाका घरहरू बनाइए । ती सबै काम स्थानीय क्रान्तिकारी रक्षा समितिहरूले बन्दोबस्त गरे । पहिले भए त्यो कुरा कल्पना गर्न सकिने कुरा थिएन ।
महिला मुक्ति कसरी सम्भव ?
महिला मुक्तिको क्षेत्रमा सङ्काराको विचार झन् प्रभावशाली बन्यो । सङ्काराले एङ्गेल्सको समाज उत्पत्तिसम्बन्धी रचनाहरू अध्ययन गरेका थिए । ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ जस्ता कृतिबाट उनी प्रभावित थिए । बुर्किना फासोका स्वास्नीमानिसहरू मनोरञ्जनको कुनै पनि अधिकारबिना सबभन्दा बढी शारीरिक काम गर्न बाध्य थिए । नव–उपनिवेशवादी समाजमा स्वास्नीमानिसहरू दोहोरोरूपमा शोषित भएको कुरा उनले सिकाए । पहिलो, आइमाईहरू लोग्नेमानिसहरूले जस्तै दुःखको अनुभव गर्छन् । दोस्रो, तिनीहरू लोग्नेमानिसहरूबाट पनि थप दुःखका शिकार छन् । सङ्काराले भने, “स्वास्नीमानिसहरू घरबाहिर र भित्र शोषित छन् । तिनीहरूलाई भूमिकारहित र आवाजविहीन बनाइएका छन् । मुख्य मानिस नै बाँधिएका छन् । महिला भनेको पुरुषको छायाँ मात्रै हो भनिएको छ ।”
स्वास्नीमानिसलाई पनि निर्णय गर्ने थलो र सार्वजनिक प्रशासनमा पूर्णरूपले सहभागी बनाउन सङ्काराले राष्ट्रिय परिषद्मा महिलालाई पनि सामेल गराए । उनले भने, “स्वास्नीमानिसको साँचो मुक्ति भनेको आइमाईहरूलाई पनि जिम्मेवारी सुम्पनु र विश्वास गर्नु हो । तिनीहरूलाई उत्पादन कार्यमा सहभागी गराउनु तथा जनताले जुझ्ने हरेक कठिन सङ्घर्षहरूमा तिनीहरूलाई पनि सामेल गराउनु हो ।” बुर्किनाबे महिलाहरू पनि ‘क्रान्तिको निम्ति रक्षा समिति’ (CDR) मा सामेल भएर मन्त्री र प्रान्तीय गभर्नर वा अञ्चलाधीश भई शक्तिशाली भूमिका प्रदर्शन गरे । जबरजस्ती विवाह, बहुविवाह र यौन अङ्गछेदनजस्ता विकृतिहरूलाई निषेध गरियो र परिवार नियोजन लागु गरियो ।
परराष्ट्र नीति
क्रान्तिकारी बुर्किना फासोको संसारका सबै प्रगतिशील सरकारहरूसँग घनिष्ठ सम्बन्ध थियो । कुनै पनि राज्यसँग झुकाव नराखी असंलग्न राष्ट्रहरूको एक सदस्य रह्यो । सन् १९८६ को अक्टोबर महिनामा सङ्काराले सोभियत सङ्घको भ्रमण गरे । उनको घनिष्ठ अन्तर्राष्ट्रिय सम्बन्ध निकारागुआ र क्युवासँग थियो भने अफ्रिकामा मोजाम्बिकसँग थियो । सामोरा मशेल सङ्काराका नायक थिए । तिनीहरू दुवै मिल्ने साथी थिए । दक्षिण अफ्रिकी जातिवादी सङ्गठनका दलालहरूबाट हवाईजहाज विस्फोट गराई सामोरा मशेलको हत्या गरिएको थियो । सङ्काराको निम्ति यो घटना सा¥है दुःखद थियो ।
बुर्किना फासोको सम्बन्ध पोलिसरियो मोर्चा (Polisrio Front) सँग पनि थियो । पोलिसरियो मोर्चा स्पेनको सहारामा मोरक्कोको नियन्त्रणबाट स्वतन्त्र हुन चाहन्थ्यो । त्यस्तै सङ्कारा प्यालेस्टिनी मुक्तिका पनि समर्थक थिए । छिमेकी घानाको जेरी रलिङस (Gerry Rowlings) को सरकार र बुर्किना फासोको मित्रवत् र संयुक्त सैनिक गतिविधि पनि हुन्थ्यो । तर, पश्चिम अफ्रिकाका अन्य देशहरूसँग भने सम्बन्ध चिसो थियो । बुर्किना फासोप्रति तिनीहरू शत्रु थिए । सन् १९८५ को क्रिसमसको दिन सीमा विवादलाई लिएर छिमेकी देश मालीले बुर्किना फासोमाथि आक्रमण गर्यो ।
अफ्रिकाको शोषण गर्नमा तल्लीन युरोप र उत्तर अमेरिकी देशहरूबाट ‘क्रान्तिकारी राष्ट्रिय परिषद्’ ले केही आशा गरेको थिएन । सङ्काराले प्रस्टरूपले साम्राज्यवादी देशहरूले दिने सहायतालाई अस्वीकार गरे । उनले उठ्दो स्थानीय अर्थतन्त्रलाई ध्वस्त पार्ने ऋण र परनिर्भर हुने संस्कृतिको विकास हुनेबारे प्रस्ट पारे ।
उनले भने, “बुर्किना फासो आफ्नो देशका जनतालाई खुवाउन सक्षम छ, खालि आफ्नै घरलाई व्यवस्थित गर्नु आवश्यक छ । क्युवाजस्ता मैत्रीपूर्ण देशहरूबाट आउने प्राविधिक र सामाजिक सहयोग राम्रो विषय हो । राष्ट्रिय क्रान्तिकारी परिषद् साम्राज्यवादीहरूको कुनै पनि सहयोग नराम्रो उद्देश्यबिना हुँदैन भन्नेबारे सधँै सचेत छ ।”
फ्रान्सका राजनीतिज्ञहरूले सङ्कारालाई सधैँ फ्रान्सबाट पाएको सहयोगको निम्ति पश्चिमी अफ्रिकीहरू आभारी हुनुपर्छ भन्थे । बुर्किनावे नेता सङ्काराले उत्तर दिए, “पेरिसका सडकहरू र त्यहाँका भूमिगत रेलमार्गहरू सफा राख्ने अफ्रिकीहरूप्रति फ्रान्सेलीहरू कृतज्ञ हुनुपर्छ ।”
क्रान्ति कहाँनेर चुक्यो ?
बुर्किनाबे क्रान्ति यसरी सफल भएको थियो भने विराम कहाँनेर भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । क्रान्तिको चौथो राष्ट्रिय दिवसमा सङ्काराले ठीक राजनीतिक व्यवस्था स्थापना गर्न समय चाहिने कुरा स्वीकारे । क्रान्तिकारी सुरक्षा समितिहरूले राम्रै काम गर्दै थिए । ती समितिहरू राजनीतिक पार्टीका सङ्गठन थिएनन् । राजनीतिक शिक्षाको स्तर तल थियो ।
सङ्काराले हरेक समिति र कार्यकर्तामा क्रान्तिकारी उत्साह थप्दै माक्र्सवादी–लेनिनवादी पार्टीमा राम्रोसँग शिक्षित गर्न समयको उपयोग गर्दै थिए । तर, परिणामको कुनै वास्ता नगरी केही अतिवादी वामपन्थीहरू बुर्किना फासोको क्रान्तिभन्दा अगाडिका पुराना स्वार्थी र बाँकी– बक्यौताहरूलाई तुरुन्तै फाल्न चाहन्थे । त्यस्ता व्यक्तिलाई केहीले ‘माओवादी’ भन्ने कल्गी लगाउँथे । तिनीहरू वास्तवमा त्रोत्स्कीवादी वा अराजकतावादीहरू थिए । तिनीहरू हरेकलाई र हरेक विषयलाई निन्दा गर्थे र तुरुन्तै समाधानको माग गर्थे । अराजकतावादीहरू जनता सचेत र सङ्गठित नहुँदै क्रान्ति गर्न चाहन्थे । जनतालाई तिनको इच्छाको वास्ता नगरी जबरजस्ती क्रान्तिमा होम्न चाहन्थे ।
ती अतिवादी–वामपन्थीहरूले सामन्त, जमिनदार र पुराना शासक परिवारहरूसँग साँठगाँठ गरे । पहिलेकै दिन फर्काउन चाहने र भ्रष्टाचार गर्न पल्केका सरकारी कर्मचारीहरूको तारिफमा तिनीहरू फसे । त्यो साँठगाँठमा छिमेकी नवउपनिवेशवादी नेताहरू सरिक थिए । खास गरेर आत्री कोस्टका होफौट–बोइगी (Houphouet Boigny) सामेल थिए । तिनीहरू बुर्किनाबे क्रान्ति निर्यात होला भनी डराउँथे र फ्रान्सको मितेराँ सरकार पनि एउटै ड्याडका मुला थिए । निकारागुआ र क्युवासँग बढ्दै गएको सम्बन्धले पनि बुर्किना फासो संरा अमेरिकाको आँखाको धुलो भयो ।
सन् १९८० तिर बुर्किना फासोमा विमानस्थलबाट राजधानी लाने राम्रा कारहरू थिएनन् । त्यहाँका शिक्षा मन्त्रीको तलब एक शिक्षकको तलब बराबर थियो । संयुक्त राष्ट्रसङ्घमा बुर्किनाबे कूटनीतिज्ञहरूले पैसा बचाउन अरुसँग सस्तो होटेलमा बस्थे ।
विकसित देशमा जस्तो राम्रा राम्रा पसल, होटेल र बैङ्कहरूको बन्दोबस्त थिएन । तैपनि, त्यसले भविष्यप्रतिको विश्वास र आशाको किरण आफ्नो एकता, शक्ति र प्रतिष्ठालाई बचाएको थियो ।
सङ्काराको प्रस्टता र हरेक कुरामा देखाएको पारदर्शिता र इमानदारीले पनि उनको पतनमा योगदान गर्यो । उनको सरल जीवनशैलीबाट खुसी भएका सैनिक साथीहरूबाहेक केही व्यक्तिगत बलिदान गर्न नचाहनेहरू उनीमाथि इष्र्यावश बदला लिने टुङ्गोमा पुगे । सङ्कारा कहिलेकाहीँ उनकै मूल्य र मान्यतामा हिँडेको सजिलै स्वीकार्थे । सुरुका वर्षमा प्रतिक्रान्तिकारी अडान लिँदा खोसिएका केही शिक्षकहरूलाई सङ्काराले पुनः नियुक्ति गरे । राम्रै उद्देश्यका लागि उनी शिक्षकहरूसँग बदला लिन चाहन्नथे । तर, ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ का उनका विरोधीहरूले त्यस निर्णयको विरोध गरी उनलाई आक्रमण गर्ने निहुँ बनाए ।
१९८७ अक्टोबर १५ को दिन ब्लेज काम्पारेको नेतृत्वमा सङ्कारा र १२ जना साथीहरूलाई गोली हानेर मारियो । काम्पारेले तत्काल सत्ता कब्जा गरे । उनले ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ लाई विघटन गरे । रक्षात्मक सङ्घर्ष केही दिन चल्यो । तर, क्रान्तिको हार भयो । त्यसैबेलादेखि कम्पारे सत्तामा रहे । उनले २७ वर्ष बुर्किना फासोमा शासन गरे ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा