गिनी अफ्रिका महादेशको पश्चिम–दक्षिण किनारामा पर्ने फ्रान्सेली उपनिवेश थियो । गिनीको पूर्वमा आत्री कोस्ट र माली, दक्षिणमा लाइबेरिया, पश्चिममा सियरा लियन र आन्ध्र महासागर तथा उत्तरमा माली गणतन्त्र, सेनेगल र गिनिबिसाउ छन् । सन् १९५० मा यसले फ्रान्सबाट स्वतन्त्रता पायो । यसको क्षेत्रफल ९५ हजार वर्ग माइल छ । जनसङ्ख्या १ करोड ३६ लाख २२ हजार छ ।
पहाड र वनजङ्गलले ढाकेको यस देशका मुख्यमुख्य नदीहरू नाइबा, बाटिङ्गा र कोबिम्या हुन् । धान यहाँको मुख्य बाली हो । रबर, नरिवलको तेल, केरा, कपास आदि यहाँको वनस्पति र उत्पादन हुन् । गिनीमा फलाम, सुन, हिरा र वाक्साइट आदि खनिज छन् ।
यस देशको राजधानी कोनाक्री हो । यो सुन्दर सहर र राम्रो बन्दरगाह मानिन्छ ।
अहमद शेकु तुरे (Ahamad Sheku Turey) गिनीका पहिलो राष्ट्रपति हुन् । उनी फ्रान्सेली उपनिवेश गिनीका राजनीतिक नेता र अफ्रिकाका राजनेता थिए । उनको जन्म १९२२ जनवरी ९ मा भएको थियो । उनी सुरुमै गिनीका राष्ट्रवादीहरू र फ्रान्सेली उपनिवेशबाट स्वतन्त्रताको निम्ति सङ्घर्षमा होमिएका थिए ।
शेकु तुरे सम्भ्रान्त परिवारमा जन्मेका थिए । उनी सन् १९३६ मा राजधानी कोनाक्रीकै प्राविधिक महाविद्यालयमा भर्ना भएका थिए । १४–१५ वर्षकै उमेरमा उनले खानाको गुणस्तर नभएको भनी हडताल गरेका थिए । मजदुर सङ्घमा संलग्न भएकोमा उनलाई कलेजले एक वर्षको निम्ति निलम्बन गर्यो । १५ वर्षको उमेरमा उनले कार्ल माक्र्स र लेनिनका रचनाहरू अध्ययन गरेका थिए । सन् १९४० मा हुलाक र टेलिफोन कार्यालयमा परीक्षा दिएर त्यस परीक्षामा सफलता पाएकै कारण उनी टेलिफोन कार्यालयको सेवामा नियुक्त भए । राजधानीको त्यही सञ्चारमाध्यमबाटै उनले साम्यवादी समूहको कब्जा रहेको मजदुर सङ्घको फ्रान्सेली श्रमिक महासङ्घसँग सम्पर्क राखे । सन् १९४१ मा उनी १९ वर्षका थिए ।
सन् १९४५ मा उनी हुलाक, टेलिफोन र टेलिकम सेवाको फ्रान्सेली सञ्चार मजदुर सङ्घमा सक्रिय भए । सन् १९४६ मा उनी त्यसका महासचिव भए । त्यसै साल उनी पश्चिम र मध्य अफ्रिकामा रहेका फ्रान्सेली राजनीतिक दलहरूको ‘अफ्रिकी प्रजातान्त्रिक भेला’ नामको राजनीतिक दलको संस्थापकको रूपमा निर्वाचित भए । त्यसबेला उनी २४ वर्षका थिए ।
शेकु तुरे का. चे ग्वेभारासँग
सन् १९४८ अर्थात् २६ वर्षको उमेरमा उनी ‘फ्रान्सेली पश्चिम अफ्रिकाको क्षेत्रीय महासङ्घ’ को महासचिवमा चुनिए । त्यसैताका फ्रान्सेलीहरूको पश्चिमी अफ्रिकी उपनिवेशहरूको उपनिवेशवादविरोधी गतिविधि ‘गिनीको प्रजातान्त्रिक दल’ बाट सुरु भयो । त्यस आन्दोलनलाई मजदुर सङ्घसँग मोर्चा बनाइयो । त्यस मोर्चाको महासचिवमा पनि शेकु तुरे नै चुनिए ।
पश्चिमी अफ्रिकाका सम्पूर्ण मजदुरहरूको ‘फ्रान्सेली नयाँ समुद्रपारिका मजदुरहरूको ऐन’ लागु गर्न नदिन ७१ दिनको मजदुर हडताल र आन्दोलन सफल भयो । त्यस सफलताबाट सन् १९५७ मा फ्रान्सेली कम्युनिस्ट पार्टीको ‘मजदुर महासङ्घ’ को तीन सदस्यीय सचिव मण्डलमा शेकु तुरे पनि एक सदस्य चुनिए । त्यसबेला उनी ३५ वर्षका परिपक्व आन्दोलनकारी नेतामा गनिए । त्यस महासङ्घका सचिव मण्डलका सचिव आत्री कोस्टका राष्ट्रपति भए । शेकु तुरे ‘फ्रान्सेली राष्ट्रिय सभा’ को गिनीका प्रतिनिधि र कोनाक्रीका मेयर चुनिए । त्यसै दबुलीबाट उनले फ्रान्सेली औपनिवेशिक सत्ताको आलोचना गर्ने अवसर पाए । त्यसैबेला फ्रान्सेली अफ्रिकी उपनिवेशहरूको स्वाधीनताको निम्ति वार्ता गर्न उनले फ्रान्समा अफ्रिकी समूहको प्रतिनिधिको रूपमा सेवा गरे ।
सन् १८५८ मा फ्रान्समा नयाँ संविधानको लागि जनमतसङ्ग्रह घोषणा भयो । त्यस संविधानअनुसार फ्रान्सेली उपनिवेशवादीहरूले फ्रान्सकै मातहतमा स्वायत्त गणतन्त्र शासन पाउने अर्धसङ्घीय फ्रान्सेली समुदायको अधिकार पाउने र त्यस संविधानको पक्षमा मतदान नगरेमा ती देशले स्वाधीनताको पक्षको मानिने भयो । फ्रान्सका राष्ट्रपति चाल्र्स दे गालले प्रस्ट भाषामा भने, “स्वाधीनताको पक्ष लिने देशहरूले फ्रान्सबाट कुनै आर्थिक र वित्तीय सहयोग पाउने छैनन् र फ्रान्सेली प्राविधिक र प्रशासनिक अधिकारीहरू त्यही रहनेछन् ।”
शेकु तुरे चिनियाँ प्रधानमन्त्री चाउ एन लाइसँग
गिनी स्वतन्त्रताको बाटोमा
फ्रान्सेली सङ्घको जनमतसङ्ग्रहमा गिनीका सारा जनताले फ्रान्सेली अर्ध–सङ्घीय फ्रान्सेली समुदायको वा नयाँ स्वायत्त गणतन्त्रको विपक्षमा मतदान गरे ।
यसरी शेकु तुरेको मजदुर सङ्घको सङ्गठनात्मक बलको आधारमा १९५८ अक्टोबर २ मा गिनीले स्वतन्त्रता प्राप्त गर्यो तथा शेकु तुरे नै राष्ट्रपति भए । दुई वर्षपछि अर्थात् १९६० मा मात्रै पूर्ण स्वतन्त्रता प्राप्त गर्ने भयो ।
फ्रान्सेलीहरूले गिनीको राजधानी कोनाक्री छोड्नुभन्दा पहिले तिनीहरूले दुई महिनाभित्र प्रयोग गरेका बिजुली बत्तीका चिम र बत्ती निभाउने स्वीच तथा ढलको उपचार पोखरीका सबै पूर्वाधार ध्वस्त पारे । भएका औषधिहरूसमेत गिनीका जनतालाई दिनुभन्दा आगोमा जलाएर गए । उपनिवेशका जनताप्रतिको त्यो घृणित र आपराधिक कार्य थियो ।
शेकु तुरे चिनियाँ अध्यक्ष माओसँग
गिनीको प्रजातान्त्रिक पार्टी र राष्ट्रियकरण
उपनिवेशवादी र तिनीहरूका आउरेबाउरेहरूले गिनीमा अशान्ति मच्चाउने सम्भावना भएको हुँदा ‘गिनी प्रजातान्त्रिक दल’ मात्रै त्यहाँको कानुनी राजनीतिक दल बनाइयो । सन् १९६१ मा भएको ७ वर्षीय कार्यकालको निर्वाचनमा शेकु तुरे नै पहिलो निर्वाचित राष्ट्रपति भए । आफ्नो कार्यकालमा उनले सबै विदेशी कम्पनीहरूलाई राष्ट्रियकरण गरे तथा केन्द्रीकृत आर्थिक योजनाको बन्दोबस्त गरी आफ्नो देशमा समाजवादको आधार तयार गरे ।
फ्रान्सेलीहरूको सल्लाहअनुसार उनले त्यहाँका जग्गा जमिन पुरानै जमिनदारहरूलाई दिन अस्वीकार गरे । उनले भने, “धनीहरूको दासतामा जनता बाँच्नुभन्दा गिनीका जनता स्वतन्त्रताको गरिबीमा बाँच्न मन पराउँछन् ।” सन् १९६१ मा उनले ‘लेनिन पुरस्कार’ पाए ।
स्वतन्त्रताविरोधी र पुराना अत्याचारीहरूलाई पक्राउ गर्दा र सजाय दिँदा शेकु तुरे शासनलाई पश्चिमी प्रजातन्त्रका समर्थक मानव अधिकारवादी संस्था र एम्नेस्टी इन्टरनेसनलजस्ता संस्थाहरूले अत्याचारी र तानाशाहीको संज्ञा दिए । त्यसै विषयलाई लिएर पूर्वउपनिवेशवादी फ्रान्सेली सरकारसँग गिनीको तीतो सम्बन्ध रह्यो ।
पश्चिमी देशहरूसँग राम्रो सम्बन्ध राख्नुभन्दा उता शेकु तुरेले सन् १९६१ मै टिटोको युगोस्लाभिया भ्रमण गर्नु तथा लेनिन पुरस्कार लिनुले उनले समाजवादी खेमातिर झुकाव राख्ने प्रस्ट भयो ।
भर्खरभर्खर उपनिवेशवादी व्यवस्थाबाट स्वतन्त्रता र मुक्ति पाएका अफ्रिकी राज्यहरू दुई भागमा विभाजित थिए । एक, उपनिवेशवाद र साम्राज्यवादविरोधी पक्ष र अर्को, उपनिवेशवादकै सिलसिला अँगाल्ने प्रतिगामी र सैनिक शासकहरू । फ्रान्स र अन्य उपनिवेशवादका पक्षपाती अफ्रिकी सरकारहरूले गिनीको शेकु तुरे सरकारलाई असफल पार्न लाखौँ जनतालाई गिनी छोडी छिमेकी देशहरूमा भगाए । तर, उपनिवेशवादविरोधी र सारा अफ्रिकालाई एक गर्न चाहने मुलुक, दल र व्यक्तिहरूले शेकु तुरेको उपनिवेशवादविरोधी अडानको पक्ष लिए । भियतनाम र चीनको भ्रमणमा गएका घानाका राष्ट्रपति एन्क्रुमालाई २३ फेब्रुअरी १९६६ को दिन सैनिक विद्रोहद्वारा अपदस्थ गर्दा उनले एन्क्रुमाको पक्ष लिए । प्रतिक्रियावादी विद्रोहले घानामा ठुलो राजनीतिक सङ्कट देखियो । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) द्वारा ठुलो दमनचक्र चलाएर घानामा प्रतिक्रान्तिकारीहरूले सत्ता कब्जा गरे ।
१९६६ मार्च २ मा शेकु तुरेले एन्क्रुमालाई आफ्नै देशको ‘सह राष्ट्रपति’ को रूपमा गिनीमा स्वागत गर्दा अफ्रिकामा सम्पूर्ण उपनिवेशवादविरोधी शक्तिहरूले गिनी र शेकु तुरेप्रति समर्थन र प्रशंसा गरे । गिनी अफ्रिकी स्वतन्त्रता आन्दोलनको शरणस्थल बन्यो । एन्क्रुमासँग मिलेर उनले अफ्रिकाको समाजवादी आन्दोलनको निम्ति सैद्धान्तिक आधार तयार गरे र अफ्रिकाका विभिन्न देशका गुरिल्ला सङ्गठनहरूलाई सहयोग गर्दै गए ।
शेकु तुरे र उनकी श्रीमती
जटिल अन्तर्राष्ट्रिय कूटनीति
सन् १९६० को दशकमा सत्ताबाट फालिएका उपनिवेशवादीहरू पुनः सक्रिय हुन थाले । त्यस दशकमा अफ्रिका र ल्याटिन अमेरिकामा हरेक तीन महिनामा एउटा सैनिक विद्रोह भयो । केही देशभक्त र स्वतन्त्रताप्रेमी पक्षले आफ्नो देशको स्वाधीनता जोगाउन सकेको खण्डमा केही स्वतन्त्रताका पक्षपाती सरकारहरू उपनिवेशवादीहरूबाट पराजित हुन्थे, सत्तामा पुनः उपनिवेशवादीहरूका समर्थक प्रतिक्रियावादीहरूले सत्ता हत्याउँथे र कतैकतै सैनिक शासन अगाडि आउँथ्यो ।
अफ्रिकामा धेरै लोकप्रिय नेताहरू सत्ताच्युत भए र केहीको हत्या भयो । यसका केही उदाहरण हुन्, काङ्गोका प्रधानमन्त्री पेट्रिस लुमुम्बा र घानाका राष्ट्रपति एन्क्रुमा । पछि समाजवादी देशहरूको सैनिक सहयोगमा केही अफ्रिकी उपनिवेशहरू सशस्त्र सङ्घर्षबाट स्वतन्त्र भए ।
रूसी संशोधनवाद र पश्चिमी उपनिवेशवादीहरूसँग सङ्घर्ष
सन् १९६० को दशकमा संरा अमेरिका र सोभियत सङ्घसँग गिनीको राम्रो सम्बन्ध थियो । दुवै देशले सहयोग पनि गर्दै थिए । तर, संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (CIA) को सहयोगमा गिनीको एक प्रतिनिधिमण्डललाई घानामा बन्दी बनाउन लगाइयो । त्यसकारण, केनेडीको मृत्युसँगै अमेरिकासँग गिनीको सम्बन्ध तिक्त हुँदै गयो । शेकु तुरेको सरकारलाई अपदस्थ गर्न षड्यन्त्र गरेको आरोपमा सन् १९६६ मा गिनीले अमेरिकी शान्ति सेनालाई देश निकाला गर्यो ।
सन् १९६५ देखि १९७५ सम्ममा शेकु तुरेको सरकार र फ्रान्सेली उपनिवेशवादी सरकारबिच सम्बन्ध तोडियो । उपनिवेशनवादी र संशोधनवादीहरूको स्वरमा स्वर मिलेको देखियो । दुवै पक्ष गिनीको राष्ट्रियकरणको नीतिको विरोधमा देखिए ।
रुसी संशोधनवादीहरूको विश्वासघातले संसारको कम्युनिस्ट आन्दोलनमा ठुलो फाटो ल्याएको समय थियो । एकएक पाइला गरेर संरा अमेरिका र युरोपेली उपनिवेशवादीहरूसँग सोभियत रुस नजिकिँदै थियो । क्षेत्रफल र जनसङ्ख्यामा सानो, भर्खर स्वतन्त्र भएको र विकासशील अफ्रिकी देश गिनीले आर्थिक, प्राविधिक र कूटनैतिक क्षेत्रमा पनि नयाँ अनुभव बटुल्दै थियो । गिनी शक्तिशाली तथा ठुलठुला देशहरूसँगको अन्तर्राष्ट्रिय जटिल कूटनैतिक सङ्घर्षमा जुभदै गयो । केही समाजवादी देशहरूसँग गिनीको सम्बन्ध राम्रो हुँदै गएको थियो । जस्तै, चीनसँग पनि त्यसले सम्बन्ध राख्दै थियो ।
सन् १९६५ मा फ्रान्सले गिनीका शेकु तुरेको सत्ता पल्टाउन षड्यन्त्र गर्न खोजेको हुँदा कूटनैतिक सम्बन्धमा खलल पुगी सन् १९७५ सम्म नवीकरण भएन । सन् १९६६ मा शेकु तुरेसँग असन्तुष्ट फ्रान्सका समर्थकहरूले सेनेगल र आत्री कोस्टमा गिनीको विरोधमा एक राष्ट्रिय मुक्ति मोर्चा गठन गरेका थिए ।
पोर्चुगली गिनी वा गिनी बिसाउका ३५० जति पोर्चुगली अधिकारीहरूको नेतृत्वमा शेकु तुरे सरकारको विरोधमा उपनिवेशवाद समर्थक राष्ट्रिय मुक्ति मोर्चाका गुरिल्लाहरूको टोलीले सन् १९७० मा राजधानी कोनाक्रीमा बन्दी बनाइएका पोर्चुगलीहरूलाई छुटाउन र शेकु तुरेलाई पक्राउ गर्न असफल आक्रमण गरे ।
त्यस षड्यन्त्रलाई असफल पार्न ती विद्रोही र पोर्चुगली आक्रमणकारीहरूलाई दबाएको र केहीलाई ज्यान सजाय दिएको आरोप लगाइयो ।
सन् १९७० मा पोर्चुगली उपनिवेशवादी सेनाले गिनीको राजधानी कोनाक्रीमा पुनः हमला गरे । शेकु तुरेको सरकारलाई अपदस्थ गर्ने अमेरिकी केन्द्रीय गुप्तचर विभागको षड्यन्त्र असफल भयो । तर, केही बन्दीहरू भगाउन तिनीहरू सफल भए ।
एम्नेस्टी इन्टरनेसनले सन् १९६७–१९७३ सम्ममा गिनीमा ४ हजार राजनीतिक बन्दी रहेको र २९०० जनालाई बेपत्ता पारिएको आरोप लगायो । सन् १९७६ को मे महिनामा सीआइएले शेकु तुरेको हत्या गर्ने पुनः प्रयास गर्यो । ‘फुलानी षड्यन्त्र’ भनिएको त्यस घटनामा एक मन्त्री र एक सङ्गठनका प्रथम सचिव पक्राउ परेका थिए । उनी ७ महिनामा अर्थात् नोभेम्बर महिनामा जेलमै मरेको बताइएको थियो ।
सन् १९७७ मा सरकारको आर्थिक नीतिको विरोधमा भएको व्यापारीहरूको विद्रोहमा तीनजना अञ्चलाधीशहरू मारिए । धेरैजना पक्राउ परे र केही समयपछि शेकु तुरेले व्यापारीलाई आममाफी दिए । सयौँ राजनीतिक बन्दीहरू रिहा गरिए । त्यसबाट पश्चिमी शक्तिहरूले आर्थिक सहयात्राको नयाँ सम्बन्ध बढाए । खस्कँदो आर्थिक स्थितिमा सुधार गर्न गिनी सरकारले निजी लगानीलाई छुट दियो । सन् १९७८ मा सोभियत सङ्घसँगको सम्बन्धमा पनि तिक्तता देखियो । तर, त्यसबेला फ्रान्सेली राष्ट्रपति जिस्कार्द दे ताँले गिनीको भ्रमण गरेर सम्बन्ध सुधार्ने सङ्केत दिए ।
सन् १९७९ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निमन्त्रणामा शेकु तुरेले अमेरिकाको भ्रमण गरे ।
संयुक्त राष्ट्र सङ्घमा शेकु तुरे
शेकु तुरेको विदेश नीति
राष्ट्रपति शेकु तुरेको घरेलु नीति समाजवादउन्मुख थियो । बैङ्कहरूको राष्ट्रियकरण, ऊर्जा (विद्युत्, पेट्रोलियम आदि) र यातायातको राष्ट्रियकरण गर्ने थियो । फ्रान्सेली उपनिवेशवादीहरूसँग
मिलेका ठुलठुला जग्गाधनीहरूको जग्गालाई राष्ट्रियकरण गरेर किसानहरूलाई कमाउन दिइएको थियो ।
गिनीको परराष्ट्र नीति असंलग्न आन्दोलनसँग ऐक्यबद्ध थियो । देशको भौतिक र आर्थिक विकासमा माओ त्सेतुङ र जनगणतन्त्र चीनसँग घनिष्ठ सम्बन्ध जोड्दै थियो । आफ्नै खुट्टामा उभिने शेकु तुरेको अर्थनीति थियो । तर, अन्तर्राष्ट्रिय व्यापारमा उपनिवेशवादीहरू सङ्ख्यामा बढी भएको हुनाले र राष्ट्रिय पुँजीपतिवर्गको शक्ति कमजोर हुँदा गिनीलाई सजिलो थिएन ।
१९८२ मे ९ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको निमन्त्रणामा शेकु तुरे अमेरिकाको भ्रमणमा गए । गिनीको खनिज सम्पदा उत्खननको निम्ति ठुलो सम्भावना थियो । गिनीको आर्थिक विकासमा त्यो पश्चिमी लगानीलाई महत्व दिने सङ्केत थियो । त्यसबेला गिनीका जनताको सालाखाला प्रतिव्यक्ति वार्षिक आम्दानी १४० अमेरिकी डलर थियो र सन् २०२१ मा ३६५ अमेरिकी डलर पुग्यो ।
त्यसबेला गिनीका जनताको सरदर आयु ४१ वर्षको थियो । १० प्रतिशत जनता मात्रै साक्षर थिए । सन् १९८३ मा गिनीले आर्थिक उदारीकरण वा निजी लगानीलाई प्राथमिकता दिने र निजी व्यापारलाई अगाडि बढाउने नीति लियो ।
शेकु तुरे सरकारले समाजवादको नाममा सबै आर्थिक गतिविधि राष्ट्रियकरण गर्दा विकासोन्मुख अर्थतन्त्रले पखेटा हाल्न नसकेको अनुमान गरियो । त्यस स्थितिलाई पश्चिमी देशमा ‘गिनीमा माक्र्सवाद असफल भएको’ प्रचार गरियो । गिनीको आर्थिक विकासमा उपनिवेशवादीहरू र स्थानीय प्रतिगामीहरूको आर्थिक र राजनीतिक षड्यन्त्र भइरहेको थियो । त्यसबेला छिमेकी देशको पनि अर्थतन्त्र विकास भई नसकेको अवस्था थियो । त्यसैले गिनीको आर्थिक पूर्वाधारको यथोचित विकास भएको थिएन ।
राजनीतिक षड्यन्त्रको गन्ध
उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीले पश्चिमी शक्तिको सहयोगमा गिनीको स्वतन्त्रतालाई असफल पार्न र शेकु तुरेको शासनलाई समाप्त पार्न भित्र वा बाहिरबाट बरोबर सशस्त्र हमला र षड्यन्त्रहरू गरे । यसकारण, सन् १९८० मा राष्ट्रिय सभा वा संसद्मा एकल सूचीको बन्दोबस्त गरियो । १९८२ मे ९ को निर्वाचनमा शेकु तुरेलाई ७–७ वर्षको अवधिको ४ पटक निर्वाचित राष्ट्रपति घोषणा गरियो । अर्थात्, उनी २८ वर्षसम्म राष्ट्रपति भए । सन् १९८२ मा नयाँ संविधान घोषणा गरियो ।
सन् १९८४ मा साउदी अरेबियाको भ्रमणको क्रममा उनलाई मुटुको व्यथा लाग्यो र भोलिपल्ट त्यहीँबाट अमेरिका लगियो । अमेरिकाको किमल्यान्ड ओहिओको निजी अस्पतालमा शल्यक्रिया गरियो । १९८४ मार्च २६ मा शल्यक्रिया असफल भयो र उनी त्यहीं बिते । त्यसबेला उनी ६२ वर्षका थिए ।
शेकु तुरेलाई गिनीको राजधानी कोनाक्रीको विशाल फूलबारी मस्जिदमा समाधिस्थ गरियो ।
गिनीमा प्रतिगमन सुरु
३ अप्रिल १९८४ को दिन ४५ दिनमा नयाँ राष्ट्रपतिको निर्वाचन गराउने व्यवस्था भएको हुँदा एक हप्ताभित्र प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति बनाउने, शासक दल गिनी प्रजातान्त्रिक दलको राजनीतिक समितिले घोषणा गर्ने र त्यहाँको संविधानअनुसार छानिने कुनै पनि राष्ट्रपतिको कार्यकाल ७ वर्षको हुनुपर्ने थियो । नयाँ राष्ट्रपति घोषणा हुने बित्तिकै एक सैनिक विद्रोह गरी शेकु तुरेको शासनलाई ‘हिंसात्मक र क्रूर तानाशाही’ भनी निन्दा गर्दै संविधानलाई निस्क्रिय घोषणा गरियो । राष्ट्रिय सभालाई पनि विघटन गरियो र गिनी प्रजातान्त्रिक पार्टीमाथि प्रतिबन्ध लगाएको घोषणा गरियो ।
५ अप्रिलको दिन सैनिक विद्रोहको नेता कर्नेल लानसाना कोन्टे राष्ट्रपति भए र राष्ट्रिय पुनस्र्थापनाको सैनिक समितिले सरकारको नेतृत्वको घोषणा गर्यो । त्यस सैन्य समूहले पुराना उपनिवेशवादी राजनीतिक बन्दीहरू पुग नपुग १ हजार जनालाई छोड्यो । सन् १९८५ मा कोन्टे सैन्य गुटले शेकु तुरेका घनिष्ट साथीहरू, पूर्वकमान्डर र अन्य जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्यो र हत्या गर्यो ।
उपनिवेशवादीहरू र स्थानीय प्रतिगामीहरूले आफ्नो ‘स्वर्ग’ फिर्ता लिने अनेक षड्यन्त्र र विद्रोहहरू गरे तर केही लागेको थिएन । शेकु तुरेलाई अन्य साम्राज्यवादविरोधी नेताहरूलाई जस्तै प्रतिक्रियावादीहरूले विष प्रयोग गरी हत्या गरेका हुन् कि भन्ने शङ्का गर्ने धेरै ठाउँ छ । बरोबर उनको हत्याको षड्यन्त्र भएका थिए । उनीमाथिको आक्रमण आदिले शङ्का गर्ने ठाउँ धेरै छ ।
शेकु तुरेको शव यात्रा
शेकु तुरेको चिहानमाथि हमला
२०२० जुलाई १४ को दिन अज्ञात व्यक्तिले समाधि (चिहान) को तीन रङ्गको कात्रोमा आगो लगायो । चिहानमा रक्सी खन्याएकोमा गिनी प्रजातान्त्रिक दलका नातागोताले समाधिलाई अपवित्र पारेको बताए । भोलिपल्ट शेकु तुरेकी पत्नीले समाधिमा गएर दुःख प्रकट गरिन् र समाधिस्थललाई शेकु तुरे खानदानको सम्पत्ति बताइन् । उनले रेखदेख गर्ने पहरा राखेर चिहानलाई सुरक्षा गर्ने बताइन् ।
सोभियत सङ्घमा पुँजीवादीको पुनःस्थापना गरिए जस्तै गिनीमा समाजवादको निर्माणको जगलाई पनि साम्राज्यवादीहरूले भत्काए । तर, शेकु तुरेलाई अफ्रिकाका एक स्वतन्त्रता सङ्ग्रामी र समाजवादी योद्धाका रूपमा संसारभर स्मरण गरिन्छ ।
समाप्त
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा