लिबिया उत्तरी अफ्रिकी देश हो । यसको उत्तरमा भूमध्य सागर र दक्षिणमा नाइजेरिया र चाड पर्छन् । पूर्वमा इजिप्ट र दक्षिण पूर्वमा सुडान छन् । यसको पश्चिममा ट्युनिसिया र अल्जेरिया छन् । भनिन्छ, ग्रिसेलीहरूले यहाँ बसोबास सुरु गरेका थिए र ५०० वर्षअगाडि रोमनहरूले शासन गरेका थिए ।
लिबियाको क्षेत्रफल १० लाख ५१ हजार ५४० वर्ग किलोमिटर छ । यसको जनसङ्ख्या ६८ लाखभन्दा बढी छ । यसको राजधानी त्रिपोली हो । त्रिपोली भूमध्यसागरको किनारामा रहेको सुन्दर नगर र बन्दरगाह पनि हो । पहिले पूर्वपट्टि अर्को राजधानीको रूपमा बेङ्घाजी थियो र त्यो एक बन्दरगाह पनि थियो ।
यो मरुभूमिको देश हो र यसको ९३ प्रतिशत भूमि सुक्खा छ । अफ्रिकाका अन्य देशजस्तै पेट्रोलको कारण लिबिया समृद्ध पनि छ । मरुभूमिको कारण यसमा ठुलठुला नदीहरू छैनन् र कहीँकहीँ मरुद्यानहरू छन् । उत्तरी भाग भूमध्यसागरको किनारामा भएको हुनाले यसको हावापानी भूमध्य सागरीय र फलफूलको निम्ति उपयुक्त रहेको छ ।
सन् १९११ मा इटालीले लिबिया कब्जा गरेको थियो र सन् १९३८–१९३९ मा इटालीका तानाशाह मुसोलिनीले कब्जा गरेका थिए । ६ सेप्टेम्बर १९३१ मा इटालीका उपनिवेशवादीहरूले लिवियाका एक देशभक्त र राजनीतिक अग्रदूत ओमर मुख्तारलाई १६ सेप्टेम्बर १९३१ मा फाँसी दिएका थिए । उनी नै लिबियाका स्वतन्त्रता र मुक्तिका प्रतीक बने । लिबिया इटालियाली उपनिवेशबाट सन् १९५१ मा स्वतन्त्र भएको थियो ।
लिबियाको राजनीतिक महत्व कर्णेल गद्दाफीको शासनपछि अर्थात् १९६९ देखि सा¥है चर्चामा आएको थियो । सन् १९४२ मा एक घुमन्तु जातिको खेतीवाल परिवारमा भूमध्यसागरको किनाराको एक पालमा जन्म लिएका गद्दाफीले बेङ्घाजी विश्वविद्यालयमा भूगोल अध्ययन गरेका थिए । सेनामा जानको निम्ति उनले विश्वविद्यालयको अध्ययन बिचमै छोडे । सन् १९६५ मा उनले सैनिक एकेडेमीबाट स्नातक गरे । उनी त्यसबेला २३ वर्षका थिए । उनी सेनामा तेजिला विद्यार्थी थिए र सैनिक सेवामा उनी आफ्ना दौँतरी र अफिसरहरूबाट प्रशंसित थिए । सन् १९६९ मा उनी २७ वर्षका हुँदा कर्णेल पदमा पुगिसकेका थिए । उनले रक्तहीन सैनिक विद्रोहबाट सत्ता हातमा लिई त्यहाँका राजा इडिस (King Idris) लाई गद्दीच्युत गरेका थिए । गद्दाफी नयाँ शासनको सेनापति र क्रान्तिकारी परिषद्का अध्यक्ष बने । उनमा ओमर मुख्तारको गहिरो प्रभाव परेको थियो । यसकारण, गद्दाफीमा साम्राज्यवाद र उपनिवेशवादविरोधी भावना खचाखच भरिएको थियो । उनी इस्लामी धर्मको प्रचारको साथसाथै साम्राज्यवादविरोधी भावनामा सारा अरब देशहरूलाई एक गर्न चाहन्थे । उनी इजिप्टका राष्ट्रपति गमाल अब्दुल नासिरको अरब समाजवाद र राष्ट्रवादी भावनाबाट प्रभावित थिए । यसकारण, उनले लिबियालाई ‘जनताको राज्य’ र ‘महान् समाजवादी जनताको लिबिया’ नाम दिए ।
साम्राज्यवादी र उपनिवेशवादीहरूको दबाब र अरब विश्वको भावनाले ओतप्रोत भई उनले लिबिया, इजिप्ट र सिरियाको महासङ्घ बनाउने कल्पना गरे । सम्भवतः भावुकता र अनुभवको कमीले पनि उनले ट्युनिसियासँग महासङ्घ बनाउने प्रस्ताव अगाडि सारेका थिए । यस हिसाबले उनीसँग कूटनीतिक सहयोगीहरूको कमी देखिन्थ्यो ।
गद्दाफी सत्तामा आएपछि सन् १९७० मा संरा अमेरिका र बेलायतका सैनिक आधार शिविरहरू सबै फिर्ता पठाए । साथै, इटालियाली र यहुदीहरूलाई पनि देश निकाला गरे । त्यसबेला उनी २८ वर्षका मात्र थिए ।
सन् १९७३ मा लिबियाको क्रान्तिकारी सरकारले विदेशीहरूको सबै पेट्रोल खानी र सम्पत्ति राष्ट्रियकरण गर्यो ।
इस्लाम धर्मअनुसार उनले रक्सी र जुवातासलाई पनि प्रतिबन्ध लगाए । साथसाथै, सन् १९७४ मा उनले इस्लामिक समाजवादको घोषणा गरे । त्यसबेला उनी ३२ वर्षका थिए ।
अमेरिकी साम्राज्यवाद र नाटोका उपनिवेशवादीहरू भित्रभित्र षड्यन्त्र गर्दै थिए । सन् १९७८ मा इजिप्ट र इजरायलको बिचमा सम्बन्ध सुधार गरी अरब देशहरूलाई आपसमा लडाउन अमेरिकाले ‘क्याम्प डेभिड सम्झौता’ गरायो ।
सन् १९८१ मा इटालीका प्रधानमन्त्री सिल्भिओ बार्लुस्कोनी (Silvio Berlusconi) सँग इटालीमा भेट गर्दा गद्दाफीले आफ्नो छातीको एकातिर इटालियाली उपनिवेशवादीहरूले हत्या गरेका लिबियाली देशभक्तिका प्रतीक ओमर मुख्तारको सानो तस्बिर झुन्ड्याएका थिए । त्यो एक प्रकारको प्रदर्शन थियो । त्यसबेला उनी ३९ वर्षका थिए ।
भनिन्छ, लिबियाले अमेरिकाविरोधी अनेक देशका उग्रवादी समूहहरूलाई सहयोग गरी उपद्रव गराउँदै गयो । त्यसको बदला लिन सन् १९८६ मा राजधानी त्रिपोली र बेङ्घाजीमा संरा अमेरिकाले बमकाण्ड गराएको थियो । त्यसमा परेर गद्दाफीकी छोरीसहित ३५ जना लिबियाली मारिएका थिए ।
त्यसको बदला लिन सन् १९८८ मा स्कटल्यान्डको एक सहर लोकरबीमा ‘पान अमेरिकी १०३ हवाईजहाज’ दुर्घटना गराउनुमा लिबियाको हात छ भन्ने आरोप पश्चिमी देशहरूले लगाए । त्यसमा दुईजना लिबियाली सुरक्षा अधिकारीहरूको हात रहेको आरोप थियो । तिनीहरूविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी पनि जारी गर्यो ।
सन् २००९ मा अफ्रिकी देशहरूको सङ्घमा गद्दाफी अध्यक्ष निर्वाचित भए । त्यसबेला उनी ६७ वर्ष थिए ।
त्यहीँ साल गद्दाफी संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगे । आफ्नो भाषणमा उनले संयुक्त राष्ट्र सङ्घका केही बेमेलबारे आलोचना गरे । त्यसबारे पश्चिमी प्रचारयन्त्रहरूले १५ मिनेट समय दिएकोमा उनले घण्टौँ बोले । संयुक्त राष्ट्रसङ्घकै बडापत्रको कापी च्यातच्युत पारेर फाले भन्ने प्रचार गरिएको थियो ।
महासभामा एक राष्ट्रको राष्ट्राध्यक्षको रूपमा उनले ‘संयुक्त राष्ट्र सङ्घको मुख्यालय सधैँ एउटै देशमा हुनुपर्छ भन्ने होइन, अब यसको मुख्यालय अन्य महादेशमा हुनु राम्रो हुने’ मा जोड दिएका थिए । यो विषय संरा अमेरिकाको निम्ति सह्य भएन होला ! त्यसकारण, अमेरिकाले उनीमाथि कुदृष्टि राख्यो ।
संरा अमेरिका र नाटोको विरोध सुरू
अमेरिकी साम्राज्यवाद र नाटो उपनिवेशवादीहरूले कुनै देश र व्यक्तिमाथि हमला गर्ने र हत्या गर्ने योजना बनाउँदा पहिले छिमेकी देशहरूलाई नै प्रयोग गर्दै आएका छन् । कोरिया र भियतनाममाथि हमला गर्दा पनि तिनीहरूले फिलिपिन्स, जापान, मलेसिया, इन्डोनेसियाका प्रतिक्रियावादी सरकारहरूलाई प्रयोग गर्ने गरेको जगजाहेर छ । इराकमाथि हमला गर्न अन्य छिमेकीहरूसँग झगडा लगाए र आपसमा झगडा हुँदा तिनीहरूले हस्तक्षेप गरे । इराकमा हमला गर्न कुवेतमाथि हमला गर्ने स्थिति निर्माण गरे र पछि सद्दाम हुसेनको हत्या गरे । त्यस्तै, ट्युनिसिया, इजिप्ट र अन्य केही छिमेकी देशहरूमा लिबियाविरोधी तथा गद्दाफीका विरोधीहरूलाई शासन गर्न दिए । भनिन्छ, ट्युनिसियाका राष्ट्रपति बेन अली र इजिप्टका राष्ट्रपति होस्नी मुबारकको प्रत्यक्ष सहयोग लिएर गद्दाफीविरोधी गतिविधि सुरु गरिएको थियो । इराकका राष्ट्रपति सद्दाम हुसेनले अमेरिकी डलरभन्दा युरो डलर लिएर व्यापार गर्ने बताएपछि उनीमाथि अमेरिकाले दागा गरेको थियो ।
अमेरिकाले सुरुमा विभिन्न सहर र जिल्लाहरूमा गद्दाफीविरोधी जुलुस प्रदर्शनहरू गरायो । विदेशीहरूको सहयोग र विदेशीहरू सामेल भएका प्रदर्शनहरूलाई छुट दिने कुरै भएन । त्यसको विरोधमा अन्तर्राष्ट्रिय मानव अधिकार समूह र अन्य विदेशीहरूले वक्तव्य दिएर आगोमा घ्यू हाले । त्यसपछि लिबियाका न्यायमन्त्री र कूटनीतिज्ञहरूले आफ्नो सरकारको विरोधमा राजीनामा दिएर साम्राज्यवादीहरूको पक्ष लिए ।
२०११ फेब्रुअरी २२ को दिन गद्दाफीले देशका विभिन्न भागमा सरकारको समर्थनमा प्रदर्शनहरू गर्न र गराउन टीभी, रेडियो र समाचारपत्रहरूमार्फत विदेशी हस्तक्षेप एवम् भाडाका विदेशीहरूको निन्दा गर्दै जवाफ दिँदै गए । तर, सरकारविरोधी सङ्घर्ष चालु रह्यो । २६ फेब्रुअरी २०११ को दिन संरा अमेरिकाको हालीमुहाली चलेको संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले लिबियाको सरकारका प्रतिनिधिहरूको यात्रा तथा हातहतियार ओसारप्रसारमा प्रतिबन्धको घोषणा गर्यो । सुरक्षा परिषद्ले गद्दाफीको सम्पत्तिलाई रोक्का गर्ने पनि घोषणा गर्यो ।
फेब्रुअरी २८ को दिन संरा अमेरिकाले गद्दाफीको सरकारसँग सम्बन्धित लिबिया सरकारको ३० अर्ब डलर रोक्का गर्यो । २८ फेब्रुअरी २०११ सम्म गद्दाफीले आफूलाई जनताको समर्थन भएको दाबी गरे जुन स्वाभाविक थियो ।
अमेरिकी सरकारको अगुवाइमा राष्ट्रसङ्घको सुरक्षा परिषद्ले २०११ मार्च १७ को दिन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) मार्फत लिबियाको गद्दाफीसमर्थक सेनाको विरोधमा कारबाही गर्ने घोषणा गर्यो । गद्दाफीले आफ्नो सुरक्षाको गतिविधि चालु राखे ।
२०११ अप्रिल ३० को दिन नाटो सेनाले राजधानी त्रिपोलीमा हवाई हमला गर्यो र गद्दाफीको कान्छो छोरा मारिए । साथमा उनका तीन नातिहरू पनि मरे । तर, एकैबाजि गद्दाफीलाई हत्या गरिएन । मे १६ को दिन गद्दाफी र उनका छोरा रौफ अल इस्लामविरुद्ध पक्राउ पुर्जी जारी गरियो । जून २७ को दिन सुरक्षा प्रमुख अब्दुल सेन्युसीविरुद्ध पक्राउ पुर्जी जारी गरियो ।
सन् २०११ अगस्ट २० को दिन विदेशी र विद्रोही हतियारधारीहरू त्रिपोलीमा पसे र लुटपाट मच्चाए । २३ अगस्टको दिन गद्दाफीलाई पक्राउ गर्नेलाई १७ लाख डलरको इनामको घोषणा नाटो पक्षले गर्यो । २०११ अक्टोबर २० को दिन गद्दाफीलाई हुलले पक्राउ गरेको दृश्य संसारले टीभीमा देख्यो । तर, हुलहुज्जत गर्नेहरू लिबियाली नभएको र अमेरिकी केन्द्रीय गुप्तचर विभागले विदेशीहरूलाई ल्याएको चर्चा व्यापक थियो । यसरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई बारम्बार संरा अमेरिका र नाटोले प्रयोग गर्दै चलाइएका आक्रमण र हत्याका निम्ति निश्चय पनि मानवता र सभ्यताको मर्यादा राखेको भन्न मिल्दैन ।
देशभक्त कर्णेल गद्दाफीको व्यक्तित्व
पश्चिमी प्रचारले गद्दाफीलाई लहडमा काम गर्ने र कडा मिजासका व्यक्तिको रूपमा चित्रण गर्यो । तर, उनको समाजवाद पेट्रोलमा विदेशीहरूको कब्जा र निजीकरणको विरुद्ध थियो । यस अर्थमा उनी देशभक्त हुन् । इस्लामप्रति उनको आस्थाबारे भन्नुपर्दा हरेक मुसलमानको भावना त्यस्तै हो । यसकारण, रक्सीप्रति उनको शासनले लिएको कडाइ र जुवातासमा गरेको निषेधले उनलाई एक समाज सुधारकको रूपमा लिइन्छ । साम्राज्यवाद र उपनिवेशवादप्रतिको उनको विरोध र घृणा प्रस्ट छ । यो गुण स्वयम् देशभक्ति र राष्ट्रिय भावनाको विषय हो ।
ठुलो क्षेत्रफल र ७८ लाखको जनसङ्ख्या रहेको लिबियामा पेट्रोल प्रचुर मात्रामा थियो । हरेक बिरामीले विदेश गएर कुनै पनि देशमा उपचार गर्न सरकारले सहयोग गर्ने, विदेशमा गई विद्यावारिधिसम्म गर्न विद्यार्थीलाई सरकारको सहयोग तथा नवविवाहित दम्पत्तिलाई घरको बन्दोबस्त गर्ने नीति आफैमा लोककल्याणकारी नीति थियो ।
अफ्रिकी सरकारहरूबिच बलियो एकताको अभावको कारण पेट्रिस लुमुम्बा, एन्कुमा र शेकु तुरेजस्ता देशभक्त र अफ्रिकी समाजवादी चिन्तकहरूको योगदानले पूर्णता नपाएकोमा विमति राख्नुपर्ने छैन ।
छोरीको मृत्युको बदला लिन गद्दाफीले लोकरबी हवाईकाण्ड गराएको भन्ने आरोप उनीमाथि लाग्ने गर्छ । तर, त्यस घटनाले कर्णेल गद्दाफीको देशभक्तिको भावनामा कुनै कमी आएको देखिन्न र उनी साम्राज्यवाद र उपनिवेशवादविरोधी लिबियाका एक देशभक्त नै थिए ।
गद्दाफीको शासनमा लिबियाली जनताले पाएका सुविधाहरू :
१. लिबियामा विद्युत् महसुलको बिल काटिन्नथ्यो, सबै नागरिकलाई विद्युत् निःशुल्क थियो ।
२. लिबियाका बैङ्कहरू राज्यको स्वामित्वमा थियो र कानुनअनुसार सबै नागरिकलाई शून्य (०) प्रतिशत ब्याजमा ऋण दिइन्थ्यो ।
३. लिबियामा आवासको बन्दोबस्तलाई मानव अधिकारको रूपमा लिइन्थ्यो । गद्दाफीले लिबियामा सबैले घर नपाउञ्जेल आफ्ना आमाबुबाले घर नपाउने बताएका थिए । गद्दाफी, उनकी श्रीमती र आमा पालमा बस्नु परेको समयमा पिताको निधन भएको थियो ।
४. लिबियामा सबै नवविवाहिताले आफ्नो परिवार बसाउन नयाँ घर किन्नको लागि सरकारबाट ६० हजार डिनार (५० हजार अमेरिकी डलर) पाउँथे ।
५. लिबियामा शिक्षा र स्वास्थ्य उपचार निःशुल्क थियो । गद्दाफीको सरकार बन्नुअघि २५ प्रतिशत लिबियालीहरू मात्र शिक्षित थिए भने सन् २०११ मा ८३ प्रतिशत लिबियाली जनता शिक्षित थिए ।
६. कृषि पेसामा लाग्न चाहेका लिबियालीहरूले जग्गा, कृषि गृह, कृषि सामग्री, बीउ र पशुपन्छी निःशुल्क पाउँथे ।
७. लिबियालीहरूले आफ्नो देशभित्र आवश्यक शिक्षा वा स्वास्थ्य सुविधा पाउन नसकेको अवस्थामा उनीहरू सरकारी खर्चमा विदेश जान सक्थे । सरकारले उनीहरूलाई प्रत्येक महिना २ हजार ३ सय दिनार आवास र यातायात खर्च दिइन्थ्यो ।
८. लिबियामा कार किन्ने लिबियालीलाई सरकारले परल मूल्यको ५० प्रतिशत अनुदान दिइन्थ्यो ।
९. लिबियामा पेट्रोल प्रतिलिटर ०.१४ विनारमात्र पथ्र्यो ।
१०. लिबियाको विदेशी ऋण थिएन र यसको सञ्चय १ खर्ब ५० अर्ब दिनार थियो । अहिले यो सञ्चयलाई अमेरिकाले रोक्का गरेको छ । गद्दाफीको हत्यापछि यो सञ्चय फुकुवा गरिँदै छ ।
११. स्नातक तह उत्तीर्ण गरेका कुनै लिबियालीले रोजगार नपाए सरकारबाट औसत तलब बराबर भत्ता पाउने गर्थे ।
१२. लिबियाको तेल बिक्रीको एक अंश सबै लिबियाली जनताको बैङ्क खातामा सिधै जम्मा हुन्थ्यो ।
१३. प्रत्येक सुत्केरी आमाले ५ हजार अमेरिकी डलर भत्ता पाउँथे ।
१४. लिबियामा ४० वटा पाउरोटीको ०.१५ दिनारमात्र पथ्र्याे ।
१५. लिबियाका २५ प्रतिशत मानिस विश्वविद्यालयबाट दीक्षित थिए ।
१६. गद्दाफीले विशाल मानवनिर्मित नदी परियोजना भनी चिनिने संसारकै सबभन्दा ठुलो सिँचाइ परियोजना बनाएका थिए । यो परियोजनाले त्यहाँको मरुभूमिभरि पानी उपलब्ध गराउन सक्थ्यो ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा