गणतन्त्रको घोषणा
१ जुलाई १९६० मा राष्ट्रपति एन्क्रुमाले स्वाधीन गणतन्त्रको घोषणा समारोह आयोजना गरे । त्यस समारोहमा पाँच सय विदेशी पाहुनाहरू र गिनी (Guinea) का राष्ट्रपति सेकु तुरे र विलियम डुबोइस पनि सहभागी थिए ।
साँझको समय थियो । एउटा ठुलो भाँडोमा राष्ट्रपति एन्क्रुमाले आगो बालेर अन्धकार हटाई समारोहको उद्घाटन गरे । मुक्तिको प्रतीक आतसबाजी र भुइँचम्पा आकासमा पड्काइयो । गीतहरू गाइए, राष्ट्रपति एन्क्रुमाले विधिवत् शपथग्रहण गरे । नयाँ संविधानअनुसार उनी नै राज्यप्रमुख र मुख्य कार्यकारी भए । उनी नै घानाको सेनाको परमाधिपति भए । यसरी सारमा घानालाई एक प्रगतिशील समाजमा रूपान्तरण गरियो ।
पहिलो प्रतिनिधिमण्डल मस्को
अफ्रिकी नेताहरू समाजवादी व्यवस्थाले छिटो आर्थिक विकास हुन्छ भन्नेबारे जानकारी राख्थे । यसकारण, समाजवादी देशहरूसँग नव–स्वाधीन अफ्रिकी देशहरूको सम्बन्ध नजिकिँदै थियो । सोभियत सङ्घको सर्वोच्च सोभियत र सरकारको निमन्त्रणामा १० जुलाई १९६१ मा एन्क्रुमा र मन्त्रीहरूसहितको उनको प्रतिनिधिमण्डल मस्को पुग्यो । त्यस प्रतिनिधिमण्डलले रुसको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जलविद्युत् योजना, कपास खेती र पशुपालन तथा मासु उत्पादनसम्बन्धी योजना आदि अवलोकन ग¥यो ।
सोभियत सङ्घबाट फर्किसकेपछि एन्क्रुमाको दृष्टिकोणमा समाजवादप्रतिको विश्वास झन् बलियो भयो । उनले ‘अफ्रिकी शैलीको समाजवाद’ को वकालत गर्न थाले । अफ्रिकी संयुक्त सङ्घ, ‘तेस्रो शक्ति’ र तटस्थ राष्ट्रहरूको एकताप्रतिको उनको दृढताले परिपक्वता प्राप्त गर्दै लगेपछि उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीहरू उनीमाथि झन्झन् आक्रामक हुँदै गए । त्यसबेला हिजोको रोडेशिया र आजको जिम्बाब्वेमा जातिवादी तानाशाही स्मिथको गोरो सरकारको विरोधमा त्यहाँका लडाकुहरूलाई सैनिक सहयोग गरेको हल्ला चलेको थियो ।
१९६४ जनवरी २ मा आफ्नो निवासबाट कारमा बस्न गइरहेका राष्ट्रपति एन्क्रुमालाई एक प्रहरीले ताकेर पाँच ओटा गोली प्रहार ग¥यो । उनलाई गोली लागेन तर उनका एकजना अङ्गरक्षकको गोली लागेर मृत्यु भयो । साधारण जनता आआफ्नो काममा लाग्थे । राजनीतिक र सङ्गठनात्मकरूपले आवश्यक सचेतता जनतामा आइनसकेको हुँदा एन्क्रुमा सेना, प्रहरी र कर्मचारीको घेरामा परे । ती तीनओटै अङ्गमा औपनिवेशिक प्रभाव बाँकी थियो । समाजको माथिल्लो वर्ग स्वाधीनता, प्रगतिशीलता र ‘समाजवाद’ का विरोधी थियो । तिनीहरू एन्क्रुमाको विचारलाई जीवन र मरणको रूपमा लिँदै थिए ।
घानामा संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) सा¥है सक्रिय थियो । अमेरिकी गुप्तचरहरू राजनीतिक, प्रशासनिक कर्मचारी र जीवनका हरेक क्षेत्रमा घुस्दै संवैधानिक सरकारलाई भाँड्ने, विश्वासघाती बन्न घुस दिने आदि काम तीव्रतापूर्वक गर्दै थिए ।
शोषकवर्ग सरकारलाई असफल पार्न सामानको मूल्य बढाउँदै थियो । राज्य र पार्टीको संयन्त्रमा बढ्दै गएको भ्रष्टाचारको विरोधमा औद्योगिक हडताल पनि हुन थाले । सेनाभित्र पनि गुप्तरूपले सरकारको विरोधमा राजनीतिक गतिविधि बढ्दै गयो । १९६५ को यस परिस्थितिलाई सम्हाल्न उनले आवश्यक ध्यान पु¥याउनै पाएनन् । अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्ने काम गर्दै गए । उनको भियतनाम र चीनको भ्रमण हुने भयो ।
अमेरिकामा त्यसबेला राष्ट्रपति लिन्डन जोनसन थिए र भियतनाममा बम वर्षा चर्काइँदै थियो । एन्क्रुमाले घानाको राष्ट्रपतिको रूपमा जोनसनलाई केही नभए पनि आफ्नो भ्रमणको बेला हनोइमा बम वर्षा नगर्न अनुरोध गरे । जोनसनले उनलाई एक व्यङ्ग्यात्मक उत्तर दिए, “आक्रमण बन्द भए हाम्रो सैनिक प्रतिरोध बन्द हुने हनोइलाई सुनाउनुहोला ।”
१९६६ फेब्रुअरी २१ मा ८० जनाको एक सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरी एन्क्रुमा एसियाको निम्ति उडे । हल्ला गरिएको थियो, एन्क्रुमाले भियतनामलाई मद्दत दिन ८० लाख स्टर्लिङ पाउन्ड लगेका छन् । भियतनामलाई सैनिक सहायता दिने सम्झौतामा हस्ताक्षर गर्नेछन् र घानाको सेना भियतनाममा अमेरिकी सेनासँग लड्न बाध्य हुनेछ ।
१९६६ फेब्रुअरी २३ को दिन एन्क्रुमा पेचिङ जान हनोइको आकासमै थिए । केही दिन अगाडि सेनाबाट हटाइएको लेफ्टिनेन्ट जनरल जोसेफ अन्क्राहले निरक्षर र राजनीतिबारे ज्ञान नै नभएका सैनिकहरूको एक एकाइलाई हातमा लिई सैनिक विद्रोहको घोषणा गरे । १९६६ फेब्रुअरी २४ को दिन बिहान ५ बजे विद्रोही सेनाको कर्नेल इमानुएल क्वासी कोतोकाले रेडियो स्टेसन कब्जा गरी सेना र प्रहरीले सरकार र संसद्लाई भङ्ग गरेको तथा राष्ट्रपति एन्क्रुमालाई अपदस्थ गरेको घोषणा ग¥यो । राष्ट्रपति भवनलाई सुरक्षा दिइरहेका ३० जनाको सानो सुरक्षा गार्डलाई विद्रोही सिपाहीहरूले घेरे र गोली हानाहान भयो । १०ः३० बजेतिर सुरक्षा गार्डको प्रतिरोध दबाइयो । रक्सीले मातेका विद्रोही सिपाहीहरूले राष्ट्रपति भवनभित्र पसेर सम्पूर्ण सामान र राष्ट्रपतिको पुस्तकालय ध्वस्त पारे । एन्क्रुमाको जनसभा दल (CPP) पार्टीमाथि प्रतिबन्ध लगाइयो । घानास्थित अमेरिकी गुप्तचर विभाग (CIA) को प्रमुख होवार्ड टी बेनेसको तत्काल पदोन्नति भयो र उसले घाना छोड्यो ।
सेना र प्रहरीले मन्त्रीहरू र जनसभा दल (CPP) पार्टीका सांसदहरू पक्राउ गरे । एन्क्रुमाका जहान र छोराछोरीलाई कायरो पठाइयो । एन्क्रुमाकी आमालाई राष्ट्रिय झन्डा भएको घरबाट निकाली आफ्नो गाउँ एन्क्रोफुल पठाइयो । एन्क्रुमालाई पेचिङ हवाई अड्डामा चिनियाँ प्रधानमन्त्रीले स्वागत गरे । त्यसबेलासम्म एन्क्रुमालाई आफ्नो देशको सैनिक विद्रोहबारे थाहा थिएन ।
चिनियाँहरूले घानाको समाचार राजदूतलाई थाहा दिए र पछि राजदूतले एन्क्रुमालाई बताए । गम्भीर र शान्त मुद्रामा समाचार सुनेपछि २५ फेब्रुअरी १९६६ को दिन पेचिङस्थित घानाको राजदूतावासबाट राष्ट्रपति एन्क्रुमाले आफ्ना प्रतिनिधिमण्डललाई सैनिक विद्रोह दबाउन तत्काल घाना उड्न आदेश दिए तथा एक वक्तव्य दिए, “म गणतन्त्र घानाको संवैधानिक प्रमुख हुँ र सेनाको म परमाधिपति हुँ ।… घानाका जनता मप्रति समर्पित छन् भन्ने मलाई थाहा छ… । विद्रोहमा भाग लिएका सबै सिपाहीहरूलाई छाउनीहरूमा फर्कन र विदेशमा रहेका सबै राजदूतहरूलाई सबै कागजपत्र र सूचना आदानप्रदान आक्रामा नगरी पेचिङस्थित घानाली राजदूतावासमा गर्न आदेश दिन्छु ।” जीवनको त्यस गम्भीर क्षणमा एन्क्रुमा ५७ वर्षका थिए ।
विश्वासघात र प्रतिक्रान्ति
एन्क्रुमाले आफ्नो पक्षमा घानाका जनता छन् भन्ने जुन विश्वास गरेका थिए, व्यवहारमा त्यो स्थिति देखापरेन । सेना छाउनी फर्केन । विद्रोहीहरूको विरोधमा जनताबाट आशा गरेको विरोध प्रदर्शन र प्रतिरोध पटक्कै भएन । दक्षिणपन्थीहरूले राष्ट्रिय मुक्ति परिषद् बनाएर घानाको विधायिका र कार्यकारी शक्ति हत्याई देशलाई पूरै कब्जामा लिए । विद्रोही परिषद्का नेता लेफ्टिनेन्ट जनरल जोसेफ अन्क्राहले ‘घानाका जनताको सबभन्दा पुरानो र सबभन्दा सम्पन्न परम्परालाई अविश्वास गरेको हुँदा घानाका जनताको समर्थन र विश्वास एन्क्रुमाले गुमाएको र स्वेच्छाचारी ढङ्गले शक्ति प्रयोग गर्नेलाई अपदस्थ गरेको हो’ भन्ने घोषणा ग¥यो । कोफी बाको जस्ता एन्क्रुमाको राजनीतिक संरक्षणमा रहेका व्यक्तिले प्रेस सम्मेलन गरी भने, “एन्क्रुमा सच्चा नेता होइनन् भन्ने अनुभव हुँदा मलाई सदा चिन्ताले सताउँथ्यो ।”
राष्ट्रपति एन्क्रुमाका ‘अफ्रिकी मामिला’ का सल्लाहकार मिखाइल डेइ–आनाङ्गले सैनिक विद्रोहलगत्तै ‘अफ्रिकी एकताको नीति टाट पल्टेको’ र ‘एन्क्रुमा एक राजनीतिक बोक्सा’ साबित भएको बतायो । एन्क्रुमासँगै चीनमा गएका प्रतिनिधिमण्डलका सदस्यहरूले घाना फर्केर राष्ट्रपतिलाई अनेक लाञ्छना लगाए । तिनीहरूलाई पेचिङबाट घाना फर्कने बेलामा सैनिक विद्रोहको विरोध गर्न भनिएको थियो । तर, घाना फर्केपछि एन्क्रुमालाई विश्वासघात गरी दक्षिणपन्थी नयाँ सरकारप्रति बफादारी देखाए ।
१९६६ मार्च २ को दिन एन्क्रुमालाई गिनीका राष्ट्रपति अहमद सेकु तुरेले राजधानी कोनाक्री (Conakry) मा राष्ट्रपतिकै रूपमा स्वागत गरे । एन्क्रुमासँग उनका अङ्गरक्षक र कर्मचारी टोलीसमेत थिएन । राज्य प्रमुखकै रूपमा स्वागत गर्दा सेकु तुरेले हवाई अड्डामा २१ तोपको सलामी दिँदै भने, “एन्क्रुमा गिनीकै एक राज्य प्रमुखको रूपमा रहनुुहुनेछ र गिनीको प्रजातान्त्रिक पार्टीको महासचिवको रूपमा रहनुहुनेछ ।” गिनीको राजधानी कोनाक्रीको एक जनसभामा एन्क्रुमाले घोषणा गरे, “गिनीलाई एक दबुको रूपमा प्रयोग गर्ने उद्देश्यले म यहाँ आएको हुँ र म चाँडै घानाको आक्रामा रहनेछु भनी संसारलाई बताउँछु ।’ गिनीमा एन्क्रुमा सह–राष्ट्रपतिको रूपमा रहे ।
एन्क्रुमा गिनीको राजधानीमा समुद्रको नजिकै राम्रो सुरक्षाका साथ एक आवासमा बसे । घानाको दक्षिणपन्थी नयाँ सरकारले एन्क्रुमाको टाउको ल्याउनेलाई एक लाख सेडी अर्थात् एक लाख २० हजार डलर दिने घोषणा ग¥यो । एन्क्रुमा अध्ययनको निम्ति ठुलै कोठामा बस्थे । उनले माक्र्सवादी साहित्य अध्ययन गर्न थाले । त्यही निवासमा उनले गिनीमा रहेका कूटनैतिक व्यक्तिहरू, अफ्रिकी राष्ट्रिय मुक्ति आन्दोलनका मुख्य नेताहरू, विभिन्न देशका सहयोद्धा र पुराना मित्रहरू, घाना र गिनीका प्रवासी र प्रमुख नेताहरूसँग भेटघाट, छलफल र सरसल्लाह गर्थे ।
सेकु तुरे र श्रीमती बरोबर एन्क्रुमासँग भेटघाट गर्न जान्थे । उनीहरू प्रचारमाध्यमसँग भेट्न र अन्तर्वार्ता दिन अस्वीकार गर्थे । गिनीको बिदाका दिनहरूमा सह–राष्ट्रपतिको रूपमा रहेका एन्क्रुमा सेकु तुरेसँग बिताउँथे । अध्ययन, बगैँचामा घुमफिर, फूल र बिरुवाको गोडमेल, कहिलेकाहीँ टेनिस खेलेर दिन बिताउँथे । फ्रान्सेली भाषा सिकेपछि फ्रान्सेली भाषा बोल्ने अफ्रिकी देशका नेताहरूसँग कुराकानी र छलफल गर्न उनले सजिलो अनुभव गरे ।
सैनिक विद्रोहको ठीक १० दिनपछि छिट्टै घाना फर्कन सक्ने अनुमानअनुसार एन्क्रुमाले एक शक्तिशाली प्रसारण यन्त्रबाट सैनिक विद्रोहको विरोधमा सङ्घर्ष गर्न जनतालाई आह्वान गरे । १९५७ मार्च ६ को दिन स्वाधीनताको घोषणाको दिन थियो । १९६६ मार्च ६ को दिन अर्थात् स्वाधीनताको नवौँ वार्षिकोत्सवको दिन एन्क्रुमाले आह्वान गरे, “मलाई थाहा छ, तपाईँहरू सदा मप्रति, पार्टी र सरकारप्रति बफादार हुनुहुन्छ र यस परीक्षाको घडीमा डरत्रासपछि पनि दृढ अडान र प्रतिरोधमा रहनुहुनेछ । ….. घानामा अहिले घटेको घटना सैनिक विद्रोह होइन, विद्रोह हो भने आफ्नै कुकर्महरूका कारण त्यो दबाइनेछ । …… छिट्टै म तपाईँहरूको साथमा रहनेछु ।” समयले एन्क्रुमालाई व्यावहारिक बनाउँदै लग्यो र उनले आफूलाई पूर्णरूपले अध्ययन, अनुभव र सैद्धान्तिक लेखनमा लगाए ।
संसारका विभिन्न किसिमका सैद्धान्तिक पुस्तकहरू, लेनिनको ‘गुरिल्ला युद्ध’, माओ त्सेतुङका रचनाहरू, चे ग्वेभारा र रेजिस डिब्रे आदिका रचनाहरूको अध्ययनले गर्दा उनले घानामा ससाना गुप्त सङ्गठनहरू बनाउन निर्देशन दिए । पुराना सङ्गठनका सबै जगहरू खुला र खुकुलो ढङ्गको थियो भने त्यसकै जगमा सशस्त्र सङ्घर्षको निम्ति गुप्त सङ्गठनहरू बन्न गा¥हो थियो ।
पश्चिमी देशहरूले १९६९ सेप्टेम्बरमा सैनिक शासनको ठाउँमा कोफी बुसियाको सरकार बनाए । त्यस सरकारले देशी र विदेशी पुँजीलाई स्वतन्त्ररूपले खेल्न दियो । १९७१ डिसेम्बर महिनामा घानाको मुद्रा सेडीको अवमूल्यन गरेर सीमित आम्दानी भएका जनताको ढाड खुस्काउने काम ग¥यो । त्यो सरकार बदनाम हुँदै गयो ।
१९७१ अक्टोबर १५ को दिन एन्क्रुमाले आफ्नो अन्तिम कृति ‘क्रान्तिकारी बाटो’ को सार सङ्क्षेप लेख्न भ्याए ।
१९७२ जनवरी १३ को दिन कर्नेल इग्नाटियस अचेम्पोङको नेतृत्वमा पुनः एउटा सैनिक विद्रोह गरी सत्ता हातमा लिए र एन्क्रुमालाई घाना फर्कन स्वीकृति दिए । त्यसबेलासम्ममा एन्क्रुमालाई क्यान्सरले छोइसकेको थियो । उपचारको निम्ति आफ्नो निजी चिकित्सक र सानो टोली लिएर उनी रोमानिया गए ।
१९७२ अप्रिल २७ मा रोमानियामै एन्क्रुमाको निधन भयो । अप्रिल २९ को दिन गिनीले राष्ट्रिय शोकको घोषणा ग¥यो । तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकायो । बित्नुभन्दा पहिले उनले आफ्नो पार्थिव शरीरलाई आफू जन्मेकै गाउँ एन्क्रोफुलमा समाधिस्थ गर्ने इच्छा जाहेर गरेका थिए । एन्क्रुमाका पुराना साथी काजो बोत्सिओ कोनाक्री पुगी एन्क्रुमाको अस्थिलाई घानामा लैजान अनुरोध गरे । राष्ट्रपति सेकु तुरेले घानाको सरकारले औपचारिकरूपले जिम्मा नलिएसम्म एन्क्रुमाको अस्थि नदिने अडान लिनुको साथै एन्क्रुमाका साथीहरूलाई जेलबाट मुक्त गुर्नपर्ने सर्त राखे ।
१९७२ मे १६ को दिन गिनीको कोनाक्रीकै ‘जनताको दरबार’ मा अन्तिम संस्कारको समारोह आयोजना गरियो र उनको शवमा गिनीको राष्ट्रिय झन्डा ओढाइयो । कोनाक्रीमा ४० देशका प्रतिनिधिमण्डल आएर एन्क्रुमाका जहान र छोराछोरीलाई समवेदना प्रकट गरे । अफ्रिकी स्वाधीनता आन्दोलनमा उनको योगदानलाई स्मरण गरे । शोक समारोहमा राष्ट्रपति सेकु तुरेले उद्घोष गरे, “एन्क्रुमा घानाका मात्र होइनन्, उनी अफ्रिकी हुन् । एन्क्रुमा कहिल्यै मर्ने छैनन् ।”
औपचारिक समारोहपछि पार्थिव शरीरलाई रङ्गशालामा राखियो । हजारौँ घानावासीहरूले उनको शोकमा श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरे ।
अन्तमा, घानाको सरकारले सेकु तुरेको सर्तलाई स्वीकार ग¥यो । १९७२ जुलाई ९ को दिन साथी कोजो बोत्सिओ र श्रीमती फातिमा एन्क्रुमाको पार्थिव शरीरसहित आक्रा उडे । १० जुलाईको दिन उनको पार्थिव शरीरलाई घानाको राज्य भवनमा दर्शनको निम्ति राखियो । राजधानी आक्रा धमिलो रातो झन्डाले सजिएको थियो । रेडियोले घानाका पहिलो प्रधानमन्त्री र राष्ट्रपतिका भाषणहरू बजाउँदै थियो, उनको जीवनी र उनका योगदानको बयान गर्दै थियो ।
भोलिपल्ट आइतबारको दिन हेलिकोप्टरबाट शवलाई उनको जन्मस्थल एन्क्रोफुल लगियो । झन्डै आँखाले देख्न नसक्ने भएकी बूढी आमा रातभर शवसँगै शोकमग्न रहिन् । १९७२ जुलाई १२ को बिहानीपख एन्क्रुमालाई अन्तिम सलामी दिई समाधिस्थ गरियो ।
एन्क्रुमाको व्यक्तित्व
इतिहास, दर्शन, संस्कृति र अर्थशास्त्रका अध्येता एन्क्रुमा ताडीको रस, फलफूल, हरियो सागपात र फलफूलको रस मन पराउने, हाँसो मन पराउने व्यक्ति थिए । उनी पौडी खेल्ने, घोडचढी र बुद्धिचाल खेल्ने र बगैँचा हेरचाह गर्न मन पराउँथे ।
उनी महात्मा गान्धीलाई आदर्श मान्थे र उनीजस्तै फलाहार गर्थे र निराहार बस्थे । घाना पनि बेलायती उपनिवेश भएको र भारतकै नमुनाअनुसार उनको अन्तरमनले काम गर्न खोजेको देखिन्छ । तर, बेलायती उपनिवेशवादीहरूमा भारत र घानाबारे चिन्तनमा धेरै अन्तर हुनु स्वाभाविक थियो ।
विवाहको एक वर्षपछि जन्मेको छोराको नाम इजिप्टका राष्ट्रपति गमाल अब्दुल नासिरको सम्झनामा ‘नासिर’ राखियो भने दोस्रो बच्चा छोरी थिइन् । उनको नाम सामिया राखियो र कान्छो छोराको नाम गिनीका राष्ट्रपतिको सम्झनामा सेकु राखिएको थियो ।
साम्राज्यवादीहरूले उनको हत्या गर्ने योजना बनाउँदै गर्दा उनी बाहिरी गतिविधिबाट टाढिँदै गए तथा विरोधीहरूको षड्यन्त्रमाथि नियन्त्रण गर्ने अनेक कानुनहरू पनि बन्दै गयो । त्यसैलाई निहुँ बनाएर स्थानीय प्रतिगामी र साम्राज्यवादीहरूले उनलाई सुनको खाटमा सुत्ने, मेच नै सुनको, ऐøयासी जीवन बिताउने ‘तानाशाह’ भनेर आरोप लगाउँदै गए । तर, सुन घानाको निम्ति दुर्लभ वस्तु थिएन । देशको सम्पत्तिलाई नै एन्क्रुमाको निजी सम्पत्ति भनी बदनाम गरियो ।
सैनिक विद्रोहबाट अपदस्थ भई गिनीको प्रवासमा बस्दा एन्क्रुमाले आफ्नो सम्पूर्ण सङ्गठन, गतिविधि र सिद्धान्तबारे समीक्षात्मक रचनाहरू लेखे । ती रचनामा अफ्रिकी एकता, अफ्रिकी सङ्घ र अफ्रिकी शैलीको समाजवाद भनिए पनि वैज्ञानिक समाजवादको आँखाले अफ्रिकालाई एन्क्रुमाले देख्न नसकेको अनुभव हुन्छ । गिनीको प्रवासमा बस्दा उनले लेखेका रचनाहरू हुन् ‘क्वामे एन्क्रुमाको आत्मकथा’ (१९६७), ‘अफ्रिकी समाजवादबारे पुनर्विचार’ (१९६७), ‘कोनाक्रीको आवाज’ (१९६७), ‘घानाका अँध्यारा दिनहरू’ (१९६८), ‘क्रान्तिकारी युद्धका कखरा’ (१९६८), ‘अफ्रिकाको वर्गसङ्घर्ष’ (१९७०) आदि । ‘सङ्घर्ष चालु छ’, ‘म स्वतन्त्रताको निम्ति बोल्छु’ र ‘क्रान्तिको बाटो’ उनको मृत्युपछि छापिए ।
मानिसका आ–आफ्नै सानाठुला कमीकमजोरी हुन्छन् । तर, उद्देश्य, प्रतिबद्धता र समर्पणमा एन्क्रुमा इमानदार थिए भन्नेबारे कुनै शङ्का छैन । एक क्षेत्र वा विचारको उदाहरण र प्रतीक बन्नु नै मानिसको भित्री गुण वा व्यक्तित्व हो । एन्क्रुमा यस अर्थमा समशितोष्ण (Tropical) अफ्रिकाको पहिलो राजनेता र अफ्रिकी महादेशमा समाजवादका अग्रदूत र प्रचारकहरूमध्येका एक हुन् । उनको जीवनका अन्तिम रचनाहरूमा गुप्त सङ्गठन र गुरिल्ला युद्धका विषयवस्तु हुनु उनको राजनीतिक दर्शनको सिंहावलोकनको रूपमा अभिव्यक्ति देखापर्छ ।
यस अर्थमा एन्क्रुमा घानाका ‘मुक्तिदाता’ र अफ्रिकी एकताका प्रवर्तक हुन् । उनी साम्राज्यवाद र उपनिवेशवादविरोधी प्रातःस्मरणीय योद्धा हुन् ।
समाप्त
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा