सन् १९३५ अक्टोबरको समय थियो । त्यसबेलासम्म एन्क्रुमालाई अन्तर्राष्ट्रिय राजनीतिको जटिलता थाहा भइसकेको थिएन । नाजीवाद, फासीवाद र जापानको राजनीतिबारे पनि थाहा थिएन । त्यसबेला उनी २६ वर्षका युवा थिए । ३ अक्टोबरको दिन इटालीका तत्कालीन तानाशाह मुसोलिनीले सबभन्दा पुरानो स्वतन्त्र अफ्रिकी देश इथियोपियामा हमला गरेको समाचार थाहा पाउँदा उनी झस्के । बेलायतमै उनले पश्चिमी देशको प्रजातन्त्रको वास्तविकता बुझ्न सुरु गरे ।
एन्क्रुमा जहाजमा बसी लन्डनबाट संरा अमेरिकातर्फ लागे । न्युयोर्क पुग्दा त्यहाँका अग्लाअग्ला घर र पसलको झिलिमिली देखेर उनी छक्क परे । लिङ्कन विश्वविद्यालय पुग्दा दुई महिनाअघि नै कक्षा सञ्चालन भइसकेको थियो । तैपनि, उनी आफ्ना सहपाठीहरूभन्दा पछाडि परेनन् । त्यो विश्वविद्यालय अफ्रिकी विद्यार्थीहरूको निम्ति सन् १८८४ मै स्थापना भएको थियो र उनले चिनेजानेका अफ्रिकीहरू पनि त्यहीँ पढेका थिए । कक्षापछि पनि उनी धेरैबेरसम्म पुस्तकालयमा अध्ययन गर्थे । आफू राजनीतिमा समर्पित हुने उद्देश्यले भाषण कलामा ध्यान दिन्थे । विश्वविद्यालयको प्रतिस्पर्धामा उनले स्वर्ण पदक पनि हासिल गरे ।
उनको पढाइको क्षमताबारे सबै अवगत भए । अनेक किसिमका खुला र गुप्त अफ्रिकी सङ्गठनहरूले उनीसँग सम्पर्क राख्न थाले । विश्वविद्यालयको छात्रवृत्तिको रकमले उनलाई जीविका चलाउन धौधौ परेको हुँदा विश्वविद्यालयको पुस्तकालयमा आंशिक सेवा गरे । उनी कमजोर विद्यार्थीहरूको निम्ति समाजशास्त्र र अर्थशास्त्रका आवश्यक शैक्षिक सामग्री तयार गर्थे । त्यतिले नपुगेर उनले अरुसँग मिलेर आफ्नी आमाले जस्तै सस्तो माछा बजारबाट महँगो बजारमा माछा बेच्ने काम पनि गरे । साथीहरूबिचको झगडाले गर्दा उनले अरू काम पनि थाले । उनले जहाजमा भाँडा माझ्ने काम सुरु गरेर पदोन्नति हुँदै थाल माझ्ने, खानेकुरो लैजाने र आदेश दिने कर्मचारी भए । उनी धनी यात्रुहरूबाट केही बक्सिस पाउँथे । त्यो पैसाले उनी पुस्तक किन्थे । मिलनसार, सहयोगी र फरासिला हुनाले उनले धेरै साथी बनाए ।
सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो र एन्क्रुमाले लिङ्कन विश्वविद्यालयबाट अर्थशास्त्र र समाजशास्त्रमा स्नातक गरे । पैसाकै कमीको कारण उनले कोलम्बिया विश्वविद्यालयबाट पत्रकारिताको अध्ययन गर्ने उद्देश्य छोडी पुरानै विश्वविद्यालयमा दर्शनशास्त्रको कक्षामा सामेल भए । दर्शनशास्त्रका अमूर्त विचार, तर्कका नियमहरू पढेर सुरुमा उनी अचम्म मान्थे । पछि उनी कान्ट, नित्से, हेगेलजस्ता दार्शनिकहरू र इब्सन, टाल्सटोयजस्ता लेखकहरूको साहित्यमा डुबे ।
एन्क्रुमा आइतबारको दिन अफ्रिकीहरूको सामाजिक र धार्मिक केन्द्रको रूपमा रहेका चर्चहरूमा गएर बरोबर प्रवचन दिन्थे । सन् १९३९ मै लिङ्कन गुरुकुलले धर्मशास्त्रबारे पढाउँथ्यो । एन्क्रुमाले पेनसिल्भानिया विश्वविद्यालयमा दर्शनशास्त्र र शिक्षाबारे अध्ययन गरे । सन् १९४२ मा उनले धर्मशास्त्रमा स्नातक र शिक्षाशास्त्रमा आचार्य उपाधि प्राप्त गरे । सन् १९४३ मा उनले दर्शनशास्त्रको स्नातकोत्तर परीक्षाको शोधपत्रको मौखिक परीक्षामा राम्रो प्रदर्शन गरे तथा आफ्नो शोधपत्रको निम्ति उनले विद्यावारिधि प्राप्त गरे । अब उनी ३४ वर्षका युवा प्रौढ भए ।
एन्क्रुमाले शैक्षिक क्षेत्रमा प्रगति हासिल गरे पनि आर्थिकरूपले आफ्नो खुट्टामा उभिन सकेका थिएनन् । आफ्नै अध्ययनकै निम्ति उनले एक जहाज बनाउने ज्यासलमा मध्यरातदेखि बिहान ८ बजेसम्मको काम पाए । धपेडीको कारण उनलाई फोक्सोसम्बन्धी गम्भीर रोग लाग्यो र उनी अस्पतालमा भर्ना गरिए ।
अमेरिकामा अफ्रिकीहरूको बारेमा एन्क्रुमाले गम्भीर अध्ययन गरे । संरा अमेरिकामा गम्भीर जातिवादी भेदभाव भएको, ‘समान अवसर भएको समाज’ भनिए तापनि सबभन्दा अवसरबाट वञ्चित, तल्लोस्तरको मानिएको, बेरोजगारीले ग्रस्त, अत्यन्त तल्लो शैक्षिक स्तर भएको, अत्यन्त बहुमत काला जातिका मानिसहरू सा¥है अव्यवस्थित गल्ली र फोहोर ठाउँमा बस्ने गरेको थाहा पाए । कामकै खोजीमा तिनीहरू उत्तरको औद्योगिक क्षेत्रबाट तल झर्थे । वास्तवमा अमेरिकामा अफ्रिकीहरूको जीवन भनेको प्रचुरताको सागरमा गरिबीको टापु थियो । यी सबै परिस्थितिबाट एन्क्रुमाले अमेरिकी सम्पन्नताको झिलिमिली र बयान असत्य भएको थाहा पाए । उनी विलियम डु बोइसजस्ता आन्दोलनकारी र कम्युनिस्ट तथा मार्कस गार्भेजस्ता जातिवादविरोधी विश्वका हब्सी समाजका अगुवाहरूका विचार र साहित्यबाट प्रभावित भए । उनले आफ्नो देशको मुक्तिको निम्ति अमेरिकाको गणतान्त्रिक र प्रजातन्त्रवादी पार्टी, समाजवादी कम्युनिस्ट र त्रोत्स्कीवादीहरूको साहित्य र सङ्गठनबारे अध्ययन गरे । नौ भाषाका जानकार र कानुनका आचार्य, अफ्रिकी जनताका एक आन्दोलनकारी पाउल रोब्सनको साहित्य, विचार र गतिविधिसँग पनि उनी परिचित भए । एन्क्रुमा एक–एक पाइला गरेर माक्र्सवादी साहित्यसम्म पुगे ।
अध्ययनका साथसाथै एन्क्रुमा अमेरिका र क्यानाडाका अफ्रिकीहरूका विभिन्न सङ्गठनहरूसँगको सम्पर्कमा रहे । दोस्रो विश्वयुद्ध चरम उत्कर्षमा थियो । जापानले पर्ल हार्बरको अमेरिकी जलसेनाको अखडामा हमला ग¥यो, प्रशान्त महासागरमा संरा अमेरिकाले आफ्नो जलसेना र हवाइसेनाको गतिविधि बढायो, रुसी लाल सेनाले पूर्व र पश्चिम दुवैतिर आत्मसमर्पण ग¥यो । संसारभरि सोभियत सङ्घ र विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव बढ्दै गयो । एन्क्रुमाको अन्तर्राष्ट्रिय राजनीतिको क्षितिज पनि उँचो हुँदै गयो ।
जून १९४५ मा एन्क्रुमा पुनः बेलायत पुगे । उनी लन्डनस्थित एक पश्चिमी भारतीय पत्रकार जर्ज पदमोरको बारे परिचित थिए । उनकै सहयोगले एन्क्रुमा पश्चिमी अफ्रिकी विद्यार्थी सङ्घ (East African Student’s Union) सँग सम्पर्कमा पुगे । कामको खोजी र डेराले लन्डनमा झन् ठुलो समस्या थियो । डेरा खोज्न घरघरको ढोका घच्घच्याउन उनी पुग्थे । घरपतिले ढोका खोलेर हेर्दै एक हब्सी देख्दा ‘कोठा खाली छैन’ भन्दै ढोका लगाउँथे । अनेक दुःख र हन्डर खाँदै उनी साढे दुई वर्ष बेलायतमै बसी काम गरे ।
एन्क्रुमा पश्चिमी अफ्रिकी विद्यार्थी सङ्घको उपसभापति चुनिए । अब उनी बिस्तारै घाना मात्र होइन, पश्चिमी अफ्रिका र सम्पूर्ण अफ्रिकाकै मुक्तिको बारेमा चिन्तनशील व्यक्तित्वहरू र सङ्गठनहरूसँग आबद्ध हुन पुगे । सेप्टेम्बर महिनामा पेरिसमा मजदुर सङ्घहरूको विश्व महासङ्घको सम्मेलन पनि भइसकेको थियो । तर, एन्क्रुमा अफ्रिकाको भविष्य त्यसको स्वाधीनता मात्रै होइन, समाजवादसँग समेत गाँसिनु आवश्यक रहेकोमा प्रस्ट हुँदै गए । १९४५ अक्टोबर १५ मा ७३ वर्षीय विलियम डु बोइस (William Du Bois) को अध्यक्षतामा बेलायतको मेनचेस्टरमा पाँचौँ सम्पूर्ण अफ्रिकी अधिवेशन सुरु भयो ।
अफ्रिकी बुद्धिजीवीहरू, मजदुर सङ्घका प्रतिनिधिहरू, राजनीतिज्ञहरू, मजदुर र विद्यार्थीहरूको प्रतिनिधिहरूको सहभागिता रहेको त्यस मेनचेस्टर अधिवेशनको महत्वपूर्ण विषय जातीय भेदभावको विरोध र अफ्रिकी राजनीतिक चेतनाको पुनः जागरण थियो । अधिवेशनमा बेलायती, फ्रान्सेली, बेल्जिमेली र अन्य युरोपेली साम्राज्यवादी देशहरूले पश्चिमी र अन्य अफ्रिकी देशहरूलाई उपनिवेश बनाई जनतालाई दास बनाएका हुन् भन्ने दृढ मत राखियो । त्यसबाट संसारमा फैलिरहेको प्रजातान्त्रिक र समाजवादी आन्दोलनको प्रभाव युवा अफ्रिकीहरूमा परेको स्पष्ट भयो ।
एन्क्रुमाद्वारा खेस्रा गरिएको त्यस अधिवेशनको ‘औपनिवेशिक जनताको घोषणापत्र’ मा भनिएको थियो, “हाम्रा सबै औपनिवेशिक देशका जनताले आफ्नो भाग्यको फैसला आफै गर्छौँ । सबै उपनिवेशहरू राजनीतिक र आर्थिकरूपमा विदेशी साम्राज्यवादी नियन्त्रणबाट स्वतन्त्र हुनुपर्छ ।
विदेशी शक्तिहरूको हस्तक्षेपबिना उपनिवेशका जनताले आआफ्ना सरकारहरू आफै चुन्ने अधिकार हुनुपर्छ । आफ्नो उद्देश्यप्राप्तिको निम्ति उपनिवेशका जनतालाई आफ्ना सबै उपायहरूले सङ्घर्ष गर्न आह्वान गर्छौँ ।
साम्राज्यवादी देशहरूको उद्देश्य शोषण हो । साम्राज्यवादीहरूको विरोधमा मजदुर र किसानहरूले हडताल र बहिष्कारको हतियारमार्फत लडाइँ सुरु गरौँ ।… मजदुर अधिकारको निम्ति लडौँ, प्रेस स्वतन्त्रता, वाक्–स्वतन्त्रता, विचार स्वतन्त्रता, साहित्य र लेखपढको स्वतन्त्रताको निम्ति सङ्घर्ष गरौँ । संसारका सबै उपनिवेशका जनतासँग एक होऔँ ।”
पाँचौँ अखिल अफ्रिकी अधिवेशनको सन्देश राष्ट्रिय मुक्तिको निम्ति सङ्घर्षरत भारत, इन्डोनेसिया, भियतनाम आदि देशमा पुग्यो । निर्णय कार्यान्वयन गर्न पश्चिम अफ्रिकी राष्ट्रिय सचिवालयको कार्यालय लन्डनमा राखियो । त्यसको महासचिव एन्क्रुमा चुनिए । यसरी उनी घाना, पश्चिम अफ्रिका सबैको मुक्तिसँग जोडिए ।
अधिवेशनपछि उनले पेरिस गई लियोपोल सेँघोर (Leopol Senghor), फेलिक्स होउफोँ–बोइजी (Felix Houphoun-Boigxy), लामिन ग्वे (Lamine Gueye) र सोउसर आपिथी (Sourous Apithy) जस्ता अफ्रिकी–फ्रान्सेली राष्ट्रिय सभाका सदस्यहरूसँग भेटे ।
सन् १९४६ को अगस्टको अन्त र सेप्टेम्बरको सुरुमा लन्डनमा एक सम्मेलन भयो । त्यस सम्मेलनमा सेँघोर, आपिथीजस्ता पश्चिम अफ्रिकी मूलका प्रतिनिधिहरू पनि सहभागी भए । त्यसपछि पश्चिम अफ्रिकी राष्ट्रिय सम्मेलन नाइजेरियाको राजधानी लागोसमा गर्ने उद्देश्यले छलफल गर्न एन्क्रुमा १९४८ मा पुनः पेरिस पुगे ।
बेलायतमा बसेर एन्क्रुमाले त्यहाँको महानिर्वाचन हेरे, बुझे र अन्तमा त्यहाँको श्रमिक दल (Labour Party) र रुढीवादी दल (Tories) बिच उपनिवेशको नीतिमा भिन्नता नभएको देखे । सङ्गठनको विचार प्रस्टरूपमा राख्न उनले मार्च १९४६ मा मासिक पत्रिका ‘नयाँ अफ्रिका’ प्रकाशित गरे । ‘जागृत अफ्रिकाको आवाज’ पत्रिकाको तल लेखिएको थियो भने ‘एकता र पूर्ण स्वाधीनता’ त्यसको उद्देश्य थियो । पत्रिका सबैले मन पराए । तर, आर्थिक अभावले ‘नयाँ अफ्रिका’ बन्द भयो ।
राम्रो र कठिन उद्देश्यको निम्ति एन्क्रुमा बेलायतको सबभन्दा सस्तो खाने पसलमा खान्थे । डेरामा मध्यरातमा फर्कँदा घरबेटीले जेजति खाना राखेको हुन्थ्यो त्यही खान्थे र नमाझेका भाँडाकुँडा माझ्थे । त्यसबेला अनेक प्रकारका सङ्गठनहरू थिए । अफ्रिकी युवाहरूका केही गुप्त वा खुला थिए भने कुनै षड्यन्त्रमा विश्वास गर्ने सङ्गठन थिए । ‘पश्चिम अफ्रिकी एकताको निम्ति क्रान्तिकारी र राष्ट्रिय स्वाधीनता’, ‘पश्चिम अफ्रिकास्तरीय राष्ट्रिय काङ्ग्रेस’, ‘अफ्रिकी समाजवादी गणतन्त्रहरूको सङ्घ’ जस्ता सङ्गठनहरू क्रियाशील थिए । ती सङ्गठनले एन्क्रुमाको नेतृत्वलाई स्वीकार्थे तथा ‘महापरिषद्’ को आदेश मान्थे । महिनाको हरेक २१ तारिखको दिन बैठक राखिन्थ्यो ।
सन् १९२० को दशकमा सोभियत सङ्घमा बसेका एक अफ्रिकी बुद्धिजीवी बाँकोल आउनर–रेनरले १९४६ मा लन्डनबाट ‘पश्चिम अफ्रिकी सोभियत सङ्घ’ नामक पुस्तक प्रकाशित गरे । त्यस्तै, १९२० को दशकमै क्यासिले हेफोर्डले घाना वा गोल्ड कोस्टको स्वाधीनताको निम्ति पश्चिमी अफ्रिकी राष्ट्रिय काङ्ग्रेस स्थापना गरेका थिए । सन् १९३० तिर क्यासिले हेफोर्डको निधनपछि बन्द भएको त्यो सङ्गठनलाई पुनः सक्रिय बनाउने काम बेलायती र फ्रान्सेली उपनिवेशका प्रतिनिधिहरूले गरे ।
घाना अर्थात् गोल्ड कोस्टमा अफ्रिकीहरूले आफ्नो देशमा स्वराज गर्ने अधिकार हुनुपर्छ भन्ने उद्देश्य राख्ने एउटा राजनीतिक सङ्गठन थियो । त्यस सङ्गठनको नाम ‘संयुक्त गोल्ड कोस्ट सम्मेलन’ ९(United Gold Coast Convention-UGCC) थियो । त्यसका नेता अको आड्जी थिए । एन्क्रुमाको संरा अमेरिका र बेलायतको गतिविधिबाट प्रभावित भएर त्यस सङ्गठनले आफ्नो महासचिव बन्न र महिनाको १०० पाउन्ड पारिश्रमिक दिनदिन पत्र लेख्यो ।
संयुक्त गोल्ड कोस्ट सम्मेलनबारे पश्चिमी अफ्रिकी सचिवालयमा पनि छलफल गरियो । सरल जीवन बिताइरहेका एन्क्रुमाको निम्ति ठुलो रकमको प्रस्तावले सबैलाई घोत्लिनुपर्ने स्थितिमा पु¥याउनु स्वाभाविक हो । गोल्ड कोस्टबाट फर्केका एक शिक्षकको अध्ययनअनुसार संयुक्त गोल्ड कोस्ट सम्मेलन एक पुँजीवादी ‘सम्भ्रान्त’ हरूको सङ्गठन थियो । त्यो साँचो उपनिवेशवादविरोधी आन्दोलन थिएन । यसकारण, एन्क्रुमाले त्यसबारे पत्रहरूबाट जानकारी पनि लिँदै थिए । त्यस सम्मेलनका अर्का संस्थापक जोसेफ बि डानक्वाले एन्क्रुमालाई महासचिवको पद ग्रहण गर्न पत्रद्वारा आग्रह गरे ।
सल्लाहअनुसार एन्क्रुमा घानाको निम्ति बन्दरगाहमा पुग्दा प्रहरीलाई आफ्नो सबै जानकारी थाहा हुँदा आश्चर्यमा परे । तर, सरकारले उनलाई बेलायत छोड्न स्वीकृति दियो । बेलायती कम्युनिस्टहरूबारे सरकारले बढी ध्यान दिएको उनले थाहा पाए । सियरा लियन, लाइबेरिया र आत्री कोस्ट हुँदै डिसेम्बर १९४७ मा उनी घाना पुगे ।
एन्क्रुमालाई घानाको बेलायती उपनिवेशवादीहरूको सबै गतिविधि थाहा थिएन । सन् १९४६ मै बेलायत गभर्नरको मातहतमा एक संविधान (Burns Constitution) घोषणा भएको रहेछ । संविधानअनुसार ३१ जना सदस्य रहने विधायिका परिषद् गभर्नरको सल्लाहकार जस्तै हुने तथा सदस्यहरू जातीय, वन्यजातिका मुखिया र सम्पन्न व्यक्तिहरूमात्रै रहने प्रावधान थियो ।
एन्क्रुमालाई बोलाउने संयुक्त गोल्ड कोस्ट सम्मेलन १९४७ अगस्ट महिनामा स्थापना भएको थियो । त्यसमा ठुलठुला व्यापारी जर्ज ग्रान्टजस्ता काठ र कोका दानाको निर्यातकर्ता, वकिल, गाउँ र सहरका खानदानी व्यक्तिहरू र धनाढ्यहरूमात्रै थिए । तिनीहरू कानुनी ढङ्गले नै सरकारमा पुगेर माथिल्लो वर्गको हित चाहन्थे ।
संयुक्त गोल्ड कोस्ट सम्मेलनको भित्री कुरा बुझेपछि एन्क्रुमाले नयाँ सङ्गठनको आवश्यकता अनुभव गरे । जनवरी १९४८ मा युवाहरू, मजदुर, माझी र किसानको सङ्गठन, आइतबार–आइतबारको दिन राजनीतिक कक्षा सञ्चालन र पछिको निम्ति देशभरि आफ्नो सङ्गठनको विस्तारमा उनी लागे । सल्ट पोन्ड भन्ने टाढाको सानो सहरमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेर जङ्गल र पहाडहरूमा गई उनले सरल भाषामा भाषणहरू दिँदै सयौँ सङ्गठनहरू बनाए । स–साना समितिहरू बनाउँदै उनी अगाडि बढे । क्रोबो इडुसी, कोफी बुको र कोजो बोत्सिओजस्ता साथीहरूले उनलाई साथ दिए ।
सन् १९४८ को फेब्रुअरी महिनामा दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट लडाइँ लडेका ६५ हजार भूपू सैनिकहरूले रोजगारी र मूल्यवृद्धिलाई लिएर गभर्नरकै निवासमा विरोध प्रदर्शन गरे । बेलायती सरकारले राजधानी आक्रा र कुमासी सहरमा गोली चलाएर २० जनाको हत्या ग¥यो र २३० जनालाई घाइते बनायो । त्यसको दोष संयुक्त गोल्ड कोस्ट सम्मेलनलाई दिई एन्क्रुमा र अन्य नेताहरूलाई ‘कम्युनिस्ट षड्यन्त्र’ भनी सरकारले पक्राउ ग¥यो । बेलायती उपनिवेशवादीहरूले वास्तविकता थाहा पाएर एन्क्रुमा र अन्य नेताहरूलाई ६ हप्तापछि छोडे । त्यस पक्राउले एन्क्रुमा १९४८ को युवा आन्दोलनको नेताका रूपमा प्रतिष्ठित भए । उनलाई कुमासी जेलमा नजरबन्द गरिएको थियो । त्यस घटना वा उपद्रवमा दुई करोड पाउन्ड क्षति भएको बताइएको थियो ।
कारागारबाट छुटेर एन्क्रुमा देश भ्रमणमा निस्के । नारा थियो, ‘अब स्वराज चाहिन्छ ।’ कोका उत्पादक किसानहरू बेलायती उपनिवेशवादका विरोधी थिए । एन्क्रुमाले महिलाहरूको पनि मताधिकारबारे आवाज उठाए । घाना मात्रै होइन, अफ्रिकाकै निम्ति पनि त्यो विषय नयाँ थियो ।
बेलायती गभर्नर र उपनिवेशवादीहरूको नयाँ संविधानअनुसार ५५ वर्षका कानुन व्यवसायी हेनली कौसीको नेतृत्वमा ४० जनाको परिषद् गभर्नरको मनोनयनमा बनाउने योजना बन्यो । त्यसमा एन्क्रुमालाई राखिने थियो ।
एन्क्रुमाको परिवर्तनवादी दृष्टिकोणलाई बुझेर संयुक्त गोल्ड कोस्ट सम्मेलनको कार्यकारी समितिले एन्क्रुमालाई महासचिवबाट हटायो र बेलायत फर्कन १०० पाउन्ड दिने प्रस्ताव राख्यो । एन्क्रुमाले त्यो प्रस्तावलाई अस्वीकार गरे र पार्टी स्थापना गर्ने योजना बनाए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा