सन् १९८० को दशक दक्षिण अफ्रिकामा हत्याहिंसा, अपहरण, डकैती र दमनको दशक बन्यो । सन् १९७८ मा प्रधानमन्त्री जोन भोस्र्टर (John Vorster) लाई पदबाट राजीनामा दिन बाध्य पारियो । उनको ठाउँ रक्षामन्त्री पीडब्ल्यू बोथा (PW Botha) ले लिए । राष्ट्रप्रमुख र सरकार प्रमुख एकैजना व्यक्ति हुने गरी संविधान संशोधन गरियो । बोथाले दक्षिण अफ्रिकालाई पूर्णतः सैनिक शासनतर्फ धकेलिदियो । दक्षिण अफ्रिकी प्रहरी, सुरक्षा फौज (SADF), नवगठित अघोषित हत्यारा दल, नृशंस कोतेइट (Koevoet), दक्षिण–पश्चिम अफ्रिकी प्रहरी प्रतिआक्रमण दल आदि सबै रक्तपातपूर्ण अपराधहरूमा सक्रिय रहे । उनीहरू अफ्रिकाका अन्य देशहरूमा स्वतन्त्रता आन्दोलनका योद्धाहरूको हत्यामा समेत संलग्न रहेका थिए ।
बोथा सरकारअन्तर्गतको सुरक्षा फौजले हरारेमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको जिम्बाब्वे समितिका प्रमुख जो गाबी (Joe Gqabi) को सन् १९८१ मा हत्या ग¥यो । क्रिस हानीको गाडी चालक एवम् विश्वासपात्र सिज्वी कोन्डायल पनि बोथा सरकारको षड्यन्त्रमा मारिए । सन् १९८३ मा स्वाजिल्यान्डमा प्रवासमा रहेका काङ्ग्रेस नेता ज्वेली नायदाको हत्या गरियो । आन्तरिक सुरक्षा ऐनको आडमा उनीहरूले अरू धेरै रङ्गभेदविरोधी नेता–कार्यकर्ता र अभियन्ताहरूको हत्या गरे । उनीहरूले काङ्ग्रेस नेताहरू बसेका ठाउँ/घरमा बम विस्फोट गराउँथे । सन् १९८७ मा स्वाजिल्यान्डमा काङ्ग्रेसका अर्का वरिष्ठ नेता कासियस माकेको हत्या भयो । सन् १९८८ मा काङ्ग्रेसका पेरिस प्रतिनिधि दुल्से सेप्टेम्बरको पनि हत्या भयो ।
बोथाको दमनचक्रबिच राष्ट्रिय काङ्ग्रेसको सक्रियता अझ बढेको थियो । प्रमुख नेता टाम्बोमार्फत पार्टीलाई सहायता गर्नेहरूको सङ्ख्या अझ बढेको थियो । ३४ ओटा देशमा काङ्ग्रेसका प्रतिनिधि वा कार्यालय थिए । भर्खर स्वतन्त्र भएको देश जिम्बाब्वे र त्यहाँका प्रधानमन्त्री रोबर्ट मुगाबेजस्ता समग्र अफ्रिकी महादेशको स्वतन्त्रताका पक्षपातीहरूले दक्षिण अफ्रिकी मुक्ति आन्दोलनप्रति अतुलनीय सद्भाव प्रदर्शन गरेका थिए ।
सन् १९७० को दशकमा स्थापित एमकेको अङ्गोला शिविरमा जहिलेसुकै युद्धमा जान तयार तालिम प्राप्त १० हजारभन्दा बढी लडाकु थिए । तर, नेतृत्वले प्रस्ट कार्यदिशा दिन नसक्दा ती लडाकुहरूमा असन्तोष र निराशा छाएको थियो । उनीहरूले भावना बुझ्न सक्ने नेताका रूपमा क्रिस हानीलाई मात्र देखेका थिए । किनभने, उनी लडाकुहरूसँगै सुत्थे, तालिम लिन्थे र सामान्य कार्यकर्ताजस्तो व्यवहार गर्थे । गुप्तचरभित्र छिर्न सक्ने र आक्रमणको खतरा देखाएर पार्टीका अरू नेताहरूले लडाकुहरूलाई स्वयम्सेवकका रूपमा नभई कैदीको रूपमा व्यवहार गरेका थिए । यस्तो असन्तोषबिच लडाकुहरूले बेलाबखत विद्रोहसमेत गरे । सन् १९८४ मा भायना शिविर र पाङ्गो शिविरमा त्यस्ता विद्रोह भएका थिए । लडाकुहरूले हातहतियार कब्जा गरेर आफ्ना कमान्डर र अरू सिपाहीहरूको हत्या गरेका थिए । त्यस्ता गतिविधिले स्वतन्त्रता सङ्घर्षलाई क्षति पु¥याएको थियो ।
अङ्गोलाका शिविरहरूमा भएका यस्ता गडबडीबारे सत्यतथ्य अध्ययन गर्न अध्ययन समितिहरू गठन भए र तिनले सन् १९८४ सम्ममा शिविरका अधिकांश सदस्य त्यहाँका प्रशासकहरूसँग असन्तुष्ट भएको निचोड निकाले । खाना आपूर्ति, आवश्यक सामग्रीको उपलब्धतामा समस्या र महिला कामरेडहरूप्रतिको दुव्र्यवहार नै उनीहरूका प्रमुख असन्तुष्टिका विषय थिए । प्रशासकहरू बढी सुविधाभोगी हुने र सामान्य लडाकुलाई विभेद गर्दा असन्तुष्टि चुलिएको थियो । खेतीपातीका हिसाबबाट राम्रो ठाउँमा अवस्थित शिविरमा समेत कुहिएको तरकारी र फलफूल खुवाउनु, सजिलै पानी निकाल्न मिल्ने ठाउँमा समेत टाढाटाढाबाट पानी ओसार्न लगाउनु, नियमित स्वास्थ्योपचारको बन्दोबस्त नहुनु आदि कारणले लडाकु शिविर सरकारकै कुनै यातनागृहजस्ता बनेका थिए ।
कार्यकर्ता र लडाकुको भावना नजिकबाट सुन्ने र बुझ्ने नेता भएकाले क्रिस हानी यस्तो दुरवस्थाबाट आक्रोशित थिए । उनले भने, “यसरी हामीले मानिसहरूलाई बन्दी बनाउँदा सरकारसँग राजनीतिक बन्दीहरू रिहा गराउन माग गर्ने हामीसँग कुनै नैतिक हक हुनेछैन । हाम्रो नाममा त्यहाँ अन्याय र गलत काम भइरहेका छन् ।”
अङ्गोलाका लडाकुहरूको मनस्थिति क्रिस हानीले राम्ररी बुझेका थिए । किनभने, सन् १९६९ मा बोत्सवाना कारागारबाट मुक्त भएपछि उनले पनि त्यस्तै अवस्था सामना गर्नुपरेको थियो र ज्ञापनपत्र बुझाएको भन्दै कारबाहीसमेत भोग्नुपरेको थियो । लडाकुहरूलाई नियमित राजनीतिक कक्षा र असल नेतृत्वको अभाव भएकोले अङ्गोलामा त्यो अवस्था आएको हानीलाई राम्रोसित थाहा थियो । शिविर सुरु हुँदा क्युवाली प्रशिक्षक र पार्टीको नेतृत्वमा शिविर व्यवस्थित, सुसंस्कृतरूपमा उच्च तहको सैनिक तालिम सञ्चालन हुन्थे । राजनीतिक तालिम र स्तरवृद्धिलाई जोड दिइन्थ्यो । कसैले गल्ती गरे रचनात्मक सजाय दिइन्थ्यो र त्यसमा कार्यकर्ताकै पनि संलग्नता हुन्थ्यो । प्रशासन र लडाकुबिचको दैनिक सम्बन्ध बलियो र मैत्रीपूर्ण हुन्थ्यो । तर, सन् १९७९ मा नोभ कातेङ्गा शिविरमाथि दक्षिण अफ्रिकी हवाइसेनाले हमला गरेपछि सबै शिविरको अवस्था क्रमशः बिग्रँदै गयो । अङ्गोलाकै युनिटा दलको पटकपटकको आक्रमणलाई चुपचाप सहने परिपाटीले पनि दक्षिण अफ्रिकी लडाकुहरूमा हतास मानसिकता छाएको थियो ।
दक्षिण अफ्रिकाभित्र फिर्ता पठाइएका कार्यकर्तामध्ये ६० प्रतिशत गिरफ्तार भएकाले पार्टीमा सरकारी गुप्तचर घुसेको आशङ्का प्रबल थियो ।
तत्कालीन लडाकु शिविरभित्र भए गरेका ज्यान सजायबारे अनुसन्धान गर्न पछि गठित आयोगमा बोल्दै त्यति बेलाका दक्षिण अफ्रिकाका उपराष्ट्रपति थाबो एम्बेकीले सन् १९८० देखि १९८९ सम्म सैनिक विद्रोह, हत्या र बलात्कारको आरोपमा कम्तीमा ३४ जना लडाकुलाई ज्यान सजाय दिइएको बताए । क्रिस हानी लडाकुहरूको जथाभावी हत्याको विपक्षमा थिए । उनले भने, “एकजना कम्युनिस्टको नाताले मैले सधैँ व्यक्तिको मानवअधिकार रक्षा गर्नुपर्नेमा विश्वास गरेँ । कोही हाम्रो शत्रु नै भए पनि हामीले यातना र कुटपिट गर्नुहुन्न भन्ने मेरो विचार हो । यसो भनेर मैले राष्ट्रिय परिषद्मा धेरैलाई चिढाएको छु । तर, त्यहाँ यस्तो विचार राख्ने म मात्र थिइनँ ।”
सन् १९९० फ्रेबुअरी २ मा दक्षिण अफ्रिकी राष्ट्रपति डे क्लार्क (De Klerk) ले स्वतन्त्रता आन्दोलनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरे । सन् १९८० को दशकको उत्तराद्र्धमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस एउटा सम्पन्न सङ्गठन बनिसकेको थियो । तथापि पाङ्गो र क्वाट्रोे शिविरको विद्रोहले मुक्ति आन्दोलनभित्रका नालीबेली छताछुल्ल पारेको थियो । युनिटासँगको लडाइँमा लडे पनि आफ्नै देशभित्र लड्न नपाएको थकथकी थियो नै । उनीहरू जोहान्सबर्ग र केपटाउनका सडकहरूमा आमनेसामने लड्न चाहन्थे र रङ्गभेद अन्त्य गर्ने क्रान्तिकारी सपना पूरा नहुँदै विदेशी भूमिमै उमेर ढल्केकोमा पनि पछुताउँथे ।
क्रिस हानी दक्षिण अफ्रिकी योद्धाहरूलाई अङ्गोलाको क्रान्तिमा मात्र खटाउने विचारसँग सहमत थिएनन् । तर, काङ्ग्रेस सभापति टाम्बोको सामोरा मशेल र फ्रिलिमोसँग नजिकको सम्बन्ध थियो । उनी क्षेत्रीय एकताबद्ध सङ्घर्षमा जोड दिन्थे । उनी अन्तर्राष्ट्रवादी विचारका थिए ।
स्वतन्त्रता सङ्घर्षमाथिको प्रतिबन्ध फुकुवा भएसँगै नेल्सन मन्डेलालाई पनि रोबेन टापु कारागारबाट मुक्त गरियो । यसअघि सन् १९८९ अक्टोबरमा गोभान एम्बेकी, वाल्टर सिलुलुलगायत काङ्ग्रेसका नेताहरूलाई पनि रोबेन टापु कारागारबाट मुक्त गरिएको थियो । प्रवासिएका नेता–कार्यकर्ता र जनता क्रमशः स्वदेश फर्किँदै थिए । क्लार्कको घोषणाअघि लन्डनमा स्वतन्त्रता आन्दोलनकारी र गोरा शासकहरू (तीमध्ये प्रायशः व्यापारीहरू थिए) बिच वार्ता भएको थियो । त्यसैलाई आधार मानेर काङ्ग्रेसका उच्चपदस्थ पदाधिकारीबिच केही परिवर्तनको चर्चा भने चलेको थियो । लन्डन वार्तामा काङ्ग्रेसको तर्फबाट थाबो एम्बेकीले नेतृत्व गरेका थिए ।
राष्ट्रपति क्लार्कले दक्षिण अफ्रिकी संसद्मा भने, “सम्पूर्ण जनताका प्रतिनिधि नेताहरूबिच सहमतिबाट मात्र दिगो शान्ति दिन सक्छ भन्नेमा अफ्रिकाका व्यापक जनताको एकमत बन्न थालेको छ ।” फौजदारी अभियोग खेपेका आन्दोलनकारीबाहेक सम्पूर्ण राजबन्दीहरूलाई रिहा गरियो । स्वीडेनमा टाम्बोले निर्णयको सावधानीपूर्वक स्वागत गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद प्रणाली पूर्णरूपमा ध्वस्त नभएसम्म दक्षिण अफ्रिकामाथि दिइँदै आएको दबाब चालू राख्न आग्रह गरे । काङ्ग्रेस केन्द्रीय कार्यसमिति र रिहा भएका नेताहरूबिच स्टकहोममा आकस्मिक बैठक बस्यो । आगामी राजनीतिक मार्गचित्र कोर्नु नै त्यो बैठकको पहिलो उद्देश्य थियो ।
सन् १९९० फेब्रुअरी ११ को दिन नेल्सन मन्डेला जेलमुक्त भए । मे महिनामा उदारपन्थी राजनीतिकर्मी फ्रेडरिक भान जेल स्लाबर्टलगायत रङ्गभेदी सरकारका सुरक्षा प्रमुखहरू अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वसँग भेट्न लुसाका पुगे । उनीहरू दक्षिण अफ्रिकालाई प्रजातान्त्रिक दिशामा डो¥याउन मेलमिलाप र सहमतिको विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए ।
क्रिस हानी भने तत्काल सशस्त्र सङ्घर्ष परित्याग गर्ने नीतिको विपक्षमा उभिए । धेरै विषय अझ पनि समाधान भई नसकेको अवस्थामा त्यो नीति लिनु आत्मघाती हुने उनको ठहर थियो । “स्वतन्त्र राजनीतिक गतिविधिमाथि रोक लगाउने ऐन–कानुनहरू विद्यमान रहेको अवस्थामा एकपक्षीय ढङ्गले सशस्त्र क्रान्ति त्याग्नु अवस्तुगत छ,” उनले भने ।
एमकेको महत्वबारे बहस गर्दै उनले भने, “एमके सशस्त्र सङ्घर्ष परिचालक हो, उत्प्रेरक हो ।” एमकेसँग थोरै मात्र स्रोतसाधन हुँदा पनि युद्ध लडेको र दृढतापूर्वक अघि बढेको तथ्य दक्षिण अफ्रिकी युवाहरूको लागि गौरवको विषय थियो ।
लुसाका बैठकबाट केही महत्वपूर्ण सहमतिहरू भए – सैनिक भर्ती गर्नमा रोक लगाउने, सेना ५० प्रतिशतले घटाउने, कमान्डो प्रणाली खारेज गर्ने, भिड नियन्त्रणको लागि तालिम प्राप्त प्रहरीले निःशस्त्र हुनुपर्ने, दक्षिण अफ्रिकी रक्षा दल (एसएडीएफ), एमके, मातृभूमि सेना र अन्य मुक्ति सङ्घर्षका सेनासहित दक्षिण अफ्रिकी सेना पुनर्गठन गर्ने आदि । लुसाका बैठकपछि हानीले रङ्गभेदी नेसनल पार्टी विभाजित र कमजोर हुँदै गएको निष्कर्ष निकाले । राष्ट्रिय काङ्ग्रेस क्रमशः व्यापक र शक्तिशाली बन्दै थियो । काङ्ग्रेसमा काला जातिका व्यापारी र नेताहरू एकपछि अर्को गरी आबद्ध भइरहेका थिए ।
त्यस्तो परिस्थितिमा क्रिस हानीले कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षण दिनमा जोड दिए । निष्क्रियताले गर्दा भयावह अवस्था सिर्जना गर्न सक्दथ्यो । “हामीले कार्यकर्तालाई सङ्घर्ष र वार्ता दुवै आवश्यक भएको सिकाउनुपर्छ । वार्ता असफल भए पनि फेरि सङ्घर्ष गर्नेछौँ । मलाई लाग्छ हाम्रा शत्रुहरूको छलछामबाट हाम्रा कामरेडहरू चुपचाप नबसून् भनी हामीले कडा सङ्घर्ष गर्नुपर्छ,” हानीले भने ।
दक्षिण अफ्रिकामा
सन् १९९० मे ४ को दिन सरकार र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबिच ऐतिहासिक ग्रोट शूर माइन्युट (Grote Schuur Minute) मा हस्ताक्षर भयो । २८ अप्रिलको दिन क्रिस हानीले वर्षौँपछि जान स्मुट्स विमानस्थलको दक्षिण अफ्रिकी माटोमा पाइला टेके । उनलाई भर्खर रोबेन टापुबाट रिहा भएका टोकियो सेक्सवेलले स्वागत गरे ।
दक्षिण अफ्रिका फर्केपछिका दिनहरूमा क्रिस हानी र नेल्सन मन्डेलाकी श्रीमती बिन्नी मन्डेलाबिच निकट राजनीतिक सम्बन्ध रह्यो । गोरा दक्षिण अफ्रिकी कुलीनवर्गको निम्ति यो सम्बन्ध पाच्य हुन सकेन । तत्कालीन राजनीतिक अवस्थामा उनीहरू दुईजना मिलेर छुट्टै विद्रोही दल स्थापना गर्दै छन् भन्ने समेत चर्चा चलेको थियो । तर, सन् १९९१ मे महिनामा बिन्नीलाई अनेक लाञ्छना लगाइयो र मन्डेलासँग सम्बन्धविच्छेद भयो ।
हानीको अधिकांश समय कम्युनिस्ट पार्टीको सङ्गठन विस्तारमा व्यतीत भयो । ब्लेड एनजिमान्डे (Blade Nzimande) जस्ता युवाहरूको नेतृत्वमा पार्टीलाई जनस्तरमा पु¥याउन उनी सक्रिय थिए । त्यहीबिच उनी सन् १९९१ मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको महासचिव पदमा चुनिए । त्यसअघिका महासचिव जिओ स्लोभोलाई हृदयघात भएकोले उनी सक्रिय राजनीतिमा थिएनन् । स्लोभोका योग्य उत्तराधिकारी प्रमाणित हुन हानीले दिनरात मेहनत गरे र आफ्नो बृहत् व्यक्तित्व र क्षमता प्रदर्शन गर्न सफल भए । उनी पार्टी संरचनामा रहेका व्यक्तिहरूसँग सकेसम्म आत्मीय व्यवहार गर्थे, ताकि उनीहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिन सकियोस् । ५६ वर्षका क्रिस हानीमा गम्भीरता र परिपक्वता उचाइमा पुगिसकेको थियो ।
१९९० जुलाई १३ मा जोहान्सबर्गमा दक्षिणपन्थी समूहले गरेको बम विस्फोटमा परी २७ जना सर्वसाधारण घाइते भए । जातिवादीहरूले आफ्ना मित्रहरूको रिहाइको माग गर्दै त्यो विस्फोट गराएका थिए । त्यसको महिना दिनपछि त्रान्सकेइ विश्वविद्यालयको एउटा कार्यक्रममा बोल्दै हानीले सरकार लचिलो नभएमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले ‘सत्ता कब्जा गर्नुपर्ने’ विचार राखे ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा