लेसोथोमा
क्रिस हानी १९७२ मा कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सहसचिव बने । यसबिच गुरिल्ला तालिमका लागि उनी तीन महिना जर्मनीको बर्लिन छेउछाउ बसे । हानी दक्षिण अफ्रिकाभित्रै गएर स्वतन्त्रता आन्दोलन चर्काउन चाहन्थे । त्यसकारण, सन् १९७५ मा उनी भेष बदलेर जोहान्सबर्ग पुगे । तर, उनलाई त्यहाँ आश्रय दिन कोही पनि तयार भएनन् । चार महिना यताउता दुईतीन जनाको समूहमा भौतारिएपछि अन्ततः उनी दक्षिण अफ्रिकाकै एक भाग रहेको तर पछि अलग देश बनेको लेसोथो पुगे । त्यसअघि उनीहरूले सोमालियाको राजधानी मोगादिसुबाट आफ्ना कार्यकर्ता दक्षिण अफ्रिकाभित्र छिराउने प्रयास गरेका थिए । तर, त्यसो गर्दा धेरै कार्यकर्ता पक्राउ परेपछि लेसोथो नै गतिविधिको लागि उपयुक्त ठाउँ बन्न पुग्यो । लेसोथोमा हानीका पिता गिल्बर्ट पनि प्रवास जीवन व्यतीत गर्दै थिए । गिल्बर्ट आफ्नी अर्की श्रीमती एलिजाबेथ ‘रक्की’ माफिकिङ र ८ जना छोराछोरीसँग सानो पसल गरी बसेका थिए । माफिकिङ आफै एक मजदुर नेतृ थिइन् र केपटाउनबाट उनलाई निकाला गरिएको थियो । गिल्बर्टको सक्रिय राजनीतिक अभिरुचि र पहुँचले गर्दा हानीलाई त्यहाँ काम गर्न सहज थियो ।
लेसोथोमा बसेर हानीले मुक्ति सङ्घर्षमा टेवा पु¥याउने विविध गतिविधि गर्न थाले । हानीले पछि स्मरण गरे, “अब हामीले लेसोथोबाट देशभित्र विभिन्न एकाइ गठन गर्न थालेका थियौँ । देशभित्रै हामीले क्रमशः साङ्गठनिक सञ्जाल विस्तार गर्यौँ । हामी साथीहरूलाई गुरिल्ला युद्ध, राजनीतिक, गुप्तचरीजस्ता विषयमा तालिम दिन्थ्यौँ । म त्यो समय निकै उत्साहित थिएँ । त्रान्सभाल, अरेन्ज फ्रि स्टेट, केप र नातालबाट मानिसहरू त्यहाँ आइरहन्थे । मजदुर सङ्गठनसँग सम्पर्कमा थिएँ । म साँच्चै जीवन्त सम्पर्कमा थिएँ । म भित्रबाहिर गरिरहन्थेँ । ब्रान्सकेको तेर्कस्पुरियटमा कामरेडहरूसँग भेट्थेँ । लेसोथोबाट म केपटाउन, जोहान्सबर्ग, डर्बानमा केही दिनका लागि साथीहरू परिचालन गर्थे । थोरै मात्र बैठक हुन्थे । हामी रणनीतिबारे छलफल गथ्र्यौँ । … थेनजिबे थिन्स्तो (Thenjiwe Mthinsto) जस्ता प्रतिभाशाली युवाहरू हामीसँग थिए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र हाम्रो सङ्घर्ष बिचको भिन्नताबारे हामी उनीहरूलाई बुझाउँथ्यौँ । तालिम दिइएकामध्ये राम्रा–राम्रा कार्यकर्तालाई देशभित्र परिचालन गथ्यौँ ।”
एमकेले लेसोथोलाई तालिम क्षेत्र, भर्तीकेन्द्र र दक्षिण अफ्रिकाभित्र छिर्ने मुख्य नाकाको रूपमा उपयोग गर्यो । क्रिस हानीका गतिविधि चाँडै केन्द्रीय गतिविधिको महत्वपूर्ण हिस्सा बने । सन् १९७५ मा हानी सैनिक कमिसारमा पदोन्नति भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको राष्ट्रिय परिषद्मा उनलाई मनोनीत गरियो । तर, सन् १९७६ को सुरुतिर क्रिस हानीलाई लेसोथो प्रशासनले गिरफ्तार गर्यो । लेसोथो प्रहरी प्रशासनले दक्षिण अफ्रिकी प्रशासनसँग नजिक रहेर काम गथ्र्याे । हानी र उनीसँगै गिरफ्तार भएका कामरेडहरूलाई निर्मम यातना दिइयो । लेसोथो सरकारले हानी र मोलोइमाथि प्रतिबन्धित बीसीपी पार्टीलाई आर्थिक सहायता दिएको र लेसोथो सरकारको फर्जी कागजात बनाएको अभियोग लगाएको थियो । लेसोथो सरकार उनीहरूलाई दक्षिण अफ्रिकालाई सुपुर्दगी गर्ने तयारीमा थियो । तर, पार्टीको पहलले त्यो तयारी सफल भएन ।
सन् १९७६ ताका दक्षिण अफ्रिकाभित्र रङ्गभेदविरोधी काला सचेतना आन्दोलन (Black Consciousness Movement-BCM) त्यहाँका युवाहरूबिच निकै चर्चित थियो । १९७६ जून १६ को दिन २० हजार दक्षिण अफ्रिकी युवा विद्यार्थीले ऐतिहासिक प्रदर्शन गरे । ‘अफ्रिकान’ भाषा जबरजस्ती थोपरेको विरुद्धमा चर्केको त्यो सङ्घर्ष सेतो आन्दोलनको नामले चर्चित बन्यो । तर, तत्कालीन सरकारले त्यसलाई नराम्ररी दबाइदियो । हजारौँ युवाहरू देश छोड्न बाध्य भए । सन् १९७७ मा बीसीएमका नेता लिन्दा म्ती (Lingda Mti) को ३१ वर्षको उमेरमा कारागारभित्र हत्या गरियो । सरकारी दमनको कोपभाजनबाट बच्न देश छोडेका युवाहरूको लागि लेसोथो उपयुक्त आश्रयस्थल बन्यो । त्यहाँ उनीहरूको क्रिस हानीसँग भेट भयो । कालान्तरमा तत्कालीन समयको स्मरण गर्दै हानीले भने, “सन् १९७६ अफ्रिकी काङ्ग्रेस र सशस्त्र सङ्घर्षको निम्ति उपयुक्त समय थियो । किनभने, देशभित्रबाट ठुलो सङ्ख्यामा कार्यकर्ता हाम्रो सम्पर्कमा आएका थिए । ती कार्यकर्ताहरू फरक खालका थिए – आक्रोशित र अधैर्य । उनीहरू जतिसक्दो चाँडो रङ्गभेद अन्त्य गर्न चाहन्थे । ठुलो अपेक्षा र बलिदानी भावनाका साथ उनीहरू देशबाहिर समय खेर फाल्ने पक्षमा थिएनन् । उनीहरू देशभित्र गएर दैत्यसँग भिड्न चाहन्थे ।”
यसरी आएका युवाहरू ३४ वर्षका हानीको बौद्धिकता, दक्षिण अफ्रिकाभित्रको राजनीतिक अवस्था र उनको सरल व्यवहारबाट प्रभावित हुन्थे । उनीहरूलाई राजनीतिक प्रशिक्षण दिने काम हानीकै थियो । सबभन्दा प्रतिभाशाली र अनुशासित प्रशिक्षार्थीहरूलाई कम्युनिस्ट पार्टीको सदस्यता लिन उत्साहित गरिन्थ्यो । ‘वर्गसङ्घर्षमा आधारित राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति’ को पक्षमा हानीको दृष्टिकोण प्रस्ट थियो । कम्युनिस्ट पार्टीको सदस्यता पाउनु सम्मानको विषय थियो र त्यो काम गोप्यरूपमा हुन्थ्यो ।
प्रशिक्षण प्राप्त गरिसकेका युवाहरूलाई भूमिगत गतिविधिमा परिचालन गरिन्थ्यो । उनीहरू पार्टीको साहित्य प्रकाशनमा सहयोग गर्थे । तर, उनीहरू एकले अर्काको कामबारे थाहा पाउँदैनथे । सबैले भूमिगत नाम प्रयोग गर्थे । तालिमको प्रारम्भिक पाठ नै सुरक्षा प्रबन्धसम्बन्धी हुन्थ्यो । देशभित्र पस्ने टोलीमा दुईदेखि तीनजना मात्र हुन्थे । प्रत्येक टोलीको एकजना टोली नेता हुन्थ्यो र त्यो टोली नेता हानीको प्रत्यक्ष सम्पर्कमा रहन्थ्यो । त्यस्ता टोलीको आयु बढीमा तीन वर्षको मात्र हुन्थ्यो । लेसोथोमा हतियार प्रायशः चिहानघारीमा लुकाउने गरिन्थ्यो ।
सन् १९७८ को अक्टोबर महिनामा क्रिस हानी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको टोलीमा सम्मिलित भई भियतनाम गए । गुरिल्ला युद्धसम्बन्धी भियतनामी अनुभवबाट सिक्नु नै भ्रमणको प्रमुख लक्ष्य थियो । उत्तर र दक्षिण भियतनामबिचको समन्वयकारी गुरिल्ला युद्धले अमेरिकी साम्राज्यवादलाई समेत लघारेको थियो । मुक्तिकामी दक्षिण अफ्रिकी योद्धाहरू त्यो पद्धति सिक्न लालायित थिए ।
लेसोथोबाट भूमिगत गतिविधिलाई तीव्रता दिने क्रम चालु थियो । त्यसैबिच सन् १९७८ मा क्रिसकी श्रीमती लिम्फो हानी गिरफ्तारीमा परिन् । लेडीब्रान्डबाट पश्चिमी केपमा खबर पु¥याउने क्रममा उनलाई गिरफ्तार गरिएको थियो । आतङ्कवाद नियन्त्रण ऐनअन्तर्गत उनलाई सुरुमा केपटाउन र पछि ब्लोयमफोटियन लगियो । चरम यातनाले उनको गर्भसमेत तुहियो ।
लेसोथोमा क्रिस हानीको निवासलाई ‘मस्को’ भनिन्थ्यो । त्यहाँ गुप्तचरहरूको सदैव निगरानी हुन्थ्यो । धेरैपटक हानीको हत्या प्रयास पनि भएको थियो । प्रातःकालीन भ्रमणको क्रममा उनको हत्या प्रयास भएको थियो । तर, दैनिकरूपमा फरकफरक बाटो प्रयोग गर्ने भएकाले तिनीहरू असफल हुन्थे । दक्षिण अफ्रिकी सरकार लेसोथोमा हानीको नेतृत्वमा भइरहेका गतिविधिबारे क्रमशः सचेत बन्दै थियो । त्यसकारण, दक्षिण अफ्रिकी सरकारले हानीको हत्या गर्न उनले प्रयोग गरेको कारमा विस्फोटक पदार्थ जडान गरी विस्फोट गरायो । तर, त्यसबाट कुनै मानवीय क्षति भएन । हानीको गाडीका चालकलाई अपहरण गरी अमानवीय यातना दिइयो ।
कार विस्फोटको घटनापछि हानी परिवार ‘मस्को’ नामको घर छोडेर क्युना फ्ल्याटमा सर्यो ।
सन् १९८२ मा लेसोथोमा एमकेका केही उल्लेखनीय कारबाही भए । लाङ्गा आयुक्तको अदालतमा मार्च २० मा बम विस्फोट गराइयो । जून ४ मा केपटाउनस्थित राष्ट्रपतिको परिषद् भवनमा अर्को बम विस्फोट गराइयो । त्यस्तै पूर्वी केपमा पनि केही विस्फोट गराइए । ती घटनापश्चात् अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले हानीलाई लुसाका आउन निर्देशन दियो । हानीको अनेक पटकको हत्या प्रयासका कारण उनलाई त्यता बोलाइएको थियो । तर, हानीको लुसाका प्रस्थानसँगै लेसोथोमा गतिविधि नेतृत्वविहीन बन्न पुग्यो ।
दक्षिण अफ्रिकी मुक्ति सङ्घर्षमा क्रिस हानीको सक्रिय नेतृत्वसँगै सरकारले उनीविरुद्धको हमला तीव्र पारेको थियो । ‘द सिटिजन’ लगायत सरकार पक्षधर सञ्चारमाध्यमहरूले उनीविरुद्धको दुष्प्रचारलाई व्यापक बनाएका थिए । ती सञ्चारमाध्यमहरूले हानीलाई ‘रक्तपिपासु कालो कम्युनिस्ट’ का रूपमा चित्रण गरेका थिए । काला अफ्रिकी जनता बस्ने सहर र गाउँबस्ती त्यतिबेला अशान्त थिए । गुप्ती प्रहरी र सेनाको सक्रियता बढ्दो थियो । सरकार स्वयम् काला जातिको हत्या, आतङ्क र हिंसामा तल्लीन थियो । युवा र ज्येष्ठ नागरिकहरूको निर्मम हत्याका समाचार दैनिकजसो छापिन्थे । महिलाहरू बलात्कृत हुन्थे, स्कूले केटाकेटीसमेत कुटपिटको सिकार बन्थे । त्यहाँ काला जातिका जनता अर्को दिन बाँच्ने हो होइन, ठेगान हुन्थेन । यस्तो परिस्थितिमा हानीले भने, “गोराहरूले यतिबेला देश गृहयुद्धमा भएको बुझ्न आवश्यक छ ।” तर, गोराहरूका बस्ती भने शान्त थिए । “उनीहरूको जीवन राम्रो छ । उनीहरू सिनेमा हेर्न जान्छन् । भोजभतेरमा मोजमस्ती गर्छन् । होटेलमा निर्भय रमाउँछन् । त्यसले उनीहरूको जीवन सुन्दर भएको प्रस्ट देखाउँछ । हाम्रो पार्टीको एउटा कार्यक्रम त्यो सुन्दर जीवन बिथोल्नु पनि हो,” एउटा अन्तर्वार्तामा ३९ वर्षीय हानीले भनेका थिए ।
दक्षिण अफ्रिकाका गोराहरूको एक समूह भने अफ्रिकी राष्ट्रिय काङ्ग्रेससँग वार्ता गर्न जाम्बिया पुग्यो । काङ्ग्रेस सभापतिले आफ्नो वार्ता टोलीमा हानी र थाबो एम्बेकीलाई समावेश गरेका थिए । हानी र एम्बेकी दुई दिशाका भिन्न पात्र थिए । एम्बेकी अधैर्य स्वभावका थिए । हानी कम्युनिस्ट विचारधाराप्रति प्रतिबद्ध थिए । एम्बेकी मूलतः बेलायतका उदार सामाजिक प्रजातन्त्रवादीहरूबाट प्रभावित थिए । सन् १९७०–१९८० को दशकमा एम्बेकी पनि कम्युनिस्ट पार्टी सदस्य थिए । तर, पछि उनले त्यसबाट राजीनामा दिए । उनी भावुकतावश र कम्युनिस्ट पार्टीको बौद्धिक प्रस्तुतिका कारण मात्र त्यसको सदस्य बनेका थिए । हानी र एम्बेकीबिच मतभेदहरू थिए । एम्बेकी स्वतन्त्रता सङ्घर्षलाई प्रजातान्त्रिक दिशातर्फ डो¥याउन चाहन्थे । हानी मुक्ति आन्दोलनलाई आमूल परिवर्तनसँग जोड्न चाहन्थे । यही मतान्तरका कारण सन् १९८७ मा सेनेगलको डकारमा दक्षिण अफ्रिकी प्रजातान्त्रिक विकल्प प्रतिष्ठानसँगको वार्तामा हानी सहभागी भएनन् । हानीबारे दक्षिण अफ्रिकी प्रजातान्त्रिक विकल्प प्रतिष्ठानका संस्थापक आलेक्स बोरानीले आफ्नो संस्मरणमा लेखेका छन्, “उनी दृढ निश्चयी माक्र्सवादी थिए । उनी मूलतः दक्षिण अफ्रिकामा आर्थिक न्यायको कुरा गर्थे । निःसन्देह त्यतिबेला उनी समाजवादी ढाँचाको अर्थतन्त्रप्रति गम्भीर ढङ्गले कटिबद्ध थिए । उनी डकार वार्तामा सहभागी भएनन् र उनीसँग मेरो दोस्रोपटक भेट पनि भएन । तर, उनका भाषण र पहिलो भेटपछि उनीप्रति मेरो धारणा यस्तो रह्यो उनी ज्यादै विद्वान्, गम्भीर प्रकृतिका व्यक्ति हुन् ।”
सन् १९८५ जुलाईमा दक्षिण अफ्रिकाको सत्तासीन नेसनल पार्टीको सरकारले काला जातिका जनता बस्ने सहरमाथि नियन्त्रण जमाउन आंशिक सङ्कटकाल थोपर्यो । तर, त्यही वर्ष युरोपेली आर्थिक समुदाय आयोगले दक्षिण अफ्रिकाबाट लगानी फिर्ता गर्न आह्वान गरेपछि समुदायका १० देशहरूले तत्काल लगानी रोके । फ्रान्सले लगानीमाथि प्रतिबन्ध नै लगायो । यसले नेसनल पार्टीलाई संवादको बाटोमा आउन बाध्य पार्यो । यद्यपि नाकाबन्दीको सिकार फेरि पनि दक्षिणी अफ्रिकी शोषितपीडित जनता नै भए । जनताको जीवन थप कष्टकर बन्यो, गोराहरूको जीवनमा भने कुनै तलमाथि भएन ।
मन्डेलापछिका लोकप्रिय नेता
सन् १९८५ मा दक्षिणी अफ्रिकी कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशन मस्कोमा भयो । महाधिवेशनले भर्ती प्रक्रियालाई व्यापक बनाउने तय गरेसँगै सशस्त्र सङ्घर्षको नीति अझ प्रस्टसँग पारित ग¥यो । क्रिस हानी सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्य निर्वाचित भए । उनी नेल्सन मन्डेलापछि सबभन्दा लोकप्रिय नेताका रूपमा स्थापित भए । त्यही वर्ष अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको काब्वेमा सम्मेलन भयो । पहिलोपटक काङ्ग्रेसको राष्ट्रिय कार्य समिति निर्वाचित गरियो । त्यहाँ पनि हानी लोकप्रिय नेताको रूपमा चुनिए । नेतृत्वलाई जनता र कार्यकर्ताप्रति उत्तरदायी बनाउन काङ्ग्रेसले पहिलोपटक चुनावबाट नेतृत्व चयन गरेको थियो । काङ्ग्रेसमा निर्वाचित २९ केन्द्रीय सदस्यमध्ये २४ जना कम्युनिस्ट थिए । काङ्ग्रेस सभापति जिओ स्लोभोलगायत पोलिटब्युरो सदस्यहरूमा हानीसहित पाँचजना कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू थिए । हानी त्यो सम्मेलनबाट सेनाको उपप्रमुख तथा कमिसार अनि काङ्ग्रेसको राजनीतिक सैनिक परिषद्को सदस्यमा पनि निर्वाचित भए । सन् १९७६ यता फेरि एकपटक उनी काङ्ग्रेसको क्रान्तिकारी परिषद्को सदस्यमा चुनिए । काब्वे सम्मेलनपछि हानीको जिम्मेवारी बढेको थियो र मुक्ति आन्दोलनका सबै अङ्गमा उनको प्रभाव विस्तार भयो । यसअघि सन् १९८३ को सुरुतिर रुवान्डामा भएको सम्मेलनमा काङ्ग्रेसको राजनीतिक र सैनिक अङ्गबिच उपयुक्त समन्वय नहुँदा त्यो सम्मेलन परिणामशून्य भएको थियो ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा