वान्के कारबाही
सन् १९६६ को अन्त्यसम्ममा लडाकुको पूर्वतयारी लगभग भइसकेको थियो । हानी, टाम्बो, जेबी माक्र्स, मोजेस कोटानी र थोमस कोबीलगायतले रोडेसियामा संयुक्त सेना पठाउने विषयमा जापुसँग वार्ता गरिसकेका थिए । यी दुई सङ्गठनबिचको सम्बन्ध त्यतिबेला प्रगाढ बनिसकेको थियो । कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरू एकअर्कोलाई आपसी सहयोग गर्ने गर्थे । लुसाकामा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको मुख्यालय स्थापना गर्न जापुले महत्वपूर्ण सहयोग गरेको थियो । उच्च तहको सैनिक नेतृत्व काङ्ग्रेसका टाम्बो र जापुका उपसभापति जेम्स चिकेरेमाराले गरेका थिए । लुसाका बसाइँकै क्रममा हानी र जिप्राका कमान्डर जोन डुबेले ‘वान्के कारबाही’ को योजना बनाएका थिए ।
दक्षिण अफ्रिकाभित्र स्वतन्त्रता आन्दोलन कमजोर देखिँदा जनता र स्वतन्त्रता सेनानीहरूमा एक प्रकारको निराशा छाएको थियो । त्यो निराशा तोड्न हानीलगायतका नेताहरू चाँडोभन्दा चाँडो आफ्नो देशभित्र पसी भूमिगत गतिविधि गर्न लालायित थिए । तर, उनीहरूसामु एउटा गम्भीर प्रश्न थियो– दक्षिण अफ्रिका पस्ने कसरी ? आफूसँग सेना भएकाले कुनै उपयुक्त समयको प्रतीक्षा गरिरहनु नपर्ने विचार चर्कोसँग उठेको थियो । जस्तै कठिन भूगोल, प्रतिकूल राजनीतिक अवरोध छिचोलेर पनि देशभित्र पस्नुपर्ने भावनाले काम भइरहेको थियो । तर, दक्षिण अफ्रिका वरपरका देशहरू अङ्गोला, मोजाम्बिक र रोडेसिया सबै साम्राज्यवाद अधिनस्थ थिए । भाषागत समस्या, दुरूह जङ्गली भूगोल, कमजोर राजनीतिक एवम् सैनिक प्रभावका कारण त्यतिबेला हानीलगायतका सैनिक नेताहरूले बनाएको योजना साहसिक भए तापनि अव्यावहारिक सिद्ध हुन पुग्यो ।
रोडेसिया पार गर्ने कठिनाइ छिचोल्न हानीले भियतनाम युद्धको समयमा प्रचलित ‘हो चि–मिन्ह पदमार्ग’ को अनुभव उपयोग गर्ने प्रयत्न गरे । लडाकुलाई आवश्यक सरसामग्री आपूर्ति गर्न भियतनामी अनुभवको सिको गर्दै काठे पुलहरूको निर्माणमा जोड दिइयो ।
सन् १९६० को मध्यावधिसम्म दक्षिण अफ्रिकी सरकारको चर्को दमनका कारण त्यहाँभित्रका मुक्तिकामी शक्तिहरूको हौसला मरिसकेको थियो । प्रम भेर्वर्डको सन् १९६६ सेप्टेम्बरमा संसद् भवनभित्रै हत्या भएपछि जोन भोस्र्टर दक्षिण अफ्रिकाको प्रधानमन्त्री बनेका थिए । भोर्स्टर र रोडेसियाका प्रधानमन्त्री इयान स्मिथ स्वतन्त्रता आन्दोलन दबाउन दृढ निश्चयी थिए ।
सन् १९६७ को जुलाई २१ मा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सभापति अल्बर्ट लिथुलीको हत्या भयो । लिथुली सन् १९६१ मा नेल्सन मन्डेलाको नेतृत्वमा गठित लडाकु दस्ता एमकेको विपक्षमा थिए । रङ्गभेदी सत्ताले उनको दललाई प्रतिबन्ध लगाएपछि उनको प्रभाव क्रमशः कमजोर बन्दै थियो । तथापि उनको हत्याले केही जटिलता निम्त्यायो । उनको पद टाम्बोले सम्हाल्न पुगे । त्यतिञ्जेल हानीले नेतृत्व गरेको लडाकु दल रोडेसियाभित्र पसिसकेको थियो ।
सन् १९६७ अगस्ट १३ मा रोडेसियाको वान्के क्षेत्रमा हानीले नेतृत्व गरेको लडाकु दल र रोडेसियाली सेनाबिच भीषण लडाइँ भयो । जाम्बेजी नदी तरेर दिउँसै अँध्यारो हुने र जङ्गली जनावरको भय हुने भयानक जङ्गल छिचोलेर गुरिल्ला शैलीमा भएको त्यो हमलाले निराश र क्लान्त दक्षिण अफ्रिका र रोडेसियाको स्वतन्त्रता आन्दोलनमा उत्साहको सञ्चार गर्यो । सो लडाइँपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सभापति टाम्बोद्वारा प्रकाशित वक्तव्यमा भनिएको थियो, “यो महिनाको १३ तारिखमा वान्के क्षेत्रमा स्वतन्त्रता सेना र रोडेसियाका श्वेत दमनकारी सेनाबिच अभूतपूर्व साहसिक लडाइँ भयो । गएको रातिमात्र रोडेसियाली सरकारले अघिल्लो दिन ६ घण्टा लामो लडाइँ भएको स्वीकार्यो । वास्तवमा त्यो क्षेत्रमा विगत ६ दिनदेखि लगातार लडाइँ भइरहेको छ। रोडेसिया र दक्षिण अफ्रिकी सत्ता दुवैले अफ्रिकी राष्ट्रिय काङ्ग्रेससम्बद्ध दक्षिण अफ्रिकी स्वतन्त्रता लडाकुहरू त्यो युद्धमा वीरतापूर्वक सरिक भएको स्वीकारेका छन् । उनीहरू दक्षिण अफ्रिका जाने क्रममा आइपर्ने तगाराविरुद्ध लडिरहेका छन् ।”
वान्केको लडाइँपछि विश्वले दक्षिण अफ्रिकामा एकजना साहसिक योद्धा क्रिस हानीको ज्वलन्त उपस्थिति स्वीकार्यो । क्रिस हानीको गौरव त्यही लडाइँबाट औपचारिकरूपमा आरम्भ भयो । वान्के लडाइँबाट हानी ‘लडाइँमा संलग्न एकजना प्रशंसित नेता र छुट्टै प्रकारको अनौपचारिक र अखण्डित प्राधिकार’ को रूपमा स्थापित भए ।
काङ्ग्रेस सभापति लिथुलीप्रति सम्मान व्यक्त गर्दै टाम्बोले हानी नेतृत्वको लडाकु दलको नाम ‘लिथुली दस्ता’ घोषणा गरेका थिए । हानीले पनि टाम्बोजस्ता व्यावहारिक, दुःख सहन सक्ने, सुविधा नखोज्ने, मिहिन जानकारीसहित नेतृत्व गर्ने नेताको प्रशंसा गरेका थिए ।
१३ अगस्टको लडाइँपश्चात् २५ अगस्टमा लिथुली दस्ताविरुद्ध रोडेसियाली सेनाले अर्को हमला गर्यो । हेलिकप्टरबाट लडाकुहरूमाथि गोली वर्षा गरियो । तर, अघिल्लो विजयबाट उत्साहित ‘लिथुली दस्ता’ थप बहादुरीका साथ लड्यो र रोडेसियाली सेनालाई नराम्रोसँग पराजित गर्न सफल भयो ।
वान्के कारबाहीको सफलतासँगै लडाकुहरू जति हर्षित थिए उति नै रसदपानीको अभावले उनीहरूको दिनचर्या क्रमशः कठिन बन्दै थियो । त्यसैमाथि शत्रु सेनाले थप शक्ति परिचालन गर्ने निश्चित थियो । त्यस अवस्थामा लडाकु दस्ता दक्षिणतर्फ अघि बढ्न गा¥हो हुने थियो । तसर्थ, दस्तालाई बोत्सवानातर्फ लाने तय भयो । दक्षिण अफ्रिका सरकारले बोत्सवाना सरकारलाई लडाकु दस्तालाई दक्षिणतर्फ जानबाट रोक्न दबाब दियो । दक्षिण अफ्रिकी सेनासँग मिलेर रोडेसियाली सेनाले बोत्सवानामा गतिविधि बढाएको थियो । बोत्सवानाको अर्धसैनिक दस्ताले पनि उनीहरूलाई बोत्सवाना पस्नबाट रोक्यो ।
बोत्सवाना अफ्रिकी सङ्घ (ओएयु) को सदस्य भएकाले सिद्धान्ततः दक्षिण अफ्रिकाको मुक्तिका लागि प्रतिबद्ध थियो । तसर्थ, हानी नेतृत्वको टोलीले बोत्सवानाको अर्धसैनिक बलसँग नलड्ने राजनीतिक निर्णय गर्यो । त्यसैअनुसार बोत्सवानाका अर्धसैनिक बलसँग भेट हुँदा मेलमिलापको व्यवहार गरियो । बोत्सवाना अर्धसैनिक दलले उनीहरूलाई बिथोल्न नचाहेकोले आत्मसमर्पण गर्न आग्रह गरे । गिरफ्तार नगर्ने सर्तमा उनीहरूले पनि आत्मसमर्पण गरे । आत्मसमर्पण गरेपछि मात्र रहस्य खुल्यो, ती बोत्सवाना अर्धसैनिक बल बेलायत र दक्षिण अफ्रिकी श्वेत अधिकारीहरूबाट निर्देशित रहेछन् । हानीलगायतका दस्तालाई हतकडी लगाएर जेल पठाइयो । दुई वर्ष उनीहरू जेल जीवन बिताउन बाध्य भए ।
तथापि, वान्के सैनिक कारबाहीबाट धेरै महत्वपूर्ण पाठ सिकिएको थियो । कुनै पनि सैनिक कारबाही थाल्नुअघि सो ठाउँ स्थानीय जनता, शत्रु सेनाको अवस्था आदिबारे प्रशस्त जानकारी आवश्यक हुने कुरा सो घटनाका मूलभूत पाठ थिए ।
गाबोरोन कारागारको जीवन त्यति सहज थिएन । लिथुली विद्रोही दलका सदस्यलाई लगाउन दिइएको पोसाकसमेत अपमानजनक थियो । लगाउने जुत्ता थिएन । सुत्न दिइएका सिरक डस्ना निकै फोहोर थिए । जेल जीवनको स्मरण गर्दै पछि क्रिस हानीले भने, “त्यो सजाय थियो । हामीले त्यसरी नै लियौँ । सजायलाई पनि हामीले सङ्घर्षको रूपमा लियाँ किनभने यदि म स्वतन्त्रता चाहन्छु भने मैले केही बलिदान गर्न पनि तयार हुनुपर्छ ।”
जेलबाट भाग्न गरिएको प्रयासका कारण विद्रोहीहरूमाथि निगरानी थप कडा बनाइयो । बाहिर हिँडडुल गर्ने छुटसमेत दिइएन ।
वान्के कारबाही सैनिक दृष्टिबाट आफ्नो लक्ष्य प्राप्तिमा असफल भएको थियो । तर त्यो जिम्बाब्वेको स्वतन्त्रता आन्दोलनको निम्ति कोशेढुङ्गा साबित भयो । जिम्बाब्वेका जनताले त्यसको प्रभाव महसुस गरे । शत्रुले त्यो कारबाहीबारे चाहेर पनि सूचना लुकाउन सकेन । तसर्थ कारबाही लक्ष्य प्राप्त गर्न असफल भए पनि जनतालाई उत्साहित गर्न सफल रह्यो ।
क्रिस हानी भन्छन्, “हामी दक्षिण अफ्रिकी जनतालाई पनि राजनीतिक रूपमा उत्साहित गर्न सफल भयौँ । किनभने, अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबारे लामो समयसम्म चुपचाप रहेको दक्षिण अफ्रिकी सञ्चारजगतले काङ्ग्रेसका गुरिल्लाहरू वान्के वरपर लडाइँ गर्दै जिम्बाब्वे छिचोलिरहेका छन् भनी समाचार लेख्दै थिए । त्यो घटनालगत्तै दक्षिण अफ्रिकामा विद्यार्थी आन्दोलन चर्कियो । कालो सचेतना (The Black Consciousness) र दक्षिण अफ्रिकी विद्यार्थी सङ्गठन (SASO) यही अवधिमा स्थापना भए । यसप्रकार हामीले युवाहरूबिच सशस्त्र सङ्घर्षको प्रभाव विस्तार गर्न र उत्साह जगाउन सफल भयौँ ।”
गाबोरोन जेल जीवन क्रिस हानीको निम्ति वान्के हमलाको समीक्षा र भावी योजना तर्जुमा गर्न राम्रो अवसर हुन गयो । साथै, रोडेसियाका झाडीको लामो यात्रा (झन्डै २ सय किमि) पश्चात् उनले त्यहाँ आफ्नो अध्ययनलाई निरन्तरता दिए । त्यस अर्थमा हानीको लागि कारागार जीवन आफैमा सङ्घर्षको बदलिँदो रूप मात्र थियो । कठोर जेल जीवन बिताएर हानी र उनका सहयोद्धाहरू लुसाका फर्के । तर, त्यहाँ नेतृत्व तहमा बसेकाहरूको मौनता र निष्क्रियताले हानीलाई पिरोल्न थाल्यो । अफ्रिकी काङ्ग्रेस एक प्रकारले छिन्नभिन्न अवस्थामा थियो । नेताहरू कोही व्यापार व्यवसायमा तल्लीन थिए, कोही आफ्नो वृत्ति विकासको लागि युरोपका विभिन्न देशमा भौँतारिरहेका थिए । नातावाद, सुविधाभोगी चरित्रले डरलाग्दो प्रभाव पारिसकेको थियो ।
क्रिस हानीसँगै आठजना पार्टी कार्यकर्ताहरूले त्यस्तो अवस्था अन्त्यको लागि ज्ञापनपत्र दिने निक्र्योल गरे । उनीहरूले काङ्ग्रेस र एमकेको साँचो अर्थमा प्रतिनिधिमूलक सम्मेलनको माग गरे। सबैजनाले ज्ञापनपत्रमा हस्ताक्षर गरे । सबैभन्दा माथि क्रिस हानीको नाम थियो । त्यसबेला क्रिस हानी भर्खर २६ वर्षका थिए । ७ पृष्ठ लामो ज्ञापनपत्र काङ्ग्रेस नेतृत्वलाई बुझाइयो । ज्ञापनपत्रमा नेतृत्वको कार्यक्षमताप्रति तिखो आलोचना गरिएको थियो । ज्ञापनपत्रको विषयले अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्यहरूबिच ठुलो तरङ्ग फैलायो । हानी र ज्ञापनपत्रमा हस्ताक्षर गर्ने अरू सदस्यहरूलाई वान्के हमला र त्यसपछिको कठोर जेल जीवनबाट फर्केपछि स्वागत गर्न समेत लुसाकामा कोही गएको थिएन । उनीहरूसँग अनुभव सुन्ने र नयाँ योजनाबारे सोध्ने पनि कोही थिएन । थप सशस्त्र हमलाको कुरा त झन् टाढाको विषय बनेको थियो । नेतृत्वसँग थप कुनै कार्ययोजना थिएन ।
त्यस्तो परिस्थितिको परिणाम थियो ज्ञापनपत्र । तर, नेतृत्व त्यसप्रति सहमत थिएन । उनीहरूले ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरू कसैबाट परिचालित भएको भन्दै मृत्युदण्ड दिनेसम्मको तयारी गरे । तर, हानीलाई केही भए त्यसको परिणाम नकारात्मक हुने धारणा प्रबल हुन जाँदा मृत्युदण्ड दिने निर्णय फिर्ता भयो । आफ्नो छोरालाई सम्भावित मृत्युदण्डबाट जोगाउन हानीका पिता तत्कालीन सोभियत सङ्घ र जर्मनीका राजदूतहरूसामु पुगेका थिए । १९६९ अप्रिल २५ मा तान्जानियाको मोरोगोरोमा हुने सम्मेलनमा ज्ञापनपत्र सम्बन्धी यप छलफल चलाउने टुङ्गो लगाएर तत्काललाई मृत्युदण्डको निर्णय फिर्ता लिइयो ।
मोरोगोरो सम्मेलन
मोरोगोरो सम्मेलन (सन् १९६९) सम्ममा ४१ ओटा अफ्रिकी देशहरूले स्वतन्त्रता हासिल गरिसकेका थिए । मोजाम्बिक, अङ्गोला, दक्षिणपश्चिम अफ्रिका, रोडेसिया र दक्षिण अफ्रिकामा भने अझै उपनिवेश थियो । सम्मेलनले काङ्ग्रेसलाई पूर्ण सैनिकीकरण नगर्ने, सशस्त्र सङ्घर्षले मात्र सफलता प्राप्त गर्न नसक्ने भएकाले राजनीतिक सङ्घर्षलाई पनि जोड दिने निर्णय गर्यो । रङ्गभेद शत्रुले थोपरेको भेद भन्दै सम्मेलनले गोरा र काला जातिका श्रमिक जनताको भाग्य अन्तर्सम्बन्धित भएको निचोड निकाल्यो । जिओ स्लोभोले तयार पारेको कार्यनीतिक तथा रणनीतिक दस्ताबेजअनुसार क्रान्तिको प्रमुख लक्ष्य सबभन्दा उत्पीडितवर्गको रूपमा अफ्रिकी जनताको राष्ट्रिय मुक्ति तय गरियो । दस्ताबेजमा लेखिएको थियो, “हामी क्रान्तिकारी हौँ, सङ्कीर्ण राष्ट्रवादी होइनौँ । प्रतिबद्ध क्रान्तिकारीहरू हाम्रा बन्धु हुन् । उनीहरू जुनसुकै समूहको किन नहोऊन् । हाम्रो आन्दोलनमा कोही पनि दोस्रो दर्जाका सहभागी छैनन् ।”
दस्ताबेजमा सैनिक सङ्घर्षको पहिलो चरणमा आर्थिक तथा राजनीतिक सुदृढीकरणमा जोड दिइएको थियो । एक सातासम्म चलेको सम्मेलनका धेरै निर्णय हानीको ज्ञापनपत्रको परिणाम पनि थियो । नेतृत्वले पाउँदै आएको भत्ता हानीले ज्ञापनपत्रमा उल्लेख गरेबमोजिम रोकियो । केही शिविर कमान्डरहरूलाई पदबाट बर्खास्त गरियो । पार्टीले आफ्नो आन्तरिक अवस्था बलियो पार्दै आफ्नो प्रमुख लक्ष्यमा ध्यान केन्द्रित गर्यो । सम्मेलनले दुवै सैनिक एवम् राजनीतिक बाटो प्रयोग गरी दक्षिण अफ्रिकाभित्र गतिविधि बढाउने प्रस्ताव पारित ग¥यो । सम्मेलनमा ७० जना प्रतिनिधिहरूको सहभागिता थियो ।
मोरोगोरो सम्मेलनको दुई साताअघि भएको पूर्वी तथा मध्य अफ्रिकी देशहरूको पाँचौँ शिखर सम्मेलनले शान्तिपूर्ण सङ्घर्षलाई जोड दिएको थियो । मोरोगोरो सम्मेलनले ज्ञापनपत्र बुझाउने योद्धाहरूलाई पुनस्र्थापना गर्ने निर्णय गरे तापनि हानीमाथिको उपेक्षापूर्ण व्यवहार अन्त्य भएको थिएन । आफ्नो जीवन नै समर्पण गरेको आन्दोलनमा त्यसप्रकारको व्यवहार हुँदा हानी व्यथित पनि थिए । हानीमाथि धोकेबाज, स्वार्थीको आरोप लगाइएको थियो । त्यसबारे कालान्तरमा उनले भने, “म धोकेबाज होइन, स्वार्थी होइन भनी म प्रमाणित गर्न चाहन्थेँ । मेरो गुनासोपछाडि मेरो कुनै आग्रह थिएन ।” ज्ञापनपत्रमा हस्ताक्षर गर्ने ८ जनामध्ये लिओनार्द कोसी (Leonard Nkosi) बाहेक सबै अडिग रहे । सन् १९७७ मा कोसीको हत्या भयो । धेरैले उनको हत्याको पछाडि एमकेको हात रहेको सार्वजनिकरूपमै स्वीकारे । मोरोगोरो सम्मेलनसँगै एउटा अर्को विद्रोही समूहको जन्म भयो जसलाई ‘८ जनाको समूह’ भनेर चिनिन्थ्यो । यो कम्युनिस्टविरोधीहरूको समूह थियो । सम्मेलनपछि सशस्त्र सङ्घर्षको समन्वय गर्न गठित एउटा क्रान्तिकारी परिषद्मा कम्युनिस्टहरूलाई समेत सामेल गरिएकोमा यो समूह असहमत थियो । दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले पनि ८ जनाको समूहलाई ‘एउटै रङ्गभित्र लुकेका शत्रुहरू’ भनी विरोध गर्यो ।
ज्ञापनपत्र घटनापछि अलग पारिएका क्रिस हानी लुसाकामा बसेर आन्तरिक सङ्गठन सुदृढीकरणमा सक्रियतापूर्वक लागे । उनी क्रान्तिकारी परिषद्का सदस्य त थिएनन् । तर, विशेषतः ज्याक र सिमोन्सहरूसँग सम्बन्ध राख्दै तिनको नजिक रहेर उनले काम गरे । मोरोगोरो सम्मेलनको रणनीतिक तथा कार्यनीतिक दस्ताबेजलाई ऐतिहासिक उपलब्धि मान्दै त्यसको कार्यान्वयनमा सक्रियतापूर्वक उनी लागिपरे । त्यसले हानीको गरिमा अझै उँचो बनायो । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीभित्र उनको प्रतिभाको प्रशंसा हुन थाल्यो । सन् १९७० मा हानी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी त्यतिबेला भर्खर २८ वर्षका थिए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा