दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षका नेता एवम् दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानीको वास्तविक नाम मार्टिन टेम्बिसिल (Martin Tembisile) हो । उनको जन्म १९४२ जून २८ मा साबालिली भन्ने गाउँको ट्रान्सकेइमा भएको थियो । उनका पिताको नाम गिल्बर्ट हानी र माताको नाम मेरी हानी थियो । गिल्बर्ट एक मजदुर थिए भने मेरी किसान थिइन् । गिल्बर्ट र मेरीका तीन भाइ छोरामध्ये क्रिस माहिला हुन् ।
क्रिसको जन्मथलो दुर्गम र विपन्न थियो । महिलाहरू पानी खोज्न पाँच किलोमिटर टाढा जानुपथ्र्याे । त्यति टाढाबाट ती महिलाहरू टाउकामा पानीका भाँडा बोकेर फर्कन्थे । एउटा साबुन र एक किलो चिनी किन्न पनि गाउँलेहरू १५ किलोमिटर टाढासम्म हिँड्नुपथ्र्याे । मानिसहरू अशिक्षित थिए ।
क्रिस औपचारिकरूपमा गाउँकै प्राथमिक विद्यालयमा भर्ना हुनुअघि उनकी फुपूले उनलाई साँवा अक्षर, अङ्क ज्ञान र केही बालगीत सिकाइन् । त्यो सिकाइले उनलाई विद्यालयमा अरू विद्यार्थीको तुलनामा अब्बल बन्न सहयोग गर्यो । एकजना लेखकसँगको अन्तर्वार्तामा आफ्नो विगत सम्झदै क्रिसले भनेका छन्, “मलाई सम्झना छ, मैले कथा पढेको देखेर प्रधानाध्यापक मख्ख परेका थिए । वास्तवमा मैले त्यो कथा कण्ठस्थ पारेको थिएँ र किताबै नहेरी एक–एक शब्द सुनाएको थिएँ ।”
क्रिसको घर र विद्यालयको दुरी दुई घण्टाको थियो । हरेक दिन उनलाई विद्यालय पुग्न र फर्कन चार घण्टा लाग्थ्यो । विद्यालयबाट फर्केपछि क्रिस आफ्ना साथीहरूसँगै गोठालो जान्थे । गोठालाहरू गधामा चढ्थे । उनीहरू फूटबल खेल्थे । क्रिस भने लट्ठी जुधाउनमा पोख्त थिए । उनका बालसखा माहोलीली छोम्बेनीले आफ्नो विगत सम्झँदै भने, “उनी त्यसमा कति सिपालु थिए भने हामीमध्ये कोही त उनीसँग डराउँथ्यौँ पनि । तर, उनी ज्यादै शिष्ट थिए । उनको लागि सबभन्दा महत्वपूर्ण कुरा विद्यालय थियो । केटीहरूमा उनको रुचि थिएन । उनी अरू केटाहरूले केटी जिस्काएको हेरिरहन्थे ।” क्रिस सानैदेखि किताब भनेपछि हुरुक्क हुन्थे । कक्षा ५ को परीक्षामा उनले सो क्षेत्रका ३७ ओटा विद्यालयका विद्यार्थीमध्ये सबभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए ।
मानवीय क्षमता र मानिसका समस्याबारे चिन्तन गर्ने बानीका कारण उनी बाल्यकालमा इसाई धर्ममाथि आस्था राख्थे । उनी पादरीहरूको निःस्वार्थी जीवनपद्धतिबाट प्रभावित बने । उनी हरेक आइतबार बिदाको दिन गिर्जाघर जान्थे । गिर्जाघरका काममा सघाउँथे । तर, क्रिसका मातापिता इसाई धर्मावलम्बी थिएनन् । उनीहरू अफ्रिकाकै प्राचीन धर्म मान्थे । क्रिसको जीवनमा पछिसम्म धर्मको प्रभाव रह्यो । सन् १९६० मा कम्युनिस्ट पार्टीको सदस्य नबन्दासम्म उनी गिर्जाघरका नियमित सदस्य थिए । एउटा अन्तर्वार्तामा धर्मप्रति आफ्नो विचार परिपक्व बन्दै गएको धारणा उनले यसरी व्यक्त गरेका थिए, “मेरो लागि पार्टी र गिर्जाघर परिपूरक संस्था थिए । म यिनीहरूबिच कुनै विरोधाभास पाउँदिनथेँ । तर जसै समय बित्दै गयो, मैले गिर्जाघर काला वर्णका जनताको सामाजिक–आर्थिक प्रगतिप्रति असंवेदनशील बनेको देखेँ । जब कि, बाइबलको भनाइ त्यसको ठीकविपरीत छ ।
त्यतिबेला (कम्युनिस्ट) पार्टी र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) ले गरिब जनताका दुःखलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै थिए । सन् १९६२ सम्ममा धर्मप्रति मेरो निष्ठा कमजोर भइसकेको थियो । मृत्युपछि सुन्दर जीवनको आश्वासन दिन र बाँचिरहेको जीवनको दुःखलाई बेवास्ता गर्ने विरोधाभासपूर्ण अभ्यासले गर्दा मेरो मन मस्तिष्कमा भूकम्प गयो । त्यही वर्ष म एमके (अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सशस्त्र दस्ता) मा भर्ती भएँ र गिर्जाघरमा मेरो सक्रियता क्रमशः घट्दै गयो । छोटकरीमा जनताका दुःख हरण गर्न म संलग्न पार्टीले गिर्जाघरले भन्दा बढी काम गरिरहेको छ भन्ने निष्कर्षमा पुगेँ ।
त्यससमय मैले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएँ, “ईश्वरको अस्तित्व भए जनताको दुःखमा उनी के हेरेर बसे ?”
म धर्म मान्दिनँ । तर, म विश्व ब्रह्माण्डका रहस्यहरू उद्घाटन गर्न खोज्ने महत्वपूर्ण काममा संलग्न अरू धर्मनिरपेक्ष वा भौतिकवादी दर्शनजस्तै धर्मलाई दर्शनको रूपमा बुझ्छु । मलाई लाग्छ, म धर्मप्रति आस्थावान् रहँदाको समत्न्दा अहिले बढी बुझेको छु ।”
जिगुदु प्राथमिक विद्यालय र काला (Cala) माध्यमिक विद्यालयको अध्ययन पूरा गरेपछि हानी १४ वर्षको उमेरमा सन् १९५६ मा एलिसको लभडेल कलेजमा पढ्न गए । त्यो कलेज त्यतिबेला रङ्गभेदविरोधी स्वतन्त्रता आन्दोलनको केन्द्र रहेको फोर्ट हेयर विश्वविद्यालय नजिक थियो । हानीको कलेजबाट त्यो विश्वविद्यालय पन्ध्र मिनेटको पैदल दूरीमा थियो ।
एलिसमा हानी र उनीजस्ता न्यून आर्थिक अवस्था भएका विद्यार्थीको जीवन त्यति सहज थिएन । एलिस रेल स्टेसनबाट झर्ने बित्तिकै आर्थिकरूपमा सम्पन्न परिवारका विद्यार्थी ट्याक्सी चढेर कलेज पुग्थे । तर, हानीको निम्ति त्यसरी जान सम्भव थिएन । गधाले तान्ने टाङ्गा नै उनीहरूको सहारा थियो ।
एलिस चिसो ठाउँ हो । हिउँजत्तिकै चिसो पानीले नुहाइधुवाइ गर्नुपथ्र्यो । फलामको चिसो खाट र उध्रिएका परालका सुकुलबाहेक छात्रावासका कोठामा केही हुन्नथे । एलिसको हावापानी चिसो भए पनि त्यहाँको राजनीतिक वातावरण भने सधैँ तातो हुन्थ्यो ।
सन् १९५७ मा युवा लिगको लभडेल एकाइका प्रमुख सिमन केकेनाले हानीलाई अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सदस्य बनाए । केकेना त्यतिबेला स्वतन्त्रता सङ्घर्षको मुखपत्र ‘नयाँ युग’ पत्रिकाका स्थानीय प्रतिनिधि पनि थिए । काङ्ग्रेसको सदस्य बन्नुअघि नै हानी एकता आन्दोलन र त्यसको युवा सङ्गठन ‘अफ्रिकी युवा समाज’ (The Society of Young Africa – SOYA) को विचारबाट प्रभावित थिए । सो सङ्गठनले काला जातिमाथि गोरा जातिको शोषणको मूल कारण पुँजी हो भन्ने मान्थ्यो । तथापि, त्यो सङ्गठनले कुनै ठोस गतिविधि नगरेकोमा हानी असन्तुष्ट थिए । अन्यायविरुद्धको युद्ध दिमागमा मात्र हुँदा त्यसको कुनै अर्थ हुँदैन भन्नेमा उनको दृढ मत थियो । तसर्थ, उनी उतिबेला सक्रिय अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमा आबद्ध भए ।
सदस्यता लिन उम्मेदवारले आफ्नो अनुशासन र प्रतिबद्धता देखाउन केही गरेर देखाउने चलन थियो । केकेनाले एक साँझ उनलाई त्यस्तै एउटा निर्देशन दिए । निर्देशनअनुसार दुश्मन खेमाको एकजना व्यक्तिका कपडा राखिएको गह्रुङ्गो बाकस खुसुक्क ल्याएर कहीँ जलाउनुपथ्र्याे । १६ वर्ष उमेरका किशोर हानीका लागि भूमिगत गतिविधिको स्वाद चाख्ने त्यो पहिलो अवसर थियो ।
त्यो समयमा दक्षिण अफ्रिकाको ठाउँठाउँमा रङ्गभेद र अन्यायविरुद्ध सङ्घर्ष चर्किरहेको थियो । सन् १९५० को दशकको पछिल्लो वर्षमा दक्षिण अफ्रिकाका रङ्गभेदी प्रधानमन्त्री एचएफ भेर्वर्ड (HF Verwoerd) सत्तासीन भए । उनले बान्टु स्वशासन कार्यान्वयन ऐन–४६ (१९५९) मा प्रस्तावित अवधारणाअन्तर्गत हानीको गाउँ ट्रान्सकैइलाई ‘फरक विकासको नमुना’ बनाउने घोषणा गरे । सोअनुसार काला जातिका मानिसलाई आफू जन्मीहुर्की आएको जमिन जोत्न दिइने तर त्यसको स्वामित्व भने नदिइने बनाइयो । पछि त्यसलाई ‘बान्टुस्तान’ भन्न थालियो । ग्रामीण जनतालाई डुबाउने यो कदमविरुद्ध विख्यात कम्युनिस्ट पत्रकार गोभान एम्बेकी (Govan Mbeki) ले सङ्घर्ष छेडे । पोर्ट एलिजाबेथबाट प्रकाशित हुने ‘नयाँ युग’ पत्रिकाले त्यो सङ्घर्षलाई साथ दियो ।
‘नयाँ युग’ र दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको विचारप्रधान पत्रिका ‘अफ्रिकी कम्युनिस्ट’ बारे हानीको कलेजका विद्यार्थीहरू छात्रावासमा बगैँचाको रुखमुनि बसेर छलफल गर्थे । सन् १९५८ मा बम हमलाबाट ‘नयाँ युग’ को कार्यालय ध्वस्त हुँदा विद्यार्थीहरू आक्रोशित भएका थिए ।
सन् १९५६ को डिसेम्बर ५ मा १ सय ५६ जना काला तथा गोरा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्य एवम् समर्थकको गिरफ्तारीसम्बन्धी कानुनी सङ्घर्षले पनि तत्कालीन स्वतन्त्रता आन्दोलनलाई टेवा पु¥यायो । अन्ततः ४ वर्षपछि सरकार पराजित भयो र स्वतन्त्रता आन्दोलनका योद्धाहरू सरकारलाई झुकाउन सफल भए ।
सन् १९५७ को अलेक्सान्द्र बस बहिष्कार आन्दोलन त्यतिबेलाका चर्चित सङ्घर्षमध्ये पर्छ । अलेक्सान्द्र भन्ने ठाउँमा बस चढ्न काला जातिका मानिस कम्तीमा २० किमि हिँड्नुपथ्र्याे । काला जातिका जनता बस्ने ठाउँ यातायात सुविधाबाट वञ्चित थियो । उक्त रङ्गभेदी सहरी योजनाको कारण अलेक्सान्द्रमा सहरका हजारौँ बासिन्दाले बस बहिष्कार गरे । ‘नयाँ युग’ ले यो आन्दोलनको पक्षमा प्रचारप्रसार गर्यो ।
सन् १९५७ को बेथल कृषि मजदुर काण्डबारे पनि ‘नयाँ युग’ पत्रिकाले अनेक लेखरचना र समाचार प्रकाशित गरेको थियो । कालान्तरमा पूर्व त्रान्सभाल क्षेत्रका कृषि मजदुरहरूमाथिको चर्को शोषणको विरोधमा आलु बहिष्कार आन्दोलनसम्म विकसित भयो । क्रान्तिकारी कृषि मजदुर गिर्ट सिबान्डेको नेतृत्वमा रगत बगाएर फलाएको बेथालको आलु बहिष्कार आन्दोलन देशैभरि सल्कियो । दसौँ हजार काला जातिका जनता यो सङ्घर्षमा सहभागी बने ।
हानीजस्ता जोसिला युवाहरूका निम्ति त्यतिबेलाका आदर्श नेता गाबी (Gqabi) थिए । सन् १९६० को किसान विद्रोहमा गाबी पत्रकारका रूपमा किसानहरूका जीवनको अन्तरङ्ग बुझेर निराशाजनक परिस्थितिमा उनीहरूका मित्र बने । यो किसान विद्रोहलाई शासकवर्गले नराम्ररी दबायो । १६ जनाको हत्या भयो । धेरैलाई हतास मनस्थितिमा पु¥याइएको थियो । गाबीको पनि पछि हत्या भयो ।
एम्बेकीका प्रभावशाली र जनपक्षीय लेखरचनाबाट कानुनी हैसियत प्राप्त अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र गैरकानुनी दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीलाई संयुक्तरूपमा अघि बढ्न सहयोग पुगेको थियो ।
सन् १९५९ मा विश्वविद्यालय शिक्षा विस्तार ऐन – १९४५ अनुसार फोर्ट हेयर विश्वविद्यालयलाई एउटा संस्थामा मात्र सीमित गर्ने निर्णयविरुद्ध फोर्ट हेयर र लभडेलका युवाहरू सङ्घर्षको अर्को मोर्चा खोल्न तम्सिए । सङ्घर्ष र समयले हानी र उनका सहपाठीहरूलाई धेरै कुरा सिकायो, बहसहरू पेचिला बन्दै गए । सन् १९५९ अप्रिलमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबाट टुक्रिएर रोबर्ट सोबुक्वेको नेतृत्वमा अखिल अफ्रिकी काङ्ग्रेस (The Africanist Congress–PAC) गठन गरियो । यसले गरिब मजदुरवर्गबिच सङ्गठन विस्तार गर्न जोड दियो । सुरुमा यसप्रतिको आकर्षण र यसको विस्तार व्यापक भए पनि पछिसम्म दिगो रहन सकेन । दस वर्षको अन्तरालमा यो पार्टी छिन्नभिन्न भयो ।
लभडेलमा क्रिस हानीको दिनचर्या कष्टकर थियो । उनीसँग एक जोर जुत्ता र एउटा ज्याकेट थियो । अरूका सुकिला लुगाको अगाडि हानीको वेषभूषा नराम्रो देखिन्थ्यो । “तर, त्यो मेरो लागि महत्वपूर्ण कुरा थिएन । मुख्य कुरा त मेरो शिक्षा थियो,” हानीले पछि भने ।
लभडेलमा प्रशासनले विपन्न विद्यार्थीहरूमाथि भेदभावपूर्ण व्यवहार गथ्र्याे । गरिब विद्यार्थीलाई कमसल खाना दिइन्थ्यो । छात्रावासमा यस्तो पक्षपातविरुद्ध हानीले साथीहरूसँग मिलेर विरोध गरे । त्यस्ता विरोध कार्यक्रममा उनीहरू अल्बर्ट लुथुली र कङ्गोका प्याट्रिस लुमुम्बाका गीत गाउँथे । कलेजभित्र एकातिर काला र गोराबिचको रङ्गभेद थियो भने अर्कोतिर धनी र गरिबबिच पनि विभेद थियो । गोरा जातिका शिक्षकहरू काला जातिका शिक्षकहरू बसेको ठाउँभन्दा अलग अलि माथि उठेको ठाउँमा खाना खान्थे । पैसा भएका विद्यार्थीहरूले हरेक दिन मासु, घिउसँग रोटी र अन्न मिसाएको दूध खान्थे । कतिले हप्ताको तीन दिन मासु खान्थे । तर, हानीसँग एकजोर अर्को लुगा किन्नसमेत पैसा थिएन । कलेजको व्यस्त तालिकाबिच शुक्रबार बेलुकी उनी आफ्नो ज्याकेट भिजाउँथे र शनिबार धोएर सुकाउँथे ।
सन् १९५८ को अन्त्यतिर हानीले लभडेलमा आफ्नो पढाइ सकाए । उनी अङ्ग्रेजी, जोसा (अफ्रिकी भाषा), ल्याटिन, इतिहास, गणित र स्वास्थ्य विषयहरू पढ्थे । त्यही वर्ष अक्टोबरमा उनी फोर्ट हायरमा कानुन सङ्कायमा भर्ना भए । फोर्ट हायरमा नेल्सन मन्डेला, ओलिबर टाम्बो, गोभान एम्बेकी, रोबर्ट सोबुक्वे, रोबर्ट मुगावे, क्वेट मासिर, कासियर माताम्जिमा र माङ्गोसुथु बुथिलिजी आदि चर्चित व्यक्तित्वहरूले पढेका थिए ।
फोर्ट हायरमा क्रिस हानी मध्यम खालका विद्यार्थी थिए । उनले परीक्षामा सोचेजस्तो राम्रो नतिजा हासिल गर्न सकेनन् । विश्वविद्यालयका विद्यार्थी नेतृत्वमध्ये हानी सबभन्दा कान्छो भए तापनि उनको प्रभाव राम्रो थियो । विद्यार्थी तथा मजदुरबिच सङ्गठन गर्नमा उनी पोख्त थिए, नारा–जुलुस एवम् प्रतिबन्धित पर्चा वितरण गर्दा उनी सदैव अगाडि हुन्थे । भूमिगत सूचना सम्प्रेषण गर्नमा उनी सिद्धहस्त थिए ।
त्यहीबेला दक्षिण अफ्रिकाबाहिर गोप्यरूपमा ६ महिना तालिम लिन १० जना प्रतिभावान् कार्यकर्ता छनोट गर्ने निर्देशन जारी भयो । हानीले आफू नजाने कुरा बताए । त्यसताका उनी माक्र्सवादको गम्भीर अध्ययनमा जुटेका थिए । साम्यवादी सिद्धान्तप्रति उनको लगाव बढ्दै थियो । राष्ट्रिय मुक्ति र वर्गसङ्घर्ष एकअर्कासँग अन्तरसम्बन्धित हुन्छ भन्ने सिद्धान्तमा उनको मत बलियो र स्पष्ट बन्दै थियो ।
एकदिन गोभान एम्बेकी फोर्ट हायर आए । उनले विद्यार्थीहरूसँग भूमिगत सङ्गठन संरचना निर्माण र विस्तारको लागि सहयोग गर्न अनुरोध गरे । त्यसैक्रममा उनले हानीलाई दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरे । (पुरानो कम्युनिस्ट पार्टी विघटनपछि सन् १९५३ मा नयाँ दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।)
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा