#कार्लोस गारिडो र एड्वर्ड स्मीथ
फ्रान्सेली दार्शनिक ज्याँ–पोल सात्र्रले एकचोटि अर्नेस्टो चे ग्वेभारालाई ‘हाम्रो युगका सबैभन्दा पूर्ण मानिस’ भनेका थिए । आज चेको ९६ औँ जन्मदिनपछि पनि उनीजस्तो एउटा समाजवादी मानवको गतिलो उदाहरण भेटाउन गा¥हो छ । कुनै बेला उनले आफ्ना कालजयी अन्तिम शब्दमा साहसपूर्वक भनेका थिए, “गोली ठोक लाछीहरू ! तिमीहरूले एउटा मान्छेलाई मात्र मार्दै छौ !” फिडेल क्यास्त्रोका नजरमा चे “सबैभन्दा अद्भूत क्रान्तिकारी कामरेड थिए”† सबैको मन छुन सक्ने एक यस्ता व्यक्ति थिए जसले ‘परोपकार’, ‘निःस्वार्थीपन’ तथा समाजवादी सङ्घर्षका निम्ति ‘सबैभन्दा गा¥हो–सा¥हो अभियान’ मा होमिने ‘तत्काल वा तत्क्षण तत्परता’ जस्ता आफ्ना क्रान्तिकारी सदाचारले अरूलाई हल्लाइदिन्थे† जरैबाट माथि उठाउँथे । समस्याको बेला महाबलीको जस्तो साहस र जोश–जाँगर देखाउने चेको सम्झनामा फिडेलले भनेका थिए : “उहाँको मृत्युले गर्दा सैनिक सदाचारको क्षेत्रमा मात्र होइन विचारको क्षेत्रमा, भावनाको क्षेत्रमा, क्रान्तिकारी सदाचारको क्षेत्रमा र बौद्धिकताको क्षेत्रमा पनि क्रान्तिकारी सङ्घर्षले ठुलो क्षति व्यहोर्न पुगेको हामीले महसुस गरेका छौँ ।”
बुर्जुआ विचारकहरू पुँजीवादी शासकवर्गको पैरवी गर्ने सैद्धान्तिक प्रवक्ता वा प्रचारक हुन् । तिनले समाजवाद प्राप्तिको सङ्घर्षलाई सफलतापूर्वक अघि बढाउने ऐतिहासिक व्यक्तित्वको प्रतिष्ठालाई रछ्यानमा फाल्दै आएका छन् । यो कुनै नौलो कुरा होइन । रछ्यानमा मिल्काइनेहरूको यही लाममा चे ग्वेभारा पनि पर्छन् । सन् १९६१ मा सान्टा क्लारामा मन्तव्य राख्दै चेले प्रस्टसित भनेका थिए, “मान्छेलाई दानवीकरण गर्नु साम्राज्यवादको चरित्र हो । यसले मान्छेलाई कुनै क्रान्तिकारी, छापामार अथवा आफ्नो बुटले कुल्चिसकेको वा अझै पनि स्वतन्त्रताका लागि जोडबल लगाइरहेको सत्ताको घाँटी छिनाल्न, मार्न र त्यसको अन्तिम चित्रसमेत नामेट पार्न उद्यत रक्तपिपासु पशुमा बदल्छ ।” यद्यपि चेले यसरी आफ्नो जीवन बाँचे कि बुर्जुआ साम्राज्यवादी मिडियालाई उनको आलोचना गर्न असाध्यै धौ धौ भयो । ‘पृथ्वीका सबैभन्दा दरिद्र र नम्र जनताको हित’ को रक्षा गर्दागर्दै ढल्ने व्यक्तिलाई कसैको खेदो खनोस् पनि कसरी ! फिडेलको शब्दमा चे ग्वेभाराले यो काम कति ‘उदाहरणीय र निःस्वार्थ भाव’ ले गरे भने ‘उनका सबैभन्दा कठोर शत्रुले समेत उनलाई विवादमा तान्न सकेनन् । चेको विचारमा समाजवादी समाजको निर्माणको लागि ‘नौलो समाजवादी मान्छे’ को रचना गर्नु अनिवार्य पक्ष थियो । नौलो समाजवादी मान्छे स्वार्थी र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुन्छ जब कि पुँजीवादी उत्पादन सम्बन्धभित्र मान्छेलाई यस्तो बैगुनले गाँजेको हुन्छ । चेको विचारमा प्रत्येक क्रान्तिकारीले आफ्नो व्यवहारमा नौलो समाजवादी मान्छेलाई उतार्न प्रयास गर्नुपर्छ । यसको लागि उसले आफूलाई इमानदार, परिश्रमी, अत्यन्त अध्ययनशील र समाजको कल्याणको लागि श्रम गर्न सदा तत्पर बनाउनैपर्छ । यो आफैमा एउटा सङ्क्रमणको द्योतक हो । यसको अर्थ एकजना व्यक्तिको हातमा पुँजी र माल थुप्रिँदै जाँदा हुने आर्थिक वृद्धिको पुँजीवादी विचारबाट टाढिँदै जानु हो । अर्कोतिर, मान्छे फस्टाउनुलाई केन्द्रमा राख्ने आर्थिक वृद्धिको समाजवादी विचारतर्फ लम्किनु पनि हो । यस विचारअनुसार मान्छे द्वन्द्वात्मक हिसाबले समाजसँग जोडिएको हुनाले आपसमा गाँसिएका सम्बन्धहरूको विशेष अभिव्यक्ति पनि हो । सन् १९६२ मा चे ग्वेभाराले युवा कम्युनिस्ट सङ्घ (यूजेसी) का कार्यकर्तालाई सम्बोधन गर्दै भने, “कम्युनिस्ट युवाहरू जेमा पनि अब्बल बन्न तत्पर हुनुपर्छ । उनीहरू एउटा जिउँदोजाग्दो नमुना र ऐना बन्नुपर्छ जहाँ हेर्दा युवा कम्युनिस्ट सङ्घको सदस्यता नलिएका हाम्रा साथीहरूले पनि आफूलाई स्पष्ट देख्न सकून् ।” यसको अर्थ कम्युनिस्ट युवाहरू मानवीय बन्नैपर्छ । “यस्तो मानव बन्नका लागि मानव हुनुका उत्कृष्ट गुणलाई झन्झन् खार्दै जानुहुन्छ । काम, अध्ययन तथा हाम्रा र संसारभरिका सारा जनतासँगको निरन्तरको ऐक्यबद्धताको अभ्यासमार्फत मान्छेका उत्कृष्ट गुणलाई खार्नुपर्छ । आफ्ना संवेदनाहरूको अधिकतम विकास गर्नुपर्छ, संसारको कुनै अर्को कुनामा कुनै व्यक्तिको हत्या हुँदा वेदनाले पग्लिनुपर्छ र विश्वको कुनै कुनामा स्वतन्त्रताको नयाँ झन्डा फहरिँदा उत्साहले उफ्रिनुपर्छ ।”
उमेर बढ्दै जाँदा चे अत्यन्त अनुशासित बन्दै गए र यसरी उनी समाजवादी सदाचारको उज्ज्वल उदाहरण बन्न पुगे । यस्तो उदाहरणले क्युवाली कम्युनिस्टहरूको अर्को पुस्तालाई आकार दिने उनले आशा लिएका थिए । चेको निधन यता क्युवाली युवा पुस्ताले एउटा मन्त्रमार्फत नौलो समाजवादी मान्छेको निर्माण गर्ने प्रक्रियामा आफूलाई होमेका छन् । त्यो मन्त्र हो, “समाजवादका लागि अग्रदूत हुन्छौँ, हामी पनि चेजस्तै बन्छौँ ।”
चे ग्वेभाराको विचारमा समाजवादतर्फको रूपान्तरण भनेको राजनीतिक अर्थतन्त्रको बदलावमा मात्र होइन । यसका लागि समाजवादी संस्कृतिको विकासमार्फत मानव जातिलाई आधारभूतरूपमै बदल्न जरुरी छ । मिखाइल लोवेले लेखेका छन् – चे “तुच्छ र स्वच्छन्द व्यक्तिवाद, बुर्जुबा प्रतिस्पर्धा तथा (पुँजीवादी सभ्यताको विशेषता मानिने) ‘सबैविरुद्ध सबैको युद्ध’ एवम् ‘मान्छे खाने मान्छे’ ले भरिएको वर्तमान विश्वको मूल्यमान्यता भन्दा ठिक विपरीत मूल्यमा आधारित एउटा अलग्गै सभ्यता, सामाजिक नीति एवम् सामाजिक मोडल अघि नसारेसम्म समाजवाद अर्थहीन हुनेछ । अनि त्यसले विजय हासिल गर्न सक्नेछैन भन्ने निष्कर्षमा दृढ थिए ।” ‘नौलो किसिमको मूल्यमान्यताले भरिएको चेतना’ लाई मलजल गरी कामदार जनसमूहको बौद्धिक र सांस्कृतिक जीवन उठाएर मात्र पुग्दैन, यो रूपान्तरण विचारधारात्मक–राजनीतिक अधिरचनामा मात्र सीमित हुनुहुन्न । बरु, यो रूपान्तरणले आफैमा समाजको आर्थिक आधारमा टेकेको हुनुपर्छ । अर्थात्, ग्वेभारा ‘आफ्नो कामबारे व्यक्तिको सोचमा पूर्णतया आध्यात्मिक पुनःजन्म’ को खाँचो रहेको बताउँछन् । लेखक विजयप्रसाद लेख्छन्, “यो नौलो नैतिक रूपरेखाले नै ग्वेभारालाई समाजवाद निर्माण गर्न उत्प्रेरित गरेको थियो । नयाँ समाज रचना नै गर्ने हो भने त्यो नौलो नैतिक जगबाट मात्र रच्नुपर्छ भन्ने उहाँको विचार थियो ।”
इतिहासका अन्य सफल क्रान्तिकारीहरूले जस्तै चे ग्वेभाराले पठन र सघन अध्ययनको महत्वमाथि जोड दिए । ग्वेभारा आफै पनि अविराम र आजन्म अध्ययनशील रहे । फूटबल खेलिरहने एक अर्जेन्टिनी नवयुवकको रूपमा उनले खेलको बिचबिचमा माक्र्सवादी सिद्धान्त अध्ययन गर्थे । घातक आस्थमाको समस्याले उनलाई खेलबाट टाढा लगेपछि उनी माक्र्सवादको सघन अध्ययनमा जुटे । क्युवाली छापामारहरूले सियरा माइस्त्रा पहाडमा क्रान्तिकारी सङ्घर्ष गरिरहँदा चेले क्रान्तिकारीहरूलाई माक्र्सवादी अर्थशास्त्र र दर्शन पढाए किनभने गुन्डाराज चलाइरहेको तानाशाह बाटिस्टालाई सत्ताबाट फालेपछि क्युवाली समाजलाई व्यवस्थापन गर्ने जिम्मा यिनै क्रान्तिकारीहरूको काँधमा आउने निश्चित थियो । उपनिवेशवादविरोधी सङ्घर्षको अग्रमोर्चामा रहन चे अफ्रिका पुगे । त्यहाँ उनी जर्ज विल्हेल्म फ्रेडरिक हेगेलका रचना पढ्थे । यसप्रकार क्युवाली क्रान्तिको थालनीमै चेले नौलो समाजवादी मान्छेको रचना गर्ने तथा जनताको बौद्धिक र नैतिक जीवन उकास्ने सोचका बेर्नाहरू रोपिसकेका थिए । उनले आफ्नो प्रसिद्ध रचना ‘क्युवामा समाजवाद र नौलो मानव’ मा यसबारे लेख्दै ‘समग्र समाजलाई नै एउटा विशाल पाठशालामा फेर्नुपर्ने’ बताएका थिए । यो विचार छापामार युद्धको कठोरतम् परिस्थितिबिच पनि व्यवहारमा लागु गरिँदै थियो । क्युवाली क्रान्तिलाई दीर्घकालसम्म सफल पार्नका लागि क्युवाली जनतालाई शिक्षित गर्नु व्यावहारिक कोणबाट निकै महत्वपूर्ण हुने चेले बुझेका थिए । कलिलै उमेरमा चे अमेरिकी साम्राज्यवादलाई विश्वमाथि नै शासन गर्न चाहने दुष्ट छेपारा र क्रूर राजकुमारहरूले नियन्त्रण गर्छन् र यसको लागि तिनले निर्ममतापूर्वक जोसुकैको घाँटी रेट्न सक्छन् भन्ने सोच्थे । लेनिनको ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम चरण’ जस्ता पुस्तक पढेपछि चेल ेल्याटिन अमेरिकाभरि आफूले देखेको हिंस्रक साम्राज्यवादका पछाडि दुस्ट छेपाराहरूको राक्षसी गिरोह नभई वास्तवमा पुँजी रहेछ भन्ने बुझे । ग्वाटेमालाको ‘अमेरिकी सरकार’ ले गर्ने हत्याहिंसा पुँजीकै चाहनाबमोजिम भएका थिए । त्यो हिंसाबाट चे संयोगले मात्र बचेका थिए । ल्याटिन अमेरिकाका जनतालाई यो कुरा बुझाउन सकियो भने ‘पुँजीवादी उत्पादन सम्बन्ध पुनःस्थापना गरेर तिमीहरूलाई फलिफाप हुन्छ’ भनी अमेरिकी साम्राज्यवादले तिनलाई विश्वास दिलाउन सक्नेछैन । प्रचारबाजी र अन्य चालबाजीमार्फत अमेरिकाले विभिन्न रङ्गीन क्रान्ति गराउँदै आएको छ र ल्याटिन अमेरिकी जनतामा यो भ्रम छर्ने प्रयास गर्दै आएको छ ।
विश्वले नै निन्दा गरिरहेको क्युवाविरुद्धको ६ दशक लामो अमेरिकी नाकाबन्दी र बहुपक्षीय हाइब्रिड युद्धपछि पनि रक्तरञ्जित अमेरिकी साम्राज्यले क्युवामा समाजवादको निर्माणलाई रोक्न सकेको छैन । क्युवाविरुद्ध अमेरिकी युद्धले उब्जाएका अत्यन्तै सङ्गीन क्षणमा ज्यान धान्न पनि धौधौ पर्दासमेत क्युवाली जनताले अदम्य साहसका साथ क्रान्तिकारी सङ्घर्षलाई अघि बढाइरहेका छन् । उनीहरूको मनमनमा उनीहरूका नायक एन्टोनियो मासेओको यो नारा कुँदिएको छ, “क्युवा कब्जा गर्न खोज्नेहरू लडाइँमा मर्नेछन्, नमरे तिनीहरू आफ्नो रगत लत्पतिएको माटो लिएर भाग्नुपर्नेछ ।”
घनघोर दैत्यविरुद्धको लडाइँमा क्युवाली जनताले आफ्ना क्रान्तिका अग्रदूत होजे मार्टीको अनुभव बुझेका छन् । ‘न्युस्त्रा अमेरिका’ मा मार्टीले लेखेका थिए, “ढुङ्गाका तगाराहरूभन्दा ठुला विचारका तगारा हुन्छन् ।” दैत्यसँगको भौतिक लडाइँको कठिनात्न्दा क्युवाली समाजवादले मनमा सजाएका क्रान्तिकारी आदर्शहरू कता हो कता उच्च छन् । आंशिकरूपमा यी क्रान्तिकारी आदर्श र मूल्यहरू क्युवाली संस्कृति र चेतनामा नङमासु भइसकेका छन् । यसैको बलमा एउटा समाजवादी मुलुकले सीमित स्रोतका भरमा अमेरिकी साम्राज्यको नाकैमुनि आफ्नो अस्तित्व धान्दै आएको छ । जब कि स्रोतसाधन र भौतिक सम्भावनाका हिसाबले क्युवाभन्दा धेरै सम्पन्न रहेका देशहरूमा समाजवादी प्रयोग विफल भए र पुँजीवादलाई पुनःस्थापना गर्ने बाटोमा गए । त्यसले गर्दा लाखौँ जनता गरिबीको मारमा परे† अक्टोबर क्रान्तियता कहिल्यै नदेखिएको विषम परिस्थितिका सिकार बने । विशेषगरी चे ग्वेभाराले हाल्नुभएको नौलो मान्छे, नौलो संस्कृति र नौला आदर्श एवम् अभ्यासको जगका कारण क्युवाली क्रान्तिले निरन्तरता पाइरहेको हो । यसैकारण क्युवा अझै दुनियाँभरिका क्रान्तिकारीहरूको आशाको केन्द्र तर साम्राज्यवादीहरूको आँखाको कसिङ्गर बनिरहेको हो । साम्राज्यवाद क्युवाली स्रोतसाधन लुट्न चाहन्छ, क्युवाली कामदारहरूलाई चुस्नुसम्म चुस्न चाहन्छ र राजधानी सहर हवानालाई आफ्नो बिदाका दिनमा रासलीला मच्चाउने गन्तव्य बनाउन चाहन्छ ।
नयाँ समाजवादी मान्छे र नौलो समाजवादी संस्कृतिको विकासमा चे ग्वेभाराले दिएको जोडबारे अध्ययन गरेर हामी क्युवाली समाजवाद किन सफल भयो भनी राम्ररी भेउ पाउन सक्छौँ । यसका साथै कामदारवर्गले शासनसत्ता हातमा लिन सङ्घर्ष गरिरहेका देशमा बसेर चे ग्वेभाराको जीवन र कार्यबारे अध्ययन गरिरहेका हामीले बुझ्नुपर्छ, ‘बुर्जुवा सोचको वर्चस्वबाट कामदार जनतालाई टाढा लग्न क्रान्तिकारी अगुवाहरूको बौद्धिक र नैतिक अगुवाइको अहम् भूमिका हुन्छ । साथै अलगाव, शोषण, दमन र युद्धबाट मुक्त समाज हासिल गर्नका लागि चाहिने समाजवादी आदर्श, लगाव, आकाङ्क्षा र नैतिक जीवनतर्फ कामदारवर्गलाई उत्प्रेरित गर्नमा पनि यसप्रकारको अगुवाइले अतुलनीय भूमिका खेल्छ ।’
(कार्लोस गारिडो क्युवाली मूलका अमेरिकी दार्शनिक हुन् । उनी दक्षिणी एलेनोइ विश्वविद्यालयमा अध्यापन गर्छन् । उनी दर्शनसम्बन्धी अनेक कृतिका रचनाकार हुन् । उनी प्राज्ञिक लेखनका साथै यूट्युबबाट माक्र्सवादी विचार प्रचार गर्नमा पनि सक्रिय छन् ।
एड्वर्ड स्मीथ अमेरिकी राजनीतिविद् हुन् । उनी साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी प्रयोगहरूमा दखल राख्छन् । खासगरी भेनेजुयला र चीन उनको अध्ययनको दायराभित्र छन् । अमेरिकी र युरोपेली पुँजीवादको विकासमा दास व्यापारको भूमिकाबारे उनले गहिरो अध्ययन गरेका छन् । उनी कार्लोस गारिडोसँगै यूट्युबको माध्यमबाट माक्र्सवादी प्रचारमा सक्रिय छन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक