उनको कष्टमय जीवन र अरूहरूको लागि उनले गरेको निरन्तर परिश्रमलाई हेर्दा उनलाई क्षयरोगले छुनुमा कुनै आश्चर्य महसुस हुँदैन । उनको स्वास्थ्यबारे लेनिन अत्यन्तै चिन्तित थिए । उनको स्वास्थ्य राम्रो भइहाल्छ कि भन्ने आशा भएको हुनाले लेनिनले उनलाई उपचार गर्नका लागि विदेशतिर जान सम्झाए । “तिमीले खोक्ता रगत आउँछ, तर तिमी यहीं बसिरहन्छौ । म तिमीलाई जिद्दीवाल नबन्न आग्रह गर्दछु । मेरो अनुरोध स्वीकार गर, बाहिरतिर जाऊ र आफ्नो उपचार गर ।” अन्त्यमा, सन् १९२१ को अक्टोबरमा गोर्कीले लेनिनको सल्लाह अनुशरण गर्दै ब्याकफरेस्ट र स्वीट्जरल्यान्ड गए । आउँदो ग्रीष्मऋतु बाल्टिक समुद्रका हेरिङस्डोर्फमा बिताएर सन् १९२२ को अन्त्यतिर उनले बर्लिन नजिकैको चार्मुब्जेल तलाउको किनारमा व्याड्सारोको पहिलेको आरामगृह भाडामा लिए । उनी त्यहाँ उनका छोरा म्याक्सिम, उनका ज्वाइँ तिमोशा र अरू केही साथीहरूसित बसे । उनले त्यहाँ उनको आत्मकहानीमा आधारित उपन्यासको तेस्रो भाग मेरा विश्वविद्यालय र कोरोर्लेकोका संस्मरणहरू लेखे । यसबाहेक नयाँ लेखकहरूको एउटा सानो समूहको सहयोग लिएर उनले बेसेडा भन्ने साहित्यिक वैज्ञानिक पत्रिका निकाले । त्यो पत्रिकाको माध्यमबाट रूसी पाठकहरूलाई स्टेफन जिविङ, एच.जी.वेल्स, रोमाँरोला, हेनरी बाबुस, जर्ज बर्नाड शाँ र जोन् ग्याल्स्वोर्थीजस्ता पश्चिमी लेखकहरूको परिचय दिनु उनको उद्देश्य थियो ।
सन् १९२४ को जनवरीमा जब उनले लेनिनको मृत्युको खबर सुने, गोर्की अत्यन्त गहिरो किसिमले शोकाकुल भए, “टाल्सटायको मृत्युमा पनि म यति धेरै शोकाकुल भएको थिइनँ । मेरो हृदय भारी भएर आयो । चालकले जहाज छाडेका छन्” एउटा सामान्य श्रद्धाञ्जलीसहित उनले एउटा फूलको माला पठाए ‘बिदा, मेरा मित्र’ । यसपछि उनले तत्कालै भी.आई. लेनिनका सम्झनाहरू लेख्न सुरु गरे । यो किताब अमेरिका, फ्रान्स र रूसबाट तुरुन्तै प्रकाशित हुनेवाला थियो । उनले यी संस्मरणहरू धेरैपटक लेखे र अन्तिम पटक सन् १९३१ मा लेखे । ती संस्मरणहरूको यो चित्राङ्कन सोभियत सङ्घका संस्थापकका अत्यन्त सुन्दर चित्रणहरूमध्येमा पर्छ ।
त्यसपछि उनले ‘क्लिम सामगीनको जीवनी’ भन्ने धेरै भाग भएको उपन्यास लेख्न सुरु गरे । “यो थुप्रै भागहरू भएको किताब, एउटा उपन्यासभन्दा बरू सन् १८८० देखि १९१८ सम्मका घटनाहरूको क्रमिक लेखोट हुनेछ भन्ने कुरो मैले ठानेको छु । यसमा मैले निकै धेरै समयसम्म काम गर्नुपर्ने हुन्छ होला, एक वर्ष अथवा यसभन्दा बढी समय पनि लाग्न सक्छ ।” यो किताबमा उनले ‘काल्पनिक पात्रहरू’ को माध्यमबाट रूसी शिक्षित समुदायले क्रान्ति र जनताको हितको विरुद्धमा खेलेको गलत भूमिकाको भण्डाफोर गरेका छन् । यो कृतिबारे रूसी विश्वकोश लेख्छ, “अत्यन्त बृहत् र खारिएको, यथार्थताको अत्यधिक नजिक पुगेर चित्रित गरिएको, यथार्थताका आधारभूत अन्तरविरोधको विशाल प्रदर्शन, महाकाव्यको रूपमा अत्यन्त मोटो (ठुलो) प्रतिनिधित्व र धेरै दार्शनिक विचारहरू भएको ।” यो कृति, गोर्कीले चालीस वर्षको समयका अवधिमा भोगेका र हेरेको रूसी जीवनको पूर्ण झलक हो । यो कृति कहिल्यै पनि पूरा हुन सकेन । यो उपन्यासका केवल तीन खण्डहरू प्रकाशित भएका छन् । यो कामलाई अधुरै छाडेर गोर्की बिते ।
यो उपन्यासमा कार्यरत भएकै समयमा गोर्कीले समकालीनहरूका संस्मरण गरे । यसमा खास गरेर उनले क्रास्सीन र येसेनिनका साथसाथै थुप्रै कथाहरू विशेष गरेर ‘उपाख्यानहरू’ लेखे । यसले येगोर बुलिचेम् भन्ने नाटकको लागि विषयवस्तु प्रदान ग¥यो ।
उनले रूसका घटनाहरूलाई अत्यन्त उत्सुकतापूर्वक हेरे र जाँचबुझ गरे । यद्यपि, उनले सरकारी पक्षको आलोचना गर्थे, तथापि अरू विदेशी देशहरूबाट आक्रमण भएको खण्डमा तिनीहरूसँग घोच्ने तीखा शब्दहरूमा मुकाबिला गर्दै प्रतिरोध उनका सबभन्दा बढ्ता नामी विद्वतापूर्ण छलफलहरूमध्ये श्वेत रुसी प्रवासीहरू अमेरिकामा तथाकथित अराजकतावादीको संज्ञा दिएर मृत्युदण्ड दिने युद्ध चलाइएका स्याको र भेन्जेटीकोको मुद्दाको विरुद्धका बहसहरू उल्लेखनीय छन् । शान्ति, प्रजातन्त्र र समाजवादको पक्षमा उनले कैयौँपटक आवाज उठाए ।
गोर्कीले संसारका विभिन्न ठाउँबाट उनलाई पठाइएका चिठीपत्रहरू बढी चाख मानेर उत्साह र धैर्यतासाथ पढ्थे । उनी निवेदनहरू पढ्थे, साथीहरूले शुभकामनाहरू पढ्थे, समीक्षाको लागि उनलाई प्रायः आइरहने नयाँ प्रकाशनहरू पढ्थे । काप्री र मास्कोमा जस्तै सोरेन्टीमा पनि उनी वकिल र शिक्षक भएर काम गरे र नयाँ पिँढीका लेखकहरूका लागि एउटा मित्र बने । सन् १९२८ मा लेखिएको ‘म लेख्न कसरी सिकेँ’ भन्ने आफ्नो निबन्धमा उनले आफ्ना अनुभवहरू बताएका छन् । त्यो समयका प्रत्येक प्रतिभाशाली लेखकले गोर्कीबाट प्रेरणा र साहस पाए, तिनीहरूमध्ये मायाकोभ्स्की, पाभलेन्को, फेदिन अलेक्सेयी टाल्सटार्य र अरू धेरै धेरै हुन् ।
अन्तिम वर्षहरू
सन् १९२८ को मई महिनाको २८ तारिखका दिन गोर्की रूस फर्के । साठीऔँ जन्मोत्सव मनाइयो । उनले बालककालका दिन बिताएका ठाउँहरूको भ्रमण गर्ने उनको धोको पूरा भयो । उनी धेरै समयअगाडि रल्लिँदै हिँड्ने गरेका सडकहरूको बाटो भएर गए । उनले त्यहाँ थुप्रै नयाँ अनुभवहरू बटुले । पछि उनले सोभियत सङ्घ वारपार भन्ने आफ्नो कृतिमा लेखे, “यी वर्षहरूमा तीव्रताका साथ बढ्दै गरेको सजग र हाँकपूर्ण जीवनले मलाई सबभन्दा बढी प्रभावित पारे ।”
त्यसपछिका वर्षहरू रचनात्मक क्रियाकलापहरूले भरिपूर्ण थिए । उनी सोभियत सङ्घको साहित्यिक जीवनका अगुवा बने । उनले कैयौँ अखबार पत्रहरू सञ्चालन गरेर तिनीहरूको सम्पादन गरे । उनले कैयौँ महत्वपूर्ण साहित्यिक अभियानमा भाग लिए । उनको तत्परतामा उन्नाइसौँ शताब्दीका तन्नेरीहरूको इतिहास, हाम्रो विश्वमा एकदिन, गृहयुद्धको इतिहास, कलकारखानाहरूको इतिहास र उपन्यासहरूको पुस्तकालयसमेत कैयौँ ठुला साहित्यिक सङ्ग्रहहरू प्रकाशित भए । उनलाई चिठी लेख्ने असङ्ख्य मित्रहरूको विषयमा उनले चासो राखे, अनाथालयमा छोडिएका केटाकेटीहरूको जीवनस्तरको अध्ययन गरे र यसबाट उनले उनको लेखकीय सिर्जनात्मक प्रतिभाको लागि खुराक बटुले । उनको खराब स्वास्थ्यको कारणले गर्दा सन् १९३२ सम्म सरकारले उनलाई सोरेन्टोमा बस्ने अनुमति दियो ।
सन् १९३१ र १९३३ को बिचमा उनले येगोर बुलिचेम र अरूहरू सोमोग र अरूहरू र दोस्तीगेयेभ र अरूहरू भन्ने नाटक लेखे । यी नाटकहरू उनले बुर्जुवावर्गको पतन र समाजवादको विजय देखाउने किसिमले तर्जुमा गरेका छन् । सन् १९३२ मा रूसी सरकारले गोर्कीको साहित्यिक क्रियाकलापको चालीसौँ वर्षगाँठ मनायो । स्तालिनले उनलाई ‘अर्डर अफ लेनिन’ को विभूषणले सम्मानित गरे र लेखे, “म हृदयदेखि नै श्रमिकहरूको खुसीको लागि श्रमिकवर्गका दुश्मनहरूको बेचैनीको लागि तपाईँका थुप्रै सिर्जनात्मक वर्षहरूको कामना गर्दछु ।” गोर्कीको जन्मथलो, निश्नी नोभ्गोरोद्को नाम फेरेर ‘गोर्की’ राखियो । धेरै स्कूलहरू, नाट्यशालाहरू मस्को कलाकेन्द्रसमेत – विज्ञान प्रज्ञाप्रतिष्ठानको विश्वसाहित्य अध्ययनशाला र मस्कोको एउटा मुख्य सडकसमेत यही नाममा फेरिए ।
यी वर्षहरूका उनका निबन्धका विषयहरू खास गरेर आर्थिक सङ्कटको कारणबाट निस्केका परिणामहरूमा केन्द्रित रहे । फासिस्टवादको वृद्धि, यहुदीवादविरोधी क्रियाकलापहरू र रूसविरोधी अभियानको विरुद्धमा उनले कलम चलाए । गोर्कीका प्रयत्नहरू विश्व शान्ति कायम राख्नतिर परिलक्षित थिए । उनले विश्वभरि बढ्दै गरेको जातिवादविरुद्ध आवाज उठाए । उनले ‘अमानवत्वबारे’ भन्ने निबन्धमा लेखे, “मेरो सारा जीवनभरि म शान्तिप्रिय थिएँ । युद्धले मलाई विक्षिप्त बनायो र मानवप्रति लज्जित गरायो र मानिसहरूको संहार गर्ने योजना बनाएर जीवनलाई तहसनहस गर्ने दुष्टहरूप्रति घृणा भरियो ।”
गोर्कीले हिटलरको नाजीवादी तानाशाही प्रवृत्तिको कडा शब्दमा आलोचना गरे । त्यसको फलस्वरूप सन् १९३३ फेब्रुअरी ४ का दिन जर्मनी सरकारले जर्मनी भाषामा त्यो बेलासम्म उल्था भएका गोर्कीका सम्पूर्ण कृतिहरू जफत ग¥यो । सन् १९३३ को मई ४ मा गोर्कीले रोमाँरोलाँलाई लेखे । सन् १९१४ मा उनका एउटै मात्र छोरा म्याक्सिम बिते । गोर्कीले अत्यन्त ठुलो मार सहनु प¥यो । तर, उनको काम गर्ने प्रेरणा भने हराएन र मनमा अनेक नराम्रा चिन्ताहरू बोकेर र अशान्त वातावरणमा रहेर गोर्की बाँचे । उनले आफ्ना दुःख पिरहरूलाई व्यस्त क्रियाकलापपूर्ण जीवन बनाएर लुकाए तर उनले स्तालिनको काम–कारबाहीप्रति आँखा चिम्लन सकेनन् । पुलिसको गुप्तचर विभागले गरेको दमनपूर्ण व्यवहारको विरुद्धमा लेनिनको पालामा उनले गरेको विरोधझैँ नै यसपटक पनि विरोध जनाए र उनको निवेदनले उनका मित्र र शत्रुहरू दुवैका जीवन बचायो ।
सन् १९३४ को अगस्त महिनामा रूसी लेखकहरूको पहिलो अधिवेशन भयो र गोर्की त्यसको अध्यक्षमा चुनिए । त्यस अवसरमा उनले समाजवादी यथार्थवादी कलात्मक तरिकाबारे र यसलाई भविष्यमा कसरी विकास गर्ने भन्नेबारे एउटा लामो वक्तव्य दिए ।
उनलाई इन्फ्लुएञ्जा रोगले समात्यो । उनको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गयो । सन् १९३६ को जून १८ का दिन मस्को रेडियोले उनको मृत्युको घोषणा ग¥यो । अत्यन्त भव्य अन्त्येष्टि समारोहमा उनको शव लेनिनको समाधिको अगाडि एउटा अग्लो चिहानमा राखियो । त्यो समारोहमा मोलोतोभले समवेदना पत्र वाचन गरे, “यो क्षणमा हामीहरू सबैले हामी बिचबाट एउटा अत्यन्त चहकिलो पुञ्ज सदाको लागि हराएको महसुस गरेका छौँ । कामदारहरू र श्रमिक समूहका सबैले तिनीहरू आफूमा गोर्कीको प्रतिबिम्ब पाउँछन् । त्यहाँ उनीहरू आफ्नै जीवन, आफ्नै इज्जत र आफ्नै भविष्य देख्छन् । यसकारण, हाम्रो देशका सम्पूर्ण कामदारहरू र अरू देशका कामदारहरूले समेत गोर्कीलाई उत्तिकै स्नेह गर्छन् । तिनीहरू अहिले पनि गोर्कीलाई स्नेह गर्छन् र सधैँ गर्नेछन् । उनको महान्ता उनको उर्बर मस्तिष्क, जनसमूहसितको उनको घनिष्ठता मानव समुदायको लाभको लागि उनले गरेको अत्यन्त परिश्रमपूर्ण निःस्वार्थ सङ्घर्षमा निहित छ । यिनै कुराहरूले उनलाई श्रमिक समुदायका अनन्य मित्र बनाएका छन् ।”
खु्रस्चेभ र बुल्गानिन सम्मान गारतमा थिए । स्तालिन, मालोतोभ आईसोनिकिड्से र कागानोभिचले अन्तमा शव बोकेर क्रेमलिन निवाससम्म लगे र यो त्यहीँ बन्द गरियो । त्यहाँ एउटा सामान्य स्तम्भमा स्मरणका लागि केवल उनको नाम र जन्म तथा मृत्युको तिथि लेखिएको छ ।
गोर्कीको मृत्युबारे विभिन्न तर्कहरू विद्यमान छन् । सन् १९३८ मा जब बुखारिनसम्बन्धी जाँचबुझ भयो, गुप्तचर पुलिस विभागको दोषी ठानिएको हाकिम योगोडाले गोर्कीका छोरा म्याक्सिम र गोर्की स्वयम्लाई हत्या गरेको कुरा स्वीकार्याे । यो काम उसले ट्रोट्स्कीको आदेशमा गरेको थियो भन्ने उसले बतायो । यस काममा उसले ऊ जत्तिकै अपराधी मानिएको प्रोफेसर लपेट्न्योभ र क्रेमलिनका चिकित्सक डा. लेभिनको सहयोगमा गरेको कुरा खुलासा ग¥यो । गोर्कीलाई चौबीस घण्टाभित्र, ‘धतुराको विषालु झोलबाट बनेका दुईओटा इन्जेक्सन, चारओटा क्यापिन, दुईओटा डिगालेन र चालीसओटा कपुर (कम्फोर) इन्जेक्सन’ दिइएको थियो ।
मस्कोको गोर्की सङ्ग्रहालयमा यस विषयमा नौला सूचनाहरू फेला परेका छन् । त्यो सङ्ग्रहालयमा गोर्कीको जीवन र कार्यबारे धेरै सामग्रीहरू समावेश भएको गोर्कीसम्बन्धी अनुसन्धानको लागि ग्रन्थ रक्षालय छ । यहाँबाट प्राप्त जानकारीअनुसार गोर्कीको क्षयरोगग्रस्त शरीरको जाँचबुझ गर्नका लागि गठित चिकित्सकहरूको एउटा समितिले गोर्कीको लास जाँच गरेर के पुष्टि गरेको छ भने उनको शरीरमा क्षयरोगको विस्तार चरमबिन्दुमा पुगिसकेको थियो । उनको मृत्युको समयमा उनको फोक्सोको एक तृतीयांश मात्र रोगबाट आक्रमण हुनबाट बाँकी थियो । यो प्रतिवेदनअनुसार गोर्कीलाई इन्फ्लुएन्जाले गम्भीररूपमा समातेको थियो । उनी पुनः स्वास्थ्य लाभ गर्न असमर्थ थिए र यसैबाट उनको मृत्यु भयो । यस विषयमा मस्कोका अखबारहरूले उनी बिरामी परेको सम्झी दिनदिनै यस्तो लेखेका थिए, “गोर्कीको मानवतावादी यथार्थवाद एउटा नौलो सिर्जनात्मक प्रयत्न हो । यसको प्रभावले रूसी साहित्यको गरिमालाई उचालेको छ । गोर्कीले नयाँ सामग्रीहरू प्रदान गरेर विश्व साहित्यको क्षेत्रमा एउटा नयाँ क्षितिज उघारे । यति मात्र होइन, उनले एउटा नयाँ र उदाहरणयोग्य शैली र तरिकाको पनि सूत्रपात गरे । म्याक्सिम गोर्कीका रूसी जनता जारतन्त्रीय रूसको मात्र होइन, विश्वभरिका थिचिएका जनताको पक्षमा उभिए ।”