उनले ‘रूसका सम्पूर्ण नागरिकहरू र युरोपेली देशहरूको जनमत प्राप्त गर्नको लागि एउटा अपिल मस्यौदा’ गरे । उनले त्यो अपिलमा आफू स्वयम्ले देखेको त्यो विध्वंशकारी घटनाको उल्लेख गर्दै अति सामान्य मानिसहरूलाई निर्दयतापूर्वक मारिएको र यो सम्पूर्ण स्थितिको जिम्मेवार जार स्वयम् भएको दाबी गरे । यो मस्यौदाको गुरुकापी पुलिसको हातमा पर्न पुग्यो । जनवरी ११ को दिन गोर्कीलाई सरकारले पक्र्यो र अति महत्वपूर्ण राजनीतिक अपराधीहरू राखिने जेल पटेर पाउल फोट्रिज भन्ने ठाउँमा उनलाई लगियो । अभियोगपत्रमा “कलाकार ए. एम. पेशकोभले वर्तमान राजनीतिक र सामाजिक व्यवस्थालाई उखेलेर फ्याँक्ने घोषणा गर्दै मानिसहरूलाई उत्तेजित पार्ने अपिल लेखेका छन्” भन्ने उल्लेख भएको थियो । उनलाई सरकारविरोधी गतिविधिमा सक्रिय रहेको ठिमाहाको रूपमा हेरिन्थ्यो ।
गोर्कीको गिरफ्तारीले पूरै रूसभरि विदेशमा समेत एउटा हलचल ल्यायो । गिरफ्तारीप्रति विरोध जनाउन जनआवाजका भयङ्कर लहरहरू उर्ले । बर्लिनका अखबारहरू ‘भोरवार्टस’ र ‘बर्लिनर रागसल्बाट’ भन्ने दुइटा पत्रिकाले २८ जनवरीको अङ्कमा ‘गोर्कीलाई बचाऊ’ शीर्षकअन्तर्गत जोशपूर्ण भाषामा लेखकप्रति तत्कालै मानवीय र न्यायपूर्ण काम होओस् भन्ने माग राखे । गोर्कीको महानता चाँडै नै विश्वभरका बुद्धिजीवी र कलाकारहरूको लागि एउटा चाखको विषय बन्यो । ख्यातिप्राप्त राजनीतिज्ञ र कलाकारहरूले गोर्कीको पक्षमा एउटा निवेदन तयार गरे र त्यसमा सही गरे । दस्तखत गर्नेहरूको सङ्ख्या अत्यधिक भयो । तर, अर्कोतिर सरकारी पक्षका र धार्मिक समुदायको संरक्षणका ‘नेउए प्रेउसिज्ये क्रेउजेइटुङ जर्मनिय’ र ‘कोल्निचे जेइटुङजस्ता पत्रिकाहरूले गोर्कीको मुक्तिको लागि वकालत गर्न इन्कार गरे । तिनीहरू अरूको देशको घरेलु मामलामा चासो देखाउन चाहँदैनथे । तर, पनि युरोपभरि नै नाम चलेका मुख्य मान्छेहरूले गोर्कीको पक्षमा आवाज उठाए ।
त्यतिबेला नै धेरै बिन्तीभाउ गरेपछि गोर्कीलाई ‘साहित्यिक क्रियाकलापलाई जीवित राख्न कलम चलाउन पाउने’ अनुमति दिइयो । गोर्कीले आफ्नो साहसलाई यथावत् राखेर ‘सूर्जेका बालबच्चाहरू’ भन्ने एउटा नयाँ नाटक लेखे । उनको आफ्नै शब्दमा यो एउटा ‘रमाइलो संयोगान्त’ नाटक थियो । यो नाटक लेख्दै गर्दा गोर्की कोठामा एक्लै बसेर सा¥हो आवाज निकालेर एक्लै हाँस्थे । गोर्कीको यो अनौठो किसिमको व्यवहार देखेर उनको पहरा बसेका सिपाहीहरू दङ्ग पर्थे र हर्षले गद्गद् भएर खिलखिलाउँदै निस्केको त्यो असङ्गत चिच्याहटको विषयमा तिनीहरू आफ्ना हाकिमलाई सुनाउँथे । पुलिसको हाकिम गोर्कीको कोठामा गएर घण्टौँसम्म त्यहाँ बस्थ्यो र उनीसित कुराकानी गथ्र्यो,
फेरि पनि सरकार आफ्नो निर्णय फेर्न बाध्य भयो । सरकारले यसरी आफ्नो अडान त्याग्नु परेको यो तेस्रो पटक थियो । सन् १९०५ को फेब्रुअरी महिनामा दस हजार रूबल धरौटी लिएर सरकारले गोर्कीलाई जमानतमा छाडिदियो । कारावासको अवधिमा उनको स्वास्थ्य चिन्ताजनक किसिमले बिग्रेको थियो । त्यसैले उनको परिवारसहित गोर्कीले याल्ता जाने अनुमति पाए । उनी त्यहाँ धेरै समयसम्म बसेनन् । मई १५ को दिन उनी फिनल्यान्डको कोउक्काला भन्ने ठाउँमा गए ।
पूरै रूसभरि उनको नाटक ‘गाउँलेहरू’ को प्रदर्शनमा सेन्सरले प्रतिबन्ध लगाएको छ भन्ने कुरो अगस्त महिनामा पत्रिकाहरूले प्रकाशनमा ल्याए । सेन्ट पिटसवर्ग र अरू सहरहरूमा प्रदर्शन भइरहेको नाटक ‘सूर्जेका बालबच्चाहरू’ पनि कुनै अपवादबिना नै होहल्लामुक्त वातावरणमा रोक्कियो ।
सेन्ट पिटसवर्गमा आइतबार भएको रक्तपातपूर्ण क्रान्तिकारी घटनाको दबाबमा परेको हुनाले अक्टोबर २७ को दिन जारले एउटा घोषणा प्रकाशित गर्यो । त्यो घोषणापत्रमा ‘नागरिक स्वतन्त्रतामा फेरबदल नहुने सिद्धान्तहरू’ जनताका लागि दिएको प्रतिज्ञा थियो । यो आदेशले रूसको पहिलो माक्र्सवादी पत्रिका ‘नोभाय शिज्न’ लाई बाटो खोल्यो । यो पत्रिका २७ तारिखमा लेनिनको सम्पादनमा पहिलोपल्ट प्रकाशित भयो । यो पत्रिका म्याक्सिम गोर्की र मारिया फ्योदोरोम्ना एन्ड्रेयेभाको आर्थिक लगानीबाट चलेको थियो । भूतपूर्व नाट्यकलाकार र गोर्कीको निर्वासनकालीन भविष्यको मित्र मारियाको सोचाइमा यो अखबार ‘सर्वोत्कृष्ट कविताहरू, सबभन्दा राम्रा कथाहरू र समसामयिक राजनीतिक लेखहरू’ छापिनुपर्छ भन्ने लागेको थियो । पत्रिकाका कर्मचारीहरूमा अरू मानिसहरूका साथसाथै लुनाचार्सत्की, मास्लोभ्, एन्ड्रेयेभ, वाल्मोन्ट, चिरिकोभ् र कार्ल काउट्की, कार्ल लियेवक्नेच र रोजा लक्जेम्वर्गजस्ता विदेशी सामाजिक प्रजातन्त्रवादीहरूसमेत थिए । पत्रिकाको पहिलो अङ्क जफत भयो । पत्रिकाको सम्पादक मण्डलले ‘सामाजिक प्रजातान्त्रिक अखबारमाथि आक्रमण’ भन्दै विरोध जनायो । तर, डिसेम्बर २ सम्म नै पत्रिका जफत गर्ने अभियान चल्दै गयो र आखिरमा गएर ‘नोभाया शिज्न’ को प्रकाशन स्थगित गर्नुपयो । त्यो मितिभन्दा अगाडि नै पत्रिकाले लेनिनको ‘पार्टी सङ्गठन र पार्टी साहित्य’ र गोर्कीको ‘निम्नमध्यम वर्गबारे टिप्पणी’ जस्ता लेखहरू प्रकाशित गरिसकेको थियो । यी लेखहरूमा रूसका क्रान्तिविरोधी तत्वहरूप्रति कडा प्रहार गरिएको थियो ।
यी महिनाहरूमा मस्कोमा बस्ताको समयमा, भाषण गरेर र लेख लेखेर गोर्कीले अविरल गतिमा क्रान्तिको लागि काम गरे । उनले ‘मलाई जुत्ताको लागि पैसाको खाँचो छ’ भन्दै आगामी विद्रोहको लागि धन जम्मा गरे । उनको भाषामा ‘जुत्ता’ को मतलब हातहतियार थियो । उनले यी सरसामग्रीहरू आफ्नो डेरामा थुपारेर राखेका थिए । उनले नोभेम्बर २७ को दिन सेन्ट पिटसवर्गमा पहिलोपल्ट लेनिनलाई भेटे । डिसेम्बर ८ मा मस्कोमा हातहतियारसम्बन्धी तालिम सुरु भयो । त्यहाँका श्रमिकहरूको अत्यन्त राम्रो अडानप्रति गोर्की असाध्यै खुसी भए । डिसेम्बर १० मा प्यात्नीट्स्कीलाई लेखेको चिठीमा उनले संयमपूर्वक “वास्तवमा जितार पक्ष नै सरकार बन्ने छ, तर त्यो धेरै समयसम्म टिक्ने छैन, र तिनीहरूले आफ्नो विजयको निम्ति निकै महँगो मूल्य तिर्नुपर्नेछ” भन्ने उल्लेख गरे ।
गोर्कीको सोचाइ ठीक थियो । विद्रोहलाई निर्ममतापूर्वक दबाइयो । रूसभरका श्रमिकहरूलाई वितरण गरिएको एउटा हस्तलिखित पर्चामा गोर्कीले भने, सर्वहारावर्ग पराजित भएको छैन तथापि यसले अत्यन्त ठुलो नोक्सानी बेहोर्नुपरेको छ । नयाँ आशाले भरिपूर्ण भएर सङ्घर्ष मजबुत भएको छ । रूसका श्रमिक जनता अन्तिम विजयको लागि सडकमा उत्रेका छन् । किनभने, तिनीहरू नै नैतिकरूपमा रूसका सबल, वर्ग सचेत र सामाजिक श्रेणी हुन् र तिनीहरू आफ्नो भविष्यको लागि आफैमा विश्वास राख्छन् ।
जीर्ण भएको आफ्नो आर्थिक अवस्थालाई सुधार्न जारतन्त्रीय सरकारले संसारका विभिन्न देशहरूबाट ऋण लिने योजना बनायो । सरकारको यो निर्णय जब प्रकाशमा आयो, रूसी समाजवादी प्रजातन्त्रवादी श्रमिक सङ्गठनको केन्द्रीय समितिले आफ्नो विशेष उद्देश्यको लागि गोर्कीको विश्वविख्यात ख्यातिको प्रयोग गर्ने काम अगाडि बढायो । गोर्कीले विश्वका विभिन्न देशहरूको भ्रमण गरून् र रूसी क्रान्तिको यथार्थ चित्रण संसारअगाडि राखून्, उनले भाषण गरेर र लेखहरू लेखेर रूसको जारशाही सरकारलाई दिइने ऋण रोक्ने काममा सहयोग गरून् र पार्टीको लागि अनुदान जम्मा गरून् भन्ने पार्टीको विचार भयो ।
सन् १९०६ को जनवरी महिनाको अन्त्यतिर गोर्कीले फिनल्यान्डको कुनै एउटा ‘गुप्त ठाउँ’ बाट उनकी श्रीमतीलाई चिठी लेखे । उनी त्यहाँ सम्भावित गिरफ्तारीबाट जोगिन लुकिरहेका थिए । उनले उनकी श्रीमतीलाई लेखेको चिठीमा “कठिन घडी आइरहेको छ, सरकारी अधिकारीहरू मलाई समात्न चाहन्छन् भन्ने कुरो प्रस्ट भइसकेको छ । मलाई जेलमा पर्न इच्छा छैन, त्यसैकारणले म विदेश भ्रमणमा जाँदै छु” भन्ने उल्लेख गरे ।
फेब्रुअरी महिनामा उनी बर्लिन आइपुगे । त्यहाँ उनले बेबेल, काउट्स्की, लिएब्क्नेच्ट् र मुख्यरूपमा माक्र्स रेछन् हडिट्लाई भेटे । मस्को नाट्यशालाका कलाकारहरू भ्रमणको सिलसिलामा त्यहाँ पुगेका थिए र त्यसबेलासम्म गोर्की ‘निम्न मध्यमवर्ग’, ‘सूर्जेका बालबच्चाहरू’ र सबभन्दा बढी ‘निकृष्ट खाडल’ नाटकको माध्यमबाट ख्यातिप्राप्त गरिसकेका थिए । रूसी गुप्तचर विभागले उनको भ्रमणको पासपोर्ट रोक्ने असफल प्रयत्न गरेको थियो । गुप्तचर विभागले उनलाई केवल निगरानीमा राख्न सक्थ्यो ।
ती लज्जालु लेखक, जसले केही मात्रामा सार्वजनिक सम्मान प्राप्त गरिसकेका थिए । भेष बदलेर आफ्नो यात्रा जारी राखे । यसरी उनी स्वीट्जरल्यान्ड पुगे । त्यसपछि पेरिस र चेरवर्ग हुँदै उनी न्युयोर्क पुगे, न्युयोर्कमा उनले “विशेष किसिमको भव्य र न्यानो स्वागत सम्मान” पाए । त्यतिबेलाको सम्झना गर्दै उनी भन्छन्, “उनन्चालीस घण्टासम्म न्युयोर्कका सम्पूर्ण प्रेसहरूले मेरो र मेरो यात्राको उद्देश्यबाहेक अरू कुनै कुरा लेखेनन् र भनेनन् । तीन दिनपछि बल्ल त्यो उत्कण्ठाको लहर घट्यो । रूसको गुप्तचर विभाग ‘ओखाना’ ले आफ्नो काम गरेको थियो । गुप्तचर विभागले गोर्की एउटा ‘अराजकतावादी र फुँडो’ हो भन्ने उल्लेख गरिएको फाइल अमेरिकी प्रेस र विदेश विभागलाई सुम्पिसकेको थियो । गोर्कीको साथमा सँगै गएकी यात्राकालीन सङ्गिनी एम. एफ. एन्ड्रेयेभ्ना उनकी वैधानिक श्रीमती होइनन् र रूसमा उनका जहान परिवार भोकभोकै मरिरहेका छन् भन्ने कुरा गुप्तचर विभागले उल्लेख गरेको थियो । न्युयोर्कको समाज गोर्कीको ‘नैतिक दुर्गति’ को विरोधमा उत्यो । गोर्की लेख्छन्, “म तीनओटा होटलबाट निकालिएँ र मेरो साथमा रहेका प्रत्येक मानिस मदेखि परपर भागे । मैले एकजना अमेरिकी लेखकको शरण पाएँ र अब हुने घटनालाई हेरेर बस्न थालेँ । अखबारपत्रहरूले मलाई देश निकाला गर्नुपर्छ भन्ने कुरामा बहस गर्न थाले ।” तर, त्यहाँको सबैभन्दा बढी प्रभावकारी अखबारले भने लेखहरू लेखिदिनको लागि गोर्कीसित पहिले नै सम्झौता गरिसकेको थियो र गोर्कीको विरुद्धमा बद्ख्वाइँ गर्ने काममा सामेल भएनन् । परिस्थिति बिस्तारै सामान्य हुँदै गयो र रूसको लागि पश्चिमका राष्ट्रहरूबाट दिइने ऋणको विरुद्धमा गोर्कीले अभियान चलाउन सुरु गरे । उनको मुख्य अडान, ऋणबाट प्राप्त जारशाही सरकारले क्रान्तिकारीहरूको क्रियाकलापलाई निर्ममतापूर्वक दबाउन दुरूपयोग गर्नेछ भन्ने कुरो प्रस्ट्याउनमा केन्द्रित थियो । उनको आह्वानले सार्वजनिक क्षेत्रको ध्यान उनीतिर आकर्षित ग¥यो र उनलाई ठुलो मात्रामा अनुदान रकम प्राप्त भयो ।
गोर्कीले बडो उत्सुक भएर गम्भीरतापूर्वक अमेरिकी जीवनपद्धतिको अध्ययन गरे । उनमा परेको अमेरिकी जीवनको छापबारे उनले ‘अमेरिका’ मा भन्ने उनको यथार्थवादी चित्रण र पर्चाहरूमा उल्लेख गरेका छन् । उनकै शब्दमा अमेरिकी जीवनको वर्णन यस्तो छ, “मैले अत्यधिक मात्रामा गरिबी देखेको छु, अनुहारमा एक थोपा रगत नभएका, हाड, छाला मात्र भएका मान्छेहरू देखेको छु । तथापि, पूर्वतिरको गरिबीको बीभत्स रूप भने मैले जानेबुझेसम्म सबभन्दा बढी खराब छ । यहाँका सडकहरू पिठोका बोराजस्तै मानिसहरूको भिडले खचाखच छ । केटाकेटीहरू सडकमा मिल्किएका फोहर टीनका डिम्बाहरू, फलफुल र तरकारीहरू खोज्छन् र जहाँ जति बेला जे पायो, त्यो हुसेरिहाल्छन् । ढुसी उम्रेका पदार्थहरूसमेत तिनीहरू छाड्दैनन् । सडक धूलो र दुर्गन्धले भरिएको छ । एउटा सानो रोटीको टुक्राको लागि केटाकेटीहरूमा पशुवत झैझगडा र शत्रुता सिर्जना हुन्छ । तिनीहरू रोटीको टुक्राको लागि लुछाचुँडी गर्छन् । तिनीहरू क्षुब्ध परेवाका बथानझैँ सडक ढाकेर हिँड्छन् । राति एकदुई बजेतिर र अझ त्यसभन्दा अबेरसम्म दर्दनाक गरिबीका ती कीटाणुहरू फोहर सडकमा लडीबुडी खेलिरहन्छन् ।”
‘पहेँलो शैतानको नगर’ का यी शब्दहरूमा पश्चिममा पुँजीवादले सिर्जना गरेका मानिसहरूका अत्यन्त नाजुक अवस्थाहरूप्रति गोर्कीले आफ्नो विरक्त पोखेका छन् । गोर्कीका ‘अन्तर्वार्ताहरू’ र काइसेर विलहेल्म, जार निकोलाज र ‘अमेरिकी राजा’ सितका उनका छोटा व्यङ्गयात्मक वार्तालापहरू पनि उत्तिकै आक्रमणकारी छन् ।
फ्रान्सेली सरकारले जारशाहीको अनुरोधमा रूसलाई ऋण स्वीकृत गर्ने निधो गरेपछि गोर्कीले ‘सुन्दर फ्रान्स’ भन्ने अति चर्चित ‘कुख्यात’ पर्चा लेखे ।
अमेरिकामा बसेर गएका गोर्कीका क्रान्तिकारी क्रियाकलापले रूसको वर्तमान शक्तिको स्वरूपमा हल्लीखल्ली मच्चाइदियो । गोर्की सन् १९०५ को फेब्रुअरीमा फोट्रीज झ्यालखानाबाट छुटेदेखि नै समाजवादी जनतान्त्रिक पार्टीका सदस्य बनेका थिए र उनको क्रान्तिकारी क्रियाकलापको कारणले गर्दा उनी रूसी सरकारका निम्ति विशेष चासोका विषय बनेका थिए । डिसेम्बर क्रान्तिभन्दा अगाडि उनले याल्टामा गएर आफ्नो परिवारलाई भेट्ने साहससम्म गर्न सकेका थिएनन् । उनको जीवन खतरामा थियो । उनी मस्कोमा रोकिएका थिए । अक्टोबर २४ १९०५ मा उनले आफ्नी श्रीमतीलाई लेखे, “यहाँ म मारिन्छु कि भन्ने निकै कम सम्भावना छ ।”
अमेरिकाको यात्राले लेखकको आशावादलाई फेरि टल्काएको थियो । गोर्कीकै शब्दमा– “विश्वक्रान्ति नजिकिँदै आइरहेको कुरा मलाई प्रत्येक दिनले आभास दिन्थ्यो ।” क्रान्तिको विजयप्रति उनको प्रगाढ विश्वास उनले अमेरिकामा लेखेको नाटक ‘शत्रुहरू’ र उनको प्रख्यात उपन्यास ‘आमा’ मा विशेषरूपमा मुखरित भएको छ । यी दुवै कृतिहरूमा उनले जनसमूहको बिचमा रहेको अज्ञात शक्तिको चित्र उतारेका छन् । शत्रुहरू नाटकमा उनले आफ्नो जीउ बचाउनको लागि देश, जनता, इज्जत र स्वतन्त्रतासमेत बेच्न तयार हुने उदारवादीहरूको लोकाचारलाई उदाङ्गो परेका छन् । ‘आमा’ उपन्यास सर्वप्रथम सन् १९०६ मा अमेरिका र लण्डनबाट अङ्ग्रेजी भाषामा प्रकाशित भएको थियो । जर्मनीमा किताबको रूपमा प्रकाशित हुनुभन्दा अगाडि यो उपन्यास १९०७ मा बर्लिनको ‘भोर्वार्टस्’ भन्ने पत्रिकाको जुलाई २ देखि अक्टोबरको ३० सम्म एउटा स्तम्भमा क्रमशः निस्कँदै गयो । रूसमा ‘ज्नानिए’ पत्रिकाको सोह्रौँ अङ्कमा यो उपन्यासको पहिलो भाग मात्र छापिएको थियो र हुलमुलमा नै सेन्सरबाट पास गराइएको थियो । यो उपन्यासको प्रकाशनको तत्कालैपछि सेन्ट पिटसवर्गको पुलिसको हाकिमले ‘कलाकार समूहको सदस्य अपराधी मास्टर ए. एम. पेश्कोभ’ को नाममा पक्राउ पुर्जी जारी ग¥यो ।
‘आमा’ उपन्यासका आदर्श पात्रहरू पाभेल भ्लासोभ् र उनकी आमा निलोभ्ना सन् १९०२ मई महिनामा भएको प्रदर्शनमा भाग लिएबापत जारशाही न्यायालयबाट सजाय पाएका श्रमिक प्योतर सालोमोभ र तीर्थयात्रीको रूपमा देशभर चहार्दै क्रान्तिकारी पर्चा र लेखोटहरू वितरण गर्ने उनकी आमा थिइन् । जेलमा परेको आफ्नो छोरालाई अवैध किसिमले बम पु¥याउन तल्लीन भएकी एउटी आमालाई गोर्कीले चिनेका थिए । ‘आमा’ उपन्यास तिनीहरू र गोर्कीले चिनेका अरू कैयौँ वीर आमाहरूको स्मारक हो । रूसी साहित्यमा सर्वप्रथम गोर्कीले नै श्रमिक जनताको स्वतःस्फूर्त असङ्गठित सङ्घर्ष सङ्गठितरूपमा फेरिएको परिवर्तनको बयान गरे । उनले यो परिवर्तनलाई अत्यन्त गहिरिएर सूक्ष्म किसिमले वर्णन गरे । उनले यस्तो यथार्थ चित्रण पेस गरे कि ती पात्रहरू उडन्ते कल्पनाका उपज नभएर वास्तविक जीवनका रगत र मासुले बनेका पात्रहरू बने । लेनिनले यो कृतिलाई समकालीन इतिहास भन्दै ‘अति समसामयिक किताब’ भनेर सम्बोधन गरे । कर्ल काउट्स्कीकी श्रीमतीले गोर्कीकी सङ्गिनी एम.एफ. एन्ड्रेयेभालाई एउटा चिठी लेखेर यो किताबबारेको उनको धारणा यसरी पेस गरिन्–
“यो अनौठो उपन्यास गोर्कीका सुन्दर कृतिहरूमध्येको सबभन्दा बढी सुन्दर सिर्जना हो । यसले एउटा आत्मीय उच्च किसिमको स्नेहको प्रकाश छर्छ र त्यो प्रकाश तत्कालै हृदयको गहिराइसम्म पुगेको हुन्छ । यसले एउटा तेज फैलाउँछ, त्यो धेरैबेरसम्म चम्किरहन्छ । यो उपन्यास लेखकले आफ्नो मुटुको रगतले लेखेका हुन् भन्ने कुरो पाठकले अनुभव गर्छ । उपन्यासका पात्रहरूको वर्णन पनि अति नै स्पष्ट छ । आमालाई कसरी माया गर्नुपर्छ, मान्छे आमासित कसरी कष्ट भोग्छ, कसरी आमाको स्नेह गरिन्छ भन्ने कुरो किताबका प्रत्येक पानाले बताउँछन्– यो किताबको लागि म कति इमानदारीपूर्वक उनलाई धन्यवाद दिन चाहन्छु भन्ने कुरो कृपया तिम्रो अलेक्सेयीलाई सुनाइदेऊ ।”
आमा उपन्यास सबै प्रमुख भाषाहरूमा अनुवाद गरियो र यसले विश्वव्यापी सफलता हासिल गर्यो । अनुमान गरिएझैँ नै, पुँजीवादी र प्रतिक्रियावादी आलोचकहरूको यस पुस्तकबारेको धारणा नकारात्मक भयो । यस विषयमा तिनीहरूले रूसी लेखक डी.डब्ल्यु. फिलोसीफोभ्को अनुसरण गरे । फिलोसीफोभ्ले ‘गोर्कीको अन्त्य’ भन्ने उनको निबन्धमा गोर्कीविरोधी अभियानको सुरुआत गरेको थियो ।
सन् १९०७ को वसन्त ऋतुमा लण्डनमा रूसी समाजवादी प्रजातन्त्रवादी पार्टीको पाँचाँै अधिवेशन भयो । गोर्कीले ह्वाइटच्यापेल चर्चमा प्लेखानोभद्वारा नेतृत्व गरिएको मेन्सेभिक दल र लेनिनद्वारा नेतृत्व गरिएको बोल्सेभिक दलको बिचमा भएको गरमागरम बहस घण्टौँसम्म सुने । ती महान् राजनीतिज्ञको त्यतिबेला उनमा परेको प्रभावको उल्लेख गर्दै ‘लेनिनको सम्झनामा’ भन्ने आफ्नो कृतिमा उनले यसरी लेखेका छन्, “राजनीतिका अत्यन्त कठिन समस्याहरूको समाधान सरल किसिमले पनि गर्न सकिन्छ भन्ने कुरो मैले मेरो जीवनमा सर्वप्रथम पत्ता लगाएँ । यी मानिसले फूलबुट्टा भरेर कुरा गर्ने प्रयत्न गरेनन् । उनले प्रत्येक शब्दको अर्थलाई अति सरल किसिमले प्रस्ट्याए ।”