जेलमा पर्नुभन्दा केही दिनअघि, उनका सङ्कलित कथाहरूको पहिलो भाग निस्किसकेको थियो । दोस्रो भाग पनि चाँडै नै प्रकाशित भयो । दुवै भाग कथाहरू छापिएको केही महिनाभित्रै सकिए । तीन भागमा निस्केको अर्को सङ्ग्रह पनि तत्कालै सिद्धियो । केही दिनभित्रैमा उनको किताबका झन्डै एकलाख प्रति बिक्री भयो । त्यतिबेलासम्म यति धेरै मात्रामा कुनै किताबको बिक्री भएको कुरो सुनिएको थिएन । यो अद्वितीय सफलताका कारणहरू, रूसको त्यो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने फेला पर्छ । सन् १८७९ ताका रूसका प्रतिक्रियावादीहरूले त्यहाँका क्रान्तिकारीहरूमाथि हिंसात्मक दमन गरे । अलेक्ज्यान्डर द्वितीयको हत्याको प्रयत्नपछि कैयौँ होनहार प्रतिभाशाली युवकहरूलाई साइबेरिया निर्वासनमा पठाइयो । देशको प्रगतिसम्बन्धी सबै काम लङ्गडो भयो, सबै किसिमको आशा निराशामा फेरियो । भ्रष्ट भइसकेका सामन्तीहरूको समूह पुँजीपति बुर्जुवावर्गको रूपमा फस्टाउँदै थियो । बढ्दो औद्योगीकरणले एउटा नयाँ किसिमको सामाजिक श्रेणीको विकास गराउन प्रोत्साहित गरेको थियो र यो समाज साना किसान र सहरका तल्लोवर्गका मानिसहरू मिलेर बनेको सर्वहारा समाज थियो । त्यो समयका सबै रूसी लेखकहरू, जस्तो कि दोस्तोभस्की, टोल्सटाय अथवा चेखोभ आदिले असल र अर्थपूर्ण जीवनको लागि ध्याउना गरिरहेका मानिसहरूको दुःखदायक स्थितिको चित्रण गरे । ती मानिसहरूमा मुक्तिको लागि गर्नुपर्ने काम गर्ने खुबीको कमी भएको र त्यसैकारणले तिनीहरू छितरवितर भएर नाश भएका कुराहरू चित्रित गरे । तर, गोर्कीले भने, उनले सकेसम्म जीवनको सबल पक्षको वर्णन गरे । उनी विद्यमान अवस्थामा रहन अथवा त्यसैबाट सन्तोष लिन राजी थिएनन् । ‘जीवनलाई पीडा दिएर आत्माले मुक्ति पाउने सिद्धान्तलाई’ उनले अस्वीकार गरे । उनको धारणामा यस्तो विचार पछ्याएको हुनाले नै ‘रूसी जनताले विपत्ति र दुःखकष्टलाई सहनुपरेको’ थियो । उनका क्रान्तिकारी रोमान्टिक नायकहरू सबल, स्वाभिमानी र उच्च आदर्श भएका मानिसहरू छन् र तिनीहरू जनताको सुखको लागि र न्यायको विजयको लागि लड्न तयार छन् ।
क्रान्तिमय ‘अग्निपन्छी’
मार्च १७, १९०१ मा (त्यतिबेलाको मार्च ४), सेन्ट पिटर्सवर्गमा कजानको मुख्य गिर्जाघरअगाडि विख्यात विद्यार्थी प्रदर्शन भयो । प्रतिरक्षा दलले प्रदर्शनकारीहरूलाई आक्रमण ग¥यो र निर्दयतापूर्वक तिनीहरूलाई चटाचट काटेर ढलायो । त्यो दृश्य गोर्की आफैले देखे । यो हिंसात्मक दमनबाट अत्यन्त क्षुब्ध भएका गोर्कीले, लेखकहरूको सङ्गठन ‘लेखक सङ्घ’ द्वारा मस्यौदा गरिएको एउटा विरोधपत्रमा अरू लेखकहरूसँग मिलेर सही गरे । त्यसै समयमा ‘शिज्न’ पत्रिकाले गोर्कीको ‘अग्निपन्छीको गीत’ प्रकाशित ग¥यो । त्यो रचनामा उनले खुलारूपमा अगाडि बढ्दै आइरहेको क्रान्तिप्रति उनको सहानुभूति व्यक्त गरे । सन् १८८५ मा प्रकाशित ‘बाजको गीत’ जस्तै यो साङ्केतिक कवितात्मक दृष्टान्त हो । क्रान्तिकारी युवा समुदायले यो रचनाको प्रत्येक पङ्क्ति दिलोज्यान लगाएर पढे । ‘बाजको गीत’ ले असमान सङ्घर्षमा पराजित भएको लडाकुको चित्रण गरेको छ भने ‘अग्निपन्छी’ ले क्रान्तिको पहिलो मुहुर्तमा नै जनसमुदाय सङ्घर्षमा उत्रने अन्दाज लगाएको छ । यो रचना गोर्कीको सम्पूर्ण शिल्पले ओतप्रोत भएको छ र यसलाई ‘रोमान्टिक क्रान्तिकारीपनको उत्कृष्ट अभिव्यक्ति’ को रूपमा वर्गीकरण गरिएको छ ।
अप्रिलमा गोर्की र उनको जस्तै विचार भएका अरू थुप्रै मानिसहरू जेलमा परे । तिनीहरूमध्ये गोर्की भविष्यका धर्मपुत्र सिनोमी भीइसेमिच स्भेर्डलोभ पनि थिए । सबैजनालाई, सर्मोभोका कामदारहरूको अधीनमा रहेको सेन्ट पिटर्सवर्गमा किनेको लिथो मेसिन राखेको दोष लगाइएको थियो । गोर्कीलाई एउटा खतरनाक अपराधीको रूपमा व्यवहार गरियो । उनलाई क्रान्तिकारी समाजवादी प्रजातन्त्रवादीहरूसित सम्बन्धित भएको र कजान विद्रोहको समयमा मानिसहरूलाई सङ्घर्षमा उत्रन उत्तेजित गराएको आरोप लगाइएको थियो । गोर्कीलाई पकडेर बन्दी बनाएको विरुद्धमा प्रतिरोध गर्न लियो । टाल्सटायको नेतृत्वमा रूसभरि एउटा लहर फैलियो । सातजना भएको एउटा समूहले गोर्कीलाई फेरि क्षयरोगले समातेको प्रमाण फेला पा¥यो । मई महिनामा घरमै नजरबन्द हुने गरी जेलबाट छाडियो । त्यसपछि उनी ‘इस्का’ समूहका कान्तिकारीहरूलाई सहयोग गर्न सक्ने स्थितिमा भए । पुलिसको अनुमानअनुसार उनले व्यक्तिगत कामको लागि आफ्नो आम्दानीको तीन भागको एक भाग पनि मुस्किलैले खर्च गरे होलान् । उनले क्रान्तिकारी क्रियाकलापको लागि पाँच हजार रूबल चन्दा दिए ।
‘सार्वजनिक सुव्यवस्थामा चाख’ भएको पुलिस विभागले गोर्कीलाई निश्नीमा बस्न दिन आपत्ति जनायो । यसकारण, उनलाई अर्ममास भन्ने पाखीरेखोको एउटा कोप्चेरो गाउँमा बस्नको लागि डाँडो कटाएर लखेटियो । गोर्कीले क्रिमियामा बस्न पाउने अनुमति माग्दै एउटा निवेदन लेखे । उनको स्वास्थ्य खराब भएको कारणले गर्दा उनको निवेदन स्वीकृत भयो र उनलाई अप्रिल १५, १९०२ सम्म याल्टा नजिकै बस्न दिइने भयो । तर, उनी अझै सहरमा भने बस्न पाउने भएनन् । सन् १९०१ को नोभेम्बर १ मा जब उनी हिँडे, निश्नीका विद्यार्थीहरू र श्रमिकहरू समावेश भएको युवा क्रान्तिकारी बुद्धिजीवीहरूको समूहले एउटा अत्यन्त प्रभावशाली प्रदर्शनको आयोजना गरे । तिनीहरूले राष्ट्रियताको भावनाले ओतप्रोत भएका गीतका धुनहरू बजाए, पर्चा बाँडे र ‘क्रान्तिकारी कवि म्याक्सिम गोर्की – जिन्दावाद – स्वतन्त्रता जिन्दावाद ¤’ भन्ने नारा घन्काएर सडक सडकमा कराउँदै जुलुस लिएर अगाडि बढे । यो घटनाको वर्णन गर्दै पछि गएर गोर्कीले आफ्ना प्रकाशक डब्ल्यु. ए. एस. लाई लेखका छन्, “पुलिसहरू चकित परेका थिए । अरू कुनै किसिमको कारबाही गर्न तिनीहरू तयार देखिँदैनथे ।”
क्रिमियामा गोर्कीले सापेक्षिकरूपमा शान्त जीवन बिताउन पाए । त्यहाँ बस्दा उनले निकै लेखे । गोर्कीले निश्नीमा छँदा नै चेखोभलाई लेखेका चिठीहरूबाट हामी के थाहा पाउँछौँ भने उनले निम्न मध्यमवर्ग भन्ने नाटक लेख्न सुरु गरिरहेका थिए । यो नाटक लेख्न उनलाई चेखोभको नाटक काका मान्याले प्रोत्साहित गरेको थियो । गोर्की चेखोभलाई भेट्न दिनदिनै जान्थे । स्तानिस्ल्याभस्कीले आफ्ना संस्मरणहरूमा उल्लेख गरेअनुसार ‘रूसी साहित्यका सम्पूर्ण सर्वोत्तम निधिहरू’ विख्यात नाटककारमा घरमा भेला हुन्थे । त्यतिबेला स्तानिस्ल्याभ्स्की र मास्को कला केन्द्रका कलाकारहरू याल्टाको सानो नाचघरमा कार्यरत थिए र तिनीहरू प्रत्येक साँझ चेखोभका नाटकहरू देखाउँथे ।
सन् १९०२ फेब्रुअरी २६ को एउटा चिठीमा, विज्ञान प्रतिष्ठानको रूसी भाषा र साहित्य विभागका अध्यक्षले गोर्कीलाई प्रतिष्ठानद्वारा सम्मानार्थ सदस्य मनोनीत गरेको कुरो जानकारी दिए । यो मनोनयनले सरकारी हाकिमहरूको समूहमा र प्रतिक्रियावादीहरूको बिचमा अपमानजनक प्रतिक्रिया देखापर्यो । यो कामलाई ‘प्रतिभाशालीहरूको उपहास’ र ‘दुईसय वर्ष पुरानो प्रतिष्ठाको बेइज्जती’ भनेर वकालती गरियो । गोर्कीलाई ‘दुईहप्ते विद्वान्’ र ‘बौद्धिक स्तरहीन’ भनेर घृणापूर्वक अपमान गरियो । जारले सार्वजनिक शिक्षामन्त्रीलाई एउटा चिठी पठाएर भन्यो, “अहिलेको यस्तो विकट परिस्थिति भएको बेलामा प्रतिष्ठानले यस्तो व्यक्तिलाई सदस्य मनोनीत गर्ने साहस गरेको देख्दा मलाई गहिरो चोट पुगेको छ ।” त्यसपछि गोर्कीलाई नियुक्तिपत्र फिर्ता गर्न भनियो । प्रज्ञाप्रतिष्ठानबाट गोर्कीलाई निकाल्ने कामको अरू दुईजना सदस्यहरूले विरोध गरे । तिनीहरूले पनि प्रतिष्ठानको सदस्य पदबाट राजीनामा पेस गरे । राजीनामा पेस गर्ने ती दुईजना मानिसहरू एन्टन चेखोभ र भ्लादिमिर कोरोलेंको थिए ।
यी अनेकथरीका गोलमालपूर्ण बखेडाहरूले गोर्कीलाई विचलित पार्न सकेनन् र यसबाट गोर्कीको लोकप्रियतामा कुनै फरक परेन । बरू उनको ख्याति बढ्दै गयो । मस्को कला केन्द्रको आतिथ्य सत्कार गर्न सेन्ट पिटर्सवर्गमा गोर्कीको नाटक ‘निम्न मध्यमवर्ग’ प्रदर्शित भएको थियो र त्यसपछि कडा सेन्सर गरिसकेपछि मार्च २६, १९०२ मा खुलारूपमा यसको प्रदर्शन भयो । हल्लाखल्ला मच्चिएला कि भन्ने कुराको सरकारलाई निकै डर थियो । त्यसकारण, नाटकको अभिनय अभ्यासको समयमा नाटक घरबाहिर सशस्त्र पुलिसको पहरा थियो । नाटकको पहिलो प्रदर्शनमा ढोकेको काम गर्ने र दर्शकहरूलाई ठाउँ र बाटो देखाउने काममा पनि पुलिसहरू नै खटिएका थिए । नाटकमा गोर्कीले आफ्नो जीवनमा बेहोरेका र देखेजानेका पात्रहरूको चित्रण गरेका छन् । निम्न–मध्यम वर्गका मानिसहरू तिनीहरूका स–साना झुप्राघरमा कोचारिएर बसेका थिए । तिनीहरूको घरमा देवताका मूर्ति र मदुसहरू थिए । उनले रूसी जनतालाई तिनीहरूको जीवनपद्धति फेर्नको लागि सक्रिय हुन आह्वान गरे । रेलको कन्डक्टर निलले गोर्कीको अनुमानजस्तै भविष्यको क्रान्तिकारी कार्यकर्ताको मूर्तरूप दिन्छ ।
नाटकको पहिलो प्रदर्शन एउटा आंशिक सफलतामात्र थियो– किनभने, त्यसलाई धेरै काँटछाँट गरेर देखाइएको थियो । कलाकारहरूले प्रयत्न गर्दागर्दै पनि लेखकले देखाउन खोजेको मुख्य कुरो दर्शकहरूसमक्ष राम्ररी प्रस्टिन सकेन । यसो हुनुको मुख्य कारण निर्ममतापूर्वक नाटकको काँटछाँट भएकोले हुनसक्छ । यसको तुलनामा, त्यसै वर्षको डिसेम्बरमा बर्लिन र भियनामा देखाइएको त्यही नाटक बढी प्रभावकारी हुनसक्यो ।
‘निम्न मध्यम वर्ग’ बाहेक गोर्कीले निकृष्ट खाडल भन्ने अर्को नाटक पनि लेख्न सुरु गरेका थिए । यो नाटकमा उनले खाली खुट्टा हिँड्ने मानिसहरूको चित्रण गरेका छन् । उनले यो नाटकमा नायकहरूलाई गल्ली र बन्दगाहहरूमा चिनेका थिए । तिनीहरूसित गोर्की आफै साँगुरो खाटमा सँगै सुतेका थिए अथवा अगेनोको डिलवरिपरि सँगै बसेका थिए । उदाहरणको लागि स्याटीनलाई लिन सकिन्छ । ऊ पहिलेको हुलाकी हो र उसलाई जबरजस्ती शारीरिक परिश्रममा लदाइएको थियो । गोर्कीका सुरुसुरुका धेरै कथाहरू यो नाटकको रूपरेखाजस्ता देखिन्छन् । जन्तुहरू जो एकपटक मानिस थिए भन्ने कथाको एउटा पात्र भूतपूर्व मेजर कुमाल्दाको दुहुरे चिया पसलेले धेरै दृष्टिले निकृष्ट खाडल नाटकको कोस्टीलियोभको ठाउँको झझल्को दिन्छ । तर, एउटा फरक भने औँल्याउनु आवश्यक छ । पिसिएका गरिबहरूको जीवनमा कल्पनाको माध्यमबाट केही सुन्दरता ल्याउन गोर्कीले यसभन्दा पहिले नै यी तल्लो वर्गका मानिसहरूलाई रोमान्टिक नायकहरूलाई झैँ चित्रणको विशिष्ट धारामा राखेर देखाएका छन् । गरिबीले अँचेटिएको रूसको दैनिक जीवनको कष्टपूर्ण व्यथाले छटपटाएर हिँडेका गोर्कीलाई आफ्नो यात्राकालमा विभिन्न ढाक्रेहरू र निवकेहरूले सहयोग गरेका थिए । तिनीहरूको गुन तिर्नको लागि, तिनीहरूलाई धन्यवाद दिनको लागि उनले ती पात्रहरूलाई आफ्ना रचनामा चित्रित गरेका थिए । यो नाटकमा उनले उच्च्याटलाग्दो जीवन बिताइरहेका र तीव्र निराशाको जालोमा बेरिएर अत्तालिएका मानिसहरूको जीवनबारेको कटुसत्य औँल्याएर त्यसउपर आवाज उठाउने हिम्मत देखाएका छन् । ‘निकृष्ट खाडल’ नाटकमा उनले चेल्काशमा जस्तै आदर्श (सहृदयी) पात्रहरू बनाएका छैनन् । बरु, उनले यो नाटकमा निर्दयतापूर्वक दबाइएका पात्र र तिनीहरूको जीवनबारे भनेका छन् । तिनीहरू बाँचेको कुनै सार छैन, किनभने तिनीहरू तल्लो जातिका हुन् भन्ने भावनाले तिनीहरूलाई दबाइरहेको छ भन्ने कुरो देखाउन खोजेका छन् । गोर्कीले उनीहरूप्रति अरू मानिसहरूको दया–माया उमार्ने विचारले यसो गरेका थिएनन् । यो पिछडिएको घृणित समाजमा मानिसलाई जीवनको गहिराइसम्म नै पु¥याउने विचार उनको थियो ।
सन् १९०२ मा चिरिकोभ, नाद्येकोभ, च्यालिएपिन र मस्को कला केन्द्रका कलाकारहरूको उपस्थितिमा गोर्की आफैले ‘निकृष्ट खाडल’ पढे । जहाँनेर लुकाले मर्न थालेकी अन्नालाई ईश्वरको शपथ दिलाउने चाँजोपाँजो मिलाएर फुल्याउन थाल्छ त्यहाँ पुगेपछि प्रत्येक मानिसको निःश्वास रोकियो, सबै स्तब्ध भए, गोर्कीको स्वर काँप्न थाल्यो र उनी रोक्किए । उनले आँसु पुछे, उनले पढ्दै अगाडि बढ्न चाहे, तर दुई शब्द पढ्न नपाउँदै उनी फेरि रोक्किए र रुनथाले ।
सन् १९०२ को डिसेम्बर १८ मा यो नाटकको प्रदर्शन खुकुलो भयो । यथार्थमा यो नाटक नभएर घटनाक्रम र दृश्यहरूको खुकुलो लहर थियो । यो नाटकले कलात्मक किसिमले दुःखपूर्ण जीवनको अभिव्यक्ति दिएको थियो । यसका साथसाथै यसले रुसी मानिसहरूको उज्यालो भविष्यप्रति दृढ विचार व्यक्त गरेको कुरा पनि देखाएको थियो । पहिलो दृश्य हेर्नेबित्तिकै त्यसकै आधारमा नै मानिसहरूले गोर्कीको प्रशंसा गरे । अन्तिम दृश्यमा पुग्दा त गोर्कीको स्वागत गर्ने मानिसहरूको जयजयकार आवाजले त्यहाँको वातावरण गुञ्जियो । यसको अद्वितीय सफलताको वर्णन गर्न अखबारले शब्दहरू खोज्नुपर्यो । यो नाटक रोमान्टिक क्रान्तिकारी ढङ्गमा पेस गरिएको थियो तथापि रुढीवादी मानिसहरूले यसमा अत्यन्त कडा क्रान्तिकारी गतिविधिको यथार्थ तस्बिर देखे । त्यो क्षेत्रमा त्यो नाटक देखाउन प्रतिबन्ध नलगाएसम्म तिनीहरूले वातावरणलाई उभाड्ने र उत्तेजित गर्ने काम कारबाही र होहल्ला गरिरहे । तर, सेन्ट पिटसवर्गमा भने सन् १९०३ को अप्रिल महिनादेखि यो नाटक पचासौँ पटक देखाइयो । गोर्कीका विरोधीहरूले उनलाई ग्रीवोइडोभ पुरस्कार लिनबाट रोक्न खोजे पनि त्यसो गर्न भने सकेनन् । उनी त्यो समयका विशिष्ट मान्छे थिए । जहाँ–जहाँ उनी पुग्थे त्यहाँ– त्यहाँ उनका प्रशंसकहरू, खास गरेर स्वास्नीमानिसहरू उनलाई भेट्न र शुभकामना दिन तँछाडमछाड गर्दै अगाडि सर्थे । गोर्की यो क्रियाकलापबाट आकुल–व्याकुल भएर नआत्तिएसम्म, लाजले नथाकेसम्म उनीहरू गोर्कीलाई घेर्न छाड्दैनथे ।
‘निकृष्ट खाडल’ बर्लिनमा प्रदर्शित भएपछि, जारतन्त्रको थिचोमिचो प्रस्टाउँदै यसलाई विश्वभरि प्रदर्शित गरियो । सन् १९०५ र १९१७ को रूसी क्रान्तिमा यसले साहित्यिक भूमिकाको काम ग¥यो । सन् १९०४, नोभेम्बर ११ मा गोर्कीको तेस्रो नाटक ‘ग्रीष्मका पाहुनाहरू’ सेन्ट पिटसवर्गमा प्रदर्शित हुँदा रूसमा सबै साहित्यिक व्यक्तिहरू र पत्रकारहरू उपस्थित थिए । यद्यपि, क्रान्तिकारी शिक्षित समुदायले उत्साहपूर्वक गोर्कीको प्रशंसा गरे, जारतन्त्रका सदस्यहरूले भने नाटकलाई बिथोल्न प्रदर्शनकक्षमा सुसेल्ने र कराउने गरेर अव्यवस्था खडा गर्ने धृष्टता गरे ।
गोर्की त्यतिबेलादेखि एउटा नयाँ, यथार्थवादी कलाबारे आफ्नो दृष्टिकोण बनाउन सक्षम भइसकेका थिए ।
“हाम्रो चारैतिर, नयाँ चेतना जगाउँदै एउटा नयाँ जीवनको सुरुआत हुँदै छ । यो स्थितिसँगै एउटा नयाँ मान्छे जन्मेको छ । ऊ जान्नको लागि बढी उत्सुक छ, ज्ञानको भोको छ, जीवन र मस्तिष्कका आधारभूत प्रश्नहरूको उत्तर चाहन्छ । ऊ न्याय र सत्य कहाँ पाइन्छ, मित्रहरू को हुन् र कुनचाहिँ शत्रु हो भन्ने कुरा जान्न चाहन्छ ।”
सन् १९०४ मा जारशाहीका सेनाले एकपछि अर्को गर्दै थुप्रै हार खानुपर्यो । मजदुरहरूको बिचमा विद्रोह र प्रतिरोध दिनदिनै बढ्दै गयो । यी विद्रोही मानिसहरूले जारशाहीकहाँ गएर सहयोगको निम्ति बिन्ती गर्ने साह्रै कच्चा योजना बनाए । सन् १९०५, जनवरी ५ को दिन ग्यार्वोन भन्ने एकजना पुरेतको नेतृत्वमा आइमाई, केटाकेटी र बूढापाकासमेत भएको मानिसहरूको दुई लाखजतिको एउटा हूल सडकमा मार्च गर्दै जारशाही ग्रीष्मकालीन दरबारमा गयो । तिनीहरूले एउटा निवेदन दिन चाहे । त्यो निवेदन यस्तो थियो, “हामी सत्य र संरक्षणको खोजीमा तपाईँसमक्ष आएका छौँ । प्रभु ¤ मनपरीतन्त्र र भाँडभैलोको जाँतोमुनि थिचिएर हामी अत्तालिएका छौँ । हामीहरूको निम्ति यस्तो भयङ्कर क्षण आइरहेको छ कि हामीहरूको लागि यो असह्य स्थितिमा पिल्सिएर बाँचिरहनुभन्दा बरू मर्नु राम्रो भएको छ ।” शान्तिपूर्ण प्रदर्शनप्रति सरकार सचेत भएको थियो । सरकारी फौजले निहत्था जनताको हुलमाथि एकाएक गोली चलायो । “त्यो नृसिंहकारी किसिमले प्रदर्शन गरिएको पूर्वनियोजित क्रूर संहार थियो ।” गोर्कीले उनकी श्रीमतीलाई लेखे, “रूसी क्रान्ति सुरु भयो ।”