यद्यपि, उनका अनुभवहरू आनन्ददायक हुनसकेका थिएनन् । तथापि यात्राले उनको उथलपुथल भएको मनोस्थितिलाई केही शान्ति प्रदान गरेको थियो । कम्तीमा उनले यस अगाडिको समयको तुलनामा यसपटक आफैमा बढी सुरक्षाको भावना जागृत भएको महसुस गरेका थिए । यसबाहेक, जोजो मानिसहरूसित उनको चिनजान भयो र उनी घुलमिल भए । तिनीहरूले उनमा सकारात्मक प्रभाव पारे ।
अलेक्जेन्डर कान्युस्नीसितको उनको परिचय विशेष महत्वको साबित भयो । १८०० ताका काल्पुरनीलाई ६ वर्षसम्म कडा शारीरिक श्रम गर्न बाध्य गराएर अपमान गरिएको थियो । मानिसहरूलाई आफूप्रति आकर्षित गर्ने, तिनीहरूको मनको वेदनालाई मुन खोज्ने र मानिसहरूको लागि असल हुने खालको जीवन जीउनको लागि बाटो खोज्ने र प्रयत्न गर्ने दुर्लभ गुण उनमा थियो । सन् १८९२ को गर्मी ऋतुभरमा सबै शिक्षक र विद्यार्थीहरूले सहर छोडे । त्यसपछि ‘कम्युन’ चल्न सकेन र बन्द भयो । अनि काल्युस्नीले अलेक्सेयीलाई उनीसित सँगै जान भने यसरी अलेक्सेयीले आफूले चाहेजस्तै शान्ति र एकान्त फेला पारे । जनसमूहसितको दिनदिनैको सम्पर्क मित्रतामा फेरियो । काल्युस्नीको एउटा राम्रो पुस्तकालय थियो । यसले तन्नेरी अलेक्सेयीलाई रूसी र विदेशी उत्कृष्ट ग्रन्थहरूप्रति चासो बढायो । काल्युस्नीले उनलाई गणित र ब्रह्माण्डसम्बन्धी विषय र नित्से र सोपेनहावरलाई त्याग्ने सरसल्लाह दिए ।
आफूले पालिराखेको मान्छे अलेक्सेयीको प्रतिभा अत्यन्त राम्रो छ भन्ने कुरामा काल्पनीको विचार दृढ थियो । त्यसैले उनले अलेक्सेयीलाई आफूले बेहोरेका र देखेका कुराहरू लेख्ने सुझाव दिए । अलेक्सेयी एउटा असल र प्रभावकारी वक्ता थिए, तर जब उनी लेख्न सुरु गरे त्यतिबेला उसको शैली अत्यन्त प्रभावहीन हुन्थ्यो । उनले सेवन थाले पनि उनको लेखाइमा पहिले पढेका किताबका शब्दहरू र वाक्यहरू स्वतः घुस्थे र अरुको बाइको नक्कल गरेर उनले अनौठा शब्दहरू र वाक्यहरू लेख्थे । यसको नतिजा के भयो भने सबै चीज भूmटाजस्तो लाग्थ्यो । काल्युस्नीले अलेक्सेयीलाई ‘लोइ’ को र ‘रड्डा’ को कथा लेख्न बारम्बार घच्घच्याए । यो कथा अलेक्सेयीले जीप्सी भन्ने फिरन्ता जातिको स्याम्पमा मकर नाम गरेको एउटा घोडा–गोठालोबाट सुनेका थिए । यो कथा एकजना मानिसको स्वतन्त्रताप्रतिको उत्कट इच्छाले भरिएको दन्त्य कथा हो । अन्त्यमा, अलेक्सेनीले यसलाई जसरी ग्रहण गरेका थिए । त्यसरी नै ‘मकर छुद्रा’ लेखियो । यसमा अलेक्सेयीले आफ्नो कल्पना र आफूमा परेको छापको संयोजन गरेका छन् ।
यात्रा गर्ने प्रम इच्छाले उनलाई फेरि पनि सतायो । उनले कालोसागरदेखि कुबान प्रान्तसम्म यात्रा गरे । उनी त्यहाँ तथाकथित ‘विद्रोही’ जमातको संसर्गमा पुगे र एउटा फिरन्ते आवाराका रूपमा जेलमा कोचारिए । जारतन्त्रका हाकिमहरूले विद्रोहीहरूलाई दबाउने निहुँमा गरेको घोर दमनप्रति रोष व्यक्त गर्दै जनताले विद्रोह गरेका थिए र जारका अधिकारीहरूलाई पिटेका थिए । त्यसपछि दक्षिणपूर्व रूसमा बसोबास गर्ने विभिन्न जातिहरू मिलेर बनेको विशिष्ट श्रेणीको घोडचढी समूहका मानिसहरूलाई बदला लिने उद्देश्यले उनीहरूले गरेजस्तै गरेर रगतपच्छे बनाएर अगाडि ल्याइएको थियो । अलेक्सेयीले केही समयसम्म फेरि रेलमार्गमा काम गरे । यसपछि उनी तिफ्लिसमा फर्किए । यो छोटो अवधिपछिका ‘ककेशियन डाँकुहरू’, ‘खोँचमा’, ‘अपरिचितहरू’ र ‘स्वास्नीमान्छे’ जस्ता कथाहरूका लागि विषयवस्तु प्रदान ग¥यो ।
काल्युस्नीले त्यतिबेला नै ‘मकर छुद्रा’ लाई तिफ्लिसको महत्वपूर्ण पत्रिका कावकासमा छपाउने चाँजोपाँजो मिलाउन सफल भए । लेखकको नाम लेख्न भने अझै बाँकी थियो । निकै सोचविचार गरिसकेपछि अलेक्सेयीले ‘गोर्की’ भनेर सही गरे । यो शब्दले ‘तीतो’ भन्ने बुझाउँछ । म्याक्सिम गोर्कीको साहित्यिक जीवनको सुरुआत सन् १८९२ को सेप्टेम्बर महिनामा छापिएको यहीँ कथाबाट हुन्छ ।
अत्यन्त उत्साहित भएको हुनाले उनले तत्कालै ‘बेश्याको जीवनबाट’ भन्ने अर्को कथा लेखे । तर, कावकासको सम्पादकले विषयवस्तु ‘अमिल्दो र शङ्कास्पद’ देखि भन्ने टिप्पणी गर्दै त्यो कथाको पाण्डुलिपि फिर्ता गरिदिए ।
डिसेम्बर महिनामा ओल्गा पनि आइन् । तिनीहरू एकजना पुरतेको पुरानो घर भाडामा लिएर बस्न थाले । त्यो घरमा शौचालय कोठा पनि सँगै जोडिएको थियो । अलेक्सेयी पछाडिको कोठामा बस्थे र ओल्गा शौचालयसँगैको कोठामा बस्थिन् । त्यो कोठाबाटै पाहुना कोठाको काम पनि लिइन्थ्यो । त्यो घर अत्यन्तै चिसो थियो । रातमा काम गर्दा अलेक्सेयीले आफ्ना भएभरका सबै कपडा लगाउँथे र त्यसमाथि एउटा कम्बल ओढ्थे । यो समयमा उनलाई बाथरोगले समात्यो । ओल्गा केटीहरूले लगाउने टोप बनाउँथिन्, चित्र रङ्गाउँथिन् र नक्सा कोर्थिन् । गोर्की दिनभरि निवेदन र दर्खास्तहरू लेख्थे र अदालत धाउँथे, राति बाल्जाकका कृतिहरू र उनको दराजमा भएका दर्शनशास्त्रका किताबहरू पढ्थे ।
गोर्कीले अखबारको लागि पूरै वर्षदिनसम्म कुनै रचना पठाउन सकेनन् । अगस्त महिनामा मस्कोको एउटा पत्रिकाले ‘येमाल्यान पिल्याय’ भन्ने उनको एउटा लघुउपन्यास छाप्यो । यसपछि उनको आत्मविश्वास बढ्यो र भोल्गा उपत्यकाको अत्यन्त प्रभावकारी पत्रिका ‘भोल्स्की भेस्टनिक’ मा उनले थुप्रै कथाहरू पठाए । ती सबै कथाहरू छाप्नको लागि स्वीकृत भए । तिनीहरूमध्ये सबभन्दा राम्रो मानिएको कथा ‘पिँजडाको ढँटुवा चरो’ थियो । त्यसको तत्कालैपछि निश्नी नोभगोरोदको ‘भोल्गार’ भन्ने पत्रिकाले गोर्कीका छोटा शब्दचित्र र कथाहरू प्रकाशित गर्यो ।
कोरोलेंकोले आफ्नो चेलाका सबै प्रकाशनहरू बडो चाख मानेर पढे । सन् १८९४ को सुरुमा उनले गोर्कीलाई पाक्षिक पत्रिकाहरूको लागि केही लामो लेख लेख्ने सल्लाह दिएर चिट्ठी लेखे, किनभने गोर्कीको स्तर अखबारबाट माथि उठिसकेको थियो । गोर्कीले दुई दिनभित्रमा ‘चेल्काश’ लेखे । यो कथा एउटा नामी तस्करीको कथा हो । त्यो तस्करी निकोलायेभ्को अस्पतालमा गोर्कीसँगैको पल्लो खाटमा बसेको थियो र गोर्कीलाई निमेक दिएर काम लगाउन चाहन्थ्यो । कोरोलेंको गोर्कीप्रति आशावान् थिए ।
त्यसपछि उनले एकछिनसम्म सोचे र फेरि थपे, “तर, तिमी एउटा रोमान्टिक पनि हौ ।” कोरोलेंको आफैले यो कथा प्रकाशनार्थ एउटा विशिष्ट पत्रिकामा लगेर दिए । सन् १८९५ मा थोरै काँटछाँटसहित चेल्काश प्रकाशित भयो ।
कोरोलेंकोको विचार सही थियो भन्ने कुरो गोर्कीले ठाने । ओल्गाले पनि छुट्टिन आवश्यक छ भन्ने सोचिन् । धेरै वर्षपछि ‘मेरो पहिलो प्रेम’ भन्ने उनको शब्दचित्रमा गोर्कीले तिनीहरू छुट्टिँदाको कुरा सम्झेका छन्, “हामी दुवैले एकअर्कालाई स्नेहपूर्वक अङ्कमाल ग¥यौँ र एकछिनसम्म चुप लागेर बस्यौँ, हामी दुःखित भयौँ, त्यसपछि मैले सहर छाडेँ । मैले छाडेको लगत्तैपछि उनी नर्तकी हुनको लागि त्यहाँबाट हिँडिन् । यसरी मेरो पहिलो प्रेमको अन्त्य भयो त्यो एउटा दुःखान्त कथा हुँदाहुँदै पनि सुन्दर थियो ।”
गोर्की सधैँ नै आफ्ना पितृवत् गुरुको सम्पर्कमा रहे । ‘भ्लादिमिर कोरोलेंको’ भन्ने शब्दचित्रले उनको बौद्धिक र साहित्यिक विकासमा स्वच्छ सहयोग गर्ने मित्रको उनमा कति धेरै प्रभाव परेको थियो भन्ने कुरो देखाउँछ । उनका मित्रको त्यो गुणले उनीप्रति गोर्कीको मनमा गहिरो सद्भावना र आदर थियो भन्ने कुरा प्रमाणित गर्छ ।
सन् १८९५ को फेब्रुअरी महिनामा गोर्की समारा गए र ‘समर्सिकया गजेटा’ पत्रिकाको सम्पादक बने । उनले एक महिनामा एकसय रूबल पाउँथे र दिनदिनै एउटा स्तम्भको लागि पुग्ने सामग्री लेख्नुपथ्र्याे । उनले गरेको साहित्यिक योगदानको पारिश्रमिक उनले प्रतिलाइन तीन कोपेक पाउँथे । यद्यपि, उनको दिनदिनै गर्नुपर्ने कडा परिश्रम र बोप्रति गुनासो व्यक्त गर्थे, तथापि त्यो कामले उनको साहित्यिक शैलीको विकासमा महत्वपूर्ण भूमिका निभायो । अखबारका हाकिमहरू उनलाई छोटो र यथार्थवादी चित्रण गर्न कराउँथे । भोल्गा नदीको नजिकै अँध्यारो र ओसिलो एउटा छिँडीमा उनको डेरा थियो । उनको कोठाका भित्तामा चुन पोतिएको थियो र तलाबाट आएको मधुरो प्रकाश त्यहाँ खस्थ्यो । उनको ओछ्यान फिट्टफिट्ट गरेर पातलो हिसाबले फलामको डण्डी राखिएको एउटा खाटमा थियो र यो एउटा अस्थिपञ्जरजस्तै देखिन्थ्यो । ओछ्यानमा, टेबुलमा, कुर्चीमा र भुइँमा जहाँसुकै किताबहरू छरिएका हुन्थे ।
गोर्कीको अर्को लामो कृति ‘छायाँ प्रतिबिम्बहरू’ शीर्षकमा आइतबार प्रकाशित भएको पत्रिकामा निस्केको उनका कथाहरूको सँगालो थियो । ती कथाहरूमध्ये उनको बहुचर्चित कथा ‘बाजको गीत’ पनि एक थियो । यसबाहेक त्यो सङ्ग्रहमा यात्रा, बुढी इजरगील, गल्ती र माफीहरू थिए ।
एउटा प्रकाशकको नाताले, उनले “हाम्रो अज्ञानता, कुसंस्कृति र मूर्खपनको जडलाई जरैदेखि उखेलेर फ्याँक्न कुशलतापूर्वक काम गर्नुपर्ने” आफ्नो जिम्मेवारी भएको महसुस गरे । यहुदिल क्लामीदा भन्ने गुप्तनामले लेख छपाएर उनले गाईवस्तु र बँदेलको मासुको उचित मूल्य पाउनुपर्छ भन्ने माग गरे । तल्ला तहका कर्मचारी र नोकरचाकरहरूलाई ठग्ने सहरका धनीवर्ग र रेलमार्गका धूर्त हाकिमहरूको विरुद्धमा उनले सङ्घर्ष गरे, साना किसानहरूलाई ठगेर धेरै नाफा कमाउने काम गरिरहेका ठुला व्यापारीहरूलाई आक्रमण गरे र आफ्ना कामदारहरूको शोषण गर्ने ठुलठुला गोदाम मालिकहरूलाई चेतावनी दिए । उनले खासगरी सामाजिक न्यायमा ध्यान केन्द्रित गरे । उनी असहाय गाउँले समाजका प्रवक्ता बने । उनको प्रहार अत्यन्त कडा हुन्थ्यो । त्यसैले कोरोलेकोले समेत ती वर्गहरूको असभ्यपनको अनुभव गरे । “यद्यपि, तिमीले ती मानिसहरूलाई राम्रो मुखले नसिहत दिनसक्छौ, तथापि तिमीले आफ्नो मर्यादा र सन्तुलनलाई कायम राख्नुपर्छ ।” ‘भत्स्नोक’ भन्ने अर्को प्रतिस्पर्धात्मक पत्रिका ‘क्लामिदा’ देखि अझ बढी रिसाएको थियो । त्यसकारण, उसले उनलाई ‘गल्लीका भुत्रेहरूको समूहनाइके’ भन्दै गालीगलौज ग¥यो र के भनेर धम्की दियो भने उनको आक्रामक स्वरले उनको प्रेसलाई भताभुङ्ग पारेर फाल्नको लागि भूतलाई निम्तो दिएको छ । उनको रोमान्टिक धाराप्रतिको झुकाव देखेर उनीहरू त्यसको हँस्सी उडाउँथे भने उनका कथाहरूमा देखिने प्रेम वासनाका कुराहरूबाट अत्यन्त पीडित थिए ।
गोर्की निकै नै एक्ला थिए । उनका थोरै मात्र साथीहरू थिए । त्यतिबेलाका उनका कथाहरू निश्चितरूपमा निराशावादी छन् । सङ्कीर्ण सहरको अल्छी जीवनले उनलाई उकुसमुकुस पारेको थियो । “म नगरको हाकिम, गिर्जाघरको पुरेत, सहर, यो पूरै विश्व, म आफै र प्रत्येक चीजसित असन्तुष्ट थिएँ ।”
सन् १८९६ को सुरुमा गोर्कीले येकाटेरिना पाय्लोभ्ना भोल्सीनासित विवाह गरे । तिनी ‘समार्सकाया गजेटा’ मा प्रुफरिडरको काम गर्थिन् र गोर्कीभन्दा दस वर्षले कान्छी थिइन् । तिनी देश र जनताको लागि समर्पित भएकी क्रान्तिकारी र विशिष्ट बौद्धिक थिइन् । तिनीहरूका दुईओटा केटाकेटी भए । छोरा म्याक्सिम अलेक्सेयेभीच (सन् १८९७ मा जन्मेका) र छोरी येकातेरिना । छोरीचाहिँ सन् १९०१ मा जन्मेकी थिइन् र क्षयरोग लागेर पाँच वर्षपछि मरिन् । मई १४ तारिखमा ती दुई जोइपोइ निश्नीतिर लागे । निश्नीमा पुगेपछि गोर्की निशेगोरोद्रस्की लिस्टोंक भन्ने पत्रिकामा काम गर्न थाले ।
यो समयमा, जारतन्त्रको सफलता र शक्तिको कारणले देशको आर्थिक उन्नतिमा कति धेरै प्रगति हुन सकेको छ भन्ने कुरो युरोपीय देशहरूलाई देखाउने उद्देश्यले सहरमा रुसी काष्ठ उद्योग प्रदर्शनीको तयारी भइरहेको थियो । यी कुराहरू गोर्कीले घाँसे मैदान, कोतोभालोभ, जन्तुहरू जो एकपल्ट मानिस थिए आदि कथाहरूमा, प्रदर्शनसम्बन्धी अखबारको स्तम्भमा र अरू शीर्षकअन्तर्गत लेखेका छन् । उनले विभिन्न कला अभियानमा बडो उत्सुकतापूर्वक भाग लिएर छलफल गरे, प्रकृतिवाद र अस्पष्टताको घोर विरोध गरे । उनले प्रकृतिवादीहरूलाई ‘जीवनको नाटकीय भूमिका देखाएर लेखिएको प्रशस्तिमा सन्तुष्ट हुनेहरू’ भन्दै जीववैज्ञानिक नियमहरूको प्रसङ्गमा कामको व्याख्या गरेर तिनीहरू चाहिनेभन्दा बढी मात्रामा मानव स्वभावमा केन्द्रित भए भन्ने उल्लेख गरे । ‘पाठक’ भन्ने कथामा, जो नेक्रासोभको ‘कवि र नागरिक’ भन्ने कविताको विषयवस्तुसित मिल्छ, उनले पाठक लेखकको कुराकानीको माध्यमबाट आफ्नो सुरुचिको सिद्धान्तअनुसार सुन्दरताको रसास्वादन गराएका छन् । उनी भन्छन्, “साहित्यको मुख्य उद्देश्य मानिसलाई आफूले आफैलाई बुझ्न मद्दत गर्नु हो, उसमा आत्मविश्वास भर्नु हो र असल कुराको खोजीनीति गर्नको लागि उसलाई बाटो देखाउनु हो ।”
सन् १८९६ मा रूसी अस्पष्टतावादी साहित्यका एकजना सहनिर्माता सोलोगुबले लेखेको एउटा किताब प्रकाशित भयो । गोर्कीले त्यो पुस्तकलाई ‘अझ अर्को कवि’ भन्ने तर्कयुक्त शीर्षकअन्तर्गत यसलाई फेरि हेरे र यो समालोचनात्मक हेराइपछि अस्पष्टतावादीहरूको चरित्रलाई यसरी प्रस्तुत गरे, “यथार्थलाई पूर्ण बेवास्ता गर्ने र निराशावादी, अधोगति लाग्ने उत्कण्ठ लगन, यो संसारबाट छुट्टै स्वर्गको कुरो, शक्ति क्षीण भएको, पवित्र उत्साहको कमी, यी सबै नै आधुनिक नामको अस्पष्टतावादी कविताका मूलमन्त्र र विषयवस्तु हुन् ।”
‘पाउल मर्लिन र अस्पष्टतावादीहरू’ भन्ने लेखमा गोर्की लेख्छन्, “विकृत संस्कृतिका यी गीतहरू अति उग्र र शून्य मनस्थितिको उत्तेजक समाजका प्रलापहरूजस्ता देखिन्छन् र आफ्नो बचेखुचेको ताकतलाई ध्वंस पार्न तम्सेका जस्तो लाग्छ । अस्पष्टतावादी धारा एउटा हानिकारक र असामाजिक क्रियाकलाप हो र यसको विरुद्धमा सङ्घर्ष गर्नु आवश्यक छ ।”
“कलामा अस्पष्टतावादसित जुझ्नका लागि उनले दर्शनशास्त्र र परम्परागत लोकलयलाई मनपराए । उनी लोकलयलाई बालककालदेखि नै मनपराउँथे, किनभने यी कुराहरूले जीवनलाई साँचो अर्थमा चित्रण गर्थे, मानिसको अन्तरआत्मामा रहेको दुर्बल भावना र विचारलाई बिउँझाउँथे र उनलाई दबाउन खोज्नेहरूसित लड्नका लागि आत्मबल प्रदान गर्थे । उनले स्थापना गरेको नयाँ कलासम्बन्धी धारणाको थालनी नै यसमा भएको हो । यद्यपि, कलासम्बन्धी यो धारणालाई गोर्कीले मानवतावादी यथार्थवादको रूपमा ग्रहण गरेका थिए, तथापि यो अभियान त्यतिबेला समाजवादी यथार्थवादको रूपमा अगाडि आयो ।
सन् १८९६ मा, एक वर्षमा मात्रै गोर्कीले दुईसत्न्दा बढी स्तम्भ लेख, एकचालीस ओटा कथा र अनगिन्ती समीक्षात्मक लेख र निबन्धहरू लेखे । बालककालको गरिबी, भोक र कडा मेहनतपूर्ण काम, बेफुर्सदिलो जीवन, फोक्सोमा परेको गोलीको चोट र अन्त्यमा अत्यन्त बढी साहित्यिक क्रियाकलापसम्बन्धी कामको बोझले थिचिएका गोर्कीलाई यिनै कुराहरूको असरले गर्दा सन् १८९६ को अक्टोबर महिनामा क्षयरोगले समात्यो । डिसेम्बरमा उनको उपचार र हेरविचार गरिरहेका डाक्टरले उनलाई क्रिमिया पठाए । सन् १८९७ को वसन्तदेखि उनी उक्राइनिनको एकान्त गाउँ मान्युलोभकामा बसे । त्यहाँ उनको अवस्थामा बिस्तारै सुधार हुँदै आयो । उनले गाउँमा एउटा नाट्यशाला खोले र त्यसमा अभिनय गर्ने काम पनि गरे । त्यो गाउँले एकान्त र शान्त वातावरणमा उनले थुप्रै कथाहरू लेखे । त्यहाँ लेखेका कथाहरूमध्ये ‘बेकामी’, ‘माल्भा’, ‘गोल्टभाको जात्रा’, ‘ओर्लोभ दम्पत्ति’ आदि थिए । जाडोयाम लागेपछि उनी निश्नी फर्केर फेरि अखबारमा काम गर्न थाले । सन् १८९६ को मई ६ तारिखका दिन एक्कासि उनको घरको खानतलासी लिइयो र उनी जेल परे । तिफलिसमा उनका पुराना डेरामा सँगै बस्ने मित्र अफान्सयेभको कोठामा उनको फोटो पाइयो र उनलाई “पेश्कोभ अत्यन्त खतरनाक व्यक्ति हो, किनभने उसले आफ्नो कलम असल चीजहरूको लागि प्रयोग गरेको छ, उसले लगभग पूरै रूसको यात्रा गरिसकेको छ र केही समयसम्म भोल्गाका उग्रवादी आतङ्ककारी समूहसित उठबस गरेको छ । ऊ तिनीहरूसँग किन बसेको थाहा छैन” भन्ने कुरो पुलिसले आफ्नो फाइलमा चढायो । मई ११ मा गोर्कीलाई तिफलिसको मेटेरव जेलघरको राजनीतिक विभागमा पठाइयो । तर, उनलाई मई २१ मा जेलबाट छुटकारा दिइयो । एक वर्षभरि नै उनीमाथिको मुद्दा र खोजतलास हुँदै गयो र अन्त्यमा उनको मुद्दा माथिल्लो दर्जाका हाकिमहरूको जिम्मामा छाडियो ।