सन् १८८७ को डिसेम्बरमा, कजानमा विद्यार्थीहरूको विद्रोह मच्चियो । गोर्कीका धेरै साथीहरू जेलमा कोचिए । तिनीहरूका नेता लेनिन थिए । त्यतिबेला उनलाई ल्वादिमिर उल्यानोभ भनिन्थ्यो । पछि गएर उनी विश्वविद्यालयबाट निकालिए । अलेक्सेयीले विद्रोहको रहस्य बुझ्न सकेनन् । उनले मानिसहरूका शब्द, काम र भावनाका बिचमा मात्र अन्तद्र्वन्द्व देखे । उनको शब्दमा “जीवन वैरभाव र शत्रुतापूर्ण क्रियाकलापको साङलोजस्तै अव्यवस्थित र असम्बन्धित क्रियाकलापको सडेगलेको तुच्छ लडाइँजस्तै अनियन्त्रित थियो ।”
सन् १८८८ को मार्चको अन्तिमतिर नरोद्निक क्रान्तिकारी मिखाइल रोमासले अलेक्सेयीलाई उनीसँगै उनको गाउँ भोल्गाको क्रास्नोभिडोभोमा जान सुझाउ दिए । त्यहाँ उनको एउटा खुद्रा पसल थियो र उनलाई एउटा सहयोगी चाहिएको थियो ।
सुरुमा नै यो कदमको अर्थ अलेक्सेयीको जीवन योभन्दा राम्रो हुने लाग्यो । रोमासले धेरैजसो समय अलेक्सेयीसितै बिताउँथे । यसले गर्दा युवक अलेक्सेयीको लघुताभास हरायो । घरमा थुप्रै असल किताबहरू थिए । त्यहाँ टेलर, स्पेन्सर, डार्बिन, डोब्रोल्योबीभ्, गोँचारोभ् र अरूहरूका वैज्ञानिक कृतिहरू थिए । त्यहाँ अलेक्सेयीले पहिलोपल्ट होब्सको सामुद्रिक दैत्य र माखितेलिच्को राजकुमार पढे ।
क्रान्तिकारी क्रियाकलापमा संलग्न भएको आरोपमा रोमास दुई वर्षसम्म जेलमा थुनिए । तत्कालै याकुत्सक प्रान्तमा दस वर्षको लागि निर्वासित भए । त्यहाँ उनले ब्लादिमिर कोरोलेको भन्ने विद्यार्थी भेटे । कोरोलेको त्यतिबेलासम्म एउटा लेखकको रूपमा परिचित भइसकेका थिए । अलेक्सेयीको जीवनमा महत्वपूर्ण भूमिका निभाउने मानिस कोरोलेको होलान् भन्ने कुरो न त अलेक्सेयीले सोचका थिए न त रोमासले नै सोचेका थिए ।
रोमास किसानहरूका माझ क्रान्तिकारी प्रचार कार्य गर्नमा संलग्न थिए । उनको त्यो पसल देखाउनको लागि मात्र राखिएको थियो । उनले थोरै जमिन भएका साना किसानहरूको एउटा सङ्घ खोलेर तिनीहरूलाई चर्को ब्याज पैसा लगाउने सुदखोरहरूको चङ्गुलबाट बचाउन चाहन्थे । तर, पुरेतहरू र जमिनदारहरूले सकेसम्म शक्ति लगाएर त्यो योजनाको विरोध गर्थे । एकदिन, अगस्त महिनामा उनको पसल र खलोमा आगो लाग्यो । अलेक्सेयी अटालीको एउटा बाकसमा राखेका किताबहरू बचाउन जाँदा तेलको टिन पड्केर फुट्दा उनी झन्डै मरेनन् । त्यतिबेला अलेक्सेयीको जीवनमा साँच्चैको चाख भरिदिने एकमात्र मान्छे रोमस नै थिए । रोमससित बिदाबारी हुँदा अलेक्सेयीलाई औधी नरमाइलो लाग्यो । पन्ध्र वर्षसम्म रोमस र अलेक्सेयीको भेट हुन सकेन । पछि उनीहरूको सेड्लेट्समा भेट भयो ।
केही समयसम्म अलेक्सेयीले छिमेकी गाउँहरूमा समय बिताए । त्यसपछि उनले एउटा ठुलो डुङ्गाद्वारा भोल्गाबाट क्यास्पियन सागरतिर लागे । त्यहाँ उनले एउटा माछा मार्ने ठाउँमा काम पाए । केही हप्तासम्म त्यहाँ बसेर उनी मस्कोडियन श्रेणी र शिगुलेभ पर्वत पार गर्दै फेरि कजान फर्किए । त्यतिबेला उनी बीस वर्ष भइसकेका थिए ।
रुढीवादी र साँगुरो विचार भएका स–साना सहरका मध्यमवर्गीय मानिसहरू ‘खान र अनाज– पानी थुपार्न’ मात्रै बाँचेका थिए र फुर्सतको समयमा गएगुज्रेको अन्धविश्वासी कुराकानीमा लागेर समय बिताउँथे । ‘असल र बाठा बुद्धिमानहरू’ चुपचाप नीच मारेर बस्थे । तिनीहरूको घमण्डीपनले गर्दा तिनीहरूले बुर्जुवाहरूसितको आफ्नो वैरभावलाई पनि महसुस गरेनन् । “आपसी बेमेलको गहिराइको कारणले छुट्टिएका यी दुई विश्वलाई जोड्न मेरो बुद्धि, मेरो कल्पना र मेरो सम्पूर्ण ताकतले भेटेन ।” तीस वर्षपछि गोर्कीले आफ्नो संस्मरणमा लेखेका छन्, “सामान्य जनतादेखि शिक्षित समुदायसम्म बुद्धिमत्तापूर्ण सिद्धान्तको रूपमा रहेको परलौकिक एकान्तताको कुँजो भावनाले मलाई मेरो जीवनभर सतायो ।” ‘मेरो यात्राका साथीहरू’ र अरू कथाहरूको वर्णनको मूल जरो यही हो । विस्तारै यो भावना विपत्तिको पूर्णाभासमा फेरियो । यदि इच्छा र बुद्धिबिचको द्विविभाजनले एउटा व्यक्तिको जीवनमा एउटा गम्भीर नाटकको सङ्केत गर्छ भने यो एउटा मानिसको जीवनमा सरासर दुःखपूर्ण घटना हुन्छ ।
सन् १८८९ को वसन्तमा भोल्गा–डोन क्षेत्रको क्रुटायाको जोखतौल गर्ने स्टेसनमा अलेक्सेयी सरुवा भए । स्टेप घाँसको मैदानको यो सानो स्टेसनमा जीवन ‘वाक्कलाग्दो मौनतामा’ बित्यो । यो कुरा ‘किताब’ भन्ने कथाबाट थाहा पाइन्छ ।
कामबाट फुर्सद भएको बेलामा अलेक्सेयीका वरिपरिका कामदारहरू थुप्रिएर बस्थे । ती कामदारहरूलाई कहिलेकाहीँ उनी पर्चाहरू पढेर सुनाउँथे र कहिलेकाहीँ भूगोल, इतिहास र खगोल विद्याबारे बताउँथे । उनी असाध्यै राम्रो खुबी भएका वाचक थिए । आफ्ना स्रोताहरूलाई कसरी मन्त्रमुग्ध पार्ने भन्ने कुरो उनलाई राम्ररी थाहा थियो ।
अलेक्सेयी झन्डै एक्काइस वर्ष भइसकेका थिए । यसकारण, सैनिक सेवामा लाग्नको लागि उनले सरकारलाई सूचना गर्नुपर्ने थियो । मई महिनामा उनले रेलमार्गको जागिरबाट राजीनामा दिए र पैदल हिँड्ने र कहिले रेल र मोटरमा ठाउँ माग्दैमाग्दै क्रुटुयादेखि टाम्वोभ्, वाइसान्, तुला र मस्को हुँदै निश्नीमा पुगे । रूसका विभिन्न ठाउँ चहार्दै हिँडेको यो उनको दोस्रो यात्रा थियो । मस्कोमा उनले लियो टाल्सटायसित भेट गर्न खोजे । तर, त्यतिबेला टाल्सटाय त्यहाँ थिएनन् । सेप्टेम्बरको अन्त्यतिर अलेक्सेयी निश्नी पुगे । उनी त्यहाँ पुग्नेबित्तिकै सबभन्दा पहिले नोरोनिक लेखक कोरोनिनलाई भेट्न गए । कोरोनिनले उनीसित राम्रोसँग कुराकानी गरे । कजानका पुराना चिनजानका साथीहरूको सम्पर्कले अलेक्सेयीलाई फाइदा भयो । भूतपूर्व शिक्षक चेकिन र विद्यार्थी सोमोभ पुराना चिनजानका मान्छेहरूमध्ये दुईजना थिए । अलेक्सेयीले उनीहरूसित सँगै बस्न एउटा कोठा भाडामा लिए । चेकिन र सोमोभ दुवैजना क्रान्तिकारी क्रियाकलापमा संलग्न भएको हुनाले तिनीहरू पुलिसको निगरानीमा थिए । जीउ पाल्नका लागि अलेक्सेयीले बाभारियन रक्सी पसलको वितरकको काम गर्ने गरी टाँगा चलाउने काममा लागे । उनले फराकिलो बीट भएको टोपी, भान्छेको एउटा सेतो कोट र खिचिर–मिचिर परेर गुटमुटिएको एउटा पुलिसको पतलुङ लगाउँथे । यो फेसनमा उनी आधुनिक नाटकको विद्रोही कलाकारजस्ता देखिन्थे । यो अनौठो पोसाकले सबै मानिसहरूको ध्यान आकर्षित गथ्र्यो ।
सन् १८८९ को अक्टोबर १२ का दिन निश्नीको गुप्तचर विभागले सोमोभलाई गिरफ्तार गर्न पेटसवर्गबाट आदेश पाएको थियो । तर, सोमोभ लुक्न सके । कोठाको खानतलासी भयो र त्यहाँ शङ्कास्पद हुने कुनै पनि कुरो फेला परेन । तथापि, सोधपुछको लागि अलेक्सेयीलाई समातियो । सोधपुछको समयमा उनले निडर भएर कुराकानी गरे र बेअदबसाथ बसे । त्यसो हुनाले उनलाई चार हप्तासम्म जेलमा राखियो । गुप्तचर विभागका हाकिमले एउटा खैरो फाइल झिके र त्यसको शिरमा लेखे, “नागरिक अलेक्सेयी पेश्कोभ्सम्बन्धी पुलिस विभागको फाइल, नम्बर १, १८८९” । अलेक्सेयी उमेर छिप्पिएका मानिसहरूको डेराको साथी भएको हुनाले ‘पेशकोभ, चेकिन र खास गरेर सोमोबाट तिनीहरूका सरकारविरोधी विचार फैलाउन प्रयत्न गरिएको साधन हुनसक्छ भन्ने कुरो अनुमान गर्नुपर्ने’ भन्ने कुरामा पुलिसको हाकिम विश्वस्त थियो । कजान सारातोभ र सारिस्सिनबाट ‘चित्रकारहरूको ठगी कलाकार अलेक्सेयी पेशकोभ’ भन्ने विषयमा सबुद प्रमाणहरू जम्मा गरियो ।
मेजर जेनरल पोस्नान्स्की, जसले अलेक्सेयीको विषयमा जाँचबुझ गराएको थियो, अलेक्सेयीका जफत गरिएका हस्तलिखित लेखहरू पढ्न मन परायो र ती लेखहरू कारोलेङकोलाई देखाउने र लेख्तै गर्ने सुझाउ दियो ।
पहिलो पल्ट जेलमा परेदेखि यता आएर अलेक्सेयी म्याक्सिमोभिच ‘राजनीतिक अविश्वसनीय’ मान्छेको रूपमा पुलिस निगरानीमा रहे । विभिन्न कारणहरूले गर्दा उनी खिन्न भएका देखिन्थे । उनको फोक्सोको घाउको खराबीले गर्दा उनले सेनामा भर्ती हुन शारीरिक परीक्षा पास गर्न सकेनन् र सेनाको सम्पर्क विभागले राजनीतिक क्रियाकलापको कारणले उनलाई सेनामा भर्ना लिएन । सन् १८८९ को अन्त्यतिर उनले पोस्नान्स्कीले दिएको सल्लाहअनुसार काम गर्ने निधो गरे । कारोलेङकोलाई भेटेर ‘बुढो सिन्दुरे रुखको गीत’ भन्ने उनको कविताको पुस्तक र अरू कविताहरू देखाउने विचार गरे ।
कोरोलेङको एउटा साहित्यकार राजनीतिज्ञको रूपमा बहुचर्चित भइसकेका थिए । शिक्षित मानिसहरू उनका कथा र उपन्यास पढ्न हुरुक्कै हुन्थे र अड्डाका हाकिमहरू र व्यापारीहरू अखबारमा निस्कने उनका लेखहरू पढेर डरले थुरथुरी काम्थे । पुलिसको एउटा रिपोर्टमा निश्नीमा उनी बस्ता उनको डेरा राजनीतिक दृष्टिले सरकारको लागि खराब मानिने सबै मानिसहरूको जमघटको केन्द्र थियो । कारोलेङकोले अलेक्सेयीको मोटो गुरुकापी पढिसकेपछि त्यो कति धेरै खराब थियो भन्ने कुरा ती तन्नेरी प्रतिभालाई बुझाउन प्रयास गरे । उनले भने, “तन्नेरी छँदा हामीहरू सबै निराशावादी हुन खोज्छौँ, हामीहरू किन यस्तो सोच्छौँ भन्ने कुरो म जान्दिन । हेर्दा खेरि यस्तो लाग्छ, हामी धेरै चाहन्छौँ र थोरै मात्र पाउँछौँ ।” ‘बूढो सिन्दुरे रुखको गीत’ ठीक यस्तै मनस्थितिमा लेखिएको थियो ।
निराश भएर अलेक्सेयीले गुरुकापी च्यातेर आगोमा हालिदिए । “मैले त्यतिबेलादेखि कहिल्यै पनि गद्य वा पद्य केही पनि नलेख्ने निर्णय गरेँ । वास्तवमा मैले दुई वर्षसम्म लेखिनँ, तथापि मैले लेख्नुपर्छ भन्ने कुरो मलाई लाग्थ्यो ।”
संयोगवश उनले रक्सीभट्टीको कठिन काम छाड्न पाए । यसपछि उनी ए आइ ल्यानिन भन्ने एकजना वकिलको अफिसमा सचिव भएर काम गर्न थाले । उनले महिनाको बीस रूबल पाउँथे । यसपछि उनको जीवनमा क्रमिकता आयो । ल्यानिनले उनको सचिवको बौद्धिक विकासमा बढी अभिरुचि राखे । उनलाई सरसल्लाह दिन थाले र पढ्नको लागि किताबहरू दिन थाले ।
कजानमा जस्तै निश्नीमा पनि अलेक्सेयीले क्रान्तिकारी समूहसित सम्पर्क राखे । त्यहाँ पनि उनले क्रान्तिकारीहरू उस्तै किसिमले निस्क्रिय रहेका र जनसम्पर्कबाट टाढा रहेका पाए । तिनीहरू कहिल्यै नसकिने तर्क–वितर्क र वादविवादमा मात्र रुमलिइरहन्थे ।
यी सम्पूर्ण कठिनाइहरूका बाबजुद, ओल्गा कमिन्सकायालाई भेटेपछि उनले पहिलो प्रेमको आनन्द अनुभव गरे । तिनी क्रान्तिकारी वोभेस्लाभ कोर्साककी मित्र थिइन् र भर्खरै निर्वासनबाट फर्केकी थिइन् । तिनी अलेक्सेयीभन्दा दस वर्षले जेठी थिइन् । गोर्की भन्छन्, “यिनै आइमाई मलाई असल बाटोमा लगाउन समर्थ थिइन् भन्ने कुरामा पूर्ण विश्वस्त थिएँ ।” तर, ओल्गा कोर्साकसित छुट्टिने विचारमा थिइनन् । “केही बिरामी र केही अंशमा बौलाहा भएका” अलेक्सेयीले सहर छोडेर हिँड्नुभन्दा अर्को कुनै उपाय देखेनन् । यो बिदाइ दुईवर्षे रूसी यात्रामा फेरियो ।
म्याक्सिमको यात्रा र पहिलो ख्याति
रुसको एक छेउदेखि अर्को छेउसम्मको मेरो यात्रा एउटा फिरन्ते (आवारा) हुने इच्छाले प्रेरित भएको थिएन । बरु मेरो यो यात्राको उद्देश्य म कस्तो ठाउँमा बाँचेको छु र मेरा वरिपरिका मानिसहरू कस्ता छन् भन्ने कुरा जान्नु थियो ।
अलेक्सेयीले सबभन्दा पहिलो भोल्गादेखि सारित्सोनसम्मको यात्रा गरे । उनी भन्छन्, “मानिसहरूको मूर्खता र निर्दयीपनदेखि म यति धेरै आतङ्कित भएको थिएँ कि यसबाट लगभग म पागल हुन पुगेँ ।” जीवन र विपत्तिसम्बन्धी जल्दाबल्दा प्रश्नहरूको समाधान खोज्ने सन्दर्भमा उनले आफ्नो यात्राकालमा धेरै धार्मिक समुदायका मानिसहरूलाई भेटे । उनले योगीहरू ‘महन्तहरू’ बाट यी कुराहरूको प्रस्टीकरण पाउन चाहन्थे । तथापि महन्तहरूले पनि उनलाई कुनै चित्तबुझ्दो उत्तर अथवा समाधानको उपाय बताउन सकेनन् । यसकारण, उनले आफ्नो यात्रा चालु राखे । उनी डोन उपत्यकादेखि कालोसागरसम्म पुगे । उनी त्यहाँ किसानहरूसित बसे, तिनीहरूलाई सहयोग गरे, माझीहरूलाई मद्दत गरे, नुन खानीमा काम गरे, सडकमा कुल्लीको काम गरे र बोडेराको बन्दरगाहमा मालसामान उतारचढाव गर्ने काम गरे ।
सन् १९९१ को आखिरीतिर उनी टिफलिसमा आइपुगे । त्यहाँ उनले सारित्स्यानमा पुगी बस्ता चिनजानमा भएका पुराना मित्र मिखाइल नाचालोभ र कजानका जत्ता पसले फिमोदोर ज्यालियापिनलाई भेटे । च्यालियापिनको जीवन अत्यन्त साहसपूर्ण क्रियाकलापले भरिपूर्ण थियो । च्यालियापिन एउटा सानो नाटक मण्डलीको साथमा यात्रा गर्दै थिए । त्यतिबेला उनको तलब अत्यन्त थोरै थियो । नाचालो भने अलेक्सेयीको लागि रेलमार्ग मर्मत केन्द्रमा एउटा कारिन्दाको जागिर मिलाइदिए ।
अलेक्सेयी अफान्सीयेफ नाम गरेको एकजना कालिगडको साथमा लागे । त्यहाँ पनि उनले शिक्षक मागालोभ र मिस्त्री रोखलिनलाई भेटे । ती चारजना मिलेर एउटा ‘कम्युन’ खोले र क्रान्तिकारी प्रचार कार्य गर्नमा व्यस्त भए । यो समूह एउटा अत्यन्त उत्सुक र कर्मठ समूह थियो । तन्नेरी कामदार, शिक्षक र विद्यार्थीहरू अध्ययन गर्ने सहरका क्रान्तिकारीहरूसित चिट्ठी आदानप्रदान हुन्थ्यो । तिनीहरू सबै सधैँजसो पुलिसबाट सतर्क थिए ।
अलेक्सेयीका क्रियाकलापहरू उत्ताउलो किसिमका थिएनन् । एउटा चिट्ठीमा उनले भनेका छन्, “त्यतिबेला म एउटा लहडी र कुकवि थिए । तर, एउटा प्रचारकको रूपमा भने मेरो उपयोगिता सम्भवतः बिलकुल सीमित थियो ।” उनका समकालीनहरू के भन्छन् भने उनको नोटबुक कविताले भरिएको थियो र टाउको योजनाले भरिएको थियो । उनी खास गरेर बायरिनप्रति लहसिएका थिए । बायरिनका कवितामा प्रतिरोधको भावना थियो र यसैले उनमा असन्तोष जाग्यो ।