सन् १८८१ मा जहाज चल्न बन्द भयो, त्यसपछि अलेक्सेयी एउटा पसलमा नोकरी गर्न थाले । त्यो पसलमा चित्र, मूर्तिहरू बनाउने र बेच्ने काम हुन्थ्यो । अरू मानिसहरू सुतिरहेका हुन्थे, तर अलेक्सेयी भने सबेरै उठ्नुपथ्र्यो र बीसजना चित्रकारहरूलाई चिया पकाउन पथ्र्यो, घर सरसफाइ गर्नुपथ्र्यो । पाभेल नाम गरेको अर्को एउटा केटो पनि त्यही नोकर थियो र ती दुईजना मिलेर चित्र रङ्गाउने रङ्ग बनाउनको लागि फूलको पहेँलो भाग छुट्याएर राख्थे र चित्रहरू बिक्री गर्न निश्नी बजारमा जान्थे । बजारका सडकमा त्यतिबेलासम्म पनि कुनै मान्छे निस्किसकेको हुँदैनथे र त्यो सडक चकमन्न हुन्थ्यो । पसलमा थुप्रै मान्छेहरूको आवतजावत हुन्थ्यो र ती मानिसहरूलाई राम्ररी हेर्न र बुझ्न अलेक्सेयीले प्रशस्त समय पाउँथे । मूर्ति किन्ने मानिसहरूमा धेरैजसो लाटासुधा किसानहरू हुन्थे । वेदान्त शास्त्रीहरू र नास्तिकहरूको जमघटको केन्द्र पनि त्यहीँ बजार थियो । अलेक्सेयीले निकोनियल गिर्जाघरका शिष्यहरू र तिनीहरूलाई सास्ती दिने काम गर्ने टोलीको बिचमा भिडन्त भएको र गालीगलौज गरेको कुरो पहिलोपल्ट त्यही नै देखे । गोर्की भन्छन्, “पुलिस, छानबिन, जेल, हिरासत, साइबेरियाजस्ता शब्दहरू मानिसहरूलाई सास्ती दिने कामको सिलसिलामा गफ गरेको सुनिन्थ्यो र मानिसहरू त्यो स्थितिलाई चुपचाप सहेर बसिरहेका थिए । ती शब्दहरू मेरो मुटुमा झीरझैँ घोपिए र ती बूढा मानिसहरूप्रति मेरो मनमा दयालु भावना जागेको थियो ।”
पसलमा बिक्रेतासित तर्कवितर्क बढ्दै गयो । यस्तो अनिष्ट, खलबलपूर्ण मनस्थिति भएको हुनाले ‘पर्सियामा जानका लागि’ गोर्कीले जहाजमा काम गर्ने निर्णय गरे ।
सन् १८८३ को इस्टर सप्ताहको समयमा ओका नदीको किनारमा उनका पहिलेका मालिककहाँ नगएको भए उनले त्यसै गर्ने थिए होलान् । सर्जयेभले उनलाई सुपरभाइजरको रूपमा काम गर्न सम्झाइबुझाइ गरे । त्यो कामको लागि उनलाई महिनाको पाँच रूबल तलब र खानपिनको लागि प्रतिछाक पाँच कोपेक दिने वचन पनि दिए । चित्रकारहरूसित छुट्टिनुपर्दा अलेक्सेयीले नरमाइलो माने । ती चित्रकारहरू पनि अलेक्सेयीलाई त्यहाँबाट जान दिन चाहँदैनथे ।
अलेक्सेयी सर्जेयेभको घरमा लगभग दुई वर्ष बसे । रानी मार्गोट बस्ने गरेको कोठामा अर्कै एक परिवार बसेको थियो । त्यो परिवारमा थुप्रै केटाकेटीहरू थिए । पाँचओटी छोरीहरू र दुइटा छोराहरू विश्वविद्यालयका लागि पूर्वतयारी गर्न खोलिएका स्कूलमा जान्थे । तिनीहरूले अलेक्सेयीलाई थुप्रै पढ्ने सामग्रीहरू ल्याइदिन्थे । एउटा भोकाएको मान्छेले झैँ उनले तुर्गनेभ, स्कट र डिकेन्सका किताबहरू खर्लप्पै पढिसिध्याए । गोगोलको मृतमात्माहरू दोस्तोएभस्कीको भूतको घरबाट टिपिएका टिपोटहरू र टोल्सटायको मृत्युका तीन किसिमहरूले उनलाई अत्यन्त प्रभावित पारे ।
साँझमा उमेरदार मान्छेहरू घरको अगाडि जम्मा हुन्थे । तिनीहरू किताब र कविताको विषयमा गफगाफ गर्थे । ती मानिसहरूसँग अलेक्सेयीले पनि कुराकानी गर्थे । त्यहाँ आउने मानिसहरूमा सबभन्दा पढ्ने मानिस अलेक्सेयी नै थिए । अरूहरूले भन्दा बढी पढेको हुनाले ती मानिसहरूसित कुरा गर्न अलेक्सेयीलाई कुनै कठिनाइ थिएन । दाजुभाइ र दिदीबहिनीहरू स्कूलबारे र तिनीहरूका गुरुहरूबारे कुराकानी गर्थे । तिनीहरूले स्कूल पढ्न पाएको र आफूले नपाएकोमा अलेक्सेयी तिनीहरूलाई डाह गर्थे । प्रत्येक दिन बिहान सबेरै ६ बजे नै अलेक्सेयी दाउरा बटुल्न थानुपथ्र्यो र त्यहाँ उनले थरीथरीका मानिसहरू भेट्थे । जाडोको महिनामा पनि दाउरा बटुल्न थाल्ने काम ज्यूँका त्यूँ रह्यो । यसबाहेक उनले साबिकबमोजिम नोकरले गर्नुपर्ने सबै काम गर्नुपथ्र्यो । तर, उनले त्यो बेलामा साँझमा भने छुट्टि पाउँथे ।
आइतबार अलेक्सेयी मिलियोना सडकमा घुम्न जान मन पराउँथे । त्यहाँ पैदल हिँड्ने मानिसहरू टहलिइरहेका हुन्थे । अलेक्सेयी यसरी घुम्ने ती तल्लो वर्गका मानिसहरूलाई गम्भीररूपले अध्ययन गर्थे । तिनीहरू भद्रगोल किसिमले काम गर्न र पैसा चोर्न मन पराउँदैनथे । कहिलेकाहीँ तिनीहरू जहाजमा मालसामान चढाउने र उतार्ने काम गर्थे । आगो लागेको बेलामा र नदीमा हिमपात परेको सङ्कटको बेलामा तिनीहरू दिलोज्यानले काम गर्थे । अलेक्सेयी यसरी घुमफिर गरेको कुरो उसनको मालिकले थाहा पायो भने उसलाई असाध्यै पिर पथ्र्यो र फेरि यसरी हिँड्ने कामबाट रोक लगाउँथ्यो । यसकारण, अलेक्सेयी गोप्य तरीकाले जाने गर्थे । पन्ध्र वर्षे किशोर अलेक्सेयीले ‘एउटा छिप्पिएको मान्छे’ ले झैँ अनुभव गर्थे र जीवन अति कष्टमय भएको पाए । उनले कहिल्यै पनि रक्सी खाएनन् र तरुनी ठिटीहरूको पछि लागेर पनि हिँडेनन् ।
सर्जेयेभहरूको घरको अटालीको एउटा कोठामा निकोलाइ ट्रोइनोभ भन्ने एकजना विद्यार्थी डेरा लिएर बसेका थिए । उनी र अलेक्सेयीका बिचमा सधैँजसो किताबका विषयमा कुराकानी हुन्थ्यो । अलेक्सेयीको बौद्धिक क्षमताबारे उन्नाइस वर्षे विद्यार्थी निकोलाइको अति राम्रो तर्क थियो । त्यसैले उनले अलेक्सेयीलाई कजान जाने सल्लाह दिए । कजानमा गएर अलेक्सेयी निकोलाइकी आमासित बस्ने र हिउँद ऋतुको अन्त्यसम्म विश्वविद्यालयमा जानको लागि पूर्वतयारी गर्न खोलिएको स्कूलमा अध्ययन गर्ने राय दिए । उनले गर्नुपर्ने काम केबल ‘केही परीक्षाहरू’ पास गर्नुपर्ने र त्यसपछि उनी विश्वविद्यालयमा पढ्नको लागि छात्रवृत्ति पाउन सक्नेछन् र चार–पाँच वर्षपछि ‘प्राध्यापक’ हुन सक्नेछन् भन्ने कुरो निकोलाइले बताए । निकोलाइको यो विचार अलेक्सेयीलाई निकै राम्रो लाग्यो र सन् १८८४ को अन्त्यमा पूर्ण आशावान हुँदै अलेक्सेयी कजानको लागि प्रस्थान गरे । उज्ज्वल भविष्यको कामना गर्दै अलेक्सेयीकी आमाले उनलाई आसिक दिइन् । हजुरआमाको आसिक सिरोपर गरेर उनी हिँडे ।
गोर्कीका विश्वविद्यालयहरू
कजानको अर्धसभ्य सहरमा येभ्रेयीनोभ परिवार (आमा र दुइटा छोरा) एउटा सामान्य सडकको छेउमा एउटा सानो भाडाको कोठामा बस्थे । त्यो कोठाको पछिल्तिर आगोले जलेको एउटा घरको अवशेष थियो र त्यहाँ थुप्रै फोहरमैला जम्मा भएको थियो । त्यो घरको वरपर थुप्रै झारपात उम्रेको थियो । त्यो घरको छिँडीमा भुस्याहा कुकुरहरू बस्थे र कति त त्यहीँ मर्थे । गोर्कीले लेखेका छन्, “अझै पनि म यो छिँडी देख्नसक्छु, किनभने मेरा विश्वविद्यालयहरूमध्ये यो एउटा हुने कुरो पूर्वनिश्चित थियो ।”
सानो गाँठीको जीउ र सेतै फुलेको कपाल भएकी विधवा येभ्रेयीनोभ एउटा सानो भाडाको कोठामा बस्थिन् र ‘खानपिनको प्रबन्ध मिलाउने’ जिम्मा उनैको थियो । बढ्दो उमेरका तीनओटा केटाकेटीको लागि थुप्रै खानेकुरो चाहिन्थ्यो र उनले आफ्नो लागि कहिल्यै भाग छुट्याउन्नथिन् । उनले दिएको प्रत्येक टुक्रा रोटीप्रति अलेक्सेयीको खराब धारणा थियो । ‘रुखो हेराइ र खास चालचलन भएकी नौली आइमाई’ को रूपमा अलेक्सेयीले उनलाई हेरे । यसैकारणले उनले त्यो घर छाडेर कामको खोजीमा हिँडे । मौसम नराम्रो भएको बेलामा उनी भुस्याहा कुकुरहरू बस्ने गरेको त्यो जीर्ण छिँडीमा एउटा शरणार्थीको रूपमा बस्थे । उनको आफ्नै शब्दमा “मरेका कुकुर र बिरालाहरूको दुर्गन्धले भरिएको, धरधरती पानी चुहिने र चर्को बतास लाग्ने त्यो ठाउँ, मैले चाँडै नै के महसुस गरेँ भने विश्वविद्यालय एउटा मूर्खको उडन्ते कल्पनाजस्तै थियो ।”
उनी त्यहाँबाट हिँडे र भोल्गा गए । दिनमा पन्ध्रदेखि बीस कोपेकसम्म ज्याला पाउने गरेर जहाजमा काममा लाग्न जोसुकै पनि सक्थ्यो । निश्नीमा उनले खाली खुट्टा हिँड्ने मान्छेहरूको जमात देखेका थिए । तर, अहिले उनी तिनीहरूमध्ये आफै एउटा खाली खुट्टाले हिँड्ने मानिस भइसकेका थिए । उनी खाली खुट्टा हिँड्ने मानिसहरूकै जमातमा बस्थे र त्यहाँ सबै किसिमका बदमासहरू थिए ।
पछि उनले आफ्ना कृतिहरूमा यस्ता घटनाहरूको वर्णन गरेका छन् । तर, उनले ती घटनाहरूलाई कीर्तिमान बनाउने हिसाबले पेस गरेका छैनन् । उनी खाली खुट्टा हिँड्ने समूहका ‘देवदूत’ थिएनन् । तर, उनलाई अझै अशुद्ध किसिमले यसो भनिन्छ । गोर्कीले जीवनलाई सम्मान गर्ने र यसलाई सुखी बनाउन चाहने मान्छेहरूलाई मन पराए । उनी लेख्छन्, “खाली खुट्टा हिँड्ने रूसी मानिसहरूको दृश्य मैले वर्णन गर्न जानेभन्दा बढी भयानक क्रियाकलाप हो । सबै कुरा छाडेर यो एउटा स्थायी नैराश्य हो, आफैमा निषेध हो र आफैबाट ठगिएको बन्दी जीवन हो ।” त्यतिबेला शिक्षाको लागि वारपार फैलिएको उनको आशाले उनलाई उनका ती साथीहरूको बिचमा धकेल्यो ।
सौभाग्यवश उनले त्यो समयमा अरू मान्छेहरूलाई पनि भेट्न पाए । तिनीहरूमध्ये गुरी प्लेट्नियोस् नाम भएका हँसिलो मिजासका एकजना विद्यार्थी थिए । गोर्कीले लेखेका छन्, “मैले भोगेको दुःख र कष्टबारे थाहा पाएपछि उनले मलाई आफूसित हिँड्न भने र मलाई एउटा स्कूलको शिक्षक बन्ने प्रस्ताव राखे ।”
अलेक्सेयी येभ्रयीनोभहरूसित छुट्टिएर मारुसोभ्का भन्ने अँध्यारो र असामान्य ठाउँमा प्रवेश गरे । यो ठाउँमा एउटा ठुलो थोत्रो घर थियो र त्यो घर भोका विद्यार्थीहरू, बेस्सेहरू र तल्लो स्तरका मानिसहरूले खचाखच भरिएको थियो । भ¥याङमुनि बाटो नजिकैको एउटा कुनामा गुरी बस्थे । अलेक्सेयी र गुरी पालैपालो गरेर गुरीको खाटमा सुत्थे किनभने त्यो खाटमा दुवैजना एकैचोटि सुत्न अट्दैनथे । खाट असाध्य सानो थियो । एकजना दिउँसो सुत्थे र अर्को राति । गुरी रातमा एउटा अखबारको रातिको सम्पादकको रूपमा काम गर्थे र एक रातमा एघार कोपेक कमाउँथे । अलेक्सेयी आफूखुसी रूसी व्याकरण रट्थे । आफ्नो विषयमा उनले के पत्ता लगाए भने उनी कुनै पदको उम्मेदवार हुन परीक्षा पास गर्ने क्षमता भए तापनि उमेरको हिसाबले सानै थिए ।
अलेक्सेयी जहाजमा मालसामान चढाउने र ओराल्ने काम गरेर छाक टार्थे । एकपटक अलेक्सेयी जेनेरलकी विधवा मम् कार्नेट नाम भएकी फ्रान्सेली आइमाईको घरमा बगैँचे र भरियाको रूपमा काम गर्न थाले । उनले यो समयलाई ‘टाल्सटायको सम्झनामा’ भन्ने कृतिमा सविस्तार उल्लेख गरेका छन् ।
अलेक्सेयीका सबैभन्दा महत्वपूर्ण चिनजानका मान्छे एन्ड्रेयी डेरेन्कोभ थिए । उनको एउटा सानो खुद्रा पसल थियो । उनी नरोद्निकको पार्टीसित सम्बन्धित थिए । त्यो पार्टीको दृष्टिकोण क्रान्तिका मुख्य सहारा किसानहरू हुन् र कामदारहरू होइनन् भन्ने थियो । जारतन्त्रको विरोधमा लड्न किसानहरूलाई उक्साउनको लागि नरोद्निक पार्टीका मान्छेहरू गाउँले जनताका बिचमा थिए । यसैकारणले तिनीहरूलाई ‘जनता दल’ भनिन्थ्यो । सन् १८८१ को विद्रोहपछि यो दल पूरै नष्ट भयो ।
पसलपछाडि रहेको उनको डेरामा डेरेन्कोभ्को एउटा ठुलो पुस्तकालय थियो । त्यहाँ दुर्लभ र प्रतिबन्ध लगाइएका थुप्रै पुस्तकहरू थिए । ती पुस्तकहरू कजानका स्कूलका विद्यार्थीहरू र क्रान्तिप्रति सहानुभूति राख्ने मानिसहरूले प्रशस्त मात्रामा पढ्थे । छिनछिनमा त्यहाँ बीसजनाभन्दा बढी मानिसहरूको जमघट हुन्थ्यो । ती मानिसहरू रूसी जनताको भविष्यप्रति चिन्तित थिए । अत्यन्त उत्सुक ती मानिसहरू, अखबारमा निस्केका लेखहरू र सहर तथा विश्वविद्यालयमा घटेका घटनाहरूबाट निकै प्रभावित थिए । तिनीहरू लगातार तर्कवितर्क र गरम बहस गर्थे । अलेक्सेयी यसभन्दा अगाडि भएको क्रान्तिकारी समूहको सम्पर्कमा पुगेका थिएनन् । यसैले तिनीहरूको तर्कवितर्कमा भाग लिन सक्दैनथे । त्यो समयको सम्झना गर्दै उनले लेखेका छन्, “गरिब जनताको रगतमा बोसो गलेझैँ शब्दको पहिरोमा पुरिएर सत्य कुरो नष्ट भएको थियो ।”
कम्तीमा पनि उनले के कुरो बुझे भने ती मानिसहरूले जीवनलाई फेर्न र सुधार्न खोजिरहेका थिए । तर, तिनीहरू भने हठधर्मी थिए र अलेक्सेयीले त्यो समूहमा समावेश हुने निर्णय गरेको कुरोलाई तिनीहरू वास्ता गर्दैनथे । कहिलेकाहीँ उनीहरू आफ्नो बडप्पन त्यागेर अलेक्सेयीलाई ‘एकलब्य र जनताको छोरो’ भन्थे । उनीहरूले यसो भनेको अलेक्सेयीलाई कत्ति पनि चित्त पर्दैनथ्यो । अविश्वासी भएर रनभुल्ल परेका अलेक्सेयीले एकदिन उनले कहिल्यै पनि नभेटेको स्वाधीन विचारको एकजना मान्छेले यसो भनेको सुने, “तिनीहरूको निम्ति जनता नै सबभन्दा ठुलो सद्विवेकी, विशाल हृदय भएका दयालु, ईश्वरका स्वरूप र एकत्रित प्राणीहरू हुन् । तिनीहरू मानव समुदायप्रति अगाध स्नेहले ओतप्रोत भएको जीवन जिउनको लागि कुराकानी गर्छन् र एउटा नयाँ सिद्धान्तअनुसार स्वतन्त्र जीवन बनाउने विचार व्यक्त गर्छन् ।” अलेक्सेयीलाई यो सबै कुरो अनौठो लाग्यो र उनले आफ्नो जीवनको तीतो अनुभवलाई तुच्छ ठाने । अन्त्यमा, अलेक्सेयी उत्साहित भए । काम गर्न जानसमेत छाडेर अलेक्सेयी भेट्टाएजति सप्पै पुस्तक पढ्न थाले । त्यतिबेला उनले लाभ्रोभको ऐतिहासिक चिठीपत्रहरू, चार्नीरोभस्कीको के गर्नुपर्छ ?, पिसारेभका निबन्धहरू, राजा हङ्गर र कार्ल माक्र्सको पुँजी पढे । भासिली सेभयोनोभसित बढी चिनजान भएपछि अलेक्सेयीले उनको पाउरोटी कारखानामा काम पाए ।
यो समय गोर्कीको जीवनको अत्यन्त कष्टपूर्ण समय थियो । यो कुरा पछि गएर गोर्कीले स्वीकारेका छन् । उनले ‘प्राध्यापक’, ‘कोनोभालोभ’ र ‘छब्बीसजना मान्छे र एउटी केटी’ भन्ने उनका कथाहरूमा यो कुराको बयान गरेका छन् । जीवनप्रतिको उनको धारणाबारे नौलो वातावरणको असर असह्य थियो । एउटा कुचुक्क परेको धुँवाले भरिएको कोठामा उनले दिनमा चौध घण्टासम्म काम गर्नुपथ्र्यो । यसैले उनले डेरेन्कोभका किताबहरू पढ्ने समय पाउँदैनथे । बिदाको दिनमा उनी थकित हुन्थे । त्यसैले उनी आफ्ना साथीभाइहरूसित बसेर अथवा सुतेर समय बिताउँथे । उनका साथीहरूमध्ये कुनै कुनैले उनलाई सन्काहा पाखे सम्झन्थे । तर, अरूहरू भने पुरानो सम्पर्क भएको हुनाले उनलाई माया गर्थे । राम्रा–राम्रा कथाहरू भन्न सक्ने भएको हुनाले केटाकेटीहरूले पनि उनलाई मन पराउँथे । उनको आफ्नै शब्दमा “केही राम्रा केटाकेटीहरू पनि थिए जसले मैले भनेका सबै कथाहरू सम्झन्थे । वास्तवमा, ती कथाहरू एउटा भिन्दै, बढी उद्देश्यपूर्ण र सजिलो जीवनको सिर्जना गर्ने सम्भावित शाखाले तयार गरिएका हुन्थे ।”
सन् १८८७ को वसन्तमा अलेक्सेयीले पाउरोटी कारखाना छोडे र धेरै ठाउँमा काम खोज्दै हिँडे । केही समयसम्म उनले नाचघरमा एउटा सिकारु गायकको रूपमा गीत गाए । उनले र फियोदोर च्यालिएपीनले निर्देशकको सामुन्ने गायन परीक्षा दिनुपर्ने थियो । निर्देशकले च्यालिएपीनलाई ‘अयोग्य’ घोषणा ग¥यो । (च्यालिएपीन उनको समयका सबभन्दा महान् गायकहरूमध्ये एक थिए) । अलेक्सेयीले त्यसपछि एउटा सर्कसमा काम गरे । एकपटक, उनी पहलवान हुन चाहे तर यो सम्भव भएन । किनभने, उनको हाड नरम थिएन त्यतिबेला नै डेरेन्को भन्नेले खुद्रा पसल बन्द गरेर पाउरोटी उद्योग खोले । उद्योगबाट भएको मुनाफा रकम क्रान्तिकारी क्रियाकलापको लागि खर्च हुन्थ्यो । अलेक्सेयीले पाउरोटी बनाउने कामदारको रूपमा त्यहाँ काम पाए । उनले टोकरीको पिँधमा किताबहरू लुकाएर त्यसमाथि पाउरोटी राख्थे र विद्यार्थीहरूलाई दिन्थे । पाउरोटी उद्योगबाट छिट्टै नै त्यति धेरै प्रगति भयो र डेरेन्कोभले उद्योगको बृहत् पक्षतिर हेर्नुपर्ने भयो । अलेक्सेयीले आफ्नो गायक मण्डलीमा अर्को एउटा सहयोगी पाउने आशा गरे, किनभने उनी पहिले नै धपेडीको कारणले ‘पूरै निदाएका’ थिए । सामान्यतया उनी दिनको तीनचार घण्टाभन्दा बढी सुत्न पाउँदैनथे । काममा भएको बेलामा पाउरोटी बनाउन पठाएको पिठो नफुकुञ्जेलमात्रै पढ्न सक्थे ।
अलेक्सेयी विद्यार्थी समूहबाट कमभन्दा कम सन्तुष्ट थिए । त्यसैले उनले नित्यरूपमा नयाँ साथीहरूको खोजी गरे । उनी कामदारहरूसित भेटघाट गर्न कलकारखानाहरूमा जान्थे र धेरैजसो स्पास्की रीतिथिति बुझ्न हिँड्थे । त्यहाँ उनले सन्तहरू र सिकारू साधकहरूसित कुराकानी गर्थे र कहिलेकाहीँ तिनीहरूलाई खाना पकाउने काममा सघाउँथे । समयसमयमा उनी सेभ्योनोभको पाउरोटी उद्योगमा पनि जान्थे र उनका पुराना साथीहरूले उनको स्वागत गर्थे । गोर्कीले उनको उपन्यास स्वीकारोक्तिमा यो समयका अनुभवहरूलाई सँगालेका छन् । त्यतिबेला नयाँ मानिसहरूले उनीप्रति चाख लिएको हुनुपर्छ ।