सन् १८६८ को मार्च महिनाको १६ तारिखका दिन म्याक्सिम गोर्की (अलेक्सेयी) को जन्म भयो । सन् १८६९ मा पेशकोभ परिवार अस्ट्राखानमा बसाइँ स¥यो । त्यहाँ गोर्कीका पितालाई जहाजमा मालसामान ढुवानी गर्ने ठाउँमा सुपरभाइजरको जागिर मिल्यो । उनी चार वर्षको हुँदा उनलाई हैजाले समात्यो । बिरामी अलेक्सेयीको स्याहारसुसार उनका पिता आफैले गर्ने र उनलाई पनि रोगले समात्यो । सन् १९७२ मा अलेक्सेयीका पिता बिते । गोर्कीको आत्मकथाका तीन खण्डमध्येको पहिलो खण्ड बालककाल उनका पिताको मृत्युसँगै सुरु हुन्छ । अलेक्सेयीकी हजुरआमा अकुलिना काशिरिनाले बालक अलेक्सेयीको जिम्मा लिइन् र अलेक्सेयीकी आमा निश्नीतिर फर्किइन् । हजुरआमा खुसमिजाज र मायालु दिल भएकी थिइन् । त्यसैले बालक अलेक्सेयीले उनलाई मन पराए । तर, हजुरबा भने अलेक्सेयीकी हजुरआमाको भन्दा ठ्याम्मै उल्टो स्वभावका थिए । उनी दुब्लो पातलो, चराको ठुँडजस्तो नाक भएको, हरिया आँखा र लामो खैरो दा¥ही भएका मान्छे थिए ।
बालक अलेक्सेयीकी आमा बार्बाराबाहेक छिपा काशिरिनाका दुईओटा छोरा थिए । विपत्तिले घेरिएका ती दिनमा तिनीहरू एउटा कुचुक्क परेको कोठामा बस्थे र त्यहाँ ख्वाक्क खोक्नसम्म पाइन्नथ्यो । आउने पिँढीको विषयमा कुरा गर्नु, दोष लगाएर गाली गर्नु पशुवत् व्यवहार गर्नु, कुटपिट गर्नु र अवान्छनीय काम–कारबाही गर्नु त्यतिबेलाको दैनिक प्रक्रिया थियो । केटाकेटी बानी–व्यहोराले कुनै सामान्य भूल भएको खण्डमा पनि अलेक्सेयीका हजुरबा घरमा आइपुग्ने बित्तिकै उनलाई बेतको छडीले मूर्छा नपरूज्जेल पिट्थे ।
यस्तो वातावरणमा गोर्की एकपल्ट बिरामी परे र उनका पछिल्ला दिनहरूका लागि यो एउटा अत्यन्तै महत्वपूर्ण घटना बन्नपुग्यो ।
“यही बेलादेखि म छिटछिटो प्रौढ हुँदै गएको हुनुपर्छ, किनभने मैले आफूमा एउटा नयाँ अपूर्व संवेदनाको अनुभव गरेको थिएँ, त्यतिबेलादेखि नै ममा मानिसहरूलाई गहिरिएर हेर्ने, बुझ्ने उत्सुकता र धैर्यको विकास भयो र मैले मप्रति र अरू मानिसहरूप्रति गरिएका घृणा र अपमानजनक क्रियाकलापहरूलाई अति सचेत भएर हेर्न थालेँ ।”
यसो भए तापनि उनको जीवनमा धेरै राम्रा कुराहरू पनि देखापरे । बालक अलेक्सेयीले छिपा भर्ने पसलमा धेरै कामदारहरूसित मित्रता बढाए । उनले उनकी हजुरआमाले भन्नुभएका अनन्त दन्त्यकथा, परी कथा र कविताहरू सुन्न चाख लिए । बालक अलेक्सेयीको निम्ति संसारमा भएका सबै मान्छेहरूमा सबभन्दा मायालु र कामलाग्ने मान्छे उनकी हजूरआमा बनिन् । उनको विशुद्ध स्नेहले बालक अलेक्सेयीको आन्तरिक जीवनमा सन्जीवनी छरिदियो र दुःखको घडीमा सङ्कटकालीन स्थितिसित जुध्न उनलाई सक्षम बनायो । गोर्कीले आफ्नी हजुरआमाको विषयमा यसरी लेखेका छन्, “जब म उहाँलाई सम्झन्छु, खराब कुराहरू सबै हराउँछन्, घाउ सन्चो हुन्छ, प्रत्येक चीजको स्वरूप फेरिन्छ, प्रत्येक चीज लोभलाग्दो हुन्छ, सुन्दर हुन्छ र मानिसहरू राम्रा लाग्न थाल्छन् ।”
सन् १८७३ मा गोर्कीका हजुरबाले आफ्नो पैतृक सम्पत्तिको अंशबन्डा लगाए । छोराहरूले आ–आफ्नो छुट्टै एउटा कपडा रङ्गाउने छिपाको दुकान खोले र बुढाले भुइँतलामा मदिरालय भएको एउटा नयाँ घर किने । अलेक्सेयीले भट्टीमा जाने थुप्रै किसान र अरू मानिसहरूलाई बढी उत्सुकतापूर्वक हेर्थे र अध्ययन गर्थे । उनले आफ्नी आमालाई कहिलेकाहीँ मात्रै देख्थे, किनभने उनी माइतघरमा बिरलै बस्थिन् । एकपल्ट यसो झुलुक्क देखिइहालिन् भने पनि फेरि तुरुन्तै हिँडिहाल्थिन् । तिनले आफ्नो छोरासँग कहिले पनि गहिरो स्नेह गाँस्न सकिनन् । यसो हुनुमा उनी आफ्नो लोग्नेको मृत्युलाई दोष दिन्थिन् । यिनै कारणले गर्दा नै बालक अलेक्सेयीको शिक्षादीक्षासम्बन्धी पूरै काम उनका हजुरबाआमाद्वारा पूर्णरूपले नियन्त्रित हुन्थ्यो । अलेक्सेयी ६ वर्षको हुँदा नहुँदै उनलाई हजुरबाले भजनको किताबबाट गिर्जाघरका स्तुतीगानहरू सिकाए । बालक अलेक्सेयीको पढाइप्रतिको यो अपूर्व उत्साह देखेर मख्ख पर्दै ती बुढाले कहिलेकाहीँ अलेक्सेयीलाई अरू केटाकेटीहरूसित खेल्ने अनुमति पनि दिन्थे । तर, खेल भने कहिल्यै पनि शान्तिपूर्ण हुनसक्दैनथ्यो, किनभने छरछिमेकीका केटाकेटीहरूको दुव्र्यवहार देखेर अलेक्सेयीलाई असाध्यै रीस उठ्थ्यो । ती केटाकेटीहरू कुकुर लगाएर कुखुरा लघार्न, बिरालोको जस्तो स्वर निकालेर कराउन अथवा जँड्याहा मगन्तेको नक्कल गरेर खेल्न रमाउँथे । अलेक्सेयीलाई यस्तो मन पर्दैनथ्यो । खेल सकिने बेलामा सधैँ केटाकेटीहरूको बिचमा झगडा हुन्थ्यो, एकले अर्काको कपडा च्यातचुत पारिदिन्थे, नाक मुखबाट रगतका धारा बगाउँदै फर्कन्थे । यसको नतिजा के हुन्थ्यो भने अलेक्सेयी घरभित्रै कोचारिएर बस्नुपथ्र्यो ।
काशिरिना विपत्तिमा परेका थिए । उनका छोराहरूले आ–आफ्नो भागमा पाएको पैतृक सम्पत्ति जथाभावी खर्च गरेर सिध्याइसकेका थिए र फेरि पनि बाबुसित खर्च माग्थे । यसकारण, बुढाले गुप्तरूपमा चर्को ब्याजमा पैसा लगाउन सुरु गरे । पछि पुलिसले यो कुरा थाहा पायो र यो काम पनि बन्द भयो । घर बेच्न बाध्य भएपछि बुढाले घर बेचे र एउटा राम्रो बगैँचा भएको जग्गा किने ।
दुई वर्षपछि बार्बारा भाशिल्येभ्ना फेरि आइन् र छोरालाई अक्षर चिनाउन सुरु गरिन् । केही दिनभित्रै उनी सिरिलिक लिपिको राम्रो अध्ययन गर्न सफल भए । तर, उनले कविता पढ्न सिक्ने काममा निकै कठिनाइ महसुस गरे किनभने उनले कविता बुझ्दैनथे । तर, उनको सम्झने शक्ति बडो राम्रो थियो । त्यसैले हजुरआमाले सिकाएका गीतहरू र दन्त्य कथाहरू खुब राम्रोसित मुखाग्र भन्न सक्तथे । गणित पनि उनलाई सजिलै लाग्थ्यो । “मैले लेख्न चाहिन र मैले व्याकरण त कत्ति पनि बुझेको थिइनँ ।”
सन् १८७६ को सुरुमा अलेक्सेयीकी आमाले उनलाई पाठशालामा भर्ना गरिदिइन् । तर, अलेक्सेयी भने यो परिवर्तनबाट कति पनि खुसी भएनन् । एक महिनापछि उनलाई बिफरले समात्यो र उनी घर फर्किए । धेरै समयसम्म उनी एक्लै बुइँगलमा पल्टिरहन्थे । हजुरआमाले मात्रै उनको हेरचाह गर्थिन् र त्यो बेलामा बुढीले उनलाई थुप्रै दन्त्यकथाहरू सुनाउँथिन् । अन्त्यमा, बुढीले अलेक्सेयीलाई उनका मातापिताको कथा पनि सुनाइन् । अलेक्सेयीका पिता साइबेरियाको कुनै ठाउँमा जन्मेका थिए र उनका बाबुले उनलाई धेरैपटक नराम्रोसँग कुटपिट गरेका थिए । यसपछि उनी घरबाट भागेर हिँडेका थिए । एकबाजी अलेक्सेयीका पितालाई उनका बाबुले कुकुर लगाएर लखेटेका थिए । फेरि अर्को एकपटक उनलाई बाबुले यति निर्दयतापूर्वक पिटेका थिए कि छिमेकीहरूले त्यहाँ हस्तक्षेप गर्नुपर्यो र त्यो सन्काहाबाट छुटाउन बालकलाई लुकाएर राखे । उनकी आमा सानैमा बितिन् । जब म्याक्सिम सव्यात्येभिच नौ वर्ष भएका थिए, उनका बाबु पनि मरे । त्यसपछि पेर्म प्रान्तका एकजना सिकर्मीले उनलाई ल्याए र धर्मपुत्रको रूपमा पालनपोषण गरे । एकदिन ती ठिटा त्यहाँबाट भागे र गाउँघरतिर घुम्दै अन्धा मान्छेहरूलाई बाटो देखाउने काम समाते । अन्त्यमा १६ वर्षको उमेरमा उनी निश्नीमा आइपुगे । त्यहाँ उनले एउटा ठुलो फर्निचर पसलमा (काठको काम गर्ने पसलमा) नोकरी पाए । २० वर्षको उमेर हुँदा नहुँदा एउटा सिपालु सिकर्मीको रूपमा उनको बयान चल्यो । उनको पसल काशिरिन खलकको पसलभन्दा पल्लोपट्टि थियो । भाशिली भासिल्येभिच काशिरिनले आफ्नो जीवनकालमा गुजारो चलाउनको लागि भोल्गा नदीमा एउटा सामान्य कुल्लीको कामसमेत गरेका थिए । पछि उनी थुप्रै धनदौलत र चारओटा घरका मालिकको रूपमा एउटा नामी छिपा महाजनसम्म भएका थिए । उनले अझ भद्र– भलाद्मीहरूले लगाउने कोट र लुगाफाटासमेत हालेका थिए । अलेक्सेयीले उनका मातापिताको भेट कसरी भएको थियो र कस्ता–कस्ता विपत्तिहरू उनीहरूमाथि आइलागे भन्ने कुरा जाने । बुढा काशिरिनले ज्वाइँको रूपमा राख्ने त्यो आदर्श परिवारको एउटा सदस्य खोजेका थिए । हजुरआमाले आफ्ना दुइटा छोराहरूलाई भन्दा पनि बढी ती चतुर म्याक्सिम सव्यात्येभिचलाई माया गरिन् र उनले ती दुइटा नवदम्पत्तिलाई हर किसिमले सहयोग गरिन् ।
आफू एउटा आदर्श मान्छे भएर पनि सुदखोरीजस्तो धूर्त व्यवहार गरेको हुनाले नै अलेक्सेयीका हजुरबाले पैसाको कारोबारको सिलसिलामा थुप्रै रकम गुमाउनुप¥यो र आखिरमा बुढा टाट पल्टिए । फेरि पनि बुढाले घर बेच्नुप¥यो । घरका सबै टेबुल कुर्चीहरू तार्तर भन्ने नाम भएको एकजना मान्छेले उठायो र यो देखेर अलेक्सेयीको चित्त दुख्यो । उनी चिच्याएर कराए । किनभने, अलेक्सेयीले अब आफ्नो अति प्यारो बगैँचा पनि छोड्नुप¥यो । त्यो परिवारले घरको ओसिलो छिँडीमा उकुसमुकुसलाग्दो वातावरण भएका दुइटा अँध्यारा कोठा भाडामा पाउन सक्ने भए । केही समयपछि अलेक्सेयीकी आमा उनको नयाँ लोग्नेलाई लिएर त्यहाँ आइन् । तिनीहरू दुवै थकित देखिन्थे । अलेक्सेयीकी आमाको अनुहार दुब्लो र पहेँलो भएको थियो, उनका आँखा ज्वरोले धपधपी बलेका थिए । अलेक्सेयीको काकाबाउले आफ्नो भएभरको सम्पत्ति जुवा खेलेर सिध्याएका थिए । उनले मस्कोमा अध्ययन स्थगित गर्नुप¥यो । उनले सार्माेभोको देहाती क्षेत्रमा एउटा अफिसमा कारिन्दाको रूपमा काम गर्न मञ्जुर गर्नुपर्यो । त्यहाँ अलेक्सेयीका बाबुआमाले एउटा अटालीमा डेरा जमाए । त्यो कोठाका भित्ताहरू प्लास्टर गरिएका थिएनन् र त्यहाँ साइलाको बथानमात्र थियो । अलेक्सेयीकी हजुरआमाको पनि घर थिएन । त्यसैकारणले अलेक्सेयी हजुरआमासँगै भान्छामा बस्नुप¥यो । रीसको आवेगमा आएर अलेक्सेयीका हजुरबाले हजुरआमालाई फेरि एकपटक घरबाट निकालिदिएका थिए ।
बिहान सबेरै जब मान्छेहरूलाई काममा सामेल हुने सङ्केत दिँदै कारखानाको सिट्ठी बज्थ्यो, अलेक्सेयी उठेर बेञ्चमा उभिन्थे र झ्यालबाट हेर्थे र घरका छानैछानाभन्दा परपर हेर्थे । अलि पर उनी अक्सर कारखानाको मूलढोकानेर पिल्पिल गर्दै बलिरहेका लालटिन देख्थे । कारखानाको ढोका ‘आत्तिँदै ठाउँमा पुग्न दौडिरहेको भिडलाई कपाकप निलिरहेकी’ कालो मुख भएकी दाँतविहीन एउटी मगन्ते बुढीको मुखजस्तै स्वाङ परेको थियो । मध्याह्नमा फेरि पनि कारखानाको चिच्याहटलाग्दो चर्को सिट्ठीको स्वर सुनिन्थ्यो । कारखानाको ढोका खुल्थ्यो र त्यो कालो मुखले अनगिन्ती मान्छेहरूको हुललाई ओकल्थ्यो । अलेक्सेयीलाई नीलो आकाश देख्न निकै दुर्लभ थियो । आजभन्दा भोलि झन् बाक्लो हुँदै निस्केको कारखानाको धुँवा घरको छानामाथि र हिउँका थुप्रामाथि चाक्लो खैरो सिलिङजस्तै भएर फैलिँदै जान्थ्यो । “यसले कल्पनालाई कुँजो बनायो र आँखा थकित भए किनभने त्यो धुवाँको रङ्ग अत्यन्त आर्त र वाक्कलाग्दो थियो ।”
कामदारहरूको लागि राशनपानी बाँड्दा ठगेको अभियोगमा येभगेनी भासिल्येभिच् जागिरबाट निकालिए । तर, चाँडै नै उनले रेलवे मार्गमा खचाल्चीको काम भेट्टाए । त्यसपछि त्यो परिवार रेलवे स्टेसनमा ढुङ्गैढुङ्गाले बनेको एउटा ठुलो घरमा बस्न पुग्यो । अलेक्सेयीकी आमाले अलेक्सेयीलाई फेरि तुरुन्तै स्कूलमा भर्ना गरिदिइन् । ‘बढालु देखाउन’ अलेक्सेयीलाई जुत्ता र हजुरआमाको थोत्रो जार्केट काटेर बनाएको कोट लगाइदिइन् । अलेक्सेयीले लगाएका जडाउरी लुगाफाटाले साथीभाइहरूको समूहमा उनी एउटा हँस्सीको पात्र बन्न पुगे । अलेक्सेयीको कमिज पहेँलो थियो । त्यसैकारण, उनलाई स्कूले ठिटाहरू ‘इँटको एक्का’ भन्थे । अलेक्सेयीले चाँडै नै स्कूले केटाहरूसित मित्रता गाँसे । केही समयपछि अध्ययनप्रतिको गहन रुचिको कारणले उनले स्कूलका गुरु र पुरोहितहरूको मन पनि जिते ।
एकदिन बालक अलेक्सेयीले आफ्नी आमालाई काकाबाउले जमीनमा पछारेर पिटिरहेको देखे । आमाचाहिँ जमिनमा घुँडोमुन्टो टेकेर लडेकी थिइन् र काकाबाउले बुटजुत्ताको नोकले उनको छातीमा हानिरहेको थियो । बालक अलेक्सेयीले रीसले आँखा देखेनन् र रोटी काट्ने चुपी लिएर उसमाथि जाइलागे । तर, आमाचाहिले तुरुन्तै तानिन् । यो भयानक दृश्यलाई गोर्कीले कहिल्यै बिर्सन सकेनन् । उनको आफ्नै शब्दमा, “असभ्य रुसी जीवनको आतङ्कले मानिसहरूलाई तल्लो श्रेणीमा ओरालेको छ र अहिलेको यो जीवन एउटा दुःखदायी कटुसत्य हो । यो एउटा यस्तो कटुसत्य हो, जहाँ अहिले जस्तोसुकै अन्याय, अत्याचार र पशुवत् व्यवहार पनि क्षम्य छ । यो नीच अपमानजनक जीवनबाट मुक्ति पाउनको लागि मानिसहरूको हृदयको आवाज सुनेर यो दुःखद अवस्थालाई निर्मूल पारेर फ्याँक्न र नयाँ सिर्जना गर्नको लागि यो अवस्थाको जरोलाई बुझ्नु आवश्यक छ ।”
बाबुआमा र बालक अलेक्सेयीबिचको सम्बन्ध बिग्रँदै गएको हुनाले बालक अलेक्सेयी हजुरबा हजुरआमाकै घरमा फिर्ता जानुप¥यो । खाने ठाउँ र बस्ने ठाउँमा जीवन अनौठो थियो । हजुरबा उदेकलाग्दो कन्जुसमा फेरिएका थिए । उनले आफ्ना पुराना मित्रहरूसित रूपियाँ सापट माग्थे र चर्को ब्याजमा अरूलाई दिन्थे । हजुरआमालाई सघाउनको लागि अलेक्सेयीले पैसा कमाउने निर्णय गरे । प्रत्येक आइतबार बिहान सबेरै अलेक्सेयी बाहिरफेर गएर हाडका टुक्रा, कुम्रा कपडा र मिल्किएका फलामका टुक्राटाक्री बटुल्थे । हप्ताका अरू दिनहरूमा उनी स्कूल छुट्टी भएपछि फेरि आफ्नो काममा लाग्थे । उनले हप्ताभरिमा तीसदेखि पचास कोपेकसम्म कमाउँथे र कहिलेकाहीँ भने केही बढी पनि आउँथ्यो । धुनी जगाउने ठाउँमा दाउरा र ओकाको काठ गोदामबाट फलेक चोर्न सके झन् बढी नाफा हुन्थ्यो । यस्तो काम गर्ने केटाकेटीहरूको थुप्रै जमात थियो । तिनीहरूमध्ये कुनै–कुनै जमातका केटाकेटीहरू त यस्ता उपद्रयाहा थिए कि जाँड खाएर हल्लि हिँड्ने रिक्सावाल, बग्गीवाल र सहरबाहिरका कलाकारहरूलाई समेत कुटपिट गथ्र्ये । तर, पेश्कोभ जमात भने यस्तो चोरी, ठगी र गुण्डागर्दी कामबाट अलग्गै थियो ।
यो समयमा स्कूले जीवन अत्यन्त कठिन थियो । अलेक्सेयीका कक्षाका साथीहरूले उनलाई झुत्रे, मगन्ते र डाँकु भनेर गिज्याउँथे । यतिमात्रै नभएर उनीहरू अलेक्सेयीको आडमा बस्दैनौँ भनेर शिक्षकहरूसित उजुरी गर्थे । अलेक्सेयीको शरीर डुङ्डुङ्ती गन्हाएको छ भन्ने दोष उनीहरू लगाउँथे ।
“यो आरोपबाट म कति धेरै दुःखित भएको थिएँ र त्यसपछि स्कूलमा गएर नियमित पढाइ गर्न मलाई कत्ति मुस्किल प¥यो भन्ने कुरा मलाई सम्झना छ । यो झूटा आरोपहरूले भरिएको दुर्बुद्धिपूर्ण बदख्वाइँ थियो । म सधैँ राम्रोसँग नुहाइधुवाइ गर्ने र स्कूल जाँदा झुत्रा कपडा, हाड र फलामका टुक्राहरू बटुल्दा लगाएको लुगा लगाएर कहिल्यै पनि जान्नथेँ ।”
अन्त्यमा, अलेक्सेयीले तेस्रो कक्षाको परीक्षा सफलतापूर्वक पास गरे र उनलाई धार्मिक कुराहरूमा आधारित एउटा कथाको किताब, क्रिलोभका लघुकथाहरूको एउटा ठेली र फान्टा मोर्गाना भन्ने दुर्बोध्य (नबुझिने) शीर्षक भएको एउटा किताब पुरस्कार दिइयो । उनले ‘विज्ञान विषयमा विशेष उन्नति गरेका’ भन्ने एउटा प्रशंसापत्र पनि पाए ।
अन्त्यमा, उनले स्कूल छोडे । त्यसपछि उनी आफ्ना साथीहरूलाई साथमा लिएर बिहानदेखि बेलुकासम्म जता मन लाग्यो त्यतै हल्लिन थाले ।
यो स्वच्छन्द जीवन धेरै समयसम्म चलेन । उनको आफ्नै शब्दमा ‘यो मेरो भाग्यमा उथलपुथल ल्याएर मलाई माथितिर धकेल्ने घटना’ भयो । अलेक्सेयीका काकाबाउ फेरि पनि जागिरबाट निकालिए र उनी बेपत्ता भए । नवजात शिशुकी आमा र त्यो नवजात शिशुले अलेक्सेयीको हजुरबाको घरमा शरण लिनुप¥यो । आमाचाहिँ अत्यन्त कमजोर भएकी हुनाले अलेक्सेयी आफैले त्यो दूधेबालकको हेरचाह गर्नुप¥यो । सन् १८७८ को अगस्ट महिनामा अलेक्सेयीकी आमा भासिल्याभिच् सुकेनासको रोग लागेर मरिन् । दाहसंस्कारको कामपछि अलेक्सेयीलाई हजुरबाले भने, “सुन् अलेक्सेयी – तँ कुनै तक्मा होइनस् जसलाई म घाँटीमा झुन्ड्याएर हिँड्न सकूँ । अब यहाँ तँलाई बस्ने ठाउँ छैन । जहाँ जानुपर्छ जा, आफ्नो बाटो लाग् र आफ्नो सुर गरेर पेट पाल् ।”
“म नौला मान्छे र नयाँ ठाउँतिर लागेँ” यिनै शब्दहरूबाट गोर्कीले आफ्नो बालककालका संस्मरण टुङ्ग्याएका छन् ।
स्रोत : म्याक्सिम गोर्की (जीवनी)