#का. रोहित
फेब्रुअरीको क्रान्ति
रुस लडाइँमा फस्दै गयो । सबै मालसामान र धन–सम्पत्ति लडाइँमा होमिरहेको थियो । अर्थतन्त्र चौपट भयो, कारखानाहरू बन्द हुन थाले । १ करोड ४० लाख बलिया मानिसहरू कामबाट निकालेर सेनामा भर्ती गरिए । रेल पनि मुश्किलले चालु थियो । सिपाहीहरू ओसार्न समेत धौधौ परिरहेको थियो । लाखौँ किसानहरू सेनामा भर्ना गरिएको हुनाले गाउँहरू उजाड देखिए । काम गर्ने मानिसहरू थिएनन् । सरकारले किसानका घोडाहरू र अरू पशु जफत गर्दै सेनामा लाँदै थियो । काम गर्ने मानिस र जनावरको कमीले गर्दा खेत बाँझो भए । खेत नजोतिँदा कृषि उत्पादन कम भयो र अनिकाल पर्न थाल्यो । यसले कामदार जनताको जीवन झन्झन् कष्टमय भयो । त्यसकारण, बोल्शेविक पार्टीका कार्यकर्ताहरू लडाइँको मैदानमा सिपाहीहरूकहाँ जान्थे र जनतालाई लडाइँको विरोधमा सम्झाउँथे । यो लडाइँ पुँजीपतिवर्गको फाइदाको निम्ति हो, जनतालाई केही फाइदा छैन भनेर बोल्शेविकहरू भन्थे । बोल्शेविक पार्टीका कार्यकर्ताहरूलाई सरकारले लडाइँको विरोध गरेकोमा ज्यान सजाय दिइन्थ्यो । तर, सिपाही, मजदुर र किसानहरूले बोल्शेविकहरूको कुरालाई बुझ्न थाले र ‘साम्राज्यवादी लडाइँलाई गृहयुद्धमा बदल !’, ‘लडाइँ मुर्दावाद !’ र ‘जार मुर्दावाद !’
१९१७ को जनवरी महिना थियो । लडाइँले गर्दा पिट्सवर्गका मजदुरहरू भोकभोकै मर्न लागे । ९ जनवरी १९१७ को दिन हडताल सुरु भयो । मस्कोमा तीन भागको एक भाग मजदुरहरूले हडतालमा भाग लिए । हडतालकै सिलसिलामा पिट्सवर्ग, मस्को, बाकू र निज्नीनवगरोदमा जुलुस भयो । त्वेस्र्कोपी भन्ने राजमार्गमा दुई हजार मानिसले प्रदर्शनमा भाग लिएका थिए । पुलिसले तिनीहरूलाई छिन्नभिन्न पारिदियो । पिट्सवर्गको विवोर्ग सडकमा भएको जुलुसमा सिपाहीहरूले पनि भाग लिएका थिए । हडतालले १९०५ को रूप लिन लागेको थियो ।
मेन्सेविक र समाजवादी क्रान्तिकारी भनाउँदा गुटले उठिरहेको मजदुर आन्दोलनलाई उदार पुँजीपतिवर्गको पक्षमा घुमाउन चाहन्थ्यो । त्यसकारण, तिनीहरूले १४ फेब्रुअरीको दिन संसद् (ड्युमा) मा जुलुस लैजाने निधो गरे । तर, मजदुर जनता मेन्सेविकहरूसँग संसद् नगई जुलुसमा पुगे । वास्तवमा रुसमा क्रान्ति परिपक्व भइरहेको थियो ।
१८ फेब्रुअरीको दिन पिट्सवर्गको पुतिलोब कारखानामा हडताल सुरु भयो । २२ फेब्रुअरीको दिन त्यहाँ धेरैजसो ठुलठुला कारखानाहरूमा मजदुरहरूले हडताल गरिदिए ।
२३ फेब्रुअरीको दिन अन्तर्राष्ट्रिय महिला दिवस थियो । पिट्सवर्गको बोल्शेविक समितिद्वारा भोकमरी, युद्ध र जारशाहीको विरोधमा महिलाहरूको एक जुलुसको आयोजना गरिएको थियो । पिट्सवर्गका मजदुरहरूले कामदार स्वास्नीमानिसहरूको त्यस जुलुसलाई समर्थन गरे । तिनीहरूले एक ठुलो राजनैतिक हडताल गरेर त्यसलाई मद्दत गरे ।
२४ फेब्रुअरीको दिन पनि जुलुस भई नै रह्यो । त्यस दिन पुग नपुग दुई लाख मजदुरहरूले हडताल गरे ।
२५ फेब्रुअरीको दिन सारा पिट्सवर्ग रातो झन्डाले ढाकियो । जिल्ला जिल्लाको राजनैतिक हडताल सहरको राजनैतिक हडतालसँग मिसियो । ठाउँ–ठाउँमा ठुलठुलो जुलुस भयो । ‘जारशाही नास होस्’, ‘लडाइँ मुर्दावाद’, हामीलाई रोटी देऊ ।’ भन्ने नारा झन्डाहरूमा लेखिएका हुन्थे ।
उता लडाइँको मोहडामा पनि सिपाहीहरू बरफको जाडो र भोकलाई सहिरहेका थिए । त्यसकारण, सेनाका सिपाहीहरूले पनि अफिसरहरूको आदेश मान्न छोडेका थिए । उनीहरू मोर्चाबाट अन्तै हिँड्थे । त्यस्तै, गाउँ गाउँमा पनि असन्तोष बढिरहेको थियो ।
२५ फेब्रुअरीको दिन जारले आफ्नो जर्नेल खवालोवलाई आदेश दियो, ‘भोलिसम्ममा राजधानीको सबै गोलमाल बन्द गरिदेऊ ।’ पिट्सवर्गको सेनापति जनरल खवालोवले २८ फेब्रुअरीसम्म काममा नफर्के मजदुरहरूलाई जबरजस्ती लडाइँमा पठाउने धम्की दियो । तर, २६ फेब्रुअरीको दिन पनि जुलुस र हडताल भइरह्यो । पावलोव्स्की पल्टनको जगेडा बटालियनको चौथो दलले मजदुरहरूसँग जुझिरहेको पुलिसमाथि गोली चलाइदियो । कामदार महिलाहरूले पल्टनलाई मजदुरहरूको साथ दिन अपिल गरे । सरकारलाई घृणा गर्न र मजदुर जनतासँग दाजुभाइको नाता जोड्न आह्वान गरे । बोल्शेविक पार्टीको केन्द्रीय समितिले सरकारको विरोधमा सशस्त्र सङ्घर्ष चालु राख्न र अस्थायी सरकार बनाउने घोषणा गर्यो । त्यसबेला पार्टीको प्रधान कार्यालय पिट्सवर्गमा थियो । त्यसको अगुवाइ (नेतृत्व) कामरेड मोलोतोवले गर्दै हुनुहुन्थ्यो । सिपाहीहरू छाउनीमा गएर बैठक गरे । भोलिन्स्की रेजिमन्टले जनतालाई दृढ समर्थन गर्यो ।
२७ फेब्रुअरीको दिन पनि आन्दोलन भइरह्यो । बिहान अफिसरहरू मानेनन् र अफिसरहरूलाई निकालिदिए । अरू रेजिमेन्ट पनि तिनीहरूसँग मिल्न गए । मजदुरहरूले नारा लगाए, ‘सिपाहीहरू जिन्दावाद !’ अनि मजदुर सिपाहीहरू मिलेर जेलका राजनैतिक बन्दीहरूलाई छुटाउन गए । पुलिसले विद्रोहलाई दबाउन सकेन । बिहानैदेखि १० हजार सिपाहीहरू विद्रोहमा भाग लिन थालेका थिए । साँझसम्ममा विद्रोहमा ६० हजार सिपाहीहरूले भाग लिन पुगे । विद्रोहमा भाग लिएका मजदुर र सिपाहीहरूले सरकारका मन्त्रीहरू र जर्नेललाई गिरफ्तार गर्न थाले । जेलमा थुनिएका क्रान्तिकारीहरूलाई छोड्न थाले । छुटेका राजबन्दीहरू क्रान्तिमा भाग लिन थाले । तर, पुलिस तोपको सहारामा मजदुर आन्दोलन दबाउँदै थियो । सेना मजदुरहरूसँग मिलेपछि जारको मनपरीतन्त्र खतम भयो । क्रान्तिको जित भयो ।
पिट्सवर्गको क्रान्तिको जितको खबर चारैतिर बिजुलीजस्तै फैलियो । खबर सुन्नासाथै अरू सहर र लडाइँका मोर्चाहरूमा मजदुर र सिपाहीहरूले सरकारी अफिसरहरूलाई गिरफ्तार गर्न थाले र सेनाबाट निकाल्न थाले । यसरी मजदुरवर्गले रुसमा क्रान्ति गर्यो । तिनीहरूकै वीरता र रगतले अरू जनतालाई पनि सँगै लग्यो । त्यसलाई रुसको फेब्रुअरीको पुँजीवादी–जनवादी क्रान्ति भनियो । अब रुसमा राजतन्त्र चाहँदैन भन्ने बुझेर पुँजीपतिवर्गले राजा निकोलस दोस्रोलाई गद्दी छोड्न मनायो र चुनाव नभएसम्मको निम्ति एक अस्थायी सरकारको घोषणा गर्यो । त्यसमा ठुलठुला जमिनदार र पुँजीपतिवर्गका मानिसहरू थिए ।
तर, त्यसबेला बोल्शेविक पार्टीका मुख्य मुख्य नेताहरू जेल र देश बाहिर थिए । लेनिन विदेशमा हुनुहुन्थ्यो । स्तालिन र स्वर्दलोभ साइबेरियामा कालापानीको सजाय भोग्दै हुनुहुन्थ्यो । बोल्शेविकहरू सरकारी पुलिस र सेनासँग भिडन्त गर्दै थिए । त्यस्तै, मौका छोपी मेन्शेविक र समाजवादी क्रान्तिकारी गुट सरकार र चुनावमा आ–आफ्नो हातमाथि पार्न दाउ लगाउँदै थिए ।
२७ फेब्रुअरी १९१७ को दिन मेन्शेविक र समाजवादी क्रान्तिकारीहरू मिलेर एक नयाँ सरकारलाई समर्थन गरे । त्यो एक पुँजीवादी अस्थायी सरकार थियो । यो पुँजीपतिवर्ग र पुँजीपति बन्न लागेका जमिनदारहरूको प्रतिनिधिहरू भएको एक नयाँ राज्यसत्ता थियो ।
तर, नयाँ सरकार शान्ति चाहँदैनथ्यो । ऊ साम्राज्यवादी युद्धलाई चालु राख्न चाहन्थ्यो । रुसका मजदुरहरूमा क्रान्तिकारी जोश थियो । तर, तिनीहरूले लडाइँ र राजनैतिक अनुभवको कमीले गर्दा राजनैतिक छलकपट र दाउलाई बुझ्न सकेका थिएनन् । बहुमत मजदुरहरूमा स–साना पुँजीपतिवर्गको विचारधारा पनि बाँकी नै थियो । यसकारण, क्रान्ति मजदुरवर्गले गर्यो । तर, सत्ता पुँजीपतिवर्गको हातमा गयो । तैपनि, मजदुर र सैनिकहरूको प्रतिनिधिसभा निरन्तर बस्न थाल्यो । त्यसलाई सोभियत भनिन्थ्यो । क्रान्तिले ल्याएको त्यस प्रतिनिधिसभाको प्रभाव बढ्दै गयो । गाउँ, नगर र जिल्ला, अनि सबै सङ्गठनको प्रतिनिधिसभा वा परिषद् बन्न थालियो । ती सबैलाई सोभियत भनियो । स्थानीय र राष्ट्रिय स्तरका सोभियतहरू चुनिन थाले ।
अलेक्सान्द्र तृतीयको सालिक हटाउँदै
अक्टोबर क्रान्तिको तयारी
जनतामा मेन्शेविक र समाजवादी क्रान्तिकारी गुटको ठुलो प्रभाव बाँकी नै थियो । त्यसले जनताको भलाइ गर्छ भन्ने विश्वास थियो । तर, केही महिना बित्यो, कारखाना पुँजीपतिवर्गकै हातमा थियो । गाउँ गाउँमा जमिनदार र धनी किसानहरूले जनतालाई दबाउँदै थिए । लडाइँमा सिपाहीहरू मरिरहेकै थिए । अस्थायी सरकार ‘स्वतन्त्र रुसको निम्ति लडाइँ’ चालु राख्न जनतालाई आह्वान गर्दै थियो । जनतामा असन्तोष बढ्दै थियो । जेल र विदेशबाट फर्केका बोल्शेविक कार्यकर्ताहरूले मजदुर, किसान र सिपाहीहरूलाई पुँजीपति र जमिनदारवर्ग हुकुममा रहेसम्म साँचो स्वतन्त्रता आउँदैन भनेर सम्झाउन थाले ।
लडाइँको बेला मजदुरहरूले पिट्सवर्गको नाम पेट्रोग्राद राखे ।
३ अप्रिल, १९१७ मा लेनिन पेट्रोगाद पुग्नुभयो । रातको समय थियो । फिनल्यान्डको रेलवे स्टेसनमा हजारौँ हजार मजदुर, सिपाही र जहाजीहरू लेनिनलाई स्वागत गर्न पर्खिरहेका थिए । मेन्शेविक नेताहरूले पनि लेनिनलाई स्वागत गरे । तर, लेनिन क्रान्तिकारी सैनिकहरूको मञ्चमा गए र मजदुर, सिपाही र जहाजीहरूलाई भन्नुभयो, “जारशाही खतम भयो, त्यो त पहिलो पाइलो हो । पुँजीपतिवर्ग अहिले सत्तामा छ । जग्गा–जमिन, कारखाना र खानीको मालिक जनता आफै हुनुपर्छ । अस्थायी सरकारलाई विश्वास गर्नुहुन्न । ‘समाजवादी क्रान्ति–जिन्दावाद’ ।”
४ अप्रिलको दिन लेनिनले बोल्शेविकहरूको बैठकमा आफ्नो रिपोर्ट सुनाउनुभयो । त्यसपछि मेन्शेविक र बोल्शेविकहरूको संयुक्त सभामा पनि त्यस सैद्धान्तिक सार (थेसिस) पढे । त्यसमा पुँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने, सोभियत अर्थात् मजदुर र सिपाहीहरूको संसद् कायम गर्ने, सबै जग्गा जमिन राष्ट्रियकरण गर्ने, जमिनदारी जफत गर्ने, सबै व्यक्तिगत बैङ्कलाई एक राष्ट्र बैङ्कमा मिलाउने, उत्पादनका साधन र वितरणलाई हातमा लिने कुरो प्रस्ट्याए ।
लेनिनको त्यस सिद्धान्तको सारले मेन्शेविकहरू तर्सिन थाले । हो, लेनिन नयाँ हुकुम कायम गर्न चाहनुहुन्थ्यो । मजदुर, सिपाही र किसानहरूको मेन्शेविकहरूले उल्टो मजदुरहरूलाई भन्न थाले, “क्रान्ति खतरामा छ ।”
लेनिनको विचारलाई प्लेखानोवले आफ्नो अखबार ‘येदीन्स्थ्यो’ (एकता) मा ‘बहुलाको बर्बराइ’ भनेर गाली गरे । उनले मेन्शेविक इखाइत्जेको शब्दलाई दोहो¥याए र लेनिन एक्लै क्रान्तिदेखि अलग रहन्छ र हामी आफ्नो बाटोमा अगाडि बढ्दै जानेछौँ ।
तर, १४ अप्रिलको दिन बोल्शेविकहरूको पेट्रोग्राद नगर सम्मेलन भयो । कामेनोव, राईकोव र प्याताकोवजस्ता केही व्यक्तिहरूबाहेक सम्मेलनको अत्यन्त बहुमतले लेनिनको सिद्धान्तलाई स्वीकार गर्यो । बोल्शेविकहरू क्रान्तिको निम्ति तयारी गर्दै थिए ।
जारशाहीको अन्त
१८ अप्रिलको दिन अस्थायी सरकारको विदेशमन्त्री मिल्यूकोवले युद्ध गरिरहेको साम्राज्यवादी–मित्र देशहरूलाई एक सूचना पठायो । त्यसमा लेखिएको थियो, “निश्चित विजय प्राप्त नभएसम्म सारा जनता विश्वयुद्ध चालु राख्न चाहन्छन् र अस्थायी सरकार मित्र देशहरूसँग लिएको आफ्नो जिम्मेवारी पूर्णरूपले पूरा गर्नेछ ।”
युद्धलाई चालु राख्ने कुरो बोल्शेविक पार्टीले थाहा पाउनासाथै सरकारको विरोध गर्न मजदुरहरूलाई आह्वान गर्यो । २० र २१ अप्रिलको दिन एक लाखभन्दा बढी मजदुर र सिपाहीहरूले विरोध प्रदर्शन गरे । ‘गुप्त सन्धिहरू प्रकाशित गर’, ‘युद्ध–मुर्दावाद’, ‘सारा अधिकार सोभियतलाई देऊ’ भन्ने नारा झन्डामा लेखिएको थियो । ठाउँ ठाउँमा विरोधी गुटसँग भिडन्त गर्दै जुलुस अस्थायी सरकारको कार्यालयतिर बढ्न थाल्यो ।
जनरल कार्निलोभ क्रान्ति विरोधीहरूमध्ये एक थियो । उसले प्रदर्शनमाथि गोली हान्ने आदेश दियो तर सिपाहीहरूले गोली हान्न अस्वीकार गरे । त्यस्तै, बोल्शेविक पार्टीभित्र तुरुन्तै अस्थायी सरकार कब्जा गर्न केही ‘वामपन्थी’ वा उत्ताउलाहरू लागे । तिनीहरूको विचारबाट काम गर्न दिइएको भए पार्टीको क्रान्तिको योजनामा बाधा पर्दथ्यो । त्यसकारण, त्यस विचारलाई खण्डन र निन्दा गरियो । त्यसबेला सोभियत भन्ने मजदुर र सेनाको प्रतिनिधिसभामा बोल्शेविकहरू बहुमत बनाउन कोसिस गर्दै थिए । क्रान्तिको विकास हुँदै थियो । सरकारमा मतभेद सुरु भइरहेको थियो ।
२४ अप्रिल १९१७ मा बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो । त्यसमा १३३ मत दिन पाउने र १८ बोल्नमात्र पाउने प्रतिनिधिहरू सामेल थिए । पार्टीको यो पहिलो खुला सम्मेलन महाधिवेशनजतिकै महत्वपूर्ण थियो ।
लेनिनले क्रान्तिलाई दुई खुड्किलोमा बाँड्नुभयो । पहिलो खुड्किलो, हुकुम पुँजीपतिवर्गको हातमा सुम्पिनु थियो । दोस्रो खुड्किलो, हुकुम मजदुरवर्ग र किसानहरूको सबभन्दा गरिब भागको हातमा सुम्पिनु थियो । लेनिनले दोस्रो खुड्किलोमा पाइला हाल्न पार्टी सम्मेलनमा बल दिँदै हुनुहुन्थ्यो । त्यसको नाम हो समाजवादी क्रान्ति । लेनिनको नारा थियो, ‘सबै हुकुम मजदुर, किसान र सिपाहीहरूको प्रतिनिधिसभा सोभियतलाई देऊ ।’ उहाँले भन्नुभयो, “अस्थायी सरकार स्वभावैले जमिनदार र पुँजीपतिहरूको सञ्चालक समिति हो ।”
तर, मेन्शेविकहरू भन्दै थिए, रुस समाजवादी क्रान्तिको निम्ति तयार भइसकेको छैन र पुँजीवादी प्रजातन्त्र नै रुसमा सम्भव छ । त्यो सिद्धान्तले पुँजीपतिवर्गको हात बलियो हुन्थ्यो र तिनीहरूको सेवा हुन्थ्यो । मेन्शेविकहरू र समाजवादी क्रान्तिकारीहरू अस्थायी सरकारमा भाग लिनाले मजदुरवर्ग ठुलो अन्योलमा परिरहेको थियो । त्यसले मजदुरवर्गलाई धोखा भइरहेको थियो । जनतालाई फटाहा आश्वासन दिएर छल गर्दै थियो । साम्राज्यवादी युद्धलाई मद्दत पुगिरहेको थियो । क्रान्तिलाई नोक्सान भइरहेको थियो ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट