अलेक्सान्दर सेर्गेइभिच पुश्किन रूसी भाषाका महान् स्वच्छन्दतावादी कवि थिए । पुश्किनभन्दा अगाडि रूसी साहित्य र आधिकारिक कागजातहरूमा क्लिष्ट खालको पुरानो रूसी भाषा प्रयोग गरिन्थ्यो । घरानियाँहरूमा फ्रान्सेली भाषा र साहित्यको ठुलो प्रभाव थियो । १८ र १९ औँ शताब्दीको पूर्वाद्र्धमा कुलीनहरूबिचको कुराकानी र चिट्ठीपत्रमा फ्रान्सेली भाषाको बढी प्रयोग हुन्थ्यो । रूसी भाषामा लेखिएका आधिकारिक चिट्ठीपत्रहरू दैनिक बोलिने रूसी भाषाभन्दा फरक हुन्थे । साहित्यमा पनि पुराना शब्दहरूकै भरमार हुन्थ्यो । सर्वसाधारण जनताले त्यो लेख्य भाषा बुझ्दैनथे । पुश्किनले आफ्ना कविता र महाकाव्यहरूमा थोत्रा शब्दहरूको ठाउँमा जनसाधारणले बोल्ने शब्दहरूको प्रयोग थाले । उनका सिर्जनाले रूसी साहित्यमा नयाँ भाषाशैली भित्याए । रूसी भाषामा यस्तो परिमार्जन अझै चालु छ । यिनै कारणले पुश्किनलाई आधुनिक रूसी भाषा र साहित्यका पिता मानिन्छ ।
१७९९ को जून महिनामा मस्कोको पुरानो खानदानी परिवारमा पुश्किनको जन्म भयो । उनका बुबा सेनामा मेजर थिए । आमा एक रूसी जर्नेलकी छोरी थिइन् । प्रारम्भिक शिक्षाको निम्ति पुश्किनलाई घरमै फ्रान्सेली शिक्षकहरूको व्यवस्था गरिएको थियो । दस वर्षको उमेरसम्म उनले फ्रान्सेलीबाहेक अरू भाषा बोलेनन् । उनको हेरविचार एक शिक्षित र साहित्यमा रूचि राख्ने धाई आमाले गर्थिन् । पछि उनैबाट पुश्किनले रूसी भाषा सिकेका थिए ।
डिसेम्बर विद्रोहताका महाकवि पुश्किन २६ वर्षका भर्भराउँदा युवक थिए । उनी डिसेम्बरवादी थिए कि थिएनन् भन्ने सवालमा अझै पनि बहस हुने गरेको छ ।
पुश्किन र गुप्त समाज
सन् १८११ मा रूसका राजाको प्रत्यक्ष योजना र निर्देशनमा राजदरबारनजिकै एउटा उच्चवर्गीय शिक्षालय लाइसिएम स्थापना भयो । लाइसिएम सेन्ट पिटर्सबर्गबाट २४ किलोमिटर टाढा थियो । राज्य सञ्चालनको निम्ति कुलीन परिवारहरूबाट आवश्यक जनशक्ति तयार गर्न त्यो शाही लाइसिएम खोलिएको थियो । सोही साल १२ वर्षे पुश्किन त्यस लाइसिएममा भर्ना भए । पुश्किन र उनका सहपाठीहरू पहिलो सत्रका विद्यार्थी थिए । कुमार मिखाइल गोर्चाकोभ र तन पुशिन लाइसिएममा पुश्किनका मन मिल्ने साथी थिए । जार निकोलस अलेक्सान्दर दोस्रोको पाला (१८५५–१८८१) मा कुमार गोर्चाकोभ विदेशमन्त्री बने । एकचोटि उनी चान्सलर पनि बने । त्यसैगरी, तन पुशिन पछि सिनेट चोक विद्रोहको योजनाकार र नेता बने । उनी मात्र होइन पुश्किनका अन्य धेरै सहपाठी र समकालीनहरू गुप्त सङ्गठनका सदस्य थिए । तर, सूचना चुहिने डरले पुश्किनलाई जानाजान गुप्त सङ्गठनमा भित्याइएन । पुश्किनको झडङ्ग रिसाउने स्वभाव र शङ्कास्पद व्यक्तिहरूसँगको हिमचिमका कारण उनलाई सङ्गठनबाट पर राखियो ।
शाही लाइसिएममा जम्मा ६ वर्षको पढाइ हुन्थ्यो । त्यहाँ अध्ययन गर्दैताका १५ वर्षे उमेरदेखि नै पुश्किनले रूसी भाषामा कविता लेख्न थालिसकेका थिए । लाइसिएममा हुने हरेकजसो साहित्यिक गतिविधिमा उनी आफ्ना कविता पाठ गर्थे । उनी पढाइमा अब्बल थिएनन् तर पुरानो भाषाभन्दा फरक नयाँ खालको सरल भाषामा लेखिएका उनका कविताहरूले रूसी साहित्यको आकाशमा आफ्नो अलग्गै ठाउँ बनाउन थालिसकेका थिए । पुश्किन फ्रान्सेली विचारकहरू भोल्टायर र दिदेरोबाट प्रभावित थिए । ‘इतिहासको अँध्यारो कालखण्डमा दर्शनको दियो बाल्न नयाँ बाटो पहिल्याउने विचारक’ भनेर उनी भोल्टायरलाई सम्मान गर्थे ।
सन् १८१७ मा लाइसिएमको पढाइ सकेपछि साथी गोर्चाकोभसँगै पुश्किनलाई विदेश मन्त्रालयमा कूटनीतिक अधिकारी बनाइयो । तर, पुश्किनको रूचि साहित्यमा थियो । विदेश मन्त्रालयको काममा उनलाई कत्ति पनि रूचि थिएन । उदार विचारका युवा पुश्किनले आफ्ना कवितामा स्वेच्छाचारी शासनविरोधी भावना व्यक्त गर्थे ।
१८२० अप्रिलको एक दिन पिटर्सबर्गस्थित पुश्किनको घरमा एक साहित्यका पाठक आए । त्यस दिन पुश्किन घरमा थिएनन् । पुश्किनका घरेलु सहयोगीसँग ती पाठकले पुश्किनका कविताको पाण्डुलिपि पढ्न मागे । धेरै पैसा दिने वाचा गरे पनि ती सहयोगीले कविताको पाण्डुलिपि दिएनन् र अतिथि फर्के । पुश्किन घर फर्केपछि रहस्य खुल्यो । वास्तवमा उनी सादा पोशाकमा आएका गुप्त प्रहरी रहेछन् ! पुश्किनले त्यही दिन विद्रोही भावना भएका आफ्ना केही पाण्डुलिपि जलाए । भोलिपल्ट प्रहरीले पुश्किनको घरमा खानतलासी लियो र उनलाई गभर्नरकहाँ लगियो । विद्रोही कविता लेखेर युवाहरूलाई भड्काएको आरोपमा जार अलेक्सान्दर प्रथमको निर्देशनमा उनलाई दक्षिण–पश्चिम रूसस्थित किसिनेभ सहर (हाल माल्डोभाको राजधानी) मा निर्वासनमा पठाइयो । यसरी २१ वर्षको उमेरका एक उदार र क्रान्तिकारी कवि तानाशाही शासनको आँखाका कसिङ्गर बने । त्यसैले, डिसेम्बर विद्रोह हुनुभन्दा पाँच वर्षअगाडि नै उनलाई राजधानीबाट टाढा निर्वासनमा पठाइयो ।
ककेसिया र क्रिमिया हुँदै पिटर्सबर्गबाट २ हजार किलोमिटर टाढा किसिनेभ पु¥याइएका पुश्किनले आफ्नो लेखन यात्रा जारी राखे । यस क्रममा पुश्किनले ‘ककेसियाको बन्दी’, ‘बाक्छिसाराइको झरना’ लगायत धेरै चर्चित कविता रचे । किसिनेभ ‘दक्षिणी गुप्त समाजका गणतन्त्रवादी नेता कर्नेल पाभेल पेस्तेलको पल्टन तैनाथ गरिएको सहर थियो । त्यस पल्टनका धेरैजसो युवा अफिसरहरू गुप्त गतिविधिमा क्रियाशील थिए । साहित्यिक जमघटहरूमार्फत पुश्किन ती युवाहरूको सम्पर्कमा थिए भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो । पारिवारिक सम्बन्ध पनि हुनाले किसिनेभमा छँदा पुश्किनलाई गुप्त समाजको सदस्य बनाउने जिम्मा मेजर जर्नेल सेर्गेइ भोल्कोन्स्कीलाई दिइएको थियो । तर, अनुशासनमा नबाँधिने पुश्किनको फुक्का र भावुक स्वभावका कारण सदस्य नबनाउनु नै उपयुक्त भएको निष्कर्ष भोल्कोन्स्कीले निकाले । सन् १८२३ मा पुश्किनलाई किसिनेभ सहरको १८० किलोमिटर दक्षिणमा पर्ने ओडेसा सहरमा सारियो । त्यहाँ पनि स्थानीय अधिकारीहरूसँग विवादमा परेपछि उत्तरी रूसको पिस्कोभ सहरनजिक मिखाइलोभ्स्कोय गाउँमा उनकै घरमा नजरबन्दमा राखियो । राजधानी पिटर्सबर्गबाट ३०० किलोमिटर दक्षिण–पश्चिममा रहेको मिखाइलोभ्स्कोय गाउँ उनकी आमाको पुख्र्याेली गाउँ थियो ।
पुश्किन र पुशिन
विद्रोह असफल भएपछि समातिएका केही विद्रोहीहरूले पुशिन भन्ने एक नेता पनि रहेको बयान दिए । उस्तैउस्तै नामका कारण सुरुमा त अनुसन्धान अधिकारीहरूले पुशिन भनिने व्यक्ति पुश्किन नै त होइनन् भन्ने आशङ्का गरे । पुश्किन जारद्वारा युवा उमेरमै निर्वासित गरिएका कवि हुनाले त्यो आशङ्का स्वाभाविक थियो । त्यसमाथि क्रान्तिकारीहरूका गुप्त दस्तावेजहरूको सङ्ग्रहमा पुश्किनका कविताहरू पनि भेटिएका थिए ।
पुश्किन मिखाइलोभ्स्कोय गाउँमा निर्वासनमा रहँदा गुप्त समाजका नेताहरू जारको तानाशाही शासनको ठाउँमा संवैधानिक व्यवस्था ल्याउन निर्णायक कदम चाल्नुपर्ने निष्कर्षमा पुगिसकेका थिए । तिनै क्रान्तिकारीमध्ये एक थिए शाही लाइसिएमका उनका सहपाठी र नजिकमा मित्र तन तनोभिच पुशिन ।
तन पुशिनको जन्म १७९८ को मे महिनामा मस्कोमा एक लेफ्टिनेन्ट जर्नेलको परिवारमा भएको थियो । पुश्किनजस्तै सन् १८११ मा उनी पनि शाही लाइसिएममा भर्ना भएका थिए । लाइसिएमको पढाइकै क्रममा उनी गुप्त समाजको सम्पर्कमा पुगे र १६ वर्षको उमेरमा गुप्त समाजको सदस्य बने । नजिकका साथी भएर पनि शाही लाइसिएममा छँदा उनले पुश्किनलाई गुप्त समाजको सदस्य बनाउन उपयुक्त देखेनन् । उनले पनि पुश्किनको अस्थिर स्वभाव र फुक्का विचारलाई ध्यान दिएका थिए ।
पढाइपछि पुशिन गार्ड पल्टनमा तोप हान्ने टुकडीको अफिसर बने । सन् १८२३ मा खुकुलो ‘समृद्ध समाज’ विघटन गरेर ‘उत्तरी समाज’ पुनः गठन गर्न उनको सक्रिय भूमिका थियो । गुप्त समाजकै कामको निम्ति उनी सैनिक सेवा छोडेर मस्कोमा न्यायाधीश बन्न गए । मस्को सहरमा ‘उत्तरी समाज’ को मस्को शाखा बनाउने जिम्मा उनलाई दिइएको थियो । पछि उनी ‘उत्तरी समाज’ को मस्को शाखाका नेता बने ।
विद्रोहभन्दा ११ महिनाअघि पुशिन मिखाइलोभ्स्कोय गाउँ गएका थिए । त्यसबेला पुश्किन त्यही गाउँमा नजरबन्दमा थिए । उनलाई गुप्त समाजको बारेमा बताउने र विद्रोहमा सामेल गराउने उद्देश्यले उनी त्यहाँ पुगेका थिए । त्यस बेलासम्म पुश्किन प्रख्यात कवि बनिसकेका थिए । उनका कविताहरूले धेरै क्रान्तिकारीहरूलाई उत्साहित पार्थे । निर्वासनको सजाय भोगिरहेका पुश्किन परिवर्तनकारी युवाहरूबिच एक विद्रोही कविको रूपमा परिचित थिए । लामो समयसम्म नभेटेका दुई साथीले दिनभरि स्कूले जीवन र साथीहरूबारे जमेर गफ गरे । पुशिनले गुप्त समाजबारे सङ्केत गर्दै आफू नयाँ तरिकाले देशको सेवामा लागेको र आफूजस्तै धेरै युवा त्यो दिशामा क्रियाशील रहेको बताए । तन पुशिनको सङ्केत बुझेर पुश्किनले आफ्नो अवस्थाका कारण आफू ‘विश्वास गर्न लायक नभएको’ बताए । त्यसपछि तन पुशिनले गुप्त समाजको कुरा अघि बढाएनन् ।
१८२५ डिसेम्बर २६ (१४) विद्रोहको दिन थियो । सिनेट चोक पुग्ने क्रान्तिकारीहरूमा तन पुशिन अघिल्लो लहरमा थिए । पुशिनलाई तोप टुकडीको अनुभव थियो । त्यसैले सिनेट चोकमा अन्योल छाएपछि विद्रोही सेनाको मनोबल र सैनिक संरचना अक्षुण्ण राख्न उनले अहम् भूमिका खेले । अन्तमा तोप आक्रमण भयो । त्यस घडीमा उनैले बागी सेनालाई फैलिने निर्देशन दिए । विद्रोह असफल भयो । त्यो रात उनीलगायत केही नेताहरू ‘उत्तरी समाज’ का नेता कोन्द्राती रिलेयेभको कोठामा जम्मा भए । अलिबेरको छलफलपछि उनीहरू आ–आफ्ना घरतिर लागे । आफ्नो भविष्य कस्तो हुनेछ भन्नेमा सबैजना स्पष्ट थिए । त्यसैले, विद्रोहको असफलताबाट कोही पनि विचलित भएनन् ।
पुश्किन र पुशिनका एक सहपाठी कुमार गोर्चाकोभ विदेश मन्त्रालयमा कार्यरत थिए । लन्डनको रूसी दूतावासमा काम गर्ने गोर्चाकोभ त्यतिबेला जार निकोलसको शपथ लिन राजधानी पिटर्सबर्ग फर्केका थिए । विद्रोहको भोलिपल्ट बिहान पुशिन गुप्त कागजात भएको सुटकेस आफ्नो भरपर्दो साथीलाई जिम्मा लगाउन लाइसिएम पुगे । त्यहाँ उनको भेट गोर्चाकोभसँग भयो । गोर्चाकोभले पुशिनलाई पासपोर्टको व्यवस्था गरेर विदेशी जहाजमार्फत बेलायत भाग्न कर गरे । तर, पुशिन आफ्ना सबै विद्रोही साथीलाई रूसमा छोडेर एक्लै विदेश भाग्ने कुरामा सहमत भएनन् । दुई दिनपछि तन पुशिन आफ्नै घरबाट समातिए । सबैलाई जस्तै उनलाई पनि पिटर–पाउल किल्लामा बन्दी बनाइयो ।
विद्रोहीहरूका घरैपिच्छे खानतलासी भयो । खानतलासी गर्दा पुश्किनका विद्रोही कविताहरू भेटिएका थिए । तर, गुप्त समाजमा पुश्किनको सहभागिता भएको कुनै पनि प्रमाण भेटिएन । विद्रोहको ९ महिनापछि नयाँ जारले पुश्किनलाई राजधानी झिकाउन आफ्ना प्रतिनिधि पठाए । जार निकोलसले पुश्किनसँगको भेटमा सोधेका थिए, ’सेन्ट पिटर्सबर्गमा भएको भए के तिमी पनि विद्रोहमा सामेल हुन्थ्यौ ?” २७ वर्षे पुश्किनले निडरतासाथ भने, “जरुर सरकार ! म सहभागी हुन्थेँ । किनकि, मेरा धेरै साथी त्यसमा सहभागी थिए, म कसरी छुट्न सक्थेँ र ?”
पुश्किन कुलीनवर्गमा स्थापित कवि बनिसकेका थिए । विद्रोहपछि कुलीनवर्गबिच आफ्नो पक्षमा सहज माहोल बनाउन निकोलसले पुश्किनलाई नजरबन्द र निर्वासनबाट मुक्त गरे । त्यसपछि पुश्किन राजधानी पिटर्सबर्गमा बस्न थाले । तर, उनी निरन्तर गुप्त प्रहरीको निगरानीमा रहे । गाउँमा नजरबन्दको सजाय भोगिरहेको बेला उनले ‘बोरिस गोदुनोभ’ नामक नाटक लेखेका थिए । त्यसको प्रकाशन गर्न उनले पाँच वर्ष कुर्नुपयो ।
यता तन पुशिनलाई साइबेरियामा २० वर्षको जेल सजाय र सदाका लागि निर्वासनको सजाय सुनाइयो । त्यो सजाय सुनाएको १३ वर्षपछि सन् १८३९ मा उनले जेलमुक्त भएर निर्वासित जीवन बिताउन थाले । ३१ वर्षपछि आममाफी पाएर युरोपेली रूस फर्किने थोरै डिसेम्बरवादीमध्ये तन पुशिन पनि थिए । साइबेरियाबाट युरोप फर्केका तन पुशिनजस्ता क्रान्तिकारीलाई मस्को वा पिटर्सबर्गमा बसोबास गर्ने अनुमति थिएन । एकजना डिसेम्बरवादीकी विधवासँग विवाह गरेर पुशिन मस्कोबाहिर एउटा गाउँमा बस्न थाले । निर्वासनबाट फर्केको तीन वर्षपछि सन् १८५९ मा पुशिनको निधन भयो ।
पुशिन निर्वासनबाट फर्किँदा उनका साथी कवि अलेक्सान्दर पुश्किनको निधन भएको २० वर्ष पुग्न लागेको थियो । आफ्नो स्वाभिमानको निम्ति एउटा ‘डुयल’ मा सहभागी हुँदा पुश्किन गम्भीर घाइते भए । त्यसैकारण, सन् १८३७ मा उनको मृत्यु भएको थियो ।
पुश्किन डिसेम्बरवादी गुप्त समाजमा संलग्न भएनन् । तर, जारको स्वेच्छाचारी शासन र दासप्रथा अन्त गर्ने डिसेम्बरवादीहरूको उद्देश्यप्रति उनी सहानुभूति राख्थे र समर्थन गर्थे । गुप्त समाज सक्रिय रहेका र विद्रोहको तयारी चलिरहेका बखत पुश्किन निर्वासन र नजर बन्दमा थिए । त्यसैले पनि पुश्किन गुप्त समाज र डिसेम्बर विद्रोहसँग जोडिएका थिएनन् भनी मूल्याङ्कन गर्नेहरूको कमी छैन ।