नारायण गिरी
युङ–त्से कुराले त ताओ–चिङको आर्थिकरूपले आत्मनिर्भर बन्ने कुरामा सहमत थियो तर भित्र–भित्र ऊ अत्यन्तै रूढीवादी व्यक्तित्व थियो । ऊ ताओ–चिङ केबल एक गृहिणी बनेर रहून् भन्ने चाहन्थ्यो । वास्तवमा ऊ मूल्यको स्तरमा सामन्ती मूल्यमान्यताबाट जकडिएको थियो । उसको अध्ययनको विषय पनि पुरातन सामन्ती चिनियाँ साहित्य थियो, यहाँसम्म कि उसको पहिरन र रहनसहन पनि पुरातन नै थियो । यसको विपरीत ताओ–चिङ वर्तमानमा बाँच्ने एक भविष्योन्मुख युवती थिइन् । उनी पुरातनवादी समाजको बन्धनबाट निस्किएर एक स्वतन्त्र समाजमा उन्मुक्त सास लिन चाहन्थिन् । त्यसपछि युङ–त्से र ताओ–चिङको आपसी अन्तर्विरोध धेरै बढ्दै गयो र एक दिन ताओ–चिङ सधैँको लागि युङ–त्सेलाई छोडेर भाग्ने कुरा सोच्न लागिन् ।
सन् १९३३ को मई दिवस समारोह पेचिङ विश्वविद्यालयका विद्यार्थीहरूले भव्यतापूर्वक मनाए† पुलिस र सेनाको प्रबल प्रतिरोधको सामना गर्दै जापानी साम्राज्यवाद र अप्रतिरोध तथा समर्पणको नीतिमा चल्ने जनविरोधी कोमिन्ताङ सरकारको विरूद्धमा जबरजस्त प्रदर्शनसहित जमेर नाराबाजी गरे । पुलिस र गुप्तचर विभागका जासुसहरूले देशभक्त क्रान्तिकारी युवा–विद्यार्थीहरूलाई खोजी–खोजीकन गिरफ्तार गर्न लागे† यातना दिँदै उनीहरूको निर्ममतापूर्वक हत्या गर्न लागे । विशेषगरी कम्युनिस्ट क्रान्तिकारी लु चिआ–चुआनलाई कदम–कदममा जासुसी र खोजबिन गर्न लागियो ।
यस्तै सङ्कटपूर्ण स्थितिमा लु चिआ–जुआन जासुस र पुलिसहरूलाई छक्याउँदै एक दिन ताओ–चिङको कोठामा पुग्यो । ताओ–चिङ युङ–त्सेको मूर्खताबाट अत्यन्त क्षुब्ध र हताश भएर बसेकी थिइन् । उनलाई आफ्नो जीवन नीरस र अर्थहीन लागिरहेको थियो । कुराकानीको क्रममा एकदमै हताश भएर उनले लु चिआ–चुआनलाई यस्तो बन्दी जीवनभन्दा क्रान्तिमा भाग लिएर बहादुरीपूर्वक मर्नु नै उत्कृष्ट हुन्छ भनिन् । लु चिआ–चुआनले यस्तो सोचलाई गलत बतायो र भन्यो – हामी क्रान्तिमा मर्नको लागि होइन, बरू जिउनको लागि सामेल हुन्छौँ – पहिलेदेखि नै धेरै उत्कृष्ट सार्थक जीवन जिउनको लागि र करोडौँ उत्पीडित जनतामा खुसीयाली ल्याउनको लागि जिउँछौँ । उसले कुनै सार्थक काम नगरीकन मर्ने कुरा सोच्नु भनेको सङ्घर्षबाट पलायन हुनु हो भन्यो ।
त्यसपछि उसले उनलाई केही कागजात दुई–तीन दिनको लागि सुरक्षित राख्न दियो । उसले उनलाई यी कागज पछि आएर लाने र नआएको खण्डमा जलाइदिनु भन्यो । यसपछि उसले एउटा जरूरी सन्देश एक निश्चित ठेगानामा पु¥याउनको लागि ताओ–चिङलाई पठायो र उनी फर्किने समयको प्रतीक्षा गर्न लाग्यो । यही बिचमा युङ–त्से आइपुग्यो र लु चिआ–चुआनलाई आफ्नो कोठामा देखेर पूरै जल्यो र उसलाई आफ्नो कोठाबाट निकालिदियो । बाहिर निस्किएर ऊ आफ्नो एउटा साथीको ढोकामा पुग्नै लाग्दा गिरफ्तार भयो । जेलमा उसलाई यातना दिइयो तर पनि शत्रु उसबाट कुनै रहस्य उकाल्नमा सफल भएन । यति मात्र होइन लु चिआ–चुआनले जेलमा पनि सङ्घर्ष गरिरह्यो, आफ्ना मागहरूलाई लिएर उसले जेलमा कैदीहरूको भोक हडताल गराइदियो । अन्ततः उसलाई मारियो । तर, मर्नुभन्दा पहिले उसले अन्तिम साससम्म आफ्नो क्रान्तिकारी लक्ष्यको दिशामा काम गरिरह्यो ।
यता ताओ–चिङले सन्देश पु¥याएर फर्किँदा लु चिआ–चआनलाई नदेखेर सशङ्कित भइन् । उनी युङ–त्सेको व्यवहारबाट अत्यन्त क्षुब्ध र दुःखी थिइन् । दस दिनसम्म लु चिआ–चुआन कागजात लिन नफर्किएपछि उनले कागजात भएको ब्रिफकेस खोलिन् । त्यसमा साम्राज्यवादविरोधी र कोमिन्ताङ सरकारविरोधी पर्चा थिए । उनले तिनीहरूलाई जलाइनन्, बरू साहसपूर्वक एक्लै धेरै रात मेहनत गरेर ठाउँ–ठाउँका गल्लीहरूमा टाँसिन् । केही नबताइकन बाहिर निक्लिने र अबेर राति फर्किएको कारणले युङ–त्से असन्तुष्ट थियो । दुवैको आपसी झगडाको कारणले ताओ–चिङले घर छोड्ने निर्णय लिइन् ।
ताओ–चिङले आफ्नो सामान समेटेर जाने तयारी गरिरहेको बेलामा एउटा गद्दार कम्युनिस्ट कार्यकर्ता ताई यु उनलाई भेट्न आयो । ऊ कोमिन्ताङ सरकारको जासुस बनिसकेको थियो तर ताओ–चिङलाई यो कुरा थाहा थिएन । त्यसकारण, उनले लु चिआ–चुआनसँग आफ्नो अन्तिम भेट र पर्चा टाँसेको सम्पूर्ण विवरण खोलेर बताइन् । ताई युले धैर्यपूर्वक सुनिरह्यो । ऊ पटक–पटक ताओ–चिङलाई कमरेड, कमरेड भनेर सम्बोधन गर्दथ्यो तथा क्रान्तिकारी लफ्फाजीका कुरा सुनाइरहन्थ्यो । तर, सोझी र अनुभवहीन ताओ–चिङले यो कुरा बुझिनन् । ताई यु गएपछि उनी अर्को ठाउँमा गएर बस्न लागिन् । यहाँ उनी क्रान्तिकारी साहित्य पढ्न र क्रान्तिकारी साथीहरूसँग भेटघाट गर्न पूर्णरूपले स्वतन्त्र थिइन् । उनी गिरफ्तार भएका क्रान्तिकारी साथी सु निङलाई हेर्न र आफ्नी साथी वाङ सियाओ–येनसँग भेट्न जाँदा ताई यु उनको गतिविधिमाथि दृष्टि दिइरहन्थ्यो ।
गद्दार ताई युको कारण उनी एक दिन गिरफ्तार भइन् । गिरफ्तारीको यो षड्यन्त्रमा त्यो बूढो अशिष्ट अधिकारी हु मेङ पनि सामेल थियो, जो उनीसँग विवाह गर्न चाहन्थ्यो । त्यो बूढाले ताओ–चिङलाई जमानतमा रिहा गरायो, किनकि ऊ उनलाई पैसाको लालच र धम्की देखाएर मनाउन चाहन्थ्यो । तर, ताओ–चिङले उसलाई दुत्कारिन् । हुले उनलाई धम्क्याउँदै तीन दिनको समय दियो र के भन्दै गयो भने यदि उनले त्यो समयसम्म उसको कुरा मानिनन् भने उनलाई कम्युनिस्ट गतिविधिहरूमा सामेल भएको आरोपमा फसाइदिनेछ । त्यसपछि ताओ–चिङ आफ्नी साथी सियाओ–येनका पिता प्रोफेसर वाङ हुङ यिनको सहयोगबाट तिङ–त्सिएन नामक स्थानमा गइन् । त्यहाँ प्रोफेसर वाङको सिफारिसमा एक प्राथमिक स्कूलमा उनलाई अध्यापिकाको जागिर मिल्यो । तिङ त्सियेनमा काम गर्दैगर्दा ताओ–चिङको एउटा कम्युनिस्ट कार्यकर्ता चियाङ हुआसँग भेट भयो । उसको सम्पर्कमा आएर ताओ–चिङले धेरै राजनीतिक जानकारी प्राप्त गरिन् र उनले श्रमिकहरूसँग भेटघाट बढाउने प्रेरणा प्राप्त गरिन् । चियाङ हुआले ताओ–चिङलाई व्यावहारिक काममा रुचि लिन र मजदुर–किसानहरूसँग घनिष्ठ सम्बन्ध बढाउन सल्लाह दिएर गयो ।
यही बिचमा गद्दार ताई युको षड्यन्त्रमा ताओ–चिङ पुनः गिरफ्तार हुन लागेकी थिइन् । तर आफ्नो एउटा विद्यार्थीले यसको सङ्केत दिएपछि उनले यो ठाउँ छोडिन् । उनी आफ्नो एक साथी सिऊ यीङको घरमा लुकिन् । यहीँ उनको एक अधवैँशे क्रान्तिकारी महिलासँग भेट भयो, जसको एकपटक चियाङ हुआले फुपू ली भनेर चर्चा गरेको थियो । फुपू ली पार्टी कार्यकर्ता थिइन् । उनको सहयोगले तथा पार्टी कार्यकर्ताको सल्लाहबाट ताओ–चिङले एउटा जमिनदार परिवारका बच्चाहरूलाई ट्युसन पढाउने काम पाइन् । पढाउने बहानामा केही आवश्यक सूचना सङ्कलन गर्नु र तिनीहरूलाई पार्टीमा सुम्पिनु उनको जिम्मेवारी थियो ।
जमिनदार परिवारमा काम गर्दै ताओ–चिङले एउटा घरेलु नोकर्नीसँग मिलजुल बढाइन् तथा उनको मद्दतबाट जमिनदारको छोरो सुङ यु पिनले तयार गरिराखेको कालो सूची प्राप्त गर्नमा सफल भइन्, जसमा तमाम कम्युनिस्ट क्रान्तिकारी र देशभक्तहरूका नाम थिए । सुङ यु–पिनले कोमिन्ताङ प्रतिक्रियावादीहरूसँग मिलेर सम्पूर्ण क्रान्तिकारी र देशभक्तहरूलाई पक्राउ गर्ने योजना बनाएको थियो । यसमा ताओ–चिङको नाम पनि थियो । त्यसपछि ताओ–चिङलाई त्यहाँबाट निक्लिएर भाग्नमा एकजना मजदुर चेङ तेह–फूबाट सहयोग प्राप्त भयो । ऊ पहिले ताओ–चिङको जमिनदार पिताको आसामी रहिसकेको खेत मजदुर थियो । तर, उसको जमिनदार पिताले यो मजदुरलाई बर्बाद बनाइदिएको थियो । उसले चेङकी पत्नीलाई बलात्कारको शिकार बनाएको थियो, जसको ग्लानी सहन नसकेर उनले आत्महत्या गरेकी थिइन् । त्यसपछि ऊ त्यहाँबाट भागेर यहाँ आएको थियो ।
पहिले त चेङ तेह–फुह ताओ–चिङलाई घृणा गर्दथ्यो तर पछि उसलाई उनको व्यक्तित्वको वास्तविकता थाहा भएपछि हृदयबाट नै उनलाई साथ दियो । ताओ–चिङमा पनि धेरै परिवर्तन भयो । अहिलेसम्म जमिनदारहरूप्रति उनको मनमा जुन घृणा थियो, त्यो व्यक्तिगत कारणले यो – उनको जमिनदार पिताले उनलाई अत्यन्तै घृणितरूपमा प्रताडित गरेको थियो । तर, खेत मजदुरसँग उसको पिताले गरेको शर्मनाक व्यवहारले उनलाई सम्पूर्ण जमिनदारवर्गको विरूद्ध घृणाले भरिदियो । अब उनले को मित्रवर्ग हो र को शत्रुवर्ग भन्ने कुरा स्पष्टरूपले बुझिसकेकी थिइन् ।
जमिनदारकोबाट भागेर ताओ–चिङ पुनः पेइपिङ आइन् र आफ्नी साथी सियाओ–येनसँग भेट गरिन् । ताओ–चिङसँग लगातार सम्पर्कको कारणले सियाओ–सेन हृदयदेखि नै क्रान्तिकारी विचारले लैस भइन् । यही बिचमा ताओ–चिङ फेरि गिरफ्तार भइन् । अशिष्ट बूढो निर्देशक हु मेङ–ऐन अझै उनको पछाडि लागेको थियो । जेलमा ताओ–चिङलाई यातना दिइयो । उनको नाकमा खुर्सानी पानी हालियो, उनको शरीरलाई तातो फलामको डण्डीले डामियो । उनी रगतले लत्पतिएर धेरै दिनसम्म बेहोस रहिन् तर पनि उनले कुनै पनि गोप्य कुरा खोलिनन् । जेलमा नै उनले क्रान्तिकारी सिद्धान्त र व्यवहारको धेरै शिक्षा लिइन् ।
चेङ चिङलाई मृत्युदण्ड दिएपछि ताओ–चिङ धेरै दुःखी भइन् तर त्यसपछि क्रान्तिकारी सङ्घर्ष र क्रान्तिकारी लक्ष्यमा उनको आस्था अझ बढ्यो । यसपछि उनी जेलभित्र कैदी साथीहरूको भोक हडतालमा सामेल भइन् । उनैको प्रभावबाट एक कैदी विद्यार्थी शु सिऊ पनि क्रान्तिकारी सङ्घर्षमा कन्भिन्स भइन् । केही पछि प्रोफेसर वाङले ताओ–चिङलाई जमानतमा रिहा गराइदियो । लाखौँ कोसिस गर्दा पनि जेलका अधिकारीहरूले ताओ–चिङको विरूद्धमा कुनै प्रमाण नपाएको कारणले उनको रिहाइ भएको थियो । जेलबाट छुटेपछि कम्युनिस्ट पार्टीले ताओ–चिङको सङ्कल्पबद्धता र क्रान्तिकारी सिद्धान्त तथा व्यवहारमा आस्था एवं सहभागितालाई देखेर उनलाई पार्टी सदस्यता दियो ।
ताओ–चिङको जीवनमा यो एक अविस्मपरणीय आनन्ददायी घटना थियो । उनलाई पार्टीको तर्फबाट एक महिला क्रान्तिकारी लिऊ यी–फेङसँग साहित्य–वितरण र जनसम्पर्कको काममा लगाइयो । यही बिचमा उनकी साथी सियाओ–येन गद्दार ताई युको पक्कडमा फसिसकेकी थिइन् । त्यो गद्दारले उनलाई यसरी गुमराहमा पारिदिएको थियो कि उनी ऊसँग विवाह गर्नसम्म तयार भएकी थिइन् । ताओ–चिङले उनलाई ताई यूको शङ्कास्पद चरित्रको बारेमा सतर्क पनि गरिन् तर उनले ताओ–चिङको कुरामा विश्वास गरिनन् । ताई यु धेरै चलाख थियो । उसले एकपटक चियाङ हुआलाई पनि फसाएको थियो तर ऊ आफ्नो कौशलबाट बचेर निक्लियो । उसले ताई युको पार्टीविरोधी गतिविधि र कोमिन्ताङसँग उसको साँठगाँठको सम्पूर्ण रिपोर्ट पार्टी कमिटीलाई दिएको थियो, जसको परिणामस्वरूप उसलाई पार्टी कमिटीबाट बाहिर निकालियो ।
यही बिचमा सियाओ–येनको पनि ताई युसँग मोहभङ्ग भयो । उनले एक दिन ताई युको गोजीबाट सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र देशभक्तहरूको नाम भएको कालो सूची प्राप्त गरिन् । त्यसपछि सियाओ– येनको पुनः ताओ–चिङसँग घनिष्ठ सम्बन्ध बढ्यो र उनी क्रान्तिकारी काममा जुटिन् । यता पार्टीबाट निष्कासित भएपछि ताई युले अन्तर्घातको काम गर्नसक्दैनथ्यो । अब ऊ कोमिन्ताङ प्रतिक्रियावादीहरूको कुनै कामको रहेन, त्यसकारण प्रतिक्रियावादीहरूले उसको हत्या गरिदिए ।
विद्यार्थीहरूको एक संयुक्त फेडेरेसन सङ्गठित गरी जापानी साम्राज्यवाद र प्रतिक्रियावादी कोमिन्ताङ सरकारको आत्मसमर्पणकारी एवम् अप्रतिरोध नीतिको विरोध गर्ने निर्णय कार्यमा चियाङ हुआ, ताओ–चिङ र सम्पूर्ण क्रान्तिकारी एवं प्रगतिशील युवा विद्यार्थीहरू एकजुट भए । प्रतिक्रियावादी तथा उनीहरूको सङ्गठनको विरूद्धमा व्यापक सङ्घर्ष भयो । ताओ–चिङ यसमा धेरैपटक अपमानित र प्रताडित पनि भइन् । तर, अब उनी पहिलेजस्ती थिइनन् र न उनी दुस्साहसवादी नै थिइन् । उनले एक क्रान्तिकारी विचारधाराको माध्यमबाट सङ्घर्षका सम्पूर्ण कठिनाइहरू झेल्दै लक्ष्यको दिशामा निरन्तर अघि बढिरहने मानसिक परिपक्वता हासिल गरिसकेकी थिइन् । अब उनमा पहिलेको जस्तो कोरा आदर्शवादी कल्पनाशीलता थिएन र उनमा निराश भएर दुस्साहसपूर्ण शहादतमा जीवनको सार्थकता खोज्ने उत्ताउलोपन पनि थिएन । क्रान्तिकारीकरणको आगोमा बलेर उनी धेरै निखारिएकी थिइन् । उनले सङ्घर्षको निर्ममतलाई बुझेकी थिइन् र ढुलमुलपन वा उदारतावादको दुर्बलताबाट छुटकारा पाइसकेकी थिइन् ।
यद्यपि, अझै पनि उनको मनमा सहिद लु चिआ–चुआनको एक आदर्श क्रान्तिकारी छवि बनेको थियो तर पनि उनको क्रान्तिकारीकरणको व्यावहारिक अग्निदीक्षामा चियाङ हुआको अविस्मरणीय योगदान थियो । त्यसकारण, एक दिन चिआङ हुआले उनीसमक्ष आफ्नो हार्दिक प्रेमको प्रस्ताव राखेपछि उनले आफूलाई अत्यन्त सम्मानित महसुस गरिन् । तर, लु चिआ–चुआनको स्मरण एक वेदना बनेर उनको मनमा आएको थियो, जसको थोरै पनि पीडा चिआङ हुआलाई थिएन ।
जे भए पनि यी क्रान्तिकारी युवाहरू पेचिङ विश्वविद्यालय र अन्य विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरूको संयुक्त फेडेरेसन बनाउनमा सफल भए । त्यसको नेतृत्व उनको हातमा आयो । सेप्टेम्बर ९, १९३५ मा यो फेडेरेसनको आव्हानमा विद्यार्थीहरूले आम हडताल गरे, प्रदर्शन गरे, नाराबाजी गरे र सशस्त्र पुलिस तथा सेनाको विरूद्धमा जमेर सङ्घर्ष गरे । यस क्रममा धेरै हताहत र गिरफ्तार भए ।
एकातिर माओ त्सेतुङको नेतृत्वमा लालसेनाले जापानी साम्राज्यवादी र कोमिन्ताङ प्रतिक्रियावादीहरूसँग सङ्घर्ष गर्दै निरन्तर अगाडि बढिरहेका थिए भने अर्कोतिर युवा–विद्यार्थीहरूको वैचारिक आन्दोलन र जनसङ्घर्ष आम जनतालाई जागृत गर्दै व्यापक जनाधार तयार गर्ने दिशामा निरन्तर अगाडि बढिरहेको थियो । सिद्धान्त र व्यवहार, वैचारिक सङ्घर्ष र सशस्त्र सङ्घर्षको यो परस्पर तालमेलले क्रान्तिकारी सङ्घर्षलाई क्रमशः उद्देश्यतिर बढाइरहेको थियो । युवाहरूले साम्राज्यवादी शत्रुहरूलाई ध्वस्त बनाउन र युगौँदेखि दबदबा कायम गरेर रहेको सामन्ती कचेरालाई फ्याँकी एक नयाँ समाजको रचनाको जुन गीत गुन्जाए, त्यसको प्रस्थानमा केवल अहिलेसम्म तटस्थ रहेका पढैया विद्यार्थीमात्र सामेल भएनन्, बरू बुजुर्ग प्रोफेसरसम्म पनि आफ्नो मध्यमवर्गीय जडतालाई तोडेर सडकमा उत्रिए ।
डिसेम्बर १६, १९३५ को विशाल प्रदर्शन कुन अर्थमा अभूतपूर्व थियो भने त्यसमा प्रोफेसर वाङ जस्ता बुजुर्ग अध्यापक पनि आफ्नी बूढी पत्नी र अन्य साथीहरूसँगै प्रदर्शनमा सामेल भए, नारा लगाए र पुलिसका डण्डा खाए । उनीहरूले आफ्नो जीवनलाई पहिलोपटक सार्थक भएको ठाने । यहाँ सियाओ–येनका पिता प्रोफेसर र उसकी आमा अर्थात् श्रीमती वाङको बिचमा प्रदर्शनमा सामेल हुनुपूर्व भएको वार्ता खासगरी कुनै पनि बुद्धिजीवी अध्यापकको लागि प्रेरणादायी छ । युवा जोशले भरिएर प्रोफेसर प्रदर्शनमा जानको लागि उठेपछि उसकी पत्नीले चिन्तित भएर भनिन्, हुङ सोच्नुहोस् त म करिब पचास वर्षकी भएँ र सियाओ–येनका बहिनी अझै साना छन् । यदि तपाईँ बाहिर गएर केही भयो भने के गर्नु ? त्यसपछि प्रोफेसरले हप्काउँदै भन्यो, यदि कसैले यो खतरा उठाउने हिम्मत गरेन भने यो संसार छिट्टै खत्तम हुन्छ । यसपछि श्रीमती वाङ पनि प्रोफेसरसँगै जान तयार भइन् ।
यसरी १६ डिसेम्बरमा भएको यो ऐतिहासिक प्रदर्शनको दिशा र लक्ष्य प्राप्तिको लागि समर्पित सङ्घर्षमा बुद्धिजीवीहरू र खासगरी युवा–विद्यार्थीहरूको भूमिकालाई रेखाङ्कित गरेपछि याङ मोको यो भव्य उपन्यास सकिन्छ । जिन्दगी अगाडि बढिरहन्छ, गाइरहन्छ र लडिरहन्छ । यो उपन्यास चिनियाँ सामाजिक पृष्ठभूमिमा लेखिएको भए पनि यसले संसारका क्रान्तिकारी बुद्धिजीवी र विद्यार्थीहरूलाई सामाजिक सङ्घर्षमा आफ्नो भूमिका निर्वाह गर्नको लागि महत्वपूर्ण मार्गदर्शनको काम गरेको देखिन्छ ।
समाप्त