एकथरी डिसेम्बरवादीहरू संवैधानिक राजतन्त्रका पक्षधर थिए । तिनका नेता निकिता मुराभ्योभ र सेर्गेइ त्रुबेत्स्कोइ थिए । अर्काथरी डिसेम्बरवादीहरू गणतन्त्र स्थापना गर्न चाहन्थे । पाभेल तनोभिच पेस्तेल गणतन्त्रवादी धारका वैचारिक नेता थिए ।
बालापन
पाभेल पेस्तेलको जन्म १७९३ जुलाई २५ (जुलाई १३) का दिन सेन्ट पिटर्सबर्गमा भएको थियो । १८ औँ शताब्दीको सुरुमा रूसमा युरोपेली ज्ञान र प्रविधि भित्याउन रूसी साम्राज्यका पहिलो सम्राट पिटर महानले नयाँ राजधानी पिटर्सबर्ग सहरको बाहिरी भागमा विदेशीहरूको बस्ती बसालेका थिए । अवसरको खोजीमा रूस भित्रिएका फ्रान्सेली, जर्मन, डचलगायत विदेशी पाहुनाहरूलाई त्यो बस्तीमा राखिन्थ्यो । पाभेलको जन्म त्यस्तै जर्मन आप्रवासी परिवारमा भएको थियो ।
पाभेलका जिजुबुबाको पालादेखि नै पेस्तेल परिवारले दरबारको विश्वास जितेर महत्वपूर्ण पदहरू सम्हालेको थियो । पाभेलका हजुरबुबा साम्राज्ञी एलिजाबेथको पालामा पिटर्सबर्गको हुलाक सेवाका हाकिम थिए । हुलाकको हाकिमको मुख्य काम निजी पत्रहरू खोलेर राज्यविरोधी सूचना भए नभएको हेर्नु थियो । पाभेलका पिता तन पेस्तेल पनि २४ वर्षको कलिलो उमेरमै साम्राज्ञी क्याथरिनको नियुक्तिमा मस्को क्षेत्रको हुलाक हाकिम भए । पछि सन् १८०६ मा तन विशाल साइबेरिया क्षेत्रको गभर्नर नियुक्त भए । त्यहाँ उनले १५ वर्ष काम गरे । तन पेस्तेल तत्कालीन भ्रष्ट रूसी प्रशासनमा भ्रष्टाचार नगर्ने, अकुत सम्पत्ति नजोड्ने इमानदार प्रशासक थिए । उच्च पदमा रहनुको एउटै सुख धेरैभन्दा धेरै मानिसलाई खुसी बनाउने क्षमता हुनु हो भनी उनी आफ्ना छोराहरूलाई सम्झाउँथे । पाभेलकी आमा एलिजावेता तनोमा शिक्षित र सुसंस्कृत जर्मन परिवारमा हुर्केकी थिइन् ।
शिक्षा र सेना
पाभेलको प्रारम्भिक शिक्षा उनको पुख्र्यौली थलो ड्रेसडेन सहरमा भएको थियो । उनले त्यहीको एक प्राथमिक पाठशालामा सन् १८०५ देखि १८०९ सम्म शिक्षा लिएका थिए । यो सहर हाल जर्मनीको साक्सोनी प्रान्तमा पर्छ । त्यसबेला जर्मनी धेरै भुरेटाकुरे राज्यमा बाँडिएको थियो । साक्सोनी नेपोलियनको प्रभावमा रहेको जर्मन राज्य थियो । सन् १८०९ पछि नेपोलियन र रूसी जारको सम्बन्ध बिस्तारै बिग्रिन थाल्यो । युरोपका विभिन्न सहरमा पढिरहेका पाभेलजस्ता धेरै रूसी विद्यार्थीलाई रूस फर्काइयो र रूसकै विभिन्न विद्यालयमा भर्ना गरियो । यही क्रममा सन् १८१० मा पाभेल पिटर्सबर्गको सैनिक विद्यालयमा भर्ना भए । सो विद्यालय रूसी कुलीन वर्ग र उच्चाधिकारीका छोराछोरीलाई सैनिक अफिसरको तालिम दिन खोलिएको थियो । पिटर्सबर्ग फर्किँदा पाभेल १७ वर्षका थिए ।
सैनिक विद्यालयमा पाभेल र उनका सहपाठीहरूलाई एक जर्मन गुरूले राजनीतिशास्त्र पढाउँथे । तिनै गुरूले पाभेल र उनका साथीहरूलाई फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनसँग परिचित गराए । अभागी जनताको जीवन सुधार्नु नै शिक्षाको उद्देश्य हुनुपर्छ भन्ने विचारमा पाभेलका पिता दृढ थिए । आफ्ना देशवासीको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै जीवनको उद्देश्य बन्नुपर्छ भनी उनी छोराहरूलाई सम्झाउँथे । पाभेलको घरमा उनका पिताले सङ्ग्रह गरेका पुस्तकहरूको सानो पुस्तकालय थियो । पाभेल मिहिनेती विद्यार्थी थिए । घरको पुस्तकालयबाट पाभेलले ज्ञानको युग (इनलाइटनमेन्ट) का विचारकहरू तथा फ्रान्सेली र अमेरिकी क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका विद्वान्हरूका पुस्तक अध्ययन गर्ने अवसर पाए । उनले जोन लक, मन्टेस्क्यु, रूसो, एडम स्मीथ, जेरेमी बेन्थम, थोमस जेफर्सन, भोल्टायर, मर्मोन्टेल, थोमस पेन, सेन्ट साइमन, आइज्याक न्युटनजस्ता विचारकका पुस्तक पढे । यिनै पुस्तक उनको दृष्टिकोण निर्माणका आधार बने ।
सन् १८१२ गर्मीमा बेलायतलाई आर्थिक नाकाबन्दी गर्न नसघाएको निहुँमा नेपोलियनले रूसविरुद्ध युद्धघोष गरे । देश रक्षाको लडाइँमा होमिन पाभेलजस्ता धेरै रूसी युवाहरू कलिलो उमेरमै सेनामा भर्ती भए । सन् १८१३ मा साक्सोनीको लाइपजिग सहरमा भिषण युद्ध भयो । त्यसमा पाभेल घाइते भए । तैपनि, नेपोलियनको सेनासँग भिड्दै पाभेल आफ्नो पल्टनसँगै फ्रान्स पुगे । युद्धमा देखाएको वीरताको निम्ति उनले ‘सुनौलो तरबार’ प्राप्त गरे । नेपोलियनलाई रूसबाट धपाउने प्रसिद्ध रूसी जर्नेल कुतुजोभ आफैले पाभेललाई त्यो सम्मान प्रदान गरेका थिए । युद्धवीरको रूपमा पाभेल सन् १८१५ मा रूस फर्के ।
उदार राजनीतिक व्यवस्था र स्वतन्त्र जीवनशैली भएको पश्चिम युरोपको केही वर्षको बसाइले पेस्तेलको मनमा गहिरो छाप पारेको थियो । रूसमा त्यस्तै परिवर्तन ल्याउन केही गर्नुपर्ने अठोटसहित रूस फर्केका धेरै युवामध्ये पाभेल पनि एक थिए ।
गुप्त समाज
नेपोलियनविरोधी गठबन्धनमा रूसी सेनासँगै प्रसिया र अस्ट्रियाजस्ता देशका सेना थिए । अन्य देशका पल्टनहरूमा रात्रिभोजको बेला अफिसरहरूले छलफल गर्ने ‘डाइनिङ क्लव’ को चलन थियो । युद्धपछि रूसी सेनाका अफिसरहरूले त्यसकै सिको गरे । तिनै ‘क्लव’ हरू रूसी अफिसरहरूको निम्ति राजनीतिक र सामाजिक सुधारबारे छलफल गर्ने मञ्च बने । यिनै मञ्चबाट गुप्त समाजहरूको स्थापना हुन थाले ।
मिखाइल नोभिकोभ गणतन्त्रवादी अफिसर थिए । उनैले सन् १८१६ मा पाभेललाई मुक्ति सङ्घको सदस्यता दिए । मुक्ति सङ्घको मूल नेतृत्व राजतन्त्रवादी थियो । मुक्ति सङ्घ केही वर्षपछि समृद्धि सङ्घमा फेरियो ।
रूस फर्केको केही समयपछि पाभेल कर्नेल पदमा बढुवा भए । कर्नेल पाभेललाई दक्षिणको तुलचिन सहरमा खटाइयो । कर्नेलमा बढुवा भएपछि उनले लेखपढ गर्न र अफिसरहरूसँग घुलमिल हुन बढी समय पाए । सन् १८१८ मा तुलचिन सहरमा उनले समृद्धि सङ्घको नयाँ शाखा स्थापना गरे । उनले सङ्गठनलाई धेरै नयाँ सैनिक अफिसरहरूबिच विस्तार गरे । उनी गुप्त समाजको तुल्चिन शाखा प्रमुख बने ।
पाभेल पेस्तेल मूलतः गणतन्त्रवादी थिए । गुप्त समाजमा सहभागी भएको केही समयपछि नै उनले संवैधानिक राजतन्त्रको सान्दर्भिकतामाथि प्रश्न उठाएका थिए । नेपोलियनको हारपछि प्रतिक्रियावादी गठबन्धनको नाइके भएर युरोपका प्रगतिशील आन्दोलनहरू दबाउन विभिन्न देशमा सेना पठाउने रूसका राजा संविधानको दायरामा बाँधिन तयार होलान् भन्ने उनलाई पटक्कै विश्वास थिएन । गुप्त समाजको मूल नेतृत्वले उनको विचारलाई उग्रवादी भनी पन्छाउन खोज्थ्यो । साध्यमा एकमत भए पनि साधनमा सहमति नहुँदा गुप्त समाजमा विभाजन निम्तियो । पाभेलको नेतृत्वमा दक्षिण रूसका क्रान्तिकारीहरूले आफ्नो अलग गतिविधि अगाडि बढाए ।
सन् १८२१ मा पाभेलले भावी रूसी गणतन्त्रको निम्ति नयाँ संविधानको खेस्रा गर्न थाले । ‘रूस्काया प्राभ्दा’ (रूसी सत्य) नामक उनको संविधानको अन्तिम खेस्रा सन् १८२४ मा पूरा भयो । त्यसमा राज्यको पुनःसंरचना गर्ने, नयाँ संविधान जारी गर्ने, राजधानी सार्नेदेखि २० वर्षका हरेक लोग्नेमान्छेलाई राजनीतिक र सामाजिक स्वतन्त्रता दिने, भूदास प्रथा उन्मूलन गर्ने, किसानलाई जमिन बाँड्नेजस्ता अनेक प्रावधान राखिएका थिए ।
रूसको तत्कालीन राजधानी पिटर्सबर्ग भौगोलिकरूपमा युरोपेली रूसको उत्तरमा पथ्र्याे । युरोपेली रूस र एसियाली रूसको सन्तुलित विकास गर्न, राजधानीमा उत्तर र दक्षिणको समान पहुँच बढाउन र भित्री रूसमा उद्योग–व्यापारलाई विकास गर्न भोल्गा नदी किनारको निझ्नी नोभोग्राद सहरलाई रूसी गणतन्त्रको राजधानी बनाउनुपर्ने उनको प्रस्ताव थियो । राजधानी सहरलाई कुनै पनि प्रान्तअन्तर्गत नराखी केन्द्रअन्तर्गत विशेष सहर बनाउने उनको प्रस्ताव थियो । उक्त संविधानमा जम्मा दसवटा प्रान्तसहित बलियो केन्द्र भएको बहुजातीय रूसी गणतन्त्रको प्रस्ताव गरिएको थियो ।
रूसी साम्राज्यअन्तर्गतका सबै मानिसहरू जात र वर्गको विभेदबिना कानुनका आँखामा सबै समान हुनुपर्छ भन्ने उनको मान्यता थियो । उनी कुलीनहरूका सबै विशेषाधिकारहरू खारेज हुनुपर्छ भन्ने मान्यता राख्थे । अन्य डिसेम्बरवादीहरूजस्तै पाभेल पनि रूसको अमानवीय भूदास प्रथाका विरोधी थिए । उनले आफ्नो परिवारका भूदासहरूलाई मुक्त गर्ने प्रयास गरेका थिए । तर, उनको परिवारका भूदासहरूकी कानुनी मालिक उनकी आमा थिइन् । आमालाई मनाउन नसक्दा पाभेल सफल भएनन् । कुलीनहरूको जग्गा राज्यले कब्जा गरेर आधा भूदासहरूलाई वितरण गर्नुपर्छ र आधा राज्यको स्वामित्वमा रहनुपर्छ भन्ने उनको मान्यता थियो ।
अनुपस्थित विद्रोही
योजनाबद्ध सैनिक विद्रोहबाट मात्र जारशाहीलाई फाल्न सकिन्छ भन्नेमा पाभेल स्पष्ट थिए । आवश्यक परे राजपरिवारका सम्पूर्ण सदस्यहरूको हत्या गरेर रूसी गणतन्त्रको निम्ति बाटो सफा गर्नुपर्छ भन्ने उनको मत थियो । उनी भन्थे, “हरेक युगको आफ्नो विशेषता हुन्छ । यो युग क्रान्ति र क्रान्तिकारी विचारको युग हो । रूसदेखि पोर्चुगलसम्म, बेलायतदेखि टर्कीसम्म, सम्पूर्ण अमेरिका, सबै ठाउँमा परिवर्तनको नयाँ उभार आइरहेको छ ।”
दक्षिणमा तैनाथ रूसी पल्टनका युवा अफिसरहरूमा गुप्त समाजको बलियो प्रभाव थियो । उनीहरू स्वतन्त्रता र विद्रोहको निम्ति आतुर थिए । वैचारिक बेमेल रहे पनि जारविरोधी लडाइँमा सबै क्रान्तिकारी एक हुनुपर्छ भन्नेमा गुप्त समाजका सबै सदस्य सहमत थिए । विद्रोहको संयुक्त आह्वान गर्ने उद्देश्यले सन् १८२५ को सुरुमा पाभेल उत्तरी समाजको नेतृत्वसँग छलफल गर्न पिटर्सबर्ग पुगे । स्थापनाकालदेखि नै गुप्त समाजमा विद्रोहको उपयुक्त समयबारे बरोबर छलफल भइरहन्थ्यो । सुरुका वर्षहरूमा जार अलेक्सान्दरको मृत्यु भएर अर्को जार घोषणा हुनु अगाडिको अन्योलमा विद्रोह गर्ने निर्णय गरिएको थियो । अन्ततः गुप्त समाज सुरु भएको एक दशकपछि सन् १८२५ को संयुक्त बैठकले सन् १८२६ को गर्मीमा सैनिक अवलोकनको निम्ति जार दक्षिण भ्रमण आउँदा उनको हत्या गरेर विद्रोह सुरु गर्ने दुई गुप्त समाजबिच सहमति बन्यो ।
सन् १८२५ मै पाभेलले नै सदस्य बनाएका गुप्त समाजका एक सदस्यले प्रशासनसामु षड्यन्त्रको भेद खोलिदिए । सैनिक खर्चमा गरेको भ्रष्टाचारका कारण कर्नेल पाभेल पेस्तेलको कारबाहीमा परिने डरले उनले गुप्त समाजलाई धोका दिएका थिए । षड्यन्त्रको रिपोर्ट पिटर्सबर्ग पुग्दासम्ममा जार अलेक्सान्दरको मृत्यु भइसकेको थियो । जारको मृत्युले विद्रोहको योजनामा अन्योल थपियो । उत्तरी गुप्त समाजले १८२५ डिसेम्बर २६ (१४) का दिन विद्रोह गर्ने तयारी गयो । तर, दक्षिणी समाजका नेता पाभेल पेस्तेल नै त्यस निर्णयबारे बेखबर थिए । साथीको विश्वासघातका कारण उनी पिटर्सबर्गमा विद्रोह हुनुभन्दा एकदिन अगाडि डिसेम्बर २५ (१३) मा समातिए । जनवरी १५ (३) मा पाभेललाई राजधानीको ‘पिटर–पाउल किल्ला’ पु¥याइँदासम्ममा गुप्त समाजका अधिकांश सदस्य पक्राउ परिसकेका थिए । समातिएको ६ महिना २० दिनपछि पाभेललगायत पाँचजना डिसेम्बरवादी नेताहरूलाई फाँसीको सजाय दिइयो । अरूलाई साइबेरियाको आजीवन निर्वासनमा पठाइयो ।
पाभेल पेस्तेलमाथि जारको हत्या गर्ने योजना बनाएको, सैनिक विद्रोहको तयारी गरेको आरोपमा मुद्दा चलाइएको थियो । फाँसीको सजाय पाउने पाँचजनामध्ये पाभेल मात्रै डिसेम्बर विद्रोहमा प्रत्यक्षरूपमा सहभागी नभएका नेता थिए । उनलाई जारको तानाशाहीविरुद्ध क्रान्तिकारी विचार बोकेको कसुरमा फाँसी दिइएको थियो ।
अनलाइन मजदुरबाट