#का. रोहित
पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sept. – 12 Oct., 1991)
नाम्पो नगरपालिकाको स्वागत समारोह (१७ असोज, २०४८/3 Oct.,1991)
यस दिन कोरिया एकीकरण पदयात्राबारे प्रेस सम्मेलन थियो । त्यसमा अन्तर्राष्ट्रिय एकीकरण समितिका पदाधिकारीहरू र अन्य विदेशी प्रतिनिधिमण्डलका प्रमुख व्यक्तिहरूले भाग लिए ।
हामी नेपाली प्रतिनिधिहरू प्योङयाङबाट दिउँसो २ बजे नाम्पो भन्ने सहरतिर लाग्यौँ । नाम्पो सहरमा हामी ३ बजे पुग्यौं । नाम्पो पनि सारियोन र कैसोङजस्तै फराकिला राम्रा सडक र भवनहरू भएको आधुनिक सहर हो । शिक्षा, स्वास्थ्य, खेलकुद, साना–ठुला उद्योग आदि क्षेत्रमा राम्रो बन्दोबस्त सबैजसो सहरमा देखेँ । सरसफाइमा कोरियाली नगरहरू सा¥है अगाडि देखेँ र प्रदूषणको हिसाबले कोरियाली नगरहरूलाई आदर्श नगर भन्न सकिन्छ । कलकत्ता, बम्बई, दिल्ली, बनारस, पटना, कराँची, बैङ्कक आदि एसियाका मैले डुलेको नगरहरूको तुलनामा कोरियाली सहरहरू धेरै सफा र प्रदूषणमुक्त छन् ।
राजधानी प्योङयाङको ५५ किलोमिटर पश्चिम समुद्र किनारस्थित नाम्पो एक बन्दरगाह सहर हो । पश्चिमी कोरियाली समुद्र किनारमा रहेको नाम्पो सहरलाई प्योङयाङको पश्चिमी ढोका पनि भन्ने चलन छ । राजधानीको तायडोङ नदीको किनारै किनारा पश्चिमतिर लाग्दा नाम्पो पुगिन्छ ।
कोगुरो राजामहाराजाहरूको ऐतिहासिक स्मारक र चिहानहरू भएको यो क्षेत्र इस्पात, ठुल–ठुला यन्त्रहरू (भारी मेसिन), बिजुलीका सामानहरू बनाउने कारखानाहरूले भरिएका छन् । रङ्गशाला, विविध खेलकुदका भवनहरू, पौडी खेल्ने आधुनिक पोखरीहरू आदि सुविधाहरू भएको यो क्षेत्र वास्तवमा कोरियाका खेलकुदका केन्द्रहरूमध्ये एक रहेछ ।
नाम्पोको ठीक १५ किलोमिटर पश्चिममा प्रजग कोरियाको एक गौरवशाली रचनात्मक उपलब्धि पश्चिमी समुद्री बाँध अवस्थित छ ।
दृश्यावलोकनपछि हामी एउटा सभा भवनमा गयौँ । स्वाभाविकरूपले कोरियाका सभा भवनहरू ठुलठुला र भव्य छन् । एकीकरण पदयात्राका सहभागीहरूलाई नाम्पो नगरपालिकाले स्वागत अभिवादन गर्न एक समारोहको आयोजना गरेको थियो । त्यस समारोहमा मैले पनि नाम्पोका नागरिकहरूलाई सम्बोधन गर्ने अवसर पाएँ ।
स्वागत समारोहपछि हामी रात्रिभोजमा भाग लिन गयौँ । साँझ ७ बजिसकेको थियो । भोजमा अर्थात् कोरियाली खानामा समुद्रमा पाइने माछा मासुको परिकार जरुरै हुन्थ्यो भने पनि हुन्छ । गङ्गटो, साख्ला वा तिलौरी, योमरी आदि अन्य देशका होटलहरूमा नपाइने परिकारहरू हामीले पायौँ ।
होटेलको बन्दोबस्तमा कुनै प्रकारको कमी र अप्ठेरो महसुस भएन, तर निश्चय पनि हरेक होटलका आफ्नै विशेषताहरू हुन्थे ।
पश्चिमी समुद्रको बाँध (१८ असोज, २०४८/ Oct., 1991)
बिहान ८ बजे हामी पश्चिमी समुद्री बाँध हेर्न गयौँ । नेपालजस्तो भूपरिवेष्ठित देशका जनतालाई समुद्र र समुद्र किनार भनेपछि मनमा एउटा सन्तोष र पीडाको मिश्रित भाव उत्पन्न हुनु स्वाभाविक नै थियो । साथै समुद्र, त्यसको छाल र त्यसबाट हुने क्षतिबारे भने ज्ञान नहुनु पनि स्वाभाविक हो । तर, कोरियाली जनताका महान् नेता का. किम इल सङको नेतृत्वमा कोरियाली जनसेना र जनता मिलेर समुद्रका डरलाग्दा छालहरूसँग जुझ्दै साँच्चै भनूँ भने समुद्री राक्षसलाई बाँधेर अर्थात् त्यसबाट हुने क्षतिलाई पराजित गरेर जनतालाई मुक्त गरे र सुखी जीवनको निम्ति आवश्यक सहुलियतहरू प्रदान गरे ।
पश्चिमी समुद्रको बाँधको उँचो धरहरामा पुगेर हेर्दा साधारण र रमणीय ठाउँको जस्तो मात्रै लाग्दथ्यो । तर, भित्र भिडियोद्वारा त्यस निर्माण कार्यको मेहनत, खतरा, बन्नुभन्दा पहिले त्यस ठाउँको दृश्य, त्यसबाट देश र जनतालाई हुने फाइदा हेरेपछि र बुझेपछि त्यसको महत्वलाई बुझ्न पाउँदा खुसी लाग्यो ।
दुई प्रान्तलाई पुलले जोड्ने, रेल र मोटरको बाटोबाट आवतजावत हुने, समुद्रको नुनिलो पानीलाई रोक्ने, तायडोङ नदीको बाढीलाई रोक्ने र अञ्चललाई सिँचाइ गर्न र जल यातायात तथा अन्य उत्पादन कार्यलाई समेत सहयोग पुग्ने त्यस योजनाको बहुउद्देस्यीय कार्य साँच्चै महत्वपूर्ण कुरा थियो । यी सबै कुरालाई दिवाभोजमा का. किम इल सङले सारमा भन्नुभएको मैले बुझेँ ।
१९८१ मई महिनामा यसको निर्माण सुरु भएको थियो र १९८६ मा पूरा भयो । पाँच वर्षको युद्धस्तरीय कार्यमा १ करोड ५० लाख क्युविक मिटर माटो पन्छायो भने १ करोड ६० लाख क्युविक मिटर ढुङ्गा र गेगर ओसारियो । ४५० किलोमिटर लामो तायडोड नदी यही आएर मिल्छ । त्यस नदीको मुख ८ किलोमिटर चौडा छ, दर्जनौँ मिटर गहिरो छ । यसमा जम्मा सरकारले ४ अर्ब वन अर्थात् २ अर्ब डलर (करिब १ खर्ब ने.रु.) खर्च ग¥यो । त्यसको डिजाइन (खाका) प्रविधि, सामान र कोसिस सबै कोरियाली जनताकै रहेछ । त्यसले कोरियाली जनताको आर्थिक र सांस्कृतिक जीवनमा ठुलो परिवर्तन ल्याउन मद्दत गर्यो ।
१३२ किलोमिटर लामो त्यस बाँधले तायडोङ नदीमा समुद्री छालको कारण नुनिलो पार्ने जग्गा सुरक्षित भयो, दसौँ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्यो, दुई प्रान्तको बिचमा पुल, रेल, मोटर सडक र पैदल हिँड्ने पेटी बन्यो, उद्योग र खानेपानीको त्यस क्षेत्रमा दुःख भएन, उद्योग र कृषिक्षेत्रलाई त्यस नहरले जोड्यो, सामान बोक्ने जहाज तायडोङ नदीसम्म पुग्न सकिने भयो । विभिन्न किसिमका मत्स्यपालनमा तायडोङ नदी र बाँधले बनेका अन्य तालहरूलाई मनग्य सहयोग पु¥यायो ।
यी सबै कुरालाई ध्यानमा राखेर २२ मई १९८६ मा का. किम इल सङले लेख्नुभएको थियो, “आत्मनिर्भरता र उत्साहको क्रान्तिकारी भावनाबाट हाम्रा जनताले बनाएको पश्चिमी समुद्री बाँध एक ठुलो निर्माण कार्य हो । यस बाँधको निर्माताहरूलाई गौरव प्राप्त छ ।”
राष्ट्रपति किम इल सङले २४ जून १९८६ को दिन रातो फित्ता काटेर पश्चिमी समुद्री बाँधको निर्माणको पूर्णताको घोषणा गर्नुभयो र कोरियाली मजदुर पार्टी र जनताको रचनात्मक शक्ति र लगनशीलताको एक नमुना प्रस्तुत गरिदिनुभयो ।
यसरी नै विश्वको दोस्रो जलसम्पदामा धनी भएको हाम्रो देश नेपालले हाम्रा नदीनालाहरूलाई ठाउँ ठाउँमा बाँध बनाएर नहर, बिजुली, यातायात, उद्योग, खानेपानी र मत्स्यपालन आदि कार्यमा लगाउन सक्यो भने हाम्रो मातृभूमिले आत्मनिर्भरता र गौरवको सास फेर्न सक्ने थियो । एक वर्षको ठुलो लगानीले समेत ५ वर्षको बाढी, पहिरो, सुख्खा र अभावबाट हुने क्षतिलाई बचाउन सकिन्थ्यो । एक वर्षको लगानी अर्को वर्षको उत्पादन वृद्धि, क्षतिबाट हुने बचाउ र अन्य फाइदा स्वयं नाफामा परिणत हुने थियो ।
वनसानमा
पश्चिमी समुद्री बाँध हेरिसकेपछि हामी वनसान भन्ने समुद्र किनारमा पुग्यौँ । १० बजेको थियो । नाचगान र मनोरञ्जनका कार्यक्रमहरू राखिएको थियो । आँखामा पट्टि बाँधेर घैँटो फुटाल्ने, तीनखुट्टे दौडजस्ता विभिन्न किसिमका खेलहरूमा विभिन्न देशका सहभागी र कोरियाली मित्रहरूले भाग लिएका थिए ।
ती खेलबाट मैले आफ्नो विद्यार्थी जीवनलाई सम्झेँ । कोरियाली युगल नाचमा ताल र सुर नबुझेर मुख रातो भएको अनुभव भयो । बालुवै बालुवा मात्रै भएको समुद्री किनारमा यसप्रकारको समारोहमा मैले पहिलोचोटि भाग लिएको थिएँ ।
ती मनोरञ्जनका कार्यक्रममा भाग लिएका सहभागीहरूलाई नाम्पोका अधिकारी मित्रहरूबाट अनेक उपहारहरू प्रदान गरियो । त्यसमा मैले काठको एउटा लाटोकोसेरो, काठकै सानो भालु र काँचको सानो लाम्चो फूलदान उपहार पाएँ, जुन हाम्रो पार्टी अफिसको दराजमा सजाइएका छन् ।
१२ बजेतिर मनोरञ्जनको कार्यक्रम समाप्त भयो । हामी फेरि नाम्पो होटलमा गयाँै र गँगटो, ठूलो शङ्ख, सानो योमरीजस्ता परिकारहरू भएको खाना आश्चर्य मान्दै खायौँ ।
३ बजेतिर हामी प्योङयाङतिर लाग्यौँ । सफा र फराकिला सडकहरू नाघ्दै, खेत र खलिहान हेर्दै ५ः३० बजे कोरियो होटल पुग्यौँ । रात्रिको खानापछि घरमा फोन गरेँ – कस्तो स्पष्ट, काठमाडौँबाट भक्तपुरमा फोन गरेजस्तै ।
कुम्गाङ पहाडतिर (१९ असोज, ०४८/5 Oct. 1991)
शनिबारको दिन बिहान ७ बजेतिरै हामीले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य या नेपाली काङ्ग्रेसका प्रतिनिधि भीमबहादुर तामाङलाई नेपालको निम्ति बिदा गर्यौँ । मिलनसार, मृदुभाषी र सरल स्वभावका तामाङजी साँच्चै नबिझ्ने खालको पाएँ । उहाँसँग हाम्रो नौलो परिचय थियो । कम बोल्ने तर मनको पक्का मानिस हुनुहुँदो रहेछ । सँगै आएको हुँदा उहाँलाई एक्लै बिदा गर्दा मलाई सा¥है नमीठो अनुभव भयो ।
त्यसपछि कार्यक्रमअनुसार हाम्रो बस प्योङयाङबाट पूर्व हिँड्यो – लामा लामा सुरुङ सडकहरू छिचोल्दै । १२ः१५ बजेतिर हामी २०० किलोमिटर पूर्वको वनसान भन्ने कोरियाली पूर्वी समुद्र किनारको बन्दरगाह सहरमा पुग्यौँ । बिचमा हामीले कोमुनमोरो भन्ने एक पहाडको काखमा आराम गर्यौँ । भनिन्छ, त्यहाँ १० लाख पुरानो प्राचीन युगका अवशेषहरू छन् । आराम गृहको अगाडि एउटा ताल छ– बडो रमणीय । सिनपाओङ आराम गृहमा चियापान गर्यौँ र त्यहाँ ठुलो सीसाको भाँडोमा ठुलो सर्प राखिएको रक्सी देख्यौँ । केही विदेशी मित्रहरूले त्यो रक्सी खाए । अलि गन्हाउने तर शरीरलाई ताजगी दिने भनियो । रक्सीका अनेक कथाहरू सुनेको छु तर सर्पको पनि रक्सी हुन्छ भन्ने कुरा कोरियामै पहिलोपल्ट सुनेँ ।
हामीले वनसानको कुम्गाङ भन्ने होटलमा खाना खायौँ । समुद्र किनारको त्यो होटल सा¥है भव्य थियो । त्यस क्षेत्रमा होटलै होटल थिए । सिँगारिएको यस सहरलाई हेर्दा कोरियाले अब छिट्टै पर्यटन उद्योगको ढोका खोल्दै छ कि भन्ने लाग्दथ्यो । पहिलोचोटि त्यहाँ मैले ढुङ्गामा मासु पोलेर खाएँ, साथमा च्याउ, निउरो आदि साग थियो । खाना खाइसकेपछि हाम्रो बस सिधै दक्षिणतिर गयो ।
१०८ किलोमिटर समुद्र किनारै किनार जाँदा बिचमा फेरि एक आराम गृहमा बस्यौँ । बडो आश्चर्य लाग्यो, काँचो हलुवाबेद दिए एकजना कोरियाली मित्रले । तीतो र टर्रो हुने काँचो हलुवाबेद किन दिइन्छ भन्ने मनमा लाग्यो र मैले त्यसलाई रिकापीमै राखेँ । तर, अरु नेपाली साथीहरूले कपाकप खान थालेपछि मलाई अचम्म लाग्यो । मैले पनि खाएर हेरेँ – पाकेको हलुवाबेदभन्दा मीठो ।
६ बजे हामी कुम्गाङ पहाडमा पुग्यौँ । कोरियाली भाषामा त्यस ठाउँलाई कुम्गाङ सान भनिन्छ । कुम्गाङ ठाउँको नाउँ हो भने ‘सान’ को अर्थ पहाड हो । ‘सान’ शब्दको अर्थ चिनियाँ भाषामा पनि ‘पहाड’ नै हुन्छ । यसरी ‘वान स्वे’, ‘सहचुई’, ‘कुन्छाचुई’ क्रमशः ‘जिन्दावाद’, ‘समाजवाद’, ‘साम्यवाद’ भन्ने जस्ता शब्द र अर्थ चिनियाँ शब्दसँग मिल्दाजुल्दा रहेछन् ।
पहाडको काखैमा रहेको त्यो ठाउँ वास्तवमा सा¥है रमाइलो र नेपाललाई सम्झाउने खालको थियो । होटल व्यवसाय वा पर्यटन उद्योगमा कोरिया हामीभन्दा अगाडि नै बढेको अनुभव गर्न थालेँ ।
कुम्गाङ पहाडको चढाइ (२० असोज, २०४८/6 Oct., 1991)
बिहान चिया खाएर हामी कुम्गाङ पहाड चढ्न कपडाको जुत्ता र लौरो लिएर तयार भयौँ । हाम्रो देशमा पनि ट्रेकिङ हुने गर्छ तर हामी कोरियामा ट्रेकिङ गर्दै छौँ ।
पहाड बिस्तारै चढ्दै र त्यहाँका विषयमा सुन्दै गयौँ । १००० किसिमका फूलहरू फुल्ने, ३६ किसिमका बाघ, भालु र अन्य पशुहरू र १६ किसिमका सर्पहरू त्यहाँ पाइन्छन् । त्यहाँको पानीमा माछा र कीरा फट्याङग्रा छैन । किन ? मलाई आश्चर्य लागेर त्यहाँका खोला र स–साना पानी जमेका ताल र पोखरीहरूमा आँखा गाडेँ । कुरो सत्य देखेँ । भनाइअनुसार सायद त्यो पानीमा माछा र कीरा फट्याङग्रा बाँच्दैनन् वा तिनीहरूलाई खानेकुरा त्यसमा छैनन् ।
त्यहाँ अनेक किंवदन्ती र परीकथाहरू पनि छन् । त्यहाँ ८ वटा झरना र ८ वटा स–साना ताल छन् । ती तालमा नुहाउन पहिले ८ परीहरू आउने गर्थे ।
त्यस्तै, त्यहाँ १२,००० पहाडका चुली थिए । तिनीहरूको नाम मौसमअनुसार फेरिँदै जाने रहेछ । विभिन्न मौसमका विभिन्न फूलहरू फुल्ने हुनाले त्यस फूलअनुसारको पहाडको नाम रहने हुनेरहेछ । ‘हीरा पहाड’, ‘चराचुरुङ्गीको गीति पहाड’, ‘निलो पहाड’ आदि ।
हामी आधा बाटो गइसकेपछि बिचैमा सुस्तायौँ । बाटोको बिचमा हाम्रो पाटीजस्तै चौताराहरू कोरियाली कलात्मक ढङ्गले बनाइएका छन् । द्वभाषी वा गाइड श्री यो हामीलाई त्यहाँको बारे भन्दै जानुहुन्थ्यो । उहाँ दोभाषे होइन, उहाँ नेपालमा धेरै वर्ष काठमाडौँस्थित प्रजग कोरियाको राजदूतावासको कन्सुलर हुनुहुन्थ्यो । उहाँको नेपाली भाषा मीठो छ ।
दिउँसो १२–१ बजेतिर हामी ओल्र्यौँ र पहाडकै बिचको एक आकर्षक आरामगृहमा खाना खायौं वा भोज खायौँ । बस्ती नभएको हुँदा त्यहाँ सबै कुरा तलको होटलबाट पु¥याइन्छ । त्यहाँ पनि ग्याँसको आगोबाट मासुमाछा पोल्दै अनेक प्रकारका परिकारहरू बनाउँदै खायौँ ।
४ बजेतिर होटल पुग्दा अलि अलि थाकेको पनि अनुभव भयो । नुहाइधुवाइपछि आराम गर्याैँ । तर, त्यस होटलमा साँच्चै कला प्रदर्शनी गरिएको भन्न सुहाउँछ । विभिन्न किसिमका चित्र र चित्रकारीहरू मात्रै होइन मूर्ति पनि बनाई बेच्ने गर्छ ।
जीउलाई हलुङ्गो बनाउने र सदा वसन्तजस्तो लाग्ने त्यो ठाउँमा ठुलठुला भवन हेर्दा नौलोपन अनुभव हुन्थ्यो भने पहाड, नदीनाला र जङ्गल देखेपछि आफ्नै नेपालजस्तो लाग्थ्यो । कुम्गाङ सान यात्राको दुई रातमा का. किम जोङ इलको ‘पार्टी र सङ्गठन’ बारेको रचना अध्ययन गरेँ ।
प्योङयाङ फिर्ता (२१ असोज, २०४८/7 Oct., 1991)
बिहान ८ः३० बजे रमाइलो कुम्गाङ सानबाट बस प्योङयाङ फक्र्याे । फेरि दिउँसोको खाना खान हामी वनसान सहरको कुम्गाङ रेष्टुराँ पुग्यौँ । खाना खाइसकेपछि एक हुल राम्रा र दामी लुगा लगाएका युवा छात्रछात्राहरू देख्यौँ । तिनीहरू कलेज पोशाकमा थिए । तिनीहरू देखेर साँच्चै कोरियाली जनताको जीवनस्तर धेरै माथि उठेको हुनुपर्छ भन्ने हामीलाई लाग्यो । सोधपुछ गरेर हेर्दा तिनीहरू जापानका प्रवासी कोरियालीहरू थिए । थाहा भएअनुसार विदेशमा बस्ने कोरियालीहरूलाई प्रजग कोरियाले सांस्कृतिक स्तर उठाउन आर्थिक सहयोग दिइआएको रहेछ । केही बेरअगाडि एउटा जापानी जहाजबाट तिनीहरू आएका थिए ।
जाने समय भइनसकेको हुँदा माणिक दाइ र म पसलहरू हेर्न गयौँ । पसलमा विदेशी सामान खचाखच भरिएको थियो । स्नाक्स भन्ने नेपालमा ४–५ रूपैयाँको खानेकुरासमेत त्यहाँ एक दुई वन अर्थात् झन्डै एक अमेरिकी डलर पर्दोरहेछ । यसकारण, सामान भरिभराउ छ, तर किन्नेहरू छैनन् । किन ?
मलाई लाग्यो, रुसमा अर्थात् पूर्वसोभियत सङ्घमा विदेशी सामान पाइन्नथ्यो वा बेच्न दिइन्नथ्यो वा झिकाइन्नथ्यो । त्यस स्थितिले विदेशी वस्तुप्रति झन् मोह बढ्यो । कोरियाले विदेशी वस्तुलाई छेलोखेलो गराउँदा विदेशी वस्तुको मोह घट्ने मात्रै होइन आफ्नै देशको सस्तो सामानप्रति पनि गौरव अनुभव गर्ने होला भन्ने लाग्यो ।
बसले फेरि आफ्नो रफ्तार लियो । बिच–बिचमा रेस्टुराँ र आरामगृहमा चिया खाँदै लामा लामा सुन्दर सुरुङहरू छिचोल्दै ६ः४५ मा प्योङयाङको कोरियो होटल पुग्यौँ । यदि हामीले पनि पहाडमा नागबेली र घुम्ती सडकहरू नबनाई सुरुङ्गे ‘उपाय लियौँ’ भने काठमाडौँबाट हेटौँडा, चितवन, पोखरा वा जनकपुर पुग्न हामीलाई २– ३ घण्टामात्र लाग्ने होला भन्ने कल्पना गर्दै ओछ्यानमा पल्टेँ ।
कोरियाली फिल्म स्टुडियो (२२ असोज, २०४८/8 Oct., 1991)
बिहान ८ बजे हामी प्योङयाङको उत्तर पश्चिम कुनामा अवस्थित कोरियाली फिल्म स्टुडियोमा पुग्यौँ ।
स्वागत गर्दै त्यहाँका अधिकारीहरूले त्यसको परिचय दिँदै गए– कोरियाली जनताका महान् नेता का. किम इल सङको निर्देशनमा १९४७ मा त्यस फिलिम स्टुडियोको स्थापना भएको हो र १९४९ मा पहिलो सिनेमा ‘हाम्रो गाउँ’ निर्माण भएको थियो । १९५०–१९५३ मा अमेरिकी साम्राज्यवादको आक्रमणले देशमा युद्ध भयो र स्टुडियोको कार्य भूमिगत हुँदै गयो र लडाइँपछि भवनहरू बन्न सुरु गरियो । १९७३ मा यस ठाउँमा स्टुडियोको नयाँ भवनहरू बन्न सुरु गरिएको हो । पहिले यो ठाउँमा ८ वटा कारखाना थिए । यस स्टुडियोको क्षेत्रफल अहिले १०० हेक्टरमा फैलिएको छ ।
अधिकारी महिलाले भन्दै गइन् – ‘महान् नेता यहाँ ८ पटक आउनुभयो । विभिन्न किसिमका सिनेमा र अन्य निर्देशन दिन प्रिय नेता ३७० पटक आउनुभएको छ । कुराकानीबाट थाहा पायौँ, नेपाली भाषामा समेत अनुवाद भएको ‘फूल बेच्ने केटी’ भन्ने कथा का. किम इल सङले लेख्नुभएको रहेछ । त्यस फिल्मको निर्देशन का. किम जोङ इलले गर्नुभएको रहेछ । छलफलबाट थाहा पायौँ का. किम जोङ इल साहित्य र कलाहरूमा गम्भीर अध्ययन भएको र त्यसबारे उहाँले धेरै रचनाहरू लेख्नुभएको र निर्देशनहरू गर्नुभएको रहेछ ।
त्यस स्टुडियोमा जम्मा १४०० जना कलाकार र कामदारहरू काम गर्छन्, वर्षको ३० वटा सिनेमासम्म बनेका छन् । १९९२ को फेब्रुअरी महिनासम्म कोरियाको सबभन्दा प्रसिद्ध फिलिम ‘हाम्रो राष्ट्र र हाम्रो भाग्य’ को ३० भागको निर्माण भइसकेको छ ।
स्टुडियोको अनेक जानकारी लिइसकेपछि फिलिम खिच्ने खुला ठाउँहरू हेर्न गयौँ । ७ क्षेत्रमा विभाजित त्यो स्टुडियो जङ्गल, पुराना कोरियाली सामन्तहरू बस्ने दरबार, त्यसबेलाका गाउँ, मञ्चुरिया, जापान, युरोप, दक्षिण कोरिया, चीन, अस्पताल, सिनेमा हल, चिया पसल आदि ठाउँ र बजारका दृश्यहरू स्थायीरूपमा बनाइएका छन् । पुरानो कोरियाली समाज देखाउनुपर्दा ती दरबार र गाउँमा फिलिम खिचिन्छ । जापान, चीन, युरोप आदि देखाउनुपर्यो भने त्यहाँकै बजार वा घरहरू बनाइएको ठाउँमा फिलिम खिचिन्छ । युरोप देखाउनुपर्दा चर्चहरू वा गिर्जाघरहरू पनि देखाउन बनाइएका छन् भने मञ्चुरिया देखाउँदा वा उत्तरी कोरिया देखाउँदा छानामा ढुङ्गाहरू राखिएका घरहरू खिच्ने गर्छन् । हुरी बतास चल्ने हुँदा उत्तरी कोरिया र मञ्चुरियाका घरहरूको छानामा ढुङ्गा राखिएको देखिन्छ ।
‘कोरियाको तारा’ र ‘राष्ट्रको तारा’ जस्ता नयाँ नयाँ सिनेमा पनि बनिसकेको र त्यहाँ नदी–नाला, पहाड, विद्रोह, गुरिल्ला युद्ध गराउन जङ्गल देखाउने सबै ठाउँको बन्दोबस्त गरिएको छ । त्यहाँ एक नयाँ सिनेमाको निर्माण गर्न कलाकार र अरु मानिसहरू भेला भइरहेका थिए । सायद ‘लिक चोङ’ भन्ने कोरियाली किसान विद्रोहका नेताबारे फिलिम निर्माण भइरहेको थियो ।
त्यसपछि हामी सिनेमाको कसरी सम्पादन, काँटछाँट गरिन्छ, ध्वनि मिलाउँछ, बग्गी र घोडा चढेको दृश्य घरभित्रै कसरी खिच्छ वा मिलाउँछ आदि सिनेमाका प्रविधिसम्बन्धी कोठाहरूमा गएर हे¥यौँ । १९८० तिर सायद दक्षिण कोरियाको विद्रोह ‘छन् हो ह्वान’ भन्नेबारे एक सिनेमाको सम्पादन पनि हे¥यौँ ।
त्यहाँबाट बिदा लिएर हामी मोटरमा बस्यौँ, मोटर अगाडि बढ्यो । तर, नेपालमा आफ्नो कुनै ठुलो फिलिम स्टुडियो नबनेको र कहिले बन्ने हो भन्ने कल्पना गर्दै, मनमा कुरा खेलाउँदै थिएँ ।
क्रमशः