ओवेन शाल्क
वर्गसङ्घर्ष, राष्ट्रिय मुक्ति र स्वशासनको लडाइँको सन्दर्भमा कला भनेको सांस्कृतिक हतियार हो । यो शिक्षित गर्ने र उत्प्रेरणा दिने माध्यम हो । कलाले विगत र वर्तमानमा भएका अन्यायहरूलाई आवाज दिने र अझ बढी न्यायपूर्ण भविष्यतर्फ सङ्केत दिने काम गर्छ ।
स्वतन्त्रतापछि इन्डोनेसियामा एउटा सांस्कृतिक आन्दोलन चल्यो । त्यसलाई लेक्रा आन्दोलन भनिन्थ्यो । तत्कालीन स्थितिबाट ‘निकास दिने’ कला सिर्जना गर्नु र जनतालाई समतापूर्ण भविष्यको ‘आशा र दिशा’ दिनु त्यस आन्दोलनको उद्देश्य थियो । समाजवादी यथार्थवाद त्यस आन्दोलनको मूल जरा थियो तर आन्दोलनले अन्य शैली पनि अपनाइरहेको थियो । लेक्राका लाखौँ सदस्य थिए । सन् १९६५ मा अमेरिकी आडमा त्यहाँ सत्ताविद्रोह भयो र लेक्रा प्रतिबन्धित भयो । लगत्तै नरसंहार मच्चियो र त्यस आन्दोलनको ‘निकास’ नामेट पारियो ।
दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी सङ्घर्षको बेला मेदु कला परिवारको स्थापना भयो । त्यसले गोरो छालाको श्रेष्ठतामा विश्वास गर्ने सरकारविरुद्ध सङ्घर्षका लागि दक्षिण अफ्रिकी जनतालाई प्रतिकारमा उतार्ने लक्ष्य लिएको थियो । मेदु कला परिवारले पोस्टर, गीत, नाच र कविताजस्ता कला सिर्जना गथ्र्यो । मेदुका एक संस्थापक थामी एमिएलेले लेखे, “कलाकारको उद्देश्य अरुलाई शिक्षित गर्नु हो । स्वतन्त्रता प्राप्तिका निम्ति अविराम उपाय र साधनको खोजबिन गर्नु एक कलाकारको धर्म हो । कलाले सरकार उल्ट्याउन सक्दैन तर परिवर्तनका लागि प्रेरणा दिन सक्छ ।”
परिवर्तनको निम्ति जनतालाई जागृत गर्दै गर्दा दक्षिण अफ्रिकी सेनाले सन् १९८५ मा एमिएलेलगायत मेदु परिवारका अन्य तीन सदस्यको हत्या ग¥यो । मेदु परिवारमाथि प्रतिबन्ध लगाइयो ।
विजयप्रसाद लेख्छन्, “कलाले संसार फेर्दैन तर कल्पनालाई कलामार्फत जीवन नदिएको खण्डमा हामीले वर्तमानको अगाडि घुँडा टेक्नुपर्ने हुन्छ । परिवर्तनमुखी कलाकारहरूले यथार्थलाई देखाउँदै जनताको आँखा खोल्ने कोसिस गर्छन् । यस्ता कलाकारको अभावमा जनतालाई आफू–आफूबिचको आपसी सम्बन्ध पहिल्याउन गा¥हो हुन्छ । विश्वका बहुमत जनताको ध्यान एउटा बिन्दुमा केन्द्रित गरेर उनीहरूमाथि थोपरिएका पिरव्यथाविरुद्ध सङ्घर्ष गर्ने आत्मबल जनतामा भर्नु नै कलाको धर्म हो ।”
इजरायली सरकारले यो तथ्य बुझेको देखिन्छ । दुई महिनासम्म धमाधम मान्छे मार्दैै गर्दा इजरायली सेनाले गाजाका सांस्कृतिक क्षेत्र ध्वस्त पा¥यो† पुस्तकालय, प्रकाशन गृह, नाचघर, कला केन्द्र र ऐतिहासिक स्थलहरू धुजाधुजा पा¥यो । यसका साथै इजरायली सेनाले छानीछानी प्यालेस्टिनी कवि, कलाकार, लेखक, सङ्गीतकार, सुलेखक (क्यालियोग्राफर) र नर्तक–नर्तकीहरूको हत्या ग¥यो । यस काममा इजरायली सेनालाई क्यानाडा, संरा अमेरिका र अन्य पश्चिमा शक्तिराष्ट्रहरूको आशीर्वाद प्राप्त छ ।
गाजाका सिर्जनशील व्यक्तित्व तथा सांस्कृतिक सम्पदामाथिको इजरायलको नियोजित बमबारीलाई अनलाइन पत्रिका ‘लिटररी हब’ ले ‘चालु सांस्कृतिक संहार’ भन्यो । गाजाका संस्कृतिमन्त्री आतिफ अबु सेइफले यसलाई ‘संस्कृतिविरुद्धको युद्ध’ भने । सेइफ भन्छन्, “वास्तविक युद्ध यो भूमि र यसले पैदा गरेको ज्ञान, इतिहास र सभ्यताको वैभव खोस्ने जुन भाष्य छ त्यसविरुद्धको युद्ध हो । हाम्रा कथाहरू खोस्नु यो युद्धको अर्को उद्देश्य हो । तर, निश्चय नै प्यालेस्टिनी जनताले मानव सभ्यतामा योगदान दिन छोड्नेछैनन्† आनन्द र आशाको दियो निभ्न दिनेछैनन् । गीतसङ्गीत, कविता, उपन्यास, कथाकहानीका जराहरू हाम्रो गतिशील चेतना, संस्कृति र विचारभरि फैलिएका छन् । यो संसारकै पुराना कथाहरूको भूमि हो ।”
अक्टोबर २० मा इजरायली सेनाले हेबा अबु नादाको हत्या ग¥यो । उनी कवि, उपन्यासकार र शिक्षिका थिइन् । उनको उपन्यास ‘अक्सिजनले मृतकलाई छुन्न’ ले सन् २०१७ मा अरबी सिर्जनाका लागि शारजाह पुरस्कार प्राप्त गरेको थियो । अक्टोबर २४ मा नादाले आफ्ना अन्तिम शब्द कोरिन् । उनले भनिन्, “जताततै त्राहीमाम मच्चिँदा पनि हामी अकथनीय खुसी महसुुस गर्दै छौँ । भग्नावशेषहरूबिच एउटा नयाँ सहर बन्दै छ हाम्रो सहनशक्तिको । हावामा पीडादायी चित्कार गुञ्जिँदै छ, डाक्टरहरूको पोशाकमा लत्पतिएको रगतमा मुछिएर वरपर फैलिँदै छ । शोकसन्तप्त हुँदाहुँदै पनि गुरु–गुरुमाले आफ्ना ससाना विद्यार्थीलाई अङ्गालो हाल्दै छन् । असह्य वेदनाबिच पनि परिवारजन आफ्नो अटल आत्मबल प्रदर्शन गर्दै छन् ।”
डिसेम्बर ६ का दिन इजरायली हवाई हमलाले गाजाका अर्का कवित तथा बुद्धिजीवी रेफात अल–अरिरको हत्या ग¥यो । अल–अरिरसँगै उनका धेरै परिवारजन पनि मारिए । मानव अधिकारवादी संस्था ‘युरो–मेड मोनिटर’ ले जनाएअनुसार इजरायली सेनाले जानाजान अल–अरिरलाई तारो बनाएको थियो । मर्नुअघि अल–अरिर र उनको परिवारले राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा शरण लिएका थिए । त्यहाँ बसिरहँदा उनलाई फोनबाट लगातार धम्की आइरहेको थियो । शरण लिइरहेका अन्य छिमेकीहरूलाई खतरा नहोस् भनेर उनी सपरिवार बहिनीको घरमा गए । त्यहाँ नियोजित बमबारी गरेर इजरायली सेनाले उनको हत्या ग¥यो ।
आफ्नो अन्तिम अन्तर्वार्तामा अल–अरिरले भने, “म प्राज्ञिक व्यक्ति हुँ । मेरो घरमा भएको सबैभन्दा कडा वस्तु मेरो मार्कर हो । तर, इजरायली सेनाले हमला ग¥यो, यहाँ घुस्यो वा घरघरै हत्याकाण्ड चलाइरहेको इजरायली सेना हामीमाथि आइलाग्यो भने म इजरायली सैनिकहरूलाई यही मार्करले हान्नेछु । मैले गर्नसक्ने सबैभन्दा ठूलो प्रतिकार त्यत्ति हो । यहाँ हामी सबैको भावना यही हो । हामी असहाय र निरूपाय छौँ । हार्नलाई हामीसँग केही छैन ।”
अल–अरिर लेखक र सामाजिक अभियन्ता थिए । त्यसबाहेक उनी गाजाको इस्लामिक विश्वविद्यालयमा सिर्जनात्मक लेखन तथा साहित्य पढाउँथे । उनले हिब्रु साहित्य पनि पढाउँदै आएका थिए । उनी ‘हामी सङ्ख्या होइनौँ’ मा सक्रिय थिए । यो अभियान सन् २०१५ मा युरो–मेड मोनिटरले सुरु गरेको थियो । यसमा गाजाका नवयुवाहरूलाई अङ्ग्रेजी भाषामा लेख्न सिकाउने कार्यशालाहरू सञ्चालन गरिन्थ्यो । अल–अरिर साहित्यिक सङ्गालोहरूको प्रकाशनमा पनि सक्रिय थिए । इजरायली कब्जाभित्र प्यालेस्टिनी जनताको भोग्नुपरेको कहालिलाग्दो स्थितिबारे विश्वलाई शिक्षित गर्ने उद्देश्यले उनी यो काम गर्दै थिए ।
सन् २०१३ मा प्रकाशित ‘जवाफमा गाजा लेख्छ’ मा गाजाका १५ प्यालेस्टिनी लेखकहरूले लेखेका कथाहरू छन् । पुस्तकको गातामा लेखिएको छ, “यी कथा प्रतिकार र प्रतिरोधका प्रयत्न हुन् । यी कथा उद्घोष गर्छन् – जतिसुकै बाधाअड्चन आए पनि र मुख थुन्ने हजार प्रयास भए पनि प्यालेस्टिनी जनताले झेल्नेछन्† आफ्नो रचनात्मक एवम् प्रतिरोधी कला संस्कृतिद्वारा जनताले सङ्घर्ष गरिरहनेछन् ।”
अल–अरिरको विश्वास थियो – पुराना कथालाई जोगाएर र नयाँ रचना लेखेर प्यालेस्टिनीहरूले स्थानीय र विश्व साहित्यका पाठकका निम्ति प्रशंसायोग्य कार्य मात्र गरेका छैनन् । बरु, आफ्नो भूमिमाथि दाबी पनि गर्दै छन् ।
सन् २०१५ को ‘टेड टक’ कार्यक्रममा बोल्दै अल–अरिरले एक ‘क्यानाडाका आदिवासी’ को कथा भनेका थिए । औपनिवेशिक युगको आरम्भमा केही युरोपेली कब्जाकारीहरूले कब्जा गरेको भूमि कसरी बाँड्ने भन्ने विषयमा छलफल गर्दै रहेछन् । यत्तिकैमा पाको उमेरका एक आदिवासी उनीहरू नजिक गएछन् । सोधपुछ गर्दा ‘आफ्नो भूमि कसरी बाँड्ने’ भन्ने विषयमा विवाद भएको थाहा भयो । त्यसपछि ती पाका आदिवासीले भनेछन्, “तपाईँहरूको भूमि भए यसका कथाहरू सुनाउनुस् ।”
कथाको पुछारमा अल–अरिरले भने, “यो सुनेर सबै कब्जाकारीहरू चुप लागे ।”
अल–अरिरले प्यालेस्टिनी लेखकहरूको निम्ति विश्व साहित्यको ढोका खोल्ने आफ्नो जमर्कोले इजरायली उपनिवेशवादी तथा जातिभेदी सत्ताविरुद्धको सङ्घर्षमा योगदान पुग्ने देखेका थिए । घरमा एउटा मार्करभन्दा कडा वस्तु नराखेका प्राज्ञका रूपमा उनले आफ्नो साहित्यिक क्षमतालाई प्रयोग गरेर आफ्ना जनताको मुख थुन्न अहोरात्र खटिएको अत्याचारीलाई चुनौती दिन सकिने देखे । प्यालेस्टिनी आवाजलाई सशक्त पारेको र अतिक्रमित भूमिमा भइरहेको अन्यायलाई निर्भिक भई स्वर दिएको कसुरमा अत्याचारीहरूले उनलाई मारे ।
पत्रकार म्याक्स ब्लुमेन्थलको अल–अरिरसँग चिनापर्ची थियो । बोस्टनको सामुदायिक चर्चमा विचार राख्दै ब्लुमेन्थलले भने, “पुस्तक ‘जवाफमा गाजा लेख्छ’ को प्रचारप्रसारका क्रममा रेफात अल–अरिर विश्वका विभिन्न देशमा गए । त्यो भ्रमण अमेरिकी साम्राज्यवाद तथा अमेरिकी साम्राज्यको हाँगो इजरायलको लागि खतरनाक क्षण थियो ।”
ब्लुमेन्थलले कडा शब्दमा भने, “अल–अरिरका शब्दहरू कति खतरनाक साबित भए भने उनी बोलेकै कारण तिनीहरूले उनलाई मारे ।”
यस घटनाले अल–अरिरलाई महान् कलाकारको स्थानमा उभ्याएको छ । परिवर्तनको निम्ति उत्प्रेरणा दिन खोज्दै गर्दा उनलाई तारो बनाइयो र मारियो । जस्तो कुनै बेला इन्डोनेसियाको सुहार्तोका गुन्डाहरूले लेक्राका सदस्यहरूको हत्या गरेका थिए । जस्तो कुनै बेला अफ्रिकाका रङ्गभेदी सैनिकहरूले मेदु कलाकारहरूको हत्या गरेका थिए ।
टोरन्टोमा बस्दै आएकी लेखिका साराह हागीले अल–अरिरबारे भनिन्, “उनले असल लेखक तथा बुद्धिजीवी बन्नका लागि मात्र आजीवन मिहिनेत गरेका थिएनन् । उनी प्यालेस्टिनीहरूलाई कथावाचनको औजार प्रयोग गरेर कसरी प्रतिरोध गर्ने भनी सिकाउने उद्देश्यले पनि उनले कठोर मिहिनेत गरेका थिए । उनले धेरै विद्यार्थीलाई हुर्काए र गाजाका धेरै कथाहरू बाहिर ल्याए । यति नगरेको भए गाजाका कथाहरू बाँकी विश्वको नजरमा पर्ने थिएन ।”
यो महिना इजरायलले अल–अरिरको हत्या ग¥यो, तर उनको कविता ‘म मर्नुप¥यो भने’ शीर्षकको उनको कवितालाई विश्वभरिका पाठकले पढे । विश्वका ४० भन्दा बढी भाषामा त्यसको उल्था भयो । प्यालेस्टिनी साहित्य महोत्सवका लागि त्यो कविता प्रसिद्ध अभिनेता ब्रायन कोक्सले पनि पढे । प्यालेस्टिनी साहित्यलाई अन्य लेखकहरूले पनि प्रचार गर्दै छन् । ‘प्यालेस्टिनका लागि आइरिस लेखकहरू’ नामक कार्यक्रममा आइरिस लेखिका सेली रुनीले घसान कानाफानीको रचना ‘गाजाको पत्र’ वाचन गरिन् ।
क्यानाडाको साहित्यिक माहोल विभाजित छ । एल्बिट सिस्टेम्स नामक इजरायली कम्पनीले सैन्य प्रविधिको ठेक्का लिने गरेको छ । सो कम्पनीले ‘जिलर पुरस्कार’ वितरण कार्यक्रमलाई प्रायोजन गरेकोमा निन्दा गर्दै केही प्रदर्शनकारीले विरोध सामग्री देखाए । लगत्तै सहभागीहरूले ती प्रदर्शनकारीलाई जथाभावी गाली गरे । जिलरकी कार्यकारी निर्देशक एलाना रबिनोविचले पछि ती जातिहत्याविरोधी प्रदर्शनकारीहरूले ‘क्यानाडाका लेखक तथा तिनले वर्षभरिको कामबाट प्राप्त साहित्यिक उपलब्धिको अवहेलना गरेको’ आरोप लगाइन् । ती प्रदर्शनकारीहरूमाथि आपराधिक अभियोग लगाइएको छ ।
त्यस घटनापछि क्यानाडाको साहित्यिक मूलधार विभाजित बनेको छ । केही प्रसिद्ध लेखकहरूले ‘जिलर पुरस्कार’ जस्ता साहित्यिक सङ्घसंस्थाले युद्धविरामको पक्ष लिनुपर्छ भनेर खुला पत्र नै लेखे । पत्र लेख्नेहरूमा वुबगेसिग राइस, बिल्ली–रे बेल्कोर्ट, अनुजा भर्गिज, ओमर एल अक्कद, नूर नागा र छिरिङ योङजोम लामा पर्छन् । उनीहरूले क्यानाडा सरकारले इजरायली सेनालाई सैन्य सामग्री दिन बन्द गर्नुपर्छ भनी आग्रह गर्दै छन् । त्यस पत्रमा झन्डै २२ सय मानिसहरूको हस्ताक्षर छ । हस्ताक्षर गर्नेहरूमा धेरैजसो लेखक र उद्योगपतिहरू छन् ।
त्यसको प्रतिवादमा सिदुरा लुडविग र अन्ना रोज्नरजस्ता लेखकहरूले अर्को खुला पत्र लेखे । त्यसमा युद्धविराम गर्नुपर्ने आवाजसहितको पत्रमा ‘ठूलो पूर्वाग्रह’ राखिएको र त्यसले ‘यहुदीहरूविरुद्ध घृणा बढाउने’ कार्य गरेको आरोप लगाए । त्यो पत्रमा २ हजारभन्दा बढी ‘लेखक, कलाकार, उद्योगपति र कलापारखीहरू’ ले हस्ताक्षर गरेका छन् ।
क्यानाडाको साहित्यिक माहोल गाजामाथिको युद्धकै कारण विभाजित छ । हजारौँ लेखकहरूले इजरायलको जातिसंहारक आक्रमणको निन्दा गरेका छन् । केही साहित्यकारहरूले भने प्यालेस्टिनी जीवन, संस्कृति र कथावाचनलाई मेटाउन लागिपरेको इजरायली सेनाको अभियानलाई खुलेर समर्थन गर्ने निर्णय गरे ।
लेखक भइकन पनि इजरायली कुकार्यको पक्ष लिनु हदैसम्मको पाखण्डीपन हो । यो दृश्य क्यानाडामा मात्र होइन, अन्य देशमा पनि देखिएको छ । विश्लेषक डान शिहान ‘लिटररी हब’ पत्रिकामा लेख्छन्, “ट्रम्पको शासनकालमा ‘मेरो अमेरिका महान्’ जस्ता घिनलाग्दो नारालाई ट्वीटरमा छाप्नेहरू अहिले गाजाको मुद्दामा मौन छन् । फ्लोरिडामा पुस्तकमाथि प्रतिबन्ध लाग्दा, गर्भपातको अधिकार खोसिँदा बोल्ने लेखकहरू साहित्यमा कृत्रिम बौद्धिकताले हस्तक्षेप गर्दा, अमेरिकी संसद्मा ट्रम्पका कार्यकर्ताले भाँडभैलो गर्दा र युक्रेनमाथि रुसले सैन्य कारबाही गर्दा आन्दोलित हुने साहित्यकारहरू अमेरिकी आडभरोसामा बिसौँ हजार प्यालेस्टिनी सर्वसाधारणको हत्या भइरहँदा तैँ चुप मै चुप छन् ।”
गाजामाथिको आक्रमणमा विश्वसामु आफ्नो कुरा राख्ने प्यालेस्टिनी क्षमतालाई तारो बनाइँदै छ । यही उद्देश्यका साथ इजरायलले कवि, उपन्यासकार, पत्रकार र अन्य रचनात्मक फाँटका पेसाकर्मीहरूको हत्या गर्दै छ ।
आफ्नो भनाइ राख्दै बोस्टनमा म्याक्स ब्लुमेन्थलले रेफात अल–अरिरको अन्तर्वार्तातिर सङ्केत गर्दै भने, “हामीले आफ्नो मार्कर उठाउनुपर्छ । मार्कर उठाउनुस् र आफ्नो मार्कर आजीवन जातिसंहारक व्यवस्थाविरुद्ध प्रहार गरिराख्नुस् ।”
जातिसंहारविरुद्ध लेख्नु नै आजका सम्पूर्ण कवि, कलाकार, कथाकार तथा उपन्यासकारको जिम्मेवारी हो । क्यानाडाका लेखकहरूले यसो गर्दैनन् भने साहित्यको मूल्यविरुद्ध गएको ठहरिनेछ ।
साहित्यकारहरू हो, आउनुस् मार्कर उठाऔँ !
(ओवेन शाल्क लेखक हुन् । उनी ‘क्यानेडियन डाइमेन्सन’ का स्तम्भकार हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक