#हरिबहादुर श्रेष्ठ
लुड्विग फायरबाख र प्राचीन जर्मन दर्शनको अन्त
लुड्विग फायरबाख (१८०४–७२) हेगेलवादी प्राध्यापक थिए । हेगेलवादीहरू दुई भागमा बाँडिएका थिए । एक भाग कट्टर भौतिकवादविरोधी प्रतिक्रियावादी दर्शनतिर लागेका थिए जसमा ड्युहरिङ पनि एक थिए ।
दोस्रो भाग हेगेलको दर्शनलाई रहस्यवाद र विज्ञानवादबाट छुट्याएर द्वन्द्वात्मक भौतिकवादतिर लागिरहेका थिए । भौतिकवादीहरू ईश्वरलाई मान्दैनथे । यसकारण, साहुमहाजन, सरकारी प्रशासकहरू, सन्त–महन्त, पुजारी, फकिर र धर्मको पछि लाग्नेहरू भौतिकवादलाई आफ्नो ठुलो शत्रु सम्झन्थे । किनभने ईश्वरमाथि विश्वास घटेर गयो भने काम गरेर खाने भोका नाङ्गा जनताले तिनीहरूलाई बाँकी राख्दैनन् भन्ने कुरा तिनीहरूलाई थाहा थियो । भौतिकवादीहरू आफ्नै आँखा, नाक, कानले थाहा पाउन नसक्ने कुरोलाई विश्वास गर्दैनथे । तिनीहरूको विचारअनुसार पृथ्वीमै स्वर्ग बनाउन सकिन्छ भन्ने गर्थे ।
हेगेलको भौतिकवादी हाँगाको अगुवा फायरबाख थिए । १८४१ मा उनले इसाई धर्मको सार भने कृति प्रकाशित गरेका थिए । त्यसमा उनले धर्म झूटो र खोक्रो छ, कुनै मानिसको स्वभाव र प्रवृत्ति नै उसको ईश्वर हो, जति मानिसको मूल्य छ त्यति मात्रै ईश्वरको मूल्य छ, त्योभन्दा बढी होइन भनेका थिए ।
त्यसबेला एङ्गेल्सले लेख्नुभयो, “चारैतिर उत्साहले भरिएको थियो । हामी सबै तुरुन्तै फायरबाखका अनुयायी भयौँ । फायरबाखले धर्मको आलोचना उक्त पुस्तकमा गरेको हुनाले त्यसको ठूलो चर्चा चल्यो । तर, फायरबाख पूर्णतया ठीक थिएनन् । धर्मको विषयमा उनले लेखेका थिए, “धर्म मानिसलाई आफैँले अलग्ग गर्छ । ईश्वर त्यो हो जो मानिस होइन । मानिस त्यो हो जो ईश्वर होइन । ईश्वर र मानिस दुई उल्टा टुप्पा हुन् ।”
फायरबाखले दार्शनिकरूपमा धर्मलाई आलोचना गरेता पनि उनी नास्तिकवादलाई धर्मको ठाउँमा राख्न चाहन्थे । किनभने उनी भन्थे, “मानिस र पशुमा भेद वास्तवमा धर्मको भेद हो । पशुमा धर्म हुन्न ।”
फायरबाख धर्म शब्दलाई फाल्न चाहन्नथे । उनी धर्मविरोधी र भौतिकवादका समर्थकमात्र थिए । तर, उनका धेरै कमजोरीहरू थिए ।
फायरबाखको विचारधारालाई एङ्गेल्सले १८८६ मा आलोचना गरेर पत्रिकामा लेखहरू लेख्न थाल्नुभयो र त्यसको एक सङ्गालो १८८६ मा ‘लुड्विग फायरबाख र प्राचीन जर्मन दर्शनको अन्त’ नामले प्रकाशित गर्नुभयो । एङ्गेल्सले यस कृतिमा दार्शनिक विचारधाराको सङ्घर्षको सारा इतिहासको पृष्ठभूमिमा दर्शनशास्त्रमा वर्ग र पार्टी भावनाको सिद्धान्तलाई बलियोसित स्थापित गरिदिनुभयो । सर्वहारा पार्टी, भावनाको सिद्धान्तनिष्ठ दार्शनिक चिन्तनको एउटा आदर्श नमुना हो । यसकारण, यस कृतिको ठूलो महत्व छ ।
‘पुँजी’ को तेस्रो भाग
फ्रेडरिक एङ्गेल्स अब ६५ वर्षको परिपक्व र ज्येष्ठ नागरिक हुनुभयो । तर, जति जति उमेर बढ्दै गइरहेको थियो उहाँलाई काम थपिँदै गइरहेको थियो । विभिन्न मजदुर पार्टीहरूसँग सम्बन्ध बढ्दै गइरहेको थियो । विभिन्न देशका समाजवादी नेताहरूसँगको भेटघाट उहाँको दैनिक जीवनको एक अङ्ग बनेको थियो । तर, लण्डन जाडो ठाउँ भएको हुनाले विदेशी मित्रहरूको आवतजावत कम हुन्थ्यो र एङ्गेल्ससँग तिनीहरूको सम्पर्क खाली चिट्ठीपत्रहरूद्वारा हुन्थ्यो ।
१८९३ मा स्वीट्जरल्यान्डको जुरिच सहरमा सर्वहारावर्गको महाधिवेशन भयो । त्यस महाधिवेशनमा एङ्गेल्सले पनि भाग लिनुभयो । त्यहाँ उहाँले दिनुभएको भाषण नै उहाँको जीवनको अन्तिम सार्वजनिक भाषण भयो ।
एङ्गेल्स ७० नाघिसक्नुभयो, आँखाले राम्रो देख्न सक्नुहुन्नथ्यो । तर पनि उहाँले आफ्नो कलमलाई रोकेनन् । तथापि, उहाँ पहिले जस्तै छिटो छिटो काम गर्न सक्ने स्थितिमा हुनुभएन । उहाँले गर्न बाँकी काम भने धेरै नै थियो । माक्र्सले ‘पुँजी’ को तेस्रो भागको निम्ति खेस्रामात्र गर्न भ्याउनुभएको थियो । त्यो पनि एकदम अपूरो थियो । तर, अनेक भागको सुरु सुरु खास गरेर बडो होसियारीपूर्वक लेखिएको थियो र लेखाइ पनि राम्रो बनाइएको थियो । तर, पछाडि अझै धेरै लेख्न बाँकी नै थियो ।
एङ्गेल्सले त्यसलाई परिष्कृतरूपमा तयार गर्दै जानुभयो । तर, पाँचौँ खण्डमा एङ्गेल्सले सा¥है मेहनत गर्नुभयो । आखिर १८९४ मा ‘पुँजी’ को तेस्रो भाग पनि प्रकाशित गरेर एङ्गेल्सले आफ्नो महान् कर्तव्य पूरा गरे । यस विषयमा अस्ट्रियाली सामाजिक जनवादका संस्थापक बिक्टर एड्लरले ठिक्कै भनेका थिए, ‘पुँजी’ को दोस्रो र तेस्रो खण्ड प्रकाशित गरेर एङ्गेल्सले आफ्नो प्रतिभाशाली मित्रको भव्य स्मारक (शक्ति) खडा गरिदिनुभयो । यो यस्तो स्मारक हो जसमा उनले नचाहेर पनि उनले आफ्नो नाम नमेटिने गरी कुँडिदिनुभयो । यसकारण, रुसी अक्टोबर क्रान्तिका महान् नेता लेनिनले पछि भन्नुभयो, “वास्तवमा ‘पुँजी’ का यी दुई भागका रचनाकार दुई व्यक्ति हुन् – माक्र्स र एङ्गेल्स ।”
‘पुँजी’ को तेस्रो भागमा पुँजीपतिवर्गको बिचमा नाफाको वितरणको विषयमा लेखिएको छ । त्यसमा पुँजीवादी समाजका तीन मुख्य विषयलाई उल्लेख गरिएको छ । पहिलो, पुँजीवादी समाजमा जुन घटनाहरू घट्छन्, ती नियमअनुसार हुन्छ । चाहे ती नियम पुँजीपतिहरू आफैँलाई थाहा नभएको किन नहोस् । यो कुनै स्वेच्छाचारी शक्तिको फल होइन ।
दोस्रो, पुँजीवादी समाजको आर्थिक सम्बन्ध हिंसा, लुट, धोका र बेइमानीमा आधारित छ । तेस्रो, सामाजिक गतिविधिमाथि नियन्त्रण गर्ने खालको यहाँ कुनै सामाजिक बुद्धिले काम गरिरहेको छैन ।
मेरी बन्र्स र लिजी बन्र्ससँग एङ्गेल्स
एङ्गेल्सको अन्तिम लेख
आँखाको कमजोरी, बूढेसकालको मानस तन्तुहरूको सुस्तपना र अरु अनेक बाधाहरू रहेर पनि एङ्गेल्सको हातमा बल रहेसम्म उहाँको कलमले विश्राम लिन जानेन । सन् १८९५ मा महान् लेखनीका मालिक एङ्गेल्स ७५ वर्षका हुनुभयो । सोच्ने गतिमा तीव्रता घटे पनि उहाँमा विचारको गम्भीरता र तेजिलोपना घटेको थिएन । मार्च १८७५ मा उनले माक्र्सको ‘फ्रान्समा वर्गसङ्घर्ष’ भन्ने किताबको नयाँ संस्करणको भूमिका लेख्दै गर्नुभयो । यो भूमिका नै एङ्गेल्सको अन्तिम लेख हो । यसमा उनले १८५०–१८६५ सम्मको युरोपेली समाजको ऐतिहासिक सिंहावलोकन प्रस्तुत गरे ।
उहाँले लेख्नुभयो, “१८७०–१८७१ को लडाइँ र (पेरिस) कम्युनको हारपछि युरोपेली मजदुर आन्दोलनको गुरुत्व केन्द्र अस्थायीरूपमा फ्रान्सबाट जर्मनीमा मुच्यो । त्यसबारे माक्र्सले पहिले नै अनुमान गरिसक्नुभएको थियो ।”
चीर निन्द्रा
एक कवि, सिपाही, क्लर्क, व्यवसायीको रूपमा रहेर पनि एङ्गेल्स अर्थशास्त्री, दार्शनिक र सर्वहारावर्गका एक महान् नेता र गुरुसम्म साबित हुनुभयो । जीवरभर थाक्न नजान्ने, सिद्धान्त र व्यवहारमा एकरूपताका खानी, त्यागको एक अभूतपूर्व नमुना एङ्गेल्सलाई मार्च १८९५ तिर घाँटीमा क्यान्सर रोगले आक्रमण ग¥यो ।
एङ्गेल्सले पुँजीवादी विचारको विरुद्ध सङ्घर्ष गर्नुभए जस्तै क्यान्सरसँग पनि ५ महिनासम्म सङ्घर्ष गर्दै जानुभयो । आखिर मानिसको शरीर न हो, ७५ वर्षको उमेरमा आफ्ना अग्रज साथी कार्ल माक्र्सको निधन भएको १२ वर्षपछि उहाँले पनि सदाको निम्ति विश्राम गर्नुभयो–६ अगस्ट १८९५ को दिन ।
एङ्गेल्सले आफ्नो मृत शरीरलाई जलाएर समुद्रमा सेलाइयोस् भने इच्छा गर्नुभएको थियो । सोअनुसार माक्र्सकी कान्छी छोरी एलिनोरले एङ्गेल्सका घनिष्ठ मित्रहरूको उपस्थितिमा २७ अगस्त १८९५ को दिन एक डुङ्गामा उहाँको शरीरको खरानीलाई राखेर समुद्रमा छरिदिइन् । अर्को शब्दमा एङ्गेल्स महासागर विलिन हुनुभयो ।
“मर्ने मान्छेको निम्ति मृत्यु कुनै दुःखको कुरो होइन, दुःख त तिनीहरूलाई हुन्छ जो बाँचेका हुन्छन् ।”
एङ्गेल्सको व्यक्तित्व, भाषा र शैली
एङ्गेल्स पनि माक्र्स जस्तै हरेक विषयमा कलम चलाउनुहुन्थ्यो । लगभग दुवै एकै ढङ्गले सोच्नुहुन्थ्यो, तर लेखनशैली भने भिन्न भिन्न थियो । एङ्गेल्सको भाषा सा¥है सरल र भावपूर्ण हुन्थ्यो । क्लिष्टता उहाँ रुचाउनुहुन्नथ्यो । उहाँको लेखाइ सल्ल बग्ने खालको थियो ।
भाषाविद्
विभिन्न भाषामा माक्र्सको भन्दा एङ्गेल्सको दखल थियो । एङ्गेल्स जर्मनी, फ्रान्सेली, अङ्ग्रेजी, रुसी, फारसी, अरबी आदि सबै गरेर लगभग १९ भाषा जान्दथे । उहाँ बीस भाषा बोल्न सक्नुहुन्थ्यो । भाषामा दखल भएको हुनाले इन्टरनेसनल (अन्तर्राष्ट्रिय मजदुर सभा)का बैठकहरूमा उहाँका धेरै जिम्मेवारी हुने गथ्र्याे ।
उहाँ भन्नुहुन्थ्यो, “हामीले कमसेकम ती जातिहरूको भाषा, इतिहास, सामाजिक संस्थाहरूको अध्ययन गर्नुपर्छ, जसबाट हामीलाई चाँडै काम आउनेछ ।” उहाँले तीन हप्ताभित्र फारसी भाषामा दखल राख्नुभयो । जर्मनिक प्राचीन नाडिक भाषामा उहाँ पहिले नै जानकारी राख्नुहुन्थ्यो । आयरल्यान्डको प्रश्नको बेलामा उहाँले आफ्नो ध्यान गैलिक भाषामा लगाउनुभएको थियो । १४ दिनभित्र उहाँले रुसी भाषाको व्याकरणलाई राम्रो बनाउनुभयो र २–३ महिनाभित्र रुसी भाषामा आफ्नो काम चलाउन सक्ने हुनुभयो ।
यसप्रकार उनी विभिन्न देश र जातिको भाषामा बडो गहिरो चाख र अध्ययन गर्नुहुन्थ्यो । यो सब उहाँ सर्वहारावर्गकै निम्ति गर्दै हुनुहुन्थ्यो ।
मनपर्ने विषय
त्यसो त उहाँ अर्थशास्त्र, दर्शन, समाजशास्त्र, इतिहास, साहित्य, भाषा, विज्ञान, सैनिक विज्ञान आदि ज्ञान–विज्ञानका विभिन्न क्षेत्रमा दखल र चाख राख्नुहुन्थ्यो । सैनिक विज्ञानमा पनि उहाँको गहिरो अध्ययन थियो । नेपियर, जोमिनी, क्लाउजेविजजस्ता अङ्ग्रेजी, फ्रान्सेली र जर्मनका ठुलठुला सैनिक इतिहासकारहरूलाई पचाउनुभएको थियो । उहाँ ६० जवान त्यसबेलाका राज्यमन्त्रीहरूले चलाउने प्रशासन ६ जना क्लर्कहरूको सहायताले उहाँ एक्लैले चलाउन सक्ने कुरा गर्नुहुन्थ्यो ।
बेलायतको विषयमा
एङ्गेल्सले अङ्ग्रेजी साहित्यको विषयमा भन्नुभएको थियो, “फ्रान्सेली साहित्यको दाँजोमा अङ्ग्रेजी साहित्य गरिब छ ।”
त्यसबेला अङ्ग्रेजी शिक्षितवर्गको विषयमा भन्नुभएको थियो, “त्यो (अङ्ग्रेजी शिक्षितवर्ग) सारा संसारको अत्यन्त घृणित दास हो र धार्मिक दृष्टिले अन्धविश्वासी र पक्षपाती छ ।”
अङ्ग्रेजी समाजमा खाली एउटै सुशीलवर्ग छ जसलाई युरोपमा मजदुर भनिन्छ । जुन वर्ग बेलायतमा अछुत गरीब छ चाहे त्यो जत्तिसुकै झुत्रेझाम्रे र डराउने किन नहोस् । बेलायतको मुक्तिको आशा तिनीहरूबाटै गर्न सकिन्छ । त्यो वर्ग अशिक्षित छ तर त्यो वर्गमा पक्षपात छैन, शिक्षित गर्ने लायकको छ । युरोपमा अहिले पनि एक ठुलो राष्ट्रिय आन्दोलनको निम्ति आवश्यक शक्ति छ, भविष्य उसकै हातमा छ ।
रुसको विषयमा
एङ्गेल्स रुसको विषयमा खुबै ध्यान राख्नुहुन्थ्यो । त्यसबारे रुसी समाजवादी बाकुनिन (जो पछि माक्र्सवादविरोधी भएर गए) रुसी किसानलाई जन्मजात कम्युनिस्ट सम्झन्थे र त्यहाँको प्राचीन सामूहिक खेती तुरुन्तै साम्यवादी सम्पत्तिमा परिणत गर्न सकिन्छ भन्ने कुरोमा विश्वास गर्थे । तर, उनको त्यो गलत दृष्टिकोणलाई खण्डन गर्न रुसी समाजको अध्ययन गर्न आवश्यक थियो । रुसी समाजको अध्ययन गर्न एङ्गेल्सले रुसी भाषा पढ्नुभएको थियो ।
बाकुनिन विरोधी भएर गइसकेपछि र माक्र्स पछि पनि रुसी सामाजिक– जनवादी नेताहरू एङ्गेल्ससँग अटुट सम्बन्ध राख्थे ।
१८७८–९५ मा एङ्गेल्सले लेख्नुभएको थियो, “रुसी क्रान्ति दैलोमा खडा छ ।” माक्र्स र एङ्गेल्स दुवै रुसमा पुँजीवादी–प्रजातन्त्र खास गरेर किसान क्रान्तिको सम्भावना देख्नुहुन्थ्यो ।
सम्भावित रुसी क्रान्तिको विषयमा उहाँले भन्नुभयो, “यस्तो परिवर्तनलाई युरोपका हरेक देशका मजदुरहरूले सारा संसारको श्रमको मुक्तिको साझा उद्देश्यको निम्ति महान् अभियानको रूपमा खुसीसाथ स्वागत गर्नुपर्छ । उहाँले रुसी क्रान्ति विश्व इतिहासको एक उदाहरणको बिन्दु हुनेछ भन्नुभयो । रुसको माथिल्लो वर्गले नेतृत्व दिन सक्दैन र उठिरहेको सर्वहारावर्गलाई सहरी क्षेत्रका किसान आन्दोलनसँग एकाकार गरेन भने किसान आन्दोलन खालि स्थानीय स्तरमा सीमित हुने र बेकार हुने विश्लेषण गर्नुभएको थियो । तर, उहाँले रुसी सर्वहारा कमजोरै छ भन्ने कुरा बिर्सनुभएको थिएन ।”
माक्र्सको भनाइमा एङ्गेल्स
“तिमी (एङ्गेल्स) यति जान्छौ कि पहिले म कुनै तत्वमा विस्तारै पुग्छु र अर्को कुरो यो हो कि म तिम्रो पद–चिह्नमा हिँड्छु ।” वास्तवमा यो कुरो सत्य पनि हो । राजनैतिक अर्थशास्त्रमा एङ्गेल्स माक्र्सभन्दा अगाडि पुग्नुभएको थियो । १८४४ फेब्रुअरी महिनामै एङ्गेल्सको ‘राजनैतिक अर्थशास्त्रको आलोचनात्मक रूपरेखा’ निस्किसकेको थियो, जो मजदुरवर्ग र समाजवादी दृष्टिकोणले पुँजीवादी राजनैतिक अर्थशास्त्रको परीक्षा थियो ।
उहाँको परिश्रमको विषयमा माक्र्स भन्नुहुन्थ्यो, “दिन–रात काम गर्न तयार, लेख्नमा तीखो र राक्षस जस्तो सक्रिय ।” यी कुराहरू माक्र्सले एङ्गेल्ससँग बीस वर्ष लामो मित्रताको अनुभव पछि लेख्नुभएको थियो ।
माक्र्स आफ्नो सबभन्दा ठुलो कसी एङ्गेल्सलाई मान्नुहुन्थ्यो । उहाँको सल्लाह मान्न माक्र्स जहिले पनि तयार रहनुहुन्थ्यो । फ्रान्सेली अन्तर्राष्ट्रिय मजदुर नेता लार्फाजको भनाइअनुसार माक्र्स आफ्ना मित्र एङ्गेल्सको विषयमा सा¥है गौरव गर्नुहुन्थ्यो । उहाँ (माक्र्स) आफ्नो साथी (एङ्गेल्स) का सबै नैतिक र बौद्धिक गुणको सा¥है खुसी भएर बयान गर्नुहुन्थ्यो र मलाई एङ्गेल्ससँग परिचय गराउन मेनचेस्टरको खास यात्रा गर्नुभयो । एङ्गेल्सको ज्ञानको ठुलो गहिराइलाई उहाँ सा¥है प्रशंसा गर्नुहुन्थ्यो ।
तर, पनि एङ्गेल्स सदा आफूलाई माक्र्सको पछि नै राख्नुहुन्थ्यो । उहाँ आफैँ भन्नुहुन्थ्यो, “मैले सहायक भूमिका खेलेको थिएँ ।” रुसी क्रान्तिका महान् नेता लेनिनको शब्दमा हरेक मजदुर एङ्गेल्सको नाम र जीवनसँग परिचित हुन आवश्यक छ । जसले मजदुरवर्गलाई आफूले आफैँलाई चिनाउने र सचेत हुन शिक्षा दिनुभयो र सपनाको ठाउँमा विज्ञानलाई कायम गरिदिनुभएको थियो । अन्तमा लेनिनले भन्नुभएको थियो, “सर्वहारावर्गका महान् योद्धा र शिक्षक फ्रेडरिक एङ्गेल्सको स्मृति अमर रहोस् ।”
समाप्त
– माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनीबाट