#योगेन्द्रमान बिजुक्छेँ
अन्ना लुइस स्ट्रङ पेसाले एक अमेरिकी पत्रकार र लेखिका हुन् । तर, उनले अमेरिकी समाज र अन्यायमा परेका बालबालिका र मजदुरहरूको पक्षमा गरेको कार्य र सङ्घर्षलाई मनन गर्दा उनलाई पत्रकारको मात्र संज्ञा दिनु अन्याय हुन्छ । न्यायको लागि आवाज उठाउने सिलसिलामा उनी आफ्नो देशको सीमाभित्रमात्र सीमित रहेनन् । बरु रुसको भोल्गामा भोकमरीमा परेकालाई राहत बाँड्न तत्कालीन सोभियत रुसमा पुग्नु, साम्राज्यवादीहरूसँग कष्टप्रद युद्ध गरिरहेका चिनियाँ जनता र क्रान्तिकारी नेताहरूसम्म पुगेर ऐक्यबद्धता जनाउनु, साम्राज्यवादीहरूबाट आक्रान्त हिन्दचीन–क्षेत्रको अवस्थिति बुझ्न भियतनाम, लावस र कम्बोडियाको वास्तविकताका बारेमा संसारलाई सुसूचित गर्नुले उनलाई एक अन्तर्राष्ट्रवादी क्रान्तिकारीको कोटीमा राख्दा न्याय होला ।
बाल्यकाल, पारिवारिक पृष्ठभूमि र शिक्षा
अन्ना अमेरिकाको मध्य भागमा अवस्थित नेब्रेस्का राज्यमा बुबा सिड्ने स्ट्रङ र आमा रुथ ट्रेसीका कोखबाट सन् १८८५ मा जन्मेकी थिइन् । अन्नाका बुबा परिवर्तनवादी धर्म प्रोटेस्टेन्ट इसाई चर्चका एक जिम्मेवार अधिकारी तथा आमा रुथ शिक्षित महिला थिइन् । सिड्नेली समाज सुधारको पक्षमा, कुरीतिका विपक्ष, तल्लो तह र गरिबहरूको न्यायको लागि उनी वकालत गर्ने गर्थिन् । अन्नाका पुर्खा बेलायतमा हुँदा राजतन्त्रविरोधी र सन् १६४० पछि अमेरिकामा बसाइँ सरेपश्चात् त्यहाँको दासप्रथाको विपक्षमा उनी सङ्घर्षरत छन् ।
अन्नाले पेन्सेलभानिया अनि ओहाइको सिनसिनाटिबाट स्कूल र कलेजको पढाइ पूरा गरेर सिकागो विश्वविद्यालयबाट सन् १९०९ मा दर्शनशान्त्रमा विद्यावारिधी गरिन् । जुन बेला उनी २३ वर्षकी थिइन् । प्रोटेस्टेन्ट धर्मका अनुयायी र समाज सुधारप्रति उनको पारिवारको झुकावले अन्नाको समाजलाई हेर्ने दृष्टिकोण फराकिलो हँुदै समाजमा अन्यायमा परेका आवाजविहीनहरूको आवाज बनिदिनुपर्छ र न्यायको पक्षमा उभिनुपर्छ भन्नेमा उनी दृढ थिइन् । उनले अध्ययन गरेको विषय दर्शनशास्त्रले पनि समाजमा देखेका र भोगेका सामाजिक घटनाहरूका विभिन्न आयाम र पक्षलाई मिहीनरूपमा अध्ययन गरी केलाउन सहयोग गर्यो । तत्कालीन समाजमा सानो स्वार्थ समूहले बहुसङ्ख्यक गरिब र निमुखा जनतालाई कसरी शोषण गरिरहेको हुन्छ भन्ने विषयलाई उनले अझ गहिरोसँग बुझिन् ।
अन्ना सियाटल स्कूल वोर्डमा निर्वाचित हुँदा अखबारमा छापिएको समाचार
अन्ना हुर्केको परिवेश
मानव सभ्यताको इतिहासमा उन्नाइसौँ शताब्दीलाई ‘बलवान शताब्दी’ पनि भनिन्छ । अन्ना जन्मिएको बेला त्यो शताब्दी आफ्नो पछिल्लो अवस्थामा पुगेको थियो । त्यो युग भनेको औद्योगिकीकरण परिपक्व अवस्थामा पुगिसकेको, विज्ञान र प्रविधिको विकासले एकपछि अर्को चमत्कार देखाइरहेको, चिकित्सा, सञ्चार तथा अन्य आधुनिक विकासका क्षेत्रमा नवीनतम आविष्कारहरूको कारण अभूतपूर्व परिवर्तन भइरहेको थियो । परिवर्तनको हिसाबले त्यो एक युगान्तकारी शताब्दी थियो । त्यो शताब्दीमा मानिसले गरेका आविष्कार, परिर्वतन र त्यसले मानव जीवनमा ल्याएको उथलपुथल त्यसभन्दा दस हजार वर्ष पहिले सुरु भएको मानिने मानव सभ्यताको युगमा यस्तो कहिल्यै भएको थिएन । मानव सभ्यताको इतिहासमा उथलपुथल ल्याएको त्यस युगमा सबै कुराहरू सकारात्मकमात्र पक्कै थिएन । समाजलाई आधुनिकीकरणतिर तीव्रगतिमा दोहो¥याएको त्यस युगले तात्कालीन मानव समाजमा रहेको सदियौँ पुरानो सद्भावपूर्ण मानव सम्बन्धलाई नराम्ररी भत्काइरहेको थियो । सामूहिक भावना, मानवीयता, दया, प्रेम र करुणाको ठाउँ व्यक्तिगत लाभ, लोभ, लालच, शोषणजस्ता खराब कुराले लिँदै थियो । बालश्रम शोषण पराकाष्ठमा पुग्नु, कारखानाका मजदुरहरूप्रति हुने चरम शोषणका कारण मजदुर र मिल–मालिकका बिच हुने भिडन्तले कहिलेकाहीँ अवस्था हिंसात्मक हुन्थ्यो ।
त्यतिबेला अन्नाले समाजलाई राम्ररी नियाल्दै गर्दा कारखाना मालिकहरूले मजदुरमाथि गर्ने शोषण र बालश्रम शोषणलाई न्यायोचित देखेनन् । त्यसैले उनी यस्ता शोषणको विरोधमा दृढ भई उभिन् । संयुक्त राज्य अमेरिकाको शिक्षा कार्यालयमा कार्यरत हुँदा उनले राष्ट्रिय बालश्रम समितिमा रही बाल कल्याणका क्षेत्रमा धेरै काम गरिन् । सन् १९१४ अथवा युरोपमा पहिलो विश्वयुद्ध सुरु भएताका बालश्रम शोषणको विरोधमा उनले विभिन्न अभियान पनि चलाइन् । ती अभियानका सिलसिलामा उनी अमेरिकाको अधिकांश महŒवपूर्ण स्थानहरूमा तथा विदेशमा समेत पुगेकी थिइन् । यस्तो अभियानमा बालश्रम शोषणसँग सम्बन्धित प्रदर्शन पनि थियो । सियाटल सहरमा प्रदर्शनी हुँदा दिनमा ४० हजार मानिसले अवलोकन गरेका थिए ।
तत्कालीन समयमा तीव्ररूपमा समाजको हरेक पक्षमा भइरहेको परिवर्तन, मजदुर, बालबालिका र निमुखामाथि भइरहेको शोषण, अन्याय तथा अरु असमानताबारे भइरहेको धेरै समय अगाडिदेखि नै विभिन्न दार्शनिक र चिन्तकहरूले चिन्ता व्यक्त गर्दै नआएका होइनन् । यही १९ औँ शताब्दीका महान् दार्शनिक, क्रान्तिकारी एवं चिन्तक कार्ल माक्र्स र एङ्गेल्सले समाजको विषद् अध्ययन गरेर यस्ता खराब कुराबाट पार पाउन समतामूलक र शोषणरहित समाजको स्थापनाका लागि वैज्ञानिक समाजवादको स्थापना कसरी गर्न सकिन्छ भनेर दुनियाँलाई बाटो देखाइसकेको थियो । यही दर्शनबाट प्रभावित भएर समाजमा आफूले प्रत्यक्ष भोगेको र देखेको गरिबी र असमानता र तल्लोवर्गका कामदारवर्गले पाएको दुःखको कारण पुँजीवादी बन्दोबस्त नै हो भन्ने निष्र्कषमा अन्ना पुगिसकेकी थिइन् । त्यसैले, ‘एभरेती हत्याकाण्ड’ को स्वतन्त्र अनुसन्धान गर्न अनुसन्धानकर्ताको रूपमा नियुक्त गर्दा उनी स्वतन्त्र रहन नसकी मजदुरहरूको पक्षमा उभिइन् । उनले ‘कम्युनिस्ट’ भएको आरोप खेपिन् र विद्यालयको बोर्डमा उनी अरु सहकर्मीसँग अलग्ग भइन् । यो घटनाको करिब एक वर्षपछि सन् १९१७ अप्रिलमा अमेरिकी सरकारले पहिलो विश्वयुद्धमा मित्र राष्ट्रहरूको पक्षमा भाग लिने घोषणाको अन्नाले खुलेर विरोध जनाइन् र उनी यतिबेलासम्ममा मजदुर सङ्गठन ओब्लीजसँग
(IWW=Industrial Workers of the World, यस सस्था र संस्थासँग आबद्ध मजदुरहरूलाई छोटकरीमा ओब्लीज् भनिन्थ्यो ।) आधिकारीकरूपमा आबद्ध भइसकेकी थिइन् । ओब्लीजसँग उनको आबद्धताले उनलाई विद्यालयको बोर्डमा रहेर कार्य गर्न असहज हुँदै गयो । त्यसैले ओब्लीजले पनि युद्धको विरोध ग¥यो । यही निहँुमा मजदुरहरूको पक्राउ र गिरफ्तार हुन थाल्यो ।
विद्यालयको बोर्डमा काम गर्न असहज भएपछि उनीले सन् १९१८ देखि ‘सियाटल युनियन रेकर्ड’ नामक मजदुर पत्रिकामा आबद्ध भइन् र सन् १९२१ सम्म कार्य गरिन् । सन् १९१९ मा सियाटलमै उनले विशाल मजदुर हडतालको आयोजना गरी चार दिनसम्म शान्तिपूर्णरूपमा सहर बन्द गरिन् । यति बेलासम्ममा उनलाई देशमा बसेर कार्य गर्न परिस्थिति सहज त पक्कै भएन होला ! उनलाई कुनै देशमा समाजवाद लागु भइरहेको अध्ययन गर्ने हुटहुटी चल्यो सायद । साथीभाइको सल्लाहमा उनी ‘अमेरिकी मित्र सेवा समितिका’ संवाददाताको रूपमा कार्य गर्न पोल्यान्ड हुँदै रुस पुगिन् । सोभियत रुसको भोल्गामा भएको भोकमरीमा परेका पीडितहरूलाई पहिलो विदेशी राहत सामग्री वितरण गर्न उनी त्यहाँ पुगेकी थिइन् ।
सन् १९२१ मा अन्ना पहिलोपटक सोभियत रुसमा, अमेरिकी मित्र सहयोग समितिमा
सोभियत रुसको समाजवादी बन्दोबस्तबाट प्रभावित
समाजवादी व्यवस्था व्यवहारमा लागु भइरहेको अध्ययन गर्ने हुटहुटीले तात्कालीन सोभियत सङ्घमा अन्ना सन् १९२१ मा पुगिन् र १९४० सम्म रहिन् । मूलतः रुसमा रहँदा उनले विभिन्न पत्रकारितासँग सम्बन्धित संस्था जस्तै – अन्तर्राष्ट्रिय समाचार सस्थासँग आबद्ध रही पत्रकारको रूपमा काम गरिन् । समाजवादी बन्दोबस्तमा योजनाबद्धरूपमा कार्य भइरहेको बारेमा आफ्नो देश अमेरिकामा जानकारी गराउन विभिन्न पत्रपत्रिकामा लेखिन् र सन् १९२५ मा अमेरिका पनि फर्किन् । सन् १९३० मा उनी पुनः रुसमा पुगिन् र मस्कोमा पहिलो अङ्ग्रेजी भाषाको अखबार ‘मस्को समाचार’ (मस्को न्युज) को प्रकाशनको लागि कार्यरत रहिन् । एक वर्षपछि सन् १९३१ मा तिनले जो शुविन नामक रुसीसँग विवाह गरिन् । जो पेसाले कृषिविज्ञ तथा पत्रकार थिए । एकताका उनी सोभियत सरकारमा कृषि मन्त्री नै थिए । जो कम्युनिस्ट इन्टरनेसनलका अमेरिकी कम्युनिस्ट पार्टीका प्रतिनिधिसमेत थिए । सन् १९४२ मा फोक्सोको खराबीले मृत्यु भएका जोलाई हत्या गरिएको आशङ्का गरिन्छ ।
रुसमा रहँदा अन्नाले युक्रेन, साइबेरिया, उज्बेकिस्तानदेखि अन्य धेरै सहर र क्षेत्रको अध्ययन भ्रमण गरिन् । सोभियत समाजवादी व्यवस्थाको बारेमा उनले लेखेरै तथा विभिन्न प्रवचनमार्फत धेरै प्रचारप्रसारसमेत गरिन् । जनताको तल्लो तहमा पुगेर मजदुर किसानहरूसँग भलाकुसारी गरी रुसी समाज र समाजवादी व्यवस्थाबारे तथ्य तथ्याङ्क अभिलेख गरिन् । रुसको समाजवादी व्यवस्थाको विरोधमा हुने गरेका गतिविधिको बारेमा उनी सचेत गराउँदै रुसको पक्षमा उभिन् । आफ्नै देश अमेरिकी भूमिमा सन् १९२९ देखि सुरु भएको बृहत् आर्थिक मन्दीले समाजमा देखिएको बेरोजगारी, गरिबी, अव्यवस्था र अराजकतालाई उनले सोभियत रुसमा व्यवस्थित र योजनाबद्धरूपमा आर्थिक विकासका कार्यहरू भइरहेकोसँग दाँजिन् र समाजमा देखिने गरिबी, शोषण र अव्यवस्था निराकरणको उपाय समाजवादी बन्दोबस्तमा नै उनले दखिन् । रुसमा रहँदा तिनले स्तालिन, भ्याचेस्लाभ, मोलोतोभलगायत धेरै उच्च ओहदाका व्यक्तित्वहरूसँग भलाकुसारी गरिन् ।
१९ औँ शताब्दीको उत्तराद्र्धमा अमेरिकी बाल मजदुरहरू
के हो ‘एभरेट हत्याकाण्ड’ ?
अमेरिकाको वासिङ्टन राज्यको एभरेट सहरमा चर्को मजदुर आन्दोलनहरू भइरहेको थियो । मजदुर र मिल मालिक, सङ्गठित मजदुरहरूको सङ्गठन ‘विश्व औद्योगिक कामदार सङ्घ’ बिच धेरै साना ठुला द्वन्द्वहरू भइरहेका थिए । यसैबिच ५ नोभेम्बर सन् १९१६ आइतबारको दिन करिब ३०० जना मजदुरहरू एभरेट सहरको किनारमा पुगी सडक प्रदर्शन गर्ने योजनाअनुसार दुईवटा सानाजहाज (स्टीमर) मा आइपुग्छन् । उनीहरूको योजनाअनुसार वाक् स्वतन्त्रताको उपयोग गरी सडक प्रदर्शन गर्ने थियो । तर उनीहरूलाई रोक्न जहाजबाटै फर्काउने योजना मिल मालिक र स्थानीय सरकारी अधिकारिहरूको थियो । यसका लागि मिल मालिकहरूले करिब २०० को हाराहारीमा गुण्डाहरू परिचालन गरी त्यस प्रदर्शनलाई बिथोल्न गोली चलाउँदा ६/७ जना आन्दोलनकारीको हत्या हुन्छ । यस हत्याकाण्डको दिनलाई ‘ब्लडि सन्डे’ पनि भनिन्छ । सोही घटनाका बारेमा एक अनुसन्धानात्मक स्वतन्त्र रिपोर्ट तयार गर्न दि न्युयोर्क इभिनिङ पोस्टले अन्नालाई स्वतन्त्र पत्रकारको रूपमा जिम्मा लगाउँछ । तर उनको प्रतिवेदन मजदुरको पक्षमा देखिँदा उनी विवादमा परिन् । एभरेट् हत्याकाण्डको रूपमा चिनिने यस घटना अमेरिकाको मजदुर आन्दोलनमा निकै दुःखद मानिन्छ र बेला बेलामा विभिन्न कार्यक्रमहरू गरी मजदुरहरू यसको सस्मरण गर्छन् ।