#हरिबहादुर श्रेष्ठ
एङ्गेल्सको पारिवारिक जीवन
मेनचेस्टरमा एक आइरिस परिवारसँग एङ्गेल्सको सम्बन्ध थियो । आमा– बाबु र दुईटी छोरीहरूमात्रै भएको त्यो सानो परिवार अति सुसंस्कृत थियो । आइरिस परिवारका ती दुई छोरीहरूमध्ये जेठीको नाउँ मेरी बन्र्स र कान्छीको नाउँ लिजी थियो । लगभग १८५० देखि नै मेरी बन्र्ससँग एङ्गेल्सको प्रेम सम्बन्ध थियो । पछि उहाँहरू एक दम्पतीको रूपमै जीवन बिताउनुभयो । भनिन्छ, ‘विवाह’ शब्द एक सामाजिक आडम्बर थियो । विवाह दुई हृदयको सहवासको स्वीकृति हो । तर, एङ्गेल्सले त्यो पुरानो परम्परालाई नै च्यातच्युत चुँडालेर फालिदिनुभयो । बिना ‘विवाह’ ले नै उहाँहरू एक दोस्राका जीवन साथी हुनुभयो । यस दृष्टिले एङ्गेल्सको सोचाइमात्रै नयाँ थिएन, बरु व्यावहारिक जीवन पनि पुरानो समाजबाट भिन्नै थियो ।
मेरी अति सुन्दर र समझदार युवती हुनुहुन्थ्यो । उहाँप्रति एङ्गेल्सको गहिरो स्नेह थियो । मेरी आयरल्यान्डको स्वतन्त्रताको पक्षमा हुनुहुन्थ्यो र बेलायती साम्राज्यवादविरोधी भावना राख्नुहुन्थ्यो । उहाँ देशभक्त हुनुहुन्थ्यो ।
१८५७ मा एङ्गेल्स बिरामी हुनुभयो । यो कुरो थाहा पाएर माक्र्सले लेख्नुभयो, “हाम्रो दुर्भाग्य भएर पनि तिमीलाई निश्चिन्त रहनुपर्छ, किनभने म र मेरी जहान तिम्रो स्वास्थ्यको अवस्था सुनेर हामी आफ्नो अवस्थालाई सा¥है कम ध्यान दिन्छौँ ।” माक्र्सको सल्लाहअनुसार एङ्गेल्स समुद्र किनारमा गएर बस्नुभयो । तर, उहाँले पनि आफू बिरामी हुँदाहुँदै माक्र्सको निम्ति ‘न्युयोर्क ट्रिव्युन’ को लागि चाहिने लेख लेख्न छोड्नुभएन ।
माक्र्सको दुःख पोख्ने भाँडो
एङ्गेल्स माक्र्सका समान विचार राख्ने घनिष्ठ मित्रमात्रै हुनुहुन्नथ्यो, उहाँको दुःख पोख्ने भाँडो या मुख्य सहारा पनि हुनुहुन्थ्यो । माक्र्सको एड्गर नामको छोरो मर्दा उहाँको परिवार सा¥है दुःखी भयो । एङ्गेल्सलाई माक्र्सले आफ्नो दुःख पोखेर लेख्नुभयो, “केटो मरेपछि घर सुनसान देखिन्छ । ऊ घरको जीवन र आत्मा थियो । क्षण–क्षणमा उसको अभावले हामीलाई यतिको बिझिरहेछ कि त्यसको बयान गर्न सम्भव छैन । मैले अनेक प्रकारको दुर्भाग्य सहेको छु, तर यसपालि मैले जाने कि वास्तविक दुर्भाग्य के हो… जुन भयङ्कर आशङ्का र कष्टहरूबाट गुज्रिरहेको छ, त्यसमा तिमीले र तिम्रो मित्रताको विचारले धेरै शक्ति प्रदान गरेको छ र यही आशाले पनि संसारमा हामी केही काम गर्न सकिरहेछौँ ।” यसबाट थाहा हुन्छ कि एङ्गेल्सप्रति माक्र्सको कस्तो आस्था र विश्वास छ ।
१८५७ मा अमेरिकामा आर्थिक सङ्कट पर्यो । यसको असर ‘न्युयोर्क ट्रिव्युन’ मार्फत माक्र्सलाई पनि प¥यो । माक्र्सले त्यस पत्रिकाबाट पाउने पारिश्रमिक आधामात्र पाउन थाल्नुभयो । त्यसैबेला एङ्गेल्सका बुबाले उहाँलाई एउटा घोडा दिनुभएको थियो । तर, माक्र्सको आर्थिक सङ्कट देखेर उहाँले लेख्नुभयो, “जब तिमी र तिम्रो परिवार लण्डनमा यस्तो आपत्मा परेका छौ भने म घोडा राखुँ, यसलाई म सा¥है नराम्रो सम्झन्छु ।” एङ्गेल्स यस प्रकार माक्र्सको सहायतामा लाग्दै रहनुभयो ।
सीमा विवादको सम्बन्धमा
१८५९ तिर युरोपका देशहरूबिच विवाद हुन थाल्यो । पो र राइन नदी जर्मन, अस्ट्रिया, इटाली र फ्रान्सको सीमा र सुरक्षासँग सम्बन्धित प्रश्न थियो । यसकारण, एङ्गेल्सले ‘पो र राइन’ भने एक पुस्तिका प्रकाशित गर्नुभयो । माक्र्सले त्यो पुस्तक पढेर ‘असाधारण तथा ठीक पुस्तिका सा¥है सफल’ भनेर लेख्नुभयो । तर लासालले एङ्गेल्सको विचारलाई समर्थन नगरेका मात्रै होइनन् कि त्यसको खण्डनको निम्ति ‘इटालियन लडाइँ र प्रसिया’ शीर्षकको अर्को पुस्तक नै निकाले । तर, पछि एङ्गेल्सकै पक्ष लिएर माक्र्सले दुवैलाई मिलाउनुभयो । फर्डिनाद लासाल जर्मनीका एक जना नाम चलेका समाजवादी र राष्ट्रिय जर्मन मजदुर सङ्घका संस्थापक थिए ।
इटालियाली युद्धपछि एङ्गेल्सले सवाई नाइस र राइन नामको अर्को पुस्तिका प्रकाशित गर्नुभयो ।
एङ्गेल्सलाई पितृशोक
एङ्गेल्सको बुबा उहाँप्रति उदार हुनुहुन्नथ्यो । उहाँका बुबासँग एङ्गेल्सको सैद्धान्तिक र राजनैतिक दृष्टिले कुनै समानता थिएन । यस विषयमा १८४८ मा ‘नयाँ राइन समाचारपत्र’ निकाल्ने बन्दोबस्त गर्ने सिलसिलामा एङ्गेल्सले आफ्नो बुबाको विषयलाई लिएर माक्र्सलाई लेख्नुभएको पत्रबाट थाहा हुन्छ । उहाँले भन्नुभयो, “मेरो बुबा भद्र पुरुषबाट केही आशा छैन । उहाँ मान्नुहुन्छ, नयाँ राइन समाचारपत्र भड्काउनको लागि ठुलो हतियार हुनेछ । उहाँले हामीलाई मद्दत गर्न एक हजार डलर दिनुको सट्टा हामीलाई सिध्याउन एक हजार गोली दिन मन पराउनु हुन्छ ।”
१८६० को मार्चतिर एङ्गेल्सका बुबाको निधन भयो । उहाँको बुबाको मृत्युपछि कारखानाको हिस्सेदार एङ्गेल्स आफँै हुनुभयो । बाबुको मृत्युले एङ्गेल्सलाई आर्थिक फाइदा भए पनि उनमाथि घरको बोझ थपिन गयो । तर, उहाँ अब माक्र्सलाई १० पाउन्डको ठाउँमा बरोबर १०० पाउन्ड पठाउन सक्ने हुनुभयो ।
बुवाको मृत्युको एक महिनापछि नै एङ्गेल्स आफ्नो हिस्सदारसँग हिस्सा छुटाउन अनेक किसिमले असजिलो अनुभव गर्नुहुन्थ्यो । उहाँ हिस्सेदारले आफूलाई खुसीसाथ छोडून् भनी चाहनुहुन्थ्यो । तर, एङ्गेल्स यस काममा सफल हुन सक्नुभएन । तथापि उहाँ यो व्यवसाय तुरुन्तै छोड्न चाहनुहुन्थ्यो । उहाँ के सम्झनुहुन्थ्यो भने त्यस कामले समय खेर गइरहेको छ र उहाँ आफैँ भ्रष्ट भइरहनुभएको छ । उहाँले लेख्नुभएको थियो, “जबसम्म म यस कारखानामा रहन्छु, त्यसबेलासम्म म कुनै कामको लायक हुनेछैन । खास गरेर जहिलेदेखि हिस्सेदार बनें, त्यस बेलादेखि झनै खराब भयो । किनभने, जिम्मेवारी झन् बढ्यो । यदि बढी आम्दानीको कुरो नभए म फेरि कर्मचारी नै हुन मन पराउँथेँ ।”
एङ्गेल्स आफ्नो व्यवसाय छोड्न मन पराउनुहुन्थ्यो, तर त्यसो गर्दा माक्र्सको निम्ति सहायता गर्ने सक्ने हुनुभएन । त्यस कुरालाई माक्र्सले पनि उत्ति नै बुझ्नुभएको थियो र लेख्नुभयो, “तिमीविना म आफ्नो कृति (पुँजी) पूरा गर्न सक्दिनथेँ । म तिमीलाई विश्वास दिलाउन चाहन्छु कि मेरो दिमागमा सधैँ एक पहाडजस्तो बोझले थिचिरहेको हुन्छ । खास गरेर तिमीले मेरो लागि आफ्नो अद्भूत प्रतिभालाई खेर फाल्न र व्यापारमा डुबुल्की मार्न दिएँ ।”
मेरी बन्र्सको वियोग
सन् १८६३ को ३ जनवरीको दिन एङ्गेल्सको जीवन सङ्गिनी मेरी बन्र्स बित्नुभयो । त्यसले एङ्गेल्सको निम्ति केही दिनको लागि संसारै अन्धकार भएजस्तो भयो । उहाँ निकै आकुलव्याकुल हुनुभयो ।
त्यस खबरबाट माक्र्स परिवार पनि साहै दुःखी भए । माक्र्सकी श्रीमती जेनीलाई पनि गहिरो चोट प¥यो । तर त्यसबेला माक्र्स अवर्णनीय आर्थिक दुर्दशामा हुनुहुन्थ्यो । एङ्गेल्सलाई माक्र्सले समवेदना पठाउनुभयो, “म आफ्नो मनको भावना बिलकुल बयान गर्न सक्तिनँ । विचरी केटी मलाई सा¥है मन पराउँथिन् ।”
यस प्रकारको समवेदनाले एङ्गेल्सलाई झन् चोट पर्यो किनभने उहाँले माक्र्सबाट त्यस भन्दा राम्रो समवेदनाका शब्दहरूको आशा गर्नुभएको थियो । हुन पनि मानिसहरू आफ्ना मित्रहरूबाट बढी आशा गर्छन्, एङ्गेल्स पनि यसमा अपवाद हुनुहुन्नथ्यो । वास्तवमा माक्र्स मेरीको निधनले दुःखी हुनुहुन्थ्यो, जेनी पनि दिनभर रोइरहनुभएको थियो, आफ्नो घरको आर्थिक कठिनाइ बिर्सेर पनि । घरमा अन्नको गेडा थिएन र माक्र्सकी छोरी जेनी बिरामी थिइन् । एकजना उधारो दिने साहु माक्र्ससँग ऋण असुल गर्न उहाँको डेरामा भएका मालसामान लिलाम गराउन लागिरहेको थियो । यसकारण माक्र्सले मेरीको मृत्युमा उचित समवेदनाका शब्दहरू लेख्न सक्नुभएको थिएन ।
तर, एङ्गेल्सले माक्र्सको समवेदनाको उत्तर चाँडै दिन आवश्यक सम्झनुभएन । पछि माक्र्सले आफ्नो गल्ती महसुस गर्दै आफू हृदयहीन नभएको प्रष्टीकरण दिनुभयो । माक्र्सलाई जवाफमा एङ्गेल्सले लेखे, “कुनै मानिस केही वर्षसम्म एउटी आइमाईसँग बसेपछि उनको मृत्युमा दुःख अनुभव नगरी बस्न सकिँदैन । मेरीको निधनसँगै मेरो जवानी पनि चिहानमा गाडिएको मैले अनुभव गरेँ । तिम्रो चिट्ठी मेरो मगजमा एक हप्तासम्म धुमिरहेको थियो । मैले त्यसलाई बिर्सनै सकिनँ । जे भए पनि तिम्रो आखिरी चिट्ठीले सबै ठीक गर्यो र म भित्रैदेखि सा¥है खुसी छु । मेरीसँग मैले आफ्नो सबभन्दा पुरानो र सबभन्दा असल साथी गुमाइन् ।”
आखिर एङ्गेल्सले माक्र्सको वास्तविक अवस्था र सच्चाइ बुझेपछि धन्यवाद दिनुभयो । त्यसप्रकार एङ्गेल्स र माक्र्समा भएको गलत सम्झदारी छिट्टै टुङ्गियो । मेरी बन्र्सको निधनको घटनाले दुवै मित्रको यथार्थवादी र स्पष्टवादीलाई झन् प्रस्टसँग अभिव्यक्त भयो ।
खोटरहित व्यक्ति
फर्डिनाड लासालले इटालीको लडाइँको बेलामा एङ्गेल्सको ‘पो र राइन’ भने पुस्तिकालाई खण्डन गरेका थिए । यसले लासाल र एङ्गेल्सबिच मनमुताव भएको थियो जसलाई माक्र्सले मिलाई दिनुभएको थियो । ३ सेप्टेम्बर १८६४ मा लासालको मृत्युको खबर एङ्गेल्सलाई प्राप्त भयो । उहाँले त्यसको भोलिपल्ट फाइग्रिथ भने साथीलाई एक पत्र लेख्नुभयो । एङ्गेल्स व्यक्तिगत मनमुताव र सम्झात्न्दा पनि सैद्धान्तिक र राजनैतिक दृष्टिले हेर्ने गर्नुहुन्थ्यो भन्ने कुरा त्यस पत्रबाट थाहा भयो ।
लासालको विषयमा उहाँले पत्रमा लेख्नुभएको थियो, “यस खबरले मलाई कतिको दिक्क पा¥यो होला, तिमी सम्झन सक्छौ । व्यक्तिगतरूपले लासाल जेहोस्, साहित्यिक र वैज्ञानिक दृष्टिकोणले जे सुकै होस्, तर राजनीतिकरूपले उनी निश्चय पनि जर्मनीका साहै ठुला मानिसहरूमध्ये एक थिए । हाम्रो लागि उनी एक मित्र थिए र उनी पछि हाम्रो शत्रु हुने पनि लगभग निश्चय नै थियो । तर जे होस्, एकदम वामपन्थी दलका कम या बढी सामथ्र्यवान मानिसहरू जर्मनीले कसरी गुमाउँदै छ, यो कुराले हामीलाई सा¥है दुःखी बनाएको छ । आखिर जर्मनीमा लासाल नै एक जना यस्ता व्यक्ति थिए जोसँग तिनीहरू डराउँथे ।”
जीवनको अन्ततिर लासालले अवसरवादी राजनीति अँगालेका थिए । माक्र्स र एङ्गेल्सले उनको कडा आलोचना गर्नुभएको थियो । उनी पहिले एक निम्न– पुँजीवादी पत्रकार र वकिल थिए । तर, एङ्गेल्सले उनको मृत्युमा अलिकति पनि दुविधा राखेर आफ्नो मत प्रकट गर्नुभएन र कुनै पनि व्यक्तिको उहाँ ठीक – ठीक मूल्याङ्कन गर्नुहुन्थ्यो ।
एङ्गेल्सकी श्रीमती लिजी बन्र्स
एङ्गेल्सकी नयाँ जीवन सङ्गिनी
मेरी बन्र्स र एङ्गेल्सका कुनै सन्तान थिएनन् । एङ्गेल्स भर्खर ४४ वर्षकै मात्र हुनुहुन्थ्यो । अझ ३०–४० वर्ष सङ्घर्ष गर्न बाँकी नै थियो । यसकारण उहाँले मेरी बन्र्सकी बहिनी लिजीसँग विवाह गर्नुभयो । लिजीले एङ्गेल्सलाई मेरीसँगै गाडिसकिएको यौवनलाई फिर्ता ल्याउन सहयोग गर्नुभयो । लिजीको पूरा नाउँ एलिजावेथ बन्र्स थियो । उहाँ साहु, समझदार र आफ्नो लोग्ने को आदर्शलाई पालना गर्ने आइमाई हुनुहुन्थ्यो ।
लिजी पनि आयरल्यान्डको स्वतन्त्रताको पक्षपाती हुनुहुन्थ्यो । आयरल्यान्डका जनताको स्वतन्त्रता सङ्ग्रामलाई उहाँ हृदयदेखि समर्थन गर्नुहुन्थ्यो । आयरल्याण्डको इतिहास नै स्वतन्त्रताको निम्ति रगतका छिटाहरूले लतपतिएको इतिहास हो । भूगोलको हिसाबमा नेपालभन्दा आधाजति मात्रै रहेको आयरल्यान्डको जनसङ्ख्या ३०–३५ वर्ष अगाडि लगभग ३० लाखमात्र थियो, तर आइरिस जनताको देशभक्ति साँच्चै अनुकरणीय छ । आइरिस जनता नेपालीहरूजस्तै वीर छन् । जो बेलायती साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । आयरल्यान्ड बेलायतसँगैको देश हो ।
एङ्गेल्सको कुनै सन्तान थिएन । यसकारण, नजिकको एक जना भतिजो आफैसँग राख्नुभएको थियो । त्यस भतिजोको नाम ऐलेन थियो । तर तिनलाई पम्पस भनेर पनि बोलाउने गर्नुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय मजदुर सभा
२८ सेप्टेम्बर १८६४ मा लण्डनमा पहिलो ‘अन्तर्राष्ट्रिय मजदुर सभा’ स्थापना भयो । यसको स्वागत भाषण, नियम–उपनियम र प्रस्तावहरू सबै माक्र्सले लेख्नुभएको थियो ।
‘अन्तर्राष्ट्रिय मजदुर सभा’ को पहिलो सम्मेलन लण्डनमै २५ देखि २९ सेप्टेम्बर १८६५ मा भयो । त्यसैबेला अस्ट्रिया र प्रशिया (जर्मनी) को बिचमा लडाइँ भयो । जर्मनी त्यसबेलासम्म एउटा संयुक्त राज्य भइसकेको थिएन । त्यसमध्ये प्रसिया सबभन्दा बलियो र ठूलो जर्मन राज्य थियो । अस्ट्रिया र प्रसिया दुवै एउटै जातिका हुन् । प्रसिया सबै जर्मन राज्यहरूलाई एक गर्न चाहन्थ्यो । तर अष्ट्रियाको हाब्सवर्ग राजवंश आफूलाई सबै जर्मन जातिहरूको संरक्षक सम्झन्थ्यो । अस्ट्रिया प्रशियाको होहेनजुलर्न राजवंशलाई तल्लो दर्जाको राजवंश मान्दथ्यो र त्यसको तल बस्न अस्ट्रिया मान्दैनथ्यो ।
अस्ट्रियाले बरोबर प्रसियाको एकीकरण गर्ने प्रयत्नलाई बाधा दिइरहेको हुनाले लडाइँ हुनु स्वाभाविक थियो र लडाइँ भई हाल्यो । प्रसियाको विजय अवश्यम्भावी थियो । एङ्गेल्सले त्यस विषयमा आफ्नो राय यसरी प्रकट गर्नुभयो, अब सबै सानातिना राज्यहरूको विशेषता आन्दोलनतिर तानिने छन्, एकदम सङ्कीर्ण स्थानीयतावादलाई बलियो बनाउने प्रभावहरू खतम भएर जानेछन् र पार्टीहरू स्थानीय हुनुको सट्टा एक राष्ट्रिय पार्टी बन्नेछन् ।
लडाइँमा अस्ट्रिया पराजीत भयो र जर्मनी एक बलियो पुँजीवादी सामन्त शाही राज्यमा परिणत भयो । त्यसैबेला एङ्गेल्सले १८६५ मा ‘प्रशियन सैनिक समस्या र जर्मन मजदुर पार्टी’ नाउँको एक पुस्तिका प्रकाशित गर्नुभयो ।
माक्र्सको पुँजीको प्रकाशन
१८६६ को नोभेम्बर महिनामा ‘पुँजी’ को गुरु कापी लिएर माक्र्स हेम्बुर्ग जानुभयो । त्यहाँ माक्र्सले बुर्जुवा (पुँजीवादी) परिवारहरूबाट धेरै सम्मान पाउनुभयो । २४ अप्रिलमा एङ्गेल्सले लेखेको चिट्ठीमा माक्र्सले लेख्नुभयो, “तिमीलाई थाहा छ, शिक्षित बुर्जुवाहरूको बिचमा हामी दुई जनाको प्रसिद्धि त्योभन्दा धेरै ठुलो थियो जतिको हामीले विचार गरेका थियौं ।”
१६ अगष्ट १८६७ मा माक्र्सले ‘पुँजी’ को अन्तिम लेखन सकेर एङ्गेल्सलाई पत्र पठाउनुभयो । त्यस पत्रलाई पछि ‘पुँजी’ मै छापिएको थियो । माक्र्सको पत्रमा लेखिएको थियो
प्रिय फ्रेडरिक,
यो भागको काम अब सकियो । यो सम्भव हुनुको कारण तिमी नै हौ । यसको निम्ति म तिमीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तीनै भागको निम्ति जुन किसिमले धेरै काम गर्नुपर्यो, त्यसमा तिमीले बलिदान नगरेको भए, सायद म कहिले पनि यसलाई पूरा गर्न सक्ने थिइनँ । म भित्रैदेखि धन्यवाद दिएर तिमीलाई अँगालो हाल्छु । अभिनन्दनका साथ, प्रेमपूर्वक मेरो प्यारो साथी’
– माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनीबाट