#हरिबहादुर श्रेष्ठ
फ्रेडरिक एङ्गेल्स कामदारवर्गका गुरु र नेता हुनुहुन्थ्यो । उहाँ २८ नोभेम्बर १८२० को दिन पश्चिमी जर्मनीको बर्मेन (Barmen) उपत्यकाको उपरताल (Wuppertal) सहरमा जन्मनुभएको थियो । उहाँको बुबा एउटा कपडा कारखानाका मालिक हुनुहुन्थ्यो । एङ्गेल्सले आफ्नो पढाइ त्यही सहरको एक पाठशालामा सुरु गर्नुभयो । बालक अवस्थामा आफ्नो जीवन मोजमज्जाले बिते पनि उहाँको बुबा कडा स्वभावको हुनुहुन्थ्यो र उहाँ बुबाको निगरानीमा हुनुहुन्थ्यो ।
उहाँको बुबाले विद्यालयको अध्ययन पूरा नहुँदै एङ्गेल्सलाई उत्तरी जर्मनीको ब्रेमन (Bremen) व्यापारमा लगाउनुभयो । उहाँ आफ्नो बुबाको कारखानामा एक कर्मचारीको रूपमा काम गर्न बाध्य हुनुभयो । तर, फुर्सदको बेलामा उहाँले आफ्नो स्व–अध्ययनलाई निरन्तरता दिइरहनुभयो । उहाँ इतिहास, दर्शन, विदेशी भाषाहरू, साहित्य, भाषा विज्ञान आदि विषय मन लगाएर पढ्नुहुन्थ्यो र आफ्नो ज्ञानलाई सानै उमेरमा अगाडि बढाउनुभयो ।
अग्ला र हृष्टपुष्ट एङ्गेल्सको कपाल खैरो थियो । उहाँ युवा हेगेलवादीहरूको सङ्गतमा पर्नुभयो र त्यसबेलामा प्रगतिशील भावनाबाट प्रभावित हुनुहुन्थ्यो । सङ्गतकै कारण अन्धविश्वास र धर्मबाट उहाँ टाढा–टाढा हुनुभयो । १९ वर्षकै उमेरमा उहाँमा मालिकहरूबाट कामदारहरूलाई गर्ने शोषणको विरोधको भावना जागेको थियो । त्यसबेला ‘युवा जर्मनी’ भनिने युवाहरूको परिवर्तनवादी समूहले ‘जर्मनीको टेलिग्राम’ शीर्षकको एक प्रगतिशील पत्रिका निकाल्थ्यो । एङ्गेल्सले पनि त्यस पत्रिकामा धर्मको नाममा मजदुरहरूलाई शोषण गर्ने मालिकहरूको अत्याचारको विषयमा लेखहरू र ‘उपरतालका चिट्ठी’ (Letters from Wuppertal) शीर्षकमा लेख्नुहुन्थ्यो । त्यसबेला क्रान्तिकारी प्रजातन्त्रवादीहरूको दृष्टिकोणको प्रचार भइरहेको थियो । यसकारण, त्यस पत्रिकामा उहाँले जनताको हितसम्बन्धी लेखहरू र आलोचनात्मक साहित्य लेख्नुहुन्थ्यो ।
सन् १८४१ र १८४२ को बिचमा एङ्गेल्स २२ वर्षको उमेरमा प्रशिया (Prussia) को राजधानी बर्लिनमा पैदल सेनाको सेवामा स्वयंसेवकमा भर्ना हुनुभयो । त्यस तालिमबाट उहाँले बर्लिनको विश्वविद्यालयमा समेत अध्ययन गर्ने अवसर पाउनुभयो । विश्वविद्यालयमा प्राध्यापकहरूको प्रवचन सुन्ने अवसरको कारण तत्कालीन जर्मनीका अनेक विषयमा जानकारी हासिल गर्नुभयो र फायरबाख (Feuerbach) को रचना ‘नागरिकताको आवश्यकता’ को प्रभाव उहाँमा प¥यो । फायरबाखको ‘क्राइस्टको दर्शन’ र त्यसबेला चर्चित प्रतिक्रियावादी दार्शनिकहरूको रहस्यवाद र दुरुहताको विरोध गर्दै अनिश्वरवाद एवं नास्तिकताको भावना प्रवाह गर्नुहुन्थ्यो । पछि मात्र उहाँका पाठकहरूले लेखक एक माझिएको दार्शनिक होइन, प्रवेशिका पनि उत्तीर्ण नभएको युवा सैनिक स्वयम्सेवक हुन् भन्ने थाहा पाए ।
किशोर एङ्गेल्स
एङ्गेल्सको पल्टनको जीवन
सन् १८४१ मा एङ्गेल्स प्रशियाको अनिवार्य सैनिक सेवामा प्रवेश गर्नुभयो । व्यारेकमा उहाँ अनुशासित जीवन बिताउनुहुन्थ्यो । उहाँको पोशाक नियमअनुसार चट्ट मिलेको पेटी र जुत्ता टल्केको हुन्थ्यो । सैनिक विज्ञान, प्रारम्भिक दाउपेच, मोर्चाबन्दी, पुल निर्माण, खाडल खन्ने, हरेक प्रकारका हातहतियार चलाउने, सेनाको रसद–पानीको व्यवस्था, स्वास्थ्यको हेरचाह, उपचार र अस्पताल आदि विषयमा पनि गम्भीर अध्ययन गर्नुहुन्थ्यो ।
एङ्गेल्स १८४२ को अन्ततिर आफ्नो बुबाको बेलायतको मेनचेस्टरको कारखानामा काम गर्न जानुभयो । त्यस कारखानामा एङ्गेल्सको परिवारको पनि हिस्सा थियो । बेलायतमा दुई वर्ष बस्दा उहाँले त्यहाँको पुँजीवादी व्यवस्था, पुँजीपतिवर्गको हानथाप र आन्तरिक बेमेलहरू बुझ्नुभयो । बेलायतको राजनैतिक अर्थशास्त्र, बेलायती काल्पनिक समाजवादी रोबर्ट ओवेन (Robert Owen) र युरोपको सबभन्दा सशक्त मजदुरवर्गको मागपत्रको आन्दोलनको अध्ययन गर्नुभयो । त्यहाँका मजदुर आन्दोलनमा सहभागी पनि हुनुभयो र मागपत्रका आन्दोलनका नेताहरूसँग पनि उहाँ भेटघाट गर्नुहुन्थ्यो । त्यसै अवधिमा उहाँले साम्यवाद, भौतिकवादी दार्शनिक फायरवादको दर्शन, ओवेनको ‘नयाँ आदर्श विश्व’ र थोमस कार्ललाइल (Thomas Carlyle) को ‘बेलायतको स्थिति, भूत र वर्तमान’ पढ्नुभयो ।
एङ्गेल्सको माक्र्ससँगको पहिलो भेट
बेलायत जाने बेलामा एङ्गेल्स कोलोनमा पुग्नुभयो । त्यसबेला कार्ल माक्र्स ‘राइन समाचार’ मा काम गर्नुहुन्थ्यो । दुवै जनाको त्यहीँ भेट भयो र ‘स्वतन्त्र’ बर्लिनबारे उहाँहरूको विचारमा एकरूपता थिएन बरु ‘राइन समाचार’ मा एङ्गेल्सले बेलायतको संवाददाताको रूपमा सहयोग गर्नुभयो । एङ्गेल्स त्यसैबेला पनि ‘जर्मन, फ्रान्स वर्षपत्र’ र ‘स्वतन्त्र मानव’ पत्रिकामा सानातिना लेखहरू लेख्नुहुन्थ्यो । माक्र्स स्पष्ट वक्ता, जालझेल नगर्ने तथा विचार लुकाउन जान्नु हुन्नथ्यो । दुवै जना हेगेल र फायरवादबाट प्रभावित भएर पनि सबै सैद्धान्तिक विषयमा प्रस्ट भइसक्नुभएको थियो । एउटै भेटमा सबै विषय र चिन्तन शैलीमा एकरूपता आउने र बुझ्ने कुरा पनि थिएन ।
बेलायत–पहिलो पुँजीवादी देश
बेलायत संसारमा पहिलो कलकारखाना विकास भएको औद्योगिक देश हो । त्यहाँ १७०० देखि १७३९ सम्ममा खेतीमा ठुलठुला परिवर्तनहरू भए । भूमिसुधार लागु गरियो । स–साना खेतीलाई ठूलो आकारको खेतीमा फेरिदियो । खेती गर्ने पुराना तरिकाको ठाउँमा नयाँ तरिकाले खेती गराइयो । त्यस भूमिसुधारले गरिब किसानहरू बेकार भएर कामको खोजीमा सहरतिर लागे । यस किसिमले बेलायतमा पुँजीवादी व्यवस्था सुरु भएको थियो ।
१७६० देखि १७८० सम्म बेलायतमा नयाँ–नयाँ कलकारखानाहरू खुले । भापले चल्ने कलहरू बन्न थाले, जसले १७–२० जना ज्यामीको काम एक जनाले गर्नसक्ने भयो, रेल र जहाज चल्न थाले । कपडा र अरु मालसामान विभिन्न मुलुकमा लगेर बेच्न थालियो । व्यापार दसौँ दोब्बर बढ्न थाल्यो । यस परिवर्तनलाई औद्योगिक क्रान्ति भनियो ।
२–४ जनाले काम गर्ने कारखाना अब हजाराँै मजदुरहरूले काम गर्ने ठाउँ बन्यो । एक सय जना मजदुरले गर्ने काम कल वा मेसिनले गर्दा एक जनाले गर्नसक्ने भयो । त्यो परिस्थितिले मजदुरहरू बेकार हुन थाले र ज्याला झन्झन् घट्न थाल्यो । पुँजीपतिहरू झन्झन् धनी हुन थाले । स–साना पुँजीपतिलाई पनि ठुलठुला पुँजीपतिले खाइदिए । मजदुरहरू र काम गरेर खाने जनता झन्झन् गरिब हुँदै गए ।
तर, बेलायतको कल–कारखानाको सस्तो सामान विदेश व्यापारको विकासले संसारको धन बिस्तारै बेलायतमा ओइरिन थाल्यो र अर्थशास्त्रको पनि विकास हुन थाल्यो । साथसाथै मजदुर आन्दोलन पनि चर्कँदै गयो । पुँजीपति र मजदुरवर्गबिचको सङ्घर्ष बेलायतको दैनिक समस्या बन्यो । यो औद्योगिक क्रान्तिले सामाजिक क्षेत्रमा पारेको प्रभाव थियो ।
एङ्गेल्सले बेलायतका मजदुरहरूको जीवनलाई पनि गहिरिएर अध्ययन गर्नुभयो । मजदुरहरू बस्ने फोहर गल्ली र झोपडीहरू घुम्नुभयो, आफ्नै आँखाले तिनीहरूको दुःख र कष्टलाई देख्नुभयो । त्यति मात्रै होइन, मजदुरहरूको सम्बन्धमा प्रकाशित सरकारी र गैरसरकारी लेख र कागतपत्रहरू पढ्नुभयो । रात्रिभोज, नाचगान र ऐस–आरामलाई त्यागेर उहाँले गरिब र भोकानाङ्गा जनताको निम्ति केही गर्ने अठोट गर्नुभयो । महिनौँ र वर्षौँसम्मको तपस्याले ‘बेलायतमा मजदुरवर्गको अवस्था’ भने एक सिँगै किताब लेख्न उहाँले सामग्री तयार गर्नुभयो । त्यसैबेला एङ्गेल्स समाजवादी हुनुभयो र बेलायती समाजवादी प्रकाशनको निम्ति लेखहरू लेख्न थाल्नुभयो ।
बेलायतमा पहिलो चोटि २९ महिनाको बसाइँमा एङ्गेल्सले ठूल–ठूला कलकारखानाको विकासले नै बेलायतको राजनैतिक सङ्घर्षहरूको विकास भएको प्रत्यक्ष अनुभव गर्नुभयो । उहाँले बेलायतको उद्योगको रूप र इतिहासको अध्ययनले पुँजीपतिवर्गको उत्पत्ति र विकासको सिद्धान्तलाई बुझ्न थाल्नुभयो । १८४४ मा एङ्गेल्सले ‘राजनैतिक अर्थनीतिको आलोचनाको रूपरेखा’ भन्ने निबन्ध लेख्नुभयो । उक्त लेख माक्र्सको सम्पादनमा निस्केको ‘जर्मन–फ्रान्सेली वार्षिक’ पत्रिकामा १८४४ फेब्रुअरीमा छापियो । त्यस लेखमा उहाँले पुँजीवादी हानथापको फल, माल्थस् भने एक पुँजीवादी अर्थशास्त्रीको जनविरोधी सिद्धान्त, व्यापारिक सङ्कट आदि विषयको विवेचना गर्नुभएको थियो । उहाँले विज्ञान पनि व्यक्तिगत सम्पत्ति हुन गएकोले मानव जातिलाई स्वतन्त्र गर्नुभन्दा पनि त्यसले मानवतालाई नै दास बनाउने शक्तिको रूपमा विकास भएको कुरा बताउनुभयो ।
१८४४ मा एङ्गेल्स बेलायतबाट जर्मनी फर्किने बेला फ्रान्समा कार्ल माक्र्सलाई भेट्नुभयो । यस भेटमा दुवैले आफूलाई प्रस्ट पार्नुभयो र मित्रता स्थायी हुन गयो । दुवैको पत्र व्यवहार पनि सुरु हुन थाल्यो ।
ब्रुनो बावर एक हेगेलवादी युवक थिए । उनको नेतृत्वमा हेगेलवादीहरूको एक समूह थियो । तिनीहरूले इसाई धर्मका परीहरूका कथा ऐतिहासिक होइनन्, काल्पनिक हुन् भनेर धर्ममाथि प्रहार गरेका थिए । यही समूह ‘पवित्र परिवार’ भने उपनामले प्रसिद्ध थियो । अथवा यसलाई ‘बावर बन्धु’ भनेर पनि चिनिन्थ्यो । त्यो समूहले ‘आलोचनात्मक ढङ्गले’ संसारलाई हेर्ने नारा दिएको थियो । साथै तिनीहरूले आलोचनाको शिक्षा दिने किसिमले सबै गतिविधि पार्टी र राजनीतिबाट अलग हुनुपर्छ भने । यो सरासर एक कच्चा र अव्यवहारिक कुरो थियो । माक्र्स र एङ्गेल्सलाई थाहा थियो, राजनीतिबाट कुनै कुरोलाई अलग गर्न सकिँदैन । त्यस प्रकारको मुर्खतापूर्ण र हानि हुने प्रवृत्तिलाई आलोचना गरेर माक्र्स र एङ्गेल्स मिलेर ‘पवित्र परिवार’ अथवा ‘आलोचनात्मक आलोचनाको आलोचना’ शीर्षकको किताब लेख्नुभयो । त्यस किताबमा उहाँहरूले लेख्नुभयो, ‘सर्वहारावर्ग एक राम्रो समाज व्यवस्था कायम गर्न सक्ने शक्ति हो ।’ यो किताब ३०० पेजको थियो । तर, यसको धेरैजसो भाग माक्र्सले लेख्नुभएको थियो ।
बेलायतमा मजदुरवर्गको अवस्था
औद्योगिक क्रान्तिले बेलायतलाई सम्पन्न देश बनाएको देखिन्छ । तर, त्यो सम्पन्नता या झिलीमिली खालि बाहिरी रूप थियो । कामदारवर्गलाई तिनीहरूको कामअनुसार ज्याला नदिएर ज्यालामा गरिएको शोषणले नै बेलायतका दरबार र ठुलठुला भवन बनेका थिए । यो कुरा बेलायतको मजदुरवर्गको उहिलेको अवस्थाले राम्रै देखाउँथ्यो ।
त्यसबेलाको बेलायतको कानुनमा ९ वर्षभन्दा कम उमेरका केटाकेटीहरूलाई कारखानामा काम गराउन मनाही थियो । तर, कानै खाने कारखानाभित्र हेर्न जाँदा ६–७ वर्षका थुप्रै केटाकेटीहरू काम गरिरहेका हुन्थे । यस्ता स–साना केटाकेटीहरूले १२ घण्टाभन्दा बढी काम गर्नुपर्दथ्यो । तिनीहरूका आमा–बाबुको कमाइले उनीहरूको पालनपोषण हुनसक्दैनथ्यो । बच्चाहरू बिहान १–२ कोश टाढाबाट सबेरै उठेर कारखानामा पुग्थे । तिनीहरूलाई कोर्दाले हिर्काएर बिउँझाइन्थ्यो । कहिलेकाहीँ निन्द्रामा नै तिनीहरू घुमिरहेको कलमा पेलिएर मर्थे । ती बच्चाहरू घर पुग्दा रातको ८–९ बजिसकेको हुन्थ्यो र तिनीहरू खान नपाइकन थकाइले निदाइहाल्थे ।
कपास कारखानामा ती बालकहरूलाई मेसिनको तल वा भित्र ठूला मान्छे पस्न नसक्ने ठाउँमा पठाएर कपासको धुलो सफा गर्न लगाइन्थ्यो । यदि तिनीहरू निस्सासिने त्यस साँघुरो ठाउँबाट बाहिर निस्कन खोजेमा कोर्दाले हिर्काइन्थ्यो । अलि बेहोसी हुनासाथ ती केटाकेटीहरू मेसिनको चक्कामा पर्थे र मर्थे । कहीँकहीँ त धरहरा र घण्टाघरजस्ता अग्ला अग्ला धुवाँ निस्किने चिम्नीमा सफा गर्न लगाउँदा ती केटाकेटीहरू धुलोमै निस्सासिएर मर्थे । अझ काम छिटो गराउन तल चुल्होमा आगो बालिन्थ्यो र तिनीहरू गर्मी र निस्सासिएरै भुङ्ग्रोमा खस्थे र मर्थे ।
कोइलाखानीमा पनि स–साना केटाकेटीहरूलाई काममा लगाइन्थ्यो । बिहान सुरुङजस्तो अन्धकार खानीमा पठाएर साँझमात्र तिनीहरूलाई निस्कन ढोका खोलिन्थ्यो । तिनीहरू डराउँदै, सुत्दै नसुतिकन पनि काम गर्न बाध्य हुन्थे । ठुलठुला ज्यामीहरूले काम गर्ने खालका घिनलाग्दा र फोहोर काम केटाकेटीले नै गर्नुपर्ने हुन्थ्यो । आइमाईहरूको अवस्था पनि यस्तै थियो । छोटोमा, तमाम मजदुरवर्गको अवस्था यस्तै थियो ।
काम गर्ने ठाउँ त्यतिकै अस्वस्थकर थियो भने मजदुरहरू बस्ने घरहरू पनि त्यस्तै गन्हाउने, फोहोर र बस्न लायकको हुँदैनथ्यो । लोग्नेमानिस र स्वास्नीमानिसलाई काम गराउने ठाउँ र परिस्थितिले तिनीहरूको नैतिकतामा असर पथ्र्यो । त्यतिमात्र होइन, भोलि काम पाउने हो कि होइन र ज्याला पाउने हो कि होइन जस्ता प्रश्नहरूले मजदुरहरू चिन्तित रहन्थ्यो । बालबच्चाको स्याहार नपुग्दा र आमा–बाबुलाई काममा समयमै जानु पर्दा हजारौँ–लाखौँ दुधे बच्चाहरू अकालमै मर्थे । रोग, भोका र कारखानामा हुने दुर्घटनाहरूले असङ्ख्य मजदुरहरू मर्थे । तर, केही सुधारवादीहरूले यस प्रकारको अमानवीयताको विरोधमा आवाज उठाएर संसदले कानुन पास गर्दा पनि त्यो कागजमै मात्र सीमित हुन्थ्यो । सुधारवादीहरू वास्तवमा शोषण र अत्याचारलाई जरैदेखि फाल्न नचाहेर त्यसमा सानातिना हेरफेरमात्र गर्न चाहन्थे । यसकारण, वर्षाैँ–वर्षसम्म बेलायतका मजदुरहरूको काम गर्ने घण्टा, ज्याला र कामको अवस्थामा कुनै खास परिवर्तन भएन, बरु मजदुरहरू कामको घण्टा घटाउन, ज्याला बढाउन र आफ्नो अवस्थामा सुधार ल्याउन अनेक हडताल र आन्दोलनहरू गर्थे । ती आन्दोलन कहिलेकाहीँ बडो चर्को र हिंसात्मक हुन्थ्यो ।
एङ्गेल्सले मेनचेस्टरमा रहेको आफ्नो बाबुको कारखानामा काम गरेर मजदुरहरूको अवस्था अध्ययन गर्नुभयो । त्यसैको आधारमा लेखिएको उहाँको ‘बेलायतमा मजदुरवर्गको अवस्था’ किताब १८४५ मा प्रकाशित भयो । त्यस किताबमा एङ्गेल्सले मजदुरवर्गको अवस्थालाई मुटु छुने शब्दमा चित्रण गर्नुभएको थियो । तर, त्यस किताबमा एङ्गेल्सले बेलायतको मजदुरवर्गको असहनीय दुःखकष्टको बयानै मात्र गर्नुभएन बरु उहाँले निचोडमा भन्नुभयो, “आखिर मजदुरवर्गलाई अन्तिम मुक्तिको निम्ति लड्न बाध्य गर्दछ र लडाकु सर्वहारावर्ग आफैँले आफ्नो मद्दत गर्नेछन् । यसबाट मजदुरवर्गले एक राजनैतिक आन्दोलन गर्ने नै छ र तिनीहरूले आफ्नो मुक्ति समाजवादमा देख्नेछन् र समाजवादको उद्देश्यको निम्ति लड्नेछन् ।”
एङ्गेल्सको यस किताबले धेरै ख्याति प्राप्त गर्यो । वास्तवमा त्यो किताब पुँजीपतिवर्गको जघन्य अपराधको शिलापत्र थियो । एङ्गेल्सको यस किताबको प्रकाशनबाट कार्ल माक्र्स धेरै उत्साहित हुनुभएको थियो ।
–माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनीबाट