साम्राज्यवादविरोधी, शोषितपीडित जनताको न्यायपूर्ण आन्दोलन र क्रान्तिको सत्यतथ्य समाचारलाई विश्वभर प्रचार गर्ने साहसी पत्रकार अन्ना लुइसको जन्म संरा अमेरिकाको नेब्रास्का राज्यमा सन् १८८५ नोभेम्बर २४ (मङ्सिर ८ गते) मा भएको थियो । जन्मदिनको अवसरमा उनको योगदानको स्मरणले क्रान्तिकारीहरूलाई प्रेरणा मिल्ने अपेक्षा गर्न सकिन्छ ।
अन्नाको पारिवारिक पृष्ठभूमि प्रगतिशील थियो । उनको बुबा समाज सुधारका पक्षधर थिए भने आमा शिक्षित एवम् समुदायमा सक्रिय महिला थिइन् । यसकारण, उनी स्वतन्त्र विचारमा हुर्कन पाइन् ।
अन्ना युवा अवस्थादेखि नै आफ्नो व्यतिmगत स्वार्थलाई नहेरी जनताको हितको निम्ति सोच्थिन् । उनले सन् १९०७ मा २३ वर्षकै उमेरमा सिगारो विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरिन् । विश्वविद्यालयको अध्ययनपश्चात् उनी बालश्रमविरोधी कार्यमा लागिन् । सन् १९१५ मा पश्चिमको वासिङ्टन राज्यको सियाटल महानगर विद्यालयको सुधार समितिको सदस्यसमेत भइन् । त्यसपछि उनी पहिलो विश्व युद्धमा आफ्नो सरकार साम्राज्यवादी नीतिमा लागेको विरोधमा उत्रिन् । त्यसैबेला उनी क्रान्तिकारी र माक्र्सवादीहरूको सम्पर्कमा पुगेकी थिइन् ।
काठ चिर्ने कारखानाका मजदुरहरू वाक स्वतन्त्रताको नीम्ति सङ्घर्षको मैदानमा उत्रिएको बखत अन्ना पनि मजदुरहरूको पक्षमा थिइन् । सन् १९१९ मा सियाटलमा मजदुरहरूले देशव्यापी हडताल गरे । त्यस हडताललाई संरा अमेरिकामा मजदुरहरूको ऐतिहासिक हडताल मानिन्छ । मजदुर सङ्घको समाचारपत्र ‘सङ्घको दस्तावेज’ को सम्पादक अन्ना थिइन् । उनका सशतm सम्पादकीयहरू र ‘आनिज’ नामबाट लेखिएका उनका कविताहरू त्यतिखेर जनतामाझ चर्चाको विषय बन्यो । ‘समाजमा वर्गको उन्मूलन गरी सबै सम्पत्ति एक वर्गको रूपमा मजदुरहरूको नियन्त्रण र तिनीहरूको हितमा हुनुपर्छ’ भन्ने लेख लेखेपछि उनी पहिलो पटक पक्राउ परिन् । पक्राउ परे पनि उनी आफ्नो सिद्घान्तप्रति डगमगाइनन्† निरन्तर मजदुर वर्गको पक्षमा कलम चलाइरहिन् ।
सन् १९१७ को रुसी अक्टोबर क्रान्तिपश्चात् सन् १९१८ मा लेनिनले एउटा भाषण दिनुभएको थियो । अन्नाले उक्त भाषण सम्पादन गरी २० हजारप्रति छपाएर उत्तर–पश्चिम अमेरिका र क्यानडामा वितरण गरिन् । अमेरिकी मजदुरहरूलाई उक्त भाषणले सङ्घर्षको निम्ति थप ऊर्जा प्रदान ग¥यो ।
सन् १९२१ तिर रुसको भोल्गा क्षेत्रमा अनिकाल पर्दा अन्ना भोकमरीमा परेकाहरूलाई सहयोग गर्न रुस पुगिन् । उनी रूसको भोकमरीमा परेकाहरूलाई सहयोग गर्न पुग्ने पहिलो विदेशी थिइन् । उनी पुनः दोस्रोपटक रूस पुगेर मस्कोमै स्थायी बसोबास गर्न थालिन् । पछि उनको रूसी कम्युनिस्टसँग विवाह भयो । अन्नाले रूसमा ३० वर्ष काम गरिन् । विवाहपश्चात् पनि उनले विभिन्न देशमा पुगेर काम गरिखाने जनताको पक्षमा काम गरिन् । श्रमिक जनताको पक्षमा काम गर्दा बटुलेका देश विदेशका अनुभवहरूलाई सँगालेर उनले धेरै पुस्तक निकालिन् । उनकोे सबभन्दा उत्कृष्ट पुस्तक ‘मैले संसार फेरेँ’ सन् १९३५ मा प्रकाशित भयो ।
सन् १९२५ मा हङकङमा भएको ठुलो हडतालबारे समाचार सङ्कलन गर्न अन्ना पहिलो पटक चीन पुगेकी थिइन् । त्यतिखेर चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङबिच पहिलो क्रान्तिकारी एकता भएको थियो । ग्वानझाओमा अन्नाको भेट श्रीमती सन यात सेन अर्थात् सून चिङ्ग लिङ्गलगायत प्रगतिशील जननेताहरूसँग भएको थियो । त्यहाँ उनले आफ्नो अनुभवलाई समेटेर ‘करोडौँ चिनियाँ जनता’ (China’s Millions) नामको पुस्तक लेखिन् । अमेरिकाबाट प्रकाशित उक्त पुस्तक मानिसहरू खोजी खोजी पढ्थे ।
सन् १९२७ मा उनी एक रूसी सल्लाहकारसँग मङ्गोलियाको राजधानी उलाम्बाटोर हुँदै रूसी साइबेरियाली रेलमार्गबाट दोस्रोपटक चीन पुग्दा राष्ट्रवादी पार्टीका सभापति च्याङ काई शेक र वाङ चिङपेईले क्रान्तिलाई विश्वासघात गरिसकेका थिए । साम्राज्यवादीको आडमा विश्वासघातीहरूले जनतालाई दबाउने क्रम जारी राखे । त्यतिखेर माओले आफ्नो पार्टीमा ‘हुनान प्रान्तको आन्दोलन’ बारे जाँचबुझको एक रिपोर्ट पेस गर्नुभएको थियो । अन्नाले त्यस रिपोर्टलाई ध्यान दिई सन् १९२८ मा ‘करोडौँ चिनियाँ जनता’ को दोस्रो भागमा सामेल गरेर ‘मैले संसारलाई फेरेँ’ मा चीनको परिस्थितिबारे लेखिन् ।
स्पेनियाली गणतन्त्र युरोपमा फासीवादले गरेको थिचोमिचोविरूद्घ सङ्घर्ष गर्दै थियो । सन् १९३६ मा अन्ना स्पेन पुगेर केही महिनाको अध्ययनपछि ‘स्पेनमा हातहतियार’ (Spain in Arm’s) भन्ने पस्तक लेखिन् ।
अन्ना सन् १९३७/३८ मा तेस्रोपटक चीन पुग्दा चिनियाँ जनता जापानी आक्रमणविरूद्ध लड्दै थिए । सन् १९४० मा चिनियाँ क्रान्तिकारीहरूको जापानविरोधी प्रतिरोध युद्घ जटिल अवस्थामा पुगेको थियो । त्यसैबेला अन्ना चौँथोपटक चीन पुगिन् । जापानले चीनको मुख्य मुख्य सहरहरू कब्जामा लिइसकेको थियो भने च्याङ काई शेकले जापानसामु आत्मसमर्पण गर्दै थियो । त्यसबेला उनले चोङछिङमा चाउ एन लाईलाई भेटिन् । भेटमा चाउ एन लाईले अन्नालाई चीनको अवस्था सन् १९२७ को भन्दा विकराल भएको जानकारी दिए । त्यसबेला कोमिन्ताङले कम्युनिस्टको नयाँ चौँथो सेनालाई बाटोमै सखाप पार्न खोजेको थियो । अन्नाले चीनको परिस्थितिबारे विश्वका जनतालाई जानकारी दिन फासीवादविरोधी प्रचार अभियान अगाडि बढाइन् । त्यसले संसारसामु चिनियाँ कम्युनिस्टको पक्षमा लोकमत तयार भयो ।
दक्षिणपूर्वी चीनमा जापान हार्न थालेपछि उत्तर कोरिया, चीन, हिन्द चीन, इन्डोनेसिया, मलेसिया, बर्मा आदि ठाउँमा जापानको ठाउँ कम्युनिस्टले लिदै थियो । अमेरिकाले जापानलाई आत्मसमर्पण गराउन ६ अगस्ट, १९४५ मा जापानको हान्शु टापुको हिरोसिमा र दोस्रो आणविक बम जापानको क्युशु टापुको नागासाकी सहरमा खसाल्यो । त्यस आणविक बमले सारा मानव जाति आतङ्कित भए भने जापानको पराजय पनि भयो । अब विश्वमा अमेरिकाको दबदबा बढ्यो ।
जुन १९४६ मा अन्ना पाँचौँ पटक चीन पुगेर माओ त्सेतुङसँग संसारको परिस्थितिबारे अन्तर्वार्ता लिइन् । अन्ना त्यतिखेर ६१ वर्षकी परीपक्व पत्रकार थिइन् । माओले अन्तर्वार्तामा “युद्धको निर्णय एक दुईवटा नयाँ हातहतियारले गर्दैन बरू जनताले गर्छ । साम्राज्यवादीहरूको अणुबम पनि कागजी बाघ हो, हेर्दा डरलाग्दो छ तर तिनीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ” भन्नुभयो । त्यस अन्तरवार्ताले संसारका जनतालाई साम्राज्यवादविरोधी सङ्घर्षमा जुट्न अझ प्रेरित ग¥यो ।
अन्नाले माओसँग अर्को पनि अन्तर्वाता लिनुभयो । सो अन्तर्वातामार्फत माओ त्सेतुङ विचारधारा माक्र्सवाद–लेनीनवादलाई चीनको माटोमा प्रयोग गर्दाको अनुभव भएको र सो विचारधारा सबै देशमा जस्ताको तस्तै लागु नभई हरेक देशको आ–आफ्नै परिस्थितिअनुसार अनुसरण गर्नुपर्ने विषय विश्व कम्युनिस्ट आन्दोलनका नेताहरूले थाहा पाए ।
सन् १९४७ मा चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङबिच नयाँ युद्ध सुरू हुँदा संरा अमेरिकाले कोमिन्ताङलाई सहयोग ग¥यो । त्यसबेला माओ र चाउ एन लाइले येनानलाई कोमिन्ताङ र अमेरिकी साम्राज्यवादविरुद्ध घुमन्ते र नियमितयुद्धमा प्रवेश गराउँदै हुनुहुन्थ्यो । अन्नाले येनानको जीवनशैलीबारे लेखेकी थिइन्, “त्यहाँ कुनै आराम छैन बरु केही बन्दोबस्त छ । जनताको राम्रो विचार, जनता गम्भीर छन् र विश्वलाई हेर्ने दृष्टिकोण छ, यहाँ केही नभएपनि क्रान्तिको कठिन अग्रगमनको भरपर्दो इतिहास देखिन्छ ।”
अमेरिकामा प्रगतिशील पत्रकारको टोलीले ‘संयुक्त श्रम समाचार र टेलीप्रेस समिति’ स्थापना गरी च्याङ काई शेकको समर्थन गर्ने अमेरिकी ट्रयुमान सरकारको नीतिलाई चीनबाट अन्नाले पठाएको समाचार संसारभरी प्रसारण गरी चीनबारे अमेरिकी जनता र संसारलाई सत्यतथ्य बुझाउने काम गरे ।
सन् १९४८ मा अन्ना न्यूयोर्कबाट मस्को गइन् । तर, मस्कोमा उनी पक्राउ परिन । मस्कोमा उनलाई अमेरिकी गुप्तचरको आरोपमा मुद्दा चलाइयो । त्यसकारण, उनी अमेरिकाकै क्यालिफोनियामा बस्न बाध्य भइन् । क्यालिफोर्नियामा बसेर उनले ‘टुडे’ नामको पत्रिका निकालेर सोभियत सङ्घ र अन्य २० देशमा भइरहेको प्रगतिशील आन्दोलनलाई सघाइरहिन् ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना पछि उनले ‘चिनियाँ जनताले चीनमाथि विजय प्राप्त ग¥यो’ (The Chinese Conquer China) शीर्षकको पुस्तक लेखि प्रकाशन र वितरणको बन्दोबस्त गरिन् ।
अन्नामाथि लागेको अभियोग सन् १९५५ मा खारेज भयो । उनलाई लागेको मुद्दा झुट साबित भएपछि पुनः उनको सम्बन्ध संसारका प्रगतिशील व्यक्तिहरू र चीनसँग पनि स्थापित भयो । तर, अन्नाको प्रगतिशील विचारको कारण अमेरिकी सरकारले उनको राहदानीमाथि प्रतिबन्ध लगाई विदेश यात्रालाई रोक लगायो । प्रतिबन्ध लगाए पनि उनको विचार र कलमलाई अमेरिकाले रोक्न सकेन । अन्नाले स्टालिनको विरोधमा लागेको ख्रुश्चेभ गुटलाई प्रहार गर्न स्टालिन युग (The Stalin Era) प्रकाशन गरिन् ।
सन् १९५८ मा अन्ना पुनः मस्को पुगिन् । त्यहाँ उनले एक जनसभामा आफ्नो बाँकी जीवन समाजवादको प्रचारमा लगाउने प्रतिबद्धता जनाइन् । उनी छैटौँ पटक चीन पुगेर ‘म ७२ वर्षको उमेरमा किन चीन आएँ’ (Why I Come to China at the Age of 72) लेखेर वितरण गरिन् । पछि सो लेख जर्मनी, इटालियाली र स्वीडेली भाषामा अनुवाद भएर प्रकाशित भयो ।
अन्नाले जीवनको पछिल्लो समयको चीन बसाइँमा सन् १९५८ देखि सुरू भएको जनकम्युनको अध्ययनमा ध्यान दिइन् । सन् १९६० मा चीनका कम्युनको भ्रमणपछि ‘जनकम्युनको उत्थान’ (The Rise of the People’s Commune) लेखिन् । त्यसले चीनको जनकम्युनबारे संसारलाई बुझाउन सहज भयो ।
सन् १९५९ मा पेइचिङ जन दैनिक (The Rise of the People’s Commune) को आयोजनामा १९ देशका लेखक र पत्रकारहरू पहिलोपटक तिब्बतस्थित ल्हासा पुगे । अन्ना पनि त्यसमा सहभागी थिइन् । उनले ल्हासाको पोताला दरबार, गाउँ, जनताका सभा, आलोचनासभा र सांस्कृतिक गतिविधि अवलोकन गर्नुका साथै मुतm दास र भूदासहरूसँग छलफल पनि गरिन् । त्यसैको आधारमा ‘तिब्तका भू–दासहरू उठ्दा’ (When Serfs Stood up in Tibet) पुस्तक लेखिन् । सन् १९६० मा त्यसको पहिलो प्रकाशन भयो । उनले ‘चीन–भारत सीमा विवाद’ लगायत संसारका समसामयिक विषयमा पनि लेख्दै गइन् ।
अन्ना सन् १९६१ मा लाओस पुगिन् । त्यहाँ उनले अमेरिकी साम्राज्यवादले भियतनाम, कम्बोडिया र लाओसलाई आफ्नो मुठीमा पार्न खोज्दा कसरी लाओसका जनता र नेताले त्यसको जवाफ दिए भन्ने जानकारी ‘लाओसमा पैसा र हिंसा’ (Cash and Violence in Laos) पुस्तक प्रकाशन गरेर प्रस्ट पारिन् ।
अन्ना चिनियाँ नेताहरू, बुद्धिजीवी, चिनियाँ जनताबाट उच्च सम्मान पाएकी व्यक्ति थिइन् । विश्वका कामदार जनताको पक्षमा उनले सदैव कलम चलाइन् । सन् १९७० को मार्च २९ गते ८५ वर्षको उमेरमा चीनको पेइचिङमा उनको निधन भयो । उनले ६० वर्ष पत्रकारितामा बिताइन् । उनी हाम्रासामु नभए पनि उनका विभिन्न पुस्तक, लेखहरू, अझै जीवितै छन् । उनले सत्यको पक्षमा सदैव आवाज उठाइरहिन् । अनेक दुःख कष्ट सहेर जनताको पक्षमा उभिने एक साहसी र निडर पत्रकारको रूपमा क्रान्तिकारीहरूको लागि अन्ना प्रेरणाको स्रोत बनिरहनेछिन् ।