माइकल ई. टिगार/जोन मागी
तीन मुद्दा : पाँच प्रतिवादी
मुद्दाको बेला अदालत र वादी पक्षले प्रमाणहरूलाई तीन चरणमा विभाजित ग¥यो । पहिलो चरणमा पाँचै प्रतिवादीहरूको आगलागीअघिको समयको पृष्ठभूमि र क्रियाकलापको बारेका प्रमाणहरू अदालतले सुन्यो । अदालतको कारबाही बर्लिनमा सारिएपछि भएको दोस्रो चरणमा आगलागी र त्यससँग सम्बन्धित घटना र विवरणहरूबारेका प्रमाणहरू अदालतसामु पेस गरिए । तेस्रो चरण स्पष्टरूपमा राजनैतिक थियो । यो चरणमा पेस भएका प्रमाणहरू प्रतिवादीहरूको तथाकथित ‘प्रवृत्ति’ र नाजीद्वारा आगो लगाइएको कुराको नाजी अधिकारीहरूद्वारा खण्डनसम्बन्धी थिए ।
मुद्दाको प्रायः सबै समय त्यहाँ उपस्थित आर्थर गारफिल्ड हेजले अमेरिकी अदालती कारबाही र जर्मनीको त्यो कारबाहीमा देखिएका फरकहरू उल्लेख गरेका छन् । इजलासमा रातो पोशाक र टोपी लगाएर न्यायाधीश बोन्गरको अध्यक्षतामा ६ जना न्यायाधीशहरू बसेका थिए । मञ्चको अर्को अलि उँचो भागमा वादी पक्षहरू बसेका थिए भने प्रतिवादीहरूलाई दायाँतर्फ रेलिङ लगाइएको बन्द स्थानमा राखिएको थियो । उनीहरूका वकिलहरू नजिकै बसेका थिए साथै सुरक्षाकर्मीहरू पनि उनीहरूको नजिकै थिए ।
त्यसबेलाको जर्मनीको अदालती कारबाहीको ढाँचा युरोपेली नागरिक कानुनअनुसार हुन्थ्यो । मुद्दाको पूर्व छानबिन र त्यसबाट तयार ३२ भागको प्रतिवेदन मुद्दाको प्रमुख आधार थियो । वकिलहरूले सुरुवाती बयान दिँदैनथे । छानबिनको प्रतिवेदनको आधारमा साक्षीहरूलाई अदालतमा उपस्थित गराउन सकिन्थ्यो अथवा एउटा विषयमा बोल्न साक्षीलाई उपस्थित गराउने–फर्काउने तथा अर्को विषयमा आवश्यक परे उसैलाई पुनः बोलाउन सकिन्थ्यो । साक्षीले बोल्दै गर्दा उसको कुरा अर्को साक्षीसँग बाझिएमा बयान रोकेर अर्को साक्षीलाई पनि त्यहाँ झिकाउने अधिकार न्यायाधीशहरूलाई थियो । यदि एउटै घटना धेरै जना साक्षीले देखेको बताइएमा सबै साक्षीहरूलाई एकसाथ बोलाएर एउटा निष्कर्ष ननिस्कुञ्जेल न्यायाधीशहरूले समूहमा बयान लिन सक्थे । छानबिनको प्रतिवेदनको आधारमा साक्षीहरूसँग प्रश्न गर्नेमा न्यायाधीश बौन्गर प्रमुख थिए । कुनै कुरा वा विषय प्रतिवेदनको कुन भागमा छ भनेर न्यायाधीश र वादी पक्षबिच बेलामौकामा छलफल पनि हुने गथ्र्याे ।
युरोपेली अदालती कारबाहीमा सुनेको कुरा पनि अदालतमा राख्न पाइन्थ्यो । साक्षीले आफूलाई अरू कसैले भनेको वा अरूको कुरा सुनेको भनेर पनि बयान दिन पाइन्थ्यो । साक्षीको व्यक्तिगत ज्ञानलाई हेरेर त्यो सुनेको कुरालाई मूल्याङ्कन गरिन्थ्यो तर समग्रमा अदालती कारबाहीमा त्यसको पनि भूमिका रहने गथ्र्याे ।
यो प्रक्रियाले गर्दा मौकाको फाइदा उठाउँदै कारबाहीलाई आफ्नो पक्षमा फर्काउन प्रतिवादी वकिललाई गा¥हो पर्दथ्यो । हेज अगाडि लेख्छन् : “हाम्रो (अमेरिकी) तरिकाभन्दा फरक यहाँवकिलको भूमिका गौण हुने गर्छ । प्रतिवादीहरूको भूमिका मुख्य हुन्छ । जर्मनीमा न्यायाधीशले आफ्नो प्रश्न गर्न सिध्याएपछि प्रश्न सोध्नका लागि प्रतिवादी वकिलहरूलाई भन्छन् । त्यसपछि प्रतिवादीहरूलाई बोल्ने अवसर दिइन्छ मुद्दामा डिमिट्रोनले यो मौका कहिल्यै खेर जान दिएनन् । उनले आफ्नो लागि नियुक्त गरिएका वकिल टेइचर्ट (Telichert) को ‘मह र विष’ दुवै आफूलाई नचाहिने कुरा अदालतसमक्ष राखेका थिए । उनले आफ्नो मात्र नभई कम्युनिस्ट पार्टीकै बचाउ गर्नु आफ्नो मनसाय भएको बताए, “म त्यसैको लागि त यहाँ उभिएको छु डिमिट्रोभ, पोपोभ र टानेभसँग घटनाको समयमा आफू घटनास्थलमा नभएको पक्का प्रमाण थियो । उनीहरूलाई घटनासँग जोड्ने र अपराधमा सामेल बताउने साक्षीहरू कि त पूर्व तयारी बयान पढ्न सिकाइएका थिए या त नाजी दमनबाट त्रस्त अपराधीहरू यस हिसाबले विश्वास गर्न नसकिने । टोर्गलर, राइखस्टागका सदस्यको नाताले भवनमा सजिलै आउजाउ गर्न सक्षम भए पनि घटनाको समयमा घटनास्थलको वरिपरि देखिएका थिएनन् ।
भान डेर लुबका वकिलले कुनै भूमिका निर्वाह गर्न सकेनन् । उनको पक्षले सोधपुछका क्रममा अपराध कबुल गरेका थिए । मुद्दाभरि भान डेर लुब कुर्सीमा थचक्क झोक्र्राएर बसेका थिए, हेजका अनुसार उनी ‘साँढे जस्ता देखिन्थे’ र ‘हेर्दा हेर्दै मासुको थुप्रोमा परिणत होला जस्तो’ अवस्थामा थिए । उनका वकिल डा. स्वेफर्टले समय समयमा उनको अनुहारबाट ¥याल पुछ्ने गर्थे । भान डेर लुबलाई कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित देखाउने राज्यको प्रयास फितलो थियो । भान डेर लुबबाट रातो परिचयपत्र बरामद भएको लेखिएको थियो तर जर्मन कम्युनिस्ट पार्टीको परिचयपत्र गाढा नीलो रङ्गको हुन्थ्यो । रातो परिचयपत्र त राष्ट्रिय समाजवादी पार्टी (नाजी) को थियो ।
अदालतले प्रश्न सोध्दा भान डेर लुबका जवाफ प्रायः एक शब्दका हुन्थ्यो वा अस्पष्ट हुन्थ्यो । घटनामा संलग्नता र प्रहरीलाई दिएको अपराध कबुल बयानका बारे सोधिएको प्रश्नमा उनले अमकिँदै स्वीकार गरेका थिए । समय–समयमा उनी आफूले गरेका र भनेका कुरा सम्झन नसकेझैँ दोधारे स्थितिमा रहन्थे । तर, मुद्दाको बेला एक समयमा भने भान डेर लुब चनाखो भएका थिए । नाजी युवा दस्ता ‘आँधीबेहरी दस्ता’ (Storm Trooper) का नेता तथा बर्लिन प्रहरीका अधिकारी काउन्ट वल्फ भोन हेल्डोर्फलाई सन् १९३३ अक्टोबर २० का दिन साक्षीको रूपमा अदालतमा बोलाइयो । उनले आगलागीको छानबिन गरेका थिए भने ‘खैरो किताब’ ले आगलागीमा उनकै हात भएको उल्लेख गरेको थियो । उनलाई प्रतिवादीहरूतर्फ हेर्न र तीमध्ये कसैलाई चिन्छन् वा चिन्दैनन् निश्चित गर्न भनियो । भान डेर लुबले टाउको उठाएनन्, न्यायाधीश बोन्गरले भने पनि उनी झोक्राइ नै रहे । यत्तिकैमा भोन हेल्डोर्फ कराए : “ओइ । टाउको उठा । चाँडो ।” भान डोर लुबले झटपट चनाखो भएझैँ टाउको उठाए । वामपन्थी सञ्चारमाध्यमका अनुसार “मानी उनले आफ्नो मालिकको आदेश सुनेका हुन् ।”
नाजी नेताहरू र बुल्गेरियाली प्रतिवादीहरू एउटा कुरामा भने सहमत थिए, यो मुद्दा राजनैतिक प्रकृतिको थियो । अभियोगको सफल प्रतिवादका लागि यो तथ्यलाई बुझेर नाजी शक्ति र प्रभावसँग पनि जुझ्नु जरुरी थियो । डिमिट्रोभले पहिलो साक्षी आएदेखि मुद्दाको अन्तिम समयसम्म यही सत्य बुझेर प्रतिवाद गरेका थिए । मुद्दाको अदालती कारबाहीभरिमा उनको प्रस्तुति अब्बल थियो । यो मुद्दालाई राजनैतिक भन्नुपर्ने के कारण छ त ? पहिलो कारण, आरोपितमध्ये चार जनालाई कम्युनिस्ट पार्टीको सदस्य भएको कारणले मुद्दामा तानिएको थियो, उनीहरूविरुद्धको प्रमाणको आधारमा होइन । ‘आगलागी कम्युनिस्टहरूले गरेको’ भन्ने नाजी एकोहोरो आरोप (रट) नै मुद्दाको मुख्य विषय थियो । टोलर, डिमिट्रोभ, पोपोभ र टानेभलाई निर्दोष घोषणा गर्दा पनि न्यायाधीश बोल्गरले आगलागीमा कम्युनिस्ट हात भएको देखिएको बताए । दोस्रो कारण मुद्दाको कारबाहीभरि नाजीहरू ‘खैरो किताब’ लाई गलत सावित गर्न लागिपरे । ‘खैरो पुस्तक’ लाई छैटौँ प्रतिवादीको उपमा दिइएको थियो । नाजीहरूले आफ्नो कुरा अदालतमात्र होइन पूरै जर्मन जनता र विश्व सञ्चार माध्यमलाई सुनाउन चाहेका थिए । आफ्नो विचार राख्न ठूल्ठूला नाजी नेताहरू नै अदालतमा आएका थिए । डिमिट्रोभले मुद्दालाई राजनीतीकरण गरेनन् बरु उनी आफूने पत्ता लगाएका कुराहरूमा केन्द्रित रहे ।
मुद्दाको पहिलो दिनदेखि नै डिमिट्रोभले अदालती कारबाहीमा आफ्नो छाप छोड्न खोजेका थिए । उनी आफ्नो र साथीहरूको नाम उल्लेख गर्ने प्रत्येक साक्षीहरूलाई प्रश्न गर्थे प्रायः उनले साक्षी ‘कुन पाटीसँग सम्बन्धित हो’ भन्ने प्रश्नबाट कुरा सुरु गर्थे । यसको उत्तरमा धेरैजसोले दक्षिणपन्थी पार्टी’ भनी जवाफ दिन्थे । न्यायाधीश बोन्गरले यो प्रश्नको आवश्यकताबारे सोध्दा डिमिट्रोम भन्थे, “यो साक्षीलाई पैसा दिने को हो म जान्न चाहन्छु ।” यसले साक्षीको अपमान भएको भन्दै न्यायाधीश डिमिट्रोभलाई नसिहत दिन्थे । अरू त्यस्तै सोधपुछपछि न्यायाधीशले डिमिट्रोभलाई प्रश्न गर्नबाट रोक लगाउँथे ।
बयान दिने क्रममा डिमिट्रोभले आफूलाई सोधिएका प्रश्नहरूको उत्तर दिनुभन्दा पनि आफ्नो निर्दोषिताबारे बोल्ने जिकिर गरेका थिए । बयानमा उनले घटनाको बेला आफू बर्लिनमा नरहेको, टोर्गलर र भान डेर लुबलाई आफूले नचिनेको र जर्मनीमा बुल्गेरियाली कम्युनिस्ट पार्टीको तर्फबाट आएको बताएका थिए । प्रश्नहरूको उत्तर पनि उनी दृढतापूर्वक दिन्थे र मुद्दाको पक्षपाती व्यवहारलाई चुनौती दिन्थे । समय–समयमा न्यायाधीश बोनारले उनलाई नसिहत दिनुका साथै एक–दुई दिनको लागि अदालतमा उपस्थित हुनबाट रोक लगाउथे ।
उनको कोठाबाट बरामद भएको भनिएको बर्लिनको नक्सा आफूलाई फसाउन राखिएको भनेर डिमिट्रोभले भनेपछि न्यायाधीश बोनारले भने, “प्रहरीलाई आक्षेप लगाउन म तपाईँलाई अनुमति दिन्न ।” नाजीहरूले नै आगलागी गरेको भन्ने डिमिट्रोभको दाबीपछि न्यायाधीशले भने, “डिमिट्रोभ, तपाईं आफ्नो मर्यादामा रहनुस् र शान्त हुनुस् । यदि त्यसो गर्न सक्नुहुन्न भने यहाँ अदालतमा धेरै बेर रहनसक्नु हुन्न ।” जवाफमा डिमिट्रोभले भने, “म बोल्न बाध्य छु । म कम्युनिस्ट विचारधारामा विश्वास राख्छु र यो कुरा म अस्वीकार गर्दिनँ । त्यसैकारण, म व्यक्तिवादी आतङ्कको विरोधी हुँ । छानविनका बेला न्यायाधीश भोग्टले मलाई आतङ्ककारी र दुस्साहसी देखाउन खोजेका थिए ।” यी कुराहरू आफ्ना वकिलमार्फत राख्ने न्यायाधीशको आदेशको जवाफ दिँदै डिमिट्रोभले भने “मैले पहिल्यै भनिसकेँ यो वकिललाई म चिन्दिनँ । मेरो प्रतिनिधित्व म आफैँ गर्छु ।” र उनले आफ्नै प्रतिनिधित्व गरे । सो अदालती कारबाहीका मुख्य घटनाहरूमा नाजी युवा दस्ताका नेताहरू, प्रहरी अधिकारीहरू हाइन्स र भोन हेलडोर्फ र पछि गोयरिङ र गोयबल्सको उपस्थिति थियो । ‘खैरो किताब’ ले आगलागी गोयरिङ र गोयबल्सले नै गराएको दाबी गरेकाले उनीहरूलाई ‘आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने’ वादी पक्षका प्रमुख डा. वेर्नरको तर्क थियो ।
नोभेम्बर ४ को दिन गोयरिङलाई अदालतमा उपस्थित हुन आदेश दिइयो । अदालत परिसरमा सुरक्षा बढाइयो । सरकारी कर्मचारीहरूलाई उपस्थित हुन उर्दी जारी गरियो । एक घण्टा अदालतलाई कुराएपछि साढे दसमा गोयरिङ अर्ध–सैनिक पोसाकमा अदालत छिरे । सबै जर्मनहरूले हिटलरी अभिवादन गरे । डा. बौन्गरले डा. वेर्नरको भाषा बोल्दै ‘खैरो किताब’ को आरोपलाई लिएर सफाइ पेस गर्न गोयरिङ र गोयबल्सलाई अनुमति दिइएको बताए । त्यसपछि दर्शकहरूको समर्थनको हल्लाबिच गोयरिङले तीन घण्टा बोले ।
अब गोयरिङलाई प्रश्न सोध्ने पालो डिमिट्रोभको थियो । उनले प्रश्नहरूको वर्षा गरे । उनका प्रश्नहरूको बनोटले ‘कम्युनिस्टहरूको अपराधमा संलग्नता भएको’ भन्ने गोयरिङको आरोप हडबड र गलत छानबिनमा आधारित रहेको देखाउन खोजेको थियो । गोयरिङको रिसको पारो चढ्न थाल्यो । उनले आफूलाई ‘जर्मनीको कम्युनिस्ट पार्टी र यहाँ राइखस्टागमा आगो लगाउन आएका विदेशी कम्युनिस्ट अपराधीहरूसँग मात्र मतलब’ भएको बताए । दर्शकहरूबाट समर्थनमा ताली आयो । डिमिट्रोभले जवाफ दिए : “ओहो । अति राम्रो कुरा । कम्युनिस्ट पार्टीविरुद्ध लड्ने तिमीहरूको अधिकारजस्तै तिमीहरूको सरकारको विरुद्ध भूमिगत भएर लड्ने अधिकार जर्मन कम्युनिस्ट पार्टीलाई छ । यो लडाई कसरी लडिन्छ, यो कम्युनिस्ट पार्टीले निर्धारण गर्छ, तिमीहरूको कानुनले होइन ।” न्यायाधीश बोन्गरले बिचमा रोक्दै भने : “डिमिट्रोय, म तपाईलाई यहाँ कम्युनिस्ट प्रचार गर्ने अनुमति दिन्नँ ।” जवाफमा डिमिट्रोभले गोयरिङले नाजी पार्टीको प्रचार गरिरहेको बताए । भनाभन अझै चल्दै थियो ।
गोयरिङ : यहाँ हेर, म जर्मन जनतालाई थाहा भएको एउटा कुरा भन्छु । उनीहरूलाई थाहा छ, तिमी यहाँ अपमानजनक व्यवहार गर्दै छौ । तिमीबाट अपमानित हुन म यहाँ आएको होइन ।
डिमिट्रोभ : तपाईं एउटा साक्षीको रूपमा यहाँ आउनुभएको हो ।
गोयरिङ : मेरो नजरमा त तिमी एक दुष्ट हौ, जसलाई जेलमा कोच्नुपर्छ ।
डिमिट्रोभ : एकदम राम्रो । म सन्तुष्ट भएँ ।
न्यायाधीश बोनगरले डिमिट्रोभलाई फेरि बिचमा रोक्दै प्रचारबाजी गरेको आरोप लगाए तर गोयरिङलाई भने केही भनेनन् । डिमिट्रोभले फेरि प्रश्न गर्न खोजे तर न्यायाधीशद्वारा उनलाई बस्न आदेश दिइयो । बस्दाबस्दै उनले अन्तिम प्रश्न गरे, “मेरा प्रश्नसँग सा¥है डर लाग्छ हो तपाईंलाई मन्त्रीज्यू ?” गोयरिङको रिस सा¥है बढिसकेको थियो । उनी पड्किए, “जब मेरो कब्जामा आउने त्यतिबेला तिमी डराउनेछौ । यो अदालतको कारबाहीबाट तिमीलाई बाहिर त आउन दिऊँ अनि म देखाउँला, तिमीलाई डर के हो, ठग ।” न्यायाधीशले आदेश दिए, डिमिट्रोभलाई अदालतबाट तीन दिनको लागि निकाला गरिएको छ । अहिल्यै उनलाई बाहिर निकाल्नू ।”
यस्तो घटना विश्व इतिहासमा अद्वितीय छ मुद्दाका साक्षीले प्रतिवादीलाई साँच्चिकै ज्यान मार्ने धम्की दिएको थियो । डिमिट्रोभद्वारा गोयरिङको प्रश्न सोधाइको असर अदालतमा र विश्वभर सनसनीपूर्ण रह्यो । भोलिपल्टको एक स्वीस रुढीवादी पत्रिका ‘नयाँ जुरिच समाचारपत्र’ (Neue Zurcher Zeitung) ले गोयरिङको ‘मूर्खतापूर्ण रिस प्रदर्शन’ व्याख्या गर्दै ‘एकै झट्कामा सम्पूर्ण मुद्दालाई मूल्यहीन बनाएको निष्कर्ष निकाल्यो ।
चार दिनपछि अदालतमा गोयबल्सको उपस्थिति त्यति नाटकीय थिएन तर यतिबेला पनि डिमिट्रोभले आफ्नो स्थिति बलियो बनाए । वादी पक्षले कम्युनिस्टहरूको हात रहेको भनी दाबी गरे पनि गोयबल्सले केही समयअघि आगलागीमा सामाजिक समाजवादीको संलग्नता रहेको भनेकाले यो दोहोरो कुरा किन भनी डिमिट्रोभले प्रश्न गरे । गोयरिङको बयानको घटनाबाट केही कुरा सिकेका न्यायाधीश बोन्गरले डिमिट्रोभका प्रचारबाजीबाट प्रेरित प्रश्नहरूको उत्तर दिन गोयबल्स बाध्य नभएको बारम्बार सम्झाइरहेका थिए । तर गोयबल्सले त्यो सल्लाह मानेनन् । टोर्गलरले पनि गोयबल्सलाई प्रश्न गरे र जर्मन कम्युनिस्टहरूले हिंसा होइन बरु हडताल र राजनैतिक अन्तरक्रियाको मार्ग अवलम्बन गरेको प्रस्ट पारे । आफ्नो बयानको अन्त्यमा गोयबल्सले ‘खैरो किताब’ का ‘झूटा आरोपहरू’ बारे ‘विश्व सञ्चार माध्यमहरूले नबोलेकाले’ आफू अदालतमा आउनुपरेको बताएका थिए ।
मुद्दाको अन्त्यमा सबुत प्रमाणहरूको अध्ययनपछि न्यायाधीशहरूले लामो फैसला सुनाए । डेर लुबलाई दोषी करार गरी मृत्युदण्डको सजाय सुनाइयो भने अरूलाई निर्दोष साबित गरियो । फैसला पत्रमा भनिएको थियो, “वादी पक्षका टोर्गलर र बुल्गेरियालीहरू (डिमिट्रोभ, टानेभ र पोपोभ) को संलग्नता साबित नभएता पनि ती अपराधीहरू कुन खेमामा छन् त्यो प्रस्ट छ, त्यसमा कुनै शङ्का छैन । राइखस्टागको आगलागी निश्चितरूपमा राजनैतिकरूपमा अभिप्रेरित थियो । अपराधको प्रकृति र तरिका हेर्दा यसको उद्देश्यमा निहित महत्व र हिंसा प्रस्ट हुन्छ । यसको उद्देश्य सत्ता कब्जा नै हुनुपर्छ । …. यो घटनालाई प्रयोग गरी सरकार र संविधानलाई पल्टाएरै सत्ता कब्जा गर्ने सोच उग्र वामपन्थी खेमाको मात्रै हुनसक्छ । यस्तो देशद्रोही उद्देश्य कम्युनिस्ट पार्टीको भएको घोषणा भइसकेको पनि छ त्यो पार्टी नै देशद्रोही हो ।