“… अफ्रिका महादेशको प्रतिव्यक्ति आम्दानी दक्षिण एसियाको भन्दा एकतिहाइ कम छ ।… अफ्रिकाका ८८ करोड जनतामध्ये आधा मानिसहरू दिनको १ डलरभन्दा कममा जीवन गुजार्न बाध्य छन् । अफ्रिकाको कूल गार्हस्थ उत्पादन ४ खर्ब २० अर्ब डलर छ, विश्वको कूल गार्हस्थ उत्पादनको १.३ प्रतिशतमात्र मेक्सिकोको भन्दा कम छ । विश्वव्यापी व्यापारमा अफ्रिकाको लगानी १ प्रतिशतभन्दा कम छ… । १९७० यता प्रतिव्यक्ति आम्दानी बर्सेनि घट्दै गएको एउटामात्रै क्षेत्र हो, अफ्रिका । एउटैमात्रै क्षेत्र जहाँ विद्यालयमा विद्यार्थीको भर्ना घट्दै छ र ५ जनामा २ जना अफ्रिकी र आधा अफ्रिकी महिला निरक्षर छन् ।”
‘अफ्रिकाको अवस्था’ (The State of Africa) पुस्तकमा लेखक मार्टिन मेरेडिथले अफ्रिकाको आर्थिक स्थितिलाई समग्रमा यसरी व्यक्त गरेका छन् ।
प्राकृतिक सौन्दर्य, खनिज पदार्थ, हीरा, सुन, तामा कोल्टान (Coltan), अरू बहुमूल्य धातुहरू, पेट्रोलियम पदार्थ र कृषि उत्पादन व्यापारको प्रचुर सम्भावना रहेको अफ्रिकाको अवस्था किन यस्तो छ अहिले ? सन् १९५० को दशकमा युरोपेली उपनिवेशबाट मुक्त भएका अफ्रिकी जनताको उन्नतिको आशामा किन र कसरी तुषारापात भयो ? मेरेडिथले यी कुरालाई खोतल्ने जमर्को गरेका छन् । विदेशी संवाददाताका रूपमा १५ वर्ष अफ्रिकामा बिताएका उनले स्वतन्त्रताको समयदेखि अहिलेको समयसम्म, झन्डै ५० वर्षको कालखण्डलाई उल्लेख गरेका छन् ।
अफ्रिकाका प्रायजसो देशहरूको स्वतन्त्रतापछिका मुख्य मुख्य घटनालाई समयक्रमअनुसार बयान गरिएको यो पुस्तकले अफ्रिकाले भोगेका थिचोमिचो, स्वतन्त्रताको उमङ्ग, स्वेच्छाचारी शासन, युद्ध र हिंसाको तस्बिरलाई देखाउन खोजेको छ ।
“… अफ्रिका निकै विविधताले भरिपूर्ण महादेश भए पनि अफ्रिकी राष्ट्रहरूबिचमा धेरै कुरा समान छन्, उपनिवेशको रूपमा उदय भएको इतिहासमात्रै नभई ती राष्ट्रहरूले भोगेका विपत्ति र कठिन परिस्थितिमा पनि समानता छ ।…”
गोल्डकोस्ट (Gold Cost) भनिने बेलायती उपनिवेशमा स्वतन्त्रताको लागि भएको सङ्घर्ष र अन्ततः १९५७ मा उपनिवेशबाट मुक्त भई घाना (Ghana) को स्थापना भएको कालखण्डबाट लेखकले पुस्तक सुरु गरेका छन् । ‘अफ्रिका अफ्रिकीहरूका लागि’ र ‘बहुसङ्ख्यकको शासन’ को नारा लिएर त्यसपछि एकएक गर्दै उपनिवेशबाट मुक्तिका लागि अरू स्थानमा पनि सङ्घर्ष हुँदै गए र नयाँ राष्ट्रहरूको जन्म हुँदै गयो ।
गोराहरूको उपनिवेशबाट मुक्तिपछि आफ्नो भूमिमा आफ्नै शासन हुने, आफ्नो अवस्था सुध्रिने आशा अफ्रिकीहरूमा थियो । कृषि र प्राकृतिक स्रोतले परिपूर्ण अफ्रिकामा औपनिवेशिक शोषण समाप्त भएपछि सम्पूर्ण अफ्रिकी महादेश नै सम्पन्न हुने अफ्रिकीहरूको सपना गलत हुनै नसक्ने प्रतीत हुन्थ्यो । तर, आधा शताब्दीपछि आज अफ्रिकाको दयनीय अवस्था आउनमा को–को दोषी छन् वा त्यो सपना पूरा गर्न कसको तर्फबाट चुक भयो यस पुस्तकले केलाउने जमर्को गरेको छ ।
अफ्रिकाको प्रतिकूल मौसम, विदेशी शोषण र हस्तक्षेप, स्वेच्छाचारीहरुको दमन र लुट, मुट्ठीभर मानिसबाट सरकारी ढुकुटीमा मनपरी रजाइँ, भ्रष्टाचार, जातीय, क्षेत्रीय र धार्मिक कलहलाई अफ्रिकी दुरवस्थाको कारक भनी चित्रण गरिएको छ ।
यस पुस्तकलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा उपनिवेशबाट स्वतन्त्र हुनका लागि अफ्रिकी जनताले गरेको सङ्घर्षलाई सारमा व्याख्या गरिएको छ । दोस्रो विश्वयुद्धको अन्त्यको समयमा अफ्रिकामा चारवटामात्र स्वतन्त्र राष्ट्र थिए – बेलायती सेना र हस्तक्षेपले आक्रान्त र बदनाम राजा भएको मिश्र, अमेरिकाबाट मुक्त भएर आएका दासहरूले चलाएको लाइबेरिया, इसाई राजा भएको इथियोपिया र दक्षिण अफ्रिकी सङ्घ । यीबाहेक अरु सबै क्षेत्र युरोपको उपनिवेश थियो – बेलायत, फ्रान्स, इटाली, बेल्जियम, स्पेन र पोर्चुगल । १९ औँ शताब्दीको अन्त्यमा अफ्रिकामा कब्जा गर्ने होडबाजीमा यी युरोपेली राष्ट्रहरूले अफ्रिकालाई आपसमा बाँडेर लिए । टेबलमा नक्सा राखेर उपनिवेशहरूमा सिमाना कोरिए । यसरी सम्बन्धित स्थानमा नगई युरोपमै बसेर सीमा कोरिएका अहिले अफ्रिकामा प्रस्टै देखिन्छ – देशहरूबिचको असामान्य सीधा सिमानाहरू । यी असामान्य सिमाना कोर्ने कामले गर्दा आदिवासी अफ्रिकी राज्य वा कबिलाहरूमा ठूलै असर प¥यो । एउटै कबिला वा जातिको राज्य फरक–फरक राष्ट्रको उपनिवेश बने भने फरक–फरक जाति र राज्यहरु एउटै उपनिवेशमा गाभिए । एउटै जाति सोमालीहरूको पुरानो छुट्टियो – एउटा भाग इटालीको उपनिवेश, अर्को बेलायत र अर्को फ्रान्सअन्तर्गत । यता सुडान र चाडजस्ता उपनिवेशहरूमा मुसलमान र अफ्रिकी जातिहरू एउटै उपनिवेशमा गाभिए । अफ्रिका कालान्तरमा गएर जातीय र धार्मिक युद्धको एउटा मुख्य कारण यही अस्वाभाविक सिमाङ्कन मान्न सकिन्छ ।
अफ्रिकीहरू जङ्गली छन् र राज्य सत्ता सम्हाल्न सक्दैनन् भन्ने धारणा उपनिवेशवादीहरूमा थियो ।
युरोपको औद्योगिक बजारलाई चाहिने कच्चापदार्थ यिनै उपनिवेशहरूबाट लगिन्थ्यो । अफ्रिकी उपनिवेशहरूमा बस्ने गोरा युरोपेली र आदिवासी अफ्रिकीहरूको जीवनस्तरको तुलना नै हुनसक्दैनथ्यो । तर, पढेलेखेका अफ्रिकीहरूमा चेतनाको विकास हुँदै गएपछि स्वतन्त्रताको आवाज उठ्न थाल्यो । छरिएका सङ्घर्षहरूलाई दबाउन सफल भए पनि औपनिवेशिक शक्तिहरूविरुद्ध स्वतन्त्रताका सङ्घर्षहरू बढ्दै गए ।
दोस्रो विश्वयुद्धपछि युरोपमा बढ्दो कम्युनिस्ट प्रभावले पश्चिमी शक्तिहरूमा डर उत्पन्न भइरहेको थियो । अफ्रिकी उपनिवेशहरूमा चर्किरहेको स्वतन्त्रता आन्दोलनलाई कम्युनिस्टहरूले प्रयोग गरी क्रान्तिमा परिवर्तन गर्नसक्छन् भन्ने बेलायती आकलन थियो । त्यही भएर सङ्घर्षलाई बढी चर्कन नदिई एक एक पाइला गरेर अधिकारहरू अफ्रिकी जनतालाई सुम्पँदै जाने नीति बेलायतले अपनायो । तर, घानामा सङ्घर्षको पारो माथि चढिसकेको थियो । फलतः बेलायत त्यहाँ चुनाव गराउन बाध्य भयो र स्वतन्त्रता सङ्घर्षका नायकका रूपमा क्वामे एनक्रुममा प्रधानमन्त्री चुनिए । ६ वर्षको क्रमिक शासन हस्तान्तरणपछि १९५७ मा घाना पूर्णतः स्वतन्त्र भयो । जेलबाटै चुनाव जितेका एनक्रुमा अफ्रिकाका नायक बने । यो सफलताले एकपछि अर्को अफ्रिकी उपनिवेशहरूमा सङ्घर्ष चर्किँदै गयो ।
एकएक गर्दै अरू अफ्रिकी भूभागहरू स्वतन्त्र हुँदै गए । मिश्रमा राजतन्त्र फालियो, अल्जेरिया, आतेरी कोस्ट, सेनेगल र अरू फ्रान्सेली उपनिवेशहरू पनि एकएक हुँदै स्वतन्त्र भए । नाइजेरिया, सियरालियोन, गाम्बिया, केन्या र कङ्गोले पनि स्वतन्त्रता सङ्घर्षमा सफलता हात पारे । तर, विभिन्न जातजाति र धर्मका मानिसहरू भएको नाइजेरियामा सबैको सहमतिको संविधान र सरकार बनाउनमा लामो समयसम्म खिचातानी भइरह्यो । जातीयता, क्षेत्रीयता र धर्मको राजनीति नाइजेरियामा व्याप्त थियो र छ पनि ।
तर, दक्षिणी अफ्रिकाका उपनिवेशहरूमा रहेका गोराहरूले कालाहरूलाई सत्तामा आउन शासन चाँडै आउने देखेर रोडेसिया (हाल जिम्बावे) का गोराहरूले १९६५ मा एकतर्फीरूपमा बेलायतबाट स्वतन्त्र भएको घोषणा गरे । अल्पसङ्ख्यक गोराहरूको हातमा सत्ता राखिरहन अब उनीहरूले दमनचक्र चलाए । गोराहरूको शासन कायम राख्ने र कालाहरूलाई शासन सत्तामा आउन नदिन दक्षिणी अफ्रिकी राज्यहरू एकजुट भए । दक्षिण अफ्रिका र त्यसअन्तर्गतको दक्षिण पश्चिम अफ्रिका (नामिबिया), पोर्चुगाली उपनिवेशहरू अङ्गोला र मोजाम्बिक, उत्तर र दक्षिण रोडेसिया (जाम्बिया र (जिम्बावे) का गोराहरू र गोरा शासन कायम राख्न एक भएर लागे ।
सन् १९६६ मा घानाा एन्क्रुमा इजिप्टका नेता नासेरसित ।
तर, स्वतन्त्रता पाएका सबै पूर्ण उपनिवेशहरूलाई त्यतिकै छाड्न युरोपेली देशहरू तयार भएनन् । भर्खर स्वतन्त्र भएका देशहरूमा दक्ष जनशक्तिको अभाव थियो – प्रशासन, सेना, बौद्धिक सबै क्षेत्रमा गोराहरू नै थिए । स्वतन्त्रतापछि कति देशहरूमा ती गोराहरू त्यहीँ बसे भने कति आफ्नै देश फर्के । स्वतन्त्रता प्राप्त गरेका भए पनि ती देशहरूमा उपनिवेशवादी देशहरूको प्रभाव कायमै थियो । यसको उदाहरण कङ्गोमा देखियो ।
बेल्जियमबाट स्वतन्त्रता प्राप्त गरेको समारोहमा कङ्गोला नेता प्याट्रिस लुमुम्बाले बेल्जियमले कङ्गोली जनतामाथि गरेको दमन र शासनको खुलारूपले विरोध गरे । बेल्जियमका राजाले कङ्गो बनाउन आफ्ना पुर्खाले ठूलो योगदान गरेको भनी भाषण गरेपछि त्यसको जवाफमा लुमुम्बाले सो आक्रोश पोखेका थिए । लुमुम्बाको राष्ट्रवादबाट पहिल्यै नै चिढिएका बेल्जियमका शासकहरूलाई यो कुरा असह्य भयो । कङ्गोको निर्वाचनमा लुमुम्बाको पार्टी अग्रस्थानमा रह्यो । तर, स्पष्ट बहुमत नपाएकाले गठबन्धनको सरकार बन्यो र लुमुम्बा प्रधानमन्त्री बने । तर, कङ्गोको दक्षिणी प्रान्त काटाङ्गा (Katanga) मा पृथकतावादीहरूको उदय भयो र उनीहरूले छुट्टै राष्ट्रको घोषणा गरे । त्यसकारण, त्यहाँ चर्किएको सङ्घर्षको फाइदा बेल्जियमले लियो । लुमुम्बाको विरुद्ध बेल्जियमले काटाङ्गाका विद्रोही सोम्बे (Tshombe) लाई भरपुर सहयोग ग¥यो । विभिन्न पक्षबिचको लडाइँ भयो र लुमुम्बालाई पक्राउ गरियो । अमेरिकाको धाप पाएका सैन्य अधिकारी मोबुटुले शासन हत्याए र लुमुम्बालाई काटाङ्गामा पठाइयो । त्यही उनी मारिए । त्यस हत्यामा बेल्जियम अधिकारीहरूको प्रत्यक्ष हात रहेको कुरा पछि खुल्यो । यसरी एक देशभक्त योद्धाको कायरतापूर्वक हत्या गरियो । मोबुटुले शासनसत्ता हात पारेपछि अमेरिकाको कठपुतली बनी उनले तानाशाही चलाए ।
पुस्तकको दोस्रो भागमा स्वतन्त्रतापछिको समय चित्रित छ । अपार खुसी, उमङ्ग र आशाले अफ्रिका नाचेको थियो । आर्थिक पक्ष मजबुत हुँदै थियो । विकास निर्माण, शिक्षा, स्वास्थ्यमा धमाधम काम हुँदै गयो । तर, यो समृद्धिको अवस्था धेरै टिकेन । चरम भ्रष्टाचार, नातावाद, मौसम परिवर्तन र विश्व बजारमा अफ्रिकी उत्पादनको भाउ घट्नुले अफ्रिकी राष्ट्रहरू गरिब हुँदै गए । कुशासन बढ्दै गयो, भ्रष्टाचार संस्थागत हुँदै गयो । त्यसमाथि जातीय, क्षेत्रीय र राजनैतिक द्वन्द्वले थुप्रै देशहरू गृहयुद्धमा फसे । सरकारको उपस्थिति नै शून्य हुनथाल्यो ।
प्रस्तुति : सुवेग
श्रोत :अनलाइन मजदुर